Nisha KC – Sarangi

निशा केसी – सारङ्गी
(Source of this story: मधुपर्क जेठ, २०६८)

असारको महिना भए पनि पानी नपरेर सहर तातिएको थियो । मध्याहृनको चर्को रापिलो घामले मान्छेहरू उतिसारो सडकमा हिँडेका थिएनन् । फाट्टफुट्ट मान्छे नियाल्दै दिउँसोको खाना खाएँ । पसल खोल्ने हतारोमा थिएँ । मेरो पसलको अगाडि रहेको कस्मेटिक पसलमा झट्ट आँखा पुग्यो । एउटा अन्दाजी बाह्र-तेह्र वर्षको केटोलाई कस्मेटिक पसल अगाडिको कालोपत्रे सडकमा पसारो परिरहेको देखेँ । मैले प्रश्नसूचक भावले पसलकी बहिनीलाई हेरेँ । उनी निकै डराएकी थिइन् साथसाथै त्यस केटालाई त्यहाँबाट भगाउने प्रयास गर्दै थिइन् ।

खोल्दै गरेको ढोकालाई पुनः बन्द गर्दै म उनको पसलतिर तानिएँ । मलाई देख्नेबित्तिकै उनले भनिन्- “लौ न दिदी ! के गर्ने होला ? कत्ति धपाउँदा पनि यो केटो यहाँबाट डेग चल्दैन । सारङ्गी चाहियो रे यसलाई ! पैसा दिएको मरे लिँदैन ।”

म त्यस केटोको नजिक गएँ । उसले पुलुक्क मतिर हेर्‍यो । गोलभेँडाजस्ता राताराता उसका आँखा रसिला थिए । ओठ लत्रिएर चिउँडो झरेको थियो । नाकबाट पातलो सिँगान र मुखबाट र्‍याल चुहिरेको थियो । उसको दयनीय अवस्थाले मन चसक्क छोयो । एक छिनसम्म टोलाएँ । उसलाई हेरिरहेँ । कसको छोरो होला ? कहाँबाट भौँतारिँदै यहाँ पाइपुग्यो ? यसका पनि त बाबुआमा होलान्, घरपरिवार होला ! किन यो सानो केटो बेवारिसे भयो ? किन छिःछिः र दूरदूरको पात्र बनेर सडकमा झोक्राइरहेछ ? त्यस केटाको अवस्था देखेर एक्कैचोटि अनेकौँ प्रश्नले झकझकाए मलाई । उसको नजिकै गएँ र मायालु भावले सोधेँ- “बाबु ! के भयो तिमीलाई ?”

ऊ केही बोलेन । खिरिलो परेको औँला सोकेसमा टँसाएरै सारङ्गी देखाउँदै आशावादी नजरले मलाई निर्मिमेष हेरिरहृयो ।

सोकेस रङ्ग्ािचङ्ग्ाी खेलौनाले भरिएको थियो । गाडी, प्लेन, पेस्तोल र अन्य प्लास्टिकका खेलौना छोडेर उसले किन सारङ्गीकै माग गरिरहेछ ? पुनः अर्को प्रश्न उब्जियो मनमा ।

मैले पसलकी बहिनीलाई हेरेँ । उनी नजिकै आइन् र भनिन्- “यस्तो महँगो खेलौना यसलाई कसरी दिने ? अघिदेखि ढिपी गरेको गर्‍यै छ । लौ न दिदी यसलाई सम्झाएर पठाइदिनु न, तपाईंले भनेको टेर्छ कि ?”

मैले तथ्य कुरा बुझ्नै सकिनँ । कुनै पनि माग्नेले त्यस्तो ढिपी गरेर पसलमा बेच्न राखेको कुरा मागेको मैले देखेको, सुनेको छैन । यो कस्तो खालको केटो रहेछ ! चार पाँच वर्षको अबुझ बालकले ढिपी गरेको भए कुरो अर्कै हुन्थ्यो । बिराम ग्रसित देखिने त्यस केटोको सारङ्गीको रटले मलाई थप कौतूहल बनायो । मैले उसलाई फकाउने पारामा भनेँ- “हुन्छ म किनिदिन्छु तिमीलाई सारङ्गी । तिमीलाई के भएको छ पहिले भन ।”

ऊ निकै खुसी देखियो । ओठका कापबाट बग्दै गरेको र्‍याल हत्केलाले पुछ्दै टाउको निहुर्‍याएर भन्यो- “ज्वरो आयो ।”

अनायास मेरो हात उसको निधार छाम्न पुग्यो । हलका तातिएको थियो उसको निधार । मैले उसको निधारबाट हात हटाउन नभ्याउँदै मेरो पसलसँग रहेको मेडिकलकी बहिनी उनकै पसलबाट चिच्च्याइन्- “दिदी ! के गरेको त्यस्तो ? पहिले चिन्नु त त्यो कस्तो खालको केटो हो ।”

मैले झट्ट उसको निधारबाट हात तानेँ । मेरो सोचाइ बौलाहा कुकुरले टोकेको मान्छेतिर गयो । आँखाअघि बौलाहा कुकुरले टोकेको मान्छे र्‍यालसिँगान काढेर झोक्राइरहेको टीभीको दृश्य झलझली आउन थाल्यो । अलिकति हच्किएँ म । मैले मेडिकलको बहिनीपट्ट िपुनः हेरेँ । उनले भनिन्- “त्यसको कचौरामा हेर्नु त के छ ?”

एक छिनअघि सम्झिएको बौलाहा कुकुरले टोकेको मान्छेको दृश्य आँखाबाट ओझेल पर्‍यो । एउटा सानो त्यस केटाको स्थिति देखेर केही छिनकै लागि म पनि त डराएको थिएँ, भुक्दै झम्टँदै त्यस्तो मलाई पनि टोक्ला कि भन्ने डरले ।

केहीबेर मैले उसलाई त्यत्तिकै एकाहोरो हेरिरहेँ । कपाल खौरिएको मुडुलो टाउको घाँटीमा मयलका काला बाक्ला पत्रैपत्र परेका थिए । ठाउँठाउँमा फाटेको कालो टिसर्ट र थोत्रो चेन खुस्किएको पेन्टबाट उसको पिसाब फेर्ने देखिरहेको थियो ।

बिस्तारै उसको पेटमा घोप्टो पारेर टाँसेको स्टिलको कचौरा तानेर हेरेँ, पेटबाट कचौरा छुट्टनिेबित्तिकै, आँखै पिरो हुने गरेर तिखो गन्ध नाकमा हृवास्सै पस्यो । प्लास्टिकको सानो थैलोमा मुख बटारेर राखेको त्यस गन्ध डेन्डराइटको थियो ।

म स्तब्ध भएँ, हातखुट्टा फत्याकफुतुक गले । म सोकेससँगै टाँसिएँ । भुइँमा थुचुक्क बस्न पुगेँ । एकछिनसम्म केही बोल्नै सकिनँ । कल्पनै नगरेको यथार्थ मेरो सामुन्नेमा लम्पसार परिरहेको थियो ।

सुनेको त थिएँ सडक बालबालिकाले डेन्डराइट सेवन गर्छन् भन्ने । गौशालामा एक पटक ठूलो होडिङ बोर्डमा लेखिएको डेन्डराइटसम्बन्धी नकारात्मक सूचना पनि पढेको थिएँ तर डेन्डराइट कसरी खान्छन् म अनभिज्ञ थिएँ । आज आˆनै सामुन्नेमा रहेको त्यस केटोको अवस्थाले मेरो रेसारेसालाई कम्पायमान बनाएको थियो । दुई बच्चाको आमा भइसकेको मेरो मातृत्व छचल्किएर पोखिन खोज्दै थियो । ऊ कसैको छोरो मात्र थिएन । सिङ्गो नेपालआमाको काखमा हुर्कंदै गरेको भविष्यको कर्णधार थियो, जो बेवारिसे भएर । आˆनो सुनौला पलहरू, जीवनका श्वासहरू डेन्डराइटको गन्धमा विलय गरिरहेथ्यो ।

सडकमा घुइँचो बढ्न थालेको थियो । केही भीड हाम्रै वरिपरि पनि जम्मा भइसकेका थिए । के, किन र कसरी ? जस्ता अनेकौँ प्रश्नहरूले हामीलाई घेरिरहेथे । उसले ती आवाज, प्रश्नहरू सुनेन वा ध्यान दिएन । चुपचाप मेरो अनुहारमा टुलुटुलु हेरिरहृयो र अचानक मेरो हात च्याप्प समात्यो । सारङ्गी देखाउँदै उसले भन्यो- “त्यो किनिदिनु न ।”

मैले सारङ्गी दाम सोधेँ । २५० पर्ने रहेछ । त्यत्रो महँगो सामान किनिदिने क्षमता ममा थिएन ।

मैले उसलाई सम्झाउँदै भनेँ- “त्यो त महँगो रहेछ । मसँग त्यति धेरै पैसा छैन । के गर्ने ? ऊ एकछिन टोलाइरहृयो । भीड उल्लासपूर्ण हाँसो हाँसेर हामीलाई उडाउँदै थियो । कोही भन्दै थिए- “किनिदिनू नि त ! निक्कै माया लागेजस्तो छ नानीलाई ट्यापेको ।” म आँखा चिम्म गरेर सोचिरहेँ, त्यस केटाको माया के मलाई मात्र लाग्छ ? अरूलाई लाग्दैन ? वा लाग्नु पर्दैन ? माया भन्ने शब्दको कति दुरूपयोग हुँदैछ हिजोआज । एउटा चेतनशील मान्छेले मान्छेबीचको मायालाई उपहासमा उडाउने हो भने मायाको परिभाषा चाहिँ कस्तो होला ? के कुनै पनि बच्चा आमाको गर्भबाट जन्मँदै ट्यापे, चोर, डाँका र अन्य आपराधिक मानसिकता लिएर जन्मेको हुन्छ त ? एउटा १२-१३ वर्षको केटो सडकमा बेवारिसे भएर लागुपदार्थको दुव्र्यसनीमा फसिरहेछ । प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि तवरले के हामी यसमा दोषी छैनौँ ?

