Ramesh Gautam – Bhugolhin : Euta Amurta Prem

रमेश गौतम – भूगोलहीन: एउटा अमूर्त प्रेम

ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो।
“सर! तपाईँ कहाँबाट आउनुहुन्छ?”
” दमक”
“त्यति टाढाबाट……”
“गाडीले ल्याउने-लाने काम गरिहाल्छ नि।”
“अनि पैसा सर?”
“तिम्रो स्कुलले दिन्छ।”

यो अनौपचारिक गफ उसलाई मीठो लाग्थ्यो। विध्यार्थीहरुको माया उसलाई झनै रमाइलो लाग्थ्यो। तर आफ्ना विवशता र अनिश्चित भविष्यसँग ऊ बारम्बार तर्सन्थ्यो।

“सर! टाढाबाट आउन कति गाह्रो हुन्छ।”
“…………………”
“यतै बसे हुन्न?”
“हुन्छ।”
“कहिलेबाट बस्नुहुन्छ?”
“बन्दपछिबाट”

नेपाल कति भयाक्रान्त छ। बन्द र हड्ताल यसका गहना हुन्। यो समय, त्यहाँमाथि यो अनिश्चितता!

आखिर ऊ इटहारीमै बस्न थाल्यो।

महंगी र बारम्बार हुने बन्दले जीवन कष्टमय बन्थ्यो नै! नेपालीहरुको कस्तो नियति-बन्द अरे भनी हल्ला चल्दा बन्द निश्चित हुन्छ तर बन्द फिर्ताको घोषणा हुँदा पनि बन्द नै हुन्छ।
सानो घर- पसिनाले बनेको। ऊ त्यहीँ बस्छ। दुई जना केटा-केटी छन्- उसैले पढाउने स्कुलमा पढ्छन् अर्थात् ऊ पढाउँछ। एक्लो ऊ नियस्रो मान्छ, शून्यतामा हराउँछ। शून्यता मीठो लाग्छ। जीवन आखिर एकाकीपन र शून्यतामै किन्चित परिभाषित बन्छ।
कहिले समीर आउँछ समस्या बोकेर कहिले आस्था। ऊ सप्रेम सिकाउँछ; प्रेममै संसार अडेको छ।

“सर!तपाईँ अब सधैँ एक्लै बस्नुहुन्छ?”
“एकाकीपन मीठो हुन्छ।”
“तर नितान्त एक्लो………”
“मान्छे एक्लो जन्मन्छ, एक्लो मर्छ।”
“तर सर…………”
“तर………”
“तर बाँच्नको लागि साथी चाहिन्छ।”
“…………………”

यो भावुक बाल मानसिकतालाई उसले उत्तर दिएन। भर्खर कक्षा आठमा अध्ययनरत आस्था जीवन बँचाइको वास्तविकतामा यति अनुभवी छे भनेर उसले कहिल्यै सोचेन।
हर सपना भूगोलहीन उसलाई तर्साउँछन्। ऊ रुवन्डा सम्झन्छ। इरान, भियतनाम र बर्मा डुलेर फेरि आफैँलाई नियाल्छ- असहाय, निर्णयहीन, उपायहीन, भूगोलहीन……।
आज नेपालीहरु आफ्नै देशमा भिखरी भएका छन्, शरणार्थी भएका छन्। ऊ हरुवा जिन्दगीलाई चित्त बुझाउन अनुनय-विनय गर्छ।
ऊ सतर्क छ। दिशाहीन उसको सानो गल्तिले अस्तित्व पूरा नंग्याउन सक्छ।

“कहाँ जान थाल्नु भयो सर दिनहुँ यही समय?”
“ट्युसन।”
“हामीलाई थाहै भएन।”
“तर यो नितान्त व्यक्तिगत होइन।”
“कति दुःख गर्नुहुन्छ?”
“………………”
“खाना कतिबेला खानु?”
“जतिबेला खाए नि भइहाल्छ नि।”
“तर स्वास्थ्यको ख्याल गर्नुहोला।”

