Hari Prasad Bhandari – Sanjog

हरिप्रसाद भण्डारी – संजोग

म ब्यूँझदा मैले आफूलाई अस्पतालको बेडमा पाएँ । अचम्म लाग्यो मलाई । म किन र कसरी त्यहाँ पुगेँ भन्ने कुरा मेरा दिमागले ठम्याउन सकिरहेको थिएन ।
त्यसबेला मेरो सारा शरीर दुखिरहेको थियो । टाउको गह्रौं भइरहेको थियो । र, आँखा अगाडिको दृश्य धमिलो देखिन्थ्यो ।
एकैछिनपछि अस्पतालको कारुणिक वातावरणलाई चिर्दै एउटी परिचारिका मेरा नजिक आइन् । मतिर हेरेर मुसुक्क मुस्कुराइन् । ‘कस्तो छ अहिले ?’ यसो भन्दै हसिलो अनुहार बनाएर मलाई हेरिरहिन् । उनी मसँग केही बोल्न खोज्दै थिइन्, तर म केही बोलिन । म नबोलेको देखेपछि उनले नै मलाई सान्त्वना दिँदै ‘अब आत्तिनु पर्दैन, छिटै निको हुन्छ’ भन्दै एउटा इन्जेक्सन् ल्याएर पाखुरामा लगाइदिइन् र बिस्तारै मल्न लागिन् ।
“मलाई किन यहाँ ल्याएको सिष्टर ?” एकैछिनपछि सासैसासमा मेरो मुखबाट आवाज आयो । मैले सिष्टर भनेको सुनेपछि उनी झस्किन् । अचम्म मानिन् र भनिन्— “हिजो तपाईं चढ्नुभएको गाडी दुर्घटना भएको के त ।” त्यसपछि पनि उनले मेरो अनुहारमा झुकेर हेर्दै थिइन् । तर मैले टाउको दुखेको हुनाले आँखा चिम्लेर कुनापट्टि फर्किएँ ।
तीन÷चार दिनपछि म पहिलेको अपेक्षा धेरै स्वस्थ भइसकेको थिएँ तर पुर्ण आरामचाहिँ भएको थिएन । त्यस अवधिमा ती परिचारिकाले मेरो खुब सेवा गरिन् । उनले गरेको मप्रतिको सेवाभावले मलाई साह्रै फाइदा पु¥यायो । उनले मलाई असाध्यै माया गर्थिन । मीठो बोल्थिन्, मुसुक्क हाँस्थिन् र मलाई खुसी पार्न प्रयत्न गर्थिन् । उनको बोली र व्यवहारमा सन्जीवनी मिसिएको प्रतीत हुन्थ्यो मलाई । उनी समय समयमा म भएका ठाउँमा आउँथिन्, नौला नौला औषधि र फलफूल ल्याएर खुवाउँथिन् र मसँग केही न केही कुरा गर्न चाहन्थिन् । मेरो शरीर स्वस्थ हुँदै थियो तापनि बोल्दा टाउको अझै दुख्थ्यो । त्यसैले उनले गरेका कुराहरूको जवाफ फर्काउन सकिरहेको थिइन ।
होसमा आएको चौथो दिन मैले उनलाई त्यत्तिकै प्रश्न गरेको थिएँ— “सिष्टर, कोही मलाई भेट्न त आएन ?”
“अहँ आएन त !” आश्चर्य मान्दै उनले भनिन् ।
“कोही भए पो आउनु !” मैले मनमनै भनेँ । अनायास मेरो मुखबाट लामो सास बाहिर आयो ।
“तपाईं किन आउनुभएको काठमाडौं ? यतै बस्नुहुन्छ कि . . .।” यस्तैमा एकदिन उनले सोधेकी थिईन् ।
“बस्दिन, सानो काम थियो त्यसैले आएको थिएँ ।”
“घर कहाँ पर्छ ? र के काम गर्दै हुनुहुन्छ नि आजकल ?” उनले माथि सिलिङ्तिर हेर्दै थप जिज्ञासा राखिन् ।
“खोई….! घरको त कुनै ठेगानै छैन । काम भने यसो क्याम्पसमा पढाउने गरेको छु ।”
“तपाईंको पूर्ण परिचय मागेको छ । परिवारको नाम र ठेगाना दिनोस् । खबर पठाउनु पर्छ हामीले ।” उनले भनिन् ।
“त्यो दुःख गर्नु पर्दैन ।”
“किन र ? दुःख होइन, त्यो त हाम्रो कर्तव्य पो त ।”
म त्यो बेला केही बोल्न चाहेको थिइनँ, उनले निकै जिद्दी गरिन् ।
“मेरो जीवनप्रति चासो राख्ने व्यक्ति कोही पनि छैन । बरु एउटा सानो खबर मेरो क्याम्पसको नाममा पठाइदिनु भए हुन्छ ।’ मैले यसो भनेर उनको मन राखिदिएँ ।
मेरो कुरा सुनेपछि उनले अचम्म मानिन्, ट्वाल्ल परेर मेरा अनुहारमा हेरिन् र बिस्तारै भनिन्— “के तपाईंको परवार छैन र ?”
“छैन ।” लामो सास लिदैँ सत्य कुरा सुनाएँ । यसपछि उनी केही बोलिनन् । आश्चर्य मान्दै त्यहाँबाट हिडिन् ।
अस्पतालबाट बिदा लिने दिन नजिक आइरहेको थियो । त्यस अवधिमा उनीबाट मैले कहिल्यै तिर्न नसक्ने अमूल्य सहयोगको पाएको थिएँ । उनले मानवीय सहयोग मात्र होईन आर्थिक सहयोगसमेत गरेको आभाष पाएको थिएँ मैले । त्यसैले एकदिन यिनै कुरा बारे जिज्ञासा राखें ।
उनी मधुरो र मलिन हाँसो हासिन् । अनि त्यस्तो कुनै खर्च नभएको भाव व्यक्त गरिन् ।
“मानवीय सेवा जे जस्तो भए पनि अन्य खर्चको भार त पार्नु भएन नि तपाईमाथि । फेरि यो सबै थोक दिने अस्पताल पनि त होइन यो ।” मैले आफ्नो कुरो अगाडि राखेँ ।
“तपाईंको लागि आवश्यक पर्ने सम्पुर्ण खर्च हामीलाई अन्यत्रबाटै प्राप्त भइसकेको छ ……..।” मुुसुक्क हाँस्दै उनले भनिन् ।
“अन्यत्रबाटै रे ? को सँगबाट ?” मलाई आश्चर्य लाग्यो र जोड दिँदै सोधेँ— “कतै तपाई झूठो त बोलिरहनु भएको छैन ? कतै मजाक पो गर्नुभएको हो कि ?”
“हैन हैन, मैले किन झूठो बोल्नु, किन मजाक गर्नु ?” उनी केही क्षण रोकिइन् र अगाडि थपिन्— “पहिलो दिन तपाईलाई चाहिने रगतसमेत हामीलाई अन्यत्रबाटै प्राप्त भएको थियो ।”
“रगत पनि !”
उनी मुसुक्क हाँसिन् र भनिन्— “साँच्चै भन्ने हो भने त्यो सहयोगी वा दाता नपाउनुभएको भए तपाईको बाँच्ने सम्भावना न्यून थियो । निकै कोशिस गरेर बचाएको हो तपाईलाई । भाग्यमा विश्वास गर्नुहुन्छ कि हुन्न कुन्नि ? यस मानेमा तपाई निकै भाग्यमानी हुनुहुँदोरहेछ ।”
उनको कुरा अनौठो लागिरहेको थियो मलाई । आश्चर्य मान्दै मैले बिस्तारै सोधेँ— “अन्यत्रबाट भन्नु भयो ! तर को हुन सक्छ मलाई बाहिरबाट मद्दत गर्ने त्यस्तो व्यक्ति ?”
निकैबेर घोरिएपछि उनले भनिन्— “शीलाको नाम सुन्नु भएको छ कतै ?”
“शीला ?” उनको कुरा सुनेर म झसङ्ग भएँ ।
“उनीबाटै प्राप्त भएको हो यो सबै सहयोग ।” उनले सहज रुपमा भनिन् ।
“शीला !, उही शीला जसलाई मैले चाहेर पनि पाउन सकिनँ ।” मैले लामो सास फेरंँ र म करीव सत्र÷अठार वर्ष पुरानो अतितमा डुबुल्की मार्न पुगेँ ।
करीव सत्र वर्ष पहिले शीलाले र मैले राम्रा र सुखका सपना देखेका थियौँ । हाम्रो सपनाको संसार औधी सुन्दर र मनमोहक थियो । हामीले एउटा आदर्श पारिवारिक जीवन बिताउन चाहेका थियौँ । तर सपना सपनामै सीमित रह्यो । हामीले सपनाका खुसीहरूलाई विपनामा अनुवाद गर्न सकेनौँ । समयको छालले उनको र मेरो क्षणिक मिलन बनायो, सुनौला सपना देखायो र केही समयपछि अलग्यायो । हामी टाढा टाढा हुँदै गयौँ र हरायौँ एक आपसमा ।
क्याम्पस पढ्ने क्रममा उनको र मेरो पहिलो भेट भएको थियो । संजोगबस उनको र मेरो परिचयले गाढा रूप लिँदै गयो । अनि छोटो समयमै हामी बीचमा प्रेमपूर्ण सम्बन्ध जोडिदै गयो ।
पहिले हामीले पढ्ने विषय अर्कै थियो । पछि मैले उनलाई चिकित्साशास्त्र पढ्ने सल्लाह र हौसला दिएको थिएँ । उनले त्यसै गरेकी थिइन् ।
हामीहरू आत्मीय रूपमै प्रेममा बाधिएका थियौँ । हाम्रो प्रेम पवित्र थियो । हामीले हामी बीच रहेको पवित्र प्रेमलाई बैवाहिक रूपमा परिणत गरी जीवनभरि अमर राख्ने निष्कर्षमा पुगेका थियौँ । सो कुरा उनको घरसम्म पु¥यायौँ । हाम्रो प्रस्ताव स्वीकार हुनेछ भन्ने लागेको थियो हामीलाई तर हाम्रो अनुमान सत्य ठहरिएन । हामीले जतिसुकै पवित्र प्रेम गरेका भए पनि हाम्रो संस्कारले हाम्रा बीचमा भाँजो हाल्यो । हाम्रो चाहना पुरा हुनुको साटो उल्टै हाम्रो पवित्र प्रेमलाई नकारात्मक दृष्टिले हेरियो । हामीले परिस्थितिका बिरुद्ध संघर्ष गर्नु पथ्र्यो तर गरेनौँ, सकेनौँ शायद । परिवेश अहिलेको भन्दा केही फरक भएर पनि हो कि !
पछि शीलाको विवाह अन्तै हुने हल्ला चल्यो । यद्यपि शीलाले उनीहरूको प्रस्तावको विरोध त गरिन्, तथापि सामाजिक बन्धनलाई तोडेर सिधै मसँग सम्वन्ध जोड्ने आँट भने गर्न सकिनन् । उनको परिवारबाट हाम्रो सम्वन्ध र सम्पर्कलाई टाडा राख्ने प्रयत्न गरियो । हामी चाहरे पनि एक अर्काका हुन सकेनौँ ।
हाम्रो सम्पर्क टाडा टाडा हुँदै गयो । उनले मलाई बिर्सिन् । उनले बिर्से पनि मैले भने कसैगरे पनि उनलाई बिर्सन सकिन । उनलाई प्राप्त गर्ने मेरा चाहनाहरूलाई उनको तस्वीरमा सीमित राखेर जीवन बिताउने प्रण गरेँ । आज धेरै वर्षपछि एक्कासि उनको नाम र उनले मप्रति गरेको सेवा भावको कुरा सुन्दा निको भइसकेको घाउमा दाउराले घोँचेजस्तै लाग्यो । म भावविह्वल बनेर शून्यमा टोलाइरहेँ ।
मलाई उनको सम्झनाले रातभरि सतायो । अर्को दिन विहान म अस्पतालबाट हिँड्ने भएँ । हिँड्नुपूर्व शीलाको बारेमा सम्पूर्ण कुरा बुझ्न चाहन्थे, तर म हिँड्ने बेलामा निज परिचारिकालाई भेट्न सकिनँ । सोधेको कुन्नि के जरुरी काम परेर उनी विदामा छन् भन्ने खबर पाएँ । भेट्न नपाएकोमा नजाती लाग्यो । पछि आएर भेट्ने र यिनैको माध्मद्धारा शीलाको सम्पर्क पत्तालगाउने विचार लिएर त्यहाँबाट हिड्ने निधो गरेँ ।
वासस्थानमा पुगेको केही दिनपछि हुलाकीले आएर मेरो नामको एउटा पत्र दियो । पत्र शीलाले नै लेखेकी रहिछन् । मलाई आश्चर्य लाग्यो र छिटो छिटो पत्र खोलेर पढ्न सुरु गरेँ ।

