Sanjay Bista – Untrained Beautician Haru

सञ्जय बिष्ट – अनट्रेन्ड ब्युटीसियनहरू

आकाशमा बादलको एउटै टुक्रा पनि थिएन। वारिकाले पारि र पारिकाले वारि टल्केका छानाहरू गनेर छोराहरू छोरादेखि माथि उठेर अझ कतिजना बाबुको घरदेखि छुट्टिएर घरका बाबु भएछन्—थाहा गर्दथे। केही दिनअघिदेखि दसैँको घाम लागेको थियो।

केही दिनअघिदेखि नै बाहिरिएकाहरू रौनक चेपेर घर आइपुग्दै थिए। परिवारमा, गाउँमा उनीहरूले शरद्को मौसमले जस्तै उज्यालो ल्याएका थिए यद्यपि यसपालि कति घर पुग्ने बाटो काटेर दसैँले कति घरहरूको सँघार टेकेको थियो। पोहोरसम्मका सबै दसैँहरूमा पुरानो रूप फेरेर सुन्दर बन्ने कतिवटा घरहरू इच्छाप्रतिकूल पुरानै रूपमा अप्ठ्यारो मानी कुक्रुक्क परेर बसेका थिए।
माथिको आज्ञामा तलकाहरूले लेखेर टॉंँसेका थुप्रै गल्तीहरू भएका, मनाउनुपर्ने वैकल्पिक चाड़ बताएर दसैँ मनाउनेहरूलाई हजार रुपियॉं जरिमाना कि सम्प्रदायबाट बहिष्कारको चेताउनी लेखिएको पोस्टर पो पढ़्दै थियो अर्जुनकुमार।
ठाउँ-ठावैँ अलकत्रा उप्किएर खाल्डाहरू परेको बाटोमा हल्लिँदै, त्यहॉं भएर आएका र भएर गएका प्राकृतिक हावा र गाड़ीहरूको गतिले सिर्जना गरेको कृत्रिम हावाले उड़ाएर बसाएको धुलो उड़ाउँदै अर्को मारुति गाड़ी आएर चौताराअघि रोकियो।
रोकिएको गाड़ीभित्रको मान्छे चिन्नखोज्यो अर्जुनकुमारले। स्वास्नीमान्छे रहेछ तर को चिनेन।
रोकिएको गाड़ीको दरबाजा खस्रो आवाजसित निर्दयतापूर्वक तानेर, एउटा हातले सानु ब्याग समातेर अर्को हातले हत्केला जत्रै मोबाइल पक्रेकी, प्यान्ट र टप्स लगाएकी, न लामो न छोटो केश नबाटेर एउटा बॉंधेकी स्त्री गाड़ीबाट झरी।
ओठमा मुस्कान पोतेर शिर पनि केही झुकाएर आउनेले ब्याग र मोबाइल जोड़ेर नमस्कार गरिसकेकी थिई।
‘‘अमृता!’’ हात जोड़्योे अर्जुनकुमारले।‘‘आइपुग्यौ?’’ थप्यो।
दराजभित्रको नयॉं जुत्ता आँखामै बोकेर पुरानो जुत्ता लगाएर र कतिजना त खालीखुट्टै केही बेरअघिसम्म चौतारावरिपरि उफ्री-पाफ्री गरिरहेका नानीहरू चौताराकै छेउमा सड़कको डिलपट्टि मारुतिपट्टि फर्किएर सरको अघिजस्तो चुपचाप उभिएका थिए।
चिनेर नजिक पुगिहाले तिनीहरू पनि।
उज्यालो थपियो उज्यालोमा।
—बड़ी जाती नै हुनुहुन्छ?
—लक्ष्मी?
—भाउजू?
—महेश कुन क्लास पो पुग्यो?
—भोलि आउँछु, लक्ष्मीलाई भन्दिनुहोस् है-हरू सोधेर भनेर ऊ ओह्रालो लागी मसिना दुईवटा झोला मसिनै केटाहरूलाई झुन्ड्याउन लगाएर।
तिनीहरू गइसकेपछि अर्जुनकुमार केही बेर चौतारामै बसिरह्यो। कुनि किन उठेर हिँड़िहाल्ने जॉंगर उसको शरीरबाट अचानक हराएको थियो।

घामको तल्लो वृत्तले डॉंड़ालाई छोएको थियो। शरद्को त्यो सॉंझ सॉंच्चै सुन्दर थियो, त्यसलै लोभलाग्दो पनि थियो। सुन्दरता देख्नसक्ने दृष्टि र ग्रहण गर्नसक्ने मन-मस्तिष्कहरूलाई त्यो वातावरणले अमरत्व कसैलाई प्राप्त छैन भन्ने कुरोको स्मरण गराएपछि मुटुको गति पनि बढ़ाएर असामान्य स्थितिमा पुर्याउँथ्यो। जीवनको अन्तिम घड़ीमा अझै एउटा सत्कार्य गरिराखूँ भनेझैँ डुब्दो घामले पश्चिम-पूर्व दुवैतिरका क्षितिज अनि डॉंड़ा-पाखाहरूलाई धेर-थोर सिङ्गारेको थियो। कलाज्ञहरूलाई प्रकृतिको त्यो सिर्जना आश्चर्यजनक सुन्दर थियो।
त्यतिकै पक्रेर राखिराखूँजस्तो त्यही मनोहर सॉंझमा पचास-साठी फुट परसम्म झार गोड़ेको बाटो हिँड़ेर आँगन आइपुगी अमृता।
आँगनमा पिरामा बस्न आइपुगेकी सासू ध्यानपूर्वक टुङटुङेमा मसला कुटिरहेकी बुहारीलाई हेरिरहेकी थिइन्। मट्टितेल हालेको रङ्गको सानु बट्टामा ब्रस हल्लाउँदैथ्यो अर्जुनकुमार।
सम्पूर्ण शरीर नै थाकेको थाहा भयो उसलाई।
‘‘बड़ी नमस्ते,’’ मुखले मात्रै भनी किनभने एउटा हातले पोलेथिनको पोका र अर्को हातले मोबाइल पक्रेकी थिई अमृताले।
भाउजूलाई सन्चो सुबिस्ता सोधी। हातको पोका दिई। लक्ष्मीलाई खोजी।
‘‘भित्रै जानु नि बैनी,’’ भाउजूले भनी।
रमाएको चर्को स्वर आँगनकाहरूले सुने।

