Ram Bharos Kapadi – Valentine Gulab

रामभरोस कापडि ‘भ्रमर’ – भ्यालेन्टाइन गुलाब

मैतीदेवी चोकमा रङ्गीचङ्गी उपहार सामग्रीहरू बिक्री भइरहेका थिए। युवक-युवतीहरू एक-अर्कालाई पाखा लगाउँदै सामग्री चयनमा व्यस्त थिए। म टक्क उभिन्छु। के मलाई केही लिनुपर्दैन? फेरि आफैँसँग प्रश्न गर्दछु कसका लागि?

साँच्चै, कसका निमित्त! यी सामग्रीहरू कुनै रहरले लिने होइन। मानिस अब आफ्नो चित्तको कुरा झिक्न अवसरको खोजी गर्दछन्, कुनै बहानाको प्रतीक्षा गर्दछन्। त्यो चाहे खानेपिउने होस्, कसैसँग दुश्मनी पोख्न होस् अथवा कुनैवेला कसैद्वारा गरिएको उपकारको बदला चुकाउन होस्। त्यस्तै कसैलाई प्रसन्न पार्न, अझ नजिक पुग्न १४ फरबरीको इन्तजार गर्दछन्, यसै निहुँमा कतै हात लागी हाले भने!

तर मलाई हात लगाउन केही बाँकी छैन। वेला रहँदा त्यतातिर ध्यानै गएन। अहिले नयाँ जमातको जगजगी बढेको देख्दा भित्रभित्रै रोमाञ्चित हुन पुग्दछु। उमेरको पर्वाह नगरी भेलमा समाहित हुन मन लाग्छ।

हैन, घरतिर जाऊँ कि क्या हो। बरु त्यहीँ कुनै पुस्तक अथवा विभागीय कागजहरूमा रमाउँला। बेकारमा यो उपहार अथवा भेटीको चिन्तनमा अड्किरहेको छु। टाउको बटारेर एक-दुई पाइला अगाडि बढ्छु पनि, तर फेरि मनमा कुरा खेल्न थाल्दछ। फर्केर फेरि त्यही तरुनाहरूको भीडमा पस्न चाहन्छु- मेरो लागि पनि केही छ कि!

इच्छा र गोजी अनुसार उपहार सामग्री किनिरहेका हुन्छन्। उनीहरूको अनुहार हेर्छु, उमेर अनुमान गर्छु- सबका सब १५ देखि २० वर्षभित्रका लागिरहेका छन्। मैले कुनै सामग्री किने भने यिनीहरूले दुई वटा लख काट्लान्। पहिलो, घरमा केटाकेटी होलान्। अर्को, बुढेसकालमा अतीतले घचघच्याएको जस्तो छ! साँचो कुरा के छ कि म ती दुवै कुराबाट प्रभावित छुइनँ। आज कसैलाई प्रेम सम्वादको प्रतीक दिउँ्क भन्ने मात्र हो। मेरो यो सोच बुझदा धेरैको मनमा दया पलाउन सक्दछ। बुढेसकालमा यी के गर्न खोज्दैछन् हँ? जवानी बरालिँदै बिताए। अब जब कतै केही दिनको लागि स्थिर हुन संयोग जुडेको छ त फेरि मन बरालिन थालेको छ।

बरालिन जो सोच्छन् सोचुन, म त आज केही न केही किन्छु जरुर। साँच्चिकै मलाई आज जबर्जस्ती केही गर्न मन लागेको। भेलेन्टाइन डेको लागि छानिएका सामानहरू माथि आँखा फ्याँक्छु। एक से एक वस्तु छन्। सस्तो-महँगो पनि। म रातो गुलाबको गुच्छा मन पराउँछु।

“साहुजी, यो गुच्छा कतिमा दिनुहुन्छ?”

पसले मलाई राम्ररी नियाल्छ। भन्न सक्दिनँ, उसको मनभित्र के खेलिरहेको छ। “एक सय रुपैयाँ!” अन्तमा संयमित जवाफ फर्काउँछ।

“तीनवटा गुलाबलाई एक सय रुपैयाँ!”

“आफ्नो जमाना सम्झौ । कसैलाई नजिक पार्न दिनुहुन्थ्यो भने यसरी आँखा तर्काउनुहुन्थ्यो?”

केही युवक पसलेको समर्थनमा हाँस्न थाल्दछन्। म साँच्चिकै गलेको महसुस गर्छु। अब त मेरो लागि त्यहाँबाट जान पनि मुश्किल, न लिऊँ भने झन मुश्किल। हत्तपत्त पसलेलाई रु.११० दिएर गुलाब गुच्छा किनिलिन्छु। ताजा गुलाबका पत्तीहरू सुगन्धित पनि थिए। त्यसलाई कलात्मक डालीमा सजाएर राखिएका थिए। गुच्छा हातमा लिएर चोकमा आई विचार गर्न थाल्दछु- म यो गुलाब लिएर घर जान नसकुँला। हातैमा लिएर घुमिरहनु पनि अप्ठ्यारो नै थियो। तब या यसलाई कतै ठाउँमै पुर्‍याउनुपर्‍यो या त कुनै कुनामा सुक्न छाडिदिनु पर्‍यो।

धर्मसङ्कट बढ्दै गइरहेको थियो। गुलाबको गुच्छा कसैको हातमा दिएर आफ्नो प्रेम जताउँ अथवा फालिदिऊँ? अब जे हुन्छ देखा जाला, यो कुनै नयाँ कुरा होइन। समय निकै बितिसक्यो, सबै कुरो ब्ल्याक एण्ड ह्वाइट फिल्म जस्तै धमिलो भइसकेका छन्। टेक्निकलर, हैन मेगाकलर, थ्रीडी, फोरडीको जमाना आइसकेको छ। हामीहरू अगाडिको कुरा मात्र सम्झेर हीनभावना पाल्दै आएका छौं। हैन, प्रेमलाई स्मरण गर्न केको अप्ठ्यारो? आजको दिनको सार्थकता यसैमा हुनेछ।

म गुलाबको गुच्छा हातमा लिएर चाबहिल जाने टेम्पूमा बस्न पुग्दछु। म आफैँ अचम्मित छु। यो टेम्पू मित्रपार्क, चाबहिल, बौद्ध र जोरपाटीसम्म जानेछ। म कता जान लागेको छु? उता को छन् मेरा? गुलाबको फूल बोकेको छु, गन्तव्य भने छैन।

गन्तव्य सम्झँदा हँसी पलाउन थाल्छ, जसलाई म रुमालले छोपेर लुकाउँछु। नेपाल सरकारले २०११ लाई पर्यटन वर्ष घोषित गरेको छ। कति लाख पर्यटक भित्र्याउने रे? ती पर्यटकहरूबाट हुने आयभन्दा बढी खर्च प्रचार-प्रसारमा भइरहेको छ। कहिले समुद्रपार पर्यटनको नाउँमा त कहिले तराई पर्यटनको नाउँमा खुबै मस्ती छ, पर्यटन प्रबर्द्धकहरूको। मलाई भने गन्तव्य शब्दबाटै चिढ भइसकेको छ। हैन, यो शब्द मेरो मनमा आयो कसरी!

आज मेरो कुनै गन्तव्य छैन। टेम्पूमा गइरहनेछु। मेरी आत्मीय यतै कतै छिन्। यो गुलाब उनको हातमा थमाइदिनेछु। म पनि यसै महानगरमा छु भनेर उनी सम्झ्ुन्। यो गुलाब स्मरणाञ्जली बन्ला।

टेम्पू हुँइकिँदैछ। मेरो मस्तिष्कले फन्को मारिरहेको छ। बालसखी मुटु चुँडेर तीस वर्ष अगावै कतै हिँडिहालिन्। जिन्दगीको रुमानी उमेरमा कुनै गीतालाई पनि सजाउन सकिनँ। उनी निराश भएर खुसीको जिन्दगी बाँचिरहेकी छिन्- मभन्दा टाढा बसेर। एउटाको मायाजालबाट बडो मुश्किलले बाहिर उक्लिन भ्याएँ। केही सखी आउँदै, हराउँदै गइन्। एउटी राखी छिन, दिल्लीमा। आक्कल-झ्ुक्कल यहाँ पनि आउँछिन्। यो अवसर परेको भए यही फूल अर्पित गर्थें, उनलाई…!

