Prakash Sayami – Sujata Ek Peg Konyak Ra Naya Barsha

इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो ।

पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ… पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको ठूलो शिखरारोहण मानेको थिएँ र अझै पनि सम्झिन्छु त्यस रात हामी केही साथीहरु एकसाथ बसेर फुटबल हेर्दै थियौँ ।

त्यो समूहको नाम कलेजमा व्यापक रुपमा चर्चित थियो- हीभ एइटी फोर भनेर । हीभको पूर्ण अर्थ थियो- एच.आई.भी. ।

त्यतिबेला एउटा रोगको नाम भइसकेको थिएन मात्र समाचारको शीर्षक थियो । विशेषतः अङ्ग्रेजी साप्ताहिकले त्यसको फलो-अप न्यूज बनाएर युवाहरुमाझ लोकप्रिय बनाइसकेको थियो र ती युवाहरुमध्ये सुधाकर पत्रकारिताको त्यो विद्यार्थी थियो जसले त्यस रोगका बारेमा पत्ता लगाएर हामीलाई पहिलो खबर सुनाएको थियो ।

समयान्तरमा उसले त्यस रोगबारे लेख्यो पनि तर समाचार होइन कविता लेख्यो । अचम्मसित ऊ कवितासहित प्रकट हुँदा ऊभित्रको नयाँ व्यक्तित्वसित हामी परिचित भयौँ र नेतृत्वगुण भएका कविलाई हामी साराले एक्कासी आइडलको रुपमा स्वीकायौँ ।
यो घटनाले पछि नयाँ स्वरुप लियो- त्यो रोगले सुधाकरलाई कविको रुपमा भन्दा प्रेमीका रुपमा स्थापित गर्यो । सुधाकरको काव्य व्यक्तित्वमा कविताको अनुच्छेद बनेर सुजाताले प्रवेश गरी ।

सुधाकर असलमा एउटा कुशल राजनीतिज्ञ व्यक्तित्व भएको विद्यार्थी थियो । सुजातासितको भेटपछि उसले आफ्नो राजनीतिक जीवनलाई नेपथ्यमा धकेलिदियो । जसरी सुजातासित भेटेपश्चात् सुधाकरले आफ्नो क्यारियर बदले त्यसरी ने मनोविज्ञान पढ्न आएकी सुजाताले सुधाकर महोदयलाई भेटेपश्चात् पत्रकारिता पढ्न थाली र आफ्नो चयनको विषयलाई तिलान्जली दिई ।भन्नेहरु अझै पनि भन्छन्- त्यही कारणले सुधाकर र सुजाताको सम्बन्ध भएको हो । तर एक साक्षीका रुपमा हेर्दा मलाई त्यति मात्र कारण पर्याप्त हो जस्तो लाग्दैन ।

सुधाकरसित निकटता भएको चार वर्षपछि सुजाता एकदिन मलाई भन्छिन्- “शरदजी…… मेरो जीवनमा यतिबेला दुईजना पुरुषको एकैपटक आगमन भएकॊ छ । दुवैले मलाई राम्रो इम्प्रेशन दिएका छन् एकजना सुधाकर र अर्को विनय । तपाईं भन्नुहोस् ती दुईमध्ये कुनमा बढी मेरो पति बन्न सक्ने गुण छ ?”

प्रश्नको गोबरझ्याउलोमा तिनले मलाई यसरी अल्झाइन कि म निर्दिष्ट उत्तरभन्दा त्यस दुईजनामा एक थपिएर तेस्रो नाम किन हुन सकेन त्यतातिर आकृष्ट हुन पुगेँ । तिनले फेरि सोधिन् “तपाईं त मभन्दा बढी कन्फ्यूज हुनु भो त…”

परिस्थितिको गलत अनुमान हुँदाहुँदै पनि मैले आफ्नो मनोभावलाई एक विदूषकले झैं प्रस्तुत गरेँ-“होइन सुजाता ! म त तेस्रो नाम पो खोज्दै थिएँ । मेरो नाम……।”