प्यारा विनोद !,
धेरै वर्षपछि तिमीलाई भेटे र सेवा गर्ने अवसर पाएँ । अत्यन्तै खुसी लाग्यो । तिमीले मलाई नचिनेकोमा सुरुमा त दुःख लागेको थियो तर पछि उक्त दुःखलाई तिम्रो प्रगतिसँग साटेर मन बुझाएँ । चाहे जे होस्, तिम्रो प्राण बचाउन पाएकोमा मैले आफूलाई भाग्यमानी ठानेकी छु । तिम्रो सल्लाह र सहयोगले गर्दा आज हजारौँ दुःखी गरिबहरूको सेवा गर्ने अवसर पाएकी छु । तिमी र म जति टाडा भए मनि तिम्रो सम्झना हराएको छैन मनबाट । बिदाइमा भेट्न नआएकोमा दुःख त अवश्य लाग्यो होला, तर पीर नमान्नु । जिन्दगी रहेसम्म एक आपसमा भेट हुँदोरहेछ, अचम्मको भेट भयो ।
शरीरको ख्याल गर्नु र पत्र पठाउनु ल ? मनका सम्पर्ण भावनाहरूलाई दुई थोपा मसीको सहाराले कागजमा कोरेर सकिदैनन् । त्यसैले अहिलेलाई कलम यहीँ रोक्छु, बाँकी गन्थन भेटमै गरौँला ।
उही तिमीलाई सधैँभरि माया गर्ने
शीला
पत्र पढेपछि एकपटक निद्राबाट ब्यूँझेजस्तो लाग्यो । त्यसपछि चिठी समाएका मेरा हातहरू थरथर काँप्न थाले । अनायास आँखाहरू पारि क्षितिजतिर दौडिए, जहाँ सधैँ सेता देखिने हिमालहरू बेलुकीको सुर्यको प्रकाशले गर्दा सुनौलो रङमा चम्किरहेका थिए ।