टेम्पू पुरानोबानेश्वर चोकमा अडिन्छ। तीन जना र्झ्छन्, त्यति नै चढ्छन्। एकजना अधबैंसे छन्, हातमा प्रोफाइल ब्याग बोकेका। एजेन्ट जस्तो लाग्दछ। अर्का जो चढे असल जोडी छन्। भर्खरै बिहे गरेका १८-२० वर्षकी केटी र २४-२५ वर्षको केटो। म अलिपर सरेर उनीहरूलाई ठाउँ दिन्छु। जोडी टेम्पूवालालाई हकार्छ- हिँड्।दुवैलाई हतार थियो।

मेरो चिन्तन भङ्ग भइसकेको थियो। टेम्पूको गतिसँगै फेरि क्रम जुड्न थाल्दछ। अबता जो छन्, यहीं छन्। हो, त्यसलाई त यो दिन सकिन्छ। अनाहक मैले कता-कता के-के सोचें!

फेरि मनमा कुरा खेल्छ- साँच्चिकै उनी यति नजिक थिइन् भने किन सम्झ्न सकिनँ? नत्र, यो फूल उनलाई जिम्मा लगाइसक्थें। मानिसहरू बुझन चाहँदैनन्। समय पदचिन्ह छोड्दै जान्छ, जसको आकृति हुरी, बतासमा खण्डित भइरहन्छ।

सम्बन्ध यति खराब भएको छैन कि गुलाबको फूलसम्म दिन नसकोस्। म निश्चय गरिहाल्छु- यी फूल यहीं दिनु पर्‍यो। मन प्रसन्न हुन्छ, भारी हलुङ्गो हुन्छ। मेरो बरालिने बानीले कतै ठाउँ पायो!

मेरो छेउका जोडी त एकआपसमा समाहित हुने गरी टाँसिएका छन्। उनीहरूको व्यवहारले टेम्पूवासीहरूलाई रोमाञ्चित बनाउन थालेको छ। युवतीको स्वेटरमा गुलाबको फूल रोपिएको छ। यी दुई जना कतैबाट मस्ती मार्न गइरहेका छन् अथवा मस्तीपछि आइरहेका छन्। जे भए पनि भेलेन्टाइन डेको भरपुर आनन्द उठाउन कुनै कसर बाँकी राखेका छैनन्।

टेम्पूलाई मित्रपार्कनिर रोक्छु। एकचोटि गहिरिएर युवतीको स्वेटरको गुलाब र फेरि आफ्नो हातमा जतनले राखेको गुच्छा नियाल्छु। लाग्छ, ती युवतीको गुलाबको अगाडि मेरो गुलाबको सुवास र कान्ति क्षीण हुँदै गइरहेको छ।

टेम्पूबाट र्लेर टेम्पूवालालाई रु.१० भाडा दिन्छु। मित्रपार्कको पूर्वतर्फको ढलानमा आँखा दगुराउँछु। पन्ध्र मिनेटको बाटो, घण्टाको लाग्छ। थाकिसकेको खुट्टाले जबाफ दिइसकेको हुन्छ। गुलाबको गुच्छालाई बीच सडकमा थचारेर म मैतीदेवी जाने टेम्पूमा सवार भइहाल्छु। अब म आफूलाई बढी सहज महसुस गर्न थाल्दछु।

जनकपुरधाम, धनुषा

हिमाल खबरपत्रिका पूर्णांक २७३

Dhruba Nepal – Enclave

ध्रुव नेपाल- इन्क्लेभ
(मधुपर्क २०६७ असार)

भलै मानिस चरा होइन, मनको चाहनाअनुसार फुत्त पखेटा फट्फटायो जहाँ चाहृयो त्यहाँ पुगिहाल्यो गर्नसक्ने यद्यपि उसका चाहना भने कम हुँदैनन् । ऊ पनि दुई गोडा चल्ने बेलासम्म मन लागेपछि घरको सङ्घारबाहिर निस्केर कहाँ-कहाँ पुगिहाल्छ । गोडाले नभ्याउने हुँदासमेत चाहेको ठाउँमा जान मन लाग्यो भने के गर्ने भनेर अन्य साधनहरू साइकल, रिक्सा, गाडी, रेल, हवाइजहाज आदिजस्ता कुराको आविष्कार गरेको छ । यी कुराहरू प्रयोग गरेर त मानिस चराभन्दा पनि टाढा पुग्नसक्ने भएको छ । त्यसैले अबको अवस्थामा मानिसले चरा हुन पाए हुन्थ्यो भन्नुको सट्टा चराले मानिस हुन पाए हुन्थ्यो भन्छ होला- घुम्ने सन्दर्भमा ।

मानिस यसरी चराभन्दा पनि उन्मुक्त ढङ्गले घुम्न सक्ने भइसकेको छ तर हामीलाई भने एउटा सानो घेराभन्दा बाहिर जान यति कठिन छ । झुरूप्प भएर बनेका १०० वटा जति घर भएको क्षेत्र हाम्रो संसार बनेको छ । अघोषित रूपमा नै भए पनि त्यो हाम्रो संसारको सीमा बनेको छ । त्यहाँभन्दा बाहिर गयौँ भने अल्पसङ्ख्यक हामी सर्वियनहरूलाई बाहुल्य भएका अल्बानियनहरूले आक्रमण गरेर लुट्लान्, अङ्गभङ्ग गरिदेलान् वा मारिदेलान् भन्ने भयबाट हामी आक्रान्त छौँ । यस्ता कैयौँं घटना भएका हुन् । कैयौँ मारिए विगतमा र अद्यापि अल्बानियनहरूले एउटा घरमा बेलाबेलामा आगो लगाउने गर्छन् । त्यो घरमा दस चोटि आगो लागिसक्यो, के नै पो सद्दे कुरा बचेको छ र । तैपनि आगो लगाएर नै सन्तोष मान्छन् अल्बानियनहरू । त्यो घरधनी सर्विया सरेर नगएको भए एक चिहान हुने थिए जलेर त्यहीँ । कस्तो रिस हो त्यो घरप्रति । हुन त त्यो घरधनी कोसोभोको अन्तिम लडाइँ १९९९ मा नसकिउञ्जेल सर्वियाको तर्फबाट यो राहोभाच क्षेत्रको प्रशासक थियो । माथिको निर्देशनअनुसार अल्बानियनहरूलाई दबाउने निर्णय गर्ने र प्रहरी सक्रिय बनाउने गर्‍यो नै । त्यो त नूनको सोझो गरेको न हो- नत्र त्यो मानिस आफू नै त्यस्तो बलजफ्ती गरुँ भन्ने खालको होइन तर के गर्नु-अल्बानियनको सूचीमा ऊ नम्बर एक खलपात्र बन्न पुग्यो । विचरो !त्यत्रो ठूलो परिवार लिएर नाटोको आक्रमणबाट सर्बियन सैनिक टिक्न नसक्ने ठानेपछि सर्बिया सरिहाल्यो शरणार्थी भएर । यहाँको यस्तो राम्रो घर, जग्गा-जमिन छाडेर गएर कस्तो दुःख पाएर बस्नु परेको छ- विचरालाई ।

