Madhuwan Paudel – Amrita Ki Chhori

मधुवन पौडेल – अमृताकी छोरी

“आमा ! मेरो आई–पड् ल्याप्टप्मा जोडिदिएको हो ?”छोरीको फोन सुन्नासाथ अमृता झसङ्ग भई । दिउँसो तीन बजिसकेको थियो, पाँच बजे त छोरी आइसक्छे ! ऊ हतारहतार छोरीको कोठातिर लागी । बिहान अफिस जाने बेला छोरीले भनेको सम्झी उसले—“आमा म आफैँ अफिसमा आई–पड् चलाउन थालेँ भने त सबैजना त्यसै गर्न थाल्छन् अनि काम केही हुन्न !”
सतीश अर्थात् अमृताको लोग्नेको दुई वर्ष अगाडि दुर्घटनामा मृत्यु भएपछि उसकी छोरी अनुस्काले नै उनीहरूको कन्सल्ट्एन्सी अफिस सम्हालेकी थिर्ई । वास्तवमा अमृतालाई पनि अनुस्काले त्यति राम्रोसँग छिटो समयमा बाबुको व्यापार सम्हाल्ली भन्ने पटक्कै विश्वास थिएन । उसले हेर्दा त अनुस्का न भान्छाको काममा सिपालु न त यताउती नाता कुटुम्बसँग उठबस गर्ने न त आफुलाई चाहिने सामान बाहेक अरू गृहस्थीका सामान किन्न जान्ने लठ्ठक थिई ।
अमृता आफ्नो जमानाको कुरा सम्झन्छे । उसकी आमाले उसलाई एउटी राम्ररी घर गर्ने छोरीको रूपमा हुर्काइन्, भातभान्छाको काममा सिपालु, पाहुनापासाको राम्ररी सत्कार गर्ने, घर सफा–सुग्घर राख्ने आदिआदि । आई.ए.पास गर्नासाथ सतीशसँग उसको बिहे भएको थियो । बिहेपछि उसले अरू धेरै कुरा सिकी, तर ती सब कुरा कसरी लोग्नेलाई खुशी पार्ने र कसरी लोग्नेको घर गर्ने सम्म सीमित थिए ।
बिहेपछि सतीश आफ्नो ठूलो परिवारसँग छुट्टिएर बेग्लै बस्न थालेको थियो । त्यसपछि त अनुस्का नजन्मुञ्जेल अमृताको संसार उसको लोग्ने र घर व्यवहारमै सीमित भयो । उसले लुगा सिउन सिकी, कृत्रिम फूल बनाउने तालिम लिई, घर चलाउन अझ निपूण भई । उसका साथीहरू सबैजसो कतै न कतै काम गर्थे, स्कूलतिर पढाउँथे पनि । यदाकदा सतीशलाई “एक्लै बस्न पनि पट्यार लाग्छ केही गर्ने हो कि ?” भन्दा ऊ झडङ्ग रिसाउने गर्थ्यो । “किन दुःख गर्नु पर्यो ? आनन्दसँग बसे त भइहाल्यो नि !” सतीश अमृतालाई केवल गृहिणीको रूपमा हेर्न चाहन्थ्यो ।
अमृतालाई सतीशको कुरा केही खट्किन्थ्यो, तर ऊ केही प्रतिवाद गर्दैनथी । त्यसपछि त उनीहरू लामो समय विदेशिए । सतीशले विदेशिएको केही समयपछि मात्र पाँच पाँच वर्ष अमृतालाई घरभित्रै किन राखेँछु जस्तो अनुभव गरेको थियो । “हत्तेरी ! समयअघि बुद्धिचाँहि पछि लागेछ हगि अमृता ? तिमीले भनेजस्तो केही गरेको भए पनि त यो भन्दा बढी पैसा पाउने काम भेट्थ्यौ कि ?” अमृताले केही प्रतिक्रिया जनाएकी थिइन, उसकी आमाले उसलाई ओठेजवाफ दिन कहिल्यै सिकाइनन् । एकाध वर्ष जसोतसो गरी बिताएपछि अनुस्का जन्मिहाली, अनि त झन् ऊ त “फूल टाइम् गृहिणी” भइहाली । अमृतालाई यदाकदा आफु नितान्त गृहिणीको सीमित घेराभित्र बाँच्नु परेकोमा ग्लानिको आभास हुने गर्थ्यो, तर ऊ तुरुन्तै संयमित हुने गर्थी । उसका लागि उसकी मृतक आमा आस्था र प्रेरणाको स्रोत मार्गदर्शक सबैथोक थिइन् र उनैले स्वास्नीमान्छेको