Geeta Keshari – Samarpan

गीता केशरी – समर्पण
(मधुपर्क २०६६ चैत)

हरिलाई आजभोलि निकै कविता पढ्ने सोख चलेको छ । त्यसमा व्यक्त भावना र विचारमा डुबुल्की मार्दै हराउन चाहन्छन् । आफ्ना अरू साथीहरूलाई पनि उनी भन्दै हिँड्छन्, “कविता पढ अनि मन शान्त हुन्छ । कविता लेख मन समालिन्छ ।” साथीहरू भने उनलाई उल्काउँदै भन्छन्, “त्यो पढ्ने तैँले हो । भरखरभरखर विवाह गरेको छस् । यही बेला हो कविता लेख्ने र पढ्ने अनि भावुक हुने । हामीले त्यस्ता समय बिताइसक्यौँ । अब त छोराछोरी आएर भन्छन्, बाबा देखाउनुहोस् न तपाईँले पढेको त्यो किताबमा कस्तो तस्बिर छ ।”

उनीहरू जति हाँसे पनि हरिले कविता पढ भन्न छोडेन र आफू पनि कविताका पुस्तकहरू किन्दै पढ्दै गरिरहन्छन् । एक साँझ उनी घुम्दैघुम्दै उही किताब पसलभित्र छिर्छन् र यताउति हेर्न थाल्छन् । पारखी पसलेले कुरो बुझ्छ र ऊ एउटा कविताको किताब हातमा लिँदै त्यसको धूलो पुस्दै हरि नजिकै आइपुग्छ र त्यो किताब ‘बिर्सिएका ती पाइलाहरू’ उनलाई दिँदै भन्छ “यो हालसालै विमोचित कवितासङ्ग्रह हो । साह्रै राम्रा कविताहरू यसमा छन् । हजुरलाई मन पर्छ भनेर राखिदिएको छु ।” “कसरी थाहा पायौ मलाई यसका कविताहरू मन पर्छ भनेर ? यसको स्रष्टा को हो ?”, एकैपटक दुइटा प्रश्न राख्छन् ।

ऊ पनि के कम, भनिहाल्छ, “म पनि पढ्छु नि । तपाईँले कस्तो कविता छानेर पढ्न लैजानुहुन्छ भन्ने मैले थाहा पाइसकेको छु । मेरो र तपाईँको चाहना मिल्छ । पहिले यो पढी त हेर्नुस् । लेखक नयाँ भए पनि विचार र भावना गहिरा छन् । शीला दली हुन् यसका लेखक । पेसामा डाक्टर रहिछन् ।”

“ए, त्यसो पो । ल्याउनुहोस् । यही लैजान्छु र म पनि हेर्छु तपाईँको र मेरो चाहना कति मिल्दो रहेछ । त्यसपछि यो छान्ने झन्झट पनि जान्छ, होइन त मित्र ?” भनेर हाँस्छन् । उसले “तपाईँको टेलिफोन नम्बर दिनोस् म अझ नयाँनयाँ पुस्तक आएको बेला घरैमा खबर गरिदिन्छु । अब त के मित्र भइहाल्यौँ” भन्दै हाँसोमा हाँसो थप्दै मित्रताको सहृदयता व्यक्त गर्छ । त्यहाँबाट निस्केको हरि घरमा पुग्नासाथ एक कप चियाको साथमा त्यो कवितासङ्ग्रह पढ्न थाल्छन् ।

पसलेले भनेजस्तै त्यसमा सङ्कलित कविताहरू उनलाई पनि निकै राम्रो लाग्छ । जति उनी पढ्दै जान्छन् उनको मस्तिष्क तरङ्गति हुन थाल्छ र स्मृतिका पानाहरू पल्टिन थाल्छन् । उनलाई लाग्न थाल्छ, कसैले उनकै व्यथा लेखिदिए जस्तो । फेरि एकपटक लेखकको नाम किताब पल्टाएर नै हेर्छन् । सोच्छन् पनि, यी कविताहरू त झन्डै २०/२५ वर्ष पहिले नै लेखिएका रहेछन् । कहाँ हाम्रो जीवनसँग मेल खान गएको भन्ने सोचेको हुँला ? म पनि…। भन्दै मनलाई सम्झाउन खोजे पनि मस्तिष्कले औँल्याउँछ- सत्यले वर्षको गणना कहाँ गर्छ र ? प्रेम सत्य हो ? यसको व्यथा सत्य हो । जीवन त गति मात्र त हो । यस सोचले उनी भ्रममुक्त हुन्छन् र सम्झन पुग्छन् आफ्नो प्रेमिकालाई, जो अघोषित रहिरहिन् र पीडा दिइरहिन्- प्रेमको । सायद ऊ पनि मजस्तै छट्पटाइरहेकी होली- मैले पनि त व्यक्त गर्न सकेको थिइँन मेरो मनमा पलाउन थालेको प्रेम । यो अव्यक्त भावनालाई हामीले बुझ्नै सकेनौँ र बुझ्ने कोसिस पनि गरेनौँ । किन…? धेरै पटक मैले उसको मन बुझ्ने मौका पाएको रहेछु भन्ने कुरा अहिले आएर बुझ्दैछु र पश्चात्तापमा जिउँदैछु ।

मेरी नयना कविता लेख्थी र भेट भएपिच्छे सुनाउँथी नयाँनयाँ आफ्ना रचना । राम्रो लेख्थी र भन्थी- मैले नेपाली विषय लिएर पढ्नुपर्ने, कहाँ विज्ञान लिन गएँछु । अब मेरो यो लेख्ने इच्छा अतिरिक्त क्रियाकलाप भएर मात्र रहने भएपछि यसमा के प्रगति ल्याउन सकिएला खै Û तर जे होस् म यसलाई छोड्न त सक्दै सक्दिन । तिमी मलाई भन्छौ नि कस्ती बौलाहीजस्ती भएकी Û हो, म कविता लेख्न बसेपछि त्यस्तै हुन्छु । अरू त के तिमीलाई पनि बिर्सन्छु । त्यसैसँग प्रेम गर्न थाल्छु । थाहा छ, किन म त्यसो गर्छु ? त्यसले मेरो मनलाई बुझ्छ । मेरो साथ दिन्छ । तिमी जस्तो कपटी त्यो छैन ।”

यति सुनेर पनि म हाँसी मात्र दिन्थेँ । सोद्धिनथिएँ के कसो भनी । न त भन्थेँ, “मैले पनि तिम्रो मन बुझेको छु । तिमी मलाई प्रेम गर्छौ ।”

हामी सानै उमेरदेखिका साथी थियौँ । खाली हाम्रो जात मिल्दैनथ्यो । त्यसको वास्ता हामीलाई थिएन । हामीबीचको बालमित्र प्रेम पनि हामी सँगसँगै हुर्किंदै जवान भयो । हामी अझ नजिक हुन चाहन्थ्यौँ भने बाआमालाई हाम्रो सम्बन्धप्रति दिन प्रतिदिन सतर्क हुँदै जान थाल्नुभयो । भन्न थाल्नुभएको थियो, अब तिमीहरू केटाकेटी छैनौ । धेरै घुलमिल गर्ने होइन । यस्तै के केको अर्ति आउन थालेपछि हामी यस सम्बन्धमा अझ बढी जिज्ञासु हुन थाल्यौँ । बाआमाको कुरालाई नै उठाएर आपसमा भन्थ्यौँ, “के भएको होला हाम्रा बाआमा पनि ? पहिले आफँै खेल्न जाओ । साथै मिलेर पढ भन्ने अहिले भने यस्तो भन्नुहुन्छ ।” के गरेका छौँ र हामीले होइन, हरि ? ऊ भन्थी भने म त्यसको समर्थन गर्थें ।

नयना राम्री छैन भनेर सबै भन्थे । ऊ पनि भन्थी, “म कस्ती नराम्री हगी ?” कहिले त लाग्छ भगवान्ले मेरो रूप बनाउँदा सबै सामग्री सकिएको बेलामा परे जस्तो छ । म पनि ठट्टैठट्टामा भनिदिन्थँे “त्यस्तो त होइन होला । बरु झोक चलेको बेलामा पर्‍यो

कि ?” योभन्दा बढी म उसको रूपबारेको कुरो पन्छाउन अरू केही पनि भन्दिनथिएँ किनकि मेरो ध्यान त्यसतर्फ छँदै थिएन । उसका कुरा मलाई मन पथ्र्यो, हाम्रो विचार मिल्थ्यो, बस् यत्तिमै सीमित थियो । स्कुलको शिक्षा पूरा गरेपछि नयनालाई उनको बाआमाले छात्रवृत्ति मिलाएर भारतमा इन्जिनियरिङ पढ्न पठाइदिए भने मेरो विषय म्यानेजमेन्ट भएकाले यहीँ बसेर पढ्ने भएँ । हाम्रो पत्राचार भइरहन्थ्यो र छुट्टीमा आएको बेला भेटघाट हुन्थ्यो र उही कविता र मित्रताको कुरा भइरहन्थ्यो । ऊ भन्थी, “हेर हरि त्यहाँ कत्तिसँग भेट भयो । धेरै घनिष्ठ मित्र पनि भएर कुरा गरियो तर कसोकसो तिमी जस्तो कुनै पनि लाग्नै सकेन, सत्ते ।” म पनि दङ्ग परेर भन्थेँ, “हो र भन्या । त्यस्तो मसँग के छ र ?”

ऊ भन्थी, “छ, यो प्यार प्यार चल्ने मुख ।” अनि ऊ त्यो कमिजभित्र लुकेको मन पनि भनिहालन भनेर मैले भन्दा ऊ भन्थी, “अहँ  त्यसको त मलाई विश्वास छैन । तिमी चाहिनेभन्दा बढी चञ्चल छौ र आफ्नो विचार खोलेर राख्न सक्दैनौ । त्यसैले त्यो मन बदलिरहन सक्छ । मेरो जस्तो छैन तिम्रो मन । मेरो हेर, यो टाँसिएपछि फुत्कँदै फुत्किन्न ।” हामी दुवै हाँस्थ्यौँ र स्वीकार्थ्यौं पनि ।

त्यसबेला उसले मलाई एउटा कविता सुनाएकी थिई, जुन कवितासङ्ग्रहको जस्तै थियो-

तिमीलाई प्रेरणा भन्न रुचाउँछु

सधैँ सधैँ छातीमा समेट्न चाहन्छु

मेरो हरेक पाइलामुनि

तिम्रो छाप परेको धरती देख्न रुचाउँछु ।

मैले त्यसबेला उसको कविता सुनेर भनेको थिएँ

“ओहो  त्यो त अति राम्रो प्रेममयी कविता पो लेखिछौ । तर यो ‘तिमी’ को हो ?”