तिरासीको कुरा हो। बाबुको अन्त्येष्टि भर्खर सकिएको थियो। त्यस चिरञ्जीवी घटनाले अर्को त्यस घटनालाई घामले जूनलाई प्रकाश दिएजस्तो चिरता प्रदान गरेको छ।
बोलाउन आइपुगेछ तलबाट एकजना ठुलो सॉंझमा।
सेतो टोपी लगाएर अर्जुनकुमार घरबाट निस्कियो।
लगेर भर्ती गरेको घण्टा नबिती ‘‘जाती भयो,’’ बाहिरका अर्जुनहरूले सुने।
‘‘के भयो?’’ सामूहिक जिज्ञासा थियो।
‘‘छोरा।’’
‘‘मैले भनेको थिइनँ?’’ रमाएको थियो एकजना।
जे होस् यो अमृता जन्मिएको तिरासीमै हो, बाइस वर्षअघि।

आठमा पढ़्थी। फेल भई।
‘‘पढ़्दिनँ,’’ भनी।
‘‘नपढ़ेर के गर्छस्?’’ हकारेर सोधी आमाले।
नङ टोकेर उभिरही अमृता।
‘‘अर्को स्कुल पढ़् न त,’’ पनि भनेकी थिई आमाचाहिँले।
मानिन।
स्कुल छाड़ी अमृताले।
स्कुल छाड़ेपछि अमृताले गाउँकै भिडियो हलमा नयॉं-पुराना हिन्दी सिनेमा खुब हेरी। सरस्वती पूजा, शिवरात्री पूजा र कृष्ण अष्टमी पूजाहरूमा भाइ-बहिनी र साथीहरूलाई निक्कै खेप प्रतिनिधित्व दिई। केही समयलाई बाल-विकासकी गुरुमा पनि भई। आई.सी.डी.एस.को खिचड़ी पकाउने कामको लागि पनि निक्कै कोसिस गरेकी थिई। होला-होलाजस्तो हल्ला फैलिहालेको थियो, काम तर पञ्चायत सदस्यकी भान्जीकै भयो।
खबर सुनेको सॉंझ ऊ भिडियो गईन।

महेश दुई सालको थियो त्यतिबेला। त्यति बेला भन्नाले त्यतिबेला, जति बेला खिचड़ी पकाउने काम नपाउनु अमृताले त्यतिन्जेलको आफ्नो सबभन्दा ठुलो हार मानेकी थिई, जीवनभरिलाई दुर्घटनै ठानेकी थिई।
‘‘अब एउटा छोरी त हुनुपर्छ नि,’’ मनको कुरा भनेको थियो अर्जुनकुमारले स्वास्नीलाई।
‘‘केको हतार?’’ मुसुक्क मुस्कुराएकी थिई महेशकी आमा।
‘‘हतार-सतार हैन, छिट्टो भयो भने छिट्टै हुर्किन्छ। लन्ठै खलास्।’’ भनेको थियो अर्जुनकुमारले।

कल्पनातीत त्यो मुलुकमा को गई होला गाउँबाट सबभन्दा पहिला—अर्जुनकुमारहरूलाई थाहा छैन तर जानेहरूको सङ्ख्या पॉंच गनाएपछि स्वास्नीले, अर्जुनकुमार छक्कै पर्यो।
‘‘कपाल बनाउनु?’’सॉंच्चै उद्देक लागेको थियो उसलाई।
‘‘अन्त के त!’’स्वास्नीले भनी।
त्यो रात ननिदाइन्जेल अर्जुनकुमारको मस्तिष्कमा थाहै नपाई गाउँबाट त्यसरी जानेहरूको अनुहार आइरह्यो।

