Din Man Gurmachhan – Tyo Raat

दिनमान गुर्मछान ‘दिगु’ – त्यो रात
(Source: मधुपर्क २०६७ असोज)

रात छिप्पिदो थियो सायद चुक घोप्टिएझैँ गरी । तपाईंको कोलाहलमय सहरमा वल्ल ध्वनि प्रदूषणको मत्थरताले स्थान पाउँदै थियो होला । हो त्यहीँ समय एकादेशको कुनै सहरको एक कुटीमा मलाई छिटो पुग्नु थियो ।

सडक अलपत्र त्यही भुइँमा असरल्ल अस्तव्यस्त लडिरहेको थियो । त्यही माथि म आफूलाई बिना सङ्कोच डोर्‍याइरहेको थिएँ । सडक नापिरहेको थिएँ या जिन्दगीको नाप लिँदै छोट्याइरहेको थिएँ । जे होस् यो निष्पट अँध्यारोमा गन्तव्यतिरै पाइला बढेको थियो । गल्लीका कुकुरहरू घरिघरि रातको चकमन्नता चिर्दै भुक्ने गर्थे । कुनै बेला त्यसको भुकाइ डरलाग्दो पनि हुन्थ्यो । लाग्थ्यो सुतिरहेका आत्माहरूलाई ब्यूँझाइरहेको छ, केही भनिरहेको छ-कति सुत्छौ, अब त उठ ।

मन ढक्क भएर अडियो, श्वास फुलेर आयो । अचानक डरले डेरा जमाइसकेकोझँै लाग्यो । मुटुले ठाउँ छोडिसकेको थियो । एउटा कालो छायाँ आफ्नै अगाडिबाट हिँडेको देखियो । पोथ्राइलो झाडीबाट निस्किएको छायाँ छेउ हुँदै मध्यसडकमा फुत्त हिँडेको आफ्नै आँखाले देख्दा गोडा लगलग कामेको थाहा पाएँ ।

म जहाँको त्यहीँ अडिएँ ।

”थुक्क !” आफैँलाई हकार्न मन लाग्यो । आफँैप्रति हाँसो पनि उठ्यो । जाबो एउटा कुकुरदेखि पनि डराउने त लाछी, डरछेरुवा रहेछस्, मनमनै आफँैलाई गाली गरेँ । कुकुरको छायाँ हिँडेको थियो त्यो, पल्लो पट्टीबाट प्रकाशको कारणले छायाँ सडकमा परेको थियो ।

मनमनै हाँसो पनि उठ्यो । खुल्ला आकाश, शान्त वातावरण र सडकमा एक्लो यात्री म मात्र थिएँ । अलिकति थियो त शरीरमा अलकोहलको धङधङी ।

आफँैलाई गिज्याउँदै अँध्यारोमा पाइला अघि सार्दै रहेँ । परपर कुनै घरको सजावट र उज्यालो चहक पनि देखिन्थ्यो । त्यो रात्रि जीवनको समय कटाउने थलो हो भन्न सकिन्थ्यो । त्यहाँबाट प्रतिध्वनित सङ्गीतका धुन चर्को आवाजमा निस्किएको हुनुपर्छ, यहाँसम्म आउँदा मधुरो सुनिन्थ्यो । अर्धनग्न होर्डिङबोर्ड यहाँबाट पनि प्रस्टैसित नियाल्न सकिन्थ्यो ।

रात्रि यौन जीवनको रमाइलो क्षण त्यहीँ बिताउन पाइन्छ । काठमाडौँको रात्रि जीवन अचेल बडो सहज भएको छ ।

दिउँसोको समय बितिसकेपछि हामी साँझ पर्ने बेलामा भेट्टिएका थियौँ । हामीले मिटिङप्वाइन्ट घण्टाघरको जामे मार्केटमा रहेको पुस्तक पसललाई बनाएका थियौँ । -तपाईंलाई सम्भिmन गाह्रो भएन होला भन्ने मलाई लागेको छ, किनकि तपाई पनि कहिलेकाहीँ त्यहीँ पुस्तक पसलमा साहित्यिक कृति किन्दै गरेको कसैले त देखेकै होला ।) हो त्यहीँ हाम्रो भेट सधैँझैँ भएको थियो । मौसम हिमालयनको विरानो जङ्गलको एकान्तकुनामा मन्द चिसो भएजस्तै थियो । भर्खरै पानी परेर शान्त थियो । आकाश कुनै नवयौवनाको गोरो छात्ती खुल्ला भएझैँ विल्कुल नाङ्गो थियो । चिसोले शरीरको अङ्गअङ्गको नाप लिइरहेको जस्तो लाग्थ्यो ।

हामी बागबजारको एउटा होटलको कुनामा थियौँ । एकान्तताले यहाँ हामीलाई साथ दिइरहेको थियो ।

“चिसोमा जीउ तताउने काम यो वाहियात भूलमात्र हो । शरीरको तातोजस्तो त्यो मजा यसमा कहाँ ।” कमलले टेबलमा राखेको गिलास उठाउँदै भन्यो ।

कमलराज यौनका वाहियात कुरा उसको मुखबाट ओकल्दै थियो । यस्तो लाग्थ्यो ऊ रात्रि जीवन र स्त्रीका बारेमा सम्पूर्ण ज्ञान राख्दछ । मलाई शब्द-संयोजनमा निर्भिक राईको कविता छापिएको याद यति बेला आयो । यौन जति गोप्य राखियो त्यति नै खुला र भावनात्मक हुन्छ भन्ने धेय त्यस कविताको थियो । टुँडालको वास्तविकताबाट जो कोही जान्दछ त्यहाँ खुलापन छ र त त्यहाँ अश्लीलता छैन ।

जो कोही हेर्न सक्छन् । पढ्न सक्छन् ।

“यी आवश्यक कुरा होइनन्” विजयले कुरा अन्तै मोड्न चाहे । उसले जीवन र यथार्थता भोग्नु र झेल्नुमा अन्तर रहेका कुरा गरे । हिजोआजका प्रयोगसम्बन्धी धेरै जानकारी गराए ।

“हो, प्रयोग आवश्यक छ । प्रयोग यौनमा पनि आवश्यक छ । आजको दिनमा” कमल ऊर्जा थप्दै गिलासमा स्यानमिगल भर्दै थियो । हामी निक्कैबेरसम्म शान्त वातावरणको होटलको एक कुनामा गफिरहेका थियौं ।

त्यसबेला मलाई विजयको विजेता कथाको मुख्य पात्रको याद आइरहेको थियो । उसले भोग्नु परेको कुण्ठित यौन जीवनको पनि दृश्य आँखाभरि नाचिरहेको भान हुन्थ्यो ।

“च्याटमा यौन क्रियाकलाप गर्छन् हिजो आज” कमल मादकतामा हल्लिरहेको थियो । भन्दै थियो- “नयाँ प्रविधिको फाइदा र प्रयोग हो यो ।”

“म त भन्छु यौन शोषणको अर्को रूप र प्रयोग हो । स्त्रीहरू अब यसरी पनि शोषित र पीडित हुनेछन् । पुरुषले फाइदा लिइरहेको उनीहरूले पत्तो नै पाउँदैनन्” विजयले नयाँ थप कुरा भनिरहँदा मलाई विश्वप्रसिद्ध सुन्दरी क्लियोपेट्राको सम्झना भइरहेको थियो । जसले आफ्नो यौवनको जालमा धेरैलाई फसाएकी थिई र त्यसै यौवनको उन्मादले उसलाई डसेको थियो ।

होटलबाट निस्किँदा बाहिर अन्धकारले प्रभुत्व जमाउने सुरसार गरिसकेको थियो । बत्तीको उज्यालो कतैकतै थियो । सबै पसलहरू बन्द थिए । धेरैबेर बसेको थाहा पायौँ । अलकोहल शरीरको नशानशामा दौडिरहेको थियो ।

हामी छुट्टिएर आ-आफ्नो गुँड खोज्दै बाटो नाप्न लागिपर्‍यौँ ।

अन्धकार र सुनसान गल्ली हुँदै म आफ्नो कुटीको सामुन्ने पुगेँ । ढोका बन्द थियो । ढोकाले मलाई एकोहोरो हेरिरहेथ्यो । म भने यतिबेला भित्र पसिसकेको थिएँ । ढोका खोल्नै परेन ।

भित्र पस्नासाथ शरीर अनौठो किसिमले हल्का भएको महसुस हुन्थ्यो । खाना खाने मन भएन । कोठामा मधुरो उज्यालो फैलिएको थियो । शून्यता यहाँ व्याप्त थियो । यस घरमा म एक्लो छुजस्तो भान भइरहेको थियो । झ्यालहरू सबै ड्याम्मडुम्म बन्द थिए तर झ्याल बाहिरको दृश्य भने म देखिरहेको थिएँ । कस्तो आश्चर्य थियो भने बाहिरको अन्धकार सम्पूर्ण मेरो आँखा अघिल्तिर छर्लङ्ग थियो ।

अघिसम्म थकान अघ्घोरै लागेको थियो, जुन अहिले बिल्कुलै छैन । यो कस्तो जादू थियो ।

“आज मलाई के भएको छ” आफैँलाई मनभित्रै प्रश्न गर्छु । जवाफ केही छैन । म को हूँ भन्ने पनि बिर्सन खोजेझैँ हुन्छ ।

ओहो ! म त आखिर म नै हूँ । -सोच्छु ।

टेबलमा तस्बिरहरू ठडिएका छन् । मेरो आफ्नै तस्बिर छ, जहाँ एउटी सुन्दरी केटीको पनि फोटो छ । जुन मेरी श्रीमतीको हुनुपर्छ ।

“मलाई पर्खिरहेकी होली” अचानक केही याद आएझैँ भयो । वास्तवमा म मेरै घरभित्र थिएँ, त्यसैले कुनै द्विविधा थिएन मलाई आफ्नो शयनकक्षसम्म पुग्न । म आफ्नो घर यसैका लागि त्यति लामो बाटो काटेर आएको थिएँ ।

आफ्नो कोठामा पुग्नुअघि लगाइराखेको कपडा खोल्न मन लागेको थियो । सधैँ लुगा फुकालेर भित्ताको हृयाङ्गरमा झुण्ड्याउने गरेको थिएँ । कस्तो अचम्म त्यहाँ लुगा पहिलेदेखि नै झुण्डिएको थियो ।

त्यो मैले अहिले लगाइराखेकै लुगा झुण्डिरहेको थियो । मलाई चक्कर आएजस्तै भयो । मैले केही बुझ्न सकिरहेको थिइन ।

घटघटी पानी पिएँ, टेबलमा रहेको गिलास उठाएर पिएको थिएँ । त्यो वास्तवमा पानी थिएन ।

अलकोहलले ज्यादै नै लागेको महसुस हुन्थ्यो । म सरासर आफ्नो कोठाको ढोकामा पुगेँ । म लगत्तै कोठाभित्र पुगेँ । ढोका मैले खोल्नै परेन । त्यहाँ एकदमै मधुरो प्रकाश फैलिएको थियो । राति सधैँ सुत्दा रातो मधुरो बत्ती बाल्ने गथ्यौर्ं । त्यसैले पुष्पाले सुत्नु अघि नै यो बत्ती बालेर सुतेको हुनुपर्छ, मलाई यस्तै लाग्यो ।

यतिबेला म गञ्जी र अन्डरवेयरमा मात्र छु ।

तपाईं अनुमान लगाउन सक्नुहुन्छ । एउटा लोग्नेमान्छे आफ्नो कोठामा सुत्न गइरहेको छ, उसको हालत कस्तो हुन्छ ।

तर, यतिबेला म आश्चर्यको चरम विन्दुमा थिएँ । म, ..म यो के देखिरहेको थिएँ । मेरी श्रीमती पुष्पा जो अर्को पुरुषसित थिई । पलङमा रहेको ओछ्यान अहिले अस्तव्यस्त थियो । लाग्थ्यो यहाँ केहीबेर अघिमात्र ठूलै युद्ध मच्चिएको थियो ।

पुष्पाको शरीरमाथिको लुगाले उसका सम्पूर्ण अङ्गको सुरक्षा गरेको थिएन । उनी विलकुल अर्धनग्न देखिन्थिन । छातीको आधिभाग उदाङ्गो थियो । हिमालको उच्चतामा हिउँको उज्यालोजस्तो देखिन्थ्यो । केशराशी असरल्ल फिजिएको थियो जस्तो घना जङ्गलको बढ्दो विकराल झैं ।

म उसैलाई हेरिरहेको थिएँ । उसको त्यो मादक अङ्गलाई नियालिरहेको थिएँ । जसले मलाई उहिले मादकता दिन्थ्यो तर आज ममा त्यस्तो केही थिएन । यतिबेला मलाई विजय मल्लको कालो चश्माको याद आइरहेको थियो । त्यो कालो चश्मा उनले लगाएझैँ गरी म कसरी लगाउन सक्थे ?