उसले कहिल्यै पनि आस्थाले आफ्ना बारेमा यति चासो राखोस् भन्ने चाहेन। उसलाई थाहा छ-आस्था एउटी परिश्रमी र मेधावी छात्रा हो। बस् आस्थासंगको सामीप्य ऊ यतिमै सीमित राख्न चाहान्थ्यो। तर एक्काइसौँ शताब्दीको एउटा एक्लो मान्छे बाल जिज्ञासा, कोमल-निर्मल कामनाहरुबाट प्रस्तर बनेर उम्कन सक्दैन।

“कति राती फर्कनु भयो सर!”
“आखिर आज दिन र रात एकै भएकै छ।”
“कति दुःख गर्नु हुन्छ?”
“किन र आस्था फेरि पनि?”
“साँच्चै मान्छे यान्त्रिक्रित बाँच्न सक्छ र?”
“बाँच्नका लागि दुःख गर्नै पर्‍यो ।”
“तर तपाईँ दुःख गर्न बाँचेको मान्छे!”
“तिमी सानै छ्यौ। जीवन रातो गुलाब होइन आस्था!”

जीवन भोगाइका कुराहरु! सुख-दुःखका कुराहरु! आफ्नै मान्छे जस्तो आस्था आज उसलाई माया गर्न थालेकी छे। रातो गुलाबका कुरा गरेर ऊ अत्यन्तै भावुक बनेको छ।
ऊ आज डराएको छ। यति राति गेट खोल्ने निहुँमा आस्था नै आएकी छे।

“सर सिकाइमाग्नुथ्यो; गलेर आउनु भएको छ।”
“के भो र?”
“सर एकछिन आराम गर्नुहोस्। खाना म बनाइदिन्छु।”
“यति राति……तर तिमीले त पढ्नु पर्छ।”
“म अनुभब गर्न चाहन्छु आरामहीनता कस्तो हुन्छ।”
“तर यो मलाई स्वीकार्य छैन आस्था।”
“मैँले छोएको खानुहुन्न?”
“त्यो होइन।”
“अनि के?”
“म सबै कुरा आफैँ गर्न सक्षम छु।”
“तर मैँले…”
“हो तिमीले पढ्नुपर्छ। अहिले तिमी जाऊ।”

आस्था केही बोलिन। क्रमिक रुपमा उसको व्यक्तित्वबाट आस्था प्रभावित हुँदै गई तर आज उसले लगभग नजानिँदो चोट महसुश मात्र गर्न सकी।
ऊ डरायो। कतै यो सामीप्यले कुनै विनाश ननिम्त्याओस्।

स्थितिले कोल्टे फेर्‍यो। आस्था क्रमश: लजालु बन्दै गई। ऊ कम मात्र बोल्न थाली र त्यो ओजश्वीपना शून्यप्राय: भयो।
उसलाई थाहा भएन आस्थालाई के भयो। ग्रिहकार्य जाँच्दा उसले आस्थाको कपि खाली पायो। उसले प्रश्न गर्दा आस्थाले ‘मलाई आएन’ भनी। उसले फेरि प्रश्न गरेन।
ऊ बारम्बार डरायो-कतै आफ्ना कारणले एउटा फक्रँदै गरेको गुलाब बीचैमा नओइलाओस्।

