Anwika Giri – Bepatta

आन्विका गिरी – बेपत्ता
(Source of this story: हिमाल खबरपत्रिका)

उसको एउटा तस्बिर पनि थिएन। म कहिलेकाहीँ उसको बाक्लो आँखीभौं सम्झ्न्थें र त्यसै त्यसै गल्थें। उसलाई आफ्नो आँखीभौं त्यतिविधि बाक्लो भएकोमा सारै पीर थियो। आमाको, बुबाको, मेरो, काकाको कसैको पनि आँखीभांै त्यस्तो थिएन। हजुरबुबाको पो थियो कि? ऊ आमाबुबा दुवैलाई कचकच गरिरहन्थ्यो। अब तँलाई कोही केटीले बिहे गर्दैनन्, म उसलाई चिढ्याइरहन्थेँ। शुरुमा ऊ रुन्थ्यो, पछि-पछि त यही आँखीभौं देखेर ज्यान फालेर आउने छन् भन्थ्यो। हामी मरी-मरी हाँस्थ्यौं। ऊ हाँसेको सम्झदा अहिले भक्कानो फुट्छ।

म एसएलसी परीक्षाको तयारीमा थिएँ। उसले भर्खर नौ कक्षा पास गरेको थियो। कसले बहकायो कुन्नि, एक दिन अचानक भन्यो, “बुर्जुवा शिक्षा बेकार हो।”

“कसले भन्यो तँलाई यस्तो वाहियात कुरा हँ?”

ऊ केही बोलेन। तर, मेरो परीक्षा सकिएको भोलिपल्ट आधा रातमा उठाएर बरण्डामा ल्यायो अनि भन्यो, “दिदी, तेरो एसएलसी बिग्रन्छ भनेर आजसम्म कुरिरहेको थिएँ। अब म क्रान्तिमा हिँडेँ।”

वैशाख यसै पनि गर्मी महिना। उसको कुराले मलाई लोथ बनायो। जूनको उज्यालोमा उसको अनुहार नियाल्न खोजेँ, बाक्लो आँखीभौं मुनि निख्खर कालो आँखा चम्किएको थियो। मैले उसको हात समाएँ। उसले झोला भिरिसकेको रहेछ। तैपनि, सोधेँ, “के भनेको?”

“दिदी, देशलाई हाम्रो खाँचो छ”, ऊ मान्नेवाला कहाँ थियो र!

ऊ अचानक मेरोसामु यसरी प्रस्तुत भयो कि मैले केही भन्नै सकिनँ। यसलाई कसरी सम्झउँ भनेर सोच्दासोच्दै ऊ आमाबुबाको ख्याल गर्नू भनेर आँगनमा झ्रिसकेको थियो।

त्यस दिनबाट म राम्ररी निदाउन सकेकी छैन।

चारजनाको सानो परिवार। बुबा-आमा आफ्नै खेतबारीमा काम गर्नुहुन्थ्यो। के हो शोषण, के हो भेदभाव, के हो वर्गीय विभेद थाह भएन। आमा चाहनुहुन्थ्यो, म नर्स बनूँ। ऊ पनि इन्जिनियर हुने कुरा गर्थ्यो। बुबाले त्यस्तो केही भन्नुभएको थिएन। अचानक उसको दिमागमा देशका लागि लड्ने कुरा कहाँबाट आयो मैले कसरी थाहा पाउनु? तर, आमाबुबालाई ममाथि शङ्का भयो।

बिहान आमाले उसलाई धेरै पटक बोलाउनुभयो। उसलाई चिया खुब मन पर्थ्यो। आमा निकैबेर कराएपछि मैले भनें, “अब जति बोलाए पनि भाइ आउँदैन, राति नै घर छाडिसक्यो।”

आमाबुबालाई पत्यार लागेन। केही समयपछि मध्यरातमा ऊ आफैँ आएपछि मात्र पत्याउनुभयो। मध्यरातमा पनि आमाले पहिला चिया नै पकाउनुभो। दुब्लाएर हड्डी मात्र बाँकी थियो। मैले उसलाई धेरैबेर हेर्न सकिनँ। आमाछोरा भान्छामा धेरैबेर कुरा गरिरहे। म आफ्नो कोठामा चुपचाप बसिरहेँ।

