Purushottam Basnet – U Bhitra Ko Manchhe

पुरुषोत्तम बस्नेत – ऊभित्रको मान्छे
(Source of this Story: मधुपर्क जेठ, २०६८)

केही दिनदेखि त्यस क्षेत्रमा लडाईंको सम्भावना अझ बढेको थियो । दुवैतिरको सैनिकहरू त्यहाँ आफ्नोआफ्नो सिमाना नजिकै निकै सतर्कतापूर्वक तैनाथ थिए । एक दिन बिहानै यतापट्टकिा सैनिक क्याम्पका सबैलाई तुरुन्त तयार हुने आदेश दिइयो । तिनीहरू जुनजुन काममा व्यस्त थिए, ती सबै कामलाई छोडेर सबै हतारहतार तयार हुन थाले ।

दक्षिण-पश्चिम सीमा नजिकैको जङ्गलभित्र शत्रुका सेनाहरू घुसिसकेका छन् । उनीहरू त्यो जङ्गलको भित्रभित्रै विस्तारै अगाडि बढिरहेका छन् । तिनीहरूलाई त्यहाँबाट लखेटेर हाम्रो अन्तिम सीमामा पुगेर हामीले बस्नुपर्छ । होइन भने पनि, उनीहरूलाई त्यो ठाउँबाट अगाडि बढ्न कुनै हालतमा पनि दिनु हुन्न । सबैले सतर्क भएर, निडरताका साथ अगाडि बढ्नुपर्छ । पछाडि सानो झोला र हातमा राइफल लिएर तयार भइसकेपछि, कमान्डरले ती सबैलाई यही आदेश दिएको थियो ।

सबै सैनिकहरू त्यहाँबाट हिँड्नै लाग्दा, बि्रगेडियरले फेरि भनेका थिए- देशले सैनिकहरूलाई खान-लाउन दिएर, तलब दिएर, तालिम दिएर तयार पारेको यस्तै समयका लागि हो । यो समय पाउन प्रत्येक सैनिकका लागि खुसीको कुरा हो । लडाईं लड्ने अवसर प्रत्येक सैनिकको निमित्त आफ्नो क्षमता र बहादुरी देखाउने अवसर हो । लडाईंले मात्र सैनिकहरूलाई आफ्नो क्षमता देखाउने मौका दिन्छ । आज त्यो मौका तिमीहरू सबैले पाएका छौ । तिमीहरू सबैले बहादुरीका साथ यो काम पूरा गर्नुपर्दछ ।

सबै सैनिकहरू शत्रुपक्षको आगमन र सम्भाव्य आक्रमणका प्रति सजग हुँदै अगाडि गइरहेका थिए । उनीहरू दक्षिण-पश्चिमपट्टकिो अनकण्टार जङ्गलतिर सतर्कसाथ बढिरहेका थिए । कुन बेला आफ्नो अगाडि वा पछाडि वा दायाँ, बायाँ कतातिरबाट शत्रुपक्षका सिपाहीहरूले गोली चलाउने हुन्, कतिबेला मुठभेड हुने हो, उनीहरू सबैको सम्पूर्ण सोचाइ केवल यसमा, यसमा मात्र केन्दि्रत थियो । यसबाहेक अरू सोच्ने अलिकति पनि फुर्सद उनीहरूसित थिएन ।

उसले पनि यसबाहेक अरू केही सोचेको थिएन । केवल यही सोचाइमा, सतर्कतका साथ ऊ गइरहेको थियो । उसको बटालियनका अरू पनि सबै गइरहेका थिए । अहिले यसरी ऊ गएको निकैबेर भइसकेको थियो तर कतिबेर भयो, ऊ कहाँ पुग्यो, उसलाई केही थाहा थिएन । उसलाई थकाइ लागेको, भोक लागेको, तिर्खा लागेको पनि थाहा थिएन । फगत ऊ एउटा सिपाही । मर्न पनि तयार, मार्न पनि तयार । केवल यही दुई विन्दुमा टेकेर हिँडेको सिपाही । सिमाना वरसम्म घुसिसकेका शत्रुपक्षसित लड्न, उनीहरूलाई परास्त गर्न ऊ गइरहेको थियो । उसको अगाडि को गइरहेको छ, पछाडि को आइरहेको छ, त्यसलाई उसले बिर्सिसकेको थियो ।

एकाएक गोली चलेको उसले सुन्यो । त्यसले उसलाई सतर्क पार्‍यो । अनायास उसका खुट्टाहरू एकछिन रोकिए । उसले थाहा पायो, ऊ एक्लै छ । उसका साथीहरू कहाँ छन् ? उसलाई केही थाहा छैन । उसले पनि गोली चलायो । गोली दुवैतिरबाट चल्न थाल्यो । मुठभेड भइरहेछ, उसले थाहा पायो । गोली चलेको ठाउँ निकै नजिकै जस्तो पनि, केही टाढाजस्तो पनि उसलाई लाग्यो । गोलीको आवाज निकै जोडतोडका साथ आइरहेको थियो । अब एउटा लडाईं प्रारम्भ भइसकेको छ । ऊभित्र रहेको सिपाहीको अन्तष्करणले अनुभूत गर्‍यो ।

उसले त्यसै ठाउँमा उभिइरहने कि, अगाडि जाने वा पछाडि वा दायाँ-बायाँ, यीमध्ये एउटा निर्णय लिन ऊ एकछिन अन्यमनस्क पर्खिरहृयो तर युद्धभूमिमा सिपाही यसरी ठिङ्ग पर्खिरहनु हुँदैन । ऊ अघि बढ्यो । गोलीको आवाज अझ नजिकै नजिकै आयो । उसले त्यसबेला थाहा पायो- ऊसँगै हिँडेका अरू सबै साथीहरू या त अगाडि गइसके र त्यो दोहोरो मुठभेडमा अन्धाधु्न्ध गोली चलाइरहेका छन्, या त उनीहरू पछाडि नै छुटे, या दायाँ, बायाँ कतै…. । यही अगाडि, पछाडि वा दायाँ, बायाँ……। त्यसले केही क्षण उसलाई अलमलमा पार्‍यो ।

उसले राम्ररी थाहा पायो- ऊ अनकण्टार जङ्गलभित्र छ । त्यो जङ्गलभित्र एउटा सानो रुखजस्तै ऊ एउटा ठूलो रुखको आड लागेर उभिरहेको छ । अनवरतरूपमा उसको अगाडि, पछाडि दुवैतिरबाट चलेको गोलीको आवाजलाई ऊ सुनिरहेको छ । यो कुन ठाउँ हो, ऊ कहाँनिर आइपुग्यो ? उसलाई केही थाहा छैन । उसले टाउको तन्काएर त्यो बाक्लो जङ्गललाई छिचोलेर परपरसम्म हेर्न खोज्यो । उसले केही देख्न सकेन तर पनि उसले हेर्ने कोसिस गरिरहृयो । त्यही बेला उसको दायाँ र बायाँतिर पनि त्यसरी नै गोली चल्न थाल्यो । अब उसले कता जाने ? अगाडि, पछाडि वा दायाँ, बायाँ कतातिर ? यो प्रश्न फेरि उसको अगाडि उभिइरहृयो ।

उसको निकै नजिकै गोलीको आवाज आउन थालेपछि उसले यी सबै कुरा बिस्र्यो । उसका पाइला अनायास अगाडि, अझ अगाडि बढ्दै गए । नजिकै आइरहेको गोलीको आवाज, त्यसबाट आएको बारुदको गन्धले उसले आफूले आफैँलाई लखेट्दै गयो ।

निकैबेरपछि उसले थाहा पायो, अब गोलीको आवाज कतै पनि छैन । बारुदको गन्ध पनि कतै छैन, ऊ एकछिन उभियो । उसले आफू उभिएको ठाउँलाई नियाल्यो । उसको अगाडि-पछाडि दायाँ र बायाँ सबैतिर अग्लाअग्ला रुखहरू थिए । ती सबैलाई लहराले बेरेर एउटा दुर्भेद्य किल्लाजस्तो पारेका थिए । सबैतिर जङ्गलै जङ्गल, साना-ठूला अनगिन्ती रुखविरुवा, पोथ्रा, झाडी । रातको शून्यतामा खुट्टा यताउति चलाउँदा, उसकै बुटले कुल्चेर आएको आवाजबाहेक सबैतिर शान्ति, सबैतिर निष्पट्ट ।