उसलाई के विचरा भन्ने जस्तो लाग्छ कहिलेकाहीँ मलाई । हामी ऊभन्दा कुन पो गतिलो अवस्थामा छौँ र । कुन बेला अङ्गभङ्गमा परिने हो, मारिने हो भन्ने डर बोकेर बसेका छौँ । कतै छस्रक्क गर्‍यो भने कुनै अल्बानियन केही लुट्न आयो कि वा बन्दुक बोकेर मार्न पो आयो कि भन्ने डर बोकेर बसेका छौँ । विगतमा हाम्रो गाडी (कार) हामीले देख्दादेख्दै दुई अल्बानियन ठिटाहरूले ग्यारेजबाट झिकेर लगे । कहाँ उजुर गर्न जानु !न्यायाधीश, वकिलदेखि कारिन्दा सबै उनीहरू (अल्बानियन) नै छन् । कुनै पनि मुद्दालाई त्यसको विषय गम्भीरताको दृष्टिकोणबाट भन्दा कुन पक्षको संलग्नता छ भन्ने किसिमले हेरिन्छ । अनि न्याय कसरी पाउनु । अल्बानियन प्रहरी, वकिल र न्यायाधीश भएपछि सबै मिलेर सर्बियनको मुद्दा जिताउलान् भनी सोच्नु दिउँसै सपना देख्नु हो र मुद्दा हाल्नु भनेकै गोहीसँग बिन्तीभाउ गर्नु जस्तै हो । यो अनुभूति गरेर मैले मुद्दा हाल्नबाट मेरो पतिलाई रोकेँ । पहिले त उनी आवेशमा आएर यसो गर्छु भन्दै थिए तर सम्झाएर चिस्याएपछि यथार्थबोध भयो उनीलाई ।

गाडीको मात्र के कुरा !घरबाट अलि टाढा अल्बानियनहरूको बर्चस्व रहेको ठाउँमा हाम्रो अङ्गुरबारी छ । १९९९ को लडाइँपछि जब उनीहरू हामीप्रति आक्रामक हुन थाले र हामी निरीह हुन थाल्यौँ- हामी खेती गर्न जान नसक्ने भयौँ । त्यो त्यसै छ । फलेका अङ्गुर अल्बानियनले टिप्छन् । त्यो बारी आफ्नो स्वामित्वमा छ भनेर मात्र के उपति भयो र, सुमर्न नसकेपछि/नपाएपछि । आफ्नो बारी छ भने घरिघरि गइरहनुपर्छ- केफोर (कोसोभो फोर्स- नाटोसँग आबद्ध देशहरूले आ-आफ्नो देशबाट पठाएको सेना)लाई बक्साएर तिनको सुरक्षामा आफ्नो बारीमा गएर कसरी साध्य हुने !केफोरले जान आउन त सुरक्षा देला दिनभरि बसेर सुरक्षा त गर्दैन । अल्बानियनको बर्चस्वको क्षेत्रमा दिनभरि बसेर एक्लै काम गर्न आफूलाई आँट आउँदैन- अनि के गर्नु । आँट नआउनुका पछाडि विगतका घटनाहरूले तर्साउँछन् । कति आक्रमणमा परिसकेका छन् ।

कठिनाइ त खेती गर्न नपाउनुले भन्दा पनि पिँजराजस्तो सानो इन्क्लेभ (Enclave) (सानो क्षेत्र जसको चारैतिर आफूलाई प्रतिकूल हुने पक्षले घेरेको छ)मा बस्न पर्नुले सिर्जना गरेको छ । यसरी इन्क्लेभमा बस्नु पर्नाले पेसा, व्यवसाय गर्ने अवसर गुमेको छ । जम्मा एक सय जति घर छ- हाम्रो इन्क्लेभमा । हामीले सानो पसल राख्न चाहृयौँ भने बेच्ने सामान ल्याउनकै समस्या, ल्याएर बेच्न ग्राहककै सीमित सङ्ख्या । केफोरको सुरक्षामा गएर निश्चित ठाउँबाट सामान ल्याउनु पर्‍यो । त्यसो हुनाले सस्तो, राम्रो सामान किनेर ल्याउन सकिएन- जुन व्यापारको लागि प्रतिकूल भएको छ । किनेर ल्याएको सामान बेच्ने भनेको इन्क्लेभका मानिसलाई मात्र भयो । सर्बियनहरू नोकरी गर्न, व्यवसाय गर्नबाट छायाँमा परेकाले राम्रो आम्दानी नै छैन । जसोतसो व्यापारकै पनि के नै आकर्षण रहृयो र भित्री नहुने भएपछि ।

हाम्रो मुख्य आम्दानीको स्रोत भनेको अङ्गुर खेती थियो । हाम्रो नजिकमा रहेको अङ्गुरबाट वाइन बनाउने उद्योग युरोपको दोस्रो ठूलो मानिन्थ्यो । अहिले बन्द छ । अनि हामीले खेती गर्न सकेको अङ्गुर नै पनि के गर्ने भन्ने समस्या छ । टाढा पर्ने अङ्गुरबारीमा हामी जानै सक्दैनौँ । घरछेउको बारीमा जे जति खेती गर्छौँ त्यो पनि बेच्न पाउँदैनौ । अनि के गर्नु- बाध्य भएर आफैँ घरायसी प्रविधिअनुसार रकिया (एक किसिमको रक्सी जुन कडा हुन्छ) र वाइन बनाउँछौँ । धेरैजसो घरमा नै खपत गर्छौँ । कुनै अन्तर्राष्ट्रिय स्टाफ आएर किन्ने विचार गरे बेच्छौँ पनि तर यसरी फाटफुट बेचेर त के नै पो आम्दानी हुन्छ र !अनि हामी १९९९ मा नाटोले आक्रमण गर्नुअघि शासक वर्गमा गनिए पनि अहिले तन्नम् अवस्थामा पुगेका छौँ । यसरी हरतरहबाट कुण्ठित र त्रसित भएर बाँच्नुु पर्दा पुरानो दिनको यादले खुबै सताउँदो रहेछ, उपियाँले टोकेसरह हुने रहेछ । त्यो टोकाइको बेला सोच्छु- कस्तो अन्याय भइरहेको छ हामीप्रति । अनि उपियाँ उफ्रेर अर्को ठाउँमा टोक्दा सोच्छु- पालोको पैँचो तिरेका हुन् अल्बानियनले पनि । हामीले अन्याय गरेकै भएर यिनीहरू यति बिघ्न हामीसँग प्रतिशोध साँध्न तम्सेका त हुन् नि ।

मानिस सबै तातो, रातो रगत भएका हुन्छन् भन्ने ठानेर समान व्यवहार गर्नुपर्नेमा १९८९ मा स्लोभोदान मिलोसोभिच आएर फुसकोसोभोमा भाषण गरेर यो जातीय विभेदको बीजारोपण गरिदिएर त हो नि हामीले आज यो नियति भोग्नु परेको । हामी अल्बानियनहरूसँग मिलेर बसेकै थियौँ, कोसोभोले मागेअनुसारको अर्धस्वामित्वमा सञ्चालन हुने अधिकार पाएकै थियौँ । त्यसो हुँदाहुँदै मिलोसोभिचले कोसोभोको अर्धस्वामित्वको अधिकार खोसिदिने, अल्बानियनहरूलाई सेवाबाट हटाउने जस्ता ज्यादती गरेपछि उनीहरूले आफ्नो अस्तित्वको लागि नै पनि हतियार उठाउन परिहाल्यो । वास्तवमा मिलोसोभिचको लिंडेढिपी र मूर्खताको फल हामीले भोगिरहेछौँ । सोभियत सङ्घ जस्तो ठूलो राष्ट्र टुक्रिनु परेको, आफँै भित्रको स्लोभेनिया, क्रोएसिया, बोस्निया हर्जगोभिना, म्यासेडोनिया विरोधमा उत्रेर, लडेर स्वतन्त्र भइसकेको दृष्टान्त हुँदाहुँदै पहिले अर्धस्वतन्त्र भएर आफ्नो अधिकारको उपभोग गरिरहेको क्षेत्रलाई सैनिक बुट बजारेर र बन्दुकको नाल तेस्र्याएर नियन्त्रणमा लिन्छु, १२ प्रतिशतले ८८ प्रतिशतमाथि राज गर्छु भन्ने उसको बुद्धि र सनक सम्झेर मलाई त उसले हुट्टीट्याउँ बिस्र्याउने दुष्प्रयास गरेको जस्तो लाग्छ । भन्छन् – हुट्टीट्याउँ उत्तानो परेर खुट्टा ठड्याई आफूले आकाश थामेको गर्व गर्छ रे ।

