Hari Prasad Bhandari – Sanjog

हरिप्रसाद भण्डारी – संजोग

म ब्यूँझदा मैले आफूलाई अस्पतालको बेडमा पाएँ । अचम्म लाग्यो मलाई । म किन र कसरी त्यहाँ पुगेँ भन्ने कुरा मेरा दिमागले ठम्याउन सकिरहेको थिएन ।
त्यसबेला मेरो सारा शरीर दुखिरहेको थियो । टाउको गह्रौं भइरहेको थियो । र, आँखा अगाडिको दृश्य धमिलो देखिन्थ्यो ।
एकैछिनपछि अस्पतालको कारुणिक वातावरणलाई चिर्दै एउटी परिचारिका मेरा नजिक आइन् । मतिर हेरेर मुसुक्क मुस्कुराइन् । ‘कस्तो छ अहिले ?’ यसो भन्दै हसिलो अनुहार बनाएर मलाई हेरिरहिन् । उनी मसँग केही बोल्न खोज्दै थिइन्, तर म केही बोलिन । म नबोलेको देखेपछि उनले नै मलाई सान्त्वना दिँदै ‘अब आत्तिनु पर्दैन, छिटै निको हुन्छ’ भन्दै एउटा इन्जेक्सन् ल्याएर पाखुरामा लगाइदिइन् र बिस्तारै मल्न लागिन् ।
“मलाई किन यहाँ ल्याएको सिष्टर ?” एकैछिनपछि सासैसासमा मेरो मुखबाट आवाज आयो । मैले सिष्टर भनेको सुनेपछि उनी झस्किन् । अचम्म मानिन् र भनिन्— “हिजो तपाईं चढ्नुभएको गाडी दुर्घटना भएको के त ।” त्यसपछि पनि उनले मेरो अनुहारमा झुकेर हेर्दै थिइन् । तर मैले टाउको दुखेको हुनाले आँखा चिम्लेर कुनापट्टि फर्किएँ ।
तीन÷चार दिनपछि म पहिलेको अपेक्षा धेरै स्वस्थ भइसकेको थिएँ तर पुर्ण आरामचाहिँ भएको थिएन । त्यस अवधिमा ती परिचारिकाले मेरो खुब सेवा गरिन् । उनले गरेको मप्रतिको सेवाभावले मलाई साह्रै फाइदा पु¥यायो । उनले मलाई असाध्यै माया गर्थिन । मीठो बोल्थिन्, मुसुक्क हाँस्थिन् र मलाई खुसी पार्न प्रयत्न गर्थिन् । उनको बोली र व्यवहारमा सन्जीवनी मिसिएको प्रतीत हुन्थ्यो मलाई । उनी समय समयमा म भएका ठाउँमा आउँथिन्, नौला नौला औषधि र फलफूल ल्याएर खुवाउँथिन् र मसँग केही न केही कुरा गर्न चाहन्थिन् । मेरो शरीर स्वस्थ हुँदै थियो तापनि बोल्दा टाउको अझै दुख्थ्यो । त्यसैले उनले गरेका कुराहरूको जवाफ फर्काउन सकिरहेको थिइन ।
होसमा आएको चौथो दिन मैले उनलाई त्यत्तिकै प्रश्न गरेको थिएँ— “सिष्टर, कोही मलाई भेट्न त आएन ?”
“अहँ आएन त !” आश्चर्य मान्दै उनले भनिन् ।
“कोही भए पो आउनु !” मैले मनमनै भनेँ । अनायास मेरो मुखबाट लामो सास बाहिर आयो ।
“तपाईं किन आउनुभएको काठमाडौं ? यतै बस्नुहुन्छ कि . . .।” यस्तैमा एकदिन उनले सोधेकी थिईन् ।
“बस्दिन, सानो काम थियो त्यसैले आएको थिएँ ।”
“घर कहाँ पर्छ ? र के काम गर्दै हुनुहुन्छ नि आजकल ?” उनले माथि सिलिङ्तिर हेर्दै थप जिज्ञासा राखिन् ।
“खोई….! घरको त कुनै ठेगानै छैन । काम भने यसो क्याम्पसमा पढाउने गरेको छु ।”
“तपाईंको पूर्ण परिचय मागेको छ । परिवारको नाम र ठेगाना दिनोस् । खबर पठाउनु पर्छ हामीले ।” उनले भनिन् ।
“त्यो दुःख गर्नु पर्दैन ।”