बिच-बिचमा लोग्ने स्वास्नीबिच लोग्नेको छोरीको रहर सन्दर्भमा तीन-चारपल्ट कुराकानी भयो।
‘‘दिल्लगी गरेको जस्तो लाग्यो कि क्या हो?’’ स्वास्नीसित रिसायो पनि अर्जुनकुमार एक दिन।
‘‘हन के सारो हतार लागेको यो मान्छेलाई।’’ छक्क मानेकी अनुहारकी स्वास्नीले लोग्नेलाई हेरी।
‘‘हतार नगर तिमी, चालिस नाघेर पाऊ नानी। हेर्नुपर्दैन आफ्नो उमेर पनि?’’ हात पनि हल्लाई-हल्लाई भन्यो उसले स्वास्नीलाई।
‘‘समयमै हुर्किहाल्यो भने…’’ पनि थप्यो लोग्नेले ।
तर थपेकोमाको ‘हुर्किहाल्यो’-ले निक्कै बेर घोरायो उसलाई।
‘‘के ग्यारेन्टी छ छोरी हुन्छ भन्ने ? छोरै भयो भने फेरि….’’ भन्दै थिई छोराकी आमाले। उसको ध्यान त्यतातिरबाट हटिसकेको थियो। कुरो ठिकसित नबुझेपछि प्रतिक्रिया जनाउने कुनै थिएन।
6 -सात महिनामा बामे सरेर, भित्ता समाई उठेपछि एक पाइला, दुई पाइला, लड़ेर उठेर धर्खरिँदै चार -पॉंच पाइला र पटाई बजाएर वल्लो कोठा र पल्लो कोठा कुदिँहिँड़्ने, तोतेदेखि बिस्तारै बढ़्दै तर एकदम स्पष्ट भइनहालेको बोलीको, चार वर्षजत्तिकी अथवा 6-सात महिनादेखि चार वर्षजत्तिसम्म मात्रै बढ़ेकी, त्यतिसम्म मात्रै बढ़ेकी छोरीको यस्तो असामान्य लोभ कहॉंबाट आयो अर्जुनकुमारमा? लोभ छोरीको कि त्यो उमेरभित्रकी छोरीको बालसुलभ क्रियाकलापको ? उसको कल्पनामा छोरी किन बढ़्दैन हिजोआज तीन-चार वर्षभन्दा उँभो?—पहिलोचोटि धोरियो ऊ।

गएका पॉंचले एक-एक गरी छुट्टी आउँदा थप पॉंचलाई जीवनको परिभाषा बुझाई सपनाबाहिरको संसारमा पुर्याइसकेका थिए। पुर्याइसकेका थिए के जानेहरूमध्ये डॉंड़ाघरे काइँलाकी छोरी—जो गाउँका सबैसित हॉंस्ने-बोल्ने सबभन्दा फर्साइली थिई, कुन शहरमा हो ओठको मुस्कान हराई गएकी दुवै महिनामा अर्कै भएर गाउँ फर्किसकेकी थिई।
‘‘भाग्य पनि हुनुपर्छ, जॉंगर पनि। घॉंसै काट्नु लेखेको छ निघारमा अन्त किन बसोस् कपाल काट्नु?’’ बुहारीछेउ बसेकी सासूको प्रतिक्रिया पनि सुनेको थियो अर्जुनकुमारले।
तर गाउँका अरू काइँलाकै छोरीजस्ती परदेश खटिखान नसक्ने कहॉं थिए र? गएकाहरू बेला-बेला एकदम मान्छेजस्तो भएर आई फर्किजॉंदा एक-एकजना चेपेरै जॉंदैथिए।

पोहोर बर्खामा पर सूर्यमानकी छोरी एउटा सानु झोला बोकेर गएकी वर्ष दिनपछि ठुलो धर्के ब्याग र ठुलै सुटकेस पनि बोकाएर आई।
आएकी पर्सिपल्ट ब्याग झुन्ड्याएर बजार गई। बेलुकी सामसुङ कम्पनीको चौध इन्चे रङ्गिन टिभी,दुई बन्डल च्यादर, घरका सबैलाई के-के, के-के र अनुहारभरि गर्वमिश्रित हर्क लिएर फर्की।
‘‘हेर त परै!’’ थुप्रै आमा-बाबुहरूले भने।
महिना दिनजति बसी होली ऊ। एक दिन घरमा आएकी थिई। कोठाभित्र पसेर लामो बसी लक्ष्मीसित।
फर्किँदा अरूझैँ ऊ पनि एक्ली फर्किन। बाबु-आमा दुवैलाई ढोगी लट्टिएकी जस्ती, तन्द्रामा जस्ती अमृता पनि घरबाट निस्की।
प्रशिक्षणहीन, अल्प-शिक्षित गाउँकी अमृता पनि त्यसरी केश बनाउने काम गर्न हिँड़ेकी सुन्नासाथ अर्जुनकुमारको मस्तिष्कमा र आँखैमा पनि छोरी जन्मिएकी थिई। जन्मेर बामे सर्न थाली। उभिई। उसको मुटुको गति नै बढ़ाएर, घुँड़ामा कुत्कुती लगाएर आँगनको डिलतिर पनि कुद्न थाली। छोरी बढ्दै गई, बढ़्दै गई। बढ़ेर बाह्र-तेह्र वर्ष पुगेकी छोरीलाई अझ बढ़्न नदिन भयातुर अर्जुनकुमारले कल्पनाको कष्टप्रद प्रदेसबाट अत्तालिँदै यथार्थमा फाल हान्यो अनि लामो नि:स्वासपछि ‘‘हट्’’भन्यो।