ऊ बिहानै हिँडेको, लडाईंमा होमिन हिँडेको । लडाईंले लखेटिरहृयो । ऊ कहाँकहाँ पुग्यो ? कसरी यहाँसम्म एक्लै आइपुग्यो । उसलाई त्यसको धुमिल सम्झना मात्र छ । अगाडि, अझै अगाडि जानुपर्छ । यसैमा ऊ अगाडि गइरहृयो । अहिले यसलाई एकैचोटि थकाइ, भोक र तिर्खा सबैले लखतरान पारेको अनुभव भयो । उसले तुम्लेट झिक्यो । त्योभरि पानी थियो । दिनभरिको लडाईंमा होमिएर उभित्रै थाहा नपाई त्यसै रहेको तिर्खा, अहिले तीव्र भएर आइरहेको उसले महसुस गर्‍यो । तुम्लेट आधा रित्याएपछि उसले सम्झ्यो- उसले तुम्लेटमा फेरि पानी भर्न सक्तैन । त्यहाँ कतै पनि पानी छैन । त्यसैले तुम्लेटमा भए जति सबै पानी सिध्याउन हुन्न । उसले आफ्नो तीव्र तिर्खालाई तृप्तिमा नपुर्‍याई बीचमा नै रोक्यो ।

बाक्लो जङ्गलको कापमा अँध्यारो अझ गाढा हुँदै थियो । रात पर्न लागेको उसले थाहा पायो । केही टाढा सुनिएको जङ्गली जनावरको आवाज उसको नजिकै आउन थाल्यो । जङ्गलमा यसरी एक्लै हुनु कति खतरा हुन्छ, जङ्गली जनावरको त्यो आवाज अझ चर्को हुन थालेपछि उसले महसुस गर्‍यो । ऊ सतर्क भयो । आवाज अझ चर्को भएर अझ नजिक-नजिक आइरहृयो । त्यो कुनै हिंस्रक जनावरको भोको आवाज हो । उसले अब उचित सावधानी लिन नसके, त्यो हिंस्रक जनावरले उसलाई अवश्य आफ्नो आहारा बनाउन सक्छ । यसले ऊ त्रस्त हुँदै गयो ।

त्यो आवाज सिंहकै हो । उसले अन्दाज गर्‍यो । उसको हातको राइफलले त्यो सिंहको आक्रमणबाट उसलाई बचाउन सक्छ ? घाइते सिंह झन् खतरनाक हुन्छ भन्ने कताकता सुनेको थियो उसले । सिंह एक्लै हुँदैन, उसको बथान हुन्छ । त्यो पनि उसले सम्झ्यो । आवाज नजिकै नजिकै आइरहेजस्तो लाग्यो उसलाई । उसले सोच्यो, ऊसित रहेको राइफल जुनसुकै शत्रुसित पनि प्रतिकार गर्नका लागि हो । जे होस्, नजिकै आयो भने हिंस्रक सिंहको पनि उसले प्रतिकार अवश्य गर्नैर्पर्छ ।

एक छिनपछि जनावरको आवाज रोकियो तर उसलाई त्यसले झन् त्रस्त पार्‍यो । शिकारको आभास पाएपछि, हिंस्रक जनावरले आवाज रोकेर, लुक्दै-छिप्दै सतर्कतापूर्वक नजिकै आएर एकैचोटि आक्रमण गर्छ भन्ने पनि उसले सुनेको थियो । सिंह त्यसैगरी अहिले कतैबाट सायद उसको नजिक नजिक आइरहेको हुनसक्छ र त्यसले केही छिनमै एकैचोटि झम्टेर उसलाई क्षतविक्षत् पार्न सक्छ । उसको हातको राइफल त्यसबेला ऊ चलाउन पनि भ्याउने छैन । उसलाई अहिले आफू नितान्त असुरक्षित, मृत्युको आमुन्नेसामुन्ने उभिएजस्तो लाग्यो ।

उसले सोच्यो, हिंस्रक जनावरले मारेर उसका अङ्गप्रत्यङ्गहरू सबै चपाइचपाई खाने छ । भोलि उज्यालो हुँदा वा कुनै दिन उसका साथीहरूले उसको लाशको अवशेष भेटे भने……। उनीहरूले उसलाई शत्रुपक्षबाट भागेर हिंस्रक जनावरको मुखमा परेको एक काँतर सिपाहीको रूपमा हेर्ने छन् । सिंहको आक्रमणबाट भन्दा शत्रुको गोलीबाट मर्न पाएको भए….. ।

अहिले उसको नजिकैबाट लुकेर आइरहेको सिंह नभएर दिउँसो अन्धाधुन्ध गोली चलाउने शत्रु त्यसरी आएको भए ऊ कति खुसी हुने थियो । कमसेकम उनीहरूले उसलाई चपाइचपाई खाने थिएनन् । गोली हानेर मार्ने थिए ।

अनायास उसले उसका साथीहरूले केही पहिले पक्रेर लगेको तीन जना शत्रुपक्षका सिपाहीहरूलाई सम्झ्यो कडा निगरानीमा उनीहरूलाई उसको ब्यारेकमा राखिएको थियो । अनि उसले सम्झ्यो -पाँच-सात दिन पहिले गस्तीमा आउँदा, नजिकैबाट शत्रुपक्षले धूवाँधार गोली चलाउँदा उसकै अघिल्तिर ७३ नम्बरको उसको साथीको छातीबाट पसेको गोली उसको पछाडिबाट निस्केको थियो । त्यो साथी तत्काल घोप्टो परेर लडेको थियो । आफू भाग्दाभाग्दै उसले त्यो साथीको ढाडबाट भलभल रातो रगत निस्किरहेको देखेको थियो । केही पर पुगेपछि उसको दायाँतिर उसको नजिकैको अर्को साथीलाई पनि गोली लागेको थियो । त्यस दिन अरू पनि चार-पाँच जना उसका साथीहरू मारिएका थिए । उसले सम्झ्यो- ती सबै शत्रुपक्षबाट, केवल शत्रु भएका कारणले मारिएका थिए । आहाराको निमित्त मारिएका थिएनन् ।

अहिले ऊ उसको छेवैको झाडीबाट लुक्दैलुक्दै आइरहेको सिंहले कतिबेला उसलाई झम्टने हो, प्रत्येक पल, प्रत्येक क्षण त्यसैप्रति सजग भएर, एउटा ठूलो रुखको आड लागेर उभिइरहेको थियो । यदाकदा निद्राले उसको टाउको निहुरिन खोज्थ्यो तर त्यो सिंह उसको नजिक

आइरहेको आभासले ऊ फेरि सतर्क भएर उभिन्थ्यो । यसरी उभिइरहनुपर्दा अनेकपटक उसलाई लागेको थियो-हिंस्रक जनावरको घेरामा मृत्युलाई पर्खेर यसरी उभिनुभन्दा मान्छेको घेराभित्र, शत्रुपक्षको भए पनि, मान्छेको घेराभित्र उभिँदा यति धेरै सतर्क हुनुपर्ने थिएन, यति धेरै त्रसित हुनुपर्ने थिएन । मान्छे जनावरले जस्तो लुकेर झम्टँदैन । मान्छेसित आत्मसमर्पण गर्न सकिन्छ । उसले मार्दा शत्रुपक्षको सिपाहीबाहेक अरू कुनै कुरा त्यससित जोडिएको हुँदैन । जनावरसित उसको आहारा, कति दिनको भोक र जसरी पनि मार्नैपर्ने ऊभित्रको क्रूर पशुत्व जोडिएको हुन्छ । त्यसैले रातभरि उसले शत्रुपक्षको सेना तुरुन्त उसको छेउमा आइपुगोस् भन्ने कामना गरिरहृयो ।

बिहान भइसकेपछि पनि बाक्लो जङ्गलले ढाकिएकोले ऊ उभिएको ठाउँमा उज्यालो राम्रोसित आइसकेको थिएन । उसले नजिकै मान्छेहरू चलमलाइरहेको देख्यो । ती मान्छे शत्रुपक्षका सेना……। उसले फायरिङ सुरु गर्‍यो । केही बेरसम्म उसले अन्धाधुन्ध फायरिङ गरिरहृयो । उसको राइफलको नाल केही तातो भएपछि मात्र उसले थाहा पायो, त्यसरी चलमलाउने मान्छेहरू थिएनन् । सानासाना झाडीलाई हावाले हल्लाएको थियो ।

रातभरि उसलाई झम्टिन नजिकैको झाडीबाट आउने सिंहको त्रासबाट ऊ मुक्त भइसकेको थियो । रातभरि हिंस्रक जनावरबाट त्रस्त भएर उसले शत्रु पक्षको भए पनि मान्छेको नजिक हुने उत्कट कामना गरिरहेको थियो तर बिहान चलमलाउने मान्छे हो भन्ने बित्तिकै ऊ किन त्यसरी आक्रामक भएर मान्छेमाथि गोली चलायो ? के मान्छे सङ्कटकालमा शत्रु भए पनि मान्छेलाई नै खोज्छ ? तर जब मान्छे मान्छेको नजिकै हुन्छ, अनि त्यही मान्छेप्रति किन आक्रामक हुन्छ ? अनायास आक्रामक हुन पुगेको ऊभित्रको मान्छेलाई ऊ सम्भिmरहन्छ र त्यससित सोध्छ- किन ऊ एकाएक आक्रामक हुन पुग्यो हँ ?

