Dhruba Nepal – Enclave

ध्रुव नेपाल- इन्क्लेभ
(मधुपर्क २०६७ असार)

भलै मानिस चरा होइन, मनको चाहनाअनुसार फुत्त पखेटा फट्फटायो जहाँ चाहृयो त्यहाँ पुगिहाल्यो गर्नसक्ने यद्यपि उसका चाहना भने कम हुँदैनन् । ऊ पनि दुई गोडा चल्ने बेलासम्म मन लागेपछि घरको सङ्घारबाहिर निस्केर कहाँ-कहाँ पुगिहाल्छ । गोडाले नभ्याउने हुँदासमेत चाहेको ठाउँमा जान मन लाग्यो भने के गर्ने भनेर अन्य साधनहरू साइकल, रिक्सा, गाडी, रेल, हवाइजहाज आदिजस्ता कुराको आविष्कार गरेको छ । यी कुराहरू प्रयोग गरेर त मानिस चराभन्दा पनि टाढा पुग्नसक्ने भएको छ । त्यसैले अबको अवस्थामा मानिसले चरा हुन पाए हुन्थ्यो भन्नुको सट्टा चराले मानिस हुन पाए हुन्थ्यो भन्छ होला- घुम्ने सन्दर्भमा ।

मानिस यसरी चराभन्दा पनि उन्मुक्त ढङ्गले घुम्न सक्ने भइसकेको छ तर हामीलाई भने एउटा सानो घेराभन्दा बाहिर जान यति कठिन छ । झुरूप्प भएर बनेका १०० वटा जति घर भएको क्षेत्र हाम्रो संसार बनेको छ । अघोषित रूपमा नै भए पनि त्यो हाम्रो संसारको सीमा बनेको छ । त्यहाँभन्दा बाहिर गयौँ भने अल्पसङ्ख्यक हामी सर्वियनहरूलाई बाहुल्य भएका अल्बानियनहरूले आक्रमण गरेर लुट्लान्, अङ्गभङ्ग गरिदेलान् वा मारिदेलान् भन्ने भयबाट हामी आक्रान्त छौँ । यस्ता कैयौँं घटना भएका हुन् । कैयौँ मारिए विगतमा र अद्यापि अल्बानियनहरूले एउटा घरमा बेलाबेलामा आगो लगाउने गर्छन् । त्यो घरमा दस चोटि आगो लागिसक्यो, के नै पो सद्दे कुरा बचेको छ र । तैपनि आगो लगाएर नै सन्तोष मान्छन् अल्बानियनहरू । त्यो घरधनी सर्विया सरेर नगएको भए एक चिहान हुने थिए जलेर त्यहीँ । कस्तो रिस हो त्यो घरप्रति । हुन त त्यो घरधनी कोसोभोको अन्तिम लडाइँ १९९९ मा नसकिउञ्जेल सर्वियाको तर्फबाट यो राहोभाच क्षेत्रको प्रशासक थियो । माथिको निर्देशनअनुसार अल्बानियनहरूलाई दबाउने निर्णय गर्ने र प्रहरी सक्रिय बनाउने गर्‍यो नै । त्यो त नूनको सोझो गरेको न हो- नत्र त्यो मानिस आफू नै त्यस्तो बलजफ्ती गरुँ भन्ने खालको होइन तर के गर्नु-अल्बानियनको सूचीमा ऊ नम्बर एक खलपात्र बन्न पुग्यो । विचरो !त्यत्रो ठूलो परिवार लिएर नाटोको आक्रमणबाट सर्बियन सैनिक टिक्न नसक्ने ठानेपछि सर्बिया सरिहाल्यो शरणार्थी भएर । यहाँको यस्तो राम्रो घर, जग्गा-जमिन छाडेर गएर कस्तो दुःख पाएर बस्नु परेको छ- विचरालाई ।