पहिला-पहिलाभन्दा केही थोर उत्साहित धेरैले दसैँ मनाए। थोरैले माथिको आज्ञा मानेर केटाकेटीको मन दुखाए।
दसैँको रौनक सकियो।
कागहरू नआए पनि घर परतिर टपरीमा खानेकुरा राखिदिए सबैले।
कुकुरहरूले माला लाए।
भैलो खेलेर अमृताकै घरमा सुती देउसीको बिहानै रातो आँखाकी लक्ष्मी घर आई।
उसकै दँवलेहरूसित महेशले पनि 6-सात घर देउसी खेल्यो।
दसैँ मनाउने, नमनाउने सबैले तिहार मनाए।
भाइटीकाको भोलिपल्ट बेलुकी अर्जुनकुमार तीनधारे दिदीकोबाट टीका लगाएर आइपुग्यो।

लक्ष्मी कोठामा थिई। तिनीहरू अङ्गेटीको वरिपरि थिए। ‘‘कान्छी जान्छु भन्दैछ, अमृतासित,’’ छोरातिर हेरेर भनी आमाले।
स्वास्नीले पनि लोग्नेको अनुहारमा हेरी।
‘‘कता?’’ सोध्यो अर्जुनकुमारले।
‘‘भूपाल’’ बताएर ‘‘कपाल बनाउनु’’ कारण पनि बताई आमाले।
‘‘पर्दैन, ट्याक्कै पर्दैन,’’ आँखा र स्वर दुवै ठुलो बनाएर करायो अर्जुनकुमार।
‘‘जावोस् न त,’’ सामान्यभन्दा सानो र अनुरोधको लयमा स्वास्नी बोली।
‘‘पर्दैन’’भन्यो लोग्नेले।
‘‘उमेर-उमेर गइसक्यो। यसरी कति दिन बस्छ? म त डॉंड़ाकै घाम भइहालेँ। मपछि के हो-के हो। त्यसले काम गरेर आफ्नै जिउ मात्रै पाले पनि भइहाल्यो। गैराको छ सब। त्यसलाई नजा किन भन्नु।’’
छोराले आमातिर हेर्यो मात्रै।
ओछ्यान पसेपछि लोग्ने-स्वास्नी निक्कै बेरसम्म खासखास-खुसखुस गरिरहे।
‘‘तिमीले आफ्नो आँखाले देखेको छौ?’’ स्वास्नी रिसाई।
‘‘देख्नुपर्छ? देख्नुपर्छ? घॉंस काट्नु र केस काट्नु एउटै हो? जसले जे भन्यो पत्याएर हुन्छ? यो चलाउनु पर्दैन?’’ उसको औँला उसकै कन्पटीमा थियो।
स्वास्नी निदाएपछि पनि अर्जुनकुमारको मनमा के-के, के-के आइरह्यो।
अर्को दिन पनि तिनीहरूमाझ त्यस विषयमा कुराकानी भयो।
अर्जुनकुमार प्रतिक्रियामा थोर बोल्ने धेर मौन रहने भइसकेको थियो। उसको मौनतालाई अरूले स्वीकृति ठानिसकेका थिए।
दुई दिनपछि लक्ष्मी कोठामा झोलामा लुगाहरू मिलाएर हाल्दै थिई। दाजु-भाउजू दुवै पसे कोठामा।
भाउजूले आफ्नो दाहिने मुठ्ठी नन्दतिर बढ़ाएर भनी, ‘‘एकै ठाउँमा नराख्नू, चाहिने मात्रै पर्समा हाल्नू।’’
‘‘नजानू भनेको मान्दैनौ,’’ अर्जुनकुमारले भन्यो।
अरू पनि केही भन्छन् कि भनेर नन्द-भाउजू दुवैले केही क्षण पर्खे।
केही क्षण उभेर अर्जुनकुमार कोठाबाट निस्कियो।

‘‘एन.जे.पी.सम्म पुर्याउन जा,’’ छोरालाई आज बिहान पनि भनी आमाले।
‘‘छ्या पर्दैन हौ,’’अमृता मानिन।
‘‘होस्, होस्’’ जीवनमा दुईचोटि सिलगढ़ीसम्म पुगेकी लक्ष्मीले पनि थपी अनि नियास्रो अनुहारकी आमालाई ढोग्न निहुरी।
दुवै हत्केला अघिल्तिर ठाढ़ो फैलाएर ‘‘घरदेखि निस्किँदा नढोग्नू’’ आमाले छोरीलाई रोकी।
लक्ष्मीले दाजु-भाउजूलाई हेरी।
झोला बोकी।

धारावाहिक सकेर दस बजीतिर स्वास्नी कोठामा आई। अर्जुनकुमार सुतेको थियो, निदाएको थिएन।
‘‘बत्ती मारिदिऊँ?’’ सोधी।
लोग्नेले ‘‘होस् न एक छिन,’’ भन्यो।
कुनापट्टि पसी स्वास्नी खुट्टापट्टिबाट।
‘‘पर्सि त तल भाउजूहरू पनि जाने अरे अस्पताल,’’ न भनाइको, न सोधाइको शैलीमा कुरा पनि असान्दर्भिक गर्यो अर्जुनकुमारले।
‘‘के रे?’’ स्वास्नीले सोधी।
लोग्नेले कुरो स्पष्ट गर्यो।
‘‘कसले भन्यो तिमीलाई?’’ स्वास्नी केही चल्मलाई।
‘‘सुनेको,’’ स्वास्नीपट्टि फर्कियो ऊ।
‘‘विकासको बुड़ी, पर कान्छा मामाको बुहारी…’’ सन्तानको रहर पुगिसकेका गाउँका थप स्वास्नीमान्छेहरू जो पर्सि एकसाथ अस्पताल जॉंदै थिए, सूची प्रस्तुत गरी लोग्नेसमक्ष स्वास्नीले।
‘‘कि जाने तिमी पनि?’’ अचानक खुस्कियो अर्जुनकुमारको मुखबाट।
‘‘हँ?’’ स्वास्नीले आँखा फारी।
‘‘जान्छौ भने जाऊँ,’’ भन्यो स्वास्नीलाई।।
‘‘अनि छोरीचैँ?’’ स्वास्नीले भनी।
अर्जुनकुमारले केही भनेन।
स्वास्नीले ‘‘हिजोअस्तिसम्म त छोरी-छोरी भन्थ्यौ त,’’ पनि भनी।
‘‘मान्छेको सबै इच्छा पुरा हुनुपर्छ भन्ने पनि के छ र?’’ भनेर अर्जुनकुमारले बत्ती निभायो।