Kop Bahadur Thapa – Anabigya

कोप बहादुर थापा -अनविज्ञ

ऊ सँग गत हप्ता कुरा भएको थियो ।
दुई दिन भयो , उस्को फोन नआएको । अन लाइनमा पनि देखा परेकी थिइन । मैले फोन गर्दा पनि उठाइन । हिजो बेलुकीसम्म पनि उस्को फोनको प्रतिक्षामा बसेँ । अह देखा परिन कतै । मन हुँडली रह्यो । अस्तिदेखी मनमा क्रोधले शासन जमाई रहेको थियो, उस्ले गर्दा । एस एम एस पठाएको थिएँ । एस एम एस खै कता पुग्यो फर्केन ।

विहानदेखी फोनमा संपर्क गर्ने कोशीस गरेँ । नेट्वोर्कले काम गरिरहेको थिएन । कमजोर नेट्वोर्कलाई गाली गरेँ । मन भत भती पोलिरह्यो । हिजो अफिसमा पनि कामै नगरि त्यसै फर्किएको थिएँ । काम गर्ने जाँगर नै मरेको थियो । के गर्नु अफिस त जानै पर्‍यो । उस्को किन एत्रो सम्झना ? म निरुत्तरित थिएँ । गाडीले होर्न बजाइ सकेको थियो गेटमा । मन नलाग्दा नलाग्दै पनि हिंड्नु परेको थियो ।

गाडीमा वसें । अरुहरु पनि थिए । गाडी हुइकिन थाल्यो । गाडीले बिस्तारै तिव्र गती मापन गर्दै थियो । मेरो मनमा पनि अनेकौ कुराहरुले तिब्र वेगमा छलाङ मार्दै थियो । ग्लानी , मोह , क्रोध आदि के के ले मनमा भुइचालो ल्यैइरहेको थियो । ” आ मैले गल्ती गरेँ कि क्या हो ? ” आँफैले आँफैलाई सोधें । ” बिहे गर्ने बित्तिकै घर छोडेर हिंड्नु नपर्ने ।” अर्को मनले भन्दै थियो । आफ्नै भाग्य देखेर दु:ख लाग्यो । घ्रिणा जाग्यो आँफैदेखी । असह्य भयो थुक्न मन लाग्यो आँफैलाई । ” थू ” गरेर थुकें ।

” बाहिर थुक्नु पर्दैन ?” ड्राइभरले उच्च स्वरमा सात्तो जाला जस्तो गरेर बोल्दा म झल्याँस भएँ । तुरुन्तै ” सरी सरी ” भन्दै गोडाले लत पत बनाएर सुकाउने प्रयत्न गरेँ । ङिच्च हाँस्दै सबै तिर नजर डुलाएँ । अरुहरुले मलाई तीखो तिरस्कृत दृष्‍टि लगाए । म अलिक खुम्चिएँ । ” पागल एस्तो पनि तेरो दिन ।” आँफैले आँफैलाई गाली गरेँ ।

गाडी बेगवान थियो । मेरो मन पनि बेगवान थियो ।
” यो कुदृष्टी लगाउने समाज नै ठीक छैन ।” मन एका एक पुग्यो समाजतिर ।

” छिमेकी हरु पनि ठीक छैन । शत्रु हरु ! अर्काको बारीमा राम्रो फूल देख्यो भने गिद्दे दृष्‍टि लगाउने ? सालाहरुलाई च्वाट्ट च्वाट्ट पार्नु पर्ने । ” एक चोटि छिमेकहरु प्रति क्रोधित बन्यो मन । ” गिद्देहरुको ललाई फकाइमा लाग्यो होला अनि आँखा पारीको माया छाया बराबर । कताबाट मेरो सम्झना ‘ आउनु त्यस्लाई ?” म मन मनै मुर मुरिरहेँ । ” म चाँही उस्को लागि बिदेसिएर मरी मेट्ने । ऊ चाँही मेरो वस्ता नगर्ने । भेट्टाएं भने च्वाट्टै ।” म अपराधिक बन्दै थिएँ । अब मेरो हृदयलाई पनि पत्थर जस्तो कडा बनाउनु पर्छ । तर बिर्सु भन्छु सक्दिन । होइन , उस्ले बिर्सें पछी सम्झन निरर्थक छ । मैले बिर्सनै पर्छ । म सम्झन्न । जहाँ सुकै जावोस। अब टन्न पैसा कमाउने घर जाने अर्को बिहे गर्ने । त्यो मात्र छ र केटी ? अब त एक दुई तीन सम्झन्न । पापिनी निस्ठुरीलाई ।” मेरो मन द्रिढ हुँदा नहुँदै गाडी अफिसको ढोकामा रोकियो ।

म बनवटी हुन खोज्थें । तर भई रहेको थिएन ।
म रुझेको बिरालो जस्तो लुसुक्क अफिस भित्र छिरेँ । अनि थुचुक्क कुर्सिमा बसें । पानी पिएँ । अलिकती शान्त अनुभव गरेँ । एकै छिनमा चिया अैपुग्यो । मन लागि नलागी कम्प्युटर खोलेँ । डेस्कटपमा उस्कै फोटो थियो । एक चोटि हेरें । पीडा भयो । रीसले हत्त पत हटाएं । फेरि एक चोटि खोलेर हेरें । अनी दृढ भएर हटाएं ।
चियाको चुस्की सुरुप्प पारें । काम थाल्नु भन्दा अगाडि थकित अनुभव गर्दै थिएँ । त्यति नै बेला फोनको घन्टी बज्यो ।
“टी नि नि नि…. ”
उस्को नम्बर थियो । फोन उठाएँ ।
” हेल्लो बा बा । ” उस्को मधुर स्वर कानमा गुन्जन अैपुग्यो । मेरो क्रोधको ज्वाला दन्किरहेको थियो । तर आँफैलाई सम्हालें । न उस्को मृदु ध्वनीले सम्हालिन वाध्य भएको थिएँ थाहा भएन । तर मनमा उर्लेको आंधि थामिएको भने थिएन । म क्रोधमा केही बोल्न सक्दिन थेँ । म एकदम चुप रहें । उस्लाई थाहा थियो । उस्ले फेरी भनी ” बा बा रिसाउनु भा को ? कोही बेलामा दिन कै फोन गर्न सम्भव हुँदैन नि । हजुर नबुझिकन त्यस्सै रिसाउनु हुन्छ ? ” उस्ले मलाई सम्झाउदै थी ।
” चेपारे नघस । कस्तो ब्यस्तता अैपर्‍यो तलाई फोन उठाउन नभ्याउने ! मेसेज लेख्न नभ्याउने ! कहाँ मुन्ट्याको थिइस हँ ? ” म कुर्लिदै ब्रुलुक्क उफ्रिएं रिसले कुर्सिमा ।
“शान्त शान्त ।” चिया ल्याउने भाईको उदघोसले म सामान्य भएँ । मैले पुलुक्क त्यो भाईलाई हेरें । उस्ले मलाई आस्चर्य दृष्‍टि लगाइ रहेको रहेछ । म आँफैमा केन्द्रित भएँ । .
” हरे के भन्नु भा होला है ? ” सविनाको कुरा नसकिदै त्यती नै बेला बुवाले फोन हैज्यक गरेर कुरा गर्न थालनु भो ।
” भुवने ! तैले बुहारी लाई गाली गर्दै छस कि क्या हो ?” बुवाले सोध्नु भयो ।
मैले ” दर्शन बुवा । ” भने अनी लगत्तै
“होइन ” भन्दै म पानी माथि ओभानो हुन खोज्दै थिएँ ।
” तेरै दिर्घायूको कामना गर्दै अस्ती तीजको व्रत बसेकी थी । हिजो पञ्चमिको पूजा थियो । अनी फुर्सद छैन बुहारी लाई सधैं तंलाई फोन गर्नु पर्छ त ?” बुवाले स्पष्ट पार्दै मलाई सोध्नु भयो । म अकमकाएँ । मेरो मनको कालो बादल हट्दै थियो । मनमा अब खुशीको लहर लहराउन थालेको थियो ।
मलाई थाहा थिएन । अस्ती तीज भन्ने कुरा । मेरो हृदयमा उसप्रति अगाध प्रेम उर्लन थाल्यो । आँफैलाई धिक्कारेँ एक चोटि । बेकारमा नचहिने कुरा कल्पेर मन बिगारेँ भन्दै पस्चताप गरेँ ।
मुमा सँग कुरा गरेँ । मुमाले धेरै बेर सम्म सम्झाउनु भो ।
अनी सविनासँग मीठो कुराहरु भयो । मनमा उत्साह थपियो । खुशीले मन पुलकित हुन थाल्यो । मैले फेरि डेस्कटपमा सविनाको फोटो राखेँ। मन मनै अठोट गरेँ कि अबदेखी कहिले हटाउने छैन उस्को फोटो डेस्कटपबाट । मनको हार्ड डिस्कबाट ।