Aayam Phuyal – Kapal: Ek Charcha Paricharcha

आयाम फुयाल – कपाल: एक चर्चा परिचर्चा

“के गरेर काट्या यो कपाल? न पछाडि काट्या छ, न अगाडि छोट्या’को छ। भोलि मिलाएर आउने त्या’, नत्र घरतिर बसे हुन्छ”, असेम्ब्ली सकेर क्लास तिर जादैँ थिए; डि. आई. को यो कठोर र रुड आवाज कानमा ठोक्कियो। एकमन त गएर; ‘सर, यो कपालले तपाईँको के बिगार्दियो, खाली के कपाल काट्, कपाल काट् भनिरा’, काटेकै त छु नि जटाधारी बाबा जस्तो बन्या’ त छैन नि, अलिक अगाडि पछडि राख्न मन लाग्छ त राख्न नपाई?’, भन्दिउ जस्तो लाग्या थियो। तर अहँ, “हुन्छ सर!” बाहेक न त मुखबाट केही निस्क्यो, न त आँखा नै ठडियो। विचरा, आँट त्यति साह्रो कहाँ छिप्पिसक्या हुनु। म क्लासतर्फ सरासर अघि बढे।
“मे आइ कम इन सर?” ढोकाको क्यार् आवाजको ध्वनि चिर्दै भने।
“कहाँ ग’को हिरो तिमी?” सरको आवाजमा नम्रता थियो।
“सर, त्या’ डि. आई. सरले बोलाउनुभा’थ्यो।”
“किन नि?”
सरको यस प्रश्नको जवाफ दिन गाह्रो भयो। त्यहीपनि भनेँ, “कपाल काट् भन्नलाई बोलाउनुभ’को, सर!”
सरको अनुहारमा व्यङ्ग्यात्मक र करुण हाँसो एकसाथ दौडियो र आवाज निस्क्यो, “ल, ल भित्र आउ”। सर एक-दुई मिनेट यत्तिकै केही सोचे झैँ अलमल्लिरहनु भयो र अन्त्यमा आवाज फुट्यो, “आज एउटा सानो कुरा गरौ है त, अरु सेक्सन भन्दा अलि अगाडि नै छौ कोर्समा पनि हामी।” विद्यार्थी न परियो ठुलो तालीका साथ सरको कुरालाई सम्बोधन गरियो!
“ल, ल ठिक छ, एउटा कथा भन्छु अनि त्यसको अलि चर्चा परिचर्चा गरौँला।
‘के हो तँ, तलाई कपाल काट्नु पर्दैन, दादागिरी देखाउन आ’को त या’? भोलि, कि कपाल काटेर आउनी कि ड्याडीलाई लिएर आउनी”, अफिस कोठामा छिर्न लागेको एउटा शिक्षकले आफ्नो स्कुलको डि. आई. को उक्त आवाज सुन्यो। व्यङ्ग्यात्मक मुस्कानका साथ उसले अन्दाज लगायो कि फेरी कुनै विद्यार्थीले गाली खायो, नमज्जाले! शिक्षक सरासर अफिस कोठामा छिर्यो। अनि भित्त्तामा देख्यो एउटा तस्वीर जसमा आइन्स्टाइनको जिङ्ग्रीङ्ग कपाल प्रस्टै देखिन्थ्यो। र साथै आइन्स्टाइनको एउटा हातले आफ्नो दिमागमा पोइन्ट गरिराखेको थियो। शिक्षक कसैले थाहानपाउने गरी मुस्कुरायो।’
कथा सकियो।”
सरले भन्नुभयो, “कथा त बुझियो होला पक्कै पनि। म आज तिमीहरुलाई यस्तै कुरा भन्छु केही। एउट स्टुडेन्टको मुख्य गहनालाई अनुशासन भनेर चिनिन्छ। त्यही अनुशासनको कुनै पोइन्ट्मा लेखिएको होला या नहोला (मैले अहिलेसम्म पाएको छैन लिखित अनुशासनका पोइन्टहरु), कपाल काट्नुपर्छ या यस्तै केही! मलाई वास्तवमै अचम्म लाग्छ, कपालमा कुन किसिमको अनुशासन लुकेको हुदो रै’छ?! खै, कपाल पालेपछी विद्यार्थी नपढ्नी हुँदो रै’छन कि अथवा कपाल लामो भएमा विद्यार्थीको बौद्धिक क्षमता घट्दो रै’छ कि!? त्यसो हुँदो हो त, हेलेन केलर भनेर आज संसारले चिन्दैनथ्यो होला, पारिजातको ‘शिरिषको फूल” पनि यत्तिकै झरिजान्थ्यो होला।”
“कपालले गर्दा विद्यार्थीको अनुशासन भङ्ग हुन्छ रे। एउटा विद्यार्थी अननुशासित हुन्छ रे! खै, के भन्नु अचम्म लाग्छ, तिनै लामो कपालको विरोधिहरु जीवनको कुनै मोडमा विद्यार्थीलाई बुद्ध जस्तो बन्नुपर्छ भनिरहेका हुन्छन। अब यसो सोचौँ त हरेक तस्वीरमा बुद्धको कपाल कति लामो देखाइएको हुन्छ? अब के बुद्ध पनि अननुशासित?! बुद्ध मात्रै किन प्राय: सबै देवीदेवताको कपाल लामो नै देखाइएको हुन्छ तस्वीरहरुमा; अब के सारा देवीदेवता अननुशासित त? सायद, यसको जवाफ ‘बढी बाठो हुन्छस् त?!’ नै पाइन्छ होला।”
“सर, रुल हो नि त स्कूलको, फलो गर्नुपरिहाल्छ नि”, सम्बृद्धले आँट गर्यो एकछिनको सरको निरन्तर बोलाईको धाराप्रवाहलाई रोक्न! सरले सम्बृद्धलाई मात्र मुस्कान दिनुभयो र “बस” भन्नुभयो। सर ४५ सेकेन्ड जति घोरिनु भयो अनि शब्द निस्क्यो मुखबाट नम्रतापूर्वक, “सम्बृद्ध, मान्छेकालागि रूल बन्या कि रूलका लागि मान्छे?” शान्ति…
सम्बृद्धको रातोपिरो भयो अनुहार!
“एक हिसाबले तिम्रो कुरा नि ठीकै हो। तर यहाँ हेर त, मेरो कपाल नि लामो छ, मेरो साइडलक नि चुच्चै छ; तर तिमी त मैसँग पढिरहेका छौ त फेरी!?” फेरी शान्ति…
“कुरा के भन्दाखेरी बाबु, अलिकति कुरालाई मोडौँ। अमेरिका, फ्रान्सजस्ता मुलुक बाट सुरु भयो टाई लगाएर पढ्न जाने प्रवृत्ति। तर आज उनीहरु बिना टाई विद्यालय जान्छन् र हामी सास नै अड्किने गरी टाई कसेर। कतिलाई त निकै नै उकुसमुकुस भएको हुन्छ। निकालेर फाल्दिउ जस्तै लाग्छ, तर सक्दैन। त्यसैले, मान्छे वा कुनैपनि संघ, संस्था समयानुसार चल्न सक्नुपर्छ। उनीहरुको देशमा अहिले विद्यार्थीले टाई लगाउन छाडे यसको मतलव यो हो त: के तिनीहरु अननुशासित भए? के तिनीहरुको बौद्धिक् क्षमता घट्यो? अवश्य छैन नि, उनीहरुलाई टाई लगाउँदा अप्ठेरो महसुस भयो, लगाएनन्; कतिलाई सजिलो हुन्छ लगाउछन अझै पनि। कपाल पनि टाई जस्तै एउटा बिम्ब न हो। त्यसैले, सम्बृद्ध रूल, रूल भन्नुभन्दा पनि यो आफ्नो लागि कत्तिको उपयुक्त हुन्छ, कतिको यसले आफूलाई कम्फरटेबल गराउँछ भन्ने कुराको ध्यान राख्नुपर्छ जसकारण आफ्नो एकाग्रता (पढाइपट्टिको होस् या अन्य कुनै) स्थिर रहन्छ।”
“कपाल पाल्दैमा विद्यार्थीले पढ्दैन, विद्यार्थी बिग्रन्छ भन्ने मनशाय जुन छ हाम्रो समाजमा त्यसको म एकदमै विरोधि हुँ। लन्डन, नर्वेतिरको विश्वविद्यालय जाऔँ त्यहाँ कत्तिका कपाल लामा हुन्छन्, कतिका दारी लामा हुन्छन। अब उनीहरुलाई त्यस्तो कपाल मनपर्छ, राख्छन्; त्यसले के असर गर्छ र उसको पढाइमा!? ऊ त झन खुसीसाथ आफ्नो पढाइ अघि बढाउन सक्छ। यसो सोचौँ न, के सारा विश्वविद्यालय टपर, गोल्ड मेडलिस्ट, नासाका वैज्ञानिकको टाउकोमा कपाल थिएन त अथवा के उनीहरुको कपाल लामो थिएन होला त? त्यसैले, कपाल पालेर, नपालेर पढाइमा कुनै पनि किसिमको वाधा अड्चन आउदैन। अब कतिले भन्लान, नुहाउन, स्याहार गर्नपर्दा पढ्ने समय बर्बाद हुन्छ! त्यस्तालाई मेरो एउटै मात्र प्रश्न छ कि: “के छोरीमान्छे कोही पनि पढ्दै पढ्दैन् त, के उनीहरुमा बौद्धिकता शुन्य छ त?” यसको जवाफ नि, ‘त जान्दछस् धेरै’ बाहेक केही आउला जस्तो मलाई लाग्दैन।”
“एउटा विद्यार्थीलाई कपाल पाल्न मन छ, के भयो त पालोस्। उसले पढेन, लेखेन भने पो कराउनु जायज हुन्छ त, अब कपाल लामो पार्‍यो अथवा कपाल ठडायो भनेर कराउनु चै वास्तवमै निकै नै अनुचित हुन्छ। त्यसले, विद्यार्थीमा पनि एक त, त्यो गाली गर्नेप्रति नेगेटिभिटी उब्जिन्छ अर्को त, उसको मनोविज्ञानमा पनि आघात पर्दछ। त्यसैले, विद्यार्थीको बाहिरको हाउभाउ भन्दा नि उसभित्रको बौद्धिक क्षमतालाई मध्यनजर राखेर उसलाई त्यही तवरले प्रोत्साहन गर्नुपर्छ। उसभित्रको पोटेनसियालिटीको कदर गरिनुपर्छ।”
“अब मैले यसो भन्दा तिमीहरु कसैको मनमा अब त्यसो भए त विद्यार्थीले जे गरेर हिडेँ नि भै’गयो नि, क्लासमा डेडलक हानेर आए नि भयो, कपाललाई डाँफेजस्तो रङ्गाएपनि भयो भन्ने किसिमको सोच आउला। अझ त कतिले के पनि सोच्लान भने ‘जन्म्या’ नि नाङ्गै, मर्ने नि नाङ्गै के खान बीचमा चैँ लुगा लगाउनु!?’”
“सबै जना नाङ्गै हिडेँ नि हुन्थ्यो; तर समय त्यस विन्दुसम्म पुगिसकेको छैन। मैले अघि नै भने नि समय सापेक्षिक हुनुपर्छ भनेर; त्यसैगरी यस्ता कुरा पनि विस्तारै संशोधन हुदै जान्छन्। के थाहा समयको कुनै विन्दुमा हाम्रा भावी पुस्तालाई लुगा भन्ने पनि केही कुरा हुन्छ भन्ने थाहा हुदैन कि!?”
“अत: मैले यत्रो क्लास लिएर हामी रुलका लागी नभै’कन, रूल हाम्रा लागी हो भन्ने कुरा अर्थाएँ। तर म आफै भोलि क्लासमा डेडलक बनाएर आउन सक्दिन किनभने म त्यो समयको बिन्दुमा पुगिसकेको छैन, तसर्थ म अहिलेको समयलाई अङ्गाल्न बाध्य हुन्छु। तर यसो भन्दैमा सधै आफ्नो इच्छालाई दबाउनु चै हुन्न, आफूलाई समयानुसार बदल्न चैँ सक्नुपर्छ हैन भने अहिलेको बाइसौँ शताब्दी छेउछाउको मानव सभ्यता फेरि गएर बर्दिया र रुकुमको जङ्गलमा विसर्जन हुन्छ।”
टिङ् टिङ् टिङ् टिङ् टिङ्…!
सरको धाराप्रवाहले, “ल ल है त यस्तै हो, सबै मिल्छ एकदिन, पढ्न चैँ राम्रोसँग पढ्नुपर्छ तिमीहरुले”, भन्दै विसर्जन लिन्छ।
म उठेर सबैभन्दा अघि दुई हात पिट्छु र सबै साथीहरु नि ताली पिट्छन्। सर हाँस्दै बाहिरिनुहुन्छ।