पातलिँदै गएको भीडझैँ उसलाई चटक्क छोडेर हिँड्नुपथ्र्यो आˆनो पसलतिर । आँखा चिम्म गरेर लाग्न सक्नुपथ्र्यो काममा तर मभित्र संवेदनाका हल्का छायाहरू जीवित रहेछन् । भावुकताले भरिएको मन यथावत् रहेछ । त्यसैले त त्यो मन नगरी नहुने आˆनो काम छोडेर त्यस केटोको सामुन्नेबाट टसको मस नभई बसिरहृयो । हेरिरहृयो टुलुटुलु ।

उसको अनुहारको रङ्गमा केही परिवर्तन आउँदै थियो । नाकको सिँगान र र्‍याल पटकपटक हत्केलाले पुछेर ऊ केही चनाखो देखिँदै थियो । सायद डेन्डराइटको असरले उसलाई बिस्तारै छोड्दै गरेको हुनुपर्छ ।

“तिम्रो घर कहाँ हो बाबु ?” मैले सोधेँ ।

“पोखरा ।” उसले हलका लरखरिएको आवाजमा भन्यो ।

“पोखरा कुन ठाउँमा ? मेरो घर पनि पोखरा हो नि !” मैले आत्मीयता दर्साउँदै भनेँ ।

“छोटोपाटन सुकुम्बासी टोल ।” उसको अनुहारमा एकाएक खुसीका केही धुमिल छायाहरू आए र पलभरमै बिलाए ।

“तिम्रो नाम के हो ?” मैले सोधेँ ।

“सुरज ।” उसले छोटो उत्तर दियो र पुनः सोकेसमा राखिएको सारङ्गीमा एकटक आँखा लगाइरहृयो ।

सारङ्गीप्रतिको उसको चाहना र अव्यक्त भावहरू देखेर मैले आफूलाई रोक्न सकिनँ । सोचेँ, पक्कै पनि सारङ्गीसँग यो केटोको सुखद् वा दुखद् अतीत जोडिएको हुनुपर्छ । मैले पसलकी बहिनीसँग सारङ्गी लिएँ र उसलाई दिँदै भनेँ- “म तिमीलाई यो सारङ्गी किनिदिन्छु, त्यसको बदलामा तिमीले मैले सोधेको प्रश्नको जबाफ दिनुपर्छ । हुन्छ सुरज ?”

“हुन्छ ।” उसले टाउको हल्लायो र निकै खुसी भयो । खुसीले उसको ओठ थरर काम्यो ।

उसले मेरो हातबाट हत्तपत्त सारङ्गी लिएर केहीबेर सारङ्गीलाई सुमसुम्याइरहृयो । ओल्टाइपल्टाइ हेर्‍यो र आँखा आँखाबाट दुई थोपा आँसु पुर्लुक्क झार्‍यो । घामको किरण आँसुको ढिक्कामा ठोक्किएर हीरा चम्किएझैँ चम्किए फलभरका लागि र गालाको बाटो हुँदै मयलका पत्रैपत्र भएको उसको घाँटीसम्म गएर बिलाए ।

केही बेरअघि देखेको सुरज र अहिलको सुरजमा आकाशजमिनको अन्तर थियो । ऊ अबोध र निश्छल देखिन्थ्यो । उसको आँखाबाट झरेको आँसुले मेरो हृदयमा अनौठो हलचल उत्पन्न गराइसकेको थियो । मैले आफूलाई संयम राख्दै उसलाई मेरो पसलमा लिएर गएँ ।

हामी सजिलोसँग आमनेसामने भएर बस्यौँ । उसले चारैतिर आँखा घुमाएर पसललाई सरसरी हेर्‍यो र केही उज्यालो अनुहार लगाउँदै भन्यो- “दिदी ! म तपाईंलाई सप्पै कुरा भन्छु-

छोटोपाटनभन्दा केही पर एकान्तमा हाम्रो सानो स्याउलाले बारेको झुप्रो थियो । बुबा, आमा र हामी चारजना दिदीभाइ । दिदी र आमा घर बनाउने ठाउँमा ज्यामी काम गर्न जानुहुन्थ्यो । बहिनी बिरामी भाइलाई हेरेर घरमै बस्थी । भाइलाई सुकेनास लागेको आमा भन्ने गर्नुहुन्थ्यो । कति धामी झाँक्री गर्दा पनि भाइलाई निको हुन सकेको थिएन । पेटमात्र ठूलो र जीउ थाङ्नामै बिलाएको भाइलाई हेरेर आमा बेलाबेलामा आँसु झार्ने गर्नुहुन्थ्यो ।

बुबा सधैँ रक्सीले मातेर आउनुहुन्थ्यो र आमालाई भक्कु कुट्नुहुन्थ्यो । घरमा सधैँको रुवावासी । हामी नरोएको दिन नै हुँदैनथ्यो । त्यस निर्जन एकान्तमा हाम्रो आवाज सुनिदिने कोही थिएन । आमाले ज्यामी काम गरेरै भए पनि मलाई ३ कक्षासम्म पढाउनुभएको थियो । कक्षामा पढिरहँदा पनि भाइबैनी रोएको, आमा रोएको आवाज कानमा आइरहन्थ्यो । साँझ पर्न आँट्यो कि जँड्याहा बाउलाई सम्झेर मन आत्तिन्थ्यो । त्यसैले स्कुल छुट्टी भएपछि म एक्लै यताउति भौँतारिन थालेँ । धेरैजसो ड्यामसाइडमा गएर परपरसम्म फैलिएको पानीलाई हेरिरहन्थेँ । त्यहाँ सारङ्गी बजाउने थुप्रै सारङ्गीदाइहरू थिए । तिनले सारङ्गीबाट आˆनो मनको कुरा गीत बनाएर पोख्थे । त्यो सुन्दा मलाई पनि सारङ्गी बजाएर आˆनो दुःखका कुरा गीतबाट पोखूँपोखूँझैँ लाग्थ्यो । खुब ध्यान दिएर सुन्थेँ तिनका भाकाहरू र नक्कल गर्ने गर्थैं । नक्कल गर्दागर्दै म गाउन जान्ने भइसकेको रहेँछु । एक दिन एउटा सारङ्गी दाइले मेरो आवाज सुुनेर मलाई सारङ्गी सिकाइदिन्छु भनेको थियो । त्यस दिन म धेरै खुसी भएको थिएँ । त्यो दाइले माया गरेर केही पैसा पनि दिएका थिए ।

भाइबहिनीका लागि केही खानेकुरा किनेर दौडीदौडी घर पुगेँ । त्यस दिन खुसीले मेरो खुट्टा भुइँमै थिएनन् । कतिखेर आमालाई भेटेर खुसीको कुरा सुनाउनुझैँ भएको थियो । स्याँस्याँ गर्दै आँगनको छेउमा पुगेँ । आँगनमा आमा लडीबुडी गर्दै रोइरहनुभएको थियो भाइको मरेको शरीरलाई छातीमा च्यापेर । झ्याप्पै अँध्यारोले छोप्यो मलाई हातखुट्टा थरथर काँपेँ । ओठतालु जम्मै सुक्यो । कतिखेर खानेकुरा हातबाट खसिसकेछन् थाहै पाइनँ ।

साँझ बुबा घरमा आउनुभयो । भाइको लास च्यापेर रुँदै गरेकी आमालाई घिसार्दै दैलोमा लगेर थचार्नुभयो । आमाको काखबाट उछिट्टएिर भाइ मझेरीमा पछारियो । म भाइको लासलाई अठ्याएर चुपचाप बसेँ । ‘तँ बोक्सीले मेरो छोरो खाएरै छोडिस् होइन ?’ भन्दै बुबा आमालाई पिटेको पिट्यै हुनुहुन्थ्यो । दिदी र बहिनी आमालाई अँगालो मारेर रुँदै थिए र आमाको लुङ्ग्ाीले मुखबाट भलभली बगेको रगत पुछ्दै थिए ।

सक्ने भए त मेरो बाउलाई दाउराको चिर्पटले हानेर ठहरै पार्थें हुँला- सुकेनास लागेर मरेको भाइको आरोप आमालाई लगाएकोमा । बुबालाई रक्सीले छोडेपछि बुबासँगै गएर भाइको लासलाई बगरमा खाल्टो खनेर पुरेर आएँ ।

त्यस दिनदेखि आमा ओछ्यानबाट उठ्नै सक्नुभएन । दिदीले काम गरेर ल्याएको पैसाले हामीलाई पेटभरि खानै पुग्दैनथ्यो । मैले स्कुल जान छोडिदिएँ । ड्यामसाइडमा गएर सारङ्गीदाइहरूसँगै गीत गाउन थालेँ । कहिले तिनले दस/पन्ध्र रूपियाँ हातमा हालिदिन्थे त कहिले दिँदैनथे । मलाई लाग्थ्यो आˆनो छुट्टै सारङ्गी भएर एक्लैले गीत गाएर केही पैसा कमाउने थिएँ, आमाको औषधिका लागि । कसैकसैबाट सुनेको थिएँ, काठमाडौँमा राम्रो काम पाइन्छ रे, होटलमै भाँडा माझेर पनि थुप्रै पैसा कमाउन सकिन्छ रे ! त्यसैले एक दिन केही नभनी सारङ्गी किन्ने धोको लिएर झसिमिसेमा सुटुक्क उठेर काठमाडौँको बस चढेँ ।

काठमाडौँको जाडोमा थुरथुर काम्दै भोकले आलसतालस पर्दै बिहानीको आसमा एउटा ठूलो पसलको ओतमा बसिरहेँ । मान्छेहरू पातलिँदै गए । सडक सुनसान हुँदै गयो । म डरले आँखा चिम्म चिम्लिएर स्याउलाले बारेको आˆनो घर सम्झिरहेथेँ । बिरामी आमा, दिदीबहिनी र सम्झिरहेथेँ राक्षस बाबुलाई । त्यस्तैमा चारपाँच जना मजत्रै केटाहरूले समातेर कताकता गल्लीतिर लिएर गए । त्यहँँ अरू ठूलाठूला केटाहरू पनि थिए । एउटा नाइके जस्तोले ‘यो मेरो ग्याङ, यसको जिम्मेवारी म लिन्छु’ भनेपछि मलाई त्यहीँ छोडेर ती अँध्यारो गल्लीतिर लागे । त्यो नाइकेजस्तोले मलाई पाउरोटी खान दियो । बिरानो ठाउँमा आफूलाई माया गरेर खान दिएकोमा दङ्ग परेँ । जताजता उसले डोर्‍यायो म उसलाई पछ्याउँदै हिँडिरहेँ । रात पूरै सुनसान भइसकेपछि त्यसले एउटा पाटीजस्तो ठाउँमा लगेर मलाई गर्नु नगर्नु गर्‍यो । पीडाले छट्पटिएर म खुब रोएँ, कराएँ, त्यसले खल्तीबाट धारिलो चक्कु निकालेर मार्ने धम्कीसमेत दिएपछि म चुपचाप पीडा सहेर बसेँ ।