Manushi – Niruttar Prashna

मानुषी – निरुत्तर प्रश्न
(नेपाल साप्ताहिक)

“यसपालि पनि मेरो प्रमोसन भएन । किन तिमी पुरुषहरू महिलाको कामको मूल्यांकन गर्दैनौ ? किन देख्दैनौ महिलाको कामलाई अनि उनीहरूको क्ष्ामतालाई ? के मैले काम गरेकी थिइनँ ? तिमी आफैँ भन न ! तिमीले कैयौँपल्ट चियाका लागि गरेको अनुरोधलाई मैले अस्वीकार गरेकी थिएँ । सायद त्यसैको प्रतिफल मैले के पाएँ त ?” आक्रोशित मुद्रामा मेरो कोठामा छिरी ऊ । उसको भावले बताउँथ्यो, उसले भनेको पात्र म नै हुँ ।
“बस न किन ढोकाबाहिरैबाट फलाक्दै आएकी ? बसेर कुरा गर्दा पनि त हुन्छ नि !” ऊ यताउता गररिाखी । घरी झ्यालको पर्दा उघार्छे, घरी बन्द गर्छे । कुर्सीमा बस्ने स्िथरता छैन उसमा सायद । ठूलै पीडाले थिचेको छ उसलाई । नभए ऊ यस्तो अशान्त मान्छे होइन । विशेष काम नपरी बिनाजानकारी मेरो कोठामा पनि आउने मान्छे पनि होइन ऊ । तर, आज सबै नहुने कुरा भइराखेका छन् । उसको आकस्मिक आगमन । सँगै पोखिएका असन्तुष्टि र आक्रोश ।
“दस/दस वर्ष काम गरेँ । अब त मेरो फाइल बढुवा पनि हुनुपर्थ्यो तर भएन । जागिरमा पनि प्रतिगमनकारीहरूको चलखेल ? नेताहरूको प्रतिगमनकारी तत्त्वले सर्वत्र जरा फैलाएको छ । सोच्थेँ, यो शब्द र यस्तो खेल राजनीतिमा मात्रै हुन्छ । तर, होइन रहेछ । सबैमा प्रतिगमनकारी व्यवहार ? कतिपटक र कहाँकहाँ मात्रै प्रतिगमनकारीविरुद्ध आवाज उठाउने ?” उसले तार जोडी फेरतिर अहिलेसम्म बसेकी छैन ।
“त्यति साह्रो पूर्वाग्रही नबन, तुलनात्मक रूपमा तिम्राे परफरमेन्स कम भयो होला । आफ्ना कमजोरी खोज र सुधार्नतर्फ लाग !” सान्त्वना दिएँ ।
“परफरमेन्स ??? परफरमेन्सको मापदण्ड के ? काम गरेकै छु । दिएको जिम्मेवारी निष्ठाका साथ पूरा गरेकी छु अनि ? तेरो परफरमेन्स कम देखियो, सुधार गर्न पर्‍यो भनेर मेरो हाकिमले कहिल्यै भनेको छैन । म कसरी मान्न सक्छु कि मेरो परफरमेन्समा कमी छ भनेर ?” उसको आक्रोशमा मैले घिउ थपेजस्तो लाग्यो । ऊ झनै राती हुँदै चर्किन थाली ।
“अन्य विविध कारण हुन्छन् । त्यसमा यति छिट्टै निराश नहोऊ न ! जागिर भनेकै यही हो के ! अझ तिमी त सरकारी जागिरमा छौ । प्राइभेटमा त झन् कस्तो हुन्छ ! के थाहा तिमीलाई ?” उसलाई धैर्य गर्न मेरो प्रयास जारी थियो ।
“हो, ठीक भन्यौ तिमीले, कारण धेरै हुन्छन् । म कामप्रति मात्र सचेत हुन्छु । काम नगरीकन हाकिमको चाकडी गर्दिनँ । अनि… मैले रोयलस्टेगसँगै तन्दुरी लुछाउदिनँ । हाकिमका सबै किसिमका अनुरोधलाई पूरा गर्दिनँ । नसाले मातिएको क्ष्ाणमा उसको अँगालोमा बेरनि जान्नँ । अनि कसरी पुग्ने मेरो परफरमेन्स ? जुनसुकै समयमा उसले गरेका माग पूरा गरे न मेरो प्रमोसन हुन्छ …।” उसको आक्रोश चरम उत्कर्षमा पुग्यो ।
“सरकारी जागिर न पर्‍यो ! आफँैले सयन्त्र विकास गर्नुपर्छ । अहिलेसम्म त यसो च्यानल मिलाउनुपर्ने थियो नि त तिमीले पनि । हाकिमलाई सधँै खुसी पार्नुपर्थ्यो ।” हाँसो गरेँ मैले उसलाई, सबै पीडा बिर्साउने हेतुले ।
“मैले इमानदारी र कर्तव्यपरायणताको च्यानल मर्मत गरेँ तर कहिले साक्ष्ाात्कार गर्छन् उनीहरू यथार्थ र तथ्यसँग ? कहिले आत्मसात् गर्छन् निष्पक्ष्ाता र स्पष्टतालाई ? सधैँ हामी औँला चुसाइरहन्छौँ एउटा खुट्किलो चढ्ने आशमा । अनि, हत्केला चाट्न उद्यत हुन्छन् उनीहरू । अन्ततः यो एउटा प्रक्रिया बन्दै जान्छ । भएको पनि यही हो । विगतमा कसैकसैले एउटा बाध्यताका लागि अर्को विवशताको पगरी थापे । उनीहरूले सगरमाथा चुमे पनि । अहिले त्यही क्रमले निरन्तरता पाएको छ । त्यसमा क्रमभंगता भएको छैन । क्रमभंगको आँट गर्नेहरू आफैँ परास्त भएका छन् । म पनि त्यसैको सिकार भएकी छु । मेरो स्वाभिमानले सम्झौता नगर भन्छ तर मेरो अगाडि सम्झौता गर्नुपर्ने अवस्था सिर्जना गरएिको छ ।” ऊ अझ आक्रोशित बन्दै गई ।
वास्तवमा उसको पीडाले एउटा इतिहास बोकेको छ । दस/दस वर्षको उसको योगदानलाई वास्तवमै मूल्यांकन गरएिको छैन । उसका सहकर्मीको प्रमोसन भयो तर उसको भएन । सँगै पाइला राखेका उसका सहकर्मी सचिवसम्म भइसकेका छन् । ऊसँग क्षमता छ, कामप्रतिको इमानदारी छ । तर, त्यसबाहेकको योग्यता छैन । त्यसैले उसले चढ्ने भर्‍याङका खुट्किला फेदबाटै काटिएका छन् । म यस अवस्थामा उसलाई सान्त्वना दिनुबाहेक केही गर्न सक्दिनँ ।
“…कतिसम्म भयो थाहा छ तिमीलाई ? …”

“एक्सपायरको पनि प्रमोसन हुन्छ त ? तपाइर्ं त अब म्याद गुज्रेको औषधिजस्तै भइसक्नुभयो । अब तपाईंको के काम ? छोड्दिनोस् यस्ता मूल्यांकन … ।” उसले अट्टहास गर्‍यो । “…प्रमोसनका लागि त आधुनिक युवती हुनुपर्छ । सकेसम्म छोटा र ग्ल्यामर्स पोसाक, गालामा डिम्पल…कहिलेकाहीँ गुड फ्राइडेमा हातमा वाइनसँगै अँगालोमा …. … त्यसपछि त काम नगरे पनि प्रमोसन पाइन्छ ।” जिब्रो फट्कार्‍यो अमिलो, पीरो खाएझैँ गरी । ऊ इन्टरनेटमा देखिएका उत्तेजक तस्बिरहरूका दृष्टान्त दिँदै थियो … यस्तो हुनुपर्छ ।
म गम्दै थिएँ । तैँले सही भनिस् । यस्तो भएको भए एकान्तबासमा, नगरकोट, धुलिखेलमा वाइनसँगै उन्मत्तता साटासाट गर्नुपर्ने । तन्दुरी आफूलाई लुछाउन तयार भए असम्भव के थियो र ? हो म तिमीहरूजस्ता अवसरवादी र प्रतिगमनकारीका लागि मरसिकेकी छु । मरसिकेकाको के मूल्यांकन ? मूल्यांकन त त्यहाँ हुन्छ, जहाँ बौद्धिकता र विवेक हुन्छ । यसलाई थाहा छैन, यो कुन चराको नाम हो ।
दोबाटो, चौबाटोमा सुसेल्ने जमाना अर्थात् पद्धतिबाट ऊ टाढा छ । स्पर्शको आधुनिक मोडल छ उसको । कार्यगत सिलसिलामा बढेका उसका हात बिनारोकटोक सञ्चालित हुन पाउनु, उसको आग्रह स्वीकार्नु र कामबासनाका सबै तह नाघेर समर्पित हुन सक्नु… यस्तै यस्तै । उसका यस्ता स्पर्शका आधुनिक मोडलमा साथ दिनुपर्छ । त्यसपछि काम, माम, प्रमोसन…..यी नाथेको के टेन्सन ?