“के भयो आस्था तिमीलाई?”
“केही भएको छैन।”
“किन केही नबोलेको?”
“तपाँईलाई यही राम्रो लाग्ला।”
“तिमी आज-भोलि पढ्दिनौ पनि।”
“………………… ………………………”
“आस्था………”
“मैँले चोट महसुश गरें सर।”
” मैँले त्यस्तो केही गरेको छैन।”
“मलाई अछुत बनाउनु भयो।”
“त्यसो होइन।”
“अनि?”
“तिमी विध्यार्थी; तिमीले पढ्नु पर्छ।”
“……………………”
“फेरि त्यति राती। तिमी छोरी मान्छे।”
“…………………….………”
“एक दिन तिमीले पकाएको मात्र खाएर कटाउँला।”
“तर कहिले सर?”
“चाँडै।”
परिचयहीन ऊ यतिबेला कहाँनेर चुक्यो, उसलाई नै थाहा छैन। एउटी कलिली केटीले किन यस्तो जिद्दी गरी त्यो पनि उसलाई खासै थाहा भएन। आस्थालाई फेरि यथास्थितिमा फर्काउन उसले आस्थालाई फकाउनु पर्‍यो।
समय चल्दै गयो।
सड्घर्षको जीवन रथ मन्द गतिमा अघि बड्दै पनि गयो।
ऊ आफैँ हराएको मान्छे!अनिश्चित भविष्य र खण्डहर सपनाले थिचिएर हाँस्दै रहयो।
आस्था परिपक्व जीवन भोगाइको खास विन्दुवाट उसलाई नियालिरही। ऊ तेजवान आस्थाको सफलताको मौन कामनाले छोपिइरहयो।
शैक्षिक सत्रको समाप्ति, आस्था प्रथम र नैराश्यले भरिपूर्ण त्यही अनिश्चित जीवन सम्भवतः पूर्वघोशित नै थिए।

आज आस्था उसको कोठामा आई। ऊ भर्खरै उठेको मात्र थियो।
” गुड मर्निड. सर।”
“गुड मर्निड.। विहानै किन?”
“खासै काम छैन।”
“बस न।”
“सर……………”
“किन अक्मकाएको?”
“सर आज भ्यालेन्टाइन डे। ह्याप्पी भ्यालेन्टाइन डे सर।”
“तर तिम्रो हातमा रातो गुलाव?”
“सर…………”
“…………………”
“सर……..”
“तर आस्था……..”
“सर……..”
“आस्था म तिम्रो शिक्षक हुँ।”
“त्यो मलाई पूर्ण थाहा छ।”
“आस्था तिमी होसमा आऊ। तिमी सानै छ्यौ।”
“सर! मलाई पागल हुनबाट बँचाउनुहोस्।”
“इज्जत, इमान्दारिता र नैतिकता आस्था…….”
“यो एक्काइसौँ शताब्दी हो।”
“तर एक्काइसौँ शताब्दी जड्.गलमय होइन।”
“सर! म सम्झने प्रयत्न गर्दिन।”
“आस्था! जीवन रातो गुलाब मात्र होइन।”
” छाडिदिनोस् रातो गुलाबका कुराहरु।”

एक्काइसौँ शताब्दीको यो अन्धो प्रेम उसले कल्पना गर्न सकेन।ऊ हताश भयो। साँच्चै एक्काइसौँ शताब्दीको एउटा सभ्य मान्छे पशु होइन।
अनि खोक्रो इमान्दारिता र अपूर्ण नैतिकता फेरि एक्काइसौँ शताब्दीमा ग्राह्य पनि छैन।
आदिम संस्कार र मध्य-युगीन गरिमाका आडमा एक्काइसौँ शताब्दीका समर्पित प्रेमहरु दिशाहीन पनि हुँदैछन्।
एक्काइसौँ शताब्दी आफैँमा सम्पूर्ण पनि होइन।
केवल एक्काइसौँ शताब्दीका सवालहरु! ऊ मूर्तिवत् बसिरहयो।
“आस्था! तिमी मलाई बुझ्ने प्रयास गर।”
“पूरा एक वर्ष तपाईँलाई मैँले भित्रैबाट बुझिसकेँ।”
“कर्तव्य र अस्तित्वका मर्म बुझ्न सिक।”
“आज कर्तव्यकै आडमा राम वनबास जाँदैन।”
“……………”
“आज अस्तित्वकै आडमा बालआकांक्षा र समर्पित प्रेमको
गला दबाइनु हुन्न।”
“तर म त्यो मान्दिन आस्था।”
“के तपाईँ एक्काइसौँ शताब्दीको आवरणभित्रको मध्ययुगीन
ह्रदय नै हो?”
“कर्तव्य मीठो हुन्छ आस्था!”
“तर कर्तव्यकै आडमा एक्काइसौँ शताब्दीकी यो सचेत सीता कर्तव्यका बाटाभरि काँडा कुल्चिएर आफूलाई पतिव्रता सावित
गर्न अग्निपरीक्षाकासमु डट्दिन।”
“यो बहस केका लागि आस्था?”
“समर्पित प्रेम।”