Sanjay Bista – Meri Swasni Ra Tyo Manchhe

सञ्जय बिष्ट – मेरी स्वास्नी र त्यो मान्छे

आएकै बाटो गएर सधैँ त होइन तर प्राय: जसो देवेन्द्र घर पस्थ्यो। प्राय: जसो यसकारण कि एउटै बाटो हिँड़िरहँदा दिक्क मानेको मनले कुनै-कुनै दिन उसलाई घुमेको अर्कै बाटो घुमाएर घर पुर्याउथ्यो। यस्तो कुनै-कुनै दिन छाड़ेर माथि भनिएकै प्राय: जसो ऊ त्यही बाटो हिँड़्थ्यो।

‘त्यस’-को नाम जान्दैन देवेन्द्र। आकृति अर्थात् शारीरिक बनावटले त्यो देवेन्द्रजस्तै छ। म मान्छे हुँ— को बोध उसलाई यही आकृति अर्थात् शारीरिक बनावटले नै गराएको हुँदा आफ्नै जस्तो आकृतिको त्यसलाई ऊ ‘त्यो मान्छे’ भन्छ।

घाम लागेको थियो न्यानो, घरका छानाहरूतिर।। सुकाइएका लुगाहरूतिर। बाटातिर। चारैतिर।

पुराना मैला लुगाहरूमाथि उत्तानो सुतेको रहेछ त्यो मान्छे देब्रे खुट्टामाथि चढ़ाएको दाहिने खुट्टा हल्लाउँदै टुलुटुलु आकाशतिर हेरेर मस्तसँग।

समस्याहरू, दु:खहरू एउटै पनि नभएको जस्तो त्यो मान्छेलाई देखेर नमान्दा नहुने कुरो रहेछ दु:ख भन्ने लागेको थियो देवेन्द्रलाई।

हो, त्यही दिन हो याद गरेको देवेन्द्रले त्यसलाई। देखेको कतिचोटि पहिल्यै पनि थियो भने उसले याद नगरेको थियो। त्यसपछिका प्रत्येक दिन बिहान निस्केर अफिस पुग्नलाई त्यो बाटो भएर हिँड़ेन भने पनि बेलुकी घर पस्नलाई त त्यही बाटो हिँड़्यो देवेन्द्रले। अथवा बिहान बेलुकीमा एकपल्ट ऊ त्यो बाटो हिँड़्यो नै। पहिलोचोटि याद गरेपछि जति दिन देवेन्द्र त्यहॉंबाट हिँड़्यो प्राय: जसो उसले त्यसलाई त्यहीँ देख्यो— उभेको, टुक्रुक्क बसेको र अधिकत्तरचाहिँ निस्फ्रिकी सुतेकै।

त्यो दिन दिउँसो त्यो मौसमको पहिलो वर्षा भयो हठात् । अफिसमै थियो देवेन्द्र।

‘‘बर्खा लाग्यो अब।’’कहिले पर्छ र भनूँ भइरहेको जस्तो एकजनाले भनिहाल्यो।

तर दस मिनटजति पातुलो परेपछि रोकिई पनि हाल्यो पानी।

बेलुकी अफिसबाट निस्किसकेको थियो देवेन्द्र। अँध्यारो थिएन आकाश तर पानी छिटाउन थाल्यो फेरि। केही बेरपछि पानी केही बाक्लियो पनि । छाता ओढ़ेकाहरू दुई-तीनजनाबाहेक देवेन्द्रजस्तै अलइलि भिज्दै हिँड़िरहेका थिए सबै। भिज्दै हिँड़्नु त्यो दिन कसैलाई पनि अप्ठ्यारो लागेको थिएन।

त्यहॉं आइपुगेको उसले देख्यो—त्यो मान्छे आफ्नै ठाउँमा भिजेरै बसिरहेको रहेछ, सधैँजस्तै निस्फ्रिकी।

कतै ओत नलागी घर पुग्यो देवेन्द्र।

भिजेको देखेर ‘‘भिजु भो?’’ अनावश्यक सोधी स्वास्नीले उसलाई।

देवेन्द्रले ‘‘अलइलि’’ भन्यो।

‘‘फेर्नोस् लुगा।’’ नभनेकै भए पनि फेरिहाल्थ्यो लुगा उसले। आवश्यक ठानेर स्वास्नीले भनेका यी दुई शब्द देवेन्द्रले आवश्यक मानेरै ग्रहण गर्यो। घर बनाइराख्नुलाई कति आवश्यक अनावश्यक र कति अनावश्यक आवश्यक मान्नुपर्छ भन्ने दुवै जान्दथे।