मलाई त जाति, धर्म, भाषा र संस्कृतिजस्ता कुराको आधारमा तँ सानो, म ठूलो भनेर झगडा गर्नुभनेको मानवले आफूलाई मास्न तयार भएको जस्तो लाग्छ । यस किसिमको विविधता भनेको त इन्द्रेणीको रङजस्तो हो । जब सूर्यका सात रङ मिलेर बस्ने तर आवश्यक पर्दा आफ्नो रङ चिनाउने नगरी इन्द्रेणी बन्दैन, त्यसै गरी संसारमा रहेका जातिगत, धर्मगत, संस्कृतिगत विविधतालाई आफ्नो मौलिकताको सम्बर्द्धन गर्दै मिलेर बस्न नदिई यो संसार सुन्दर पनि हुँदैन तर राजनीतिज्ञ र धार्मिक नेताहरू आफ्नो नाम चलाउने कुत्सित स्वार्थमा लागेर जब ठूलो र सानो, श्रेष्ठ र निकृष्टको कुरा निकाल्न थाल्दछन् – अनि मानवताको क्षय सुरु हुन्छ । मानवलाई सर्वश्रेष्ठ बनाउने चेष्टा गर्दा सायद भगवान्ले मानवले मानवको गिदीमा भेंडाको गिदीको पनि अंश मिसाइदिएका रहेछन्, अनि केही तिनै दम्भले विवेक गुमाएका नेताको पछाडि दगुर्छन् । अनि कोसोभोको जस्तो अल्बानियन-सर्बियनको झगडा हुन्छ, रुवान्डा बुरुण्डीको जस्तो तुत्सी र हुतुको नरसंहार लीला हुन्छ । यो क्रम रोकिनुको सट्टा बढ्दो छ, फैलिँदो छ संसारको विभिन्न भागमा । जर्ज बर्नाड शाले भनेझैँ मानवलेे विगतका गल्तीबाट केही सिक्दैन भन्ने कुरो धेरै ठाउँमा उस्तै दुःखद र हिंसात्मक घटनाहरू दोहरिनुले सार्थक पारेझैँ लाग्छ । नत्र हाम्रो र हाम्रो जस्तो अरूको परिणति देखेर अन्यत्र यस्तो हुन रोकिनुपर्ने हो तर भएको छैन त !

महाअन्धकारमा एउटा दियोले मानिसलाई ठूलो सहयोग गरेझैँ कठिनाइको यस्तो अवस्थामा एउटा नेपालीले हामीलाई ठूलो सहयोग गरिरहेछ । कसैले कसैलाई सधैँ गुन लगाइरहन सक्दैन । एक दुई पटक मात्र यस्तो गर्नसकिन्छ । यो नेपालीले हामीलाई यस्तै गरेको छ । ऊ हामीकहाँ पेइङ्ग गेष्ट भएर बसेको छ । हुनत ऊ पेइङ्ग गेष्ट हो तर हामी उसलाई त्योरूपमा भन्दा परिवारको अभिन्न अङ्गको रूपमा स्वीकार गरेका छौँ । हाम्रो कुनै आम्दानीको बाटो नभएको बेला उसले दिने पैसाले हामीलाई बाँच्न सक्ने बनाएको छ । ऊ हाम्रो पखेटा भएको छ । हामी इन्क्लेभमा कुँजिन पर्नेलाई ऊ खतरा मोेलेर हामी जानुपर्ने ठाउँहरू जस्तै मेत्रोभिसा, ग्राचानिचा, स्ट्रप्चेजस्ता ठाउँहरूमा पुर्‍याइदिन्छ । घर र व्यक्तिको लागि चाहिने सामान किन्न हामी ठाउँ चाहार्न सक्दैनौँ । ऊ आफैँ गएर वा हामीलाई लगी ती कुरा उपलब्ध गराइदिन्छ । मेरा छोराहरू स्कुल जान नपाएर लठि्ठइरहेको बेला उसले अङ्ग्रेजी सिकाइदिएको छ । अरू त अरू, ऊ हाम्रो अङ्गुरखेतीमा सघाउने प्रमुख पात्रसमेत भएको छ । उसले मलाई अङ्ग्रेजी सिकाइदिएको छ र मैले उसलाई सर्वियन । अरू त अरू म एउटा नेपाली गीत गाउन सक्ने भएकी छु । सुन्ने हो?

“रेशम फिरिरी, रेशम फिरिरी,
उडेर जाउँ कि डाँडैमा भञ्ज्याङ्ग,
रेशम फिरिरी”

यस्तो लाग्छ- ऊविना हाम्रो जीवन धेरै दुष्कर हुनेछ । ऊ बिदामा जाँदा मात्र त हामी ऊ र्फकने दिन गनेर बस्छौँ भने ऊ साँच्चै गयो भने !! भन्छन्- अस्वीकार्य र सहन नसकिने कुरा पहिलेदेखि सोचेर दुःखित नहुनु । म सोच्न सक्दिन अहिले उसको गमन र हाम्रा दुष्कर दिनहरू ।