“त्यो… तिमी पनि हुन सक्छौ र म आफँै पनि ।” आफ्नो विचार र भावनासँग प्रेम गर्ने प्रेमिका ।

“ए त्यसो भए ठीक छ । म त अर्को कुनै हो कि भनेर डराएको…।”

तिमी डराउनुभन्दा अरू के नै गर्न सक्छौ र ? आफ्नै छायाँलाई देखेर डराएर भागेको मैले कहाँ बिर्सेकी छु र भनेर ऊ हाँसी । मलाई लाज लाग्यो त्यो घटना सम्झेर ।

दुई वर्षजति यस्तैमा बित्यो । मेरो घर परिवारले मलाई विवाह गर्नुपर्छ भनेर एउटी केटी ल्याएर देखाउनुभयो । केटी तस्बिरकी देवीजस्तै राम्री थिई, पढेलेखेकी र हाम्रो व्यापारमा पनि साझेदारी रहेको परिवारकी छोरी थिई । परिवारको दबाब ममा अति नै पर्न थाल्यो । म के भनुँ के गरूँमा परेँ । एकपटक नयनाको विचार यसबारे के छ भनेर सोधुँ कि जस्तो पनि लाग्यो । फेरि अर्को मनले भन्यो, “त्यसले पनि अझसम्म खुलेर केही भनेकी छैन । मैले यस्तो कुरा राख्दा यो त कस्तो रहेछ मित्रता र प्रेम पनि नबुझ्ने ? अहिलेसम्मको हाम्रो मित्रतालाई विवाहमा पुर्‍याएर टुङ्ग्याउन पो खोज्दोरहेछ भन्ने ठानी भने ? म त जनावरीय प्रेमको इच्छुक भइहाल्छ नि ?”

अर्को कुरा उसले म विवाह गरेर प्रेमको अवमूल्यन गर्न चाहन्न भन्न पनि सक्छे । त्यो साह्रै भावुक छे । यता बाबुआमा आजै भन के छ तेरो विचार भन्न थालेका छन् । एकपटक त भनी पनि सके नयनालाई पर्खेको होस् भने त्यसलाई हाम्रो परिवारसँग गाँसेर वंश नै बिगार्ने पक्षमा हामी छैनाँै र अर्को कुरा यता हाम्रो व्यापार पनि यो विवाह भएन भने बिग्रन सक्छ । सबै कुरा सम्बन्धको नै त हो भनेर पिट्टा दिएकाले लौ तपाइर्ंहरूलाई जे मन लाग्छ गर्नोस् भनिदिएको थिएँ ।

विवाह भइहाल्यो । त्यसपछि के कस्तो अवस्था आइपरेर मैले विवाह गर्नुपर्‍यो भनेर सबै कुरा खोलेर साथीको रूपमा नयनालाई चिठी पठाएँ । उताबाट न बधाई आयो, न त घृणाको फूलझरी नै ।

विवाह गर्न पाएँ भनेर उमेर पुगेका दुलाहाहरू जति रमाउँछन् म हुन सकेको थिइनँ । सपनामा जीवनले गति लिएको जस्तो लागिरहेको थियो । म यन्त्रवत भइरहेँ । मेरो अगाडि नयनाको छायाँ मात्र आउँथ्यो । विचलित भएको मनलाई थाम्न सकिनँ र मैले उसलाई ट्रङ्कल गर्न खोजेँ । त्यहाँको लेडिज होस्टेलमा हत्तपत्त टेलिफोनमा बोलाइदिँदैनन् । बरु नयना बिरामी भएकी छे भन्नेसम्मको खबर दिए । झन् यस खबरले एक्कासि उसलाई के भयो त्यस्तो भन्ने कुरा मनमा उठ्न थाल्यो र मलाई पोल्न थाल्यो । म हेर्न जान चाहन्थेँ तर घरबाट यसमा पनि रोक लगाए । नयनाको बाबुआमालाई पनि यसबारे केही थाहा छैन जस्तो लाग्थ्यो । उनीहरू हाम्रो घरमा उस्तै गरी आइरहेका थिए र विवाहमा पनि सहभागी भएका थिए । भनेको सुनेको थिएँ, “नयनाको पनि पढाइ सकेर र्फकनासाथ यस्तै गरी विवाह गरिदिनुपर्छ । के गर्नु त्यसले विवाह गर्छे कि गर्दिन भन्ने लागिरहन्छ । यहाँ हुँदा कति केटाहरूको कुरा आएको थियो । राम्रो घर खानदानबाट । गर्दिन, मलाई पढ्नु छ भनेर पठाई । हामीलाई भन्थी, मेरो विवाहको चिन्ता तपाईंहरूले लिने होइन । म आफैँ लिन्छु र कोसँग गर्छु समय आएपछि बताउँछु । भन्छे, जीवन र प्रेमसँग मेरो सम्बन्ध भइसकेको छ । के भनेकी हो त्यस्तो ? म त केही पनि बुझ्दिन । जुनबेला पनि यसो हेर्‍यो लेखिरहेकी हुन्छे । पढाइबारे लेखेकी होइन, कविता लेखेकी रे । लौ सुना त के लेखिस् भन्यो, सुनाउँछे पनि । तर के गर्नु बुझ्नै नसकिने  के भनेकी हो के  त्यस्तो पनि कविता हुन्छ र मलाई त कताकता पढाइ नै बिगार्ने हो कि भन्ने लागिरहन्छ । त्यस्तो पढ्ने मान्छे । छात्रवृत्ति पाएर त्यहाँ पढ्न गएकी हो । लौ अहिले त के भएकी हो के ?”

यस्तो सुन्दा म अरू दुःखी हुन्थेँ । सोच्थेँ, छुट्टी आउन लाग्यो, त्यस बेला त नेपाल आउली । त्यही बेला पारेर सबै कुरा खोलेर सोध्ने र भन्ने गर्नुपर्ला भनी महिना गनेर बसेको म फेरि पनि छक्किएँ । ऊ आउँदै आइन । त्यहीँबाट एउटा साथीको घरमा छुट्टी बिताउन गइछ । अब मलाई निश्चय भयो, ऊ मलाई मन पराउँथी सायद जीवनसाथी बनाउन चाहन्थी । मैले विवाह गरेको खबर पाएर नै ऊ विरक्त भई । नेपाल आउन चाहिन । एउटा नेपाली साहित्यिक पत्रिकामा कविता पनि छपाएकी रहिछ । त्यो मैले पढ्न पुगेँ । कविता झन्डै यो जस्तो थियो ।

मेरो कल्पनाको मरुभूमि छ

तिमी कल्पित लास छौ

म जिउँदो एक्लिएकी लास हुँ

तिम्रो र मेरो अन्तहीन मिलन छ त्यहाँ

कथाको सुरुआत र अन्तको रूपमा ।

यी कविताका हरफ पढेपछि मेरा आँखा रसाए र मनले पनि स्वीकार्‍यो, “हो त यहाँ वणिर्त कल्पित लास मात्र होइन साँच्चिकै लास नै त म भएको छु । यी कविताले कसरी मेरो जीवनबारे बोल्दैछन् । के यस्तै हुन्छ सबैको जीवन ?” पाना पल्टाउँछन् र त्यहाँ कोरिएको अर्को कविता पढ्छन्-

तिम्रो मुटुमा गढेको तस्बिर हेर्ने रहर छ

तिम्रो सानु संसारको मायालु भेट्ने मेरो मन छ ।

यो कविताले मलाई नयनाको मनस्थिति सम्झाउँछ र म सोच्छु, उसले यस्तै भनिरहेकी होली । म न मेरो मुटुभित्र लुकेको तस्बिर देखाउन सक्छु, न त भताभुङ्ग हुँदै जान थालेको मेरो जीवनका पाटाहरू । यसैले त मैले आफूलाई लासमा स्वीकारेको छु, यो कवितामा लेखेको जस्तै । होइन, यो बिर्सिएका ती पाइलाहरू कसरी मलाई नै उभ्याएर लेखेजस्तो भएको । कहीँ शीला दली नयनाको साथी त होइन ? नत्र हामी दुवैको स्थिति बुझेर किन यस्तो लेख्थिन् ।

गुनासो कसलाई पोख्न सक्छु र

आफैँले बाँधेको बन्धनको

व्यथा कसलाई सुनाउन सक्छु र

आफूले लगाएको चोटको ।

हो, मेरो यस्तै स्थिति भएको छ । उनी पढ्दापढ्दै रोकिन्छन् र मनमनै भन्छन्- के थाहा नयनाको पनि मेरो जस्तै मनस्थिति भएको छ कि ?