“आजभोलि तेरो खुट्टा दुख्दैन?” आफैँ आएर सोध्यो। म उसलाई खुट्टा दुख्यो भनेर मिच्न लगाइरहन्थेँ। कहिलेकाहीँ त रोएपछि मात्र पत्याउँथ्यो।

“आजभोलि मुटु दुख्छ” म भक्कानिएँ।

उसले मेरो खुट्टा मिच्न थाल्यो।

“दिदी, हाम्रो देशको बेहाल छ। हामीले लड्नैपर्छ। एकदिन जितेरै आउँछु।”

उसका आँसु मेरा खुट्टामा झ्रे। बुबाले भोलिपल्ट घरमा भएको दशहजार चन्दा दिएर पठाएँ भन्नुभो। त्यसपछि उसलाई देखेको छैन।

सङ्कटकाल लागेको एक सातामा सेनाले हाम्रो घरमा छापा मार्‍यो। म फुपूको घर गएकी थिएँ। भाइको सबै फोटो लगेछ। कति न थियो र फोटो! उसले र मैले जम्माजम्मी दुईपटक स्टुडियो गएर खिचेका थियौं। त्यो पनि सेनाले लगेपछि सम्झ्नलाई उसको आँखीभौं मात्र बाँकी रह्यो।

करिब एक वर्षसम्म उसको चिठी आइरह्यो। पछिल्लो चिठीमा पश्चिम पहाडलाई कार्यक्षेत्र बनाएको लेखेको थियो। आमाबुबाका आँखा सुकिसकेका थिए। हरेक पल्ट चिठी पढेर सुनाउँदा म गल्थेँ, आमालाई हेर्न सक्दिनथेँ। शुरुमा त आमा यसरी भक्कानिएर रुनुहुन्थ्यो कि घरमा म चिठी पढ्नै सक्तिनथेँ। घरपछाडिको कागतीको झयाङमा आमाछोरी अँगालो हालेर रुन्थ्यौँ। पछि आमा रुन छाड्नुभएको थियो। बुबा चिठी पढ्दापढ्दै मेरो कपाल मुसारेर बरर्र आँसु झर्नुहुन्थ्यो। अनि म झन जोडले रुन्थेँ। पछि बुबा पनि रुन छाड्नुभो। बुबाआमा मलाई देखाएर रुन छाड्नुभो।

उसले पाउने नपाउने टुङ्गो नभए पनि एकपटक घर आउन भन्दै म चिठी लेखिरहन्थेँ। एक-दुई वटा उसले पाएको पनि थियो। ऊ आउँछु, आउँछु भनेर लेख्थ्यो। तर, लेख्यो मात्र आएन। उसका साथीहरू “कमरेडलाई पश्चिम फापेको छ, मोटाउनुभएको छ” भन्थे। म मुश्किलले पत्याउँथे। आमा कहिल्यै पत्याउनुहुन्नथ्यो।

“घरमा मैले नै पकाएर ख्वाउँदा त लिखुरे थियो” आमा सप्कोले आँसु पुछ्दै भन्नुहुन्थ्यो, “मधेशको मान्छे पहाडमा कसरी बसेको होला!” बर्खामा पहाडमा हिँड्न नजानेर ऊ कति लड्यो होला भन्ने चिन्ता आमा गर्नुहुन्थ्यो।

मैले चिठीमा उसलाई फोटो पठाइदिन भनेकी थिएँ। तर, त्यसपछि उसको कुनै चिठी आएन। माघको एकदिन भात खान आएको केटाले भाइ पक्राउ परेको सुनाएर गयो। कुहिरो लागेको त्यो दिन म कागतीको झयाङमा गएर बेस्सरी रोएँ। अब भाइ ठीकै छ भनेर आमाबुबालाई ढाँट्न सक्ने स्थिति थिएन। चैतको एक बिहान मैले कुरा खोलेँ। त्यो दिन आमा रोएको म कसैगरे पनि बिर्सन सक्दिनँ। उहाँका आँखा यसरी फाटेका थिए मानौं त्यो अब सधैँ त्यसैगरी खुला रहन्छ।

घरमा आउनेहरू सेनाले धेरैलाई पक्राउ गरेर मारेको सुनाउँथे। अब मैले पार्टीमा लागेर बदला लिनुपर्ने उनीहरूको भनाइ हुन्थ्यो। बेपत्ता हुनेहरूको सूचीमा मेरो भाइ मात्र थिएन। आफन्तहरू खोजेका खोज्यै थिए। फेला परेको एउटा पनि समाचार आएको थिएन। घरमा आउने केटाहरू पार्टीले खोजी राखेको छ भन्थे। उसलाई पार्टीले कुनै दिन अवश्य भेट्टाउनेेछ भन्ने आशा आमाबुबामा थियो।