अचानक मेरो नेत्र विजुली चम्किएसरी कुनै भ्रमको शिकार भएझैँ देखिन्थ्यो । म चुपचाप हेरिरहेको थिएँ । पलङछेउमै रहेको टेवलमा उभिएको प|mेमभित्रको मेरो फोटोले मलाई एकोहोरो घुरिरहेको थियो । म भने पलङमा मस्त मेरी पुष्पासँग सुतिरहेको भुसतिघ्रे शरीरलाई हेरिरहेको थिए । जुन मेरै शरीर थियो । अचम्म लाग्यो, मेरैसामु मेरो अर्को शरीर थकित भएर पसि्रएको थियो । यो कस्तो जादू थियो ।

म अलकोहलको धङधङीमा अचेत छु । म भ्रममा थिएँ कि जस्तो पनि लाग्यो । धेरै नजिकबाट एकोहोरो नियालेँ । वास्तवमा के भनौँ त्यो म नै थिएँ । होइन, मझैँ लाग्ने शरीर भने अवश्यक थियो । म त मनै थिएँ, जो आफ्नै प्रतिविम्बझैँ कुनै शरीर नियालिरहेको थियो ।

जाडोमा पनि गञ्जी र अन्डरवेयरमा मात्र थियो, त्यो मस्त सुतिरहेको शरीर । म आफैँ पनि यही अवस्थामा थिएँ । दुरुस्त देखिन्थ्यो । हे ! भगवान् यो कसरी हुनसक्छ- म अत्तालिन्छु । चिटचिट पसिना आउन थालेथ्यो ।

देख्छु, सिलिङ पङ्खा अघिसम्म बन्द देखिएको अहिले फनफनी नाचिरहेको छ । मधुरो रातो बत्ती हरियो, नीलो बलेको देखिन्छ । के भइरहेको छ थाहा पाउदिनँ ।

म एकपल्ट म झैँ लाग्ने शरीरलाई पुनः घुरेर अवलोकन गर्न खोजेझैँ गर्दै थिएँ । कोही अरू नै हो कि भन्ने उद्देश्यले हेरेको मात्र हुँ । अहँ त्यो म नै थिएँ । पिठ्यूको दाग मेरै थियो । म सोच्छु-त्यो कसरी हुनसक्छ ? फनक्क फर्किएर उभिएँ । मलाई अब त्यो हेरिरहन पटक्कै मन थिएन । पिँठ्यू त्यसतर्फ फर्काएर उभिरहेको थिएँ । यसबेला मेरो सामुन्नेमा भने एउटा विशाल ऐना अवश्य थियो । ऐनाले मलाई एकोहोरो घुरिरहेको थियो ।

केवल ऐना मात्र थियो । त्यहाँ मेरो प्रतिविम्ब पटक्कै देखिनँ । कस्तो आश्चर्य म ठीक ऐनाको अघिल्तिर उभिएर ऐनालाई हेरिरहेको थिएँ, ऐनाले मलाई हेरिरहेको लाग्थ्यो । ऐना कुनै भित्तोझैँ भयो, किनकि त्यहाँ म थिइँन ।

अब भने मैले बुझिसकेको थिएँ । ओछ्यानमा सुतिरहेको व्यक्ति किन म झैँ थियो । यो कोठा, ओछ्यान र घरको झझल्को मेरो मस्तिष्कमा सपनाझैं भयो । म त्यहाँबाट भाग्न चाहन्थे औडाहा भएर बेतोडले । त्यहाँबाट म कुदेँ । मेरो कुदाइ अचानक त्यही ऐनामा गएर ठोक्कियो ।

Ram Mani Dhungel – Awaaj Haru

राममणि ढुङ्गेल – आवाजहरु
(Source:मधुपर्क साउन, २०६७)

“सवितायै नमः” गाडीभित्रैबाट हामीले दुई हात जोडेर सूर्य भगवानलाई नमस्कार गर्‍यौँ । पूर्वबाट आगोको फिलिङ्गो जस्तै रातो डल्लो आकाशमा उकालो लाग्दै थियो । हामीलाई केही न्यानो महसुस हुँदै थियो, सूर्यको होइन गाडीभित्रको हिटरको । सूर्य पूर्व आकाशमा उकालो लाग्दै गर्दा हामी पश्चिमबाट पूर्वतिर हान्निँदै थियौँ । देवहरिजीले भन्नुभयो -“हामी आउँदाभन्दा जाडो निकै बढ्यो हगि !”

“हो” मैले सही थापेँ ।

हामी यात्रामा थियौँ र धनगढीबाट नेपालगञ्जका लागि रवाना भएका थियौँ । सूर्यको किरणले धरती चुम्नुपूर्व नै हामीले अतरिया छिचोलिसकेका थियौँ । ड्राइभर आफ्नो हातले स्टेरिङ्गमा चलाउँदै थियो र गोडाले एक्सिलेटर दबाउन व्यस्त थियो । लाग्दथ्यो, ऊ एक्सिलेटर थिच्ने माहिर खेलाडी हो, गाडीको गति देखाउने सियोले एक सयको अङ्क स्पर्स गरेको थियो । हामी बाहिरको दृश्य अवलोकनमा व्यस्त थियौँ । गाडीमा हामी तीन जना सवार थियौँ, देवहरिजी, म र ड्राइभर । देवहरिजी र म पछिल्लो सिटमा बसेका थियौँ ।

बाहिरको दृश्य हेर्दै देवहरिजीले

भन्नुभयो – “गोरुलाई खेत जोत्ने कार्यमा प्रयोग गरिँदैछ, जहीँतहीँ खेत जोत्न गोरु नै प्रयोग गरेको देखिन्छ, गोरुजस्तै गाईलाई प्रयोग गर्न मिल्छ कि मिल्दैन ? ”

“गाई नारेको मैले अहिलेसम्म देखेको र सुनेको छैन तर जताततै समानताको कुरा उठिरहको बेला यस्तो हुन पनि सक्छ” मैले जवाफ दिएँ ।

देवहरिजीले पुनः थप्नुभयो -“राँगोलाई नारेेर जोतेको थाहा छ तपाईंलाई ? ”

“गाडा तानेको चाहिँ थाहा छ, जोतेको चाहिँ थाहा छैन,” मैले भनेँ ।

ड्राइभरले प्रष्ट्यायोे – “राँगोलाई पनि जोत्न प्रयोग गर्न सकिन्छ ।”

“भैंसीलाई नि ?” देवहरिजीले पुनः प्रश्न राख्नुभयो । यस पटक ड्राइभरको उत्तरको प्रतीक्षामा म मौन बसेँ । ड्राइभरलाई पनि राम्रो जानकारी रहेनछ “देखेको छैन” मात्र भन्यो ।

देवहरिजीले पुनः अर्को प्रश्न राख्नुभयो – “एउटा गोरु र एउटा राँगो नारेर जोत्न मिल्छ ?” मैले “मिल्दैन” भनेँ । “किन ?” देवहरिजीले पुनः अर्को जिज्ञासा राख्नुभयो । “व्यालेन्स मिल्दैन” मैले यतिमात्र भनेँ र चुप लागेँ । “उत्रैउत्रै भयो भने त मिल्छ होला नि !” उहाँले पुनः अर्को जिज्ञासा तेस्र्याउनु भयो । “भेँडा भेँडासित बाख्रा बाख्रासित भन्ने उखानै छ नि” मैले उहाँको जिज्ञासा टुङ्ग्याउने आशयले भनेँ ।

“आइमाईले गोरु जोत्न हुँदैन भनेको

होइन ?” देवहरिजीले पुनः अर्को आशय राख्नुभयो । ड्राइभरले “हो” भन्यो । यसपालि मेरो बोल्ने पालो आएन ।

“ऊ त्यहाँ हेर्नोस् त” देवहरिजीले पर खेतमा देखाउनु भयो । हामीले हेर्‍यौँ । एउटी आइमाई हलो जोत्दै थिइन् ।

“स्वास्नी मानिसको शरीर कोमल हुन्छ, गोरु जोत्ने काम कष्टकर छ, गाह्रो काम कोमल शरीरबाट हुन सक्तैन । पुरुषको शरीर महिलाको दाँजोमा कडा हुन्छ, त्यसैले गोरु जोत्ने काम पुरुषबाट गरिनु पर्छ भनी हाम्रा पूर्वजहरूबाट नियम बनेको हो । आजको समानताको युगमा सक्नेले जे गरे पनि हुन्छ ।” मैले भनेँ ।

गाडीको गति चलिरहेको थियो । गाडी चलाउँदै ड्राइभर बोल्यो -“जोतिन्छ गोरु, गाई जोतिँदैन । गाडा तान्छ राँगो, भैंसीले तान्दैन । काटिन्छ खसी बोका, बाख्रा होइन । बलि दिइन्छ भाले, पोथी होइन । के यो पक्षपातपूर्ण छैन ?”।

“अचेल त्यस्तो कठोर नियम छैन

गुरुजी ! काठमाडौँमा प्रायः मम भैंसीको बन्छ, राँगोको होइन ।” मैले प्रतिकार गरेँ । उसले मानेन प्रतिवाद गर्‍यो- “झुक्याएर काट्ने अलग कुरा हो, खानेले राँगो सम्झेर खान्छ, भंैंसी सम्झेर खाँदैन । काट्ने कुरा गर्ने हो भने त काठमाडौँमा खसीको नाममा बूढी बाख्री पनि काटिन्छ तर भन्दा त खसी नै भन्छन् नि होइन र ?”

“समानताको सिद्धान्त अङ्गकिार गरेको होला” ठट्यौलो पारामा देवहरिजीले भन्नुभयो ।

तर ड्राइभरलाई अझै चित्त बुझेको रहेनछ, पुनः थप्यो –

“जहीँतहीँ नारी समानताको कुरा उठाइन्छ, समावेसीको कुरा उठाइन्छ, तर मार्ने काट्ने कुरामा किन कसैले समानता अथवा समावेसीको कुरा उठाउँदैन ? अब त ३३ प्रतिशत पोथी जनावर काटिनु पर्ने होइन ? छ/सात वटा खसी, राँगा काटिँदा तीन/चार वटा बाख्रा, भैँसी काटिनु पर्‍यो नि !”

ऊ बोल्न छोडेपछि मैले भनेँ -“कहाँको तथ्याङ्क पेस गर्दै हुनुहुन्छ

गुरुजी ? तपाइर्ंको घरको अथवा ससुराली

घरको ? त्यसो हो भने त तपाईंको तथ्याङ्क मिलेको होला, अन्यथा सहर बजार मात्र होइन, सहर बजारको हावा लागेका गाउँबस्तीहरूसमेतमा कुन जनावर काटिन्छ, कसलाई के थाहा ! म त भन्छु त्यहाँ ३३ प्रतिशत होइन ६७ प्रतिशत बाख्रा, पाठा र भैँसी काटिन्छन् र काट्ने काम सकेपछि लिङ्ग परिवर्तन गरिन्छ । परिवर्तनपछिको लिङ्ग तपाईं हेर्नुहुन्छ र स्त्रीलिङ्गीलाई पुलिङ्गी सम्झेर स्वाद लिएर आहार गर्नुहुन्छ ।”

ड्राइभर फेरि बोल्यो –

“तपाईंको कुरा गलत हो भनेर म भन्दिन सर ! तर कटु सत्यतर्फ पनि ध्यान दिनु उपयुक्त हुन्छ बाराको वरियारपुरमा २० हजार राँगा काटिए, एउटा भैंसी काटेको सुन्नुभो, लाखौँ बोका काटिए, बाख्रा काटेको सुन्नुभो ? खै कहाँ हरायो समानताको आवाज, कहाँ बिलायो समावेसीे नारा ?”