-आयाम फुयाल
कक्षा-१२
सैनिक आवासीय महाविद्यालय
सल्लाघारी, भक्तपुर

Samriddi Shayad – Patra Vs. Patra Haru

समृद्धि शायद – पात्र भर्सेज पात्रहरु

बिर्सनै लागेको धुमिल तस्विर फेरि सम्झनाहरुको हुल बोकेर विनिर्माण गर्न आइपुग्यो । शुशिल कुनै चलचित्रको नायक झै व्यवहार आचरण र निभाउने क्रियाकलाप पनि ।

“म तिम्रो लागि जे पनि गर्न सक्छु”

“जस्तो कि…। !” म जिज्ञाशापूर्ण आँखा ऊ तर्फ तेस्र्याउछु

“पैसा वाहेक सबै”

उस्ले आफ्नो शब्दहरुमा “सवै” लाई विशेष जोड दियो र म पैसामा अड्किए ।

पैसा ! पैसा !! पैसा !!!

अभावले पनि प्रेम जन्मन्छ र ! जन्माउनु पर्दोरहेछ अवस्थामा परेपछि । बेरोजगार युवक स्नातक उत्तिर्ण र आकर्षक पनि छ । धेरै पल्ट लिखित उत्तिर्ण गरेर अन्तरवार्तामा फ्याकिएको नमिठो अनुभवको टुक्राटाक्री सुनाउँछ । साँच्चै भनुँभने मैले मेरो जीवनको वृत्तमा ल्याउन नचाहेको पात्र हो । र पनि घरिघरि कुइनेटो बनेर ठोक्किन आइपुग्छु । मोवाइलमा मिसकल दिनु, गीतका लाइनहरु एस एम एस गर्नु र रोमान्टीक हुनु उसको विशेषता तर उस्लाई थाहा छ म उसको उमेरमा ओर्लन सक्तिन । मेरो उमेरले मलाई प्रौढताका बस्त्र ओढाइ सक्यो फेरिपनि उसको व्यवहार उही रहन्छ । “सिनेमा हेर्न जाउ न” लाई थेगो बनाइसक्यो । सँगै चार पाइला हिड्न पाउनु मात्र पर्छ उँचाइ नाप्नको बहानामा छेउमा आइपुग्नु बानी बनाइसक्यो ।

“म बीस वर्षको भन्ठानेको तिमीले !”