त्यस रात तीन जना केटाहरूले मलाई गर्नु नगर्नु गरे र अन्त्यमा यो औषधि हो सुँघे निको हुन्छ भनेर जबरजस्ती डेन्डराइट सुँघ्न सिकाए । नाइँनास्ती गर्न सक्ने सामथ्र्य ममा थिएन । बीचबीचमा त्यो भन्दै पनि थियो-यो सडक मेरो एरिया हो । म यहाँको डन । मैले भनेको मानिनस् भने टुक्राटुक्रा पारेर फालिदिन्छु ।

दस बाह्र दिनसम्म तिनले मलाई एक्लै छोडेनन् । बेलाबेलामा खानेकुरा पनि दिइरहन्थे र डेन्डराइट पनि सुँघाइरहन्थे । डेन्डराइटको नशाले मैले पीडालाई बिर्सिंदै घर, आमा, दिदी, बहिनी सबैलाई बिर्सिएँ र अँध्यारो रातको त्यो पीडादायी क्षणहरूलाई झेल्दै गएँ । पन्ध्र दिनको दिन त्यस डनले ‘सधैँ अर्काको खाएर बस्छ मोरो

जा ! गरिखा’ भनेर लात्ताले हिर्काएर त्यसको बन्धनबाट मुक्त गर्‍यो ।

म जान्थेँ कहाँ र ? दिनभरि यताउता भौँतारिरहेँ, फोहोरमा खानेकुरा खोज्दै गर्दा मभन्दा अलि ठूलो एउटा दाइसँग मेरो भेट भयो । उसले मलाई पनि आफूसँगै लिएर हिँड्न थाल्यो । दिनभरि प्लास्टिक, फलामका टुक्रा, बियरका बोतल खोज्दै हिँड्थ्यौँ । त्यो कवाडीमा बुझाएपछि जति पैसा आउँछ त्यही पैसाले खानेकुरा र डेन्डराइट किनेर खाएर राति पेटीमा बोरा ओछ्याएर सुत्ने गर्थे ।

जाडो महिना थियो, दिउँसो फोहोरको थुप्रोमा प्लास्टिक खोस्दै गर्दा मेरो खुट्टामा काँचको फुटेको टुक्रा बिजेर निक्कै गहिरो चोट लागेको थियो । थुप्रै रगत बगेको हुँदा राति हनहनी ज्वरो आयो । जाडो र खुट्टा दुखेको पीडाले म रातमा सुत्न सकिनँ । बिहानीपख निदाएँछु । ब्यूँझँदा त्यो दाइ थिएन । उज्यालो भइसकेको थियो । मान्छेहरू बाटोमा हिँड्न थालिसकेका थिए । उठेर आँखा मिच्दै पेटीमा बसिरहेको थिएँ । मान्छेहरूले मेरो बोरामाथि पैसा ˆयाँक्न सुरु गरेँ । त्यस दिनदेखि मैले फोहोरमा प्लास्टिक टिप्न जान छोडिदिएँ । जति पैसा आउँछ त्यसैले डेन्डराइट किनेर सुँघ्न थालेँ ।” उसको आत्मकथा सुरु भएको थियो वा अन्त्य मैले बुझ्न सकिनँ तर मेरो श्रवणशक्तिको अन्त अवश्य गएको थियो । आँखाबाट बग्दै गरेको आँसु र नाकबाट बग्दै गरेको पानीलाई सलको टुप्पोले पुछेँ, यति सानो र कलिलो उमेरमा उसले भोगेको दुःखदायी यथार्थले मलाई कान नसुन्ने बहिरो र आँखा नदेख्ने अन्धो बनाइसकेको थियो । अन्धकारमा छामछामछुमछुम गर्दै अन्तरमनलाई सुमसुम्याएँ । जहाँ उज्यालोको हल्का छायाँसम्म थिएन ।

ऊ जाने तयारीमा थियो । उसका लागि म केही गर्न सक्तिनथेँ । एक मन त लागेको थियो उसलाई आफूसँगै राखूँ । माया र प्रेमले धोएर उसको मयलका टाटाहरूलाई सफा र स्निग्ध बनाउ”m तर त्यो सम्भव थिएन । मेरो पनि त आˆनै बाध्यता र विवशताहरू छन् । दिनभरि काम गरेर बिहान-बेलुकाको छाक टार्नुपर्ने मेरो बाध्यताले उसको बोझ खेप्न कसरी सक्नु ? भनिन्छ नि ! मन हुनेसँग धन हुँदैन, धन हुनेसँग मन हुँदैन ।

ऊसँगै रहेको सारङ्गी टिपेर उसको हातमा दिँदै भनेँ-

“सुरज ! यो लिएर जाऊ । यो तिम्रो सारङ्गी हो ।”

सारङ्गी हेर्दै फिस्स हाँस्यो ऊ । सारङ्गी मतर्फ बढाउँदै नम्र भावमा भन्यो- “दिदी ! यो मैले खोजेको सारङ्गी होइन रहेछ । यो त बज्दै बज्दैन ।”

उसको कुरा सुनेर म स्तब्ध भएँ । ट्वाल्ल परेर उसलाई हेरिरहँे निर्मिमेष ।

केहीबेर हामीबीच मौनता छाइरहृयो, लाग्थ्यो समय टक्क अडिएको थियो केही छिनका लागि ।

“भोक लागेको होला केही खान्छौ सुरज ?” मैले हामीबीचको मौनता भङ्ग गर्दै सोधेँ ।

उसले विष्मय भावले हेर्‍यो मलाई र मुस्कुराउने चेष्टा गर्दै भन्यो- “मःमः खान्छु ।”

“ल हुन्छ, हिँड अगाडिको मःमः पसलमा । म भनिदिन्छु तिमी खाएर जानू । यति भनेर हातमा रहेको सारङ्गी अगाडिको कस्मेटिक पसलमा फिर्ता दिने उद्देश्यले म ऊभन्दा पहिल्यै बाहिर निस्किएँ । कस्मेटिक पसलमा सारङ्गी फिर्ता दिएर म उसलाई नै पर्खिंदै थिएँ । ऊ मेरो पसलको खुलै रहेको सिसाको ढोकामा झुन्डिएको साँचोले ढोका बन्द गर्दै थियो ।

साँझ पर्न आँटेको थियो । नीलो निर्मल आकाशमा एकाएक झलमल्ल घाम लागेको अनुभूत गरेँ । मनमा कताकता खुसीको लहर दौडियो । कस्मेटिक पसलको बहिनीले पनि हेर्दै थिइन्, सुरजले ढोका बन्द गदर्ैै गरेको । उनी पनि मुसुक्क मुस्कुराइन् मैले उनको आँखामा अघिको डरलाग्दो छायाको सट्टा आत्मीयताको साथ छचल्किएको पाएँ । ढोका बन्द गरिसकेर साँचोको झुप्पा मेरो हातमा दिँदै मुसुक्क हाँसेको थियो ऊ भर्खरै फक्रेको कमलझैँ ।

चार घन्टा अगाडि सडकमा र्‍यालसिँगान काढेर पसारो परेको सुरज र ढोका बन्द गरेर साँचोको झुप्पा मेरो हातमा राखिदिने के ऊ एउटै सुरज थिएन त ?

कालो बादलका धर्साहरूले आकाशमा चम्किरहेको सुरजलाई केहीबेर त छेक्न सक्ला तर सुरजको तापले बादल फटाएरै छाड्छ पानी नपरे पनि । यस्तै सोचेँ त्यस क्षण ।

उसलाई मःमः खान होटलमै छोडेर म आˆनो पसलतर्फ फर्किएँ । डेन्डराइटको गन्ध अझै पनि कोठाभरि फैलिएको थियो । अधुरो रहेको काम पूरा गर्ने उद्देश्यले सिउने कलको पाइडल घुमाउन थालेँ- मन लागि-नलागी । जीवनमा कति लुगा सिलाएँ । कति फाटेको, उध्र्रेको ठाउँमा रफु गरेर पुनः प्रयोग गर्न सकिने बनाएँ तर आज उसको चिरा परेको मन सिलाउने सियो धागो मसँग थिएन । उसको भ्वाङ परेको जीवनका अँध्यारा पाटाहरूमा रफु गर्न सक्ने कला र क्षमता ममा थिएन ।

“दिदी ! दिदी !” कसैले बोलाएको आवाजले झस्किएँ म । घुम्दै गरेको पाइडललाई रोकेर ढोकामा उभिएँ । ढोकाबाहिर सुरज उभिरहेको थियो । मुखमा सुप चपाउँदै ।

“दिदी जान्छु ल । नमस्ते ।” उसको उही खिरिलो दसऔँला जोडेर भन्यो । मैले हात मात्र जोर्न सकेँ उसको बिदाइमा । बोल्ने शब्द मसँग थिएनन् । आँखाबाट ओझेल हुँदै गरेको सुरजलाई आँखाले देखुन्जेल हेरिरहेँ । परपर क्षितिजमा सप्तरङ्ग्ाी इन्द्रेणी र घामसँगै उदाएका थिए । प्रकृतिको सुन्दरता र मान्छेभित्रको सुन्दरता उस्तै त हो ! जसलाई अनुभूत मात्र गर्न सकिन्छ । शब्दले बयान गरेर कहिल्यै नसकिने । अधुरो र अपुरो । हे प्रभु ! यो डुब्न लागेको सुरजको रक्षा गर ! चँुडिएको सारङ्गीमा झङ्कार भएर ! यस्तै बरबराएँ म ।