चुह्लाबाट तातो चियाको कपसित आएकी स्वास्नीलाई ‘‘छाता कहॉं छ हँ मेरो?’’ सोधेको थियो देवेन्द्रले।

तर अर्को दिन बिहान देवेन्द्र उठ्दा पश्चिमपट्टिको डॉंड़ा-पाखा घामको न्यानो कम्बलभित्र थियो। आकाशका टुक्रे बादलहरूले आफ्ना मौलिक रङ्ग त्यागेका थिए।
‘‘लानोस्,’’ भनी स्वास्नीले।

‘‘होस् जोक्करजस्तो मात्रै देखिन्छु,’’ भन्यो उसले। निकालिदिएकी थिई छाता स्वास्नीले । लगेन देवेन्द्रले।

त्यसपछि कुनि कति दिनसम्म घाम लागिरह्यो। कुनि कति दिनसम्म घाम लागेर एक दिन, दिन बिग्रियो। कुनि कतिवटा दिन बिग्रिएर एक दिन पानी पर्यो।
त्यो दिन घर फर्किँदा देवेन्द्रले जस्तै थुप्रैले छाता ओढ़ेका थिए। ओत लागिरहेका र भिज्दै हिँड़िरहेकाहरू पनि केही थिए।

धेर-थोर दिन बिग्रिरह्यो त्यसपछि। छाता बनाउनेहरू अब घर-घर आउन थाले।

रातभरि थामिएर फेरि बिहानैदेखि थालेको थियो पर्नु पानीले। त्यहॉं पुगेको देवेन्द्रले देख्यो; त्यो मान्छे भिजेकै लुगाहरूमाथि टुक्रुक्क बसेको रहेछ। घाममा जस्तै पानीमा पनि निस्फ्रिकी त्यहीँ बसिरहनु सक्ने त्यो मान्छेलाई देखेर देवेन्द्र एकपल्ट छक्कै पर्यो। त्यसलाई बिर्सिएर परिरहेन।

छाता ओढ़ेर ऊ बाटोको छेउछेउ हिँड़्दैथ्यो। एउटा जिप्सी गाड़ीले खाल्डोको हिलो उछिट्याएर गयो देवेन्द्रको पतलुङभरि। देवेन्द्रभित्र एउटा अश्लील शब्दले करायो ड्राइभरलाई। तातो अनुहारको उसले मौन उभेर निक्कै परसम्म त्यो गाड़ीलाई हेरिरह्यो।

अब दिन, कुनै दिन एक छिन उघ्रिएर, पानी मात्रै परिरहने भइसकेको थियो। देवेन्द्रले दुई सय तीस रुपियॉंमा डक् ब्याक कम्पनीको एउटा जुत्ता किन्यो।
एक दिन त्यहॉं पुग्नुभन्दा केही वरतिरै देवेन्द्रले त्यो मान्छेलाई सम्झयो। आज छैन होला।—मनमनै भन्यो। टाढ़ैबाट त्यसको ठाउँमा हेर्यो उसले। टाढ़ैबाट देख्यो, त्यो त त्यहीँ रहेछ।

छक्क परेको देवेन्द्रले ‘रात-दिन भिज्दा पनि नहुँदो रै’छ त बिमार।’ मनमनै भन्यो।

भिजेरै बसेको त्यसलाई देखेर देवेन्द्रलाई ‘जा, पर्तिर गएर बस्।’ भन्नु मन लागेको थियो तर भन्नु मन लागेकै देवेन्द्र त्यसलाई नाघेर निक्कै वरसम्म आयो। अब ऊ अर्कै मनको भयो।

घाममा, पानीमा, गरममा, जाड़ोमा जेमा पनि देवेन्द्रले त्यो मान्छेलाई ऊ त्यहॉं पुग्दा-पुग्दा त्यहीँ देख्यो। ‘संयोग हो, संयोग’ उसले आफैलाई भन्यो। ‘मान्छेले यसरी सक्तैन बस्नु’ पनि भन्यो।

कुनि कुन दिन हो एक दिन, त्यसको छेउमा आइपुग्दा शान्त बसेको त्यसलाई देखेर ‘को होला यो?’ देवेन्द्रमा जिज्ञासा जन्मेको थियो। त्यो दिन जन्मिएपछि त्यो जिज्ञासाले जन्मँदै-मर्दै-जन्मँदै गरिरह्यो ऊभित्र तर आफूभित्रको जिज्ञासा सधैँको निम्ति मार्नलाई उसले केही गरेन। मान्छेको हूलमूलमा उभेर मान्छेको छेउमा, ‘तिमी को?’ सोध्नु उसको निम्ति असम्भव सम्भव नै थियो।

बसेको त्यसको छेउमा, सुतेको त्यसको छेउमा कि त कक्रक्क परेका दुई-तीनवटा सुक्खा रोटीहरू कि त भॉंचिएका र सलक्की पनि केही बिस्कुटहरू पनि छरिएको हुन्थ्यो। एक-दुईपल्ट देवेन्द्रले त्यो मान्छेको मैला लुगामाथि बनरोटी पनि देखेको थियो। एक दिनचाहिँ उसले त्यहॉं पानीकागजको थैलीमा अलिकति तरकारी पनि देखेको थियो।