मेरो रिसको पारो चढ्छ । हिड्दाहिड्दै पछाडी छोडिदिन्छु । अब त पिछा छोड्ला भन्ठान्यो तर के छाड्नु ! आइपुगि हाल्छ आँखा अगाडि टुप्लुक्क । कस्तो थेतर मन विसिद्धिको बानी, इख नभाको मान्छे…… यिनै कुराहरुको मेसो फुकाउछु पत्रकार साथीसंग । ऊ झन् उस्तै – ‘ल ! ल !! छ !! छ !!! लेख न लेख यिनै हुन् तिम्रा श्रृजनाहरुको पात्र’ भन्छ उल्टो । मन अमिलो भएर आउँछ । एउटा सिङ्गो मान्छेलाई कसरी पात्र बनाउनु । उस्को अभावले जन्माएको म प्रतिको प्रेमलाई विषयवस्तु बनाइदिनु । सम्पादक मित्रको प्रतिक्रिया सम्झन्छु ‘सुटुक्क दिएको म्यादपनि सकिन लाग्यो।’ अर्थात कथा पठाउन ढिला भइसक्यो ।

शुशिललाई पहिलोपटक मैले आफ्नो कार्यक्षेत्रको निरिक्षण गरेर फर्कदा बाटोमा चिनेकी थिएँ । एन.जि. ओ. को जागिरे भनेपछि प्रायशःको मुखबाट निस्कने ‘वाह डलर !’ उसको मुखबाट फुत्केको थियो । उसका साथीहरु अघि अघि र शुशिल मसँग गफको मेसो लाउदै पछि पछि । साथीहरु गिज्याउँदै थिए – ल ! केटा गरिखा …॥’ । सँगसगै फर्कने क्रममा मेरो सम्पर्क नं. माग्या माग्यै गरेपछि ‘छैनू’ भनेर टारँ । घरछेउ आइपुग्दा पनि फर्कने छाँटकाँट नदेखेपछि ‘तिम्रो मोवाइल नं. देउ म फोन गरुँला’ भन्न बाध्य भएँ । मैले आफ्नो ब्याकप्याकबाट नोटबुक के निकाल्न मात्र आँटेकी थिएँ चलचित्रको रोमान्टिक हिरो झै खल्तीको डटपेन निकालेर मेरो देब्रे हत्केलामा लेखेर अध्यारोमा बिलिन भएको थियो । यसरी भएको कयौ भेटहरु बिर्सिने हुदोरहेछ । मैले पनि बिर्सिएँ उसलाई । तर जब एकसाँझ मैले शुशिललाई त्यही ठाउँभन्दा पर चिया पसलबाट निस्किएर मेरो सामुन्ने उभिएको पाएँ फेरि बितेका क्षणहरु फ्ल्यासब्याक बनेर आइपुग्यो । अनि सुरु भयो हाम्रो खिचातानी भेटनु र तर्कनुको पछ्याउनु र भाग्नुको ।

अफिसको काम सकेर आइपुगेको थाकेर हैरान मन शरिर विसाएको पनि थिइन हेमको फोन आएको थाहा पाएँ । पुन ः फर्केर उहि बिगतमा पुगे । अचम्म लाग्यो किन हेमको अहमले ओरालो लागेछ । मन खुशी र चोटको दोसाँधमा राखेर फोन गर्न थालेँ । आखिर कुरा उहिँ अर्थ अभावमा आएर अड्कियो । महिनौ अघि टुकि्रएको हाम्रो सम्वन्ध फेरि अभावले जोडिन आइपुग्यो । भाई हस्पिटलको बेडमा दुई दिन पछि अप्रेशन अनि पैसा सापटीमा गएर कुरोले मेसो लाग्यो । जुन अभावले हेमलाई मसँगबाट अर्कोको पोल्टोमा पारेको थियो त्यहीँ अभावले फेरि फर्कायो । हारजितको निकासाबाट त्यही सम्वन्धलाई निष्कर्षमा पुर् याइयो । अप्रेशन भएको रात म हेम सँगै एउटै ओढ्ने ओडेर बेन्चमा बसेकी थिए । थाहा छैन ! उसको स्पर्श प्रेमपूर्ण थियो वा बाध्यताले गाँजेको । दुवै चुपचाप चुपचाप त्यसै वखत उसको मोवाइल बज्यो । अरु कुरा सामान्य भएपनि ‘नरिसाउ म भोली फोन गर्छु । मंगलबारसम्म हो अनि सँधै अनलाईनमा रहन्छु ।’ बाट थाहा लाग्यो ऊ अर्को पोल्टा रहेछ । भोली पल्ट बिहान जब म हेमसँग चिया पिउन क्यान्टीनमा पुगेँ उसको हातमा पाँच हजार रुपैया राखेर चियाको कप झै रित्तोपना बोकेर फर्किएँ । दिउँसो उसको भाइ डिस्चार्ज भएर कोठा पुगेको खबर पाइपुग्यो एस.एम.एस. बाट । र धन्यवाद पनि मैले गरेको सहयोगको लागि ।

‘धन्यवाद जरुरी छैन । म पनि तिम्रो स्पर्शबाट नाफाबाट नाफामानै रहेको छु । फेरि पनि अफ्ठेरो परे सम्झनुहोला ।’ भनेर जवाफ फर्काएँ । एस.एम.एस. गर्दा बखत मेरो पत्रकार साथी अगाडी बसेर खुशी हुँदै थियो । हिजो भर्खर हाम्रो यात्रालाई २१औं डेटिङ्ग भन्दै अर्को साथीलाई गर्वसाथ सुनाउँदै पनि थियो । मोवाइलमा कुराकानी सकिए पछि मतिर ध्यान केन्द्रित गर्दै –

“आज तिम्रो अनुहार फ्रेस देख्छु नी ! हिजो भन्दा आज खुशी देखिन्छु । के कुरा छ हँ ?”

“तपाई आज भोली के लेख्दै हुनुहुन्छ” मैले कुरा मोडेँ । सामान्य कुरैकुरामा नै उसले कुरा फुत्कायो कि उपन्यासको लेखाई चलिरहेछ । मैले विषयवस्तु सोधँ औपचारिकतावश । पछि भनौँला भनेर कुरा चपायो । पत्रकार न पर्यो न शत्रुता ठिक न मित्रता नै । मित्रहरुको व्यक्तिगत संवाद पनि बाँकी नराख्ने शत्रुहरुको पिछापनि नछोड्ने । भएपनि उ भित्रको मीठास बेग्लै छ । हमेसा हँसाइ राख्छ पिडा कहिल्यै सोध्दैन । थाहा भएर पनि पिडा पोतिएको छ मुखमा र पनि आज किन फ्रेस हँ ! भनि बस्छ । उसलाई के थाहा उसकी उपन्यासकी यो पात्रले हाँसो झुण्ड्याएर ओठमा बाँचेकी छ । एउटा पात्र बनेर उसलाई पनि आफ्नो सृजनाको पात्र बनाउँदै छ । मेरो पत्रकार साथी पात्रले थाहा नपाओस भनेर आवश्यकता भन्दा बढी अभिनय गर्छ । कहिलेकाँही प्रेम पोखेजस्तो पनि गर्छ । कहिले उपन्यासको लागि वातावरण तयार गर्छ । आज अन्तिम दिन मैले कथा पठाउनु पर्ने । फेसबुकमा सम्पादक मित्रको खुला पत्र आइसक्यो ‘सुटुक्क थपेको म्याद पनि सकिन लाग्यो’ भनेर । रातभर कथाका लागि आफैलाई अक्षरभरि केरिरहेँ । आँशुसँगै झारीरहँ, आफुलाई अर्को उपन्यासमा पात्र बनाई उभ्याएँ । अरुलाई सम्वन्धलाई कथामा उतारेँ । बिहानको अर्लामसँगै सन्तोषको सास फेरेँ । आज कथा लेखिसकियो । एउटा स्रष्टा हुनुको विजयीभाव महशुश गरें । कम्प्यूटर खोलेर फटाफट किबोर्डमा औलाहरुलाई दौडाएँ । मानौ त्यो कथा मैले समयमा नपठाए अर्कोले पठाउनेछ । त्यसपछि इमेलमा अट्याचमेन्ट गरि सम्पादक मित्रलाई पत्र टाइप गरे ।