कलिली आस्था एउटा योग्य चिन्तक! ऊ उसैको चिन्तनमा निमग्न एउटा अन्जान पाठक!
ऊ संकटमा परेको छ। आज ती बाल आकांक्षाहरु दबाउने प्रयत्न गरे ऊ शिथिल बन्छे। उसको शिथिलता जे पनि हुन सक्छ।
ट्वीन टावर आक्रमणको बदलामा तोराबोरा भस्म हुँदै गयो। दूध दिएर पालेको सर्पले विष सेचन गर्छ भन्ने भयले अमेरिका इराकमाथि बमवर्षा गर्दै रहयो। अर्को संसार खोज्न हिँडेको कोलम्बिया यान टुक्रियो। एसियाकी कल्पना यानसँगै चोइटिइन्। भारतीय इसाराको आडमा भूटान आफ्नै भूमि नंग्याउदै रहयो।
ऊ आफ्नै मुटु छोएर मात्र कामना गर्न सक्छ- भूटान दोश्रो सिक्किम नहोस्।
उसको कमजोरी! आस्थाले यति भन्न सक्नुलाई ऊ आफ्नो निरीहता सम्झन्छ। आफैँलाई बाँध्न नसक्नुको परिणाम! भविष्य अन्धकारमय बन्न सक्छ। उसले आस्थालाई सम्झाउने प्रयत्न गरेको हो। एक्काइसौँ शताब्दीको प्रेमलाई फरक कोणबाट परिभाषित गर्न थालेकी आस्थाले उसलाई नैतिकताका आधारमा मूल्यांकन गरिन।
आस्थाले शिक्षक-विध्यार्थीबीचको सुमधुर सम्बंधलाई मात्र ठूलो सवाल बनाइन तर यो मीठो सम्बन्धको अवमुल्यन पनि कहिल्यै गरिन। प्रेमका सवालहरु; तर यो फरक सवाल! ऊ चोइटिने गर्छ; ऊ पिल्सिने गर्छ।
समान रुपमा नदी बगिरहयो। ॠतु परिवर्तनको क्रम रोकिएन। धनबहादुर-मनबहादुरका कुपोषणले निलेका बच्चाहरु भोक-भोकै मरेको समाचार आइरहयो। कपडाको अभावमा चिसोले रक्तसंचार बन्द भएर मरेको बूढो ज्यामीको लासको दाहसंस्कार कसले गर्‍यो थाहा भएन। बम विच्छ्याएको भूमिमाथि शंकास्पद पाइला टेकेर हिँड्ने नेपालीको जीवन भयाक्रान्त रहिरहयो। तर उ निश्चिन्त हाँस्न सकेन। तर आस्थाको मुटु परिवर्तन भएन।