उसलाई के विचरा भन्ने जस्तो लाग्छ कहिलेकाहीँ मलाई । हामी ऊभन्दा कुन पो गतिलो अवस्थामा छौँ र । कुन बेला अङ्गभङ्गमा परिने हो, मारिने हो भन्ने डर बोकेर बसेका छौँ । कतै छस्रक्क गर्‍यो भने कुनै अल्बानियन केही लुट्न आयो कि वा बन्दुक बोकेर मार्न पो आयो कि भन्ने डर बोकेर बसेका छौँ । विगतमा हाम्रो गाडी (कार) हामीले देख्दादेख्दै दुई अल्बानियन ठिटाहरूले ग्यारेजबाट झिकेर लगे । कहाँ उजुर गर्न जानु !न्यायाधीश, वकिलदेखि कारिन्दा सबै उनीहरू (अल्बानियन) नै छन् । कुनै पनि मुद्दालाई त्यसको विषय गम्भीरताको दृष्टिकोणबाट भन्दा कुन पक्षको संलग्नता छ भन्ने किसिमले हेरिन्छ । अनि न्याय कसरी पाउनु । अल्बानियन प्रहरी, वकिल र न्यायाधीश भएपछि सबै मिलेर सर्बियनको मुद्दा जिताउलान् भनी सोच्नु दिउँसै सपना देख्नु हो र मुद्दा हाल्नु भनेकै गोहीसँग बिन्तीभाउ गर्नु जस्तै हो । यो अनुभूति गरेर मैले मुद्दा हाल्नबाट मेरो पतिलाई रोकेँ । पहिले त उनी आवेशमा आएर यसो गर्छु भन्दै थिए तर सम्झाएर चिस्याएपछि यथार्थबोध भयो उनीलाई ।

गाडीको मात्र के कुरा !घरबाट अलि टाढा अल्बानियनहरूको बर्चस्व रहेको ठाउँमा हाम्रो अङ्गुरबारी छ । १९९९ को लडाइँपछि जब उनीहरू हामीप्रति आक्रामक हुन थाले र हामी निरीह हुन थाल्यौँ- हामी खेती गर्न जान नसक्ने भयौँ । त्यो त्यसै छ । फलेका अङ्गुर अल्बानियनले टिप्छन् । त्यो बारी आफ्नो स्वामित्वमा छ भनेर मात्र के उपति भयो र, सुमर्न नसकेपछि/नपाएपछि । आफ्नो बारी छ भने घरिघरि गइरहनुपर्छ- केफोर (कोसोभो फोर्स- नाटोसँग आबद्ध देशहरूले आ-आफ्नो देशबाट पठाएको सेना)लाई बक्साएर तिनको सुरक्षामा आफ्नो बारीमा गएर कसरी साध्य हुने !केफोरले जान आउन त सुरक्षा देला दिनभरि बसेर सुरक्षा त गर्दैन । अल्बानियनको बर्चस्वको क्षेत्रमा दिनभरि बसेर एक्लै काम गर्न आफूलाई आँट आउँदैन- अनि के गर्नु । आँट नआउनुका पछाडि विगतका घटनाहरूले तर्साउँछन् । कति आक्रमणमा परिसकेका छन् ।

कठिनाइ त खेती गर्न नपाउनुले भन्दा पनि पिँजराजस्तो सानो इन्क्लेभ (Enclave) (सानो क्षेत्र जसको चारैतिर आफूलाई प्रतिकूल हुने पक्षले घेरेको छ)मा बस्न पर्नुले सिर्जना गरेको छ । यसरी इन्क्लेभमा बस्नु पर्नाले पेसा, व्यवसाय गर्ने अवसर गुमेको छ । जम्मा एक सय जति घर छ- हाम्रो इन्क्लेभमा । हामीले सानो पसल राख्न चाहृयौँ भने बेच्ने सामान ल्याउनकै समस्या, ल्याएर बेच्न ग्राहककै सीमित सङ्ख्या । केफोरको सुरक्षामा गएर निश्चित ठाउँबाट सामान ल्याउनु पर्‍यो । त्यसो हुनाले सस्तो, राम्रो सामान किनेर ल्याउन सकिएन- जुन व्यापारको लागि प्रतिकूल भएको छ । किनेर ल्याएको सामान बेच्ने भनेको इन्क्लेभका मानिसलाई मात्र भयो । सर्बियनहरू नोकरी गर्न, व्यवसाय गर्नबाट छायाँमा परेकाले राम्रो आम्दानी नै छैन । जसोतसो व्यापारकै पनि के नै आकर्षण रहृयो र भित्री नहुने भएपछि ।