पत्रपत्रिकामा भैरवनाथ गणको कुरा आउन थालेपछि आमाबुबालाई काठमाडौं गएर खोजे भाइ भेटिन्छ भन्ने लाग्न थाल्यो। उहाँहरू ऊ मरेकै भए पनि थाहा पाउन चाहनुहुन्थ्यो। म पनि थाहा पाउन चाहन्थेँ, तर मरेको होइन, बाँचेको। अनि उसको कान समातेर भन्नेथेँ, “किन यसरी रुवाइस्?”

पार्टी पनि खुल्ला भइसकेकाले अब पक्कै खोज्छ भन्ने आमालाई लागेको थियो। हाम्रामा भात खान आउने पार्टीका मान्छेहरू भने बिस्तारै हराउँदै गए। आमा तीमध्ये कसैको साथमा मलाई भाइ खोज्न काठमाडौं पठाउने विचारमा हुनुहुन्थ्यो। कोही नभए पनि आखिरमा आमाको मन राख्न म काठमाडौं आएँ।

भाइको चिठीमा पार्टीले क्रान्ति सफल भएपछि बलिदान गर्ने कार्यकर्तालाई सम्मान गर्नेछ भनेर लेखिएको हुन्थ्यो। तर, क्रान्ति अधुरै हुँदा खुल्ला भएकाले होला पार्टीले आफ्ना बेपत्ता कार्यकर्ता खोजेको थिएन। एकदिन धेरै किचकिच गरेपछि मलाई बेपत्ताहरूको सूचीमा कमरेड आरोहणको नाम देखाइयो। १९० नम्बरमा रहेको भाइको नाम मैले यसरी छोएँ मानौं म उसको कपाल मुसार्दैछु।

पार्टी कार्यालय गएपिच्छे मलाई कुन कमिटीको भनेर सोधिन्थ्यो। तर, म पार्टीमै थिइनँ। पार्टीमा किन भइनँ भन्ने कुरा आजसम्म आफैँले बुझन सकिनँ। पार्टीमा नभए पनि म अन्याय, असमानता, भ्रष्टाचारको पक्षमा भने थिइनँ। तर, पार्टीलाई पार्टीकै सदस्य हुनु जरुरी थियो।

पार्टी सरकारमा गएपछि आमा निकै आशावादी हुनुभयो। मलाई पनि अचानक आश पलाएर आयो। आखिर विनोद पो मेरो भाइ थियो, कमरेड आरोहण त पार्टीकै कार्यकर्ता थियो। बेपत्ता भएको पनि कमरेड आरोहण नै थियो।
पार्टीलाई समय लाग्छ भनेर म दुई महिनापछि त्यहाँ जाँदा फेरि तिनै जुँगावाला कमरेड शिवसँग भेट भयो। उनी पत्रिका पढ्दैथिए।

“खोज्दैछौँ”, उनले मतिर नहेरी भने।

“हराएको पाँच वर्ष भयो, कहिलेसम्म खोजिरहनुहुन्छ?”

“पार्टी भर्खर सत्तामा आएको छ”, उनले पत्रिका बन्द गरे, “चिन्ता नगर्नुस्।”

मैले चिन्ता नगर्ने प्रयत्न धेरै गरिसकेकी थिएँ। पार्टी कार्यालय जान्न भन्ने पनि सोचेकी थिएँ। तर कहाँ जाउँ्क? आखिर भाइ त्यही पार्टीको कार्यकर्ता थियो। केही दिनपछि फेरि गएँ।

“पार्टीको अरू पनि काम हुन्छ”, कमरेड शिव झोक्किए।

“के के काम छ पार्टीको?” म पनि झोक्किएँ।

“को हो तपाईं?”

“आज तपाईं यहाँ बसेर जुन सास फेरिरहनुभएको छ, त्यसका लागि मेरो भाइ लडेको छ।”

“तपाईं त लड्नुभएन नि!”

“म पनि हराएकी भए आज मेरो भाइको पक्षमा को लड्थ्यो?”