गाडी गुड्दै थियो र निकै अघि बढिसकेको थियो । गाडीभित्र एकछिन शान्ति छायो अर्थात् हामी तीनै जना चुपचाप थियौँ । मुख थकाई मार्न व्यस्त भए पनि आँखा र मन थकाई मार्न मञ्जुर थिएनँ । बाहिरको दृश्य निहार्न हामी व्यस्त थियौँ । सडक किनारमा लहरै छाप्राहरू देखापरे । सानो छाप्रोको छानामाथि, छाप्रोभन्दा ठूलो परालको कुन्यू देखेर हामी छक्क पर्‍यौँ । कुन्यूको बोझले कतै त्यो छाप्रो भत्किने त होइन ? हामीलाई यस्तो लाग्यो । कथंकदाचित कुन्यूको बोझले त्यो नर्कटको छाप्रो भत्क्यो भने त्यसभित्र गुजारा चलाउँदै गरेका मानव शरीरको के हविगत होला ! हामी सम्भावित दुर्घटनाको चिन्ताले त्रसित भयांै ।

“यस्तो नहोला भगवान्को दृष्टि नपुगेको कहाँ छ र ?” देवहरिजीले नजानिँदो किसिमले उनीहरूको सुरक्षित जीवनका लागि भगवान्सित प्रार्थना गर्नुभयो ।

मैले भने –

“वास्तविक नेपालको तस्बिर त हामी भर्खर देख्दैछौँ” ।

ड्राइभरले थप्यो-

“वास्तविक नेपाल होइन सर तपाईंले आधा नेपाल देख्नुभयो । वास्तविक नेपाल हेर्न त तपाईंले त्यो छाप्रोभित्र छिर्नुपर्छ । त्यो छाप्रोभित्रको अभाव अनिकाल भोकमरी अथवा नाङ्गा शरीरहरू भोका पेटहरू जब तपाईंको दृष्टिमा अटाउँछ तब मात्र वास्तविक नेपाल देख्नुहु्नेछ ।”

देवहरिजी बोल्नुभयो –

“केे मिलेको छैन हाम्रो नेपालमा ? विदेशी सहयोगको बाढी उर्लेको उल्र्यैछ, ग्रामीण विकासका लागि नेताहरूमार्फत लाखौँ रकम गाउँ भित्रेको भित्र्यै छ । गरिबी निवारण कोष ग्रामीण विकास परियोजनालगायत विभिन्न एनजीओ आईएनजीओ क्रियाशील छन् तर पनि नेपालीको जीवनस्तर जहीँको तहीँ छ ।”

“एकातिर यस्तो छ भने अर्कोतिर तपाइर्ं हामीले हेर्दा हेर्दै हिजो एक छाक खान नपाउनेहरू पाँच तारे होटलमा लन्च खाने भइसके, हिजो चप्पल लाउन नसक्नेहरू आज गाडी चढ्ने भइसके, गाउँमा झुप्रा नहुनेहरू सहरमा हवेली ठड्याउने भइसके । विकास नभएको कहांँ हो र, दुई चार टाठाबाठाहरूको व्यक्तिगत विकास भएको छ सामूहिक विकास भएन हुन सकेन, समानुपातिक विकास योजना लागू हुन सकेन । गरिब र गरिबीको नाममा टाठावाठाहरूले हसुरे, राष्ट्र र राष्ट्रियता बन्धक राखे आफ्नो झोली भरे व्यक्तिगत विकास गरे, सहरमुखी बने, गाउँ जस्ताको तस्तै रह्यो । निरीह ग्रामीण जनता जहीँको तहीँ रहे ।” ड्राइभरले थप्यो ।

गाडी गुड्दै थियो, गुडिरह्यो । हाम्रा आँखाहरू गाडीको सिसाबाट परपर देखिने परिवर्तित दृश्यहरू निहार्न व्यस्त थिए । यतिबेला हाम्रा आँखाले जङ्गल मात्र देखिरहेका थिए । अर्थात् गाडी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गुड्दै थियो । देवहरिजी र म आरामसाथ गाडीको सिटमा अडेस लागेर करिब करिब सुतेको अवस्थामा बस्यौँ । एकछिन गाडीभित्र सुनसान छायो । जङ्गल नै जङ्गल हेर्दा हेर्दै अनायास केही छाप्राछुप्रीको सानो बस्ती देखियो । ड्राइभरले गाडी साइड लगायो । गाडीको चक्काले सडक नाप्नबाट विश्राम लियो ।

ड्राइभरले भन्यो-

“चिया पिऊ सर ! भूरीगाँउ आइपुग्यो ।”

हामी चियाको प्रतीक्षामा बस्यौँ । एउटा बस आइपुग्यो र रोकियो । २०/२५ जना उत्रिए बसबाट । कोही हामी बसेको होटलभित्र छिरे कोही अर्को होटलतिर लागे । उनीहरूले आ-आफ्नै किसिमले खानेकुराको अर्डर गरे । आ-आफ्नो ग्रुपमा बाँडिएर बसे । आ-आफ्नै किसिमले गफको प्रसङ्ग सुरू गरे । कतै पढाइको गफ, कतै प्रेमको प्रसङ्ग, कतै राजनीतिक गफ । एउटा मान्छेले साहूलाई झण्डै खाउला जस्तो गरी हपार्‍यो र एक प्लेट चना माग्यो । साहूले तत्काल चना उसको अगाडि राखिदियो । उसले एक चम्चा चना मुखमा हाल्यो । चपाएर निल्न पनि भ्यायो भ्याएन, तत्काल प्रतिक्रिया देखायो –

“छ्या ! कस्तो चना, यस्तो पनि कहीँ तरकारी हुन्छ, उसिनेर राखेको हो कोही बिरामीलाई खुवाउन ?”

बोल्दा बोल्दै ऊ जुरुक्क उठ्यो, चनाको प्लेट बोक्यो, बाहिर निस्क्यो र प्लेटैसमेत चना हुत्याइदियो । उसले चना नखाए पनि साहुलाई पैसा चुक्ता गर्नु पर्ने हो हाम्रो विचारमा, किनकि साहुले पनि किनेरै ल्याएको हो तर उसले पैसा दिने त कुरै पर जाओस्, पैसाको विषयमा एक शब्द पनि बोलेन । आफ्नै शुरमा हिँड्यो, सरासर गयो, अर्को होटलमा छिर्‍यो । साहुले पनि ऊसित केही बोलेन, बोल्ने आट गरेन । उसको यो हर्कत देखेर हामी तीनछक् पर्‍यौँ ।

“एक प्लेट चना उत्पादन गर्न एक वर्ष कुर्नु पर्छ एकातिर भने अर्कोतिर कैयन गरिब जनता एक छाक खान नपाएर भोक भोकै छन्, यहांँ यसरी मिल्किन्छ, सिरियसली सोच्ने हो भने यो राष्ट्रिय क्षति भयो कि भएन । यस्तो किसिमले खानेकुरा फाल्नेलाई यस्तो सजाय हुन्छ भन्ने कुनै कानुन छैन । अनि जसले जे गरे पनि भै हाल्यो ?” कसैको प्रतिक्रियाको आश नगरी म एक्लै बड्बडाएँ ।

देवहरिजीले अप्रत्यासित मेरो सहमति जनाउनु भयो तर त्यहांँ उपस्थित जमातलाई मेरो कुरा चित्त बुझेनछ, ममाथि खनिए –

“सम्झनोस् कानुन छ, त्यो गर्न पाइन्न, गरेमा सजाय हुन्छ, नगद जरिवाना हुन्छ, कैद हुन्छ । अब भन्नोस् कसले गर्ने सजाय उसलाई ? मैले, तपाईंले, उसले, कसले ? त्यो काम गर्नु हुँदैन । नैतिक हिसाबले पनि हुँदैन तपाईंलाई थाहा छ, मलाई थाहा छ, हामी सबैलाई थाहा छ तर उसको कर्तुत हामी सबैले देख्याँै, हेर्‍यौँ मूकदर्शक बनेर, कोही केही बोल्यौँ ? अह ! तपाईं बोल्नुभयो, त्यो पनि ऊ गइसकेपछि । प्रत्यक्ष असर पर्ने विचरा साहू त बोल्न सकेन । के हुन्छ त्यस्तो कानुनले । अहँ ! केही लछारपाटो लगाउँदैन ।” एउटाले बोल्यो ।

“कानुन बनाउनेले आफैँ कानुन मिच्दा त कसैले केही बोलेन, केही गर्न सकेन, के हुन्छ यो देशमा । लाग्छ नेपालको कानुन शक्ति हुनेहरूका लागि होइन, निरीहहरूका लागि मात्र हो” अर्कोले थप्यो ।

“हो त जिल्लाभरिको शान्ति सुरक्षा कायम गर्ने कर्तव्य बोकेर जिल्ला पुगेको प्रमुख जिल्ला अधिकारी आफ्नै सुरक्षा गर्न सक्तैन, कसले कसको सुरक्षा गर्छ यहाँ !” अर्कोले पुनः समर्थन गर्‍यो ।

“के कानुन निर्माताहरूले कानुन अर्काका लागि मात्र निर्माण गर्ने हो, आफूले बनाएको कानुन आफूले नमाने पनि हुन्छ ? त्यसो हो भने कानुन बनाउँदा सांसदका लागि यो कानुन लागू हुँदैन, मन्त्रीका लागि यो कानुन लागू हुँदैन, यो कानुन निरीह जनताका लागि मात्र हो भनेर प्रष्ट उल्लेख गरिदिनु नि ।” अर्कोले थप्यो ।

“मन्त्रीले सीडीओ कुट्न पाइन्छ भनेर नयांँ कानुन निर्माण गरे भै हाल्यो नि । कानुन पास गर्ने अरूले होइन क्यार उनीहरू आफँैले हो ।” अर्कोले समर्थन गर्‍यो ।

“सबैतिरबाट कारबाहीको माग भैरहँदा पार्टीको तर्फबाट वकालत हुन्छ, जे भएको छ ठीक भएको छ त्यो कुटिनै पर्ने व्यहोराको सीडीओ हो कुटियो ठीक भो । सरकार भने यो सब हेर्छ सुन्छ र कानमा तेल हालेर बस्छ । यसको अर्थ, बल हुनेले निर्धालाई जे गरे पनि हुन्छ भन्ने हो ?” अर्को बोल्यो ।

“चिया लिनोस्,” हाम्रो हातमा चियाको गिलास आइपुग्यो ।

“तातो तातो समोसा पाकिरहेछ एक/एक वटा समोसा खाने हो कि ?” देवहरिजीले आफ्नो मनसाय राख्नुभयो ।

मैले स्वीकृति दिए । समोसा आइपुग्यो । हामीले एक हातमा चियाको गिलास समातेका थियाँै, अर्को हातले समोसा समात्याँै । मैले समोसा एक पटक टोकँे र चपाउन थालँे । एउटा झिङ्गा उड्दै आयो र मेरो हातको समोसा टोकेको भागमा बस्न खोज्यो । मैले झिङ्गा नबसोस् भनेर समोसा समातेको हात हल्लाएँ, हात हल्लाउँदा मेरो हात देवहरिजीको हातमा ठोक्कियो । मेरो हातको समोसा भूइँमा खस्यो ।

“कृष्णार्पण !” मैले भनेँ “मेरो भागमा रहेनछ खस्यो ।”

“त्यसो भनेर पाइन्छ ? अघि चना फालिँदा राष्ट्रिय क्षति भयो, भन्दै हुनुहुन्थ्यो अहिले समोसा मिल्किँदा राष्ट्रिय क्षति भएन ? एक प्लेट चना, एउटा समोसा गर्दै कति खाद्यान्न मिल्किन्छ, हिसाब किताब छ तपाईंसित, अहिले एकछिनमा हाम्रा आँखा अगाडि यति मिल्किन्छ भने दिनभरिमा कति मिल्किन्छ ? अझ देशभरिको तथ्याङ्क सङ्कलन गर्ने हो भने कति जनाले कति दिन खान पुग्ने खाद्यान्न मिल्किन्छ ? यो राष्ट्रिय क्षति हो कि

होइन ?” मेरो एकछिन अगाडिको भनाइलाई देवहरिजीले च्याप्प समात्नु भयो ।

मैले फालुँ भनेर फालेको त होइन, नचाहँदा नचाहँदै हातबाट खस्यो, देवहरिजीको भनाइप्रति विमति हुने मेरो मनसाय पनि होइन, त्यसैले चुपचाप चिया सुर्काई रहेँ । देवहरिजीले अर्को समोसा मागेर खान मलाई आग्रह गर्नुभयो, तर मैले आवश्यक ठानिनँ ।

हामी चिया सुर्काउदै थियौँ । एक आपसमा चल्दै दसवाह्र वर्ष जतिका दुई बाल अनुहार हाम्रा अगाडि देखा परे । हेर्दा दुवैको अवस्था उस्तैउस्तै देखिन्थ्यो । चरचर फुटेका हातगोडा, मयल कट्कटिएको अनुहार र जीऊ । जिगि्रङ्ग परेको कपाल । जाडोको मौसममा ठाउँठाउँमा च्यातिएको नाम मात्रको कपडा उनीहरूको शरीरमा थियो । दुवै हाम्रा अगाडि एकछिन उभिए, यताउति आँखा दौडाए । एउटाले अघि फ्याकिएको चना टिपेर मुखमा हाल्न थाल्यो, अर्को मेरो अगाडि खसेको समोसा टिपेर टोक्न थाल्यो । देवहरिजी र म एक आपसमा हेराहेर मात्र गर्‍याँै ।