Sharmila Khadka Dahal – Niyati Le Janmayeko Kuntha

छोरीको आकस्मिक विमारीले मलाई अस्पताल पुयाउँछ । विमारी छोरी लिएर म आकस्मिक कक्षमा पुग्छु । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देख्दछु । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म विमारीको सबै लक्षण बताउँछु र आफूले घरमा नै गरेको प्राथमिक उपचारको जानकारी दिन्छु । सबै वृतान्त सुनेपछि उसले नजिकै बसेको अर्को डाक्टरलाई सम्बोधन गर्दै विमारी हेर्ने कुरा बताउँछ । उक्त ब्यक्तिको अनुहार मलाई चिरपरिचित लाग्दछ । मैले स्मरणको ढोका ढकढकाएँ अनि थाहा पाएँ ऊ मसँग पढ्ने प्रज्जवल रहेछ । उसले मलाई चिन्न सकेन । तर मैले उसलाई चिनेँ । नातावाद कृपावादले निलेको हाम्रो सामाजिक सस्कारलाई मपनि चाट्न पुग्दछु । मैले परिचयको ढोका उघारेँ । उसले मलाई नियालेर हेर्यो । मैले आफ्नो परिचय दिएँ । दश वर्षघिको सम्झना उसको मस्तिष्कमा ताजै रहेछ । हामीसँगै आइएस्सीमा पढथ्यौँ । उसले अन्य साथीभाइको बारेमा सोध्यो मैले पनि जाने जति बताएँ त्यसपछि उसले मलाई आत्मीयता देखायो । म पनि सोही चाहन्थेँ । छोरीलाई स्लाइन पानी दिनुपर्ने भयो दिइयो पनि ।

स्लाइनको पानीको थोपासँग म आफ्नो अतीत बगाउन पुग्दछु । मेरो जीवनले दश वर्षो साउने झरी बगाइसकेछ । प्रज्वल उही ब्यक्ति हो जसलाई म क्याम्पसमा मन पराउँदिनथेँ । ऊ आफ्नो सम्पूर्ण शक्ति खर्च गरेर मलाई रिझाउन खोज्दथ्यो । तर म उसको छायासम्म मन पराउँदिन थिएँ । ऊ साधारण परिवारको साधारण ब्यक्तित्व भएको थियो भने म उभन्दा निक्कै सम्पन्न परिवारको र रूपवती थिएँ । उसँग मेरो तुलना नै हुन सक्दैनथ्यो । उसले कुनै उपाय नलागेर अर्को ब्यक्ति मार्फ बिहेको प्रस्ताव पनि पठाएको थियो । जुन म लगायत मेरो परिवारकले ठाडै अस्वीकार गरेका थियौँ । यसबाट उसलाई नराम्रो मानसिक असर परेको हुनुपर्दछ । नत्र भने साधारण पढाइ भएको प्रज्वलले कसरी डाक्टरी पढ्न सक्थ्यो होला र – अहिले उसको व्यत्तित्व पनि निकै लोभलाग्दो देखिन्थ्यो । पहिलेको प्रज्वल र अहिलेको प्रज्वलमा आकाश जमिन फरक थियो । ऊ एउटा राम्री युवती लिएर अर्को कोठामा पस्छ । अनि ढोका लगाउँछ । ती दुइजना त्यहाँ किन पसे, मेरो ध्यान त्यतैतिर जान्छ । त्यो केटीसँग आएकी आइमाई मान्छे मसँग बोल्न खोज्दछे । ऊ सोधपुछ गर्न खोज्दछे । म पनि उसको बारेमा सोध्छु । उसले छोरीलाई जचाउन ल्याएकी रहिछे पिलो आएर । उनीहरू एउटै गाउँका रहेछन् । एकछिनपछि उसकी छोरी र प्रज्वल हाँस्दै कोठाबाहिर निस्कन्छन् । म उनीहरूलाई शङ्का र कपटपूर्ण हेर्राईले हेर्छु मलाई कताकता रिस उठ्छ । म आफ्नो स्थानमा बसेर हेरिरहन्छु । फेरि उही सहायक आएर कराउँछ । त्यो ब्यक्ति मसँग निकै नजिक हुन चाहन्छ । सायद प्रज्ज्वलले भनेर होला वा मेरो नारी सौर्न्दर्यपान गर्न हो, यी दुइटा कुरामा एउटा चाहिँ पक्कै हो भन्ने निष्कर्षा म पुग्दछु । तर जे भए पनि नौलो ठाउँमा कसैले आत्मीयता देखाएको हुनाले म खुसी नै हुन्छु । प्रज्वल स्वयम् मसँग चासो राख्दैन । किन होला – सायद विगतमा बिझेको काँडाले वर्तमानमा पनि झस्काउँदो होला उसलाई । म यसो बाहिर चियाउन पुग्छु । ऊ अर्को राम्री लेडी डाक्टरसँग हाँस्दै गफ गरिरहेको देख्छु । ऊ सायद प्रतिसोधको भावानाले मलाई जलाउन खोजिरहेछ, भन्ने म अनुमान गर्दछु । तर होइन उसँग काम परेर गफ गरेको पनि त हुनसक्छ नि, भनेर मभित्रको कुण्ठालाई दबाउँछु । मलाई अब उसको जीवनसँग के सरोकार, ऊ जोसग हाँसे पनि मलाई किन चासो परिरहेछ, थाहा छैन । म आफूभित्रको आवश्यकताभन्दा बाहिरको चिन्तनलाई मेटाइदिन्छु ।

म वर्तमानमा आएर छटपटिन्छु । मलाई प्रज्वलले विगतमा पाएको नियति भोग्न बाध्य गराएको छ । म न बाँच्न सक्छु, न त मर्न सक्छु । म कुण्ठित छु विखण्डित छु, कहिले नजोडिने गरी । व्यक्तिले गरेको निर्णय र सोचाइ कति गलत हुदोरहेछ भन्ने कुरा म आफैँले प्रमाणित गरेर देखाएको छु । म शून्यतामा मनोवाद गर्न पुग्दछु । सायद प्रज्वल मेरो वर्तमानबाट अनभिज्ञ छ । ऊ सोच्दो होला मैले राम्रो घरानामा बिहे गरेर खुसीसाथ बसेकी छु । जीवनमा पाउनु पर्ने खुसी सबै पाएको छु । तर उसलाई के थाहा म आ“सु पिएर बाँचेकी छु भन्ने । उसलाई म यो भन्न पनि चाहन्नँ किनभने उसले यो थाहा पायो भने मेरो स्थितिप्रति ऊ उपहास गर्नेछ अनि मलाई सहनुभूतिका अस्त्रहरू प्रयोग गरेर ऊ आफ्नो हृदयमा लागेको पीडामा मलहमपटी गर्नेछ । जुन म चाहन्नँ ।

केहीछिनपछि एउटी सिस्टर आउँछे । छोरीलाई अस्पतालमा भर्ना गर्नुपर्छ भनेर जान्छे । छोरीलाई वार्डमा लगिन्छ । म छोरीसँग हुन्छु । माइतमा फोन गरेर दाजुभाउजूलाई बोलाउँछु । घरमा फोन गर्नलाई कुनै औचित्य छैन । किनभने घर भन्नु मेरो चारपर्खालको गाह्रो मात्र छ । कान्छी छोरी माइतमा नै छ । घरमा को छ – उनीहरूका बुबा भनौँ मेरो लोग्ने, ऊ घरपरिवारको लागि निर्जिवसरह छ । उसको कुनै अवशेष बाँकी छ भने मात्र छोरीहरूको बाउ भन्ने एउटा पहिचान मात्र बाँकी छ । ओहो † यो पीडाले ठाउँ, बेठाउँ कतै पनि छोड्दैन । जुन बेला बढी दायित्व बोक्नु पर्ने ठाउँ पाउँछु पीडाले पोल्न थालिहाल्छ । यस्तो बेालमा बुबाको भूमिका प्रमुख रहन्छ बच्चाका लागि । तर…… त्यसैले त मुटु पोलिरहेछ । तर…… म पीडा पोख्न पनि सक्दिनँ। उकेल्न पनि सक्दिनँ । पीडाको आभाषसम्म दिन चाहन्नँ परिवेशलाई । त्यसैले त म बाँचिरहेको छु, एउटा शक्तिशाली नारी भएर । त्यहीँ शक्तिशाली नारी व्यक्तित्व दुर्गाको रूप लिएर ममाथि जाइलाग्छे किन सम्झन्छेस् उसलाई, तँलाई के दिएको छ उसले, पीडा, दुःख रोदन र एकाङ्की जीवन सिवाय, वास्तवमा उसले मलाई ठीक भनिरहेकी छे । किनभने ऊ अर्थात शेखरलाई म कति मन पराउँथे । ऊ मेरो हृदयको राजा थियो । उसको स्वर र सगीतप्रति मोहित भएर मैले मेरो माइतीको भावनालाई कुल्चाएर उसलाई अँगालेको थिए । ऊ मेरो सम्पूर्ण थियो, ऊ नै मेरो जिन्दगी थियो ऊ नै मेरो वर्तमान थियो, ऊ नै मेरो भविष्य थियो । ऊ विना एक छण पनि म कल्पना गर्न सक्दिनथेँ । उसको बोलीमा विश्वास गरेँ वाचालाई कबुल गरेँ। उसको सम्पूर्ण क्रियाकलापलाई विश्वास गरे अनि ऊप्रति सकारात्मक पाइलाहरू चाले“ ।