“किन र ? दुःख होइन, त्यो त हाम्रो कर्तव्य पो त ।”
म त्यो बेला केही बोल्न चाहेको थिइनँ, उनले निकै जिद्दी गरिन् ।
“मेरो जीवनप्रति चासो राख्ने व्यक्ति कोही पनि छैन । बरु एउटा सानो खबर मेरो क्याम्पसको नाममा पठाइदिनु भए हुन्छ ।’ मैले यसो भनेर उनको मन राखिदिएँ ।
मेरो कुरा सुनेपछि उनले अचम्म मानिन्, ट्वाल्ल परेर मेरा अनुहारमा हेरिन् र बिस्तारै भनिन्— “के तपाईंको परवार छैन र ?”
“छैन ।” लामो सास लिदैँ सत्य कुरा सुनाएँ । यसपछि उनी केही बोलिनन् । आश्चर्य मान्दै त्यहाँबाट हिडिन् ।
अस्पतालबाट बिदा लिने दिन नजिक आइरहेको थियो । त्यस अवधिमा उनीबाट मैले कहिल्यै तिर्न नसक्ने अमूल्य सहयोगको पाएको थिएँ । उनले मानवीय सहयोग मात्र होईन आर्थिक सहयोगसमेत गरेको आभाष पाएको थिएँ मैले । त्यसैले एकदिन यिनै कुरा बारे जिज्ञासा राखें ।
उनी मधुरो र मलिन हाँसो हासिन् । अनि त्यस्तो कुनै खर्च नभएको भाव व्यक्त गरिन् ।
“मानवीय सेवा जे जस्तो भए पनि अन्य खर्चको भार त पार्नु भएन नि तपाईमाथि । फेरि यो सबै थोक दिने अस्पताल पनि त होइन यो ।” मैले आफ्नो कुरो अगाडि राखेँ ।
“तपाईंको लागि आवश्यक पर्ने सम्पुर्ण खर्च हामीलाई अन्यत्रबाटै प्राप्त भइसकेको छ ……..।” मुुसुक्क हाँस्दै उनले भनिन् ।
“अन्यत्रबाटै रे ? को सँगबाट ?” मलाई आश्चर्य लाग्यो र जोड दिँदै सोधेँ— “कतै तपाई झूठो त बोलिरहनु भएको छैन ? कतै मजाक पो गर्नुभएको हो कि ?”
“हैन हैन, मैले किन झूठो बोल्नु, किन मजाक गर्नु ?” उनी केही क्षण रोकिइन् र अगाडि थपिन्— “पहिलो दिन तपाईलाई चाहिने रगतसमेत हामीलाई अन्यत्रबाटै प्राप्त भएको थियो ।”
“रगत पनि !”
उनी मुसुक्क हाँसिन् र भनिन्— “साँच्चै भन्ने हो भने त्यो सहयोगी वा दाता नपाउनुभएको भए तपाईको बाँच्ने सम्भावना न्यून थियो । निकै कोशिस गरेर बचाएको हो तपाईलाई । भाग्यमा विश्वास गर्नुहुन्छ कि हुन्न कुन्नि ? यस मानेमा तपाई निकै भाग्यमानी हुनुहुँदोरहेछ ।”
उनको कुरा अनौठो लागिरहेको थियो मलाई । आश्चर्य मान्दै मैले बिस्तारै सोधेँ— “अन्यत्रबाट भन्नु भयो ! तर को हुन सक्छ मलाई बाहिरबाट मद्दत गर्ने त्यस्तो व्यक्ति ?”
निकैबेर घोरिएपछि उनले भनिन्— “शीलाको नाम सुन्नु भएको छ कतै ?”
“शीला ?” उनको कुरा सुनेर म झसङ्ग भएँ ।
“उनीबाटै प्राप्त भएको हो यो सबै सहयोग ।” उनले सहज रुपमा भनिन् ।
“शीला !, उही शीला जसलाई मैले चाहेर पनि पाउन सकिनँ ।” मैले लामो सास फेरंँ र म करीव सत्र÷अठार वर्ष पुरानो अतितमा डुबुल्की मार्न पुगेँ ।