मेरै सहकर्मी, जसबाट मैले पटकपटक प्रहार खेपिरहेकी छु । धेरैपटक ती शब्द प्रहारले क्षतविक्षत बनेकी छु म एक्सपायर ? कसरी ? के एउटी नारी विवाहपछि एक्सपायर हुन्छे ? कुन अर्थमा ? के विवाहित नारी चेतना र बौद्धिकताशून्य हुन्छ ? क्षमता हुँदैन ? होइन के ठान्छौ तिमी पुरुषहरू ?
उसले सबै प्रश्नको जवाफ देओस् भन्ने हेतुले मसँग आँखा जुधाई । निकैबेर मौन बसी । ठानेँ सबै आक्रोश पोखेर रत्तिो भई । एकदमै रित्तो । केही छैन अब असन्तुष्टिहरू । सबै मेरो सामीप्यको चौतारीमा बिसाइसकी । तर, होइन रहेछ । फेर िउसका असन्तुष्टिहरू पोखिन थाले …।
“प्रणवले के भन्नुभएको थाहा छ तिमीलाई ? विवाह नभएको भए तिम्रो पनि प्रमोसन हुने थियो । कसरी बिताएँ होला मैले त्यो रात । त्यसपछि म उहाँप्रति अझै पनि सशंकित भएकी छु । डराएकी छु । के सोच्नुभएको होला भनी । तर, मलाई थाहा छ त्यहाँ मेरो श्रीमान् बोलिरहेको थिएन, बोलेको थियो पुरुषको अन्तरमन …। किन महिलाको काम हाकिमको इच्छाशक्तिमा भर पर्छ ? किन त्यहाँ सामान्यीकरणको सिद्धान्त लागू हुँदैन ? तिमी पनि त पुरुष नै हौ, किन सुन्थ्यौ महिलाको कुरा र समस्यालाई ? म फगत मनशान्तिका लागि सुनाइरहेकी छु ।” मेरो मौनतामा ऊ निराश हुन्छे । भन्छे, “तिमी त साहित्यकार पनि हौ लेख न त यथार्थ ।” म फिस्स हासेँ उसको ह्याङ्ओभर मेटाउनका लागि ।
“छाप्ने ठाउँमा तिमी पुरुषहरू नै हुन्छौ । आफ्नैविरुद्धको आवाज र आक्रोशलाई कसरी सार्वजनिक गर्छौ …?” असल मित्रका दृष्टिले अभिव्यक्त भएका मेरा धारणा, उसका लागि मभित्रको पुरुषले आगोमा घिउ थपेसरी भएछ । ओठे जवाफ दिई । “…तिमी पनि त पत्रकार हौ नि ! लेख्न सक्छौ महिलामाथिको भेदभाव र हिंसालाई ? के यो हिंसा होइन ? के यसले समाज र आमनागरकिसँग सरोकार राख्दैन ? के राजनीतिक निर्णयसँग महिलाका समस्याको तालमेल छैन ? के समाजको विद्यमान स्थितिलाई विश्लेषण गर्दै दलले परमिार्जनका लागि रणनीति पारति गर्ने होइन र ? तर, होइन । तिमी यसलाई मान्दैनौ । किनभने, तिमीहरू महिलालाई सदियौँदेखि दिँदै आएको दोस्रो दर्जालाई परविर्तन गर्न चाहँदैनौ । नयाँ नेपाल निर्माण गर्ने नेताको भाषणमा मात्रै तिमीहरूका नजर र कान पुग्छन् । तर, सुन्दैनौ तिमीहरू तिनै नेताबाट गरएिको व्यवहारले विचलित भएकी महिलाको आवाज । देख्दैनौ तिमीहरू उनीहरूको सिकारबाट घाइते भएकी महिलाको घाउलाई । यी समस्यालाई समाचार बनाउँदैनौ तिमी । किनभने, तिमी महिलावादी पुरुष रिपोर्टर बन्न चाहन्नौ । तिमीहरू राजनीतिक दलका नेताको भाषण लेखेर/छापेर राजनीतिक विटको अर्थात् मेनस्ट्रिमको पत्रकारतिा गरेको घमण्ड गर्छौ । तर, तिमीहरू कुनै राजनीति दलको कार्यकर्ताभन्दा कम छैनौ । महिलामाथि हुने गरेको भेदभाव र हिंसालाई समाचार बनाउन सक्तैनौ तिमीहरू ।” ऊ समग्र आक्रोश पोख्छे ।
भन्न मन लागेको थियो । पत्रकारतिामा पनि यस्ता भेदभाव छन् । त्यहाँ पनि महिलामाथि हिंसा र भेदभाव छ । भेदभावकै कारण कैयौँ महिलाले जागिर छोडेका छन् । तर, यो तीतो यथार्थ ओकल्ने पक्ष्ामा छैन म । उसले भनेजस्तै म पुरुष हुँ । कसरी पुरुषको अन्तरमनको कालोलाई उजागर गर्न सक्छु ? तर, ऊ मेरी बालसखा हो । यसमा भने म कुनै सम्झौता गर्न सक्तिनँ । आज मेराअगाडि दुईवटा चुनौती छन् । एउटा, यथार्थभन्दा धेरै टाढा बसेर बनावटी र सनातनी पत्रकारतिा गर्नु, अर्को सही र तथ्य कुरालाई बाहिर ल्याएर सबै क्ष्ाेत्रमा व्याप्त रहेको लैंगिक भेदभावको उजागर गर्नु । तर, म एक्लोबाट यो सम्भव होला ? आफैँसँग प्रश्न गर्छु, सदियौँदेखि जगमा बसेका असमानता र नारीविरुद्धका यस्ता पर्खालहरू लडाएर समाजलाई फराकिलो मान्यतामा डोर्‍याउन म सकुँला ? यसको उत्तर पाइरहेको छैन ।