जाऊ तिमी मलाई शून्यतामा बिलाउन देऊ

इच्छा आकाङ्क्षाहरू सँगसँगै अनि मुटुसँगै फुट्न देऊ

त्यो तस्बिर नरहोस् मभित्र केही नरहोस् मभित्र

सबैलाई बिर्सेझैँ त्यसलाई पनि मेट्न सकुँ मभित्र ।

यसमा व्यक्त भएका भावना जस्तै नयनाले पनि आफ्नो यस्तो मौन व्यवहारले प्रेमप्रतिको आफ्नो प्रतिकार जनाएकी त होइन ? यस पुस्तकभित्रका कविताहरूले मलाई निकै अकमकायो र नयनालाई बुझ्ने थुप्रै दृष्टि त्यसमा पाएँ । सुनेको थिएँ, नयना पढाइ पूरा गरेर छिट्टै फर्किँदैछे । त्यसैले केही दिन उसले आएर टेलिफोन गर्छे कि भनेर पर्खिरहेँ । अहँ, उसले गर्दै गरिन । एक दिन हाम्रो एउटा साथीले ऊसँग भेटेको खबर ल्यायो र भन्यो, “नयना नेपाल आएकी रहिछे । तिमीहरूको भेट भयो ? क्या बदली छे त्यो त । अहिले पो त यसो हेर्दा कवयित्री भन्न सुहाउने भइछ । गम्भीर त्यस्तै भइछ ।”

ए हो र ? मेरो कहाँ भेट हुन पाएको छ र ? उसलाई अरू साथीहरू भेट्दैमा फुर्सद छैन होला भनेर आˆनो लाज छोपेँ ।

उसको त बाल्यकालदेखिको मित्र होइनस् ? फेरि अरूलाई प्राथमिकता कसरी दिई ? सोच है । यसमा केही रहस्य छ जस्तो मलाई लाग्यो । हामीले भेटेर कुरा गर्दा पनि त्यसले केही पनि भनिन, न त सोधी नै । मित्रता मित्रता भन्थ्यौ कहीँ प्रेमवियोगको पीडामा त छैनौ ? तैँले राम्री र धनी केटी पाएँ भनेर हाम्फालेर विवाह गरिहालिस् अनि…? तैँले विवाह गर्नुभन्दा पहिले सोधेको थिइस् उसको विचार के छ भनेर ? भन्ने प्रश्नहरू साथीले सोध्दा उनी हतप्रभ हुन्छन् र भन्छन्, “अहँ  त्यो त सोधिन, ऊ बाहुनी केटी परी त्यसैले झट्ट सोध्न अनकनाएँ । टेलिफोन गरेँ तर विवाहको प्रस्ताव राख्न सकिनँ । सोचेँ हाम्रो मित्रताको सम्बन्ध स्वार्थपूर्ण हुने त होइन भनेर हच्किएँ । उसले पनि कहिल्यै भनिन, म माया मात्र होइन तिमीलाई प्रेम गर्न थालेको छु । भूल हामी दुवैको भयो । हेर न यार अहिले म पनि कहाँ खुसी छु र ? नयनालाई नै सम्झन्छु । एउटा सानो भूलले कत्रो असर हामी दुइटैमाथि पारेको छ ।”

“दुइटामाथि मात्र होइन तेस्रीमाथि त्यो तेरी स्वास्नी पनि भन । गल्ती तिमीहरू गर्छौ, त्यस नतिजाको सहभागी ऊ पनि हुनु परेको होला । अब यस कुरालाई बिर्सेर आफ्नो नयाँ जीवन अगाडि सार ।” यसो भनेर साथी आफ्नो बाटो लाग्यो । मेरो मनको छटपछी शान्त भएन । मेरा पाइलाहरू नयनाको घर भएतिर बढ्न थाल्छन् । अव्यक्त प्रेम त्यही स्थितिमा रहोस् तर हाम्रो साथीको माया र सम्बन्ध जुन पहिलेदेखि थियो, त्यो मात्र भए पनि कायम राख्नुपर्छ । मैले उसको पढाइको सफलतामा ‘बधाई’ दिनैपर्छ । यस्तै कुरा मनमा खेलाउँदै म उसकहाँ पुग्छु । धेरै बेर मलाई कुराएपछि नयना देखा पर्छे । उसको ओठमा न भेट भएकोमा खुसीको मुस्कान छ, न त आँखामा दुःखको आँसु । न रिसले तमतमाएकी छे । नजिक आएर बस्नलाई भन्छे र म “तिमीलाई हार्दिक बधाई” भन्छु । ऊ पनि भन्छे, “तिमीलाई पनि ।” म अर्थ बुझेर टक्क अड्छु र सम्झन्छु, भरखर पढेको कविताका ती पङ्क्ति, जो आफैँ बोलिरहेका छन्-

तिमी र म

यस्तै थियो सुरुको जीवन

आज पनि तिमी र म

फरक केही देख्दिन

फेरि पनि भन्छन्

जीवनको सुरुआत युगौँ बितिसक्यो रे ।

केही क्षण चुप लागेपछि मैले नै कुरा उठाउँछु र सोध्छु, “आजभोलि तिम्रो कविता लेखाइ कस्तो चल्दैछ ?”

ऊ मेरो प्रश्नको जवाफ दिन्न । मेरो मुखमात्र हेरिरहन्छे । मलाई असजिलो अनुभव हुन्छ र मनमनै दोहोर्‍याउँछु ती कविताका पङ्क्तिहरू-

म के लेख्दैछु म के चाहँदैछु

तिमी कोट्याएर हेर्न नखोज

हेरेर त्यसलाई बुझ्न नखोज

यो अनन्त आकाशजस्तै छ मेरो चाहना

सागरको गहिराइजस्तै छ मेरो कल्पना ।

मौनताको कुरा बुझेर प्रसङ्ग बदल्ने चाहना राखेर भन्छु, “नयना  जे हुनु हुँदैनथ्यो त्यो भइहाल्यो । के हामी यी सबैलाई पन्छाएर फेरि एउटा नयाँ जीवन सुरु गर्न सक्दैनौँ, निःस्वार्थ-अमर मायाको ?”

ऊ बल्ल हाँसी र भनी, “तिमीले मलाई पीडा दिएँ भन्ठानेको रहेछौ । यो सोच्नु तिम्रो भूल हो । मैले त्यसलाई टिक्नै नदिएर फर्काइसकेको छु । बरु जाँदाजाँदै त्यसले मलाई एक्लै आफैँलाई प्रेम गरेर बाँच्ने शक्ति आशीर्वादस्वरूप दिएर गएको छ । तिमी पनि शान्त हुन चाहन्छौ भने आफैँभित्र प्रेम खोज, आफैँलाई प्रेम गर र सो प्राप्त गर । त्यसैले आनन्दानुभूति दिन्छ । स्वप्रेमको नयाँ दृष्टि निकाल्न सक्छौ । यसले मानवको हृदय छाम्न सक्छौ । पि्रया र प्रीतम तिमी आफैँ बन्न खोज, अनिमात्र कसैले प्रेममा धोका दिन सक्दैन, न त पश्चात्ताप नै भोग्नुपर्छ । जीवन अमूल्य छ । शान्ति र प्रेमले बाँच्ने प्रयास गर ।” यति कुराकानी भएपछि म त्यहाँबाट हिँड्छु र हिँड्दाहिँड्दै सम्झन्छु, उही कविता, जसका पङ्क्तिहरूले भनिरहेका थिए-

एक थोपा पानी एक टुक्रा आकाश एउटा सानो तारा

मलाई सीमितताभित्र बाँध्ने परिधिहरू

म उछिट्टनि खोज्दैछु

सिङ्गै धरतीमा आकाशको टोपी लगाई

बाँच्न खोज्दैछु ।

हो नयनाले ठीक भन्दै छे । ऊ अब कसैसँग पनि बाँधिन चाहन्न । उसले आफँैमा सबै प्राप्ति पाइसकेकी छ । स्वप्रेम गरी मुक्त भइसकी । ती अव्यक्त प्रेमका पीडाहरूबाट अर्कै जीवन पाइसकी, जसलाई अरू कसैले छल्न सक्दैन- मैले पनि । उनी फेरि त्यही ‘बिर्सिएका ती पाइला’भित्रको अर्को कविता सम्झन्छन् । त्यो यस्तो भावनाले भरिएको थियो-

म प्रकृतिकी छोरी एक्ली छोरी

मेरोलागि जन्मेको छैन जीवन

जसको उष्णता म पोल्टामा राख्न रुचाऊ

जाऊ त्यसैले र्फक मेरो पिछा छोड

आफ्नो मुटुको मायालु धड्कन

आफैँमाथि सजाउन सकुँ

पि्रय र पि्रयतम म आफैँ बन्न सकुँ ।

हरिलाई लाग्छ, नयना भनिरहेकी छे, “पुग्यो मलाई सांसारिक लीला । म सत्य, प्रेम र शान्तिमा समर्पित हुन चाहन्छु ।

-यस्ता कविताहरूले भरिएका कवि डा. शीला दलीको कवितासङ्ग्रह ‘बिर्सिएका ती पाइलाहरू’ बाट अरू थुप्रै राम्रा कथाहरूको कल्पना गर्न सकिन्छ । मेरो यो कथा पनि उनका ती कविताहरूले कोरेका काल्पनिक एक टुक्रा जीवनको आकार मात्र हो । प्रेमपीडा र मुक्तिको परिधिमा घुमेका यी कविताहरूले के कस्तो दृष्टि प्रवाह गर्न सक्छन्, एकफेर यो सङ्ग्रह पढेर हेर्नोस् । यी कविता धेरै वर्ष पहिले लेखिएका भए पनि सत्य अमर रहन्छ भनेझैं आज पनि सान्दर्भिक रहेको छ ।)

Suren Upreti – Campus Ko Bhet

सुरेन उप्रेती – क्याम्पसको भेट

प्रविणलाई कक्षा शुरुहुनु अगावै एउटा किताव लिनु थियो । उ हतार हतार लाइब्रेरीतिर जाँदै थियो । हाए प्रविण भनेको सुनेर यता उता हेर्यो । सिन्थियाले बोलाएको रहेछ । उनले आएर प्रविण सँग हातमिलाइन । सामान्य भलाकुसारी पछि म अलि हतारमा छु पछि कुरा गरौँला हुन्न भनेर अगाडी बढयो । सिन्थियाले प्रविण तिमीलाई थाहा छ उ मेरी साथी पनि नेपाली हुन नी । उनको नाम कुशुम हो भनेर साथी तिर देखाइन् । नमस्ते म प्रविण भनेर कुशुम तिर हेरयो । म कुशुम भनेर उनले पनि हात हल्लाइन् ।

प्रविण उनीहरु सँग छुट्टिएर लाइब्रेरीमा गयो । हतार हतार किताव लिएर कक्षामा आयो । उसलाई कता कता कोहि चिनेको आफन्त भेटे जस्तो लाग्यो । हुन त विदेशमा पुगे पछि आफ्नो देशको मान्छे भने पछि आफन्तनै भेटेजस्तो हुनु श्वभाविक नै हो तर पनि उसलाई अमm नजिकको कोहि भेटेजस्तो भएको थियो । उ कक्षामा पुग्दा शिक्षक आएर पढाउन शुरु गर्दै रहेछन् । उ सँधै पहिलो लाइनमा नै बस्थ्यो । आज पनि त्यहीँ ठाउँमा गएर बस्यो । शिक्षकले पढाएका कुरामा ध्यान केन्द्रीत गर्न निकै प्रयास गरयो । तर छिन छिनमा उसको मन अन्यत्रै घुम्दै हुन्थ्यो । आधा उधी मात्र नोट गरयो । कति अगाडी पछाडी छुटेर बिचका बूँदाहरुमात्र टिप्न भ्यायो । एक पटक शिक्षकले उसलाइ के साधेको रहेछ थाहानै पाएन । सबै साथीहरु हाँसेपछि मात्र थाहा भयो । उसका गाला राता भए । उसले आफुलाई तातो भएको महशूष गरयो ।