घर फर्किरहेको थियो देवेन्द्र। थोत्रे लुगाहरूमाथि गुट्मुटिएर सुतेको रहेछ त्यो। सधैँजस्तो छरपस्टिएका मैला लुगाहरूमाथि केही बिस्कुटहरू छरपस्टिएका थिए। एउटा नयॉं कुरो थपिएको थियो त्यसको टाउकोछेउमा —पुरानो एउटा अल्मुनियमको थाल। देखिरहने, दया भएको र नलजाउने पनि कसले थालमै थापेर खाओस् सोचेर राखिदिएको हुनुपर्छ भन्ने सोच्दै हिँड़िरहेको देवेन्द्रले आफ्ना दुवै हात खाली देख्यो।

अघिदेखि खाली-खाली लागिरहेको देवेन्द्रले उभिएरै ‘थुक्क!’ मुखैले पनि भन्यो।

वरिपरि हेरेर ‘साला, घाम लाग्यो कि’ भन्यो मनमनमा।

फर्क्यो। ‘कहॉं छाडॐे होला?’ सोच्दै फर्क्यो।

सुतिरहेकै देख्यो तर ध्यान दिएन यसपल्ट त्यो मान्छेलाई। छिटो-छिटो हिँड़्यो देवेन्द्र।

‘आऽऽऽ ठिकै छ पाइनँ भने, थोत्रे भइसकेको छ त्यो। नयॉं किन्छु।’ सोचु सकेको देवेन्द्रले तर त्यहीँ छाड़े होला लागेकैमा छोड़ेको रहेछ। भित्र राखिदिएको रहेछ। नथापी भनेर थापेर पनि ‘‘धन्यवाद’’ भन्यो उसले दोकानेलाई। त्यही छाता टेक्दै अब बिस्तारै हिँड़्न थाल्यो देवेन्द्र।

बिस्तारै हिँड़्दै ऊ त्यहॉं आइपुग्यो। उठेकै छैन रहेछ त्यो मान्छे। त्यहॉं आधा घण्टाजति अघि देवेन्द्रले नयॉं थोक पुरानो थाल देखेको थियो। त्यही पुरानो थालमा अझ नयॉं थोक आठ-दसवटा खुद्रा पैसा देखेर ऊ छक्क पर्यो।

एकदम भूल बुझाइ हो मान्छेहरूको।—मनमनै किटान गर्यो। ज्यादै स्वाभिमानी पुरुषको रूपमा बुझेको थियो उसले त्यो मान्छेलाई।

उठेपछि, पुरानो थालमा अलिकति खुद्रा पैसा देख्दा त्यसको स्वाभिमानको पुरानो र बलियो दुर्ग भत्किन्छ अब—सोच्यो देवेन्द्रले।

फेरि बौरी उठ्यो देवेन्द्रभित्र केही दिनहरूलाई मरेको ‘को होला त्यो?’

लोग्ने होला स्वास्नीले छाड़ेको।—मनमनै सोच्यो।

रक्सी खान्थ्यो होला भक्कु।— स्वास्नीले छाड़्नुको कारण पनि बनायो।

कुट्थ्यो होला स्वास्नी र मसिना नानीहरूलाई। —थप्यो।

भागेको पीरले त होइन माया गरेकी स्वास्नी अर्कैसँग?—सोध्यो आफैलाई। हुनसक्छ नि। आइमाई त हो—उत्तर बनाएर दीपक, दुर्गाबहादुर र आफ्नै मामालाई पनि छाड़ेर भाग्ने माइजू, दीपक र दुर्गाबहादुरका स्वास्नीहरूसँगै सम्झ्यो।

गति छाड़ेन त मामाले। दुर्गाबहादुरले अर्की ल्याइहाल्यो। परै दीपकले मसिना छोरा-छोरी हुर्काएन एक्लैले?—पनि सम्झ्यो।

राधा भागी भने कसैसँग त्यस्तै हुनु म?—बित्थाको प्रश्न आयो देवेन्द्रको मनमा त्यो मान्छेले गर्दा।

‘काट्छु।’ तर लोग्ने कराइहाल्यो भित्रबाट।

सक्तैनस्। तरङ-तरङ झस्किँदै बस्नुबाहेक केई गर्नु सक्तैनस्। न रुनु सक्छस्, न हॉंस्नु सक्छन्। न मर्नु सक्छस्, न बॉंचु नै सक्छस्। निक्कै दिन मरेको जस्तै बॉंचेर तर बिस्तारै तँ बॉंच्छस्। —ऊभित्रको मान्छेले उसलाई भन्यो।

हिजोआज कारणबिनै झर्किबस्छे।—सम्झ्यो।

झर्केकोहरू चार-पॉंचवटा सम्झ्यो।

पहिला निद्राले झ्याप-झ्याप पार्दा पनि ‘अँ-अँ’ भनिबस्नु पर्थ्यो। हल्लाएर उठाउँथी। उत्ता फर्केर सुतिहाल्छे ओछ्यानमा पस्नेबित्तिकै हिजोआज।—कार्यहरू देवेन्द्रले अब ठुलै कारणमा देख्नुथाल्यो।

‘‘क्या हो हन! मान्छे भने बुढ़ो भइसक्यो।’’ भनेर अस्ति राति पनि उत्तै फर्केर सुती।—सम्झेर देवेन्द्रले ज्यादै थाकेको अनुभव गर्यो।
ब्यालिसको मान्छे बुढ़ो हुन्छ?—आफैलाई सोध्यो।