“पार्टी छ।”

“कहाँ छ पार्टी?” मैले सोधेँ, “सिंहदरबार, बालुवाटर वा लैनचोरमा?”

“चुप लाग्नुस्”, उनी चर्किए, “तपाईंको काम छैन?”

“छ, धेरै ठूलो काम छ”, म औंलो ठड्याउँदै गर्जिएँ, “बेपत्ता कार्यकर्ता नखोजेर सत्तामा रम्ने तपाईंहरू सबलाई लाइन लगाएर गोली हान्न बाँकी छ।”

म यसरी गर्जिएँ कि आफ्नो गर्जनले आफैँ कामेकी थिएँ। कार्यालयमा भएका सबै एकछिन स्तब्ध भए। त्यसपछि मलाई बाहिर निकालियो।

आमालाई यी सब बेहोराका साथ लेखेँ, “यो शहरमा आलुको त कुरै नगरौं, भिन्डी पनि छोई नसक्नु छ। साग पनि उस्तै छ। गाडीका धुवाँले मलाई कहिल्यै सञ्चो गरेन। म यहाँ बस्न सक्दिनँ। भाइको अन्तिम संस्कार गरौं।”

आमाले काक्रो, भिन्डी, सागसँगै कसलाई हो लेखाएर एउटा चिठी पनि पठाउनुभएछ, “केही दिनलाई पुग्ने तरकारी पठाइदिएकी छु। शहर महँगो छ, तर त्यही महँगो शहरले मेरो छोरा, तेरो भाइ जिउँदो वा मरेको के छ भन्न सक्छ। तँ त्यो जवाफ नलिइकन फर्कने कुरा नगर। अलि दिन धुवाँ निल, विस्तारै पचाउँछेस्। एकदिन पार्टीले पनि आफ्नो कार्यकर्ताबारे जवाफ नदिई धर पाउने छैन।”

म शहरको धुवाँ पचाउँदै विनोदलाई खोज्दैछु। पश्चिम पनि जाने निर्णय गरेकी छु जहाँबाट ऊ हराएको थियो। बूढा आमाबुबा पैसाको बन्दोबस्त गर्दै हुनुहुन्छ।

Shiva Sasmit – Ratyauli

गगनेको विवाह हुने भयो नि । एकाबिहानै पँधेरामा भुन्टीले कान्छीको कानैमा गएर खुसुक्क भनी ।

ए हो र कहिले कहाँ मलाई त पत्तै थिएन त । कान्छीले पनि उत्सुकतापूर्वक सोधनी गरी ।

यही चौविस गते हो रे कहाँ हो त्यो त मलाई पनि थाहा छैन । तर जे होस् बिहे त गर्ने नै भएछन् । प्रतिउत्तरमा भुन्टीले भनी ।

यत्तिकैमा रमा पनि गाग्री लिएर पानी भर्न टुप्लुक्क आइपुगी । खासखुस गरिरहेका भुन्टी र कान्छी हठात् चूप भए । चूप लाग्नुको कारण रमा गगनेकी भाउजु थिई ।

कुरो झिकेर रमाबाट सबै गुह्य कुरा दुहुने मनसायले होला सायद कान्छी प्याच्च बोली- ूरत्यौली त मज्जासँग खेल्न पाइने भो यसपाला । यो गाउँको यसवर्षको पहिलो बिहे ।

कसको रत्यौली नै आच्या…। अनभिज्ञता प्रकट गर्दै रमाले भनी ।

हेर न त्यहाँ स्वाङ पारेकी । बडो हामीलाई लुकाउन खोज्ने हो र कि खुसुक्कै दुलही भित्र्याउने सुर छ कि क्या हो रमा देवरको । यतिाजेल चुप भएकी भुन्टी कुरोको चुरो फेला पर्न थालेपछि खूब टाँठी भई ।

रमा आश्चर्यमा परी । पर्नु पनि स्वाभाविकै थियो । हिजो बेलुका मात्र केटीको घरबाट टीकाटाला गरेर फर्किएका हुन् उसका देवर र लोग्ने । उनीहरु केटी माग्न गएको पनि कसैलाई पत्तै थिएन । बिहेको कुरो न हो भुसको आगोझैं फैलन्छ । हुन त एकदिन थाहा हुनुपर्ने कुरो हो तर पनि थोरै वास्तविकतामा धेरै अस्वाभाविक कुराहरु थपेर कानकान फुक्दै हिँड्छन् मान्छेहरु ।