सुखद भविष्यको कल्पना गर्दै पाइलाहरू अघि बढ्न थालेँ । म ठान्दथेँ ऊ मेरो मात्रै हो अरू कसैको होइन । ऊ मेरो सिवाय अरू कसैको हुनै सक्दैन । मेरो अपरिपक्व सोचाईमा तब ठेस पुग्यो जब ऊ रातभर पनि घर आउँदैनथ्यो । उसलाई म र मेरो भावानाप्रति कुनै सरोकार थिएन । ऊ रातभर स्टुडियो, सुटिङ्ग, र रेकडिङ्गमा नै ब्यस्त रहन्थ्यो । बिस्तारै उसको गायन क्षेत्र मौलाउँदै गएको थियो ऊ राष्ट्रियस्तरको गायक तथा कलाकार बन्यो उसका फेनहरू धेरै भए । शुभचिन्तकहरू धेरै भए । ऊ मप्रति मात्र हैन छोरीहरूप्रति पनि उदासिन रहन थाल्यो । कान्छीछोरी जन्मँदा उसले मलाई आफ्नो वास्तविक चरित्र देखाएको थियो । ऊ एकपल्ट पनि अस्पतालमा मलाइ भेट्न आएन । ऊ धेरै माथि पुगिसकेको थियो । उसको लागि म साधारण महिलामात्र थिए । कतिले छोरी जन्म्यो भनेर नआएको होला पनि भने । सबैले आ-आफ्ना अडकलका बिस्कुन फिजाएका थिए । मैले त्यस्तो नाजुक अवस्थामा पनि आफूलाई सम्हालेँ । अनि छोरीहरूलाई पनि सम्हालेँ । त्यसपछि शेखर र मेरो असमझदारीको दूरी बढ्दै गयो । वास्तवमा ऊ, यही चाहन्थ्यो किनभने मसँग उसले खोजेको ग्लैमर्स, प्रतिभा, र सम्पत्ति केही थिएन । माइतीले दिएका केही सम्पत्ति पनि उसका एलबमहरूमा खर्च भइसकेका थिए । त्यसैले उसले मबाट पाउने कुरा केही थिएन । बरु उसको सफलतामा बाधा पर्ने तत्वहरू धेरै थिए मसँग । त्यसैले ऊ मदेखि धेरै टाढा हुँदै गयो । म भने मेरो कोमल नारी हृदयलाई विद्रोही अर्न्तभावले कठोर बनाउँदै लगेँ । अनि आफूलाई जस्तासुकै परिस्थितिमा पनि बाँच्न सक्ने शक्ति पैदा गर्दोरहेछ । जिन्दगीलाई सम्झौता र सङ्रघर्षका पयार्यकारूपमा लिएर पाइलाहरू अघि बढाउँदै लगे ।
पुनः प्रज्वल र अरू दुइ डाक्टर आएर मेरो एकाग्रता भङ्ग गर्न आइपुग्छन । छोरीलाई एपेन्डिक्सको अपे्रशन गर्नुपर्छ भनेर जान्छन् । म गहिरो चिन्तामा डुब्छु । भोलिपल्ट दिउँसो छोरीको अप्रेसन छ । म रातभर छटपटिन्छु । छोरीको पीडासँगै आफूपनि बग्छु । प्रज्वल किन हो त्यति आएन । रातभर स्लाइन पानी दिइयो । मनमा अनेकौ तर्कनाका ज्वारभाटाहरू उठ्तै, बस्तै गए । आफूले आफैलाई सान्त्वना दिए । तोकिएको समयमा अप्रेसन भयो । अप्रेसन सफल हुन्छ । अप्रेसन सकिएपछि र्सजन डाक्टरले मलाई बोलाउँछ । उसले भन्छ तपार्इँको छोरीको वास्तवमा एपेन्डिक्स फूलेको रहेनछ । हामीसँग भिडियो एक्सरेको मेसिन बिग्रेको हुनाले राम्रो डायग्नोसिस नगरी अप्रेसन गरेछौँ तर पनि केही भएको छैन । यो साधारण कुरो हो । म आक्रोसित बन्न पुग्दछु अनि क्रोधलाई शब्द शब्दका वाणमा परिवर्तन गर्न पुग्दछु । तपार्इ“हरूको लागि यो साधारण कुरो हो तर मेरो लागि होइन । तपाईँहरूले के ठान्नुभएको छ – मेरो छोरीलाई खसी काटेझैँ काट्दा साधारण भन्नु हुन्छ वा एउटा गोली खाएर निको हुने विमारलाई चिरफार गर्नुहुन्छ । मैले यतिका समयसम्म कति मानसिक वेथा सहे हु“ला । तपाईँहरूले यो कल्पना पनि गर्न सक्नु हुन्न । त्यसको क्षतिपूर्ति तिर्नसक्नु हुन्छ – यत्रो नाम चलेको अस्पतालमा एउटा भिडियो एक्सरे मेसिन तयारी अवस्थामा राख्नु पर्दैन । विमारीको जिन्दगीसँग खेलवाड गर्नुहुन्छ –

मेरो आवाजले अप्रेसनथियटरको बाहिरको कोठा थर्कन्छ । म आफूभित्रको कुण्ठा सबै पोख्दछु त्यो डाक्टरलाई । उसलाई झम्टन्छु । छुट्टयाउन प्रज्वल आइपुग्छ । मेरो आक्रोशित र व्रि्रोही हृदय पग्लेर आ“सुमा परिणत हुन पुग्दछ । म गल्छु, नियतिले भिज्छु, कुण्ठाले चुटिन्छ । प्रज्वल मूर्तिवत हुन पुग्दछ । यसमा उसको कुनै दोष थियो वा थिएन म भन्न सक्दिनँ । किनभने उसैले मेरो निकटता खोजेर मेरो छोरीको अप्रेसन गराएको पनि हुन सक्दछ । यसोगर्दा उसले मलाई उसको शान शौकत देखाएर मस“ग बदला लिन सक्थ्यो । म उसलाई शङ्कालु र दोषपूर्णहेर्राईले हेर्छु मलाई सबै पुरुषहरू देखि घृणा लागेर आउँछ । छोरीको अवस्था देख्दा मुटु फुटेर आउछ । सास थुनिएर आउँछ । मातृत्व वात्सल्यताले मुटु चिरिएर ज्वालामुखी निकाल्न खोज्दछ । म लामो सुस्केरा लिन पुग्छु । छोरीको नाजुक स्थितिले म छटपटिन्छु । त्यहाँ एक सेकेण्डपनि बस्न सक्दिन। त्यसपछि मेरा दाजुभाउजूलाई छोरीको हेरविचार जिम्मा लगाएर म हिड्छु कतै एकान्तमा जहाँ जाँदा पनि मेरो नियतिले भनिरहेको थियो – जसरी मैल प्रज्वलको प्रेमको एउटै गोली खाएको भएहुने ठाउँमा शेखरको प्रेमलाई राम्रा् डायग्नोसिस नगरी जीवनलाई नराम्ररी चिरफार गर्न पुगेँ त्यसरी नै यी डाक्टरहरूले मेरो छोरीले एउटा गोली खाँदा निको हुने विमारलाइ चिरफार गरेर मैले मेरो जिन्दगीमा भोग्नु परेको नियति भोग्न बाध्य गरायो । म जुन मानसिक पीडामा छटपटिरहेछु त्यहीँ पीडा भौतिकरूपले मेरी छोरीले भोग्न बाध्य भएकी छे ।

Ramesh Gautam – Bhugolhin : Euta Amurta Prem

रमेश गौतम – भूगोलहीन: एउटा अमूर्त प्रेम

ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो।
“सर! तपाईँ कहाँबाट आउनुहुन्छ?”
” दमक”
“त्यति टाढाबाट……”
“गाडीले ल्याउने-लाने काम गरिहाल्छ नि।”
“अनि पैसा सर?”
“तिम्रो स्कुलले दिन्छ।”

यो अनौपचारिक गफ उसलाई मीठो लाग्थ्यो। विध्यार्थीहरुको माया उसलाई झनै रमाइलो लाग्थ्यो। तर आफ्ना विवशता र अनिश्चित भविष्यसँग ऊ बारम्बार तर्सन्थ्यो।

“सर! टाढाबाट आउन कति गाह्रो हुन्छ।”
“…………………”
“यतै बसे हुन्न?”
“हुन्छ।”
“कहिलेबाट बस्नुहुन्छ?”
“बन्दपछिबाट”

नेपाल कति भयाक्रान्त छ। बन्द र हड्ताल यसका गहना हुन्। यो समय, त्यहाँमाथि यो अनिश्चितता!

आखिर ऊ इटहारीमै बस्न थाल्यो।

महंगी र बारम्बार हुने बन्दले जीवन कष्टमय बन्थ्यो नै! नेपालीहरुको कस्तो नियति-बन्द अरे भनी हल्ला चल्दा बन्द निश्चित हुन्छ तर बन्द फिर्ताको घोषणा हुँदा पनि बन्द नै हुन्छ।
सानो घर- पसिनाले बनेको। ऊ त्यहीँ बस्छ। दुई जना केटा-केटी छन्- उसैले पढाउने स्कुलमा पढ्छन् अर्थात् ऊ पढाउँछ। एक्लो ऊ नियस्रो मान्छ, शून्यतामा हराउँछ। शून्यता मीठो लाग्छ। जीवन आखिर एकाकीपन र शून्यतामै किन्चित परिभाषित बन्छ।
कहिले समीर आउँछ समस्या बोकेर कहिले आस्था। ऊ सप्रेम सिकाउँछ; प्रेममै संसार अडेको छ।

“सर!तपाईँ अब सधैँ एक्लै बस्नुहुन्छ?”
“एकाकीपन मीठो हुन्छ।”
“तर नितान्त एक्लो………”
“मान्छे एक्लो जन्मन्छ, एक्लो मर्छ।”
“तर सर…………”
“तर………”
“तर बाँच्नको लागि साथी चाहिन्छ।”
“…………………”

यो भावुक बाल मानसिकतालाई उसले उत्तर दिएन। भर्खर कक्षा आठमा अध्ययनरत आस्था जीवन बँचाइको वास्तविकतामा यति अनुभवी छे भनेर उसले कहिल्यै सोचेन।
हर सपना भूगोलहीन उसलाई तर्साउँछन्। ऊ रुवन्डा सम्झन्छ। इरान, भियतनाम र बर्मा डुलेर फेरि आफैँलाई नियाल्छ- असहाय, निर्णयहीन, उपायहीन, भूगोलहीन……।
आज नेपालीहरु आफ्नै देशमा भिखरी भएका छन्, शरणार्थी भएका छन्। ऊ हरुवा जिन्दगीलाई चित्त बुझाउन अनुनय-विनय गर्छ।
ऊ सतर्क छ। दिशाहीन उसको सानो गल्तिले अस्तित्व पूरा नंग्याउन सक्छ।

“कहाँ जान थाल्नु भयो सर दिनहुँ यही समय?”
“ट्युसन।”
“हामीलाई थाहै भएन।”
“तर यो नितान्त व्यक्तिगत होइन।”
“कति दुःख गर्नुहुन्छ?”
“………………”
“खाना कतिबेला खानु?”
“जतिबेला खाए नि भइहाल्छ नि।”
“तर स्वास्थ्यको ख्याल गर्नुहोला।”

उसले कहिल्यै पनि आस्थाले आफ्ना बारेमा यति चासो राखोस् भन्ने चाहेन। उसलाई थाहा छ-आस्था एउटी परिश्रमी र मेधावी छात्रा हो। बस् आस्थासंगको सामीप्य ऊ यतिमै सीमित राख्न चाहान्थ्यो। तर एक्काइसौँ शताब्दीको एउटा एक्लो मान्छे बाल जिज्ञासा, कोमल-निर्मल कामनाहरुबाट प्रस्तर बनेर उम्कन सक्दैन।

“कति राती फर्कनु भयो सर!”
“आखिर आज दिन र रात एकै भएकै छ।”
“कति दुःख गर्नु हुन्छ?”
“किन र आस्था फेरि पनि?”
“साँच्चै मान्छे यान्त्रिक्रित बाँच्न सक्छ र?”
“बाँच्नका लागि दुःख गर्नै पर्‍यो ।”
“तर तपाईँ दुःख गर्न बाँचेको मान्छे!”
“तिमी सानै छ्यौ। जीवन रातो गुलाब होइन आस्था!”