करीव सत्र वर्ष पहिले शीलाले र मैले राम्रा र सुखका सपना देखेका थियौँ । हाम्रो सपनाको संसार औधी सुन्दर र मनमोहक थियो । हामीले एउटा आदर्श पारिवारिक जीवन बिताउन चाहेका थियौँ । तर सपना सपनामै सीमित रह्यो । हामीले सपनाका खुसीहरूलाई विपनामा अनुवाद गर्न सकेनौँ । समयको छालले उनको र मेरो क्षणिक मिलन बनायो, सुनौला सपना देखायो र केही समयपछि अलग्यायो । हामी टाढा टाढा हुँदै गयौँ र हरायौँ एक आपसमा ।
क्याम्पस पढ्ने क्रममा उनको र मेरो पहिलो भेट भएको थियो । संजोगबस उनको र मेरो परिचयले गाढा रूप लिँदै गयो । अनि छोटो समयमै हामी बीचमा प्रेमपूर्ण सम्बन्ध जोडिदै गयो ।
पहिले हामीले पढ्ने विषय अर्कै थियो । पछि मैले उनलाई चिकित्साशास्त्र पढ्ने सल्लाह र हौसला दिएको थिएँ । उनले त्यसै गरेकी थिइन् ।
हामीहरू आत्मीय रूपमै प्रेममा बाधिएका थियौँ । हाम्रो प्रेम पवित्र थियो । हामीले हामी बीच रहेको पवित्र प्रेमलाई बैवाहिक रूपमा परिणत गरी जीवनभरि अमर राख्ने निष्कर्षमा पुगेका थियौँ । सो कुरा उनको घरसम्म पु¥यायौँ । हाम्रो प्रस्ताव स्वीकार हुनेछ भन्ने लागेको थियो हामीलाई तर हाम्रो अनुमान सत्य ठहरिएन । हामीले जतिसुकै पवित्र प्रेम गरेका भए पनि हाम्रो संस्कारले हाम्रा बीचमा भाँजो हाल्यो । हाम्रो चाहना पुरा हुनुको साटो उल्टै हाम्रो पवित्र प्रेमलाई नकारात्मक दृष्टिले हेरियो । हामीले परिस्थितिका बिरुद्ध संघर्ष गर्नु पथ्र्यो तर गरेनौँ, सकेनौँ शायद । परिवेश अहिलेको भन्दा केही फरक भएर पनि हो कि !
पछि शीलाको विवाह अन्तै हुने हल्ला चल्यो । यद्यपि शीलाले उनीहरूको प्रस्तावको विरोध त गरिन्, तथापि सामाजिक बन्धनलाई तोडेर सिधै मसँग सम्वन्ध जोड्ने आँट भने गर्न सकिनन् । उनको परिवारबाट हाम्रो सम्वन्ध र सम्पर्कलाई टाडा राख्ने प्रयत्न गरियो । हामी चाहरे पनि एक अर्काका हुन सकेनौँ ।
हाम्रो सम्पर्क टाडा टाडा हुँदै गयो । उनले मलाई बिर्सिन् । उनले बिर्से पनि मैले भने कसैगरे पनि उनलाई बिर्सन सकिन । उनलाई प्राप्त गर्ने मेरा चाहनाहरूलाई उनको तस्वीरमा सीमित राखेर जीवन बिताउने प्रण गरेँ । आज धेरै वर्षपछि एक्कासि उनको नाम र उनले मप्रति गरेको सेवा भावको कुरा सुन्दा निको भइसकेको घाउमा दाउराले घोँचेजस्तै लाग्यो । म भावविह्वल बनेर शून्यमा टोलाइरहेँ ।
मलाई उनको सम्झनाले रातभरि सतायो । अर्को दिन विहान म अस्पतालबाट हिँड्ने भएँ । हिँड्नुपूर्व शीलाको बारेमा सम्पूर्ण कुरा बुझ्न चाहन्थे, तर म हिँड्ने बेलामा निज परिचारिकालाई भेट्न सकिनँ । सोधेको कुन्नि के जरुरी काम परेर उनी विदामा छन् भन्ने खबर पाएँ । भेट्न नपाएकोमा नजाती लाग्यो । पछि आएर भेट्ने र यिनैको माध्मद्धारा शीलाको सम्पर्क पत्तालगाउने विचार लिएर त्यहाँबाट हिड्ने निधो गरेँ ।
वासस्थानमा पुगेको केही दिनपछि हुलाकीले आएर मेरो नामको एउटा पत्र दियो । पत्र शीलाले नै लेखेकी रहिछन् । मलाई आश्चर्य लाग्यो र छिटो छिटो पत्र खोलेर पढ्न सुरु गरेँ ।