मेरो पङ्क्तिले पूर्णता ग्रहण नगर्दै उष्णता दिँदै हाँसिन् । तिनको हाँसो कलेजमा सर्वव्यापी मानिन्छ । त्यो हाँसो दीर्घकालसम्म मेरो निम्ति कर्णकटु बनिरह्यो । म भन्दै थिएँ तिनले मेरो स्वरलाई बलाघात पुर्याएर भनिन्-” यो एउटा अर्को रोमान्टिक कुरा हो । यो विनोद-चर्चाको लागि ठाउँ छैन आज……।”

मेरो एउटा महत्ताभास भनौँ वा भाग्ने सर्टकट बाटो म स्वयमले पनि त्यतिबेला त्यस बहसमा पैरवी गर्न चाहिनँ । सम्भावना नदेखेर होइन सुजाताबाट सज्जनता पाउन र त्यसलाई आफ्नो पराजयभन्दा महानता ठानेर मैले हात झिकें । म विनयभन्दा तल परेँ वा कति अङ्कले म सुजाताको नजरमा अनुत्तीर्ण भएँ मैले त्यसपछि कहिले सोचिनँ । यो विनोद-चर्चाको लामो समयपछि सुजाताले विवाह गरिन्- सुधाकरसित होइन विनयसित ।

विवाहमा सुधाकर पनि सहभागी थियो तर निम्तालुका रुपमा नभई ऊ त आफैँ एउटा आयोजकजस्तो रुपमा थियो । पार्टीमा उसले डिङ्क्स डिपार्टमेन्ट जिम्मा लिएको रहेछ र दिलोज्यानले ऊ खट्दै थियो । साथीहरु उसमाथि स्मोकिङ जोक्स बनाउँदै थिए । स्मोकिङ जोक्स हाम्रो कलेजको दिनदेखि लोकप्रिय विधामा पथ्र्यो । कुनै पार्टीमा पुरुषलिङ्गीहरु स्त्री पक्षबाट बचेर कुनै अश्लील ठट्टा गर्नुपर्यो भने चुरोट खाने बहानामा कुनामा गएर एकपक्षीय भएर अड्डा जमाउँथे । त्यसका सूत्रधार त सुधाकर महोदय नै थिए । तर आज उसमाथि नै त्यस्तो वर्षापात हुँदै गरेको देखेर मलाई दया कम रिस बढी उठ्यो । मलाई हेर्दै कसैले भन्यो- “हेर्नोस् शरदजी ! सुधाकर पहिले दिल लगाएर माया गथ्र्यो आज पसिना बगाएर माया देखाउँदैछ । यसको पसिनाको चमकले काम गर्यो भने वैकल्पिक उम्मेदवार यही हो ।

मिर्जा गालिबका परमभक्त सुधाकरमाथि पालैपालो गालिबकै अन्दाजे-बयानमा शेरोशायरी भन्दै उनीहरुले प्रहार गर्दैगर्दा म स्वयम् पनि पसिनापसिना भइसकेको थिएँ । कतै मैमाथि पनि यो प्रहार हो कि भन्ने सोच्न विवश भएँ ।

“…वैट एण्ड वाच शरदजी, एकदिन यो सुधाकर यही महानगरको कुनै कुनामा सुधाकर भएर होइन सुजाताधर भएर देखा पर्नेछ, भक्त भो यो सुजाताको । नेपाली साहित्यमा पी.एच.डी. गर्नेले एउटा नयाँ विषय पाउने भो- गजलकार सुधाकरको साहित्यिक जीवनीमा सुजाताको देन…ब्लाह !……ब्लाह ! “सुन्नुभो शरदजी ! नेपाली साहित्यको महान् जोक् …?”