प्रिस्टिना, कोसोभो

Basudev Guragain – Lilam Badha Badh

वासुदेव गुरागाईं – लिलाम बढाबढ

सफासँग कम्प्युटर टाइप गरिएका सबै अक्षर कहीँ कतै एउटा अल्पविरामसम्म पनि नबिराई बडो सतर्कतापूर्वक पढ्यो उसले । ‘लौ यसमा सही गर्नुस् ।’ अगाडि बसेर उसलाई ती अक्षर वाचन गराउँदै गर्ने महाशयले मौखिक आदेश गरे ।
मनमा कुनै किसिमको द्विविधा नराखी उसले खुशी भएर फटाफट त्यसमा सही गरिदियो र अर्को आदेशको प्रतीक्षामा मर्यादित भएर ठिङ्ग उभिइरह्यो उसैका सामु ।
उसले सम्पूर्ण रुपमा स्वीकार गरेको त्यस कागजमा लेखिएको थियो,— ‘म … … ईश्वरका नाममा शपथ लिन्छु । सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्दछु कि … … को कामकाज प्रचलित कानुनको अधीनमा रही, कसैको डर नमानी, पक्षपात नगरी, कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई, इमान्दारीसाथ गर्नेछु … ।’
यस्ता अक्षर वाचन गरेर सही गर्ने ऊ पहिलो व्यक्ति थिएन । विगतलाई खोतल्दै जाने हो भने
यसरी सही गर्नेमा लाखौँको सङ्ख्यापछि मात्र उसको नाम आउँथ्यो । अरुका त कुरा छाडौँ, उसलाई
जसले आज यी अक्षर वाचन गराएर सही गरायो, ऊ स्वयंले पनि पहिला कसैका सामु उभिएर यसै गरी वाचन र सही गरेको थियो, ईश्वरका नाममा शपथ लिइएको त्यस्तै बेहोराको कागजातमा । अनि, अर्को आदेशको प्रतीक्षामा कसैका सामु ऊ त्यसरी नै बडो मर्यादित भएर उभिएको थियो, जसरी ऊ आज उभिइरहेछ ।
‘ल ! अर्को आदेश वा खटनपटन नभएसम्म प्रशासन शाखामा गएर हाजिर गर्दै गर्ने ।’ अगाडि बसेर शपथ गराउने ती महाशयले आदेश थपे ।
‘हस् हजुर’ मा टाउको झुकाएर उसले प्रशासनतिर पाइला बढायो । यो अधिकार प्राप्तिको कागज भनूँ वा नियुक्तिपत्र यसअघि नै बुझिसकेको थियो उसले । अब हाजिर गरेर सरकारी जागिरको औपचारिक सुरुआत गर्न मात्र ऊ हतारिएको थियो ।
***
केही समय अगाडिको शपथमा लेखिएको भाषा उसका मनभित्र कहिले यता कहिले उता दगुर्दै त्यसैत्यसै मडारिन थाल्यो । शपथ खुवाउने सुकिलो मान्छेको मुखाकृति पनि बेलाबेलामा उसका अगाडि झ्वास्स–झ्वास्स देखा पर्न थाल्यो । त्यो मान्छे ईश्वर नै हो भत्रे सम्झिएको थियो उसले । र त, साक्षात् ईश्वरका सामुत्रे उभिएर शपथ लिएको भान परेको थियो उसलाई त्यतिखेर ।
हाजिर गरे पनि पदस्थापन नहोउन्जेल उसको खासै केही काम थिएन । पदस्थापनका लागि यताउति दौडधुप गर्नुपर्छ भत्रे संस्कार पनि उसमा प्रवेश गर्न भ्याइसकेको थिएन ।
बरन्डा चहार्दाचहार्दै उसका आँखा भित्तामा झुन्ड्याइएको ‘निर्मल …’ नामक नामपाटीमा प¥यो । त्यस नामपाटीले सकसका साथ भित्तामा झुन्डिएरै भए पनि कार्यालय प्रमुखको परिचय दिइरहेको थियो । एकपटक भेट्ने निधो ग¥यो र फुत्त भित्र पस्यो । अघि उसैलाई शपथ खुवाउने सुकिला मान्छे रहेछन् ती । सुरुमा त देख्नेबित्तिकै झसङ्ग पनि भयो ऊ । नचिनेका थप दुईचार मानिसको उपस्थिति पनि त्यहाँ
भेटियो । सुकिला मान्छेले उसलाई एकछिन बाहिरै बस्ने सङ्केत गरे । ऊ सामान्य शिष्टाचार पु¥याएर जसरी भित्र पसेको थियो त्यसै गरी सर्लक्क बाहिरियो ।
‘किन आउनु भएको थियो ?’ एकछिनपछिको बोलावटपश्चात् तिनै सुकिला मान्छेबाट उसलाई आइलागेको पहिलो प्रश्न थियो यो । पहिला त ‘के भत्रे !! के नभत्रे !’ सोचमा ऊ अलमलियो । पछि हिम्मत गरेर आफ्नो पदस्थापनका विषयमा कुरा राख्यो । आपूmलाई पायक पर्ने र जान चाहेको ठाउँ
बतायो ।
‘बेलाबेलामा यसो भेटघाट गर्दै गर्नू ।’ सजिलो जवाफ पायो उसले । निर्णयमा कुनै ढिल्याइँ थिएन । छलकपट भएजस्तो पनि देखिँदैनथ्यो । ऊ फुरुक्क प¥यो । अहा ! कस्ता राम्रा मान्छे रहेछन्, उसले मनमनै सोच्यो । आदरपूर्वक नमस्कार ग¥यो र सुरुक्क फर्कियो । उसले जानेको यत्ति थियो । दुईचार दिनको जागिरमा बटुल्ने अनुभव योभन्दा बढी कति नै हुन्थ्यो र ?
अहिलेसम्म हाजिर गर्नेभन्दा बढी काम उसले पाएको थिएन । नियमित त्यही बरन्डाको चहाराइ र त्यहाँ आउनेजाने नौलानौला मानिससँगको भेटघाटले उसलाई केही परिपक्व भने बनाउँदै लगेको थियो । यस क्रममा नयाँ नियुक्ति र पदस्थापन मात्र होइन यस बाहेकका अन्य सरुवा लगायतका काम पनि त्यहीँबाट हुने उसले चाल पायो ।
समय निकै लम्बिँदै गएपछि उसका मनमा अनेकौँ जिज्ञासा उत्पत्र हुन थाले । कुरा बुझ्दै जाँदा पदस्थापनअघि स्थान चयनका लागि त्यहाँ ठूलै मोलतोल र शक्तिको उपयोग हुने वास्तविकतासँग पनि उसले परिचित हुन भ्यायो । ती सुकिला मान्छेका ढोकामा नियमित देखा परिरहनेहरु अप्रत्यक्ष रुपमा यिनै कुरा गरिरहेका हुन्थे । यति मात्र होइन, ती सब लिलाम बढाबढमा भाग लिएर फर्किँदै गरेका रहस्य पनि उसले छोटै अवधिमा पत्ता लगायो । नोकरीमा भरखर प्रवेश गरेको मान्छे । यो वातावरण उसलाई निकै रहस्यमय भइरहेछ । बडो कौतूहलको विषय बन्दै गइरहेछ । अझ अर्को एउटा आशङ्का पनि ऊ उब्जाउँछ मनमा । सायद ती सुकिला मान्छे पनि यसरी नै लिलाम बढाबढमा भाग लिएर यहाँसम्म आइपुगेका होलान् ।
***
उसले ‘निर्मल …’ को सुन्दर, सफा र सुकिलो बाहिरी रुप सम्झ्यो र उसको भित्री रुपको कल्पना ग¥यो । तैपनि ‘निर्मल …’ लाई ऊ नियमित रुपमा भेटिरहेको छ र आश्वासन पनि पटकपटक अक्षरशः त्यही दोहोरिइरहेछ,— ‘बेलाबेलामा यसो भेटघाट गर्दै गर्नू ।’
अब बल्ल उसले यस्तो आश्वासनको गूढ रहस्य र मर्म बुझ्न थाल्यो । अब उसलाई छिट्टै एउटा निर्णयमा पुग्नु पर्ने अवस्था पनि आइलाग्यो । नत्र चाहेअनुसार आफ्नो पदस्थापन नहुने पक्कापक्कीमा ऊ पुगिसक्यो । के गर्ने ! के नगर्ने !! द्वैध मानसिकतामा ऊ तड्पिन थाल्यो । जागिर प्रवेशको सुरुआतकै क्षणमा ऊ कठिन निर्णयको दोसाँधमा उभिएको छ यतिखेर । र पनि, केही निर्णय लिन सकिरहेको छैन ।

ऊ यतिखेर दुइटा मन बोकेर आपैmँभित्र गुम्सिइरहेछ । एक मनले भन्छ केही दिनअघि मात्र लिएको शपथलाई पाखा लगाउँदै बहुमतको भीडमा च्यापिएर पदस्थापनका लागि हुने लिलाम बढाबढमा भाग लिई अरुहरुलेभैmँ ईश्वरलाई भूmटो बनाइदिनु पर्छ । अर्को मनले भन्छ होइन त्यसो नगर, ईश्वरका नाममा लिएको शपथलाई आत्मसात् गरी अल्पमतमै ठडिएर भए पनि दयामूर्ति ती अमूर्त ईश्वरलाई सत्य बनाउनु पर्छ तैँले । यसै द्विविधाले अभैm केही निर्णय लिन सकेको छैन उसले । सकोस् पनि कसरी ? बहुमतमा उझिऊँ भने केही दिनअघि ईश्वरका नाममा सत्य, निष्ठापूर्वक गरेको शपथले तर्साइरहेछ । यसो नगरी ईश्वरलाई मनमा राखेर अल्पमतमा ठडिन जाऊँ भने समय नबुझेको आरोपमा बहुमतले नराम्रोसँग धिक्कार्छ उसलाई । यसमा कत्ति शङ्का छैन । कस्तो अप्ठ्यारो !! ऊ अभैm अकमक्क पर्छ । ‘के गर्ने ! के नगर्ने !!’ अभैm निर्णयमा पुग्न सत्तैmन ऊ ।

Dr. Surendra Labh – Dadhelo

डा. सुरेन्द्र लाभ – डढेलो
(Source: Himal Khabar)