हाम्रो मुख्य आम्दानीको स्रोत भनेको अङ्गुर खेती थियो । हाम्रो नजिकमा रहेको अङ्गुरबाट वाइन बनाउने उद्योग युरोपको दोस्रो ठूलो मानिन्थ्यो । अहिले बन्द छ । अनि हामीले खेती गर्न सकेको अङ्गुर नै पनि के गर्ने भन्ने समस्या छ । टाढा पर्ने अङ्गुरबारीमा हामी जानै सक्दैनौँ । घरछेउको बारीमा जे जति खेती गर्छौँ त्यो पनि बेच्न पाउँदैनौ । अनि के गर्नु- बाध्य भएर आफैँ घरायसी प्रविधिअनुसार रकिया (एक किसिमको रक्सी जुन कडा हुन्छ) र वाइन बनाउँछौँ । धेरैजसो घरमा नै खपत गर्छौँ । कुनै अन्तर्राष्ट्रिय स्टाफ आएर किन्ने विचार गरे बेच्छौँ पनि तर यसरी फाटफुट बेचेर त के नै पो आम्दानी हुन्छ र !अनि हामी १९९९ मा नाटोले आक्रमण गर्नुअघि शासक वर्गमा गनिए पनि अहिले तन्नम् अवस्थामा पुगेका छौँ । यसरी हरतरहबाट कुण्ठित र त्रसित भएर बाँच्नुु पर्दा पुरानो दिनको यादले खुबै सताउँदो रहेछ, उपियाँले टोकेसरह हुने रहेछ । त्यो टोकाइको बेला सोच्छु- कस्तो अन्याय भइरहेको छ हामीप्रति । अनि उपियाँ उफ्रेर अर्को ठाउँमा टोक्दा सोच्छु- पालोको पैँचो तिरेका हुन् अल्बानियनले पनि । हामीले अन्याय गरेकै भएर यिनीहरू यति बिघ्न हामीसँग प्रतिशोध साँध्न तम्सेका त हुन् नि ।

मानिस सबै तातो, रातो रगत भएका हुन्छन् भन्ने ठानेर समान व्यवहार गर्नुपर्नेमा १९८९ मा स्लोभोदान मिलोसोभिच आएर फुसकोसोभोमा भाषण गरेर यो जातीय विभेदको बीजारोपण गरिदिएर त हो नि हामीले आज यो नियति भोग्नु परेको । हामी अल्बानियनहरूसँग मिलेर बसेकै थियौँ, कोसोभोले मागेअनुसारको अर्धस्वामित्वमा सञ्चालन हुने अधिकार पाएकै थियौँ । त्यसो हुँदाहुँदै मिलोसोभिचले कोसोभोको अर्धस्वामित्वको अधिकार खोसिदिने, अल्बानियनहरूलाई सेवाबाट हटाउने जस्ता ज्यादती गरेपछि उनीहरूले आफ्नो अस्तित्वको लागि नै पनि हतियार उठाउन परिहाल्यो । वास्तवमा मिलोसोभिचको लिंडेढिपी र मूर्खताको फल हामीले भोगिरहेछौँ । सोभियत सङ्घ जस्तो ठूलो राष्ट्र टुक्रिनु परेको, आफँै भित्रको स्लोभेनिया, क्रोएसिया, बोस्निया हर्जगोभिना, म्यासेडोनिया विरोधमा उत्रेर, लडेर स्वतन्त्र भइसकेको दृष्टान्त हुँदाहुँदै पहिले अर्धस्वतन्त्र भएर आफ्नो अधिकारको उपभोग गरिरहेको क्षेत्रलाई सैनिक बुट बजारेर र बन्दुकको नाल तेस्र्याएर नियन्त्रणमा लिन्छु, १२ प्रतिशतले ८८ प्रतिशतमाथि राज गर्छु भन्ने उसको बुद्धि र सनक सम्झेर मलाई त उसले हुट्टीट्याउँ बिस्र्याउने दुष्प्रयास गरेको जस्तो लाग्छ । भन्छन् – हुट्टीट्याउँ उत्तानो परेर खुट्टा ठड्याई आफूले आकाश थामेको गर्व गर्छ रे ।