नेपाल साप्ताहिक ३५०

Madhuwan Paudel – Amrita Ki Chhori

मधुवन पौडेल – अमृताकी छोरी

“आमा ! मेरो आई–पड् ल्याप्टप्मा जोडिदिएको हो ?”छोरीको फोन सुन्नासाथ अमृता झसङ्ग भई । दिउँसो तीन बजिसकेको थियो, पाँच बजे त छोरी आइसक्छे ! ऊ हतारहतार छोरीको कोठातिर लागी । बिहान अफिस जाने बेला छोरीले भनेको सम्झी उसले—“आमा म आफैँ अफिसमा आई–पड् चलाउन थालेँ भने त सबैजना त्यसै गर्न थाल्छन् अनि काम केही हुन्न !”
सतीश अर्थात् अमृताको लोग्नेको दुई वर्ष अगाडि दुर्घटनामा मृत्यु भएपछि उसकी छोरी अनुस्काले नै उनीहरूको कन्सल्ट्एन्सी अफिस सम्हालेकी थिर्ई । वास्तवमा अमृतालाई पनि अनुस्काले त्यति राम्रोसँग छिटो समयमा बाबुको व्यापार सम्हाल्ली भन्ने पटक्कै विश्वास थिएन । उसले हेर्दा त अनुस्का न भान्छाको काममा सिपालु न त यताउती नाता कुटुम्बसँग उठबस गर्ने न त आफुलाई चाहिने सामान बाहेक अरू गृहस्थीका सामान किन्न जान्ने लठ्ठक थिई ।
अमृता आफ्नो जमानाको कुरा सम्झन्छे । उसकी आमाले उसलाई एउटी राम्ररी घर गर्ने छोरीको रूपमा हुर्काइन्, भातभान्छाको काममा सिपालु, पाहुनापासाको राम्ररी सत्कार गर्ने, घर सफा–सुग्घर राख्ने आदिआदि । आई.ए.पास गर्नासाथ सतीशसँग उसको बिहे भएको थियो । बिहेपछि उसले अरू धेरै कुरा सिकी, तर ती सब कुरा कसरी लोग्नेलाई खुशी पार्ने र कसरी लोग्नेको घर गर्ने सम्म सीमित थिए ।
बिहेपछि सतीश आफ्नो ठूलो परिवारसँग छुट्टिएर बेग्लै बस्न थालेको थियो । त्यसपछि त अनुस्का नजन्मुञ्जेल अमृताको संसार उसको लोग्ने र घर व्यवहारमै सीमित भयो । उसले लुगा सिउन सिकी, कृत्रिम फूल बनाउने तालिम लिई, घर चलाउन अझ निपूण भई । उसका साथीहरू सबैजसो कतै न कतै काम गर्थे, स्कूलतिर पढाउँथे पनि । यदाकदा सतीशलाई “एक्लै बस्न पनि पट्यार लाग्छ केही गर्ने हो कि ?” भन्दा ऊ झडङ्ग रिसाउने गर्थ्यो । “किन दुःख गर्नु पर्यो ? आनन्दसँग बसे त भइहाल्यो नि !” सतीश अमृतालाई केवल गृहिणीको रूपमा हेर्न चाहन्थ्यो ।
अमृतालाई सतीशको कुरा केही खट्किन्थ्यो, तर ऊ केही प्रतिवाद गर्दैनथी । त्यसपछि त उनीहरू लामो समय विदेशिए । सतीशले विदेशिएको केही समयपछि मात्र पाँच पाँच वर्ष अमृतालाई घरभित्रै किन राखेँछु जस्तो अनुभव गरेको थियो । “हत्तेरी ! समयअघि बुद्धिचाँहि पछि लागेछ हगि अमृता ? तिमीले भनेजस्तो केही गरेको भए पनि त यो भन्दा बढी पैसा पाउने काम भेट्थ्यौ कि ?” अमृताले केही प्रतिक्रिया जनाएकी थिइन, उसकी आमाले उसलाई ओठेजवाफ दिन कहिल्यै सिकाइनन् । एकाध वर्ष जसोतसो गरी बिताएपछि अनुस्का जन्मिहाली, अनि त झन् ऊ त “फूल टाइम् गृहिणी” भइहाली । अमृतालाई यदाकदा आफु नितान्त गृहिणीको सीमित घेराभित्र बाँच्नु परेकोमा ग्लानिको आभास हुने गर्थ्यो, तर ऊ तुरुन्तै संयमित हुने गर्थी । उसका लागि उसकी मृतक आमा आस्था र प्रेरणाको स्रोत मार्गदर्शक सबैथोक थिइन् र उनैले स्वास्नीमान्छेको धर्म भनेको लोग्नेलाई सबैतिरबाट सँधै प्रशन्न राख्ने र आफ्नो गृहस्थी जीवनलाई शान्त र सुखी बनाउने हो भन्ने सिकाएकी थिइन् । समयले कोल्टे फेरे पनि अमृताले कहिल्यै आफ्नो आजको बिस्तारित सीमारेखा के हो भन्ने जान्न खोजिन, बरु आफ्नो धरातल भनेको आमाले सिकाएकै अनुसारको संसार हो भन्ने सपनाभित्रै आफुलाई हराइ । यही नै तुस थियो उसको मनमा ! किन उसले समयमै आफ्नै चिनारी आफ्नै पहिचान राख्न चाहिन?
अहिले अनुस्काले पनि उसलाई त्यसै भन्ने गर्छे— “आमा ! तपाईंको उमेर पनि भयो धेरै दुःख गर्नुभयो अहिलेसम्म ! अब आनन्दसँग बस्नुस् न !” आफ्नी छोरीले मायालु भाकामा दिएको यस्तो अभिव्यक्ति भए पनि अमृतालाई कता कता च्वास्स घोच्ने गर्छ । सतीशले पनि त्यसै भन्थ्यो । एउटा युग बित्दा पनि अमृताको स्थिति जहीँको त्यहीँ थियो— घर गृहस्थी, भात भान्छा, किनमेल र अरू सामाजिक व्यवहार ! सतीश बाँचुञ्जेल ऊ झपक्क गहनाले लादिएकी हुन्थी, शृङ्गारले उसको भौतिक देह धपक्क बलेको हुन्थ्यो।
“आबुई ! भाउज्यूले कसरी मेन्टेन गर्नुभाको ? आफ्नो त…” उसका नन्दहरू जिस्काउने गर्थे । तर त्योभन्दा भित्र अर्थात् अमृताको मनमा के थियो उनीहरू कहिल्यै सोच्दैनथे । सतीश त झन् सँधै थाकेर घर फर्केपछि छेड्ने गर्थ्यो — “आज भुतुक्कै भइयो कामको चटारोले ! तिम्लाई जस्तो आनन्द भए पो हगि अमु ?” “भनेको त हो नि ! मलाई पनि काम सिकाएको भए अहिले म पनि सघाउँथेँ नि !” मनमा धेरै नै बिझेको बेला अमृता यतिसम्म भन्ने गर्थी । हुन त अरूले हेर्दा त केही नगरी यसरी जीवनभर बस्न पाउनु नै सौभाग्य होला, तर अमृताको मन भने सँधै नै आफ्नो अस्तित्व नै नभएको हो कि भन्ने पीडामा हुने गर्थ्यो । तैपनि अमृता आफ्नो आँसुलाई परेलीमै बग्न दिन्नथी— आफ्नी आमाले दिएको संस्कारलाई सम्झेर !
सतीशको मृत्युपछि अमृताको मनको पीडा झन् बल्झेको थियो । “दाइले सात जुनीलाई पुग्ने सम्पति कमाइदिएकै छ, के भो र !” भन्ने नन्दहरूको तीखो प्रहारले उसको मन चिराचिरा पर्थ्यो । उसले सँधै आत्मनिर्भर बन्न चाहेकी थिई, तर उसको संस्कार र समयले पनि उसलाई सतीशकै भर परेर बाँच्नुपर्ने बनाइदियो । अहिले त उमेरले डाँडा काटिसकेको छ, मनमा इच्छा भएर पनि उसमा सामर्थ्य छैन । तर पनि ऊ अनुस्काले सतीशले भनेझैँ— “किन केही गर्नुपर्यो? आनन्दसँग बसे भइहाल्यो नि !” भनेको सुन्न चाहन्नथी।
अमृता हर्नको आवाजले झसङ्ग हुन्छे । कतिबेला पाँच बजिसकेछ ! अनुस्का घरभित्र छिरेकी थिर्र्ई । ऊ यसो उठ्न पाएकी पनि थिइन । “आमा ! म त थकाइले भुतुक्क भएँ” भन्दै ब्याग सोफामा फ्याँकेर ऊ अमृताको काखमा लमतन्न परी । अमृताले त्यसपछि सबैकुरा बिर्सी र छोरीको कपाल मुसार्नथाली ।
“आमालाई जस्तो मज्जा भए पो हगि ?”
अमृताको मुटु हजार सियोले घोचे जस्तो भयो । तैपनि उसले भनी—
“हो छोरी, मेरो भाग्यै त्यस्तो !”

भाद्र १०, २०६६
भिमनिधी मार्ग, काठमाडौं

Alok Chalise – Sambandha

आलोक चालिसे – सम्‍बन्‍ध

किस्सा १.