जीवन भोगाइका कुराहरु! सुख-दुःखका कुराहरु! आफ्नै मान्छे जस्तो आस्था आज उसलाई माया गर्न थालेकी छे। रातो गुलाबका कुरा गरेर ऊ अत्यन्तै भावुक बनेको छ।
ऊ आज डराएको छ। यति राति गेट खोल्ने निहुँमा आस्था नै आएकी छे।

“सर सिकाइमाग्नुथ्यो; गलेर आउनु भएको छ।”
“के भो र?”
“सर एकछिन आराम गर्नुहोस्। खाना म बनाइदिन्छु।”
“यति राति……तर तिमीले त पढ्नु पर्छ।”
“म अनुभब गर्न चाहन्छु आरामहीनता कस्तो हुन्छ।”
“तर यो मलाई स्वीकार्य छैन आस्था।”
“मैँले छोएको खानुहुन्न?”
“त्यो होइन।”
“अनि के?”
“म सबै कुरा आफैँ गर्न सक्षम छु।”
“तर मैँले…”
“हो तिमीले पढ्नुपर्छ। अहिले तिमी जाऊ।”

आस्था केही बोलिन। क्रमिक रुपमा उसको व्यक्तित्वबाट आस्था प्रभावित हुँदै गई तर आज उसले लगभग नजानिँदो चोट महसुश मात्र गर्न सकी।
ऊ डरायो। कतै यो सामीप्यले कुनै विनाश ननिम्त्याओस्।

स्थितिले कोल्टे फेर्‍यो। आस्था क्रमश: लजालु बन्दै गई। ऊ कम मात्र बोल्न थाली र त्यो ओजश्वीपना शून्यप्राय: भयो।
उसलाई थाहा भएन आस्थालाई के भयो। ग्रिहकार्य जाँच्दा उसले आस्थाको कपि खाली पायो। उसले प्रश्न गर्दा आस्थाले ‘मलाई आएन’ भनी। उसले फेरि प्रश्न गरेन।
ऊ बारम्बार डरायो-कतै आफ्ना कारणले एउटा फक्रँदै गरेको गुलाब बीचैमा नओइलाओस्।

“के भयो आस्था तिमीलाई?”
“केही भएको छैन।”
“किन केही नबोलेको?”
“तपाँईलाई यही राम्रो लाग्ला।”
“तिमी आज-भोलि पढ्दिनौ पनि।”
“………………… ………………………”
“आस्था………”
“मैँले चोट महसुश गरें सर।”
” मैँले त्यस्तो केही गरेको छैन।”
“मलाई अछुत बनाउनु भयो।”
“त्यसो होइन।”
“अनि?”
“तिमी विध्यार्थी; तिमीले पढ्नु पर्छ।”
“……………………”
“फेरि त्यति राती। तिमी छोरी मान्छे।”
“…………………….………”
“एक दिन तिमीले पकाएको मात्र खाएर कटाउँला।”
“तर कहिले सर?”
“चाँडै।”
परिचयहीन ऊ यतिबेला कहाँनेर चुक्यो, उसलाई नै थाहा छैन। एउटी कलिली केटीले किन यस्तो जिद्दी गरी त्यो पनि उसलाई खासै थाहा भएन। आस्थालाई फेरि यथास्थितिमा फर्काउन उसले आस्थालाई फकाउनु पर्‍यो।
समय चल्दै गयो।
सड्घर्षको जीवन रथ मन्द गतिमा अघि बड्दै पनि गयो।
ऊ आफैँ हराएको मान्छे!अनिश्चित भविष्य र खण्डहर सपनाले थिचिएर हाँस्दै रहयो।
आस्था परिपक्व जीवन भोगाइको खास विन्दुवाट उसलाई नियालिरही। ऊ तेजवान आस्थाको सफलताको मौन कामनाले छोपिइरहयो।
शैक्षिक सत्रको समाप्ति, आस्था प्रथम र नैराश्यले भरिपूर्ण त्यही अनिश्चित जीवन सम्भवतः पूर्वघोशित नै थिए।

आज आस्था उसको कोठामा आई। ऊ भर्खरै उठेको मात्र थियो।
” गुड मर्निड. सर।”
“गुड मर्निड.। विहानै किन?”
“खासै काम छैन।”
“बस न।”
“सर……………”
“किन अक्मकाएको?”
“सर आज भ्यालेन्टाइन डे। ह्याप्पी भ्यालेन्टाइन डे सर।”
“तर तिम्रो हातमा रातो गुलाव?”
“सर…………”
“…………………”
“सर……..”
“तर आस्था……..”
“सर……..”
“आस्था म तिम्रो शिक्षक हुँ।”
“त्यो मलाई पूर्ण थाहा छ।”
“आस्था तिमी होसमा आऊ। तिमी सानै छ्यौ।”
“सर! मलाई पागल हुनबाट बँचाउनुहोस्।”
“इज्जत, इमान्दारिता र नैतिकता आस्था…….”
“यो एक्काइसौँ शताब्दी हो।”
“तर एक्काइसौँ शताब्दी जड्.गलमय होइन।”
“सर! म सम्झने प्रयत्न गर्दिन।”
“आस्था! जीवन रातो गुलाब मात्र होइन।”
” छाडिदिनोस् रातो गुलाबका कुराहरु।”

एक्काइसौँ शताब्दीको यो अन्धो प्रेम उसले कल्पना गर्न सकेन।ऊ हताश भयो। साँच्चै एक्काइसौँ शताब्दीको एउटा सभ्य मान्छे पशु होइन।
अनि खोक्रो इमान्दारिता र अपूर्ण नैतिकता फेरि एक्काइसौँ शताब्दीमा ग्राह्य पनि छैन।
आदिम संस्कार र मध्य-युगीन गरिमाका आडमा एक्काइसौँ शताब्दीका समर्पित प्रेमहरु दिशाहीन पनि हुँदैछन्।
एक्काइसौँ शताब्दी आफैँमा सम्पूर्ण पनि होइन।
केवल एक्काइसौँ शताब्दीका सवालहरु! ऊ मूर्तिवत् बसिरहयो।
“आस्था! तिमी मलाई बुझ्ने प्रयास गर।”
“पूरा एक वर्ष तपाईँलाई मैँले भित्रैबाट बुझिसकेँ।”
“कर्तव्य र अस्तित्वका मर्म बुझ्न सिक।”
“आज कर्तव्यकै आडमा राम वनबास जाँदैन।”
“……………”
“आज अस्तित्वकै आडमा बालआकांक्षा र समर्पित प्रेमको
गला दबाइनु हुन्न।”
“तर म त्यो मान्दिन आस्था।”
“के तपाईँ एक्काइसौँ शताब्दीको आवरणभित्रको मध्ययुगीन
ह्रदय नै हो?”
“कर्तव्य मीठो हुन्छ आस्था!”
“तर कर्तव्यकै आडमा एक्काइसौँ शताब्दीकी यो सचेत सीता कर्तव्यका बाटाभरि काँडा कुल्चिएर आफूलाई पतिव्रता सावित
गर्न अग्निपरीक्षाकासमु डट्दिन।”
“यो बहस केका लागि आस्था?”
“समर्पित प्रेम।”

कलिली आस्था एउटा योग्य चिन्तक! ऊ उसैको चिन्तनमा निमग्न एउटा अन्जान पाठक!
ऊ संकटमा परेको छ। आज ती बाल आकांक्षाहरु दबाउने प्रयत्न गरे ऊ शिथिल बन्छे। उसको शिथिलता जे पनि हुन सक्छ।
ट्वीन टावर आक्रमणको बदलामा तोराबोरा भस्म हुँदै गयो। दूध दिएर पालेको सर्पले विष सेचन गर्छ भन्ने भयले अमेरिका इराकमाथि बमवर्षा गर्दै रहयो। अर्को संसार खोज्न हिँडेको कोलम्बिया यान टुक्रियो। एसियाकी कल्पना यानसँगै चोइटिइन्। भारतीय इसाराको आडमा भूटान आफ्नै भूमि नंग्याउदै रहयो।
ऊ आफ्नै मुटु छोएर मात्र कामना गर्न सक्छ- भूटान दोश्रो सिक्किम नहोस्।
उसको कमजोरी! आस्थाले यति भन्न सक्नुलाई ऊ आफ्नो निरीहता सम्झन्छ। आफैँलाई बाँध्न नसक्नुको परिणाम! भविष्य अन्धकारमय बन्न सक्छ। उसले आस्थालाई सम्झाउने प्रयत्न गरेको हो। एक्काइसौँ शताब्दीको प्रेमलाई फरक कोणबाट परिभाषित गर्न थालेकी आस्थाले उसलाई नैतिकताका आधारमा मूल्यांकन गरिन।
आस्थाले शिक्षक-विध्यार्थीबीचको सुमधुर सम्बंधलाई मात्र ठूलो सवाल बनाइन तर यो मीठो सम्बन्धको अवमुल्यन पनि कहिल्यै गरिन। प्रेमका सवालहरु; तर यो फरक सवाल! ऊ चोइटिने गर्छ; ऊ पिल्सिने गर्छ।
समान रुपमा नदी बगिरहयो। ॠतु परिवर्तनको क्रम रोकिएन। धनबहादुर-मनबहादुरका कुपोषणले निलेका बच्चाहरु भोक-भोकै मरेको समाचार आइरहयो। कपडाको अभावमा चिसोले रक्तसंचार बन्द भएर मरेको बूढो ज्यामीको लासको दाहसंस्कार कसले गर्‍यो थाहा भएन। बम विच्छ्याएको भूमिमाथि शंकास्पद पाइला टेकेर हिँड्ने नेपालीको जीवन भयाक्रान्त रहिरहयो। तर उ निश्चिन्त हाँस्न सकेन। तर आस्थाको मुटु परिवर्तन भएन।