टल्पलाइरहेका आँसुलाई उसले धेरैबेरदेखि आँखाको पलकका बीचमा रोकेको थियो। तर आँसु भित्र पस्न सकेन र दुवै गालामा र्झ्न थाल्यो। एकपटक बाँध फुटेपछि निकै बेरसम्म भल बगिरह्यो। बन्द कोठाको छ्यानमा एक्लै बसेर उसले टुलुटुलु हेरिरह्यो। आधा रात बितिसक्यो। आज बिहान उठ्नेबित्तिकै कसको मुख देखियो र यस्तो भयो? किन आज एकैदिनमा संसार फेरियो? किन चिनेकाहरू नचिनिने भए? कसरी आफ्नै देशको राजधानी उन्मत्त भयो? किन यस नगरमा ३५ वर्षसम्म गरेको तपस्या भत्कियो? नगरको माटो र पानीमा आफूलाई मिलाउन गरेको त्यत्रो प्रयास एकै निमेषमा लुप्त भयो? सोच्ता-सोच्तै ऊ छट्पटाइरह्यो।

बिहान ऊ उठ्दा एकदम ठीक-ठाक थियो। शहरमा कहाँ के हुँदैछ उसले केही बुझ्ेको थिएन, सधैं किताबकै संसारमा हराइरहन्थ्यो। कलम घोट्ता-घोट्तै सम्पूर्ण जीवन समर्पित गरेको उसले २५ वटा पुस्तक लेिखसकेको थियो। कथा, कविता, लेख छापिइरहन्थे। ऊ एक उच्च विद्वान्का रूपमा प्रख्यात छ।

कुनै नयाँ पुस्तकको खबर पाएर किन्न बिहानै हिँडेको थियो। चुपचाप आफैँमा मग्न भएर अगाडि बढ्दैथियो। पछाडिबाट आएको नारा जुलुसको स्वर कानमा पर्‍योः
हृतीक रोशन – मुर्दावाद!
काले धोती – देश छोड!
यस ठाउँमा सधैं यस्तै भइरहन्छ, भन्ने सोच्तै ऊ खुरुखुरु अगाडि बढ्यो। थाहा छैन, को हो यो हृतीक रोशन? मान्छेहरू किन मुर्दावादको नारा घन्काउँदै छन्? केही बुझन सकेन, तर काले धोतीबाट केही सङ्केत पायो। यस ठाउँमा त यी शब्द मधेशी समुदाय र नागरिकको पर्याय बनेका छन्। जुलुस नजिकै आइपुग्यो र जुलुसबाट कसैले चिच्यायो― “पक्री! पक्री!! यही हो काले धोती!” यो सुनेर ऊ अलिक आत्तियो र आफ्नो शरीरतिर नजर दौडायो। उसले धोती लगाएको छैन र ऊ कालो पनि छैन। अलिक आश्वस्त भयो― होइन अरूलाई भनिएको होला। ऊ फेरि अगाडि बढ्यो।

यत्तिकैमा भीडले उसलाई घेराबन्दी गर्‍यो। चारैतिर उत्तेजित भीड देखेर जाडोमा पनि उसको निधारमा पसिना आयो। भीड चिच्याउँदैछ― “नछोड! नछोड!! साले इण्डियनलाई नछोड।” उसको गला अवरुद्ध भयो। आँखा अगाडि अन्धकार छायो। बल्लबल्ल उसको बोली आयो― “म इण्डियन होइन, नेपाली हुँ। म काठमाडौं निवासी हुँ। बानेश्वरमा मेरो घर छ…”, उसको आर्तनाद कसैले सुन्यो या सुनेन, भीडबाट निस्किएका अनेक अप-शब्द ऊ सुन्दैथियो। ऊ विस्तारै बेहोस हुन थाल्यो। बेहोस भइराखेका बेलामा भीडका पछाडि उभिएको एउटा युवकमा उसका नजर पुगे। अरू कोही नभई उसकै छोरो थियो। ऊ अचेत भयो।

होश खुल्नेबित्तिकै उसले चारैतिर पुुलिस देख्यो। तिनीहरू उसलाई हात समातेर उठाउँदैथिए। पूरा जीउ दुखिरहेको थियो, प्यारो छोराको सम्झ्ना भयो। ऊ भीडमा के गर्दैछ? ऊ जुलुसमा नारा लगाउँदैछ। अघि बढ्दैछ। घृणा फैलाउँदैछ। बेहोसीमा पनि यी सबै कुरा मनमा आउँदा ऊ दुःखी भयो। मेरो छोरो उत्तेजनाको कुन चुलीमा थियो। जसले काले धोती मा आफ्नो बाबुलाई चिन्न सकेन, उसको संस्कार र शिक्षा? “जातपात केही हुँदैन बाबु! सारा संसारका मान्छे एकै हुन्। हामी सबैको जात मानव र धर्म मानवता हो”, साँझ्-बिहान यही रटाउँदा-रटाउँदै छोरो यत्रो भयो। तर यो शिक्षाको एउटा पनि शब्दको प्रभाव किन परेन? शहरमा सभ्य व्यक्तिका रूपमा सम्मानित मान्छेको छोरो किन यसरी संस्कारहीन भयो? बाबु मधेशी र छोरो पहाडी कसरी भयो? केही बुझन सकिएन!

खुट्टा खोच्याउँदै ऊ घरतिर हिँड्यो। बाटामा उसलाई स्मरण भयो― सानै छँदा स्कूलबाट फर्किने बित्तिकै छोराले सोधेको थियो, डेडी! मधेशीहरू चोर हुन् कि होइनन्, हाम्रो स्कूलमा सबै त्यसै भन्छन्। ऊ त्यतिखेर अकमक्क परेको थियो, कुनै जवाफ फुरेन! तुरुन्तै गालामा एक चड्कन किन दिइनँ भन्ने आज अनुभव हुँदैछउसलाई। घर पुगेपछि श्रीमतीले बेलिविस्तार सुनिन् र अवस्था समेत देखिन्। सहानुभूतिको सट्टा उनी, रिसले मुर्मुरिइन्। दुई जनाबीच घमासान भनाभन भयो।
“किन घरबाट निस्कनुभो? तपाईंले शहरको स्थिति बुझनुभएको छैन?”
“मैले कहाँ केही बुझ्ेको छु र?”

“दिनभरि पुस्तकमा टाउको जोतेपछि कसरी देशविदेशको खबर बुझ्िन्छ त!”
“तर यो सम्पूर्ण घटनामा मेरो के दोष?”
“मधेशी हुनु तपाईंको दोष हो, राम्रो लुगा लगाउनु नत्र मान्छेले चिन्छन् भनेर कति पटक भनेँ!”
“चिन्छन् भन्नुको कारण के हो? के म तिम्रो छोरो जस्तै बोरावाला जिन्स पैन्ट, रातो, पहेँलो भेस्ट, कानमा कुण्डल, घोडाको जस्तो केश र हात्तीका खुट्टा जस्ता ठूला जुत्ता लगाएर आबारा बनँू? अनि किन अहिलेसम्म फर्किएन त तिम्रो लाठसाहेब! मलाई त जे भो-भो, तर उसको चिन्ता छ।”
“तपाईं छोडिदिनुहोस् उसको चिन्ता गर्न।” भीडले तपाईंलाई घेरेका बेलामा ऊ कसरी चिच्यास् साथी हो! उहाँ मेरो बुबा हुनुहुन्छ भनेर। त्यतिखेर भीड उसमाथि खनिँदैनथ्यो। भीडले ऊपनि मधेशी हो भनेर चिनिहाल्थ्यो नि!”
“मधेशीलाई मधेशी भनेर चिने के आपत्ति?”
“तपाईं जस्तै चुटाइ खान्थ्यो अरू के! अनि अर्को कुरा, ऊ तपाईंको मात्र छोरो हुन्थ्यो भने मधेशी हुन्थ्यो, तर मेरो समेत छोरो भएकाले पहाडी पनि हो।”