कक्षा सकिए पछि क्याफ्टेरियामा गयो । उसका आँखाले सबैैका अनुहार सर्सर्ती पढे हरेसखाइसकेका आँखाले हलको दाहिने तिरको कुनामा सिन्थियार कुशुमलाई देखेछन् । उ कसैले डोरयाएको वालक मmैँ केहि नसोची उनीहरु बसेको टेबलमा गएर चेयर तानेर बस्यो । उनीहरुले पिज्जा खान लागेका रहेछन् । उसलाई पनि खाँउ भने तर उ म लिएर आँउछु भनेर ब्याग चेयरमा राखेर क्याफ्टेरिया भित्र गयो ।

उ पढनमा मात्र हैन जुन खेलमा भाग लिन्छ त्यसमा पनि दोःश्रो हुँदैन । सारै मेहनती, प्रतिभाशाली र अशल छ । सिन्थियाले प्रविणको प्रतिभाको बारेमा कुशुमलाई सुनाइन । चिकेन ड्र्मस्टीक र राइस लिएर प्रविण आयो । उनीहरुलाई पनि ड्र्मस्टिक खान भन्यो । दुबैजनाले एक एक पिस लिए । गत बर्ष नेपाल जाँदा कुशुम र उनका बा आमा सँग भेट भयो र उनीहरुकै घरमा बसेँ । बुबा आमा सारै अशल हुनुहुन्छ भनेर सिन्थियाले सुनाइन । तिमीहरु नेपाली भाषामा कुरा गर न मलाई सुन्न सारै मन पर्छ भनेर कुरा गर्न अमm सजिलो बनाइ दिइन सिन्थियाले । दुबैले एक अर्काका बारेमा सोध खोज गरे । प्रविण तेश्रो बर्ष र कुशुम प्रथम वर्षमा वातावरण विज्ञान पढ्दै थिए । उनीहरुले पढाइका बारेमा पनि कुरा गरे । कुशुमले आफुलाई अप्ठयारो लागेका विषयका बारेमा सुनाइन । प्रविणले आफ्ना पुरानानोट खोजेर दिन्छु । न आएका कुरा सोध्नु भन् यो । फोन नम्बर आदान प्रदान गरेर उनीहरु छुट्टिए ।

कुशुम सिन्थियाको घरमा नै बस्थिन् । त्यहाँ बस्दा सबैै सुविधा भए पनि अलग अलग साँस्कृतिक पृष्ट भूमिबाट आएका हुनाले सिन्थिया र उनमा थुप्रै भिन्नताहरु थिए । एक अर्का सँग मिल्नलाई दुबैले परिस्थिति सँग थुप्रै सम्मmौताहरु गरेका थिए । तर पनि जीवनका दुई दसक भन्दा लामो दिनचर्या सँग अभ्यस्त जीवनबाट मुक्तहुन त्यती सजिलो कहाँ हुन््थ्यो र । भोलीभनेको अनिश्चित छत्यसैले जीवनको मज्जा आजनै लिनु पर्छ भन्थिन सिन्थिया । उनी बार,पवर , र रेष्टुरेण्टमा गएर हप्ताअन्त बिताउन चाहान्थीन् । तर यो सबै कुशुमको सोच विपरित थियो । यो समय भनेको भोलीको शुन्दर सन्सार निर्माण गर्नमा लगाउने हो । आज मेहनत गर्यो भने भोली सुख हुन्छ । परिश्रमको फलमात्र मिठो हुन्छ भन्नेमा कुशुम विश्वाश गर्थिन् ।

कुशुमलाई सिन्थियालाई जति सजिलो पनि त थिएन । नेपालबाट पठाएको पैसाले क्याम्पसको फि तिर्नु, कपी, किताव,खान,बस्न सम्पूर्ण खर्च पुर्याउनु पथ्र्यो । काम गर्दै पढ्नेबारेमा पनि नसोचेको होइन तर पढाइको बोमmले उनलाई उठ्नै दिएको थिएन ।

घरमा पुग्नसाथ सिन्थियालाई ब्वाइफ्रेण्डको फोन आयो र बाहिर निस्किन् । कुशुम बेडमा पल्टिएर दिँउसो पढेको नोट हेर्न थालिन् । तर उनका आँखा मात्र नोटमा अडिए । उनको मन प्रविणको बारेमा प्रश्णोत्तर गर्न थाल्यो । कति सरल छ उसको श्वभाव । त्यस्तो प्रतिभावान भएर पनि रतिभर घमण्ड छैन । लेखनाथ पौडेलको “ मmुक्छन् वृक्ष्य सदैव फलफूलले भारी हुँदामा अतित “भन्ने कविताको हरफ उनका बुवाले सँधै भन्ने गरेको याद आयो । उनलाई फोन गर्न मन लाग्यो । फेरी के सोच्ने होला भन्दै नोटकपिमै आँखा विक्ष्याइन् । आँखाले फोन नम्बर फेलापारे छन् । मन डराउँदै थियो । उनका ती साना सुरिला औँलाले फोन डायल गरे । अब के भन्ने होला भन्दै डराउँदै रिसिभरलाई कानको छेउमा राखिन् । तीन घण्टी जाँदा पनि फोन नउठे पछि फोन राखिन् । उनलाई त्यसै खल्लोे लाग्यो । कस्तो फोन गर्दा पनि नभेटिने मान्छे भन्दै अर्का तिर फर्किएर बेडमा पल्टिन । केहिबेर पछि उठेर नुहाउन गइन् । आज उनको मन निकै खुशि छ । उनी गीत गाँउन भने पछि चारकोस भाग्ने मान्छे तर आज उनलाई गीत गुनगुनाउन आयो । खुशि छु म आज तिमी भन्दा धेरै भन्ने गीतको पँत्तीलाई पटक पटक दोहोर्याएर तेहर्याएर गुनगुनाइन् । कपाललाई टावलले पुच्दै ऐनाको अगाडी गएर उभिइन । आफैँ सँग लाज लाग्यो । आँखा चिम्लिएर द्र्रूईहातले आँखा छोपिन् र अर्कातिर फर्किन् ।

प्रविण र कुशुमको भेट दिन दिनै हुन थाल्यो । कुशुमलाई प्रोजेक्ट गर्नु पर्दा, परिक्षाको तयारी गर्नु पर्दा प्रविणले सँधै सहयोग गथ्र्यो । प्रविणको प्रशँसा गर्दै सबै कुरा फोनबाट आमालाई सुनाइन । प्रदेशमा पनि त्यस्तो सहयोग गर्ने मान्छे कहाँ पाइन्छ र छोर्ी ? तिमी त सारै भाग्यमानी रैछयो आमाले भन्नु भयो । कुशुमको जन्म दिनमा उनलाइ सारै मन पर्नै एक जोडी लुगा किनिदियो । सिन्थिया र कुशुमलाइ रेष्टुरृण्टमा लगेर खाना ख्वायो । आमा लुगा त कति महँगो पो किनेको त , कस्तो राम्रो छ भनेर कुशुमले आमालाइ सुनाइन ।

विदेशमा गए पछि आफ्ना चाड पर्वको मmनै महत्व बढ्छ । दसैँ मनाउन अटवामा बस्ने सबै नेपालीहरु भेलाभए । प्रविण र कुशुम पनि कार्यक्रममा सहभागी भए । बिभिन्न साँस्कृतिक कार्यक्रम नाचगान पछि सबैले टिका लगाए । सबैका अनुहारमा हाँशो र खुशी छायोे । यस पालीको दसैँ त नेपालमा हँुदाको भन्दा रमाइलो भयो भनेर कुशुमले आमालाई फोन गरेर सुनाइन ।

क्याम्पसमा परिक्षाहरु आउने जाने क्रम चलिरहेको थियो । यो हप्तामा तीनवटा विषयको परिक्षा दिनु परेकाले कुशुम पनि पढ्दा पढ्दै दिक्क भएकी थिइन् । शुक्रबार बेलुका प्रविणको फोन आयोे । परिक्षाका बारेमा कुरा गरी सकेपछि भोली विहान मेरामा आउहै कुशुम भनेर प्रविणले बोलायोे । त्यस रात छट्पट् हुँदै पटक पटक बिउँमिmएर विहानीको पैतिक्षामा घडी हेरिन । मनले थुप्रै सपनाहरु बनायो । रात भरी राम्रो निन्द्रा लागेन । विहानी पख भए पछि निदाइछन् । सपना पनि कस्तो देखेको । उनले त तिजका महिलाहरुले जस्त्ौ पूरै राता लुगा लगाएको रहेछ रे । बिँउमmदा सात बज्नलागेको रहेछ । हतार हतार गरेर नुहाइन । एक कप चिया खाएर ऐना अगाडी गएर उभिइन् । आँखा सुन्नीए जस्ता भएर विमmाए ।

प्रविणकोमा पुग्दा साढे नौ नै भइ सकेछ । बैठकको शोफामा गएर बसिन् । बैठकको टेवलमा फलफ्रूलहरु सजाएर राखेका रहेछन् । अगाडी भित्तामा एउटी साडी लगाएकी केटीको फोटो मmुण्डिएको थियो । उनका आँखा त्यही फोटोमा गएर ठोक्कीए । अहा कस्तो मेरो जस्तै फोटो, यो कस्को फोटो ? कुशुमले सोधिन् । प्रविण उनका छेवैमा आएर शोफामा बस्यो । फोटोमा तेर्सिएका आँखा भरी आँशु बनाउँदै अब उनी छैनन् । यस धर्तिमा बाँच्न दिएनन् भनेर उ बोल्न सकेन । आँखाका आँशु पुक्ष्दै लामो सास तानेर फेरी बोल्न खोज्यो । उनी मेरी एकमात्र ))))) भनेर फेरी अड्कीयो । उनी तिमी जस्तै छन् है कुशुम भनेर कुशुमका हात समाएर चुम्यो । दुई बर्ष अगाडी दाइजो कम ल्याइ भनेर पटक पटक कुटेछन् र मट्टीतेल खन्याएर ))))) भन्ेर फेरी वोल्न सकेन । उठेर बाथरुम तिर गयो । मुख धाएर टावेलले मुख पुच्दै भान्सामा गयो । भान्साबाट एउटा ठूलो थाली लिएर आयो । थालीमा मैन वत्ती बल्दै थियो । एउटा ग्लासमा पानी थियो । ग्लासका छेउमा तीन चार थ्रूँगा फूलहरु थिए । छेउमा रातो,निलो , पँहेलो,र सेतो रँग थिए । आज मैले चार वर्ष पछि मेरी बहिनीलाई भेटेँ । तिमीलाई थाहा छ कुशुम ? आज भाइ टिका होनी भन्दै थालीलाई शोफा छेउको टेवलमा राखेर निधारबाट कपाललाई हातले पन्छाउँदै कुशुम तिर फर्किएर बस्यो ।