“मित्र विषयवस्तु थिएन र बेफुर्सदी अलि बढि नै भएकोले ढिलाई हुन गयो । क्षमा चाहन्छु । फेरि पनि मौका दिनुहोला ।” र इमेललाई सेन्ड गरे ।

हिजो देखि बन्द रहेको मोवाइल स्वीच अन गरेपछि ट्वाकट्वाक मोवाइलमा पेण्डिङ्ग रहेको म्यासेज आइपुगेको घण्टिले जनाऊ दियो । खोलेर हेरे लेखेको रहेछ –

“पलभर के लिए कोही हमेँ प्यार करले झुठा ही सही |”

Kusum Gyawali – Bhagawan (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – भगवान (लघु कथा)

सन्तेकामी पण्डित घनश्याम गुरुभन्दा कम धार्मिक थिएन । क-ख नपढे पनि अनुभवको विद्वान थियो ऊ । एकदिन सन्तेकामी पशुपतिनाथ भगवान्को दर्शन गर्न नेपालतिर हिँड्यो । बसपार्कबाट ओर्लदा खर्चको लागि ल्याएको पैसा चोरियो । भोको सन्तेलाई एक गिलाससम्म चिया खान दिने कोही भएन । पशुपतिनामा जसरी तसरी भोकले मरणासन्न बनेर भौंतारियो । न्तेकामी बाटामा सैयौँ भिखारीसँग माग्न बस्यो । दिनभरिमा एक रुपैयाँ पनि नपाएपछि उसलाई शंका लाग्यो – पशुपतिनाथ मन्दिरमा पनि देवता छैनन् कि कसो हो ?
भोकले र काठमाडौंको जाडोले सन्तेलाई बस्न सुत्न दिएन । सन्ते शिव भजनको सुमधुर संगीत छोडेर कतै होटलमा भाँडा माझेर भए पनि एक पेट खान भौतारिँदै हिँड्यो । एक गजल रेस्टुरेन्ट अगाडी सन्ते उभियो ।
गजल रेस्टुरेन्टमा ‘……….. पिछे क्या हे’ भन्ने गीत घन्कदै थियो । भित्रबाट राम्ररी खुट्टाले भुइँ टेक्न नसकेको मान्छे आयो । घनश्याम पण्डितको छोरालाई एक्कासी भेट्दा सन्ते अल्मलियो । ‘किन लजाको सन्ते ?’ हृवास्स जाँड डकारेर उसले सोध्यो ।सन्तेले जम्लाहात गरेर बिन्ती गर्‍यो ‘म बिखर्ची भएँ राजा ! बिहानदेखि केही खान पाएकै छैन ‘
‘तैँले बियर पनि खान पाइनस – हिक्क ! हिक्क !!’
‘एक गाँस पनि खान पाइनँ हजुर !’
‘ला, खा ! भोड्का खा’ उसले पचास रुपैयाँको नोट निकालेर दियो । सन्तेले निष्कर्ष निकाल्यो – ‘मन्दिरमा भन्दा भगवान् त बरु भट्टीमा पो हुँदा रहेछन् आजकल । ए भगवान पनि यता सरेछन् अचेल ‘

Prakash Sayami – Sujata Ek Peg Konyak Ra Naya Barsha

इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो ।

पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ… पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको ठूलो शिखरारोहण मानेको थिएँ र अझै पनि सम्झिन्छु त्यस रात हामी केही साथीहरु एकसाथ बसेर फुटबल हेर्दै थियौँ ।

त्यो समूहको नाम कलेजमा व्यापक रुपमा चर्चित थियो- हीभ एइटी फोर भनेर । हीभको पूर्ण अर्थ थियो- एच.आई.भी. ।

त्यतिबेला एउटा रोगको नाम भइसकेको थिएन मात्र समाचारको शीर्षक थियो । विशेषतः अङ्ग्रेजी साप्ताहिकले त्यसको फलो-अप न्यूज बनाएर युवाहरुमाझ लोकप्रिय बनाइसकेको थियो र ती युवाहरुमध्ये सुधाकर पत्रकारिताको त्यो विद्यार्थी थियो जसले त्यस रोगका बारेमा पत्ता लगाएर हामीलाई पहिलो खबर सुनाएको थियो ।

समयान्तरमा उसले त्यस रोगबारे लेख्यो पनि तर समाचार होइन कविता लेख्यो । अचम्मसित ऊ कवितासहित प्रकट हुँदा ऊभित्रको नयाँ व्यक्तित्वसित हामी परिचित भयौँ र नेतृत्वगुण भएका कविलाई हामी साराले एक्कासी आइडलको रुपमा स्वीकायौँ ।
यो घटनाले पछि नयाँ स्वरुप लियो- त्यो रोगले सुधाकरलाई कविको रुपमा भन्दा प्रेमीका रुपमा स्थापित गर्यो । सुधाकरको काव्य व्यक्तित्वमा कविताको अनुच्छेद बनेर सुजाताले प्रवेश गरी ।

सुधाकर असलमा एउटा कुशल राजनीतिज्ञ व्यक्तित्व भएको विद्यार्थी थियो । सुजातासितको भेटपछि उसले आफ्नो राजनीतिक जीवनलाई नेपथ्यमा धकेलिदियो । जसरी सुजातासित भेटेपश्चात् सुधाकरले आफ्नो क्यारियर बदले त्यसरी ने मनोविज्ञान पढ्न आएकी सुजाताले सुधाकर महोदयलाई भेटेपश्चात् पत्रकारिता पढ्न थाली र आफ्नो चयनको विषयलाई तिलान्जली दिई ।भन्नेहरु अझै पनि भन्छन्- त्यही कारणले सुधाकर र सुजाताको सम्बन्ध भएको हो । तर एक साक्षीका रुपमा हेर्दा मलाई त्यति मात्र कारण पर्याप्त हो जस्तो लाग्दैन ।

सुधाकरसित निकटता भएको चार वर्षपछि सुजाता एकदिन मलाई भन्छिन्- “शरदजी…… मेरो जीवनमा यतिबेला दुईजना पुरुषको एकैपटक आगमन भएकॊ छ । दुवैले मलाई राम्रो इम्प्रेशन दिएका छन् एकजना सुधाकर र अर्को विनय । तपाईं भन्नुहोस् ती दुईमध्ये कुनमा बढी मेरो पति बन्न सक्ने गुण छ ?”