ड्राइभर बोल्यो –

“काठमाडाँैमा बसेर कहांँ वास्तविक नेपाल देखिन्छ सर ! वास्तविक नेपाल त यो हो र वास्तविक नेपाली यिनीहरू हुन् ।”

“काठमाडौंँमा पनि यस्ता बालबालिका प्रसस्त छन् गुरुजी ! नभएका होइनन्, तपाई हाम्रो हेर्ने आखा मात्र नभएको हो ।” मैले प्रष्ट्याएँ ।

काँधमा गर्‍हौँ लाग्ने झोला भिरेको एउटा युवक टुप्लुक्क देखापर्‍यो हाम्रा अगाडि । झोलाबाट केही पत्रिका निकाल्यो र “कान्तिपुर सर!” भन्दै हामी तिर तेस्र्यायो ।

“कहिलेको हो? ” मैले प्रश्न गरे ।

“आजको ” उसले तत्काल जवाफ दियो ।

“यति चाँडै आजको पत्रिका!” मैले आश्चर्य प्रकट गरँे ।

“नेपालगञ्जमा छापिन्छ सर” उसले मेरो उत्सुकता मेटायो ।

देवहरिजीले पँाच रुपियाँ दिनुभयो र एउटा पत्रिका लिनुभयो । ऊ अर्कोतिर लाग्यो हेर्दाहेर्दै उसले पाँचसात वटा पत्रिका बिकायो । पत्रिका किन्नेहरू पत्रिका फिँजाएर पढ्न व्यस्त देखिए ।

“रुकुममा गाँजा खेती फस्टायो” एउटा करायो ।

नजिकै बस्ने साथीले थप्यो-

” कम गार्‍हो छ गाँजा खेती गर्न, एक दुई वर्ष मैले पनि गरेँ ।”

पत्रिका पढ्दै गर्ने मान्छे बोल्यो –

“कहाँ हुन्छ गार्‍हो, यहाँं त ‘गाँजा खेती अन्न नहुने जग्गामा पनि फस्टाउँछ । अन्न बालीभन्दा खेती गर्न सजिलो हुने भएकाले कृषकहरू गाँजा खेतीतर्फ आकृष्ट भएका छन्,’ भनेर लेखेको छ ।”

साथीचाहिँले अझ प्रष्ट पार्दै भन्यो –

“सही कुरा हो, गाँजा खेती जहांँ पनि फस्टाउँछ, अरू बालीमा जस्तो मिहिनत पनि गर्नु पर्दैन तर….. ”

“तर के ?”

“तर के भने गाँजा खेतीको सत्रुजीव धेरै छन्, आज एउटा आउँछ, यो अवैध धन्दा हो, तलाई थुनिदिन्छु, भन्छ पैसा झार्छ, भोलि अर्को आउँछ, सबै खेती काटेर निमिट्यान्न पार्नुपर्छ, यो अवैध हो, भन्छ पैसा झार्छ, पर्सी अर्को आउँछ, यो पुरै जलाउनुपर्छ, यो खेती गर्ने अनुमति छैन भन्छ, पैसा धुत्छ, जान्छ । यसरी खेती सुरू भएदेखि बाली कटान गरेर बिक्री नगरुञ्जेल पाइला पाइलामा पैसा बिछ्याउनु पर्छ । पसलबाट हुने फाइदाको आधा हिस्सा त पुलिस प्रशासनलाई थाम्पुरो लगाउनमै सिद्धिन्छ ।”

पत्रिका पढ्दै गरेका मान्छेहरू आफ्नो रुचिअनुसार समाचार पढ्दै थिए र नजिकैका साथीलाई सुनाउँदै थिए ।

“आकस्मिक लाभ, मलाई त आज लाभ हुने भयो , तेरो राशि के हो ? ” एउटा पत्रिका पढ्दा पढ्दै बड्बडायो ।

“सुन तोलाको ३५ हजार नाघ्यो रे ।” अर्को मान्छे पत्रिका पढ्दै करायो ।

“तोलाको ३२ हजार भए पनि बिक्री कम भएको छैन । पैसा कहांँबाट आउँछ मान्छेलाई? ग्रामीण जनताहरू बाँच्नका लागि सङ्घर्ष गर्दैछन्, चाउरी परेको पेट बोकेर भारी खेप्दैछन्, खेत जोत्दैछन्, वनपात गर्दैछन्, कोही भने बत्तीस हजार तोला सुन किन्न पछि पर्दैनन् ।” सँंगै बसेको उसको साथीले जिज्ञासात्मक प्रतिक्रिया पोख्यो ।

अर्काले पुनः थप्यो-

“यो त एउटा नमुना मात्र हो, तपाई काठमाडौँको मालपोतमा एक घण्टा मात्र बस्नोस देख्नुहुन्छ । करोडाँैको कारोबार हुन्छ, राजस्व मात्र लाखाँै उठ्छ, आनाको १० लाख, २० लाखमा जग्गा खरिद/बिक्री हुन्छ, दलाली भन्नेहरूले कमिसन मात्र लाखौँ लाख कुम्ल्याउँछन् । कहांँबाट आउँछ पैसा, कहिल्यै कसैले एक निमेष पनि सोचेको छ ?”

अर्कोतर्फ पत्रिका पढ्दै गरेको मान्छे ठूलो स्वरमा पढ्न थाल्यो –

“शान्ति सम्झौताको तीन वर्ष बितिसक्दा पनि यसको मूल कार्यसूचीअनुसार काम हुन सकेन, माओवादी लडाकुको समायोजन तथा पुनः स्थापना, संविधान निर्माण र पीडितलाई न्याय दिने प्रमुख तीन प्रतिवद्धता अलपत्र ।”

अर्को मान्छे अर्कोतर्फ अर्को समाचार पढ्दै थियो-

“नागरिक सर्वोच्चता, राष्ट्रपतिको कदम र राष्ट्रिय सरकारको विषय प्याकेजमा टुङ्गो लगाउनु पर्ने माओवादी निष्कर्ष ।”

“कोइराला सिङ्गापुरबाट उपचारपछि आइतबार र्फकने रे ।” अर्काले अर्को समाचार पढ्यो ।

समाचार पढ्नेहरू पढ्दै थिए, विश्लेषण गर्नेहरू गर्दै थिए । एउटाको विश्लेषण यस्तो थियो

“जीवनजल नपाएर जाजरकोटलगायतका विभिन्न क्षेत्रमा दैनिक सयौंँ नेपालीले ज्यान गुमाएको समाचार सुन्दासुन्दा हामी आजित भयौँ । राष्ट्रको आलो घाउमा राम्ररी खाटा बस्नै सकेको छैन, मुठ्ठीभर मान्छेहरू रूघा लाग्दा, सिङ्गापुर, बैङ्कक, दिल्ली, युरोपका विभिन्न मुलुकका महँगा अस्पतालहरूमा उपचार गराउन व्यस्त छन् । पानी पँधेरो छ यिनीहरूका लागि विदेशका महँगा सहरहरूको भ्रमण । यति मात्र कहांँ हो र विदेशी अस्पतालको बेडमै वार्ता पनि हुन्छ रे समस्या समाधानको तर वार्ता के हुन्छ, निचोड के निक्लिन्छ, अनभिज्ञ छन् जनता । हुनसक्छ वार्ता सत्ताको हुन्छ, संविधान निर्माणको होइन । हुनसक्छ वार्ता भागवण्डाको हुन्छ, शान्ति सुरक्षाको होइन । वार्ता जनताको आँखामा छारो फाल्ने हुन्छ, देश निर्माणको होइन । वार्ता वार्ताका लागि हुन्छ, निष्कर्षका लागि होइन, समाधानका लागि होइन । उपचारका नाममा साँच्चिकै उपचार हुन्छ अथवा अरू केही हुन्छ ? विदेश भ्रमण पक्का हुन्छ, राजनीति हुन्छ, दाउपेच हुन्छ र अनि एउटा कुरा पक्का हुन्छ, जनताले तिरेको करको केही हिस्सा विदेशिन्छ ।”

अर्कोले अर्को समाचार पढ्यो –

“पर्साका सरकारी कार्यालयहरू पूरै बन्द । कर्मचारीहरूले सबै कार्यालयमा ताल्चाबन्दी गरे ।”

विश्लेषण सुरू भयो –

पहिलो विश्लेषक – “स्यावास कर्मचारी वर्गहरू ! तिमीहरूको आँटका लागि । एउटा बहालवाला मन्त्रीले शान्ति सुरक्षाको सिपाहीलाई हातपात गर्ने, पाइन्छ यस्तो गर्न ? कानुन बनाउनेले कानुन हातमा लिने, ठीक गर्‍यौ तिमीहरूले । अन्यायीलाई कारबाही नहुन्जेल निरन्तर आवाज उठाउनुपर्छ, हड्ताल गर्नुपर्छ ।”

दोस्रो विश्लेषक- “च.च.. दया लागेर आउछ सीडीओप्रति । आफ्नो कार्यकक्षमा आफूमाथि हातपात हुदा चुप लागेर बस्यो । तत्काल थुन्ने अधिकार थियो, गोली ठोक्ने अधिकार थियो तर केही गरेन । जनताजस्तै अन्याय सहेर बसिरहृयो । हरे शिव ! ”

तेस्रो विश्लेषक – “त्यसो होइन सीडीओले जे गर्‍यो ठीक गर्‍यो । उसले प्रतिवाद गरेको भए अथवा अधिकारको प्रयोग गरेको भए आज मन्त्री विरुद्ध उर्लेको आवाज सीडीओ विरुद्ध उर्लिने थियो । उसले खाएको पिटाई गौण हुन्थ्यो । आफ्नो सरकार ढल्ने डरले अन्यायी मन्त्रीलाई कारबाही गर्न अग्रसर नहुने सरकार सीडीओ विरुद्ध खनिन्थ्यो र ऊ कारबाहीको भागिदार बन्थ्यो । सीडीओलाई कारबाही गर्दा सरकार कसैले ढाल्दैनथ्यो र विचरा सीडीओ भनेर कसैले भन्दा पनि भन्दैनथ्यो ।”

चौथो विश्लेषक – “उनका लागि भोट हाल्ने हातहरूले साइकलको हान्डिल समात्न पाएका छैनन्, उनीलाई गाडी चढ्न पाएर नपुग्ने, चिल्लो गाडी चाहिने, के जनताले चिल्लो गाडी चढ्ने आशीर्वादको भोट दिएका हुन् उनका लागि अथवा संविधान निर्माणको भोट हालेका हुन् ?”

पाँचौ विश्लेषक – “गाडी थोत्रो भयो भनेर एउटी मन्त्रीले मुड्कीले हानेर गाडी फुटालेको समाचार पढेको धेरै दिन भएकै छैन, फेरि अर्की मन्त्रीले गाडी पुरानो भयो भनेर सीडीओ कुटेको समाचार पढ्न पाइयो । के मन्त्रीहरू गाडी चढ्नकै लागि जन्मिन्छन् अथवा राष्ट्रियताको क्लेस मात्र पनि भाव बोकेका हुन्छन् ?”