अस्तु

Sanjay Bista – Meri Swasni Ra Tyo Manchhe

सञ्जय बिष्ट – मेरी स्वास्नी र त्यो मान्छे

आएकै बाटो गएर सधैँ त होइन तर प्राय: जसो देवेन्द्र घर पस्थ्यो। प्राय: जसो यसकारण कि एउटै बाटो हिँड़िरहँदा दिक्क मानेको मनले कुनै-कुनै दिन उसलाई घुमेको अर्कै बाटो घुमाएर घर पुर्याउथ्यो। यस्तो कुनै-कुनै दिन छाड़ेर माथि भनिएकै प्राय: जसो ऊ त्यही बाटो हिँड़्थ्यो।

‘त्यस’-को नाम जान्दैन देवेन्द्र। आकृति अर्थात् शारीरिक बनावटले त्यो देवेन्द्रजस्तै छ। म मान्छे हुँ— को बोध उसलाई यही आकृति अर्थात् शारीरिक बनावटले नै गराएको हुँदा आफ्नै जस्तो आकृतिको त्यसलाई ऊ ‘त्यो मान्छे’ भन्छ।

घाम लागेको थियो न्यानो, घरका छानाहरूतिर।। सुकाइएका लुगाहरूतिर। बाटातिर। चारैतिर।

पुराना मैला लुगाहरूमाथि उत्तानो सुतेको रहेछ त्यो मान्छे देब्रे खुट्टामाथि चढ़ाएको दाहिने खुट्टा हल्लाउँदै टुलुटुलु आकाशतिर हेरेर मस्तसँग।

समस्याहरू, दु:खहरू एउटै पनि नभएको जस्तो त्यो मान्छेलाई देखेर नमान्दा नहुने कुरो रहेछ दु:ख भन्ने लागेको थियो देवेन्द्रलाई।

हो, त्यही दिन हो याद गरेको देवेन्द्रले त्यसलाई। देखेको कतिचोटि पहिल्यै पनि थियो भने उसले याद नगरेको थियो। त्यसपछिका प्रत्येक दिन बिहान निस्केर अफिस पुग्नलाई त्यो बाटो भएर हिँड़ेन भने पनि बेलुकी घर पस्नलाई त त्यही बाटो हिँड़्यो देवेन्द्रले। अथवा बिहान बेलुकीमा एकपल्ट ऊ त्यो बाटो हिँड़्यो नै। पहिलोचोटि याद गरेपछि जति दिन देवेन्द्र त्यहॉंबाट हिँड़्यो प्राय: जसो उसले त्यसलाई त्यहीँ देख्यो— उभेको, टुक्रुक्क बसेको र अधिकत्तरचाहिँ निस्फ्रिकी सुतेकै।

त्यो दिन दिउँसो त्यो मौसमको पहिलो वर्षा भयो हठात् । अफिसमै थियो देवेन्द्र।

‘‘बर्खा लाग्यो अब।’’कहिले पर्छ र भनूँ भइरहेको जस्तो एकजनाले भनिहाल्यो।

तर दस मिनटजति पातुलो परेपछि रोकिई पनि हाल्यो पानी।

बेलुकी अफिसबाट निस्किसकेको थियो देवेन्द्र। अँध्यारो थिएन आकाश तर पानी छिटाउन थाल्यो फेरि। केही बेरपछि पानी केही बाक्लियो पनि । छाता ओढ़ेकाहरू दुई-तीनजनाबाहेक देवेन्द्रजस्तै अलइलि भिज्दै हिँड़िरहेका थिए सबै। भिज्दै हिँड़्नु त्यो दिन कसैलाई पनि अप्ठ्यारो लागेको थिएन।

त्यहॉं आइपुगेको उसले देख्यो—त्यो मान्छे आफ्नै ठाउँमा भिजेरै बसिरहेको रहेछ, सधैँजस्तै निस्फ्रिकी।

कतै ओत नलागी घर पुग्यो देवेन्द्र।

भिजेको देखेर ‘‘भिजु भो?’’ अनावश्यक सोधी स्वास्नीले उसलाई।

देवेन्द्रले ‘‘अलइलि’’ भन्यो।

‘‘फेर्नोस् लुगा।’’ नभनेकै भए पनि फेरिहाल्थ्यो लुगा उसले। आवश्यक ठानेर स्वास्नीले भनेका यी दुई शब्द देवेन्द्रले आवश्यक मानेरै ग्रहण गर्यो। घर बनाइराख्नुलाई कति आवश्यक अनावश्यक र कति अनावश्यक आवश्यक मान्नुपर्छ भन्ने दुवै जान्दथे।

चुह्लाबाट तातो चियाको कपसित आएकी स्वास्नीलाई ‘‘छाता कहॉं छ हँ मेरो?’’ सोधेको थियो देवेन्द्रले।

तर अर्को दिन बिहान देवेन्द्र उठ्दा पश्चिमपट्टिको डॉंड़ा-पाखा घामको न्यानो कम्बलभित्र थियो। आकाशका टुक्रे बादलहरूले आफ्ना मौलिक रङ्ग त्यागेका थिए।
‘‘लानोस्,’’ भनी स्वास्नीले।

‘‘होस् जोक्करजस्तो मात्रै देखिन्छु,’’ भन्यो उसले। निकालिदिएकी थिई छाता स्वास्नीले । लगेन देवेन्द्रले।

त्यसपछि कुनि कति दिनसम्म घाम लागिरह्यो। कुनि कति दिनसम्म घाम लागेर एक दिन, दिन बिग्रियो। कुनि कतिवटा दिन बिग्रिएर एक दिन पानी पर्यो।
त्यो दिन घर फर्किँदा देवेन्द्रले जस्तै थुप्रैले छाता ओढ़ेका थिए। ओत लागिरहेका र भिज्दै हिँड़िरहेकाहरू पनि केही थिए।

धेर-थोर दिन बिग्रिरह्यो त्यसपछि। छाता बनाउनेहरू अब घर-घर आउन थाले।

रातभरि थामिएर फेरि बिहानैदेखि थालेको थियो पर्नु पानीले। त्यहॉं पुगेको देवेन्द्रले देख्यो; त्यो मान्छे भिजेकै लुगाहरूमाथि टुक्रुक्क बसेको रहेछ। घाममा जस्तै पानीमा पनि निस्फ्रिकी त्यहीँ बसिरहनु सक्ने त्यो मान्छेलाई देखेर देवेन्द्र एकपल्ट छक्कै पर्यो। त्यसलाई बिर्सिएर परिरहेन।

छाता ओढ़ेर ऊ बाटोको छेउछेउ हिँड़्दैथ्यो। एउटा जिप्सी गाड़ीले खाल्डोको हिलो उछिट्याएर गयो देवेन्द्रको पतलुङभरि। देवेन्द्रभित्र एउटा अश्लील शब्दले करायो ड्राइभरलाई। तातो अनुहारको उसले मौन उभेर निक्कै परसम्म त्यो गाड़ीलाई हेरिरह्यो।

अब दिन, कुनै दिन एक छिन उघ्रिएर, पानी मात्रै परिरहने भइसकेको थियो। देवेन्द्रले दुई सय तीस रुपियॉंमा डक् ब्याक कम्पनीको एउटा जुत्ता किन्यो।
एक दिन त्यहॉं पुग्नुभन्दा केही वरतिरै देवेन्द्रले त्यो मान्छेलाई सम्झयो। आज छैन होला।—मनमनै भन्यो। टाढ़ैबाट त्यसको ठाउँमा हेर्यो उसले। टाढ़ैबाट देख्यो, त्यो त त्यहीँ रहेछ।

छक्क परेको देवेन्द्रले ‘रात-दिन भिज्दा पनि नहुँदो रै’छ त बिमार।’ मनमनै भन्यो।

भिजेरै बसेको त्यसलाई देखेर देवेन्द्रलाई ‘जा, पर्तिर गएर बस्।’ भन्नु मन लागेको थियो तर भन्नु मन लागेकै देवेन्द्र त्यसलाई नाघेर निक्कै वरसम्म आयो। अब ऊ अर्कै मनको भयो।

घाममा, पानीमा, गरममा, जाड़ोमा जेमा पनि देवेन्द्रले त्यो मान्छेलाई ऊ त्यहॉं पुग्दा-पुग्दा त्यहीँ देख्यो। ‘संयोग हो, संयोग’ उसले आफैलाई भन्यो। ‘मान्छेले यसरी सक्तैन बस्नु’ पनि भन्यो।

कुनि कुन दिन हो एक दिन, त्यसको छेउमा आइपुग्दा शान्त बसेको त्यसलाई देखेर ‘को होला यो?’ देवेन्द्रमा जिज्ञासा जन्मेको थियो। त्यो दिन जन्मिएपछि त्यो जिज्ञासाले जन्मँदै-मर्दै-जन्मँदै गरिरह्यो ऊभित्र तर आफूभित्रको जिज्ञासा सधैँको निम्ति मार्नलाई उसले केही गरेन। मान्छेको हूलमूलमा उभेर मान्छेको छेउमा, ‘तिमी को?’ सोध्नु उसको निम्ति असम्भव सम्भव नै थियो।

बसेको त्यसको छेउमा, सुतेको त्यसको छेउमा कि त कक्रक्क परेका दुई-तीनवटा सुक्खा रोटीहरू कि त भॉंचिएका र सलक्की पनि केही बिस्कुटहरू पनि छरिएको हुन्थ्यो। एक-दुईपल्ट देवेन्द्रले त्यो मान्छेको मैला लुगामाथि बनरोटी पनि देखेको थियो। एक दिनचाहिँ उसले त्यहॉं पानीकागजको थैलीमा अलिकति तरकारी पनि देखेको थियो।

