Baburam Khapangi – Uddar (Nepali Laghu Katha)

बाबुराम खपाङ्गी – उद्धार
(मधुपर्क बैशाख, २०६७)

विनाशकारी भूकम्पको सुरुवातसँगै म बेहोश भएँ । होश खुल्दा कम्मरमुनिको पूरै भाग पर्खालले किचेको अबस्थामा मैले आफूलाई पाएँ । ठूलो कोलाहल मच्चिरहेको थियो । घरहरू एउटै पनि सद्दे थिएनन् । लाशहरू यत्रतत्र छरिएका थिए । जीवित मान्छेहरू अनियन्त्रित पाराले यताउति दौडिरहेका थिए । कोही मजस्तै घरका खम्बा, पर्खाल, छत र अन्य गर्हौँ चीजले थिचिएका, चेपिएका थिए । घाइतेहरू हात पसारेर सहयोगको निम्ति याचना गरिरहेका थिए । तर जीवित मान्छेहरूलाई यस कुराको उति परवाह भएजस्तो लाग्दैनथ्यो ।

नजिकै ‘कुइँ…….कुइँ………’ आवाज सुनेँ । हेरेको त एउटा कुकुरको छाउरो अङ्गभङ्ग भएर बाँचेको रहेछ । केही क्षणमै दुई, चारवटा कुकुरहरू जम्मा भए अनि त्यस घाइते छाउरालाई सुरक्षित स्थलतर्फ घिसारे ।

म भित्र जिजीविषा अनायासै बिउँतेर आयो । सहयोगको निम्ति हात पसारेँ तर सहयोग गर्न कोही आएनन् । सबै धन सम्पत्ति र बहुमूल्य सामान ओसार्नमै व्यस्त थिए ।

केहीबेरपछि दुईजना मान्छे म भएतर्फ आए । म नजिकै आइपुगेपछि चिनेझैं गरेर दुबै मुस्कुराए । मैले सहयोगको पूर्ण भरोसाले दुवै हात उनीहरूतर्फ बढाएँ । ती दुवैले मेरा हात समातेर एकसाथ मेरा हातका घडी र औंठी थुते अनि हेर्दै नहेरी अन्त लागे ।

त्यसपछिको दृश्य मैले हेर्न आवश्यक नै ठानिँन र जबरजस्ती आँखा बन्द गरेँ ।

Baburam Khapangi – Tiraskar (Nepali Laghu Katha)

बाबुराम खपाङ्गी – तिरस्कार
(असोज मधुपर्क, २०६८)

एकादेशको कुरा हो । त्यस देशमा व्याप्त कुशासन र त्यसबाट उब्जेका भ्रष्टचार, अन्याय, अत्याचार, विकृति, विसङ्गति, व्यभिचार र आपसी वैमनस्यका कारण महाप्रलयबाट कोही बचेनन् । साराका सारा सखाप भए । जमिनमा ढलेका लासहरू मोटामोटी तीन प्रकारका देखिन्थे ।

पहिलो : कमला फलमासु र बोसोदार मांशपेशीयुक्त चिल्ला पोटिला शव ।

दोस्रो : ठीक्क मांशपेशीले युक्त पुष्ट शव ।

तेस्रो : हाड र छालामात्र बाँकी रहेका ख्याउटे शव ।

केहीबेर पछि, लामो समयदेखिका भोका गिद्धहरू हूलका हूल र्झन थाले र लुछ्दै मान्छेका मासु खान थाले तर

अचम्म ! प्रायः सबै गिद्धहरू तेस्रो दर्जाका लासमा मात्र झुत्तिए । भीडभाडमा प्रतिस्पर्धा गर्न नसक्ने बच्चा र बृद्धझैँ देखिने गिद्धहरूले मात्र दोस्रो दर्जाका लासका मासु खाए भने पहिलो दर्जाका लास एउटै गिद्धले पनि छोएनन् ।

किन छोएनन् थाहा छैन तर स्पष्ट थियो, तेस्रो दर्जाका लास साधारण जनता र मजदुरवर्गका थिए भने दोस्रो र पहिलो क्रमशः सरकारी कर्मचारी र नेताका थिए ।

कटारी, उदयपुर