तिनीहरुलाई थाहा थिएन शरदजी पनि यस कथाको एउटा त्यस्तै दयनीय पात्र हो भनेर । तर नेपथ्यमा भएकाले मात्र ऊ आज यो विनोद-चर्चाबाट बचेको हो । यस दुर्घटनाग्रस्त हालतबाट बचाउनुमा त्यस अघिल्लो विनोद-चर्चाको पूर्वाभासले मलाई सेफल्याण्डिङ् गर्यो । म खुसी भएँ । तर त्यति होइन जति उनीमाथि पालैपालो सलाई कोर्नेहरु भइरहेका थिए । म त तिनीहरुभन्दा दुरुह अवस्थामा थिएँ तर त्यति पनि होइन जति सुधाकर थियो होला । सुधाकरको खटाइ हेर्दा ऊ पनि त्यति दुःखीजस्तो लागेन । हुनसक्छ उसले आफूभित्रको पाचवटीलाई बचाइराखेको होस् । यी सारा प्रकरणपछि मलाई सुजातालाई भेट्न मन लागेन । तर एउटा प्रश्न चैँ सोध्न मन लागेको थियो “किन सुजाताजी ! किन यस्तो रि-सफल राजनीतिमा जस्तो …?”
तर सोधिनँ । बरु अर्को एउटा प्रश्न सोध्न मन थियो । त्यो पनि सोधिन । त्यहाँसम्मै पुग्नै मन लागेन । फर्किनै लागेको थिएँ करिडोरमा सुधाकर नै भेट भयो । मैले केही भन्न नपाउँदै त्यो आफ्नो छविमा ओर्लिहाल्यो- “हमेँ मालूम है हकिकत कि जन्नत लेकिन…”

त्यसको मिर्जा गालिबको पुनर्वाचन नसकिँदै मैले सोधेँ- “यो तेरो सेल्फ कम्प्लिमेन्टरी हो कि कन्फेशन ?”

“वाहियात कुरा नगर् । तँलाई सुनाएको गालिबको यो गजल परवेजले गाएको छ । को परवेज भन्लास् । पाकिस्तानको आजको मेहन्दी हसन । तिमीहरु सुन्दै सुन्दैनौ समकालिकताको चेतना ख्वै ?” आफ्नो अपूरो लेक्चरबाजी नसक्दै त्यसले मलाई पोडियममा पुर्याइसकेछ जहाँ सुजाता र विनय पात्रगत रुपमा उभिरहेका थिए एकअर्कासित टाँस्सिएर ।

म यति असमाजसमा परेँ जसको निमित्त कत्ति पनि तयार थिइनँ म । सुधाकर यस किसिमको नाटक गरिरहन्छ आफू पनि फँसिरहन्छ अरुलाई पनि बिनासूचना फसाइरहन्छ । मलाई यसै क्रममा त्यसले यहाँ उभ्याइदियो । “भेटिस् सुजातालाई ? हेर्नोस् विनयजी ! यो पार्टीमा आएको-नआएको थाहा नदिई सुटुक्क भाग्न लागेको थियो । मैले पक्डेर ल्याएँ ।”

मलाई पक्डेर ल्याएको भए पनि सुधाकरको अनुहारमा देखिन्थ्यो त्यो चोरीको डर । सम्वाद बोल्दै गर्दा उसको अनुहारमा एकैपटक नवरसका दुई भाव स्पष्ट देखिन्थे- करुणा र विभत्स । दुवै रसमा पनि उसको अभिव्यक्ति स्पष्ट हुन नसकेकाले ऊ सफल पनि देखियो ।

दुवै दम्पत्तिलाई बधाई दिएर म घर फर्कें । तर मनमा एउटा विशाल खिन्नता रहिरह्यो । किन सुजाताले सुधाकरलाई विफल तुल्याई त ? मसँग सुझाव मागी दुईमा को ठिक होला मेरो जवाफका विरुद्ध विनयलाई छनौट गरी । यो फेरि अर्को मजाक मैमाथि ।