“आस्था! तिमीले राम्ररी पढ्नु पर्छ।”
“म आफ्नो लक्ष्यमा असफल छु र?”
“तर मन बिग्रिन सक्छ।”
“यो मेरो ह्रदयको अठारौँ झट्का होइन सर!”
कन्चन अस्तित्वमाथि समर्पण पोखेकी आस्था आफ्नो प्रथम निर्णयमा अडिग रहिरही। उसले आस्थालाई रातो गुलाबका सवालहरुको मुल्य बुझाउन सकेन। आस्थाले बुझ्न चाहिन।
“आज धेरै मलिन देखिनुहुन्छ सर।”
“तर त्यस्तो केही भएको छैन।”
“आफैँलाई छल्न गाह्रो हुन्छ।”
“हो।”
“निर्मम आफैँलाई ठग्नु अप्रिय हुन्छ।”
“त्यो पनि सत्य हो।”
आफैँलाई छल्न गाह्रो हुन्छ। उसलाई आज त्यही भएको छ। भूगोलहीन अस्तित्वलाई सबैको सामु नांगो पछार्नु झन पीडादायक हुन्छ।
उसलाई सन्च छैन। हिजो ठुलो कष्टसँग कक्षा संचालन गर्‍यो। आस्था सहज देखिन प्रयास गरिरहेको उसलाई विलक्षण आँखाले नियालिरहेकी थिई। उसले त्यस हेराइमा पीडा देख्यो।
आज ऊ स्कुल गएन।
आस्था घर आइपुग्दा ऊ सुतिरहेको हुनुपर्छ। ढोका बन्द थियो। निकैबेरसम्म ढोकामा ढक्-ढक् आवाज सुनेपछि उसले ढोका खोल्यो। आस्था अन्जान अनि निन्याउरो अनुहार लगाएर उभिइरहेकी थिई।
“किन आस्था?”
“तपाईँ आफैँलाई लुकाउने मान्छे……”
“हल्का विसञ्चो मात्र भएको हो।”
“खाना पनि खानु भएको छैन।”
“मन छैन।”
“सञ्चो नभएपछि मन कहाँबाट हुन्छ त?”
“आस्था!”
“भन्नुहोस् सर।”
“म एउटा अनुरोध गर्न चाहन्छु।”
“त्यस्तो के?”
“म एक्लो मान्छे, तिमी बारम्बार मेरो कोठामा आउने नगर। मान्छेले राम्रो देख्दैनन्।”
“मेरो विरामी शिक्षकलाई म त्यसै मर्न दिऊँ?”
“तर आस्था……”
“तपाईँलाई के भयो सर?”
“आस्था तिमी……”
“मैँले मम्मीलाई पनि भनेकी छु।”
“…………………………”
“के भइरहेछ सर?”
“मात्र रिँगटा लाग्दैछ।”
उसको चाहनाविपरित अंकुरण भएको प्रेमको यो कलिलो टुसा बिस्तारै हुर्कँदै गयो।
उसले आस्थाको बर्तमान बिचार गरेर नै धेरै समयपछि(कैयन प्रतिवादपछि) आस्थाको आशयलाई मौन स्वीकृति दियो।
यस पाली आस्थाले सेन्ड-अप परीक्षा दिई। नतिजा फेरि प्रथम!
यतिबेला ऊ खुसी भएको छ। आस्थाले उसको सोचाइ अनुकूल प्रशंसनीय सफलता हाँसिल गरेकी छे। तर आस्था-एउटा विलक्षणताकी प्रतीक! उसलाई दु:ख लागेको छ। उसले आफैँलाई छल्नु परेको छ; आस्थालाई सायद ठूलो चोट दिनुपरेको छ।
“आस्था!”
“किन र सर?”
“तिमीले कल्पना चावलाको कथा सुनेकीछ्यौ?”
“छैन।”
“कल्पना चावला एसियाकी छोरी थिइन्।”
“अनि?”
“कल्पना चावला-
जसको जन्ममा परिवारले एउटा पीडा महसुस गर्‍यो, जसको जन्ममा जन्मदाता आमाले आफ्नो अस्तित्वलाई दुर्भाग्यपूर्ण स्वीकारिन्, जसको जन्ममा हरियाणाले सायद शोक मनायो, उनी विश्व प्रसिद्ध भइन्। आफ्नो सम्पूर्ण योग्यताका कसीले संसारलाई चुनौती दिइन् कि छोरी जन्मनु अभिशाप होइन।”
“अनि?”
“म तिमीलाई कल्पना देख्न चाहन्छु; जिन्दगीमा अभावहरुले योग्य मस्तिष्क फोर्न नसकेको एउटा गौरवमय आक्रिति- क्युरी देख्न चाहन्छु।”
“धन्यवाद सर।”
यो भावुक उद्घोषण केका लागि? ऊ आफैँलाई थाहा छैन। तर चाँडै ऊ आस्थादेखि धेरै टाढा हुँदै छ।
आस्थाले आफ्नु एस्.एल्.सी पूरा गरेकी छ। आस्था परीक्षापश्चात डुल्न भनी मामाघरतर्फ लागेकी छ। ठीक यही समय उसले आफुलाई मुक्ति दिएको छ। ऊ इटहरी छोडी काठमाडौंतर्फ लागेको छ। ‘आस्था’- जीवनको नरमाइलो खुसी! उसले एक पटक सम्झिएको छ। ‘आस्था’- एउटा न्यानो आक्रिति! उसले एक चोटी माफ मागेको छ। ‘आस्था’- एउटा अन्जान समर्पिता! उसले एक चोटी ढोगेको छ।
तर कुन्नि कता मुटु चस्किएको छ- प्रेमको एउटा कञ्चन दियो उसले जानाजान निभाएको छ। निर्मल बालचाहनाहरु निर्मम लतारेको छ।