हातमा नेपाल पत्रिकाको नयाँ अङ्क बोकेको मान्छेको विश्लेषण- “गुदी कुरो त अर्कै रहेछ, मन्त्रीको श्रीमान् भन्ने मान्छे रक्सोल, वीरगञ्ज निकासीपैठारी व्यापार गर्दोरहेछ, सीडीओले उसको व्यापारमा सहयोग गरेन रे त्यसैले पिटेको रे ।”

यता मन्त्री र सीडीओको विश्लेषण हुँदै थियो, अर्को एकजनाले कराएर समाचार पढ्यो –

“सचिवहरू महँगा गाडीमा । ८० प्रतिशत सचिवहरूसंग दुईवटा गाडी । सञ्चार, ऊर्जा र भौतिक योजना सचिवको गाडीको मूल्य डेढ करोड । प्रधान न्यायाधीश र मुख्यसचिवका पनि दुईवटा गाडी । अतिरिक्त गाडी परिवारको प्रयोगमा । भौतिक योजना तथा निर्माण सचिवले डेढ करोड पर्ने गाडीका अतिरिक्त तीन वटा छुट्टै गाडी राखेका छन् । सरकारी नम्बर प्लेट गैह्र कानुनी रूपमा परिवर्तन गरी निजी नम्बर प्लेट राख्ने सचिवको सङ्ख्या पनि कमी छैन ।”

“ओहो ! गरिब देशका धनी सचिवहरू बधाइ तिमीहरूलाई । देश धमिरा लागेको घरजस्तै खोक्रो भैसक्यो, कुन दिन ढल्ने हो थाहा छैन, तिमीहरूलाई डेढ करोड पर्ने गाडी चढ्न पुगेको छ, त्यो पनि तीन चार वटा । त्यसका लागि इन्धनमा कति खर्च लाग्ने हो ! तलवले पुग्छ तेल हाल्न गाडीमा, अथवा त्यसका लागि पनि सरकारी ढुकुटीमा धमिरा थपिने हो । जनता नुन खान नपाएर अलिनो खाँदैछन्, हाम्रा सचिवहरू लाखौँको नाजवाफको चर्तिकलामा छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई यतिबेला हामीले सहानुभूति प्रकट गर्नु सिवाय अरू के गर्न सक्छाँै, उसको आँखा बन्द भएकोमा । पशुपतिनाथले रक्षा गरेको देश । यसरी नै रक्षा भै रहोस् । शुभकामना ।”

हामीले चिया पिई सकेका थियौँ । हाम्रो यात्राको कोषाध्यक्ष देवहरिजीले चिया, समोसाको पैसा चुक्ता गर्नु भयो । हामीलाई समयले लखेटिसकेको थियो । यात्राको नियमितता प्रदान गर्न हामीलाई हतारो भैसकेको थियो । राष्ट्र – राष्ट्रियताको वहसलाई चटक्क छोडेर हामीले हाम्रा पाइला गाडीतर्फ बढायौँ । पाइला चाल्दाचाल्दै मेरो कानमा ठोकियो –

“सरकारी दलालहरू !, दैनिक भ्रमणभत्ताको नाममा सरकारी ढुकुटीको रकम खाएर, सरकारी गाडी चढेर, देश दर्शनमा हिँडेका छन् ।”

मैले पुलुक्क मुण्टो फर्काएर आवाजतिर हेरेँ । बोल्दै गर्ने मानिसको चोरऔँलो हामीतिर ठडिएको थियो । मैले देखेर पनि नदेखेझँ

गरेँ, सुनेर पनि नसुनेझँ गरँ । चुपचाप गाडीभित्र छिरँ, सिटमा बसें । देवहरिजीले पनि त्यसै गर्नुभयो । ड्राइभर पहिल्यै सिटमा बसिसकेको थियो । उसका हात पहिलेजस्तै स्टेरिङ्गमा सल्बलाउन थाले, गोडा एक्सिलेटर थिच्न व्यस्त देखिए । हाम्रो सेतो नम्बर प्लेटको गाडी बेजोडले हुइकियो पश्चिमबाट पूर्वतिर हामी यतिबेला आरामपूर्वक गाडीको सिटमा लेटिरहेका थियौँ

Baburam Khapangi – Tiraskar (Nepali Laghu Katha)

बाबुराम खपाङ्गी – तिरस्कार
(असोज मधुपर्क, २०६८)

एकादेशको कुरा हो । त्यस देशमा व्याप्त कुशासन र त्यसबाट उब्जेका भ्रष्टचार, अन्याय, अत्याचार, विकृति, विसङ्गति, व्यभिचार र आपसी वैमनस्यका कारण महाप्रलयबाट कोही बचेनन् । साराका सारा सखाप भए । जमिनमा ढलेका लासहरू मोटामोटी तीन प्रकारका देखिन्थे ।

पहिलो : कमला फलमासु र बोसोदार मांशपेशीयुक्त चिल्ला पोटिला शव ।

दोस्रो : ठीक्क मांशपेशीले युक्त पुष्ट शव ।

तेस्रो : हाड र छालामात्र बाँकी रहेका ख्याउटे शव ।

केहीबेर पछि, लामो समयदेखिका भोका गिद्धहरू हूलका हूल र्झन थाले र लुछ्दै मान्छेका मासु खान थाले तर

अचम्म ! प्रायः सबै गिद्धहरू तेस्रो दर्जाका लासमा मात्र झुत्तिए । भीडभाडमा प्रतिस्पर्धा गर्न नसक्ने बच्चा र बृद्धझैँ देखिने गिद्धहरूले मात्र दोस्रो दर्जाका लासका मासु खाए भने पहिलो दर्जाका लास एउटै गिद्धले पनि छोएनन् ।

किन छोएनन् थाहा छैन तर स्पष्ट थियो, तेस्रो दर्जाका लास साधारण जनता र मजदुरवर्गका थिए भने दोस्रो र पहिलो क्रमशः सरकारी कर्मचारी र नेताका थिए ।

कटारी, उदयपुर

Kalpana Bantawa – Phoolmatiya

कल्पना बान्तवा – फूलमतिया
(Source: हिमाल खबरपत्रिका)

“बाटो अप्ठ्यारो छ है, सानोबाबु!” फूलमतिया मलाई होसियार बनाउँदै थिई।

म चाहिँ हरियो घाँस मुठ्याएको हातको पछि लागेको सम्मोहित बाख्रा झैं उसलाई पछ्याउँदै थिएँ। हामी साँघुरा गल्लीहरू छिचोल्दै एयरपोर्टछेउको सुकुम्बासी टोलतिर लाग्दैथियौं।

फूलमतियासँगको यो अन्जान यात्रा भन्दा केहीछिनअघि सिनामङ्गलको बाजेको सेकुवाघर ताकेर हिँड्दै थिएँ म जुन मेरो अफिसनजिकै छ। अचानक फूटपाथमा टोपी, मोजादेखि गन्जी, कट्टुसम्मको असरल्ल दोकान फिजाएर बसेकी एउटी आईमाईलाई देखेर झ्स्केको थिएँ। मेरा आँखाले धर्म छाडेका रहेनछन्, दश वर्षपछि पनि ठ्याक्कै चिनेँ फूलमतियालाई। मन त्यसै त्यसै द्रवित भएर आयो। अनायासै बोलाएँ, “फूलमतिया!”

प्लास्टिकको चमरले दोकानको धूलो उडाउँदै गरेकी फूलमतिया एक्कासि मलाई सामुन्ने देखेर विस्मित बनेकी थिई। उसको अनुहार आश्चर्य, हर्ष, वेदना र कौतुहलको कोलाज बनेको थियो। ऊ मलाई हेरिरहेकी थिई, म पनि उसलाई हेरेर टोलाइरहेको थिएँ। आकस्मिक भेटको धक्काले हामीलाई सुदूर अतीतको फन्कोमा पुर्‍याएको थियो।

“बाफ रे! कति दिनपछि देख्दैछु तिमीलाई!” आँतज्वरो आएको मान्छे जस्तो गरी फूलमतियाको बोली फुटेको थियो। आँखाभरि स्नेह झ्ुसी पारेर स्वस्फूर्त मेरा हात समाउन आइपुगेकी थिई, ऊ। “तिमी त जस्ताको तस्तै रैछौ!”

म भने बाक्केबसेको मान्छेजस्तो भएर उसका आँखाहरूमा छचल्किएको खुसी नियालिरहेको थिएँ। फूलमतियाले दोकानलाई झ्टपट एउटा ठूलो जेब्रा झोलामा समेटेर छेउकी साथीलाई जिम्मा लगाइदिई। अब मलाई डेरामा नलगी नछाड्ने भई। बन्धन चुँडिन बाँकी रैछ, म लुरुलुरु उसका पछि लागेको थिएँ। केहीबेरमै टिनले छाएको घर अगाडि पुग्यौं। झवाम्मै सडकपेटीमै खुल्ने टिनकै ढोका उघारेर फूलमतियाले मलाई आग्रह गरी- “भित्र आऊ सानोबाबु!”

आधी ढोका छेकेर पसारिएको खाटमा ठोक्किएछु। सिनेमा शुरु भइसकेपछि हलमा पसेको मान्छेझै एकछिनलाई म अन्धो बन्न पुगें। साँघुरो कोठा निष्पट्ट थियो। “हेर न! सस्तो कोठामा सरेको, दिउँसै बत्ती बाल्नुपर्छ”, मैनबत्ती बाल्दै बोली ऊ।

मैनबत्तीको मधुरो उज्यालोमा कोठाभित्रका जिनिसहरू बल्ल ठम्याउन सकिने भए। कोठामा बस्ने प्रयोजनको एक मात्र वस्तु अघि म ठोक्किएको सानो खाट थियो। कुनाको एउटा लँगडो कुर्सी उसले देउतालाई दिएकी रहिछ जसमा आसन जमाएका फोटोका शिवजी मुस्काए जस्ता लाग्थे। एकैछिनमा स्वाइँस्वाइँ दम दिएर स्टोभ सल्काएकी फूलमतियाले सख्खर फिटेको फिका चिया दिई। “सानोबाबु! तिमीलाई चिया मन पर्दैन, स्टिलको गिलासमा त झ्नै मन पर्दैन भन्ने थाहा छ तर, तिम्रो सत्कारका लागि अहिले यही मात्र छ मसँग।” उसका आँखाहरू डबडबाएका थिए।

“हरे! मेराबारे यति मसिना कुरा पनि अझै याद छ यसलाई!” मलाई ऐंठन हुन खोज्यो।

मेरी गाउँले बालसखी फूलमतियाले म जन्मनुअघि नै केही भोटाहरू फटाइसकेकी थिई। तर, बालापनका साथ हुन् कि कौतुकमय किशोरवयको सुकुमार दोस्ती; मलाई उछिनेर गएको उसको उमेरले आत्मीयतामा कहिल्यै कुनै बिब्ल्याँटो पारेन। मैले हाईस्कूल नछाडेसम्म हाम्रो निर्दोष मित्रता आकाशबेली झैं झङ्गिइरह्यो।

मेरो घर खोलापारि थियो, स्कूल र फूलमतियाको घर खोलावारि। सात कक्षा पढुन्जेल म हरेक बिहान हवाईचप्पल हातमा समाएर खोला तर्थें। किताबहरू कमिजभित्र छातीमा सुरक्षित रहन्थे। अनि वेग हानेर पुग्थें फूलमतियाको घर।

आँगनको चुलोनजिकै बसेर झोल माछासँग बासी भात खाइरहेकी ऊ मलाई देखेर फिस्स हाँसिदिन्थी। उत्तरमा केही भन्न नसकेर म पनि हाँसी दिन्थें। फुर्सदमा हामी वन-जङ्गल, खेत-खलिहान चहारिहिँड्थ्यौं। माछा, गँगटा पोलेर खान्थ्यौं। धानका सिलासँग मुरै साट्थ्यौं। म आँखामा लालगेडी लुकाएर फूलमतियालाई जादु देखाउँथे। ऊ ढुङ्गाले हानेरै माछा ठहरै पार्थी। अनि मतिर हेरेर अनुहारमा सुनगाभा फुलाउँथी। आकाशबेलीको पहेँलो लहरा बटारेर म आफ्ना लागि चश्मा, घडी र श्रीपेच अनि उसका निम्ति कुण्डल, शिरफूल र माला बनाइदिन्थेँ। जङ्गली आभूषण पहिरेर हामी रमाउँदै घर फिर्थ्यौं।

सात कक्षापछि फूलमतियाको पढाइ छुट्यो। पाँच वर्षकी छँदै बिहे भइसकेकी ऊ, अब गौना-दौनाको कुरा मिल्नासाथ पहिलोचोटि लोग्नेको घर जान्छे भन्ने गाइँगुइँ चल्थ्यो। मेरी आमा यदाकदा मलाई कराउनुहुन्थ्यो, “सानोबाबु, तिमी अब ठूलो भैसक्यौ, फूलमतियासँग लखरलखर डुलेर हिँड्ने हैन है, भन्देकी छु!”

तर किन-किन, मलाई साथीमध्येकी काली-भ्यात्ली फूलमतिया नै मन पर्थी। दिल खोलेर हाँस्ने, दिल खोलेरै रुने ऊ, बाहिर-भित्र एकैनासे थिई। खुलेरै माया गर्थी मलाई। उसको सादापनका कारण म हुरुक्क थिएँ ऊप्रति। कहिलेकाहीँ दाइहरूसँग सिनेमा हेर्न साइकलमा डबललोड वीरपुर पुग्थें। घर फर्कंदा फूलमतियालाई सिनेमाको कहानी सुनाउन आतुरी हुन्थ्यो। आँखा झिमझिम पार्दै ऊ पूरै कहानी सुन्थी। अन्त्यमा “बुझिस् त?” भनेर सोध्दा ट्वाल्ल पर्थी, मरिकाट्टे केही बुझेकी हुन्नथी। खासमा उसलाई कहानी-सहानीमा कुनै रुचि थिएन तर, मेरो मन राखिदिन पूरै अन्टसन्ट सुन्ने गर्थी। मप्रतिका यस्तै झिनामसिना त्यागले मलाई उसको अझ नजिक खिच्थे। कसैलाई नबिझउने सारै सोझ्ी थिई, मेरी फूलमतिया!