विवाहपश्चात् सुजाता पाश्र्वभूमिमा हराई कलेज पनि छोडिदिई ।

विनयसित मेरो मित्रताको विकास एम.ए. गरिसकेपछि भयो । सुधाकरको ज्यादा जागरुकताले नै भएको मान्दछु । एम.ए. को परिणाम घोषित हुनुपूर्व नै मलाई युनिभर्सिटीको रिसर्च स्कलरसिप मिलिसकेको थियो । यसको श्रेय दृश्य-अदृश्य रुपमा डा. वत्सलाललाई जान्छ जो त्यतिबेला फ्याकल्टी चीफ थिए । म ती दिनमा युनिभर्सिटीको रिसर्च टेबिलमा बस्ने गर्दथेँ । विनयले प्राक्टिस सुरु गरिसकेका थिए । तर कहिले उनीसित फर्किंदैगर्दा घरसम्म आउने जोडजबरजस्ती गर्थे ।

एकदिन कलेज जाँदै गर्दा बिहानै पानीले भिजेँ निथुक्कै । धरतीको गुरुत्वाकर्षणमाथि सराप्दै हिडेँ किनकि हातमा लिएको छालाको झोला पाखुरालाई नै विभक्त गर्लाजस्तो गरेर तन्किरहेको थियो । बसमा एकछिन सवार भएँ तर सुविस्ता भएन बीच बाटोमा ओर्लें ।

बाटोमा सुजाता भेट भइन् रक्ताम्बराजस्ती भएर । हठात् मैले नमस्ते गर्न पुगेँ । लजाएजस्तो गरिन् । सोधिन् “चिन्नुभो ! मलाई त तपाईंले नचिन्नु होला भन्ने पो डर लागेथ्यो ।”

अवसरको अत्यन्त कमजोर फाइदा उठाएर मैले एउटा घन फ्याकेँ- “आज चिनेँ, तर सुजाताजी त्यो दिन तपाईंलाई मैले चिन्न सकिनँ जुन दिन तपाईं……”

मेरो प्रश्नको सङ्केत तिनले सहजै बुझिन वा नाममा अप्रत्याशित रुपमा जी शब्दको प्रयोगले झस्किन् ।

“हेर्नोस् सर ।” सर शब्दको प्रयोग उनी सायद पतिलाई पनि गर्दी हुन् त्यसैले उनी त्यसमा सहज देखिइन् ।

“सरहरु भनेको मर्द । याने कि एम सी पी- मेल चोवनिस्ट पीग , हामी पनि कहिलेकाहीँ आफ्नो च्वाइसमा बाँच्नुपर्यो नि परेन ? धेरै अर्थमा विनयको तुलनामा सुधाकर वेस्ट हो तर प्राक्टिकल पनि हुनुपर्यो सर ।” यसपालिको सर मलाई अत्यान्तिक व्यङ्योक्ति लाग्यो ।

“…सुधाकर डेफिनेट्ली प्रेमी मान्छे हो । तर प्रेम जीवनको एउटा अङ्ग मात्र हो शरदजी ! सम्पूर्ण अङ्ग होइन ।” उनले भनेका कुरा जेसुकै भए पनि त्यसको जे-जस्तो अर्थ भए पनि पछिल्लो ‘जी’ शब्दले दर्दमा मल्हमको काम गर्यो । त्यसपछि यदाकदा सुजातासँग भेट त भइरहन्थ्यो तर सुधाकरको चर्चा न्यूनोक्ति हुँदै गयो । विश्वसनीय स्रोतका अनुसार सुधाकर अझै पनि विनय-सुजाताको जोडीलाई लक्ष्मण सरह सहयोग गर्ने गर्छ रे । म खबर पाउँछु- सुधाकर त कहिलेकाहीँ रात्रिभोजन त्यहीँ गर्छ । के कति कारणले यो राम्रो हो ? के कति कारणले यो नराम्रो हो मैले त्यतापट्टि ध्यानै दिइनँ । यो कथाको नायक म नभएको हुनाले यसलाई कलेजमा बहुतायत साथीभाइहरु सुधाकरलाई सुजाताको मानस-पतिका रुपमा व्याख्या गर्न थालेपछि मैले त्यसलाई एकदिन सम्झाएँ ।