दीप शिक्षा र संस्‍कारमा महत्‍व दिने मध्‍म बर्गिय परिवारको आदर्श पात्र हो । नामधन्‍य बिध्‍यालयबाट राम्रो श्रेणीमा माध्‍यमिक तह उत्तीर्ण गर्छ । डाक्‍टर बन्‍ने धोको छ उसको ! तर उस्‍का पिता साधारण ब्‍यापारी, लाखौंलाख खर्च गर्न सक्‍ने आमत छैन । दीप मानसीक ज्‍वारभाटमा छ , अब के गर्ने ? संझौता !! स्‍थानिय उच्‍च मा बि मा ब्‍यबस्‍थापन बिषयमा दाखिल हुन्‍छ ।

दीपका प्रत्तेक कृयाकलाप र रुपगुणलाइ नियाल्न थालेकी छन्‌ जलुले । उनी पिताको रोजगारी सँगै भारतीय औधोगीक शहर मुम्‍बाइमा जन्‍मेकी आधुनिक बिचार मन पराउने केटी हुन्‌ । दुबैमा आकर्षण छ , घमण्‍ड पनि ! मौनतालाई जलुलेनै चिर्ने जमर्को गर्छीन्‌ । उनको प्रष्‍ताबलाई सहर्ष स्‍विकारर्‍यो दीपले । फलस्‍वरूप २१ वर्षे दीप र १९ की जलुमा एउटा सम्‍बन्‍धको अङ्‌कुरण भयो । सामाजिक पुरातन बिचार बिरुद्ध बिद्रोह गरे । परिणाम अन्‍तर जातीय बिबाह भयो उनिहरुमा,पारिवारीक मन्‍जुरी बीना । दीपलाई छात्रबृत्तीले जापान डोर्‍यायो । ऊ मेहेनतमा तल्‍लिन थियो । “जति टाढा रह्‌यो , उति माया मौलाउँछ “,दीप को ब्‍यबहारले यसै भन्‍थ्‍यो । तर जलुका बैशालु मनमा बिस्‍तारै बिस्‍तारै अषन्‍तोष पैदा गर्दे थियो – रहर र उमङगका चाहनाले । भनिन्‍छ नि “नौ दिन नदेख्‍दा नौलो, बीस दिन नदेख्‍दा बिर्रस्‍यो “। जलुका मनमा दीपका बिरुद्द गुनासा र अबिस्‍वासका चम्‍काहरु चुलिदै गए । ऊनको नजरमा अब दीप नालायक पती छ । न जलुलाई भौतिक – मानषिक सुख दियो, न यथेष्‍ट सम्‍पती नै । केबल भूगोलको सीमापारी कतै नाममात्रको सम्‍बन्‍ध छ । ऊन्‍को सोचमा कहालीलाग्‍दो पाहाड उभिए । अहिले उनिहरु एउटै भूगोलको सिमानामा छन्‌ तर साथ छैन । नत कानुनी रुपमै अलग छन ! सुनिन्‍छ , आजकाल दीप मानसिक बिछिप्‍त छ रे प्रेम बीयोगमा ।

किस्सा – २

धनबहादुर, ब्‍यापारको क्रममा बनेपाबाट बसाइ सरेर आएका नेवार परिवारको कान्‍छो छोरो । सम्‍पन्‍न वर्गको नभएपनि साथीभाइ बीचमा ऊस्‍को छुट्‌टै रवाफ छ । मिठाई, चकलेट र आइसक्रीमको भोज गर्न सक्‍ने उस्‍को आमत छ । शत्ति सधैं सम्‍पन्‍नता कै पछाडी त घुमेको हुन्‍छ । राजनीतिमा हेर्नुस्‌, इतिहासमा हेर्नुस्‌, समाज र संगठनको त कुरै छोडौं, बिद्वानमा पनि बिचलन आउछ सम्‍पन्‍नताको अगाडी । अनि त्‍यो फुच्‍चे केटोको त के कुरा ? खुल्‍ला आकाशको रोमान्‍चक उडानमा हराइदिन्‍छ आफ्‌नो जिन्‍दगीलाई ।लहैलहै न हो, लागू पदार्थको सेवनमा फस्‍छ । धन्‍नै दिदीका श्रीमान्‌ परिवारमा चल्‍ता-पुर्जा रहेछन्‌ र बिदेशको टीकट कटाइदिए , दु‍रर्ब्‍यसन्‌ले जकड्‌नु अगावै ।अब देख्‍यो धनबहादुरले देशमा गरेको दादागीरी र नबाफी पन । बल्‍ल तल्‍ल हारगुहार गरेर काम पाउने भाथ्‍यो , पर्यटकीय आगमनको इजाजतको समयाबधिले हात हल्‍लाउन थाल्‍यो ‘सायोनारा’ भन्‍दै।

अब धनबहादुरमा बच्‍पना सुधार्ने दृढता छर्लङगै देखिन्छ बिदेशको संगत र हण्‍डरले । उस्‍ले भिसा अनुमती नभएपनि नफर्किने निधो गर्‍यो । “पातलो गाठीको फराशिलो धनेको भाग्‍य पनि गतिलै रेछ “। साथीहरु खासखुस गर्थे । कारण उस्‍को सत्‍कार गर्ने भोजनालयमा एकजना स्‍थानीय युबती लठ्‌ठ परिसकेकी थिइन्‌ धनको ब्‍यबहार बाट। युबाहरुमा एउटा होडहुन्‍छ , बिपरीत लिङ्‌गीको मान जीत्‍ने । दौंतरी बीचमा धनले त्‍यो दौड जितिसकेको थियो । सम्‍बन्‍धलाई जीबन्‍त रुप दिने योजनामा मस्‍त थिए उनीहरु, दूर्भाग्‍यले अध्‍यागमन निरिक्षकको बल्‍क्षीमा पर्‍यो धन ।बचावटका शब्‍द थिनन्‌ । अध्‍यागमन अनुमतीलाई लत्‍याएको थियो उस्‍ले । बन्‍दी कक्षमा आ-आफना रुची र बिषयमा हराइरहेका झुण्‍ड भन्‍दा परको कुनामा बस्‍यो । नेपाल हुंदाको बीगत र जापान आएपछीको आइच्‍यान सँग मिलेर देखेको सपनाबारे गम्‍न थाल्‍यो ।’ के हाम्रो सम्‍बन्‍ध यत्तिकैमा तुषारापात हुने भो त ?’ ‘ आइच्‍यानले मलाई चटक्‍कै बिर्सन सक्‍छे ? ‘…गरोस्‌ पनि के ! जन्‍म थलोको सारा सुख-सुबिधा छोडेर किन आउँछे म जस्‍तो अल्‍लारेको पछिलागेर ? बुढो सारसले पँकेटा फड्‌फडाउँदा उडेका प्‍वाँख जस्‍तै महसुष गर्‌यो उस्‍को प्रेमसँबन्‍ध धुजाधुजा भएर उडेको । हुनपनि त अति-बिकशीत शहरका मान्‍छेहरुमा मानषिक सँबेदना भन्‍दा ज्‍यादा यान्‍त्रीक गती र भाव सुन्‍य मनको बाहुल्‍याता हुन्‍छ । बिस्‍तार अरुकोही आउनेछ ऊस्‍को मनमा । सोझी छ, दूख नपाए हुन्‌थ्‍यो !!आषा मार्‍यो त्‍यो सम्‍बन्‍धको ।

‘धन, मैले वकीलसँग कुरा गरें ।’ एकै सासमा थपी-हाम्रो बिबाह दर्ता नभएपनि भावनात्‍मक सम्‍बन्‍ध र साथको प्रमाड जुटाउछु म ।हामी सँगै छौं नि महिनौं देखी। म तिमीलाई टाढा हुन दिनेछैन आफुबाट !’ मंगोलीयन बनोटको भिउंटे मुहारमा ठुलाठुला आँखाको तरेली भिजाउँदै शीशाको पर्दा बीचमा अन्‍तरापबाट बेदना पोखी ऊस्‍ले । तिमी… यहासम्‍म…??? बक्‍बकाउँदो स्‍वरमा सोध्‍यो आश्‍चर्य चकित धनले । डुब्‍न लागेको स्‍वासमा एउटा त्‍यान्‍द्रोको सहारा देख्‍यो धनले । साँच्‍चै त्‍यो मिहिनेती केटीले अध्‍यागमन कानुन्‌सँग कुश्‍ती खेलेर जिती उस्‍को प्रेमलाई । कसरी भन्‍ने , सम्‍बन्‍ध कच्‍चा धागो हो ? ऊनीहरुको सम्‍बन्‍ध त माया र बिश्‍वाषको बलियो गाँठोले जोडिएको छ ।

किस्‍सा ३

प्रीतीमा, सम्‍पन्‍न परिवारकी सुशिल केटी । सभ्‍यता छ । सुसंस्‍कार छ । नेपाली-हिन्‍दी चलचित्रमा शोख छ उन्‌को । अनि चलचित्र घर जान सक्‍ने आर्थिक पहुंच पनि । जब ऊ किशोराबस्‍थामा प्रबेश गर्छे, लोक कथामा मधुकरले दानबहरु बाट छुटाएर लगेको मालतीको रोमान्‍चकारी कल्‍पनामा डुबाउन रुचाउछे आफुलाई । चलचित्रका नायक-नायीकाको भाबभङ्‌गीमा हराउछे । अनी उमेरकै दोषहोला, सहपाठीको आकर्षक रुपबाट सम्‍मोहीत छ उ आजकाल ।साँच्‍चै मधुकर र मालतीको दुनियामा हराउने बाचामा दुबैजना घरमा थाहैनदिई भाग्‍छन्‌ । घरमा खल्‍लिबल्‍ली चल्‍छ , अत्तोपत्तो छैन उनको । गाइगुई चल्‍छ-भागे रे पृतीमा र आकाश !