“आस्था! तिमीले राम्ररी पढ्नु पर्छ।”
“म आफ्नो लक्ष्यमा असफल छु र?”
“तर मन बिग्रिन सक्छ।”
“यो मेरो ह्रदयको अठारौँ झट्का होइन सर!”
कन्चन अस्तित्वमाथि समर्पण पोखेकी आस्था आफ्नो प्रथम निर्णयमा अडिग रहिरही। उसले आस्थालाई रातो गुलाबका सवालहरुको मुल्य बुझाउन सकेन। आस्थाले बुझ्न चाहिन।
“आज धेरै मलिन देखिनुहुन्छ सर।”
“तर त्यस्तो केही भएको छैन।”
“आफैँलाई छल्न गाह्रो हुन्छ।”
“हो।”
“निर्मम आफैँलाई ठग्नु अप्रिय हुन्छ।”
“त्यो पनि सत्य हो।”
आफैँलाई छल्न गाह्रो हुन्छ। उसलाई आज त्यही भएको छ। भूगोलहीन अस्तित्वलाई सबैको सामु नांगो पछार्नु झन पीडादायक हुन्छ।
उसलाई सन्च छैन। हिजो ठुलो कष्टसँग कक्षा संचालन गर्‍यो। आस्था सहज देखिन प्रयास गरिरहेको उसलाई विलक्षण आँखाले नियालिरहेकी थिई। उसले त्यस हेराइमा पीडा देख्यो।
आज ऊ स्कुल गएन।
आस्था घर आइपुग्दा ऊ सुतिरहेको हुनुपर्छ। ढोका बन्द थियो। निकैबेरसम्म ढोकामा ढक्-ढक् आवाज सुनेपछि उसले ढोका खोल्यो। आस्था अन्जान अनि निन्याउरो अनुहार लगाएर उभिइरहेकी थिई।
“किन आस्था?”
“तपाईँ आफैँलाई लुकाउने मान्छे……”
“हल्का विसञ्चो मात्र भएको हो।”
“खाना पनि खानु भएको छैन।”
“मन छैन।”
“सञ्चो नभएपछि मन कहाँबाट हुन्छ त?”
“आस्था!”
“भन्नुहोस् सर।”
“म एउटा अनुरोध गर्न चाहन्छु।”
“त्यस्तो के?”
“म एक्लो मान्छे, तिमी बारम्बार मेरो कोठामा आउने नगर। मान्छेले राम्रो देख्दैनन्।”
“मेरो विरामी शिक्षकलाई म त्यसै मर्न दिऊँ?”
“तर आस्था……”
“तपाईँलाई के भयो सर?”
“आस्था तिमी……”
“मैँले मम्मीलाई पनि भनेकी छु।”
“…………………………”
“के भइरहेछ सर?”
“मात्र रिँगटा लाग्दैछ।”
उसको चाहनाविपरित अंकुरण भएको प्रेमको यो कलिलो टुसा बिस्तारै हुर्कँदै गयो।
उसले आस्थाको बर्तमान बिचार गरेर नै धेरै समयपछि(कैयन प्रतिवादपछि) आस्थाको आशयलाई मौन स्वीकृति दियो।
यस पाली आस्थाले सेन्ड-अप परीक्षा दिई। नतिजा फेरि प्रथम!
यतिबेला ऊ खुसी भएको छ। आस्थाले उसको सोचाइ अनुकूल प्रशंसनीय सफलता हाँसिल गरेकी छे। तर आस्था-एउटा विलक्षणताकी प्रतीक! उसलाई दु:ख लागेको छ। उसले आफैँलाई छल्नु परेको छ; आस्थालाई सायद ठूलो चोट दिनुपरेको छ।
“आस्था!”
“किन र सर?”
“तिमीले कल्पना चावलाको कथा सुनेकीछ्यौ?”
“छैन।”
“कल्पना चावला एसियाकी छोरी थिइन्।”
“अनि?”
“कल्पना चावला-
जसको जन्ममा परिवारले एउटा पीडा महसुस गर्‍यो, जसको जन्ममा जन्मदाता आमाले आफ्नो अस्तित्वलाई दुर्भाग्यपूर्ण स्वीकारिन्, जसको जन्ममा हरियाणाले सायद शोक मनायो, उनी विश्व प्रसिद्ध भइन्। आफ्नो सम्पूर्ण योग्यताका कसीले संसारलाई चुनौती दिइन् कि छोरी जन्मनु अभिशाप होइन।”
“अनि?”
“म तिमीलाई कल्पना देख्न चाहन्छु; जिन्दगीमा अभावहरुले योग्य मस्तिष्क फोर्न नसकेको एउटा गौरवमय आक्रिति- क्युरी देख्न चाहन्छु।”
“धन्यवाद सर।”
यो भावुक उद्घोषण केका लागि? ऊ आफैँलाई थाहा छैन। तर चाँडै ऊ आस्थादेखि धेरै टाढा हुँदै छ।
आस्थाले आफ्नु एस्.एल्.सी पूरा गरेकी छ। आस्था परीक्षापश्चात डुल्न भनी मामाघरतर्फ लागेकी छ। ठीक यही समय उसले आफुलाई मुक्ति दिएको छ। ऊ इटहरी छोडी काठमाडौंतर्फ लागेको छ। ‘आस्था’- जीवनको नरमाइलो खुसी! उसले एक पटक सम्झिएको छ। ‘आस्था’- एउटा न्यानो आक्रिति! उसले एक चोटी माफ मागेको छ। ‘आस्था’- एउटा अन्जान समर्पिता! उसले एक चोटी ढोगेको छ।
तर कुन्नि कता मुटु चस्किएको छ- प्रेमको एउटा कञ्चन दियो उसले जानाजान निभाएको छ। निर्मल बालचाहनाहरु निर्मम लतारेको छ।

आज आस्थाका हातमा काठमाडौंबाट आएको एउटा चिठ्ठी छ। ऊ ठोस निर्णयले भरिएको छ- “आस्था! मेरो निरीहता तिमीले बुझ्नेछ्यौ। एउटा भूगोलहीन, निर्णयहीन, गन्तव्यहीन, परिचयहीन विस्तृति जसलाई तिमीले स्वीकार्‍यौ, उसले तिमीलाई परिचयहीन हेर्न चाहेन। ऊ तिमीलाई महान देख्न चाहन्छ/सुन्न चाहन्छ। बस्……”
हाय! यो शताब्दी, भूगोलहीनता र प्रेमका सवालहरु!

भूटानी नरेशले आफूमा निहित केही वंशानुगत अधिकारहरु जनताको हातमा सुम्पेर आफू प्रजातांत्रिक परिपाटीको थालनी गर्न इच्छुक रहेको बताए। गाजा क्षेत्रबाट यहुदी बस्ती हटाउने निर्णयमा स्यारोन अडिग रहे। इराकीहरु आफ्नै सरकारको छत्र-छायामा आफूलाई केही सुरक्षित महसुस गर्न थाले। नेपालमा लामो समयदेखिको राजनैतिक अनिर्णयको वातावरणबाट पार्टीहरुले मुलुकलाई मुक्ति दिन सकेनन्। भूटानी शरणार्थीलाई राहत कटौतीबाट दातृ राष्ट्रहरुले जोगाउन सकेनन्। नेपाल नआउने प्रण गरेर पनि दोश्रो चोटी नेपाल भित्रिन बाध्य रिजाल विश्वको ध्यानाकर्षण सानो मुलुकमा भएको मानव अधिकार हनन र नागरिक उच्छेदनतर्फ गराउन त्यति सफल भएनन्।