आज आस्थाका हातमा काठमाडौंबाट आएको एउटा चिठ्ठी छ। ऊ ठोस निर्णयले भरिएको छ- “आस्था! मेरो निरीहता तिमीले बुझ्नेछ्यौ। एउटा भूगोलहीन, निर्णयहीन, गन्तव्यहीन, परिचयहीन विस्तृति जसलाई तिमीले स्वीकार्‍यौ, उसले तिमीलाई परिचयहीन हेर्न चाहेन। ऊ तिमीलाई महान देख्न चाहन्छ/सुन्न चाहन्छ। बस्……”
हाय! यो शताब्दी, भूगोलहीनता र प्रेमका सवालहरु!

भूटानी नरेशले आफूमा निहित केही वंशानुगत अधिकारहरु जनताको हातमा सुम्पेर आफू प्रजातांत्रिक परिपाटीको थालनी गर्न इच्छुक रहेको बताए। गाजा क्षेत्रबाट यहुदी बस्ती हटाउने निर्णयमा स्यारोन अडिग रहे। इराकीहरु आफ्नै सरकारको छत्र-छायामा आफूलाई केही सुरक्षित महसुस गर्न थाले। नेपालमा लामो समयदेखिको राजनैतिक अनिर्णयको वातावरणबाट पार्टीहरुले मुलुकलाई मुक्ति दिन सकेनन्। भूटानी शरणार्थीलाई राहत कटौतीबाट दातृ राष्ट्रहरुले जोगाउन सकेनन्। नेपाल नआउने प्रण गरेर पनि दोश्रो चोटी नेपाल भित्रिन बाध्य रिजाल विश्वको ध्यानाकर्षण सानो मुलुकमा भएको मानव अधिकार हनन र नागरिक उच्छेदनतर्फ गराउन त्यति सफल भएनन्।