हो हो हिजो बेलुका मात्र बिहे आँटेर आए चौबिस गतेलाई । कसले भन्याहोला यिनीहरुलाई । घरमा थाहा नहुँदै गाउँलेलाई पत्तो । यस्तो पनि हुने । रमालाई वास्तविक कुरो खोल्न करै लाग्यो । त्यसबेलासम्म पँधेरामा सात, आठजना आइमाइहरु जम्मा भइसकेका थिए । रमाको कुरो सुनेर सबै हाँसे । आआफ्ना गाग्री भरेर सबै घरतिर लागे ।

गाउँघरका महिलाहरुलाई त्यति फुस्रद हुँदैन । बिहान उठेदेखि बेलुकी सुत्नेबेलासम्म उनीहरु काममै व्यस्त हुन्छन् । खेतीपाती गोठधन्दा आदि गाउँलेहरुका जिउने साधनहरु हुन् । हाम्रो समाजमा व्यवस्था जति परिवर्तन हुन्छ तर अवस्था भने जहाँको तहीं रहन्छ । पुरुषको तुलनामा महिलाहरु नै काममा बढी जोतिन्छन् । उनीहरुलाई न कसैसँग बोल्ने फुस्रद हुन्छ न त कसैसँग भेटघाट गर्न नै । त्यसैले त महिलाहरुको महत्वपूर्ण कुराहरु गर्ने ठाउँ नै बनेको हुन्छ पँधेरो । एकाबिहानै पँधेरामा महिलाहरुको जमघट हुन्छ । किनभने घरको कामधन्दाको सुरुवात नै उनीहरुबाट हुनेगर्छ । त्यसैले त आज गगनेको बिवाहको कुरो त्यही पँधेराबाट चारदिशा फैलियो ।

बिबाह हुने नै भयो गगनेको । धुमधामसँगै हुने भयो । बाजा बजाएरै हुने भयो । जन्त जान पाइने भो भनेर गाउँका लोग्नेमान्छेहरु हौसिएका छन् रत्यौली खेल्न पाइने भो भनेर आइमाइहरुका खुट्टा भुईंमै छैनन् ।

सबैसँग हाँसी बोल्ने गगने । कसैसँग कलह र झगडा नगर्ने गगने । आपत परेका बेला अरुलाई मद्दत गर्न तम्सने गगने । इमान्दार गगने । सोझो लपनछपन नजानेको गगने । सबैको प्यारो गगने आँखामा राखे पनि नबिझाउने स्वभाव । त्यसैले त उसको बिहेले यति छिटै चर्चा पायो । उसको बिहेले गावैं उचालेको छ ।

ए ! यता सुन् त बिहे त रातीकै रहेछ नि । उही पँधेरामा उही एकाबिहानै गौंथलीले सुन्तलीलाई भनी ।

केटीको गाउँ अलि टाढा भएर रातमा गर्ने भएका हुन् रे क्या । दिनमा नभ्याउने भएर । सुन्तलीले आपुूले सुनेको कुरालाई ओकेली । अझ थप्दै गई- ूयसपालाको रत्यौली त बल्ल रत्यौली जस्तो हुने भो । रातमा कसैले पनि देख्दैन म त लुठो भएर नाच्ने हो ।

ऊ कुत्कुतिएको देखेर त्यहाँ भएका अरु पनि गलल हाँसे ।

यस्तै पँधेरीबैठक हुँदाहुँदै बिहेको दिन पनि आयो । जीवनको त्यो महत्वपूर्ण घडीमा गगने पनि मख्ख छ । उसको घरमा बिहेको धूमधाम तयार छ । इष्टमित्र पाहुनापाछा सबै आइसकेका छन् ।

बिहेको दिन गगने सुटपाइन्ट र टाइमा चिटिक्क सजियो । टाउकाको ढाका टोपी र खुट्टाका टल्कने छालाका जुत्ताले उसलाई झन् लोभलाग्दो बनाइदिए । गाउँका बूढापाका तन्नेरीहरुदेखि लिएर दशपन्ध्र वर्षसम्मका अल्लारे केटाहरु जन्त हिँडे । साना भुन्टाहरुलाई ुबाटो लामो छ ु भनेर प्रतिबन्ध गरियो । त्यसमा पनि रातको बिहे साना केटाकेटीहरुको जिम्मा पनि कसले लिने उता हिँड्नका लागि लौरीको भर लिनेहरु जान सक्ने कुरै भएन । आखिर पाचेबाजा र जन्तीहरुको बीचमा रहेर गगने दुलही लिन घरबाट प्रस्थान गर् यो ।