प्रश्नको गोबरझ्याउलोमा तिनले मलाई यसरी अल्झाइन कि म निर्दिष्ट उत्तरभन्दा त्यस दुईजनामा एक थपिएर तेस्रो नाम किन हुन सकेन त्यतातिर आकृष्ट हुन पुगेँ । तिनले फेरि सोधिन् “तपाईं त मभन्दा बढी कन्फ्यूज हुनु भो त…”

परिस्थितिको गलत अनुमान हुँदाहुँदै पनि मैले आफ्नो मनोभावलाई एक विदूषकले झैं प्रस्तुत गरेँ-“होइन सुजाता ! म त तेस्रो नाम पो खोज्दै थिएँ । मेरो नाम……।”

मेरो पङ्क्तिले पूर्णता ग्रहण नगर्दै उष्णता दिँदै हाँसिन् । तिनको हाँसो कलेजमा सर्वव्यापी मानिन्छ । त्यो हाँसो दीर्घकालसम्म मेरो निम्ति कर्णकटु बनिरह्यो । म भन्दै थिएँ तिनले मेरो स्वरलाई बलाघात पुर्याएर भनिन्-” यो एउटा अर्को रोमान्टिक कुरा हो । यो विनोद-चर्चाको लागि ठाउँ छैन आज……।”

मेरो एउटा महत्ताभास भनौँ वा भाग्ने सर्टकट बाटो म स्वयमले पनि त्यतिबेला त्यस बहसमा पैरवी गर्न चाहिनँ । सम्भावना नदेखेर होइन सुजाताबाट सज्जनता पाउन र त्यसलाई आफ्नो पराजयभन्दा महानता ठानेर मैले हात झिकें । म विनयभन्दा तल परेँ वा कति अङ्कले म सुजाताको नजरमा अनुत्तीर्ण भएँ मैले त्यसपछि कहिले सोचिनँ । यो विनोद-चर्चाको लामो समयपछि सुजाताले विवाह गरिन्- सुधाकरसित होइन विनयसित ।

विवाहमा सुधाकर पनि सहभागी थियो तर निम्तालुका रुपमा नभई ऊ त आफैँ एउटा आयोजकजस्तो रुपमा थियो । पार्टीमा उसले डिङ्क्स डिपार्टमेन्ट जिम्मा लिएको रहेछ र दिलोज्यानले ऊ खट्दै थियो । साथीहरु उसमाथि स्मोकिङ जोक्स बनाउँदै थिए । स्मोकिङ जोक्स हाम्रो कलेजको दिनदेखि लोकप्रिय विधामा पथ्र्यो । कुनै पार्टीमा पुरुषलिङ्गीहरु स्त्री पक्षबाट बचेर कुनै अश्लील ठट्टा गर्नुपर्यो भने चुरोट खाने बहानामा कुनामा गएर एकपक्षीय भएर अड्डा जमाउँथे । त्यसका सूत्रधार त सुधाकर महोदय नै थिए । तर आज उसमाथि नै त्यस्तो वर्षापात हुँदै गरेको देखेर मलाई दया कम रिस बढी उठ्यो । मलाई हेर्दै कसैले भन्यो- “हेर्नोस् शरदजी ! सुधाकर पहिले दिल लगाएर माया गथ्र्यो आज पसिना बगाएर माया देखाउँदैछ । यसको पसिनाको चमकले काम गर्यो भने वैकल्पिक उम्मेदवार यही हो ।

मिर्जा गालिबका परमभक्त सुधाकरमाथि पालैपालो गालिबकै अन्दाजे-बयानमा शेरोशायरी भन्दै उनीहरुले प्रहार गर्दैगर्दा म स्वयम् पनि पसिनापसिना भइसकेको थिएँ । कतै मैमाथि पनि यो प्रहार हो कि भन्ने सोच्न विवश भएँ ।

“…वैट एण्ड वाच शरदजी, एकदिन यो सुधाकर यही महानगरको कुनै कुनामा सुधाकर भएर होइन सुजाताधर भएर देखा पर्नेछ, भक्त भो यो सुजाताको । नेपाली साहित्यमा पी.एच.डी. गर्नेले एउटा नयाँ विषय पाउने भो- गजलकार सुधाकरको साहित्यिक जीवनीमा सुजाताको देन…ब्लाह !……ब्लाह ! “सुन्नुभो शरदजी ! नेपाली साहित्यको महान् जोक् …?”

तिनीहरुलाई थाहा थिएन शरदजी पनि यस कथाको एउटा त्यस्तै दयनीय पात्र हो भनेर । तर नेपथ्यमा भएकाले मात्र ऊ आज यो विनोद-चर्चाबाट बचेको हो । यस दुर्घटनाग्रस्त हालतबाट बचाउनुमा त्यस अघिल्लो विनोद-चर्चाको पूर्वाभासले मलाई सेफल्याण्डिङ् गर्यो । म खुसी भएँ । तर त्यति होइन जति उनीमाथि पालैपालो सलाई कोर्नेहरु भइरहेका थिए । म त तिनीहरुभन्दा दुरुह अवस्थामा थिएँ तर त्यति पनि होइन जति सुधाकर थियो होला । सुधाकरको खटाइ हेर्दा ऊ पनि त्यति दुःखीजस्तो लागेन । हुनसक्छ उसले आफूभित्रको पाचवटीलाई बचाइराखेको होस् । यी सारा प्रकरणपछि मलाई सुजातालाई भेट्न मन लागेन । तर एउटा प्रश्न चैँ सोध्न मन लागेको थियो “किन सुजाताजी ! किन यस्तो रि-सफल राजनीतिमा जस्तो …?”
तर सोधिनँ । बरु अर्को एउटा प्रश्न सोध्न मन थियो । त्यो पनि सोधिन । त्यहाँसम्मै पुग्नै मन लागेन । फर्किनै लागेको थिएँ करिडोरमा सुधाकर नै भेट भयो । मैले केही भन्न नपाउँदै त्यो आफ्नो छविमा ओर्लिहाल्यो- “हमेँ मालूम है हकिकत कि जन्नत लेकिन…”

त्यसको मिर्जा गालिबको पुनर्वाचन नसकिँदै मैले सोधेँ- “यो तेरो सेल्फ कम्प्लिमेन्टरी हो कि कन्फेशन ?”

“वाहियात कुरा नगर् । तँलाई सुनाएको गालिबको यो गजल परवेजले गाएको छ । को परवेज भन्लास् । पाकिस्तानको आजको मेहन्दी हसन । तिमीहरु सुन्दै सुन्दैनौ समकालिकताको चेतना ख्वै ?” आफ्नो अपूरो लेक्चरबाजी नसक्दै त्यसले मलाई पोडियममा पुर्याइसकेछ जहाँ सुजाता र विनय पात्रगत रुपमा उभिरहेका थिए एकअर्कासित टाँस्सिएर ।

म यति असमाजसमा परेँ जसको निमित्त कत्ति पनि तयार थिइनँ म । सुधाकर यस किसिमको नाटक गरिरहन्छ आफू पनि फँसिरहन्छ अरुलाई पनि बिनासूचना फसाइरहन्छ । मलाई यसै क्रममा त्यसले यहाँ उभ्याइदियो । “भेटिस् सुजातालाई ? हेर्नोस् विनयजी ! यो पार्टीमा आएको-नआएको थाहा नदिई सुटुक्क भाग्न लागेको थियो । मैले पक्डेर ल्याएँ ।”

मलाई पक्डेर ल्याएको भए पनि सुधाकरको अनुहारमा देखिन्थ्यो त्यो चोरीको डर । सम्वाद बोल्दै गर्दा उसको अनुहारमा एकैपटक नवरसका दुई भाव स्पष्ट देखिन्थे- करुणा र विभत्स । दुवै रसमा पनि उसको अभिव्यक्ति स्पष्ट हुन नसकेकाले ऊ सफल पनि देखियो ।

दुवै दम्पत्तिलाई बधाई दिएर म घर फर्कें । तर मनमा एउटा विशाल खिन्नता रहिरह्यो । किन सुजाताले सुधाकरलाई विफल तुल्याई त ? मसँग सुझाव मागी दुईमा को ठिक होला मेरो जवाफका विरुद्ध विनयलाई छनौट गरी । यो फेरि अर्को मजाक मैमाथि ।