घर फर्किरहेको थियो देवेन्द्र। थोत्रे लुगाहरूमाथि गुट्मुटिएर सुतेको रहेछ त्यो। सधैँजस्तो छरपस्टिएका मैला लुगाहरूमाथि केही बिस्कुटहरू छरपस्टिएका थिए। एउटा नयॉं कुरो थपिएको थियो त्यसको टाउकोछेउमा —पुरानो एउटा अल्मुनियमको थाल। देखिरहने, दया भएको र नलजाउने पनि कसले थालमै थापेर खाओस् सोचेर राखिदिएको हुनुपर्छ भन्ने सोच्दै हिँड़िरहेको देवेन्द्रले आफ्ना दुवै हात खाली देख्यो।

अघिदेखि खाली-खाली लागिरहेको देवेन्द्रले उभिएरै ‘थुक्क!’ मुखैले पनि भन्यो।

वरिपरि हेरेर ‘साला, घाम लाग्यो कि’ भन्यो मनमनमा।

फर्क्यो। ‘कहॉं छाडॐे होला?’ सोच्दै फर्क्यो।

सुतिरहेकै देख्यो तर ध्यान दिएन यसपल्ट त्यो मान्छेलाई। छिटो-छिटो हिँड़्यो देवेन्द्र।

‘आऽऽऽ ठिकै छ पाइनँ भने, थोत्रे भइसकेको छ त्यो। नयॉं किन्छु।’ सोचु सकेको देवेन्द्रले तर त्यहीँ छाड़े होला लागेकैमा छोड़ेको रहेछ। भित्र राखिदिएको रहेछ। नथापी भनेर थापेर पनि ‘‘धन्यवाद’’ भन्यो उसले दोकानेलाई। त्यही छाता टेक्दै अब बिस्तारै हिँड़्न थाल्यो देवेन्द्र।

बिस्तारै हिँड़्दै ऊ त्यहॉं आइपुग्यो। उठेकै छैन रहेछ त्यो मान्छे। त्यहॉं आधा घण्टाजति अघि देवेन्द्रले नयॉं थोक पुरानो थाल देखेको थियो। त्यही पुरानो थालमा अझ नयॉं थोक आठ-दसवटा खुद्रा पैसा देखेर ऊ छक्क पर्यो।

एकदम भूल बुझाइ हो मान्छेहरूको।—मनमनै किटान गर्यो। ज्यादै स्वाभिमानी पुरुषको रूपमा बुझेको थियो उसले त्यो मान्छेलाई।

उठेपछि, पुरानो थालमा अलिकति खुद्रा पैसा देख्दा त्यसको स्वाभिमानको पुरानो र बलियो दुर्ग भत्किन्छ अब—सोच्यो देवेन्द्रले।

फेरि बौरी उठ्यो देवेन्द्रभित्र केही दिनहरूलाई मरेको ‘को होला त्यो?’

लोग्ने होला स्वास्नीले छाड़ेको।—मनमनै सोच्यो।

रक्सी खान्थ्यो होला भक्कु।— स्वास्नीले छाड़्नुको कारण पनि बनायो।

कुट्थ्यो होला स्वास्नी र मसिना नानीहरूलाई। —थप्यो।

भागेको पीरले त होइन माया गरेकी स्वास्नी अर्कैसँग?—सोध्यो आफैलाई। हुनसक्छ नि। आइमाई त हो—उत्तर बनाएर दीपक, दुर्गाबहादुर र आफ्नै मामालाई पनि छाड़ेर भाग्ने माइजू, दीपक र दुर्गाबहादुरका स्वास्नीहरूसँगै सम्झ्यो।

गति छाड़ेन त मामाले। दुर्गाबहादुरले अर्की ल्याइहाल्यो। परै दीपकले मसिना छोरा-छोरी हुर्काएन एक्लैले?—पनि सम्झ्यो।

राधा भागी भने कसैसँग त्यस्तै हुनु म?—बित्थाको प्रश्न आयो देवेन्द्रको मनमा त्यो मान्छेले गर्दा।

‘काट्छु।’ तर लोग्ने कराइहाल्यो भित्रबाट।

सक्तैनस्। तरङ-तरङ झस्किँदै बस्नुबाहेक केई गर्नु सक्तैनस्। न रुनु सक्छस्, न हॉंस्नु सक्छन्। न मर्नु सक्छस्, न बॉंचु नै सक्छस्। निक्कै दिन मरेको जस्तै बॉंचेर तर बिस्तारै तँ बॉंच्छस्। —ऊभित्रको मान्छेले उसलाई भन्यो।

हिजोआज कारणबिनै झर्किबस्छे।—सम्झ्यो।

झर्केकोहरू चार-पॉंचवटा सम्झ्यो।

पहिला निद्राले झ्याप-झ्याप पार्दा पनि ‘अँ-अँ’ भनिबस्नु पर्थ्यो। हल्लाएर उठाउँथी। उत्ता फर्केर सुतिहाल्छे ओछ्यानमा पस्नेबित्तिकै हिजोआज।—कार्यहरू देवेन्द्रले अब ठुलै कारणमा देख्नुथाल्यो।

‘‘क्या हो हन! मान्छे भने बुढ़ो भइसक्यो।’’ भनेर अस्ति राति पनि उत्तै फर्केर सुती।—सम्झेर देवेन्द्रले ज्यादै थाकेको अनुभव गर्यो।
ब्यालिसको मान्छे बुढ़ो हुन्छ?—आफैलाई सोध्यो।

पहिला सोधेर पकाउँथी। हिजोआज मलाई मन नपर्ने-नपर्ने तरकारी मात्रै पकाउँछे। भिण्डी, पोटल, वैगुण… सम्झेको देवेन्द्रले आर्द्र पायो आफूलाई।

जो नै भए पनि अर्को मान्छेको मनभित्र पस्नु सक्तैन मान्छेले।—निष्कर्षसित घर पुगेको उसलाई ‘‘किन आज छिट्टै?’’ दैलैमा सोधी राधाले।

‘‘छिटो आउनु हुँदैन घर म?’’ प्रश्न र प्रश्नमै उत्तर बिचमा व्यवधान थिएनै जस्तै थियो।

‘‘मन पर्दैन तिमीलाई म छिट्टो आ’को?’’ नभन्नु पर्थ्यो लाग्यो देवेन्द्रलाई भनिसकेर।

‘‘मन पर्दैन भनेँ मैले? भनेँ? आफू भने कैले आइपुग्छ भनेर खिड़की खोलेर हेरिरहन्छु…’’कराई राधा पनि।

‘‘खिड़की खोलेर हेरेको मलाई नै हो भनेर कसरी विश्वास गर्नु?’’ रोक्ने कोसिस गरेको थियो देवेन्द्रले। सकेन। बस्, कुरा बढ़्दै गयो। बढ़्दै गयो।

यस्तो स्थितिमा अधिकत्तर स्वास्नीहरूले गर्ने नै गरी राधाले। दराजबाट लुगा निकाली रुँदै। त्यहीँ फेरी अनि निस्की कोठाबाट र घरबाट।

स्थिति आफ्नो नियन्त्रणबाट बाहिरिसकेको छ भन्ने बुझेको मुढ़ाजस्तो देवेन्द्र मुढ़ामा बसिरह्यो।

निहुँ मात्रै चाहिएको थियो उसलाई।—लामो सास फेर्यो देवेन्द्रले।

केले केले थिचेको अनुभवको देवेन्द्र आधा घण्टाजत्तिपछि उठ्यो त्यहॉंबाट।

उठेर, के भा’को म?—आफैलाई सोधाइजस्तो भन्यो।

फेरि त्यहीँ बस्यो।

अब बिस्तारै एकपछि अरू सम्भावनामा विषालु सॉंपहरू आएर ठुँग्न थाले उसलाई। निक्कैबेर सहिरह्यो ठुँगाइहरू उसले। भर्खर खोलेको जुत्ता तान्यो र लगायो।

लगाएर बसिरह्यो।

खोलेर कुनापटि सुल्काइपठायो।

उठेर चुह्लामा गयो। कराईको ढकनी उठायो। अन्डा-चाउमिन पकाइदिएकी रहेछ राधाले उसलाई मनपर्ने।

एक क्षण हेरिरह्यो कराईको चाउमिनलाई।

हातको कराईको ढकनी लगायो।

‘खान्नँ।’ मन-मनै भन्यो।

खाएन पनि।

रात परिसकेको थियो। आफैले पकाएर पनि केही खाएन उसले। उत्तानो पल्टियो ओछ्यानमा। पल्टिनु निमन्त्रणा भयो फेरि सम्भावनाका साना-ठुला विषालु सॉंपहरूलाई। केही ठुँगाइहरूमा उसले आश्वासनको झारमौरो लगायो। राति दुई-तीनखेप उसले अँध्यारोमा पलङको कुनापट्टि हात पुर्यायो।

भित्ताको पुरानो बजे घड़ीमा बाह्रपल्ट बजेपछि एकपल्ट फेरि एकपल्ट र अझै एकपल्ट पनि बजेको सुन्यो देवेन्द्रले।

छर्लङ्गै हुनेरहेछ —सोचेको थियो तर दुईपल्ट बजेको भने सुनेन। निदाउनु सकेछ उसले। तर बिहान छिट्टै ब्युँझेको उसले निद्रा ठुलो कुरो रहेछ पीरभन्दा, बुझ्यो।

ब्युँझेको उसलाई राधाको अनुपस्थिति र धुमधाम भोक लागेको एकसाथ थाहा भयो।

खॉंदिनँ चाउमिन।— सङ्कल्प दोहोर्याएपछि ‘बाहिरै खान्छु’ पनि सोच्यो।

नौ बजीतिर दैलो ढक्ढकियो।

के-के खबरसित को-को आइपुग्छ होला सोचिरहेको उसले दैलो खोल्यो।

अघि सोचेकाहरूमध्येकै सालो रहेछ।

सधैँजस्तो भेटिरहने सालोले सधैँजस्तो नमस्ते गरेन उसलाई।

‘‘घरमा आउनुहोस् अरे; आमाले भन्नु भा’को’’ निवेदन वाक्यमा थियो तर लयमा थिएन।

जॉंदिनँ, सोचेर ‘‘किन?’’ सोध्यो देवेन्द्रले।

‘‘दिदी सॉंझमा आइपुग्नु भो,’’ भन्यो सालोले।

सालोलाई देख्दै ढुक्क पनि भइसकेको देवेन्द्र अब अझ ढुक्क भयो।

‘‘तिमी जाऊ, म आउँछु’’ भन्यो देवेन्द्रले।

‘‘लिएरै आउनू भनेको छ,’’ सालोले भन्यो।

‘‘कसले?’’ अनुहार उज्यालिहाल्यो देवेन्द्रको।

‘‘आमाले’’ सुनेर अँध्यारी पनि हाल्यो।

‘‘हैन, तिमी जाऊ। म आउँछु।’’ फेरि भन्यो देवेन्द्रले।

सालो गइसकेपछि उसले अलिक नयॉं पतलुङ र कमेज निकालेर इस्त्री लगायो। जुत्ता तानेर ब्रस र पालिस पनि तान्यो।