धर्म भनेको लोग्नेलाई सबैतिरबाट सँधै प्रशन्न राख्ने र आफ्नो गृहस्थी जीवनलाई शान्त र सुखी बनाउने हो भन्ने सिकाएकी थिइन् । समयले कोल्टे फेरे पनि अमृताले कहिल्यै आफ्नो आजको बिस्तारित सीमारेखा के हो भन्ने जान्न खोजिन, बरु आफ्नो धरातल भनेको आमाले सिकाएकै अनुसारको संसार हो भन्ने सपनाभित्रै आफुलाई हराइ । यही नै तुस थियो उसको मनमा ! किन उसले समयमै आफ्नै चिनारी आफ्नै पहिचान राख्न चाहिन?
अहिले अनुस्काले पनि उसलाई त्यसै भन्ने गर्छे— “आमा ! तपाईंको उमेर पनि भयो धेरै दुःख गर्नुभयो अहिलेसम्म ! अब आनन्दसँग बस्नुस् न !” आफ्नी छोरीले मायालु भाकामा दिएको यस्तो अभिव्यक्ति भए पनि अमृतालाई कता कता च्वास्स घोच्ने गर्छ । सतीशले पनि त्यसै भन्थ्यो । एउटा युग बित्दा पनि अमृताको स्थिति जहीँको त्यहीँ थियो— घर गृहस्थी, भात भान्छा, किनमेल र अरू सामाजिक व्यवहार ! सतीश बाँचुञ्जेल ऊ झपक्क गहनाले लादिएकी हुन्थी, शृङ्गारले उसको भौतिक देह धपक्क बलेको हुन्थ्यो।
“आबुई ! भाउज्यूले कसरी मेन्टेन गर्नुभाको ? आफ्नो त…” उसका नन्दहरू जिस्काउने गर्थे । तर त्योभन्दा भित्र अर्थात् अमृताको मनमा के थियो उनीहरू कहिल्यै सोच्दैनथे । सतीश त झन् सँधै थाकेर घर फर्केपछि छेड्ने गर्थ्यो — “आज भुतुक्कै भइयो कामको चटारोले ! तिम्लाई जस्तो आनन्द भए पो हगि अमु ?” “भनेको त हो नि ! मलाई पनि काम सिकाएको भए अहिले म पनि सघाउँथेँ नि !” मनमा धेरै नै बिझेको बेला अमृता यतिसम्म भन्ने गर्थी । हुन त अरूले हेर्दा त केही नगरी यसरी जीवनभर बस्न पाउनु नै सौभाग्य होला, तर अमृताको मन भने सँधै नै आफ्नो अस्तित्व नै नभएको हो कि भन्ने पीडामा हुने गर्थ्यो । तैपनि अमृता आफ्नो आँसुलाई परेलीमै बग्न दिन्नथी— आफ्नी आमाले दिएको संस्कारलाई सम्झेर !
सतीशको मृत्युपछि अमृताको मनको पीडा झन् बल्झेको थियो । “दाइले सात जुनीलाई पुग्ने सम्पति कमाइदिएकै छ, के भो र !” भन्ने नन्दहरूको तीखो प्रहारले उसको मन चिराचिरा पर्थ्यो । उसले सँधै आत्मनिर्भर बन्न चाहेकी थिई, तर उसको संस्कार र समयले पनि उसलाई सतीशकै भर परेर बाँच्नुपर्ने बनाइदियो । अहिले त उमेरले डाँडा काटिसकेको छ, मनमा इच्छा भएर पनि उसमा सामर्थ्य छैन । तर पनि ऊ अनुस्काले सतीशले भनेझैँ— “किन केही गर्नुपर्यो? आनन्दसँग बसे भइहाल्यो नि !” भनेको सुन्न चाहन्नथी।
अमृता हर्नको आवाजले झसङ्ग हुन्छे । कतिबेला पाँच बजिसकेछ ! अनुस्का घरभित्र छिरेकी थिर्र्ई । ऊ यसो उठ्न पाएकी पनि थिइन । “आमा ! म त थकाइले भुतुक्क भएँ” भन्दै ब्याग सोफामा फ्याँकेर ऊ अमृताको काखमा लमतन्न परी । अमृताले त्यसपछि सबैकुरा बिर्सी र छोरीको कपाल मुसार्नथाली ।
“आमालाई जस्तो मज्जा भए पो हगि ?”
अमृताको मुटु हजार सियोले घोचे जस्तो भयो । तैपनि उसले भनी—
“हो छोरी, मेरो भाग्यै त्यस्तो !”

भाद्र १०, २०६६
भिमनिधी मार्ग, काठमाडौं