हाम्रो गालिब अङ्ग्रेजी उवाचमा मलाई सम्झाउँछ- “आइ वुडन्ट मैरी अ गर्ल । आइ वुड म्यारी अ वुमन- म्याच्योर एण्ड अण्डरस्ट्याण्डिङ् ।

कलेज सकिएपछि सुधाकर कविताको छन्द र गन्धबाट हुर्रिरएर ईट्टा र पर्खालको बनावटतिर लागेछ – ठेकेदार ! छयालीसको आन्दोलनपछि ऊ एउटा पार्टीको महाधिवेशनमा पोखरामा देखापर्यो बिल्ला लगाएर ।

जतिबेला म सुजाताको ईमेल पढ्दै थिएँ सुधाकर काठमाडौँको राजनीतिक सरगर्मीमा पौडी खेल्दै थियो । ऊ मन्त्री वा कुनै सानो मुलुकको राजदूत हुने पनि व्यापक हल्ला साँझको खबरकागजले फ्याँकिरहेको थियो । तर म चक डस्टरको जिन्दगीसित गाँसिएपछि यस्ता सभासङ्गतबाट टाढै रहेँ ।

पहिले २१ मार्च सन् १९९४ भन्दा पूर्वको कथा यति मात्रै हो । यसभन्दा अघिल्लो प्रसङ्ग यहाँ जोडिनु कथालाई अस्पष्ट बनाउनु मात्र हो । प्रिय पाठकहरु ! म अनन्त क्षमा माग्दछु बारम्बार यसलाई म कथा भन्दैछु । कथाजस्तो लागे पनि यो मेरो जीवनको एउटा नछुट्टिने सम्झना मात्र हो भन्न मन पराउँछु ।

सुजाता विवाहपछि लामो समयको लागि मलेसिया गइन् ।

त्यसपछिको कथा म जान्दिनँ । अज्ञानताको कारणले मैले रुचि पनि राखिनँ । थाहा पाए अनुसार उनको विनयसित बिना कुनै विवाद पारपाचुके भइसकेको छ । ईमेल पाएको तेस्रो दिनमा तिनी काठमाडौँमा देखा परिन्- कलेजकै दिनको उत्साह बोकेर ।
नयाँ वर्षको एक साँझ मलाई राजधानीको एक भव्य चिनियाँ होटलमा डिनरमा बोलाइन् । म समयभन्दा पहिल्यै पुगेछु, ठाउँ पो गलत परेछ कि भनी फर्किन लाग्दा सुजाता कपाल फैलाउँदै प्रवेश गरिन् । उनलाई देखेर म आश्चर्यचकित परेँ । समयले उल्टो खेल पो खेलेछ । उनी त पहिलेभन्दा दसवर्ष सानी पो देखिइन् । सायद फैशनले हो कि ? नयाँ वर्षको शुभकामना र अन्य कुराकानी चलिरह्यो ।

सोधेँ- “विनयसित के भो ?”

भनिन्- “एउटा गलत काम, एउटा गलत विराम, जिन्दगीको अर्थ कति घातक रुपले बदलिन्छ त्यो मैले बल्ल बुझें ।”
लामो समयपछि मैले सोधेँ- “अब यसपछि के सोच्नुभएको छ ?”

“जिन्दगी एउटा प्रयोग हो शरदजी । हेरौँ ।”

“हो र !”

मेरो प्रश्नले उनलाई आनन्दित तुल्याएछ र भनिन्- “तर पनि मेरो सूचीमा दुईवटा नाम अझै बाँकी छन् । पहिलो नाम सुधाकरको र दोस्रो तपाईंको…”

मेरो अनुहारको भावमण्डल नबदलिँदै तिनी जोडले हाँसिन् र आफ्ना हातको कोन्याक एक घुट्कामै सखाप बनाइन् ।
कथाकार के जान्दछ भने सुधाकर जत्तिकै कोन्याक पनि सुजाताको पहिलो प्रेम हो ।