एसएलसीपछि फुर्सदिलो भए पनि फूलमतियासँगको भेटघाट पातलिँदै थियो। कहिलेकाहीँ बडो भलाद्मी पल्टेर उसको घरै पुग्दा कहिले माछाको पीरो चोखासँग मडुवाको रोटी खाइरहेकी हुन्थी त कहिले घरको बाहिरी भित्तामा टाउकामा जलखइको ढक्की बोकेर खेत हिँडेकी महिलाहरूका रङ्गीन नक्सा कोर्दै गरेकी भेटिन्थी ऊ। म उसलाई अझ बढी माया गर्न थाल्थें। रुप, यौवन र उमेरभन्दा परको ऊप्रतिको मेरो त्यो प्रेमभाव साँचो मायाको प्रतीक थियो।

एसएलसीको परीक्षाफल आउनै लाग्दा जीवनकै पहिलो प्रेमपत्र पठाएँ फूलमतियालाई, “तँलाई भेटिरहने मन हुन्छ। पास भएर पढ्नलाई शहर गएँ भने त झ्नै भेट्न पाइँदैन। कतै भेटौं एकपटक।” फूलमतियाले जवाफ पठाई जसलाई मैले सय टुक्रा पारेर माइला कार्कीको चिया दोकानको चुलोमा हुर्‍याइदिएँ। अबेर रातसम्म त्यहीँ बसेर मत्थर हुँदै खरानी बनेको आगोलाई नियालिरहेँ। तर, मभित्र दन्किएको ज्वाला कत्ति पनि मत्थर भएन। उसले लेखेकी थिई, “सानोबाबु! तिमी मभन्दा धेरै बुझ्की छौ। यो प्रेमस्रेमको चक्करमा नफँस। दुलाहा चाँडै आएर मलाई लैजान्छन् अरे। तिमीले धेरै पढेर गुणी मान्छे बन्नुछ। तिमीलाई साथी भन्दा अर्थोक ठानेकी छैन मैले।”

मलाई थाह थियो, यो उसले मनैले लेखेकी हुँदै हैन। तर पनि मेरो मन बकाइनोको मुनाझै पिटिक्कै भाँचियो।

पीडासँगै विद्रोही भाव बोकेर पढ्नलाई काठमाडौं आएपछि मेरो मन, विचार, दृष्टिकोण, रहन-सहन, सबका सब फेरिँदै गए। फूलमतियाको सानोबाबु स्याण्डी हुँदै गयो। मलाई कलेजका जिरो फिगरहरूले आकर्षित गर्न थालेका थिए। तिनै सुन्दरीहरूका सङ्गतमा रम्न थालेको मेरो मनले फूलमतियाको मायालाई भुलेर पनि सम्झँदैनथ्यो। चोट खाएको मलाई अलाप्न नसकेर बीचैमा छाडिएका बेसुरा सरगम जस्ता लाग्न थालेका थिए, साँचा प्रेमका बातहरू।

कलेजको छुट्टीमा घर जाँदा फूलमतिया लुकेर हेर्थी मलाई। म नदेखे झैं गर्थें। यसरी उसलाई सताउन पाउँदा मेरो मनले तुष्टि पाउँथ्यो। दोस्रो वर्षको परीक्षा दिएर गाउँ जाँदा फूलमतिया झन सारो न्यासि्रएकी देखिन्थी। एक दिन मेरो अघि परेर रुँदै भनी, “सानोबाबु, विद्ये-कसम! म तिमीलाई माया गर्छु!”

“फूलमतिया! तँ आफ्नै संसारमा रमा अब। शहरमा मलाई अर्की केटी पर्खेर बसेकी छे।”

“त्यसो नभन, यो संसारमा मेरो अर्को कोही छैन।”

“छिप्पिएकी मान्छे भएर केटाकेटी नबन्। तेरो लोग्ने आइहाल्छ नि!”

उसलाई कहाँ हान्दा धेरै दुख्छ, मलाई थाहा थियो। दश वर्षअघिको त्यो अन्तिम भेटमा न्याउली रोएजस्तो फूलमतियाको जीउ नै सिरिङ्ग पार्ने काँतर स्वरलाई लत्याएर हिँडेको थिएँ, म।

काठमाडौं फर्केपछि मेरो पुरानो दैनन्दिन शुरु भइहाल्यो। सर्लक्क परेकी केटीहरूलाई बाइकमा राखेर हुँइकिँदा सोलोडोलो ज्यानकी फूलमतियाको सम्झ्ना आयो भने दिक्क लाग्थ्यो मलाई। सोच्थें- अब के गर्दी हो कुन्नि! त्यहाँ म छैन जसलाई उसले लोभी लोग्नेले मागेका दहेजका कुरा सुनाएर मनको भारी बिसाउन पास्। त्यही गोबरका गुईंठा बनाउँदी हो, गिलो माटोमा धानको खखरी मिसाएर अन्नपात राख्ने कोठीहरू बनाउँदी हो, सन्ठीको चुरोट तान्दी हो। जाडोमा घुर ताप्दै मलाई सम्झेर रुँदी हो!

“सानोबाबु चिया सेलायो, खाऊ न!” फूलमतियाले मलाई विगतबाट बिउँझई। यसो हेरें, पहिले झैं मोटी-खाइलाग्दी छैन ऊ। उसको ठमा फुलिरहने बाह्रमासे सयपत्री मुस्कान पनि सिनित्तै सोहोरिएको भान हुन्छ। घुर्मैलो कोठामा बाहिरी चालढाल हेर्न सजिलो छैन तर, उसले लुकाएको वेदना बुझनेको छाती उसै चिरिन्छ।

“अनि फूलमतिया, खै त तिम्रो लोग्ने?” पहिलो पटक उसलाई तिमी भन्दा मलाई असजिलो लागेको थियो। फूलमतिया अलल्लिई-अलल्लिई रुन थाली। कुनै समयमा उसका लागि संसार त्याग्न लालायित भएको म अहिले सान्त्वना दिन पनि सकिरहेको थिइनँ। उसका पीडा अनुभूत गरेर अधमरो बनेको म हुत्तिँदै कोठाबाट बाहिरिएँ। मेरा अघिल्तिर अघिकै फूटपाथ तेर्सियो।

मलाई देखेर फूलमतियाकी साथी बोली, “हजुर, खै त! फूलमतिया?”

“अँ, आउँदैछ…।”

“वर्षौंको सङ्गतमा उसलाई आज जति खुसी कहिल्यै देखेको थिइनँ”, मैले टाउको हल्लाएँ।

“दुखिया रैछे बिचरी! बचपनमा बिहे भएको लोग्नेको घर जान मानिनछे। आफूले दिल दिएको सानोबाबु भन्नेलाई खोज्दै काठमाडौँ आएकी बिचरीले गौशालामा उसलाई श्रीमती र स-साना नानीहरू लिएर हिँडेको देखिछे! त्यसयता ऊ नरोएको कुनै दिन छैन, हजुर!”

मेरो हिक्का छुट्यो।

– हिमाल खबरपत्रिका पूर्णांक २७३

Trishna Kunwar – Chipliyeko Samaya

तृष्णा कुँवर – चिप्लिएको समय
(Source: मधुपर्क, चैत २०६७)

म समय हुँ, म वर्तमान, भूत र भविष्य पनि हुँ । मैले हेरेको आजहरू हिजो हुँदैछन्, मैले हेर्ने भोलिहरू प्ानि आज हुँदै हिजोमा परिणत हुनेछन् । आज घट्ने सबै घटनाहरू हिजोसँग जोडिएका हुन्छन्, प्रत्येक आजहरूको निर्माण हिजै भइसकेको हुन्छ, हरेक भोलिहरू आजै बनिरहेका हुन्छन् । हिजो, आज र भोलिका बीच म रिङ्गरिहन्छु ।

पूर्वी पाल्पाको एउटा पहाडी गाउँ मिदिममा म चिप्लिरहेछु ।

म अहिले २०४६ साल वैशाख महिना जनाइरहेछु । यो लगनको महिना हो । १० कक्षा पढ्दापढ्दै विद्या बेहुली बनेर अन्मिरहेकी छ । पन्चेबाजा बजिरहेको छ ।

पारि गाउँका कपडा साहूका छोराले हत्ते हाले, बाबाले चाँडै बिहेवारी गरिदिनु भयो । माइतीमा बसेर एसएलसी गर्ने अनि केटासँगै तानसेन वा काठमाडौँ बसेर क्याम्पस पढ्ने मोहमा लोभिएर उसले पनि हुन्छ भनेकै हो । त्यसैले यसलाई करकापको विवाह पनि नभनौं । उसको बाबाको हैसियत त्यतिबेला राम्रै भए पनि छोरीलाई एक्लै डेरामा राख्ने आँट थिएन । पढाई दिन्छन् भने उसको रहरै पूरा हुन्छ भन्ने आशमा डोली चढाई पठाइदिए ।

समाजको चलन, जाँच सकिएपछि घर नबसी सुखै पाइएन । वारि माइती पारि घर, वल्लोपल्ल्ाो गाउँको दूरी, सम्पन्न परिवार, पहिले त छोरीलाईझैँ पुलपुल्याएर रोखेकै हुन, जति बेला मन लागे, आए गए हुने । एसएलसी प्रथम श्रेणीमा पास भएकोले अब ठाँटिएर क्याम्पस पढ्ने खुब रहर छ, साइन्स पढेर डाक्टर बनौंला भन्न्ो विद्याको मनैदेखिको धोको आफ्नै लोग्नेले गर्दा पूरा नहुनेे छाँटकाँट देखियो । ” तपाईँ काठमाडौँमा क्याम्पस पढिरा मान्छे, गाउँ फर्केर किन त्यसै बसेको ? पढ्न मन लाग्दैन ?” लोग्नेसँग विद्याको पहिलो बोली नै यही थियो ।

” त्यहाँ पढ्न दुःख छ, डेरामा बस, आफँै पकाउ, भाँडा धस्काउ, बरु यही आनन्द Û नोकरचाकर कज्याएर खान पाइया छ, पसलमा बस्न मन लागे बस्यो, नभए डुल्यो, खायो । खुँडेभरिको दूध, ठेकीभरिको दही सम्झदैँ काठमाडौँमा कल्पेर बस्नु पर्‍या छैन मलाई Û” उसको जवाफले विद्या चिसिई ।

“त्यसो भनेर कहाँ हुन्छ, बेलामा पढ्न सकिएन भनेपछि दुःख हुन्छ, मान्छे गाउँ छाडी तान्छिन -तानसेन) जान्छन, सक्नेले छोराछोरी काठमाडौँ राख्छन, तपाइर्ँ त्यहाँ पुगिसक्या मान्छे गाउँमा खाली बस्नु हुँदैन, बासँग सल्लाह गर्नुस् Û चाँडै हिँडिहालौं Û अब त म उता डेराको सबै काम गरिहाल्छु, हामी सँगै पढौंला नि Û” विद्याले उसलाई कसैगरी मनाउन सकिन । “के का लागि पढनु ? केका लागि दुःख गर्नु ? त्यही पैसा कमाउनका लागि हैन ? यहीँ बसी बसी पैसा कमाउन सकिन्छ भने किन टाढा जानु पर्‍यो ? हामीलाई यही कपडा र किरानाको बेपारले छेलोखेलो पुगिरा’छ, फलिपाप भइराबेला दःुख गर्न सक्दिन म त Û” ऊ ओछ्यानमा लम्पसार पर्‍यो ।

” तर मलाई त कुरो छिन्दा तिमीसँगै राखेर पढाउने भनेका थिए, नभए म मान्दै मान्ने थिइन के ?” विद्या ठुस्किई ।

” केलाई पढ्न दुःख गर्नु पर्‍यो तिमीलाई ? यहीँ कपडा साहूनी भएर मोज गरेर बस न Û” ऊ सिरकले मुख छोपेर निदायो । विद्याले त्यो रात रोईरोई काटी ।

” तपैहरूले मलाई माग्दा पढाउने कुरो चलाउनु भो, आज बोली फेर्दै हुनुहुन्छ, पढाउँदिन भनेको भए बाबाले दिनुहुन्थेन, म पनि मान्ने थिइन ।” विद्यालाई अब सासूससुराको अगाडि मुख खोल्न पनि लाज पचिसक्यो ।