प्यारा विनोद !,
धेरै वर्षपछि तिमीलाई भेटे र सेवा गर्ने अवसर पाएँ । अत्यन्तै खुसी लाग्यो । तिमीले मलाई नचिनेकोमा सुरुमा त दुःख लागेको थियो तर पछि उक्त दुःखलाई तिम्रो प्रगतिसँग साटेर मन बुझाएँ । चाहे जे होस्, तिम्रो प्राण बचाउन पाएकोमा मैले आफूलाई भाग्यमानी ठानेकी छु । तिम्रो सल्लाह र सहयोगले गर्दा आज हजारौँ दुःखी गरिबहरूको सेवा गर्ने अवसर पाएकी छु । तिमी र म जति टाडा भए मनि तिम्रो सम्झना हराएको छैन मनबाट । बिदाइमा भेट्न नआएकोमा दुःख त अवश्य लाग्यो होला, तर पीर नमान्नु । जिन्दगी रहेसम्म एक आपसमा भेट हुँदोरहेछ, अचम्मको भेट भयो ।
शरीरको ख्याल गर्नु र पत्र पठाउनु ल ? मनका सम्पर्ण भावनाहरूलाई दुई थोपा मसीको सहाराले कागजमा कोरेर सकिदैनन् । त्यसैले अहिलेलाई कलम यहीँ रोक्छु, बाँकी गन्थन भेटमै गरौँला ।
उही तिमीलाई सधैँभरि माया गर्ने
शीला
पत्र पढेपछि एकपटक निद्राबाट ब्यूँझेजस्तो लाग्यो । त्यसपछि चिठी समाएका मेरा हातहरू थरथर काँप्न थाले । अनायास आँखाहरू पारि क्षितिजतिर दौडिए, जहाँ सधैँ सेता देखिने हिमालहरू बेलुकीको सुर्यको प्रकाशले गर्दा सुनौलो रङमा चम्किरहेका थिए ।