अन्तिम संवाद भालाझ्ैँ कलेजोमा गाडियो, अचानक कसैले तल खसाइदिए जस्तै भयो। अतीतका धेरै कुरा मस्तिष्कमा घुम्न थाले। छरिएका कागजका पन्ना समेटेझ्ैं आफैँलाई सम्हालेर जवाफ दियो― “हेर! म मधेशी हुँ यो साँचो हो। तिमी पहाडी हौ यो पनि साँचै हो। जतिखेर मसँग बिहे गर्‍यौ त्यतिखेर यस सत्यलाई बुझ्ेकी थियौ कि थिइनौ?”
“बुझ्ेकी थिएँ।”

“त्यसो भए थाहा होला हामीले सिनेमाको प्रभाव र अन्य आकर्षणका कारणले बिहे गरेका होइनौँ। हामीले एउटा आदर्श र एउटा सिद्धान्तका अधीनमा रहने प्रतिज्ञा गरेर बिहे गरेका थियौँ।”
“थाहा छैन कुन सिद्धान्त र आदर्शको कुरा गर्दै हुनुहुन्छ।”

“जबसम्म यस देशमा पहाडी र मधेशी समुदायबीच वैवाहिक सम्बन्ध स्थापित हुँदैन तबसम्म यो समस्या समाधान हुन सक्तैन भन्ने सिद्धान्त थियो।”

“त्यो सिद्धान्तप्रति म आज पनि प्रतिबद्ध छु, तर सिद्धान्तवादीको कस्तो हालत हुन्छ त्यो तपाईंले नै सुनाउनुभयो। त्यसैले आफैंले आफूलाई केही दिन घरमै कैद गरेर राख्नु सम्पूर्ण परिवारका लागि हितकर हुन्छ।”

“ए! म घरमा कैदी बन्नु, किनभने म मधेशी हुँ, काले हुँ, धोती हुँ। तिमी र तिम्रो पुत्र साँढेजस्तै घुम्छौ, किनभने तिमीहरू पहाडे हौ, सेता छौ, यस देशका सच्चा नागरिक हौ।”

श्रीमती खुट्टा बजार्दै घरबाट बाहिरिइन्। उसको मुखबाट निस्क्यो― तर यो हृतीक रोशन को हो? उताबाट कुनै जवाफ आएन। श्रीमती अर्को कोठामा सुतिरहेकी छन्। छोरो फर्केको छैन। उत्तेजनापूर्ण आकृतिहरू हिँडेर नजिकै आउँदै छन्। अपमानका शब्दहरूले अहिलेसम्म पीडा दिंदैछन्। बेचैनीको चरम सीमामा छट्पटाउँदै आधा रात बितिसक्यो। यसरी नै दिनका एउटा एउटा घटना भइरहे। किन कतैबाट कुनै जिज्ञासा पूरा हुँदैन। दिनभरि टिनटिनाउने टेलिफोन आज किन मौन छ?

मनमनै निधो गर्‍यो। बिहान झ्िसमिसेमै जनकपुर जान्छु। यही सुखद् निर्णयसँगै छटपटी केही कम भयो उज्यालो भयो। ऊ जनकपुरतिर हिँड्यो। शान्त, निश्चिन्त, योजनाविहीन भएर साँझ् नपर्दै जनकपुरनजिक आइपुग्यो। बस ढल्केबर पुगेपछि मुटु स्नेहपूर्ण भयो। चोक, पार्क, मान्छेहरू सबै हितैषी लागे। बस महेन्द्रनगर आयो। होटल, दोकान सबै चिनेझ्ैँ लाग्यो। बस गुडिरह्यो। रमदैयाको चौकी आइपुग्यो। सपही आयो। लछमनियाँ बजार आयो। मुजेलिया आयो। र, जनकपुरको पिडारी चोक आयो। आफ्नो ठाउँ र आफन्तबीच बसबाट उत्रिने बित्तिकै पूरा शरीर नवउमङ्गले भरियो। एक मनमा अँजुलीभरि धूलो उठाएर चन्दन जस्तै निधारमा लगाउने विचार पलायो। तर मानिसहरूले बहुलाहा भन्लान् भनेर धर्र्तीतिर झ्ुक्न सकेन।
ईश्वर, पूजापाठ आदिमा कहिल्यै त्यति विश्वास थिएन। तापनि आज सर्वप्रथम जानकी मन्दिर पुग्यो। टाढैबाट मन्दिर अनुपम सुन्दर लाग्यो। भव्य मन्दिरको सम्पूर्ण लम्बाइ, चौडाइ र उचाइलाई आँखामा डुबाएर भित्र प्रवेश गर्न आँट्तै थियो, फेरि कुनै नाराको आवाज कानमा पर्‍यो। मुटु ढुक्ढुक् गर्न थाल्यो, फर्किएर हेर्दा त साँच्चै एउटा झ्ुण्ड नारा लगाउँदै यतै आउँदैछः
हृतीक रोशन – जिन्दावाद!
टोपी नाकबुच्चे – तराई छोड!
उभियो। सोचमग्न भयो― यो हृतीक रोशन को हो? कतै मुर्दावाद र कतै जिन्दावाद! अचम्म लाग्दो कुरा छ। किताब लेख्तालेख्तै जिन्दगी सुकिसक्यो। मेरो सामान्य ज्ञान पनि कस्तो। जसका कारणले सम्पूर्ण देशमा डढेलो लागेको छ र त्यसको सिकार आफैँ भएँ। आखिर त्यो हस्ती को हो? झ्ुण्डको नजिक आएर एउटा युवकसँग सोध्यो― “बाबु! यो हृतीक रोशन को हो?”

युवक चिच्याएर उफ्रियो― “यही हो पहाडे, यही हो।”
सबै आक्रोशित भएर कुट्नका लागि कुदे। उसले ठूलो स्वरमा चिच्यायो― “म पहाडे होइन बाबु! म यसै ठाउँको हुँ। देवी चोकमा मेरो घर छ।”

युवक― “यो भर्खर हृतीक रोशनलाई किन जिन्दावाद भन्दैछौ भन्दैथियो।”
अर्को युवक― “हो अनि हेर त, यसका कपडा पहाडेको जस्तै छ नि!”
तेस्रो― “नाककान थेप्चो छ, अनि यो कति गोरो छ।”
चौथो― “जुन पहाडे मैथिली बोल्छ, त्यो सबैभन्दा बढी खतरनाक हुन्छ।”

अनि त्यसपछि कसका कति मुक्का, लात्ती र जुत्ता उसका शरीरमा बजि्रए, ठेगान छैन। बेहोस भयो। एकैपटक अस्पतालमा होश खुल्यो। टाउकामा पट्टी, हातमा पट्टी, खुट्टामा पट्टी! शरीरमा जुन चोट छ, त्योभन्दा गहिरो चोट हृदयमा। ऊ माछाजस्तै छट्पटाउँदैछ। केहीबेर घोरिएपछि अलिकति मुस्कुरायो। समस्या अवगत भयो। सोच्न थाल्यो― यसैमा एउटा जीवन्त कथा हुनसक्छ। अहँ, यो कथावस्तु उपन्यासका लागि उपयुक्त हुन्छ। फेरि सोच्न थाल्यो― यो राष्ट्रिय समस्या हो। सबैलाई पढाउनु आवश्यक छ। तर यो हृतीक रोशन को हो? सोच्तै फेरि आँखा बन्द भए।

केही बेरपछि आँखा खुल्दा कुनै पत्रकार सोध्दैथियो “हजुर! यहाँ एक प्रसिद्ध लेखक हुनुहुन्छ, तर हिजो काठमाडौँमा यहाँलाई पहाडेहरूले चुटे, आज जनकपुरमा मधेशीहरूले। हजुर केही भन्न चाहनुहुन्छ?”