“पढाउँछु भनेको हुम्, तर अब छोराले पढ्न रहर नगरेपछि मैले क्यारम ? तिमीलाई एक्लै पठाउनु भएन क्यारे ?” सासू ससुराहरू छोरो घरमै बसेर बेपारमा सघावोस् भन्न्ो चाहन्थे, एक्लो छोरोलाई सुतीसुती खान पुग्छ भन्न्ो घमन्ड थियो ।

” दुईचार अक्षर सिकिहाल्यौ, पुगिहाल्यो नि Û तिमी पनि बेपार सिक Û, अर्कालाई विश्वास गर्ने जमाना छैन अब, मलाई सघाउने मान्छे चाहिएको छ, अर्को पसल पनि थाल्ने सुर छ, सासूबूढी केही जान्दिन, हाम्रो बिंडो थाम्ने तिमीहरू त हौ नि Û” ससुराको कुराले विद्याको कानको जाली फुट्लाजस्तो भ्ायो ।

तानसेन बजारभन्दा यहाँ दोब्बर मूल्य राखेर कपडा र मालसामान बेच्दा पनि किन्ने मान्छे आएकै छन, त्यो भेगकै यो सबैभन्दा चल्तीको पसल हो । वरिपरि मगर गाउँ छ, कामको चटारोले यो दुर्गम गाउँबस्तीबाट बजारसम्म किनमेल गर्न जाने फुर्सत कसैलाई छैन, सदरमुकाम आउँदा जाँदा ल्याएको सामानले कति दिन पुग्छ र ? यहाँ त महँगै भए नि उधारो पाइन्छ, तानसेनको साहूले गाउँलेकोे गर्जो टार्दैन ।

“उसले हाम्लाई पत्याउँदैन, गाउँका साहूले पत्याइराछन, अन्नबाली स्याहारेपछि तिरौंला भन्न पाइया छ Û ” भन्दै, जति मूल्य राखे पनि किनेर लान्छन् बिचराहरू ।

” छि ः यो व्यापार हो र ? यो त शोषण हो । सीधासादा गाउँलेहरूलाई मनपरी मूल्य राखेर कपडा र सामान बेच्न सक्दिन म” विद्यालाई एकछिन पनि पसलमा बस्न मन लाग्दैन । केही भन्न वा सुनाउन परे मात्र ऊ पसलतिर झर्छे ।

” कस्ती मुखाले केटी परिछ , हामी त मान्ने मान्छेको अगाडि समेत पर्न धकाउँथ्यौ, यो त ठाडै मुख लाग्न आउँछे, कुल घरानकी छोरी भनेर ल्याएको, यस्ती पो परिछे, अब घर भाँडिने भयो, बरबादै भै गयो नि Û ” सासू चाहिँ उसलाई मात्र हैन माइतीका सात पुस्तालाई लाग्ने गरी छेडपेच हान्ने गर्छिन् ।

एक वर्ष क्याम्पस पढ्नै नपाई त्यसै खेर गयो ।

न्ाामै त विद्या, पढ्न अति चाहने ऊ, र आइमाईले पढेर के हुन्छ भन्न्ो लोग्ने र सासूससुरा । जबरजस्ती कसैले कसैलाई बदल्न सक्दैन । न ऊ बदलिई, न उनीहरू । घरमा ठाकठुक परिरहन्छ, उसलाई सोझो मुखले कसैसँग बोल्न पनि मन लाग्दैन, लोग्ने त झन् शत्रुझैँ लाग्छ, “सारा समस्याको जरो उही त हो

नि Û” ऊ घरिघरि माइती मात्र हिँडिरहन्छे ।

“मेरा घरका सबै मान्छे जाली फटाहा हुन्, बिचरा गरिबहरूले चर्को भयो, भाउ घटाउनु साहूजी Û भनी बिन्तिभाउ गर्दा पनि सुको तलमाथि गर्ने होइन, यति त आफ्नै पर्‍या छ, सत्ते Û रामोराम Û भन्दै किरिया समेत हाल्छन्, ठग्नुको पनि हद हुन्छ नि Û गरिबलाई मारेर कमाएको सम्पत्ति, के सम्पत्ति ?” ऊ आमासँग गन्थन गरिरहन्छे ।

” बाबा Û तपाइर्ँले पनि मलाई झुक्याउनु भयो ” बाबासँगै उसको सधैंको गुनासो यही हो ।

“हुर्केकी चेली, सहरतिर एक्लै डेरामा राखेर क्याम्पस पढाउनुभन्दा ज्वाइँसँगै बसेर पढ्न पाउलिस् भनी तँलाई उता सारेको हो छोरी Û अब हुँदैन भन्छन् भने धेरै हत्ते नगर, घर बिग्रन्छ ” बाबालाई इज्जत जोगाउनु छ ।

“दोकानमा सघाउनु त कता हो

कता ? दिनभरि कोठामा उपन्यास हेरेर बस्छे Û” सासू च्याठ्ठिएको सुन्दा उसलाई आनन्द लाग्छ, । उनीहरू जुन किताबलाई पनि कामै नलाग्ने फाल्तु उपन्यास भन्ठान्छन्, उपन्यास पढे मान्छे बिग्रन्छ भन्ने हल्ला सुन्छन् । किताबप्रतिको घरका मान्छेको वितृष्णा देख्दा अचम्म लाग्छ, कुरा सुन्दा हाँसो उठ्छ । भेटन आउने साथीहरूसँग ऊ किताब कोसेली माग्छे, कोही तानसेन जाँदैछ भन्ने थाहा पाए लुकाइराखेको पैसा दिएर नयाँ किताब मगाउँछे । ल्याउनेले जस्तो किताब ल्याइदिए पनि रहर मानेर पढ्छे । एउटै किताब दोहर्‍याई तेहर्‍याई पढ्नु उसको बाध्यता हो, पसलमा किराना सामान पोको पारेर दिन भनी अरूले बेच्न ल्याएको रद्दीसमेत बाँकी नराखी उठाएर ल्याउँछे र छानीछानी पढ्छे । महिना वा वर्ष दिन अगाडिका बासी अखबार पनि फेला परे टिपिहाल्छे । छापिएका अक्षर देख्नै हुँदैन, देख्यो कि पढ्ने सकसक लाग्छ उसलाई ।

कस्ता किताब पढ्दा राम्रो हुन्छ, बजारमा के आएको छ , शिक्षासँगै मनोरञ्जन दिने किताब कस्तो हो ? सिकाइदिने कोही छैन । आफू एक्लै बजार जान मिल्ने होइन । पढेलेखेको, आफूभन्दा जान्नेसुन्ने भनेको त्यही लोग्ने हो तर उसको ताल सरसङ्गत पटक्कै गतिलो छैन ।

बुटवल वा तानसेन बजार घुम्न गएको बेला लोग्ने चाँहि गहना, लुगा, जुत्ता, ब्याग, टीका, चुरा र शृङ्गारका सामान किन्न कर गरिरहन्छ । ऊ भनेे प्यासी नजरले किताब पसलतिर क्वारक्वार्ती हेरिरहन्छे । अर्थोक कुनै चीजबिजमा उसको आशक्ति छैन, आकर्षण भन्नु नै पुस्तक हो । उसलाई लोभ छ त मात्र पुस्तकको, उसलाई मोह छ त मात्र अक्षरहरूसँग, उसलाई कागजदेखि पे्रम छ, ऊ पुस्तककी दिवानी हो, किताब देख्यो कि पढुँपढुँ लागिहाल्छ । गाउँदेखि सितिमिति बजार आउन पाइर्ंदैन, आएको बेला किनुँ भन्दा लोग्ने रिसाउँछ । तै पनि ऊ सुटुक्क एक दुईवटा किताब पोको पारेर घर लान्छे । कोठामा लुकाईलुकाई पढ्दा पनि घरकाले चाल पाइहाल्छन् । उनीहरू किताब पढेकोमा भन्दा बढी समय खेर फालेकोमा रिस पोख्छन् । ” काम न काजका किताब किनेर ल्याउँछे, किने नि यसो अखबारहरू किन्नु, सस्ता पनि हुन्छन्, पढेसी सामान कपडा पोको पारेर दिन मिल्छ” ससुराका लागि किताब किन्नु पानीमा पैसा बगाउनु सरह हो ।

ऊ अटेरी र जिद्धि बन्दै गइरहेकी छ, माइत आएपछि घर जानै नमान्ने । लोग्नेको सामिप्य र शारीरिक आकर्षणले बाँधिने गरी उसको उमेर छिप्पिसकेको छैन् । भनेजस्तो नपुर्‍याइदिएपछि अब त्यो मान्छे उसको नजरमा “जाबो लोग्ने” सावित भइरहेको छ । मनमा लाग्या कुरा एकथोक छ, ऊ अर्को कुनै कुरामा रमाउनै सकिरहेकी छैन् । उसका दिनहरू माइतीमै बित्न थालेका छन् । बाबाले पनि घोक्र्याएर पठाउने कुरै भएन ।

यो ०४६ को जनआन्दोलन अगाडिको कुरा हो, जति बेला ऊ बिहेपछि पनि स्कुल पढदै थिई । विद्यालयमा उनीहरूलाई सङ्गठित गर्न आउने दाइ दिदीहरूले भनेका थिए ” विद्या तिमीमा ठूलो सम्भावना छ, तिमीभित्र चेतनाको ज्योति बलिरहेको छ, त्यसलाई निभ्न नदिनु, भोलि तिमी धेरैमाथि पुग्न सक्छ्यौ” उनीहरू उसलाई विद्यार्थी राजनीतिमा सक्रिय गराउन चाहन्थे, केही सिकाउन चाहन्थे तर उसले सिक्नै पाइन ।

उनीहरूसँग हिजोआज पनि बाटाघाटामा भेट भइरहन्छ ,

“विद्या Û तिमीले पढाइ चटक्कै छाड्नु हुन्थेन, त्यस्तो प्रगतिशील सोचाई राख्ने मान्छेले किन चाँडै बिहे गरेकी ? तिम्रा साथीहरू कति माथि पुगिसके, तिमी त गाउँमै गाडियौ” उनीहरू उसको प्रतिभा खेर गएकोमा मनदेखि नै सहानुभूति देखाउँछन । ” के गर्नु ? पढ्न मन भएर पनि कर्ममा नलेखेर त होला नि, जोहो मिलेन, पढाउँछु भनेर झुक्याए, नभए बिहे गर्ने थिइन” ऊ निराश भइसकेकी छ ।

” यस्त्ाा लाछी कुरा नगर, झुक्याउनेले आफ्नो स्वार्थका लागि झुक्याए, राम्री देखेर छोरोले हत्ते हाल्यो, दाइजो धेरै दिनसक्ने ठानेर बाबुले मागी ल्यायो तर उनीहरूले जे गरिरहेछन्, त्यो सहिरहनुपर्छ भन्ने छैन्, झुक्किरहनु, सहिरहनु पनि कायरता हो, समाधानका उपाय अनेक छन्, मान्छेमा आँट हुनुपर्छ, असम्भव केही छैन” मायादिदीको आवाज उसलाई आज नेताको भाषण जस्तो लागेन ।

“डटेर सामना गर्‍यो भने एक न एक दिन जिन्दगी तिमीले सोचे अनुकूल बन्छ बन्छ तर तिमीले कडा मिहिनेत र धैर्य भने गर्नै पर्छ Û” टोलाइरहेकी विद्यालाई झक्झक्याउँदै मायाले धेरै कुरा भनिरहिन्, उसले ध्यान दिएर सुनिरही ।

पढने रहर अझै मरेको छैन, पढाइको प्यासले ऊ यति तिर्खाएकी छे, कि अब उसको धैर्यको बाँध भत्किनै लागिसक्यो, ऊ खोलासम्म्ा जसरी पनि धाउन तैयार मनस्थितिमा पुगी सकी । उसलाई अब घर बिगार्न सके, पढाइ सपार्न सक्छु कि जस्तो लाग्न थालेको छ । बाबालाई पनि उसको सानै उमेरमा बिहे गरिदिएको पापको प्रायश्चित गर्नै पर्छ जस्तो लाग्यो, घर जान पटक्कै कर लाउँदैनन् । आमा केही बोल्न खोज्दा बाबाले नै चुप लाउँथे, घर हुने सम्भावना पटक्कै नदेखेकाले उनी एउटा निर्णयमा पुगिसकेका छन् । बाबाले मनमा ईख लिई कपडा साहूलाई देखाउनका लागि पनि उसलाई गाउँमा सडाएर राख्न चाहेनन् । आउँदो हिउँददेखि तानसेन बजारमा भाइ र उसलाई डेरा गरी पढाउने बन्दोबस्त मिलाइदिने भएका छन् । भाइबहिनीहरूलाई पढाउन लेखाउन सघाएर ऊ त्यो उज्यालो दिन कुर्दैछे ।