उनका अभिभावकले निकै जोड गर्छन्‌ छुटाउनलाई – सम्‍पन्‍नताको दम्‍भ र यथार्थताको बिष्‍लेषण मिसाएर । ”छोडिदे छोरी,केही बिग्रेको छैन । पढ लेख , सबै ठीक हुन्‍छ २-४ बर्षमा । बिर्सिदेऊ तेसलाई।” पृतीमाकी आमाले भनिन्‌। उनी मौन छिन्‌ । दुबैमा दृढ अठोट छ आजिबन साथको । यथार्थको धरातल अर्के छ । माध्‍यमिक तह पनि पास नगरेको केटोले बिहा गरेर कसरी पारिवारीक दायित्‍व सम्‍हाल्‍ने ? कल्‍पनामा त जिन्‍दगी गुज्रिन्‍न । आकाशमा हिनता र अत्‍यास बढ्‌दो छ । बिपरीतमा प्रितीमा दृढ छ । बिहान घर धन्‍दा गर्छे , दिउसो क्‍याम्‍पस जान्‍छे । अनि हरतरहले आकाशको परिबारलाई खुशी तुल्‍याउने ध्‍येयमा लाग्‍छे बाकी समय । आकाश बिस्‍तार-बिस्‍तार असन्‍तुलित हुदै छ । परिबारमा उस्‍को प्रभाब र महत्‍व गीर्दो छ । त्‍यसैले होला चिडचिडाहट र क्रुरता पनि बढ्‌दो छ उस्‍मा ।

पृती भने धर्ती जत्तिकै सहनशील छ । सारा पीडालाई एकान्‍तमा आँसुका ढीक्‍कामा बगाइदिन्‍छे । प्रमाण पत्र तह पनि पुरा गरिसकी उसले । आजकल पिताजीको भन्‍सुनले नोकरीपनि पाएकी छ। आकाश आफुलाई अपमानित महषुस गर्छ पृतीको यो सफलताबाट । पेटमा उनीहरुको मायाको निसानी बढ्‌दो छ । पृतीमाको एकमात्र आषा छ, सन्‍तान भएपछि आकाशमा बदलाब आउने छ । अहँ, स्‍थिती सहन र नियन्‍त्रण बाहिर गैसकेको छ । पित्री प्रधान समाजमा उन्‍ले छोरीलाइं जन्‍माएपछी त झन उग्रता बढेको छ आकाश र उस्‍को परीवारमा । केही लागेन पृतीमाको, छ महिनाको सन्‍तान च्‍यपेर आफ्‍नो अल्‍लारे प्रेमलाई धिक्‍कारर्दे माईतीको शरणमा जान्‍छे । अब जीन्‍दगी ऊस्‍लाई वाक्‍क भैसक्‍यो । माया-प्रेम-सँबन्‍ध सबै सबै उस्‍लाई मशान घाटको कथा जस्‍तै लाग्‍छ आजकाल । आकाशको धम्‍की र ताडना जारी छ । नशामा मातेर जान्‍छ ऊ पृतीमाको जन्‍म घर । तथानाम असभ्‍यता ओकल्‍छ । “छिमेकमा पनि नाकै देखाउन नहुने पारिसक्‍यो । ” पृतीकी आमा फतफताउँछीन्‌ । झन्‌ दुख्‍छ पृतीको मन – धारीलो फलामले रेटे जस्‍तै । उनी पलायन हुन चाहन्‍छीन आकाशको नजर बाट , यो बीरही समाज बाट । पारिवारीक सल्‍लाह र एकजना नातेदारको सहयोगमा उनी जापान पुग्‍छीन्‌ । यात्राभरी ऊनको मन चङगा जस्‍तै हलुका भएर उड्‌छ जहाज सँगै । प्रेम, बिबाह, लोग्‍ने, घर…सबैलाई सँझिन्‍छीन‌ । शब्‍दमा पनि घृणा लाग्‍छ । कहालीलाग्‍दो बिगतमा फर्केर पनि हेर्ने ईच्‍छा हुन्‍न । ऊनी द्रिढ भएर सोच्‍छीन्‌- ” एउटा नया जीन्‍दगी बाँच्‍छु , निष्‍फिकृ-स्‍वतन्‍त्रताको ।जसमा कुनै लैङगीक बिभेद हुन्‍न , श्रीमान पनि हुन्‍न र बन्‍धन्‌ पनि !”

नौलो समाजमा खुल्‍ला पंक्षी भएर बाँच्‍न चाहन्‍छीन ऊनी । अब यही एउटै मात्र धोको छ । समयको प्रबाह बग्‍दो छ । खात्राक-खुत्रुक काम पाएकी छन । तर आम्‍दानी खासै छैन , खोजी जारी छ । यसै सीलसीलामा एकजना फरासीलो सहयोगी भेटीन्‍छ । प्रवेश साँच्‍चै सहयोगी छ, मीहिनेती छ, एउटा आदर्श गुँण बोकेको युबक । पृतीमाको समय भागदौडमै बितिराखेको छ । सँघर्ष छ , नयाँ भाषा र परीबेष मा, तर बिगतको भन्‍दा कता हो कता सहज । नारी मन नहो, भाबनाको कोमल पत्र छेड्‌दै कहीलेकाहीं फुर्सदको समयमा अनायासै लहर उठ्‌छ-“यदी मेरो आकाशमा प्रवेशको ब्‍यबहार भैदिएको भए…।” कल्‍पनाको तड्‌पनबाट ओर्लीएर मन बुझाउँछे- “शुरुमात ऊ पनि कहाँ त्‍यस्‍तो थियो र ? सब यस्‍तैहुन्‌ लोग्‍ने मान्‍छे ! “उनको मनले खबरदारी गर्छ- फेरी त्‍यही मायाको भोक छ तँलाई ? कम्‍जोरी हो यो माया । घण्‍टौँ सम्‍म ओल्‍टे र कोल्‍टे फेरेर बिताउँछे । मनभरी प्रश्‍नोत्तरका तुफान उठ्‌छन्‌ । बिहानीपख बल्‍ल आँखा लागेछ । ऊ त सपनामै युद्‌धको जेहाद छेड्‌दै थिई- बिहा गर्नु, लोग्‍ने हुनु मात्रै पबित्र सँबन्‍ध हो ? कदापी होइन ! एक्‍लो जन्‍मीनु, मर्नुको बीचमा किन कसैको सहारा चाहीन्‍छ? फेरि म तेही दलदलमा फसुँ ?? महाभारत कालमा अर्जुनलाई श्रीकृष्‍ले संझाएका थिए- पार्थ, तिमी युध्‍दको मैदानमा छौ-धर्म र न्‍याय को वकालतको लागी । नाता- सँबन्‍ध केबल भ्रम हुन्‌ । च्‍यतेर हटाउ भ्रमका पर्दालाई ।त्‍यो नव परिचित फरासिलो केटोलाइ टाढा पन्‍छाउने प्रयाशमा थिइन मनको कुनाबाट । आकाशको दानबी रूप संझीदा बद्रोहको आगो दन्‍किन्‍थ्‍यो मनमा । त्‍यसैको ज्‍वालामा कागजका पत्ता सरी जलाउँदै थिइन्‌ पुरुष प्रधान समाजमा महीलाको दासत्‍व सम्‍बन्‍ध । झिसमीसे बिहान भैसकेको थियो । झ्‍यालको अन्‍तराप बाट भित्रिएको चिसोपनले कोठा ओसींदै थियो । तर उनी ऊष्‍णतामा छट्‍पटाइ रहेकी थिइन्‌ । पुस्‍तौं देखी बज्‍यैबाट आमा र आमाबाट उन्‌मा आएको नारी सुलभ कोमल मनले बिद्रोहको आधुनिक बिचारलाइ अबरोध सिर्जना गरी रहेको स्‍पष्‍ट देखिन्‍थ्‍यो । अन्‍तर मनमा त्‍यो नवपरिचीत आकर्षक युबकले बलियो घर बनाइसकेको थियो ।

उनका हातहरु बिस्‍तरा भित्रै सल्‍बलाइ रहेका थिए लोग्‍नेको न्‍यानो आलिङ्‌गनको लागी, अनि फेरि एउटा सँबन्‍ध रोपणकालागी । निद्रामै बरबराउंदै बिच्‍छ्‌यौना बाट जुरुक्‍क उठीन्‌-“सबै पुरुष आकाश हुँदैनन्‌ ।…एउटा परिपक्‍व संबन्‍धको खाँचो छ !”

टोकीयो, डिसेम्‍बर २००७