यता आइमाइहरु बल्ल फुक्का भए । जन्ती घरबाट अलि पर के पुगेका थिए आँगनमा जमघट शुरु हुन थाल्यो । बाबै नि ! एकछिनमा त आँगन खचाखच भयो । मादलको तालमा आइमाइहरु रत्यौली सुरु गर्न थाले ।

जति जति रात छिप्पिन थाल्यो आइमाइहरुको रत्यौलीको रौनक पनि त्यति नै चरम सीमामा पुग्न थाल्यो । आमै नि ! लाजशरम सबै माटामुनि गाडेर उन्मत्त हुन थाले आइमाइहरु । त्यो उनीहरुको पनि दोष थिएन । किनकि उनीहरु सँधैं स्वतन्त्र छैनन् । आफ्ना इच्छा र चाहनाहरु सामाजिक संस्कारभित्र थुनिएर रहेका छन् । पशुलाई त बाँधेर राखिराख्दा अनि कुनैबेला फुकाउँदा त्यसलाई थाम्न गाह्रो हुन्छ । उनीहरु त मानिसहरु हुन् । समाजले र परिवारले उनीहरुलाई बाँधेर राखिराखेको फल हो त्यो । जे होस् रत्यौलीको माध्यमबाट आफ्ना भावहरु उनीहरु पोखिरहेका छन् ।

कान्छी भुन्टी सुन्तली गौंथली देखि गाउँका सबै सासुबुहारी चेलीबेटी लगायत घरैका सासुबुहारी रत्यौलीमा खूब मात्तिन थाले । चकमन्न रातको त्यो समयमा डरत्रास केही थिएन । केही आइमाइहरु आफ्ना पतिदेवका दौरासुरुवाल कमिज इष्टकोट जे मिल्छन् त्यही पहिरिएर लुठो बनेर लोग्नेमान्छेको नक्कल गरिरहेका छन् । बसेका आइमाइहरुलाई एकएक उठाएर आफ्नो जोडी बनाएर नचाउँदै गरेका छन् । लाजसरम पचिसकेको छ । आफ्ना श्रीमानसँग हुने कि्रयाकलापहरुको नक्कली प्रदर्शन भइ नै रहेका छन् ।

रमा आफ्नो पतिको सर्ट पाइन्टमा लुठो बनेर नाचिरहेकी थिइ । ऊ सुन्दर थिई । बाटुलो अनुहार बदामरुपी आँखा सुडोल शरीर गहुँगोरी कालो र लामो केश चिटिक्कै परेकी । पतिदेवका कपडा निकै सुहाएको थियो उसलाई । त्यत्तिकैमा एउटी आइमाइले उसलाई पाखुरामा च्याप्प समाती अनि उसको गालामा च्वाप्प म्वाइ खाइ । रमा पनि के कम थिई र ऊ त झन् पुरुष बनेकी थिई मर्दको संज्ञा पाएको पुरुष । त्यस आइमाइको गालैमा टोकिदिई । आइमाइ झन् उत्तेजित भई । रमालाई तानेर पिँढीतिर उकाली । आँगनका लुठा र आइमाइहरु आगनमै रौसिइरहे । मानौं अन्धकार रातले सबैलाई निलिरह्यो । यता आइमाइले रमालाई जाँतो भएको कुनामा पुर् याई । दुबै मात्तिएका थिए । आइमाइ तल परी रमा माथि । एकैछिनमा रमा तल आइमाइ माथि अनि त्यसपछि…।

रमा त्यसबेला मात्र झसङ्ग भई । जुनबेला उसले वास्तविक रुपमै पुरुषको संसर्गको अनुभव गरी । ऊ खग्रास भई । झटपट उठेर हेरी आइमाइ त्यहाँ थिइन ।

हँ के भयो यस्तो को हो त्यो आइमाइरुपी पुरुष रमा खूब आत्तिई । बल्ल ऊ पूर्ण रुपमा सचेत भई । तर के गर्नु रत्यौलीले उसको नारी अस्तित्वलाई लुटिसकेको थियो ।

म्याग्दी