यति बेला म कथाको फरक मोडमा छु। मैँले भर्खरै मात्र चामुण्डा स्कुलमा अध्यापन सुरु गरेको छु। एस्.एल्.सी को परीक्षाफल भर्खरै मात्र प्रकाशित भएको छ। म चोकसम्म हिँडेको हुँ तर गाडीबाट उत्रँदै गरेको उसलाई देखेर म अडिएको छु।
“आउँदै गर्नु भएको?”
“अँ”
“बिदा?”
“छोटो बिदा छ।”
“यहाँ किन?”
“डेरामा केही सामान थ्यो।”
“अनि?”
“जान गार्‍हो भैरहेछ।”
“किन?”
“अप्रिय लाग्छ।”
भूगोलहीनताका कारण भएको प्रेमको हत्याका मर्महरु म बुझ्छु।
“सर!”
“आस्था तिमी……”
“……………”
“बधाइ छ आस्था तिमीलाई!”
“…………”
उसका आँखामा आँसु थियो। ऊ केही बोलिन। ऊ मेरासामु अत्यन्त सहज बन्न ठुलो चेस्टा गरिरहेको थियो।
“उनी मेरी विध्यार्थी; एस्.एल्.सी मा विशिष्ट श्रेणी हाँसिल गरेकी छन्।”
“नमस्कार सर!”
“नमस्कार”
“मेरो साथी आस्था।”
“………………”
उसमा छट्पटी थियो। ऊ केही बोलिन। केही समय अघि उसलाई मैँले चोकै अगडिको घरको छतमा उभिइरहेको देखेको थिएँ। एउटी बालप्रेमी-जसको कन्चन प्रेमको नैतिकताका आडमा हत्या भएको छ; भूगोलहीनता, परिचयहीनताको डडेलोले निलेको छ, म मौन छु, ऊ मौन छ, ऊ मौन छे।
“आस्था!”
“किन र सर?”
“……”
“कमसेकम मलाई म जान्छु भन्न त सक्नु हुन्थ्यो।”
“माफ गर आस्था!”
“माफ त्यति सस्तो वस्तु हो र?”
फेरि सबै मौन। उसको अनुहारमा लछेप्रै रोदनीयताको म अहिले वर्णन गर्न सक्तिन।
भूगोलको सही अर्थ नबुझेकी त्यो केटी, परिचयको खास मर्म नजानेकी त्यो केटी यतिबेला के सोचिरहेकी छे, त्यो मलाई थाहा छैन। म यतिबेला निर्णयहीनताले थिचिएको छु। म कथा यस्तै हुनु पर्छ भन्न सक्तिन। म यतिबेला मात्र भूगोलको अर्थ खोज्दै छु; म यतिबेला परिचयको मर्म सोच्दै छु। मेरासामु दुई प्रेमीको एउटा अञ्जान जोडी छ। उत्तरहीन प्रश्न बोकेका भावयुक्त आँखा छन्। प्रश्नहीन उत्तरले थिचिएको गर्हौ मुटु छ। म यतिबेला प्रेमलाई सही परिभाषित गर्न सक्तिन। नैतिकताका आधारमा समर्पित प्रेमको हत्या हुनु हुन्छ/हुँदैन मलाई थाहा छैन। एउटा भूगोलहीनताको खडेरीले दुई मुटु पिल्स्याएको छ; मलाई यति थाहा छ।
आफ्नो विवादास्पद निर्णयविरुद्ध उभिएका दुई मन्त्रीहरुलाई पदबाट बर्ख़ास्त गरी आफ्नो निर्णयमा अडिग स्यरोनको निर्णय सर्वोच्चले खारेज गर्‍यो। सरकारका नाममा खडा एक्ला प्रधानमन्त्रीले वार्ताका माध्यमबाट समस्या सुल्झाउने आश्वसन दिए पनि विध्यालय जान पाउने अधिकारबाट नेपाली विध्यार्थीहरु धेरै दिन वञ्चित रहे। माओवादीको आरोपमा केही भूटानी शरणार्थीहरु गिरफ्तार भए।
यतिबेला म कथाको अत्यन्तै जटिल पृष्ठमा छु। मलाई आँसु पीडादायक लाग्छ।