यति बेला म कथाको फरक मोडमा छु। मैँले भर्खरै मात्र चामुण्डा स्कुलमा अध्यापन सुरु गरेको छु। एस्.एल्.सी को परीक्षाफल भर्खरै मात्र प्रकाशित भएको छ। म चोकसम्म हिँडेको हुँ तर गाडीबाट उत्रँदै गरेको उसलाई देखेर म अडिएको छु।
“आउँदै गर्नु भएको?”
“अँ”
“बिदा?”
“छोटो बिदा छ।”
“यहाँ किन?”
“डेरामा केही सामान थ्यो।”
“अनि?”
“जान गार्‍हो भैरहेछ।”
“किन?”
“अप्रिय लाग्छ।”
भूगोलहीनताका कारण भएको प्रेमको हत्याका मर्महरु म बुझ्छु।
“सर!”
“आस्था तिमी……”
“……………”
“बधाइ छ आस्था तिमीलाई!”
“…………”
उसका आँखामा आँसु थियो। ऊ केही बोलिन। ऊ मेरासामु अत्यन्त सहज बन्न ठुलो चेस्टा गरिरहेको थियो।
“उनी मेरी विध्यार्थी; एस्.एल्.सी मा विशिष्ट श्रेणी हाँसिल गरेकी छन्।”
“नमस्कार सर!”
“नमस्कार”
“मेरो साथी आस्था।”
“………………”
उसमा छट्पटी थियो। ऊ केही बोलिन। केही समय अघि उसलाई मैँले चोकै अगडिको घरको छतमा उभिइरहेको देखेको थिएँ। एउटी बालप्रेमी-जसको कन्चन प्रेमको नैतिकताका आडमा हत्या भएको छ; भूगोलहीनता, परिचयहीनताको डडेलोले निलेको छ, म मौन छु, ऊ मौन छ, ऊ मौन छे।
“आस्था!”
“किन र सर?”
“……”
“कमसेकम मलाई म जान्छु भन्न त सक्नु हुन्थ्यो।”
“माफ गर आस्था!”
“माफ त्यति सस्तो वस्तु हो र?”
फेरि सबै मौन। उसको अनुहारमा लछेप्रै रोदनीयताको म अहिले वर्णन गर्न सक्तिन।
भूगोलको सही अर्थ नबुझेकी त्यो केटी, परिचयको खास मर्म नजानेकी त्यो केटी यतिबेला के सोचिरहेकी छे, त्यो मलाई थाहा छैन। म यतिबेला निर्णयहीनताले थिचिएको छु। म कथा यस्तै हुनु पर्छ भन्न सक्तिन। म यतिबेला मात्र भूगोलको अर्थ खोज्दै छु; म यतिबेला परिचयको मर्म सोच्दै छु। मेरासामु दुई प्रेमीको एउटा अञ्जान जोडी छ। उत्तरहीन प्रश्न बोकेका भावयुक्त आँखा छन्। प्रश्नहीन उत्तरले थिचिएको गर्हौ मुटु छ। म यतिबेला प्रेमलाई सही परिभाषित गर्न सक्तिन। नैतिकताका आधारमा समर्पित प्रेमको हत्या हुनु हुन्छ/हुँदैन मलाई थाहा छैन। एउटा भूगोलहीनताको खडेरीले दुई मुटु पिल्स्याएको छ; मलाई यति थाहा छ।
आफ्नो विवादास्पद निर्णयविरुद्ध उभिएका दुई मन्त्रीहरुलाई पदबाट बर्ख़ास्त गरी आफ्नो निर्णयमा अडिग स्यरोनको निर्णय सर्वोच्चले खारेज गर्‍यो। सरकारका नाममा खडा एक्ला प्रधानमन्त्रीले वार्ताका माध्यमबाट समस्या सुल्झाउने आश्वसन दिए पनि विध्यालय जान पाउने अधिकारबाट नेपाली विध्यार्थीहरु धेरै दिन वञ्चित रहे। माओवादीको आरोपमा केही भूटानी शरणार्थीहरु गिरफ्तार भए।
यतिबेला म कथाको अत्यन्तै जटिल पृष्ठमा छु। मलाई आँसु पीडादायक लाग्छ।
“सर! बाटामा यो केको बहस?”
“………………”
“घर जाऊँ।”
मलाई उसका पाइला काँपेको महसुस भइरहेछ। हामी उसलाई पछ्याइरहेछौँ- एउटा मौन स्वीकारोक्ति।
“सर! साँच्चै जीवन रातो गुलाब मात्र होइन रहेछ।”
“आस्था! तिमी भूगोल र परिचयका कुरा बुझ्न अझै सानै छ्यौ।”
“तर के मैँले भूगोलसँग प्रेम गरें? मैँले परिचयसँग प्रेम गरें?”
‘आस्था…………”
“मैँले तपाईँको मुटु मात्र चियाएँ।”
घर रित्तो छ; हामी एक्ला छौँ। ऊसँग आस्थालाई सम्झाउने शब्द छैनन्। आस्थासँग आफैँलाई बुझाउने मुटु छैन।
“बोल्नुहोस् सर!”
“कालो बादलले ढाकिएको आकाश कति निर्मम छ आस्था………”
“कागको कर्कस बोली केही अनर्थ बकिरहेछ।”
“बारुदी धुँवाले छोपिएको आकश कति जीर्ण छ आस्था!”
“त्यति नै निर्मम (सायद) बारुदी धुवाँले पिल्सिएको मुटु रोइरहेछ। कुनै पनि पुस्तकलाई
आवरण हेरेर मूल्यांकन नगर्नु होला।”
आस्थाको कलिलो मुटु! कसरी सहन्छ होला त्यति ठुलो पीडा! म यतिबेला आस्थालाई यथार्थमा फर्काउने प्रयास गर्दैछु।
“आस्था! त्यति निर्मल सम्बन्धलाई पुनर्मूल्यांकन गरे हुन्न?”
“…………………………”
“त्यो प्रेम यदि भूगोलसँग गरेको थिएन भने फेरि सम्झौता गरे हुन्छ।”
“तर प्रेममा सम्झौता हुन सक्तैन सर।”
“उसले विवशताबीच गरेको निर्णयलाई फेरि नियाल्न सकिन्छ।”
“उहाँ शत-प्रतिशत गलत हुनुहुन्थ्यो।”
“अनि आस्था………”
“तपाईँ हाम्रो सम्बन्धको एक मात्र जीवित साक्षी! कथालाई अन्यथा मोड्ने प्रयास नगरिदिनू!”
“तर आस्था त्यो विवशता थियो सायद!”
“कन्चन प्रेमका उपर समर्पित एउटा मुटु थाहै नपाई च्यातिएको छ।”
“त्यो निर्णयहीनताको उपज थियो सायद!”
“तर प्रेम कपडा होइन जसलाई च्यातिएपछि पनि मर्मत गर्न/सिलाउन सकियोस्।”
“किन यति कठोर आस्था?”
“अब उहाँलाई म पुजिरहन्छु आजन्म तर एउटा फरक विन्दुबाट। प्रेममाथिको एउटा निर्मल
समर्पण! भूगोलमाथिको एउटा व्यंग्य समर्पण!! विवशतामाथिको एउटा करुण समर्पण!!!”
उसको बोली रोदनीय थियो। उसका आँखाभरि आँसु थिए। भूगोलहीनताले जन्माएको कठोरता! उसका परिचयहीन हातहरुले ती आँसु पुछ्न सकेनन्। एउटा पीडादायक गौरव- त्यो समर्पण! म आफू हराएँ। त्यो आँसुको मूल्यभित्र आफैँलाई खोज्न चाहेँ। भूगोलहीनताले जन्माएको त्यो पीडा, त्यो करुणा, त्यो विवशता, त्यो निर्मलता, त्यो कठोरता, त्यो निर्णयहीनता एकपछि अर्को गर्दै ममा समाहित भए।
त्यो आँसुभित्रको पीडाले म छट्पटाइरहेँ।
भूगोलहीनता, एक्काइसौँ शताब्दी र प्रेमको निर्मम हत्या! यो कस्तो दर्द………

Dr. Rishi Raj Baral – Hatiyaar (Nepali Laghu Katha)

डा. ऋषिराज बराल – हतियार (लघु कथा)
(Source: गोरखापत्र)

पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा बसेर काम गरिसकेको कमरेड प्रवीणको नाम पनि जनमुक्ति सेनामा जानेमा परेको थियो ।

सबैलाई जम्मा गरियो र वैचारिक प्रशिक्षण पनि दिइयो । युद्धमोर्चा पनि तोकियो । थप भेटघाट र विशेष निर्देशन दिने काम पनि भयो ।

कामको सुपरिवेक्षण र अनुगमन गर्न विशेष कार्यदल तत-तत् क्षेत्रमा तीन महिनापछि आउने कुरा पनि सुनाइयो । हातहतियार र गोलिगट्ठा पनि सबैलाई थमाइयो । सबैले खुसी भएर आआफ्नो झोला बोके ।

कमरेड प्रवीण भने केही बोलेन , मौन, चूपचाप र गम्भीर देखियो ।

कार्यदलका कमाण्डरले फेरि उनै कुरा दोहोर्‍याए ।

प्रवीणले आफ्नो कुरा राख्यो—”खोइ मेरो हतियार ?”

“तपाईंलाई यत्रो अत्याधुनिक हातहतियार र गोलिगट्ठा दिइएको छ ,फेरि तपाईं ?”—कमान्डर झोक्कियो ।

प्रवीणको अनुहार व्यङ्ग्यात्मक देखियो ।

एकछिन त कमाण्डर केही नबुझेझैँ गरी घोरियो । त्यसपछि एक जनालाई अरायो र प्रवीणको सामु झोला राख्दै भन्यो- “ल यसमा अरू तीन सय गोली छन् ।”

प्रवीण भने केही बोलेन । उभिरहृयो, मौन र गम्भीर भएर । अनुहारको भाव अर्कै थियो- एकदमै व्यङ्ग्यात्मक ।

“तपाईंले मलाई खास हतियार नै दिनु भएको छैन ?”

कमाण्डरको अनुहार एकदमै भिन्नै भयो- आक्रोशित ।

“तपाईंले क्रान्तिको मर्मलाई बुझ्नु भएन कमरेड ?”

“बुझेर नै मैले बन्दुकसँगै कलम पनि मागेको हुँ ।”

कमाण्डर रिसले थरथर काम्दै के के बोल्दै थियो ।

प्रवीण कमरेड भने व्यङ्ग्यात्मक अनुहार लगाएर एकटकले कमाण्डरतिर हेरिरहेको थियो ।

माघ-२०, २०६५

Padam Bhandari – Bhoot (Nepali Laghu Katha)

पदम भन्डारी – भूत
मेरो बाल्यकालको साथी धेरै वर्षपछि गाउँ फर्क्यो । एसएलसी पास गरेपछि कलेज पढ्ने, जागीर खाने बहानामा उ शहरबाट गाउँ फर्केको थिएन । धेरै वर्षपछि बाल्यकालमा खेल्ने गरेको भवानी पुज्ने डाँडातिर (केटाकेटी हुँदा हामी त्यसलाई भानपुन्नेको डाँडो भन्थ्यौं) हामीहरू घुम्न निस्कियौं । घुम्न निंस्किंदा दिन घर्किसकेको थियो ।

घर फर्कंदा मैले उसलाई सोधेँ – हामी केटाकेटी हुँदा यहि डाँडामा घुम्न आउँथ्यौं । त्यसबेला हामीहरूलाई भूतले तर्साउँथ्यो । हामी केटाकेटी हुँदा भूत भन्नेवित्तिकै अजङ्गको जीउ भएका, लामो कपाल पालेका, लामा नङ् पालेका, आईमाई, केटाकेटीको अपहरण गर्ने अपराधी स्वभावका हुन्छन् भन्ने सुनेका थियौं । तर आजकल गाऊँका ती डाँडापाखा, खोंच, ओडारतिर भूत कतै भेटिंदैन, किन होला? खै त आज पनि हामीहरूलाई भूतले तर्साएन नी ।

मेरो मनमा जे थियो उसले ठ्याक्कै त्यहि जवाफ दियो – उहिले उहिले डाँडापाखा, खोंच, ओडारतिर हुने भूत मान्छेको रूप लिएर आजकल गाउँ शहरतिर पसेको छ, । आजकलका मान्छेहरू मान्छे जस्ता छैनन्, भूत जस्ता छन् । समयको परिवर्तनसंगै भूतको रूप र बासस्थान पनि परिवर्तन भएको छ । आजकल भूतले मान्छेको रूप लिएर आफ्नो व्यवहार देखाईरहेछ ।

समयले हामीहरूलाई पनि कहाँ बाट कहाँ पुय्राईसकेछ । बाल्यकालका हामी घनिष्ट मित्रहरू एकले अर्कालाई गाउँमा बसेको भूत एवं शहरबाट गाउँ फर्केको भूतको रूपमा शंका गरिरहेका थियौं । मलाई लाग्दै थियो मान्छेहरू राजनीतिक दलको रूपमा, वाई सी एल, यूथ फोर्स र तरुण दलको रूपमा, विभिन्न भातृ संगठनको रूपमा भूतको चरित्र देखाईरहेछन् । कता कता मलाई यस्तो पनि लाग्दैछ की जन्मंदैमा अब मान्छे भूत भएर जन्मन्छ । मान्छे अब बुद्ध र गान्धि भएर जन्मन्छ भन्नेमा मलाई कत्तिपनि आश छैन ।