‘त्यो मान्छे’ बसिरहेको रहेछ।

कहिल्यै त्यसरी नहेर्ने त्यसले, त्यसको नजिक-नजिक पुगिरहेको देवेन्द्रलाई हेरिरह्यो।

त्यसको एकदम नजिक पुगेपछि देवेन्द्र, त्यसले त्यसको त्यै थाल समाएको हात अघि बढ़ाएर ‘‘दाजु’’ सुनायो। कसैलाई कर्तव्य सम्झाएको।

यत्तिका दिनहरूसम्म एकजना स्वाभिमानी पुरुषको रूपमा बुझेको त्यो मान्छेको सम्बोधनले छक्क पर्यो देवेन्द्र तर नअड़ी ऊ हिँड़िरह्यो।

अनेक सम्भावनाहरूको निष्कर्षमा, साह्रै भनेछ भने फुत्त निस्केर आउँछु —को कमजोर विचारसित पुगेको देवेन्द्रलाई पहिले सासूले नै देखी।

भएकी नै हो कि बनिएकी हो—खुशी अनुहारकी नै सासूले ‘‘ए! ज्वाइँ, आउनुहोस् न,’’ भनी।
सासू उभिरही।

‘‘अफिस?’’ बित्थाको सोधी।
‘‘आजु गइनँ,’’ बसेको उसले भन्यो।
उत्ता चुह्लातिर फर्केर सासू कराई, ‘‘राधा ज्वाइँलाई चिया बना।’’
‘‘एक छिन ज्वाइँ’’ थपेर गई उत्तै।
आमा-छोरीहरूको अस्पष्ट के-के बुझ्ने कोसिस गर्यो देवेन्द्रले। बुझेन।
निक्कैबेरपछि हातमा चियाको कप र ओठमा ब्यङ्ग्यात्मक मुस्कानसित आई साली।
‘‘म त आउनुहुन्न होला भन्दै थिएँ,’’ चिया टेबलमा राखेर भनी।
‘‘किन?’’ सोध्यो देवेन्द्रले।
‘‘तपाईँलाई दिदी अब पुरानो भएको होलाजस्तो लागेको थियो,’’ भनी।
सालीलाई हेरेर मुसुमुसु हॉंसिरह्यो ऊ।
‘‘केमा रिस उठेको थियो?’’ सोधी।
मुसुमुसु हॉंसी नै रह्यो ऊ।
‘‘बित्थामा त होइन होला नि भेना।’’
मुस्कुराइरहनु अब बल गर्नुपर्ने भयो देवेन्द्रलाई।
‘‘यस्तै हो सधैँ?’’
‘‘सोध न तिम्रै दिदीलाई,’’ मौनता तोड़्यो देवेन्द्रले।
‘‘भोलि आइतबार। आजु नजॉंदा पनि हुन्छ।’’ भेनाको टाउको टेक्न अग्रसर सालीले कुरा घुमाई।

लोग्ने-स्वास्नी त्यहॉं आइपुग्दा सॉंझ परेको थियो। मान्छेले माग्ने वृत्ति सिकाएर माग्ने शैलीचाहिँ नसिकाएको त्यो मान्छेले देवेन्द्रलाई हातको थाल बढ़ाएर निवेदनहीन लयमा भन्यो ‘‘दाजु’’।

झनक्क रिस उठेको देवेन्द्रले स्वास्नीपट्टि फर्किएर त्यो मान्छेलाई देखाएर, रिसाएरै भन्यो, ‘‘यसले गर्दा पो त।’’

नबुझेर छक्क परेकी राधाले सोधी ‘‘के?’’

‘‘घरमा भन्छु,’’ देवेन्द्रले भन्यो।

Dev Raj Niraula – Miss Call

देवराज निरौला – मिसकल

एक नयाँ नम्बरबाट लगातार जसो मिसकल आउन थालेकोले मैले कल व्याक गरें । केटीको मधुर आवाज आयो । आफु भर्खर टिन एज पार गरेको केटा भएकोले होला त्यो मधुर आवाज सुन्ने बित्तिकै लट्ठै परिहालें । आफ्नो मोवाइलबाट व्यालेन्स घटिरहेको बारे कुनै वास्ता भएन । होस्टलमा थिएँ सबै केटाहरू मेरो वरिपरि झुम्म भए । नयाँ नम्बर नयाँ केटी, उसले के भनी भनेर जान्न सबै उत्सुक थिए ।

‘ओ ए यसलाई त लोट्री (चिट्ठा) पर्यो । ’ भिडबाट अलिक ठूलो स्वरमा एक साथीले भन्यो । सबैले होहल्ला गरे । मैले उसले भनेको कुरा राम्ररी बुझ्न सकिन । फोन काटियो ।

‘तिमीहरूले यै बेलामा हल्ला गर्नु पने ?’ मैले अलिक रिसाउँदै भने । केही क्षण सबै शान्त भए, तर एकैक्षणमा उनीहरू खित्का छोडेर हाँस्न थाले ।

मलाई त्यो सह्य भएन । मेरो अनुहार रातो पिरो भएको थियो रे । म चुपचाप त्यहाँबाट निस्कीएँ । उनीहरू भने चौर तिर टहलिन निस्किए ।

झमक्क साँझ पर्न लागेको थियो । वेलझुण्डि दाङ्गको संस्कृत विश्वविद्यालयको होस्टलमा सबैले खाना खाई सकेका थिए म मात्र वांकी थिए । मेरो रुममेट साथीले खाईहोरी गइसकेको थियो । म खानलाई बसें । फेरि पनि त्यही नम्बरबाट एक मिसकल आयो । मैले त्यसवेला भने कल व्याक गरिन ।

थालमा भात पस्कें, तरकारी कति थोरै, अचार त झन मोराले सबै सिध्याएछ । मलाई मेरो साथीसँग निकै जङ्ग चल्यो । गुन्द्रुकको पानी र करेलाको तरकारीसँग जसै तसै खादै थिँए, फेरि त्यही नम्बरबाट मिसकल आयो ।

‘कस्ती चैं केटी होली’ म खाँदा खादै सोचमा परें । ‘यतिसाह्रो मिसकल किन गर्या होला, के चाहान्छे यो केटी मसँग?’ पर भित्तामा हिन्दी सिनेमाकी नायिका दिपिका पादुकोणको पोष्टर टाँसेको थियो । मैले कल्पना गरे कि उसका त्यस्तै सेता दन्तलहर होलान्, झुके झुकेका नजर अनि अर्ध मुस्कान् छरिएको मुहार होला । रेषमझैं खुलेको कपाललाई मन्द मन्द चल्ने हावाले फर फर उडाइरहेको होला । म त्यस मिसकल गर्ने केटीको यस्तै कल्पना गर्दै खादै थिए । तर झ्याप्प लाइन गयो, दिपीका पादुकोणको पोस्टर पनि देखिन छोड्यो र मेरो त्यो काल्पनिक आनन्द पनि हरायो ।

वास्तवमा मैले अहिले सम्म गुन्द्रुकसँग भात खाएको थिइन । यो होस्टलमा आएर बसे पछि मैले धेरै कुरासँग सम्झौता गरेको छु । घर छोडेपछि सम्झौता त गर्नु नै पर्ने रहेछ, मैले पनि गरें । धेरै बस्नु पनि थिएन, छ महिना जति पछि त आफ्नै ठाउँमा पुगीहाल्थे जहाँ मेरो घर थियो, मेरी आमा हुनुहुन्थ्यो । त्यति धनी नभए पनि यसरी वेस्वादको गुन्द्रुकको झोलसँग खानु पर्दैनथ्यो ।

मेरो कोठासाथी थियो महेन्द्रनगर कञ्चनपुरको म थिएँ दमक झापाको । सूदुर पश्चिम र सूदुर पूर्वको मेल मध्य पश्चिममा भएको थियो । ऊसले न्याय दर्शन बाट आचार्य गर्दै थियो, मैले भने बौद्ध दर्शन । दुःखको कुरा यो थियो कि संस्कृत विश्वविद्यालय मा पढेर आचर्य तह सम्म आईपुग्दा पनि संस्कृत बोल्न र संस्कृतमा आफुलाई मन लागेका कुरा लेख्न आउदैन थियो । त्यसैले म भर्खरै नियुक्ती लिनु भएका गुरु सँग जान्थे जसलाई होष्टलको नयाँ वार्डेनको जिम्मेवारी पनि दिएको थियो । म लाइन गए पछि गुरुकोमा गएको थिएँ । त्यसैवेला फेरि अगिकै नम्बरबाट फोन आयो । मैले हत्तनपत्त उठाई हालें ।

उही मधुर आवाज, उसले आत्मियता देखाउदै मैले खाना खाए नखाएको बारेमा सोधी । र भोलि तुलसीपुर चौकमा भेट्ने कुरो गरी । म त छक्क परें । मैले लाउड स्पिकर पारेर बोलीरहेको हुनाले गुरुले पनि एक आखा झिम्काएर ‘हुन्छ’ भन्नु भनेर मलाई अह्राउनु भयो ।

रङ्गशालाको चौरमा घुम्न गएका सबै केटाहरू फर्किए । उनीहरू क्रिकेटमा नेपालले प्रगती गरिरहेको चर्चा गर्दै थिए र केही वर्ष भित्रै टेष्ट को मान्यता पाउने कुरा गर्दै थिए । गुरु र म कोठा बाहिर आयौं । ‘नेपालमा क्रिकेटको विश्वकप खेल होला कि नहोला ’ गुरुले सोध्नु भयो । ‘हुँदैन गुरु, यो असम्भव छ ।’ मेरो रुममेट साथीले प्याच्च भन्यो ।