“सर! बाटामा यो केको बहस?”
“………………”
“घर जाऊँ।”
मलाई उसका पाइला काँपेको महसुस भइरहेछ। हामी उसलाई पछ्याइरहेछौँ- एउटा मौन स्वीकारोक्ति।
“सर! साँच्चै जीवन रातो गुलाब मात्र होइन रहेछ।”
“आस्था! तिमी भूगोल र परिचयका कुरा बुझ्न अझै सानै छ्यौ।”
“तर के मैँले भूगोलसँग प्रेम गरें? मैँले परिचयसँग प्रेम गरें?”
‘आस्था…………”
“मैँले तपाईँको मुटु मात्र चियाएँ।”
घर रित्तो छ; हामी एक्ला छौँ। ऊसँग आस्थालाई सम्झाउने शब्द छैनन्। आस्थासँग आफैँलाई बुझाउने मुटु छैन।
“बोल्नुहोस् सर!”
“कालो बादलले ढाकिएको आकाश कति निर्मम छ आस्था………”
“कागको कर्कस बोली केही अनर्थ बकिरहेछ।”
“बारुदी धुँवाले छोपिएको आकश कति जीर्ण छ आस्था!”
“त्यति नै निर्मम (सायद) बारुदी धुवाँले पिल्सिएको मुटु रोइरहेछ। कुनै पनि पुस्तकलाई
आवरण हेरेर मूल्यांकन नगर्नु होला।”
आस्थाको कलिलो मुटु! कसरी सहन्छ होला त्यति ठुलो पीडा! म यतिबेला आस्थालाई यथार्थमा फर्काउने प्रयास गर्दैछु।
“आस्था! त्यति निर्मल सम्बन्धलाई पुनर्मूल्यांकन गरे हुन्न?”
“…………………………”
“त्यो प्रेम यदि भूगोलसँग गरेको थिएन भने फेरि सम्झौता गरे हुन्छ।”
“तर प्रेममा सम्झौता हुन सक्तैन सर।”
“उसले विवशताबीच गरेको निर्णयलाई फेरि नियाल्न सकिन्छ।”
“उहाँ शत-प्रतिशत गलत हुनुहुन्थ्यो।”
“अनि आस्था………”
“तपाईँ हाम्रो सम्बन्धको एक मात्र जीवित साक्षी! कथालाई अन्यथा मोड्ने प्रयास नगरिदिनू!”
“तर आस्था त्यो विवशता थियो सायद!”
“कन्चन प्रेमका उपर समर्पित एउटा मुटु थाहै नपाई च्यातिएको छ।”
“त्यो निर्णयहीनताको उपज थियो सायद!”
“तर प्रेम कपडा होइन जसलाई च्यातिएपछि पनि मर्मत गर्न/सिलाउन सकियोस्।”
“किन यति कठोर आस्था?”
“अब उहाँलाई म पुजिरहन्छु आजन्म तर एउटा फरक विन्दुबाट। प्रेममाथिको एउटा निर्मल
समर्पण! भूगोलमाथिको एउटा व्यंग्य समर्पण!! विवशतामाथिको एउटा करुण समर्पण!!!”
उसको बोली रोदनीय थियो। उसका आँखाभरि आँसु थिए। भूगोलहीनताले जन्माएको कठोरता! उसका परिचयहीन हातहरुले ती आँसु पुछ्न सकेनन्। एउटा पीडादायक गौरव- त्यो समर्पण! म आफू हराएँ। त्यो आँसुको मूल्यभित्र आफैँलाई खोज्न चाहेँ। भूगोलहीनताले जन्माएको त्यो पीडा, त्यो करुणा, त्यो विवशता, त्यो निर्मलता, त्यो कठोरता, त्यो निर्णयहीनता एकपछि अर्को गर्दै ममा समाहित भए।
त्यो आँसुभित्रको पीडाले म छट्पटाइरहेँ।
भूगोलहीनता, एक्काइसौँ शताब्दी र प्रेमको निर्मम हत्या! यो कस्तो दर्द………

Leave a Reply

Your email address will not be published. Required fields are marked *