Hari Prasad Bhandari – Prabritti (Nepali Laghu Katha)

हरिप्रसाद भण्डारी – प्रवृत्ति
(Source of this story: मधुपर्क जेठ, २०६८)

सहरको केही पर एकान्त स्थानमा एउटा मन्दिर थियो । मन्दिर वरिपरि सानासाना कुटीहरू थिए । कुटीमा योगी, सन्न्यासी तथा पूजारीहरू बस्थे । नजिकै बाक्लो बस्ती भएको हुँदा नियमितरूपमा भक्तजनहरू मन्दिरमा दर्शन गर्न र घुम्न आउँथे । मन्दिर परिसरको वातावरण सुन्दर र रमणीय थियो ।

मन्दिर र कुटीहरूमा चढाएको फूल-प्रसाद खान पाइने हुँदा त्यस क्षेत्रमा मुसाहरूको बिगबिगी थियो । एक-दुइटा बिराला पनि थिए तर सयौँ मुसाकामासु बिरालाको सङ्ख्या नगण्य थियो ।

मुसाहरूको बगालमा काले र खैरे नामका दुइटा मुसा थिए । दुवै साथीसाथी थिए । एउटाको आनीबानी अर्कोलाई थाहा थियो । खेल्दा, डुल्दा वा चारो खोज्न जाँदा सधैँ सँगै हुन्थे । युवा जोश थियो । प्रशस्त चारो पाइने हुँदा मोटाएर टुनुक्क परेका थिए ।

घरिघरि बिरालाले दुःख दिने हुँदा दुवै हैरान थिए । बिरालाले फेला पार्‍यो भने अकालमा मर्न सकिन्थ्यो । सधैँ सतर्क भएर हिँड्थे ।

बिरालाको फूर्ति देखेपछि काले मुसालाई बिरालोको बन्ने इच्छा भयो र आफ्नो इच्छा साथीलाई

सुनायो ।

-‘जाबो बिरालो !’ खैरेले भन्यो ।

तैपनि कालेको मनमा बिरालो बन्ने इच्छा तीव्र हुँदै जान थाल्यो । बिरालोको फूर्ति देख्दा उसलाई ईष्र्या

लागिरहेको थियो ।

कुटीमा ठूला ज्ञानी र जादु गर्न सक्ने एउटा योगी थिए । कालेले उनलाई प्रशन्न पार्‍यो र बिरालो बन्ने इच्छा जाहेर गर्‍यो । योगीले आफ्नो योगको बलका आधारमा कालेलाई केही समयका लागि ढाडे बिरालो बनाइदिए ।

‘अहा, म बिरालो भएँ ! क्या मज्जा !’ ऊ खुसीले उपि|mयो, रमायो र वरपर दौडियो ।

बिस्तारै भोकले च्याप्दै गयो । ‘अब केही खानुपर्छ, ऊ आहाराको खोजीमा निस्कियो । खैरे र उसका साथीहरुले देखे- काले बिरालो आहाराको खोजीमा उनीहरू बस्ने दुलोको बाहिर ढुकेर बसिरहेको थियो ।

Hari Prasad Bhandari – Okhati [Nepali Laghu Katha]

गाउँमा स्वास्थ्यउपचार टोली खटिएको थियो र गाउँलेहरु शिविरमा जम्मा भएर उपचार गराइरहेका थिए ।

त्यस्तैमा पल्लो गाउँमा एक परिवारका सातैजना सिकिस्त बिरामी छन् रे र शिविरसम्म आउन पनि सक्दैनन् रे भन्ने खबर शिविरमा आयो ।

‘उनीहरु आउन नसक्ने भएपछि घरमै गएर उपचार गर्नुपर्छ।’ मुख्य मुख्य व्यक्तिहरुको उपस्थितिमा भएको छलफलले निष्कर्ष निकाल्यो । केही समयभित्रै सिनियर डाक्टरको नेत्रित्वमा एउटा टोली बिरामीको घरमा गयो ।

‘के हुन्छ ?’ मायालु शब्दमा डाक्टरले सोधे ।

‘भोक लाग्छा, खाना नापाएर पेट दुख्छा रा कामजोरी भएर उठ्न पनि साक्दैना।’ घरमुलीले बिस्तारै भने ।

डाक्टर अचम्म परे र सोधे, ‘कसरी यस्तो भयो त ?’

‘खोइ हाजुर, निमेक पाइदासाम्मा र वानमा गिठा भ्याकुर पाइदासाम्म त ठीकै थियो । पाछि निमेक पानि पाइन छाड्यो, गिठा भ्याकुर पानि साकिए आनि ता पानीले मात्रै भोक मारेना‌‌‌…….।’ उनी रुन थाले ।

‘के खान नपाएर बिरामी परेको ?’

घरमुलीले सहमतिमा टाउको हल्लाए र थपे– ‘डाङ्डर साहेब तापाईसाँग भोक नालाग्ने ओखती होला कि ?’