मलाई त जाति, धर्म, भाषा र संस्कृतिजस्ता कुराको आधारमा तँ सानो, म ठूलो भनेर झगडा गर्नुभनेको मानवले आफूलाई मास्न तयार भएको जस्तो लाग्छ । यस किसिमको विविधता भनेको त इन्द्रेणीको रङजस्तो हो । जब सूर्यका सात रङ मिलेर बस्ने तर आवश्यक पर्दा आफ्नो रङ चिनाउने नगरी इन्द्रेणी बन्दैन, त्यसै गरी संसारमा रहेका जातिगत, धर्मगत, संस्कृतिगत विविधतालाई आफ्नो मौलिकताको सम्बर्द्धन गर्दै मिलेर बस्न नदिई यो संसार सुन्दर पनि हुँदैन तर राजनीतिज्ञ र धार्मिक नेताहरू आफ्नो नाम चलाउने कुत्सित स्वार्थमा लागेर जब ठूलो र सानो, श्रेष्ठ र निकृष्टको कुरा निकाल्न थाल्दछन् – अनि मानवताको क्षय सुरु हुन्छ । मानवलाई सर्वश्रेष्ठ बनाउने चेष्टा गर्दा सायद भगवान्ले मानवले मानवको गिदीमा भेंडाको गिदीको पनि अंश मिसाइदिएका रहेछन्, अनि केही तिनै दम्भले विवेक गुमाएका नेताको पछाडि दगुर्छन् । अनि कोसोभोको जस्तो अल्बानियन-सर्बियनको झगडा हुन्छ, रुवान्डा बुरुण्डीको जस्तो तुत्सी र हुतुको नरसंहार लीला हुन्छ । यो क्रम रोकिनुको सट्टा बढ्दो छ, फैलिँदो छ संसारको विभिन्न भागमा । जर्ज बर्नाड शाले भनेझैँ मानवलेे विगतका गल्तीबाट केही सिक्दैन भन्ने कुरो धेरै ठाउँमा उस्तै दुःखद र हिंसात्मक घटनाहरू दोहरिनुले सार्थक पारेझैँ लाग्छ । नत्र हाम्रो र हाम्रो जस्तो अरूको परिणति देखेर अन्यत्र यस्तो हुन रोकिनुपर्ने हो तर भएको छैन त !

महाअन्धकारमा एउटा दियोले मानिसलाई ठूलो सहयोग गरेझैँ कठिनाइको यस्तो अवस्थामा एउटा नेपालीले हामीलाई ठूलो सहयोग गरिरहेछ । कसैले कसैलाई सधैँ गुन लगाइरहन सक्दैन । एक दुई पटक मात्र यस्तो गर्नसकिन्छ । यो नेपालीले हामीलाई यस्तै गरेको छ । ऊ हामीकहाँ पेइङ्ग गेष्ट भएर बसेको छ । हुनत ऊ पेइङ्ग गेष्ट हो तर हामी उसलाई त्योरूपमा भन्दा परिवारको अभिन्न अङ्गको रूपमा स्वीकार गरेका छौँ । हाम्रो कुनै आम्दानीको बाटो नभएको बेला उसले दिने पैसाले हामीलाई बाँच्न सक्ने बनाएको छ । ऊ हाम्रो पखेटा भएको छ । हामी इन्क्लेभमा कुँजिन पर्नेलाई ऊ खतरा मोेलेर हामी जानुपर्ने ठाउँहरू जस्तै मेत्रोभिसा, ग्राचानिचा, स्ट्रप्चेजस्ता ठाउँहरूमा पुर्‍याइदिन्छ । घर र व्यक्तिको लागि चाहिने सामान किन्न हामी ठाउँ चाहार्न सक्दैनौँ । ऊ आफैँ गएर वा हामीलाई लगी ती कुरा उपलब्ध गराइदिन्छ । मेरा छोराहरू स्कुल जान नपाएर लठि्ठइरहेको बेला उसले अङ्ग्रेजी सिकाइदिएको छ । अरू त अरू, ऊ हाम्रो अङ्गुरखेतीमा सघाउने प्रमुख पात्रसमेत भएको छ । उसले मलाई अङ्ग्रेजी सिकाइदिएको छ र मैले उसलाई सर्वियन । अरू त अरू म एउटा नेपाली गीत गाउन सक्ने भएकी छु । सुन्ने हो?

“रेशम फिरिरी, रेशम फिरिरी,
उडेर जाउँ कि डाँडैमा भञ्ज्याङ्ग,
रेशम फिरिरी”

यस्तो लाग्छ- ऊविना हाम्रो जीवन धेरै दुष्कर हुनेछ । ऊ बिदामा जाँदा मात्र त हामी ऊ र्फकने दिन गनेर बस्छौँ भने ऊ साँच्चै गयो भने !! भन्छन्- अस्वीकार्य र सहन नसकिने कुरा पहिलेदेखि सोचेर दुःखित नहुनु । म सोच्न सक्दिन अहिले उसको गमन र हाम्रा दुष्कर दिनहरू ।

प्रिस्टिना, कोसोभो

Leave a Reply

Your email address will not be published. Required fields are marked *