“हिजो काठमाडौंमा चुटाइ खाने प्राणी मानव थियो अनि कुट्ने बहुलट्ठी र आज जनकपुरमा जसलाई कुटियो ऊ मानव हो र कुट्नेहरू बहुलट्ठी!” यति भन्दै ऊ यसै विषयमा नव सिर्जनाको तानाबाना बनाउन फेरि आँखा चिम्म गर्छ।

मैथिलीबाट अनुवादः लक्ष्मीप्रसाद रिजाल

Geeta Thapa – Suntali Ko Ganthan

गीता थापा – सुन्तलीको गन्थन

सम्बोधन कुन शब्दले र कसरी गर्छन्, त्यो त मलाई थाहा छैन् बुडा, मत सिधा मान्छे, सिधै कुरा गर्छु। गाउँमा खाएको गुन्द्रुक र मकैंको भाँत याद आइरहन्छ। त्यो पल्लाघरे कान्छी बजैको मोहीको त झन कति हो कति याद आउँछ। फेरी खान नपाएकी कस्ती गालपारा आइमाई रहिछे यो त, मान्छेले सुनेर के भन्लान नभन नी तिमीले देशै त आज अती पिडादायिक अवस्थाबाट गुज्रीरहेको बेला अरुले के भन्लान भनेर म हाम्रो राष्ट्रिय खाना कसरी भूल्न सक्छु। दुइदिन मलमल लगाएर त्यो हिजोको भाँग्रो यति छोटो कसरी भूल्न सक्छु। हेर सुख लुक्छ, तर दुस्ख कहिल्यै लुक्दैन।तिमीले मास्टर बाबुलाई लेख्न लगाएर पठाएँको चिट्ठी मैले पाएँ।

तिमीले माया प्रितिका कुरा त भूलेछौं । तलाइ कस्तो छ सम्म पनि भनेर लेखेनँछौ, शायद आफूलाई लेख्न नआएर लाजमानेका होला । खाली महंगी बढेको छ पैसा जति सक्छेस् चाँडो पठाउनु भन्छौ। यो पैसा भन्ने कुरा पनि गजबको रहेछ, आफ्ना आफन्त सबैसँग नाता तोड्नँ पर्दा पनि नहिच्किचाउने बा । हिजो त म सँग पैसा नभएर यसको नशा कस्तो हुन्छ थाहा थिएनँ। आज बल्ल पो थाहाँ पाएँ पैसाले अशान्ति गराउने कुरा त ।

त्यसैले मैले पनि जवाफ कनिकोथी आफैं लेख्दैछु,प्रदेशमा गएर दुस्ख पाएको छोराले आफ्नो आमा बुवालाई यसरी चिट्ठी लेखेको थियो रें,यहाँ मेरा साथीहरुले भनेका। पैस पठल त बचल नत्र भक्क मरल होला, है सुन्तली तेरो बुडालाई तैले लेखेको चिट्ठी, भनेर उनीहरुले मलाई गिल्लाएर हाँस्छन्।

अनि तिमीले नजानेको कुरा जान्ने साथी भाईहरुसँग सहयोग मागेर लेख्न लगाएको भएँ हुन्थ्यो नी, भनेर नभन फेरी । किनकी मैले यहाँ आएर के कुरा सिके थाहा छ बुडा ? आफ्नो काम आफैंले गर्ने आदत गर्नु पर्छ रें। अरुको भर परेर बस्दा दुस्ख पाईन्छ रें । मलाई यो कुरा साँच्चै हो जस्तो लाग्यो । किन भनेर भन्छौ भनेरुहाम्रो देशमा अझै पनि छोरी मान्छे,सानोमा आमा बाउको भरमा, र ठुलो भएपछी बुडाको भरमा, र बुडाबुडी भएपछी छोरा छोरीको भरमा । यहाँ त छोरा र छोरी भनेर छुट्याउँनै गार्ह्यो रहेछ।उहाको जस्तो लिबिस्टिक र क्रिम पाउडरमा भूलेर आईमाईहरुले दिन बिताउदा रहेनछन् । त्यस्को उत्ती जरुरी पनि देखिन मैले यहाँ । फेरी तिमीले किन , र कसरी भन्छौ होला। किनकी छोरा मान्छेले लगाए जस्तै सट र पाँइन्ट लगाएपछी किन चाइयो बाँकी सब कुरा होईन त ?

बुडा, मैले पनि तिम्रो एउटा समस्या हल गरिदिएकी छु। त्यो के भन्छौ भने, मैले पनि यहाँकै पहिरन लाउन राम्ररी जानि सकें। त्यस्बेला तिमीलाई एक,बर्षमा एउटा फरिया मेरो लागि किनेर ल्याउँदा कति कठिन थियो। फरिया ल्यायो पेटिकोट नहुने,पेटिकोट ल्यायो चोलो नहुने चोलो ल्यायो चप्पल नहुने। अब तिमी त्यो सबबाट मुक्त भयौ। अनि हाम्रो गामघरमा स्कुल सधैंको हड्तालले बन्दको बन्दै हुन्छ भन्थ्यौ, अचेल साने र माने दुई भाई हाम्रा छोरा गाई बाख्रा लिएर बनतिर जान्छन भन्थ्यौं। खुशीको कुरा हो,किनकी धेरै पढेर बाठा भएपछी, आफ्नो गामघर फर्किन मान्दा रहेनछन् । सबै यतै बाट अमेरिका क्यानाडा लण्डनतिर जाने सल्लाह गर्छन्।मेरा साथीहरुले भनेको मैले कालो अक्षर भैंसी बराबर भएर त्यो मेरै गामघर सम्झेकी रें। त्यसैले अहीले त मलाई लाग्दैछ१ मेरा आमा बुवाले मलाई नपढाएर ठुलो पुण्यको काम गरेछन्,किनकी मैले मेरो गामघर भूलेकी तँ छुइन। मलाई त मेरो गामघर भूलेर काँही गएर बसौ जस्तो लागेको छैन, र लाग्दैन।

मेरो इच्छा त एउटा सानो घर बनाएर साहुको नाम बाट त्यो पाखो बारी निखन्न सकें खुशी छु। गाउँमा फर्केर आएपछी मैले सिकेको कुरा जान्न उसुक हुने दिदी बहिनीहरुलाई बाँडेर आत्मा निर्भर हुन जरुरी रहेछ भन्ने कुराको महत्व बुझाउछु । कामको आधारमा मान्छेलाई सानो र ठुलो भन्ने कुरा गल्त प्रविदीको थालनी रहेछ भन्ने छु, र सकेंको समाजसेवा गरेर आफ्नै गाममा बस्ने छु। अझ हाम्रो नेताहरुको बुद्दी फर्केर आफ्नै गाममा रोजगार दिए त१ कति खुशी हुन्थे, हुन्थे, परिवार भन्दा टाढा त बस्नु पर्ने थिएनँ। ल,ल अब धेरै के लेख्नु, आईमाईको किंचकिंचे बानि गएको रहेनछ भनौला,फेरी मास्टर बाबुलाई पढ्न सार्ह्यो हुन्छ। अनि तिम्रा बुवा आमालाई पनि सञ्चै छु भनेर सुनाइ दिनु है, म साहुको ॠण तिरी सकेपछी आमालाई फरिया र बाउलाई स्टकोट किन्ने पैसा पठाइदिउला । अनि घरतिर सबैलाई सम्झना गरेकी छु भनेर सुनाइ दिनु। अनी हाम्रो देशका नेताहरुलाई चाँही जति सक्छौ बन्द हड्ताल गर्दानै फाईदा हुन्छ, देश कुन मोडतिर जादैछ वास्ता नगरिकन कसरी कुर्सीमा सधैं बस्न पाईन्छ, त्यतातिर मात्रै ध्यान दिनु रे भनेर सुनाइ दिनु ।

बाँकी कुरा लेख्दै गरौंला आजलाई यतिनै उही तिम्री सुन्तली।