माइतै बस्न थालेपछि ऊ गाउँघरमा काम नलाग्ने, घर गरी खान नसक्ने आइमाईको रूपमा चिनिन थाली । सात पुस्तालाई पुग्ने सम्पत्तिवाल घर छाडेकोमा मान्छेले उसलाई महामूर्खको संज्ञा दिइरहेका छन् । यत्रो सम्पत्तिको चयन गर्न छाडी दुःख पाउन हिँडेकी बौलाही भनिरहेछन् । त्यस्तो राम्रो लोग्ने छाडेर अब बाईफाले भएर हिँड्ने भई भन्ने लख काटिरहेछन् ।

विद्याले गरेको बिद्रोहमा बाबाले साथ दिएर क्याम्पस भर्ना भएको दिनदेखि कपडा साहूको छोरोसँगको सम्बन्ध आफँै बिच्छेद भयो । उनीहरूले त्यो विषयलाई साह्रै अपमान ठाने । बोलचालै बन्द भयो ।

“बल्ल मान्छे भएर बाँच्न पाइयो Û” भाइलाई स्कुल पठाएर क्याम्पसतिर लाग्दा विद्यालाई संसारै जितेजस्तो लाग्छ । स्कुल बेला देखि नै राजनीतिमा रुचि राख्ने उसले क्याम्पस आएपछि धेरै कुरा सिक्ने मौका पाई । उतिबेला प्रतिबन्धित पार्टीहरू अहिले खुला भएका छन्, तिनका भातृ सङ्गठनहरूमा लागेर काम गर्न अहिले चुनौती पनि छैन, पढाइसँगसँगै राजनीति अगाडि बढाउन सकिन्छ । मुलुकमा मात्र हैन, साँच्चै भन्ने हो भने प्रजातन्त्रको पुनर्बहाली उसको जीवनमा पनि भएको छ ।

पढाइभन्दा राजनीति उसलाई फापेको छ, ऊ लोकप्ाि्रय हुँदैछ, साथीहरूको उत्साह र माथिबाट मिलेको जिम्मेवारीले उसको आत्मविश्वास बढिरहेको छ । पहिलो वर्ष सकिने बेलासम्म ऊ धेरै अगाडि बढी । अब बहिनीहरूलाई पनि ठाउँम्ौ ल्याएर आफूजस्तै बनाउने चाहना उसमा पलाइरहेको छ ।

“कुकुरलाई घिउ नपचेको” भन्दै कपडा साहूले छोरोको अर्को विवाह गरिदिएको खबर विद्याको कानसम्म पनि आयो । त्यो कुराले उसलाई रौं बराबर पनि छोएन, उल्टै बिझाउने काँडा झिकेझैँ सन्चो भयो । जुन कुरा त्यागियो, त्यो सदाका लागि त्यागियो ।

“अब बाँचेछ भने पनि त्यसको मुखै हेर्न पर्दैन, मरेछ भने पनि किरिया गर्न पर्दैन” समाजले भन्ने बाटो छुटेको थियो, त्यो पनि मेटियो ।

वकिलले अंश माग्ो पाइने राय दिँदा उसले ” थुकेर हिँडेको हाडको टुक्रामा के लोभ गर्नु ?” भनी । तानसेनको जिल्ला अदालतमा बिना झन्झट उनीहरूकोे कानुनी रूपमा सम्बन्ध बिच्छेद भयो ।

ऊ आफ्नो इतिहास कथा बनाएर क्याम्पसतिर अरूलाई सुनाउन पनि चाहन्न । कसैले थाहा पाएको रहेछ, र सोधिटोपल्यो भने लुकाइराख्दिन । डिभोर्स हो भनेपछि कुरै सकियो ।

आफ्नो सफलतामा सन्तोष मान्दै ऊ सुखका दिनहरू कुरिरहेकी छ । उसलाई घर छाडेर आजसम्म्ा पछुताउनु परेको छैन, जे गरेँ ठीकै गरेँ मात्र होइन, रामै्र गरेछु जस्तो ठान्छे । क्याम्पसमा धेरै साथीहरू अविवाहित छन्, उनीहरूबीच बस्दा आफू कन्याकुमारी नै होजस्तो लाग्छ । उसको पनि विवाह भएको थियो, कुनै पुरुषसँगै उठबस भएको थियो भन्ने कुरा उसलाई पूर्वजन्मको पूर्वस्मृतिजस्तो लाग्छ । जतिजति दिन बित्दै गइरहेछ, ती घटनाहरू सपनाजस्ता लागिरहेछन्, सपनाका कुरा धेरैबेर सम्भिmन सकिँदैन, मनमा अडिदैन । आँखा खुल्यो, अब ती कुराहरू माथि पर्दा लागिसके । मिठो सम्झेर बाँचेको कुनै पल भए पो याद आइरहन्थ्यो, सबै कुरा दिमागबाट डिलिट भइसके । पानीमा डुङ्गा चलाउँदाका जस्ता ती दिनहरूको डोब मानिसको कुनै कुनामा पनि अब जीवित छैनन् ।

वर्तमानमा यिनै भाइबहिनीहरूसँगको सङ्घर्षरत परिवार मात्र छ उसँग । बाआमाले पाखुरा बजारेर पठाएको खर्च फारोसित चलाउन पुगेकै छ, परेको बेला आफूले ट्युसन पढाएर काम चलाउँछे । सीमित खर्चमा लडिरहेकाछन् उनीहरू यो सानो पहाडी बजारमा, आ-आफनो भव्ािष्य निर्माणका खातिर । तैपनि निस्पिmक्री छ, अर्कालाई शोसेर, झुक्याएर कमाएको पैसा होइन, पसिना बगाएर कमाएकोे शुद्ध आर्जन हो ।

विद्याले स्नातक गरेपछि उनीहरू काठमाडौँ आए । ऊ बोर्डिङ स्कुलमा जागिर खोजिरहेकी छे, अरू भन्दा पढाउने कामैै सजिलो लाग्छ, अक्षरहरूसँगै खेल्न उसलाई खुबै मन पर्छ, साइन्स पढेको हुनाले ट्युसन पाउन पनि सजिलो छ ।

आउँदा दिनहरू कस्ता होलान भनेर ऊ कहिल्यै पीर गर्दिन । जसरी आज बित्यो, त्यसै गरी भोलि पनि बित्छ । भावी दिनहरूसँग डराउने भए त्यत्रो श्रीसम्पत्ति स्याहार्ने एक्लो छोरोलाई कहाँ यसै छाडिदिन्थी र ? मान्छे भएर बाँच्न उसलाई आफूले ठूलै मूल्य चुकाएजस्तो लाग्छ । त्यो बेला लहडले घर छोड्ने साहस गरी तर आज सोच्छे, डिभोर्स गर्न पनि आँट चाहिन्छ, सबैले यो आँट गर्न सक्दैनन् ।

समाजसँग लड्ने, सारा भनाइ र कुरा कटाइलाई सुन्ने धैर्य चाहिन्छ, नत्र मथिङ्गल रिङ्ग्याउने बचनवाणहरूले मुटु छियाछिया पार्छ । आफू भएर बाँच्न आइमाईलाई जहाँ गए पनि गाह्रै छ, बाँच्ने कला सिक्नुपर्छ, बाँच्न जान्न्ाु पर्छ, एउटा लक्ष्य लिएर जीउनु पर्छ, एउटा रहर साँच्नु पर्छ, त्यस्ता नाथे दःुखहरू आफैँ किनारा लाग्छन् । कुरा गरेर नथाक्नेहरू दिन, महिना र वर्षहरू बितेर जाँदा आफँै थाक्छन् र चुप लाग्छन् । बाआमाहरू अचेल कसैका कुरा सुन्दै सुन्दैनन्, बहिनीहरूलाई चाँडो बिहे गर्ने कर गर्दै गर्दैनन्, उनीहरू अब छोराछोरीले जे गर्छन् रामै्र गर्छन् भन्ने मान्यतामा पुगिसके ।

भाइलाई अघि लाएर गाउँबाट तानसेन झरेको दिन विद्यालाई हिजैजस्तो लाग्छ, उसैलाई साथी मानेर सहर आएकी हो, ऊ नभएको भए शायद बाबाले पठाउने निर्णय लिन्थे कि लिन्थेनन्, सानै भए पनि यो समाजमा देखावटी संरक्षकको काम त यसैले गरेको हो ।

पढ्दै, काम गर्दै, राजनीति सिक्दै उसले ठूलै फड्को मारिसकी । दृढ इच्छाशक्तिका कारण हरेक काम सजिलै पार लागिरहेछन् । आफ्नै गाउँमा पनि अचेल त उसको खुब मनितो हुन थालेको छ । अब त त्यो गाउँमा उसको आफ्नै पहिचान बनिसकेको छ । सहरमा आफूलाई चिनाउनु पर्दा ऊ जहिलै त्यो गाउँको नाम काढ्छे, जुन गाउँले उसलाई पीडा मात्र दियो, तिनै गाउँलेहरू आज उसमाथि गर्व गर्छन् ।

विद्याकोे काँध दह्रो हुँदैछ, एकपछि अर्को बोझ थपिदैंछ, थपिदै गइरहेछ, गाउँबाट एकएक गर्दै सबै बहिनी यतै सरिसके । कोही त कमाउने र सघाउने कुरा गर्छन् तर उनीहरूको पढाइ बिग्रला भनेर उसले कतै जागिर खान दिएकी छैन । आफूजस्तो दुःख गर्न पनि तयार छे, तर बहिनीहरूलाई असजिलो नपरोस् । जन्म मात्र नदिएको हो तर सबै कर्म उसैले चलाइदिई, उनीहरूमा निर्माण भएको निर्भिक र स्वतन्त्र स्वभाव उसैको छाप हो । राजनीतिमा सबैले उसैको बाटो पछ्याउँदै छन् । उसले खनेको बाटोमा उनीहरूलाई हिँड्न सजिलो भएको छ ।

विद्यार्थी, नेता, जागिरे र अभिभावक, उसले सबै थोक बन्नु परेको छ । उसलाई दिन छोटो लाग्छ, रात अलि लामो भइदिए हुन्थ्योजस्तो लाग्छ । दिउँसो त किताब समाउनै भ्याउन्न, पढ्ने भनेकै राति हो । जीउलाई एक छिन आराम दिन भ्याउँदिन, खानपान सबै अस्तव्यस्त छ ।

राजनीतिमा ऊ जति दौडनसक्थी, त्यति भ्याइरहेकी छैन्, जागिर र ट्युसनले उसलाई फनफनी रिङ्ग्याइरहेका छन् । कामले नै समय खाइदिँदा ऊ आफू भने तल झर्दैछे, उसका साथीहरू माथि जाँदैछन । विश्वविद्यालयको पढाइ सकेपछि त ऊ झनै व्यस्त जिन्दग्ाी बाँच्न थाली, बढीभन्दा बढी क्याम्पस र उच्चमाविहरूमा क्लास लिदैं ठिक्क छ, कताको राजनीति गर्नु ?

हेर्दाहेर्दै राजनीतिमा बहिनीहरूले पनि उसलाई उछिनिसके । डिग्री पूरा गरुन्जेल बहिनीहरू विद्यार्थीबाट नेता बनिसके । ऊ भने विद्यार्थी छँदै पाखा लाग्नु पर्‍यो । समयले विद्यालाई रुङ्गेर बसेन, भने जति समय दिन नसक्दा ऊ पछि पर्नु पर्‍यो, उसको समय कर्तब्यहरूमा बाँडियो, आफ्ना रहरहरू साँचेर उसले आफू मुन्तिरकाहरूलाई अगाडि बढाई ।

हरेक काममा समयको निकै महìव हुन्छ, राजनीतिमा त अझ बढ्ता । आफ्नो अमूल्य समय अन्यत्र खर्चिनु परे पनि उसलाई पछुतो छैन । आफ्नो ठाउँ भाइबहिनीहरूले लिएका छन्, ऊ यसैमा सन्तोष मान्छे । उसका भाइबहिनीहरू उसैलाई कुल्चेर माथिमाथि उक्लदैछन् । उनीहरू यो कुराको हेक्कासम्म राख्न चाहदैंनन् । एक दिन यिनीहरू सांसद मन्त्री बन्लान, कुनै काम मिलाइदिनु पर्‍यो भन्दै विद्या पछिपछि लाग्नुपर्ने दिन पो आउँछ कि ?