‘प्ले ग्राउण्ड नै छैनन् ।’ अर्को कुर्लियो ।

‘राजनीतिक स्थिरता भयो र यहाँ जस्तै अरु ठाउँमा भएका रङ्गशालाहरूको रेख देख मर्मत सम्भार भयो भने हुन पनि सक्छ ।’ समुह वीचबाट अर्को बोल्यो । गुरुको त्यो प्रश्नले त्यहाँ बहस निम्त्याएको थियो ।

मलाई भने फेरि त्यही नम्बरबाट मिसकल आयो । एक चोटी होइन दुईचोटी होइन बारम्बार आउने मिसकलले मलाई दिक्क लाग्न थाल्यो । एकचोटि त मोवाइल हुत्याउन लागेको थिए । तर गुरुले रोक्नु भयो ।

माघको महिना थियो । विश्वविद्यालयको चौरमा सुकेका सिसौहरू काटेर धुनी लगाएका थियौं । र हामीहरूको दिनचर्या नै वनेको थियो साँझमा खाए पछि चौर डुल्ने अनि धुनी जगाएर जाडो भगाउने । गुरुले मेरो मोवाइलमा आइरहेको घण्टी सुनेर जिस्काउँदै भन्नु भयो भोलि उहाले तुलसीपुरमा भेट्नु हुनेछ । गुरुजीको कुरा सुनेर सबै गलल हांसे । गुरुजी पनि हाँस्नु भयो । म भने रातो पिरो भएँ ।

अति नै धेरै मिसकल आउन थाले पछि मैले फोन गरें, किनभने मलाई साह्रै नै रिष उठेको थियो । दुई घण्टी पनि राम्रो जान नपाई फोन उठाई ‘किन वारम्बार मिसकल गरेको ? भोलि भेट्ने भनेकै छ त ?’

‘अँ तपाईं त कस्तो रिसाउनुहुँदो रहेछ, मैले एकदमै धेरै तपाईंलाई मिस गरेको हुनाले पो गरेको त । न रिसाउनु न ल ।’ उसले शान्त भएर भनी । सबै केटाहरू उत्सुक भएर सुनिरहेका थिए ।

‘त्यस्तो मिस गरिरा’भए अहिल्यै बोलाउन त’ मैले अलिक शान्त भएर भने ।

‘आउनु हुन्छ त?’उसले भनी । केटाहरू एकचोटी जोडले चिच्याए । म अक्क न बक्क भएँ । के भनौ के नभनौ ? म रन्थनिएको थिए । ‘कहाँ आउनु?’ म त्यस्तै अवस्थामा गेट तिर हिड्दै बोलें । केटाहरू होहल्ला गर्न थाले ।

‘तपाईं कहाँ हुनुहुन्छ ?’ उसले फेरि सोधी

‘बेलझुण्डी चौकमा’ मैले भने । चिसो रातमा उसका कुराले मलाई असिन-पसिन भएको थियो ।

‘दुधरासतिर आउनु म बाटोमा एउटा सानो बच्चासँग उभिइरहेको हुन्छु ।’ उसले भनी । लौ वित्यास पर्यो मैले मनमनै यस्तै सोचे । यता होस्टलमा भने साथीहरू जोड जोडले हाँसिरहेका थिए । उनीहरू किन हाँसिरहेका छन् मैले बुझ्न सकिरहेको थिइन । रातको समयमा एक किलोमिटर पर कुनै केटीले बोलाउँछे भने किन नजाने मैले यस्तै सोचें । आज परमानन्दमा पुग्ने भइयो । यस्तै सोच्दै हिड्दै थिए गेट नेर पुगेको थिए ।

‘तपाईं होस्टलमा बस्नु हुन्छ हो ?’ उसले सोधी

‘हो’ मैले भने ।

‘तपाईं अहिले होस्टलको गेट पार गर्न लाग्नु भएको छ, हो कि होइन भन्नु त? ’ उसले फेरि भनी ।

‘तिमीले कसरी थाहा पायौ ?’ मैले सोधे ।

‘म अहिले फलैंचामा छु नि त ।’ उसले भनी । होस्टलबाट ३ मिनट जति तलतिर बरपिपलको रुखमुनि फलैंचा थियो । म ज्यानफालेर दौडें । तर त्यहाँ कोही पनि थिएन । फलैचा चकमन्न थियो । मैले यताउति चारैतिर हेरें । अब मलाई एकदमै डर लाग्यो । सानोमा किचकन्याको कथा सुनेको थिए, किचकन्याले पो बोलाएको जस्तो लाग्यो ।

म दौडेर गएको देखेर साथीहरू गेटमा आइपुगेका रहेछन् । उनीहरूले हाँसो रोक्न सकेका थिएनन् । उनीहरू गेटमा पुगेकाले मलाई निकै राहत भयो किनभने म एकदमै डराएको थिए ।

फेरि फोन आयो त्यै नम्बरबाट मैले डराई डराई फोन उठाए ।

‘तपाईं किन नआउनुभएको ? ’ उसले सोधी ।

‘म त तिमीले भनेको ठाउमा गए तर तिमी थिएनौ ।’ मैले भने ।

अँ म यता होस्टलको पछाडि पो आई पुग्याछु अनि । ’ उसले भनी ।

म होस्टल तिर दौडें । सबैजाना होस्टल पछाडि गयौं । होस्टल पछाडि सारा ठाउ छान मार्यौं तर कोही भेटिएन । मलाई भने किचकन्याको डर पसेको थियो । अब किचकन्याबाट कसरी बच्ने होला भनेर म सोच्दै थिए । त्यसैवेला फेरि फोन आयो जसले गर्दा म तर्सिए । अनि मुटु दह्रो पारेर फोन उठाए, कोही खित्का छोडेर हाँसिरहेको थियो । मलाई किचकन्याकै डर थियो । लौ अब त मलाई खाने भई, म यस्तै सोच्दै थिएँ । त्यो हाँसो बाहिर पनि सुनियो । म जहाँ बसिरहेको थिए त्यसकै ठिक माथिबाट त्यो हाँसो आई रहेको थियो । त्यो केटीको आवाज विस्तारै धोद्रो हुदै गएको थियो । मैले टाउको उठाएर माथि छततिर हेरें त्यहाँ हाँस्दा-हाँस्दै रुन थालेको मेरै साथी हरि थियो जो फेरि केटीको स्वर बनाउन प्रयास गरिरहेको थियो ।

जब मलाई उसले देख्यो, चुपचाप भयो । साथीहरू सबलाई यो थाहा थियो, उनीहरू चुपचाप भए । अनि पीडा र अपमानले रन्थनिएको म डङ्ग भूइमा लडेंछु ।

अचेल कुनै पनि नयाँ नम्बरबाट फोन आउँदा त्यही नराम्रो घटना याद आउँछ ।

Kusum Gyawali – Karyabahi Sifaris (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – कार्यवाही सिफारिस (लघुकथा)

एउटा राष्ट्रिय दैनिकले छापेपछि सुनुवाई भयो, चौथो अंगको दवाव शक्ति वास्तवमै प्रभावशाली हुन्छ। पत्रकारले आफ्नो मतराखे। राजधानीको एउट होटेलमा बसेर भविष्यवाणी गर्ने, सबै खाले रोग निको पार्ने र सम्पूर्ण मनोवैज्ञानि समस्या वा सामाजिक समस्या ग्यारेण्टीकासाथ समाधानको नाममा ठगी गरेको विदेशी ठग ज्योतिषलाई पुलिसले गिरफ्तार गरेपछिको प्रतिकृया दिदैं थिए सोही राष्ट्रिय दैनिकको पत्रकार महोदय।

वास्तवमा भन्ने हो भने, लोकतन्त्र भनेको यही हो। प्रेसले इस्यू सार्वजनकि गर्ने वित्तिकै सरकारले जनताको सरोकारको विषयमा गम्भीरतापूर्वक छानविन थालेको छ। देशमा देशमा जनताको शासन हुनुको एउटा उदाहरण हो। समाचार आउने वित्तिकै कार्यवाही बढाई सकेको छ गृह मन्त्रलयले। देश र जनताको हितमा हाम्रो पार्टी कटिवद्ध छ ……। सोही मञ्चमा सत्तारुढ नेताले।

हाम्रो अथक प्रयास र निरन्तर शसक्तिकरण गर्ने अभियानको सफलताले गर्दा आज यस्ता ठग व्यक्ति पुलिसको हिरासतमा वस्न वाध्य भएका छन्। गैरसकारी संस्थाका कार्यक्रम निर्देशकलैे आफ्नो एन.जि.ओ.को लोगो देखिने गरी भिडियो खिच्न खटाइएका क्यामरा भ्यानतिर फर्केर कुर्ले। प्रतिपक्षमा रहेको एउटा सानो पार्टीको पुराना नेताले सत्तासीन दलहरुलाई यस्ता जनताको सारोकारका विषयमा गम्भिर भएर काम गरेमा आफ्नो दलले रचनात्मक सहयोग गर्ने बचन दिए। टिभिमा सो रिपोर्टिङ्ग जारी नै थियो।

अर्कोतर्फ भव्य महलमा डिएस्पी सा’बले भने टेलिभिजनमा देखिएको यी दृश्य हेर रेडलेवलको रात्री चुस्को लिदैं थिए। श्रीमतीले रोष्टेड चिकेन थप्दै भनिन, किन हो। आज त निकै खुसी देखिस्या छ नि। आन्दोलनमा गोली चलाएकालाई कार्यवाही गर्ने भन्ने रायमाझीले हल्ला चलाएर टेन्सन भा’थ्यो। आज आनन्द भा’छ। डिएस्पी साबले भने! श्रीमती पक्क परेर मुखमा हेरी मात्र रहिन। हेर बुढी त्यो ज्योतिसिकोमा जाऊ भोली के होला सोधौ भन्थिस नि! आज मैले केटाहरुलाई पठाएर यही हनुमानढोका ल्याउन पठाएर मेरा हात देखाए। कारवाही हुने ग्रह दशा नै छैन रे। म त बल्ल ढुक्क भए। डिएस्सपीले टेलिभिजनतर्फ हेर्दै थपे यस्ता स्वांठ त नेता छन्। हनुमानढोका बोलाउने बित्तिकै कार्यवाही हुन्छ भन्ठान्छन् मुर्खहरु। यस्ता नेता भएपछि पनि हामीलाई कार्यवाही हुन्छ? डिएस्पीले अर्को पेग थपे।