विवाहपश्चात् सुजाता पाश्र्वभूमिमा हराई कलेज पनि छोडिदिई ।

विनयसित मेरो मित्रताको विकास एम.ए. गरिसकेपछि भयो । सुधाकरको ज्यादा जागरुकताले नै भएको मान्दछु । एम.ए. को परिणाम घोषित हुनुपूर्व नै मलाई युनिभर्सिटीको रिसर्च स्कलरसिप मिलिसकेको थियो । यसको श्रेय दृश्य-अदृश्य रुपमा डा. वत्सलाललाई जान्छ जो त्यतिबेला फ्याकल्टी चीफ थिए । म ती दिनमा युनिभर्सिटीको रिसर्च टेबिलमा बस्ने गर्दथेँ । विनयले प्राक्टिस सुरु गरिसकेका थिए । तर कहिले उनीसित फर्किंदैगर्दा घरसम्म आउने जोडजबरजस्ती गर्थे ।

एकदिन कलेज जाँदै गर्दा बिहानै पानीले भिजेँ निथुक्कै । धरतीको गुरुत्वाकर्षणमाथि सराप्दै हिडेँ किनकि हातमा लिएको छालाको झोला पाखुरालाई नै विभक्त गर्लाजस्तो गरेर तन्किरहेको थियो । बसमा एकछिन सवार भएँ तर सुविस्ता भएन बीच बाटोमा ओर्लें ।

बाटोमा सुजाता भेट भइन् रक्ताम्बराजस्ती भएर । हठात् मैले नमस्ते गर्न पुगेँ । लजाएजस्तो गरिन् । सोधिन् “चिन्नुभो ! मलाई त तपाईंले नचिन्नु होला भन्ने पो डर लागेथ्यो ।”

अवसरको अत्यन्त कमजोर फाइदा उठाएर मैले एउटा घन फ्याकेँ- “आज चिनेँ, तर सुजाताजी त्यो दिन तपाईंलाई मैले चिन्न सकिनँ जुन दिन तपाईं……”

मेरो प्रश्नको सङ्केत तिनले सहजै बुझिन वा नाममा अप्रत्याशित रुपमा जी शब्दको प्रयोगले झस्किन् ।

“हेर्नोस् सर ।” सर शब्दको प्रयोग उनी सायद पतिलाई पनि गर्दी हुन् त्यसैले उनी त्यसमा सहज देखिइन् ।

“सरहरु भनेको मर्द । याने कि एम सी पी- मेल चोवनिस्ट पीग , हामी पनि कहिलेकाहीँ आफ्नो च्वाइसमा बाँच्नुपर्यो नि परेन ? धेरै अर्थमा विनयको तुलनामा सुधाकर वेस्ट हो तर प्राक्टिकल पनि हुनुपर्यो सर ।” यसपालिको सर मलाई अत्यान्तिक व्यङ्योक्ति लाग्यो ।

“…सुधाकर डेफिनेट्ली प्रेमी मान्छे हो । तर प्रेम जीवनको एउटा अङ्ग मात्र हो शरदजी ! सम्पूर्ण अङ्ग होइन ।” उनले भनेका कुरा जेसुकै भए पनि त्यसको जे-जस्तो अर्थ भए पनि पछिल्लो ‘जी’ शब्दले दर्दमा मल्हमको काम गर्यो । त्यसपछि यदाकदा सुजातासँग भेट त भइरहन्थ्यो तर सुधाकरको चर्चा न्यूनोक्ति हुँदै गयो । विश्वसनीय स्रोतका अनुसार सुधाकर अझै पनि विनय-सुजाताको जोडीलाई लक्ष्मण सरह सहयोग गर्ने गर्छ रे । म खबर पाउँछु- सुधाकर त कहिलेकाहीँ रात्रिभोजन त्यहीँ गर्छ । के कति कारणले यो राम्रो हो ? के कति कारणले यो नराम्रो हो मैले त्यतापट्टि ध्यानै दिइनँ । यो कथाको नायक म नभएको हुनाले यसलाई कलेजमा बहुतायत साथीभाइहरु सुधाकरलाई सुजाताको मानस-पतिका रुपमा व्याख्या गर्न थालेपछि मैले त्यसलाई एकदिन सम्झाएँ ।

हाम्रो गालिब अङ्ग्रेजी उवाचमा मलाई सम्झाउँछ- “आइ वुडन्ट मैरी अ गर्ल । आइ वुड म्यारी अ वुमन- म्याच्योर एण्ड अण्डरस्ट्याण्डिङ् ।

कलेज सकिएपछि सुधाकर कविताको छन्द र गन्धबाट हुर्रिरएर ईट्टा र पर्खालको बनावटतिर लागेछ – ठेकेदार ! छयालीसको आन्दोलनपछि ऊ एउटा पार्टीको महाधिवेशनमा पोखरामा देखापर्यो बिल्ला लगाएर ।

जतिबेला म सुजाताको ईमेल पढ्दै थिएँ सुधाकर काठमाडौँको राजनीतिक सरगर्मीमा पौडी खेल्दै थियो । ऊ मन्त्री वा कुनै सानो मुलुकको राजदूत हुने पनि व्यापक हल्ला साँझको खबरकागजले फ्याँकिरहेको थियो । तर म चक डस्टरको जिन्दगीसित गाँसिएपछि यस्ता सभासङ्गतबाट टाढै रहेँ ।

पहिले २१ मार्च सन् १९९४ भन्दा पूर्वको कथा यति मात्रै हो । यसभन्दा अघिल्लो प्रसङ्ग यहाँ जोडिनु कथालाई अस्पष्ट बनाउनु मात्र हो । प्रिय पाठकहरु ! म अनन्त क्षमा माग्दछु बारम्बार यसलाई म कथा भन्दैछु । कथाजस्तो लागे पनि यो मेरो जीवनको एउटा नछुट्टिने सम्झना मात्र हो भन्न मन पराउँछु ।

सुजाता विवाहपछि लामो समयको लागि मलेसिया गइन् ।

त्यसपछिको कथा म जान्दिनँ । अज्ञानताको कारणले मैले रुचि पनि राखिनँ । थाहा पाए अनुसार उनको विनयसित बिना कुनै विवाद पारपाचुके भइसकेको छ । ईमेल पाएको तेस्रो दिनमा तिनी काठमाडौँमा देखा परिन्- कलेजकै दिनको उत्साह बोकेर ।
नयाँ वर्षको एक साँझ मलाई राजधानीको एक भव्य चिनियाँ होटलमा डिनरमा बोलाइन् । म समयभन्दा पहिल्यै पुगेछु, ठाउँ पो गलत परेछ कि भनी फर्किन लाग्दा सुजाता कपाल फैलाउँदै प्रवेश गरिन् । उनलाई देखेर म आश्चर्यचकित परेँ । समयले उल्टो खेल पो खेलेछ । उनी त पहिलेभन्दा दसवर्ष सानी पो देखिइन् । सायद फैशनले हो कि ? नयाँ वर्षको शुभकामना र अन्य कुराकानी चलिरह्यो ।

सोधेँ- “विनयसित के भो ?”

भनिन्- “एउटा गलत काम, एउटा गलत विराम, जिन्दगीको अर्थ कति घातक रुपले बदलिन्छ त्यो मैले बल्ल बुझें ।”
लामो समयपछि मैले सोधेँ- “अब यसपछि के सोच्नुभएको छ ?”

“जिन्दगी एउटा प्रयोग हो शरदजी । हेरौँ ।”

“हो र !”

मेरो प्रश्नले उनलाई आनन्दित तुल्याएछ र भनिन्- “तर पनि मेरो सूचीमा दुईवटा नाम अझै बाँकी छन् । पहिलो नाम सुधाकरको र दोस्रो तपाईंको…”

मेरो अनुहारको भावमण्डल नबदलिँदै तिनी जोडले हाँसिन् र आफ्ना हातको कोन्याक एक घुट्कामै सखाप बनाइन् ।
कथाकार के जान्दछ भने सुधाकर जत्तिकै कोन्याक पनि सुजाताको पहिलो प्रेम हो ।