पहिला सोधेर पकाउँथी। हिजोआज मलाई मन नपर्ने-नपर्ने तरकारी मात्रै पकाउँछे। भिण्डी, पोटल, वैगुण… सम्झेको देवेन्द्रले आर्द्र पायो आफूलाई।

जो नै भए पनि अर्को मान्छेको मनभित्र पस्नु सक्तैन मान्छेले।—निष्कर्षसित घर पुगेको उसलाई ‘‘किन आज छिट्टै?’’ दैलैमा सोधी राधाले।

‘‘छिटो आउनु हुँदैन घर म?’’ प्रश्न र प्रश्नमै उत्तर बिचमा व्यवधान थिएनै जस्तै थियो।

‘‘मन पर्दैन तिमीलाई म छिट्टो आ’को?’’ नभन्नु पर्थ्यो लाग्यो देवेन्द्रलाई भनिसकेर।

‘‘मन पर्दैन भनेँ मैले? भनेँ? आफू भने कैले आइपुग्छ भनेर खिड़की खोलेर हेरिरहन्छु…’’कराई राधा पनि।

‘‘खिड़की खोलेर हेरेको मलाई नै हो भनेर कसरी विश्वास गर्नु?’’ रोक्ने कोसिस गरेको थियो देवेन्द्रले। सकेन। बस्, कुरा बढ़्दै गयो। बढ़्दै गयो।

यस्तो स्थितिमा अधिकत्तर स्वास्नीहरूले गर्ने नै गरी राधाले। दराजबाट लुगा निकाली रुँदै। त्यहीँ फेरी अनि निस्की कोठाबाट र घरबाट।

स्थिति आफ्नो नियन्त्रणबाट बाहिरिसकेको छ भन्ने बुझेको मुढ़ाजस्तो देवेन्द्र मुढ़ामा बसिरह्यो।

निहुँ मात्रै चाहिएको थियो उसलाई।—लामो सास फेर्यो देवेन्द्रले।

केले केले थिचेको अनुभवको देवेन्द्र आधा घण्टाजत्तिपछि उठ्यो त्यहॉंबाट।

उठेर, के भा’को म?—आफैलाई सोधाइजस्तो भन्यो।

फेरि त्यहीँ बस्यो।

अब बिस्तारै एकपछि अरू सम्भावनामा विषालु सॉंपहरू आएर ठुँग्न थाले उसलाई। निक्कैबेर सहिरह्यो ठुँगाइहरू उसले। भर्खर खोलेको जुत्ता तान्यो र लगायो।

लगाएर बसिरह्यो।

खोलेर कुनापटि सुल्काइपठायो।

उठेर चुह्लामा गयो। कराईको ढकनी उठायो। अन्डा-चाउमिन पकाइदिएकी रहेछ राधाले उसलाई मनपर्ने।

एक क्षण हेरिरह्यो कराईको चाउमिनलाई।

हातको कराईको ढकनी लगायो।

‘खान्नँ।’ मन-मनै भन्यो।

खाएन पनि।

रात परिसकेको थियो। आफैले पकाएर पनि केही खाएन उसले। उत्तानो पल्टियो ओछ्यानमा। पल्टिनु निमन्त्रणा भयो फेरि सम्भावनाका साना-ठुला विषालु सॉंपहरूलाई। केही ठुँगाइहरूमा उसले आश्वासनको झारमौरो लगायो। राति दुई-तीनखेप उसले अँध्यारोमा पलङको कुनापट्टि हात पुर्यायो।

भित्ताको पुरानो बजे घड़ीमा बाह्रपल्ट बजेपछि एकपल्ट फेरि एकपल्ट र अझै एकपल्ट पनि बजेको सुन्यो देवेन्द्रले।

छर्लङ्गै हुनेरहेछ —सोचेको थियो तर दुईपल्ट बजेको भने सुनेन। निदाउनु सकेछ उसले। तर बिहान छिट्टै ब्युँझेको उसले निद्रा ठुलो कुरो रहेछ पीरभन्दा, बुझ्यो।

ब्युँझेको उसलाई राधाको अनुपस्थिति र धुमधाम भोक लागेको एकसाथ थाहा भयो।

खॉंदिनँ चाउमिन।— सङ्कल्प दोहोर्याएपछि ‘बाहिरै खान्छु’ पनि सोच्यो।

नौ बजीतिर दैलो ढक्ढकियो।

के-के खबरसित को-को आइपुग्छ होला सोचिरहेको उसले दैलो खोल्यो।

अघि सोचेकाहरूमध्येकै सालो रहेछ।

सधैँजस्तो भेटिरहने सालोले सधैँजस्तो नमस्ते गरेन उसलाई।

‘‘घरमा आउनुहोस् अरे; आमाले भन्नु भा’को’’ निवेदन वाक्यमा थियो तर लयमा थिएन।

जॉंदिनँ, सोचेर ‘‘किन?’’ सोध्यो देवेन्द्रले।

‘‘दिदी सॉंझमा आइपुग्नु भो,’’ भन्यो सालोले।

सालोलाई देख्दै ढुक्क पनि भइसकेको देवेन्द्र अब अझ ढुक्क भयो।

‘‘तिमी जाऊ, म आउँछु’’ भन्यो देवेन्द्रले।

‘‘लिएरै आउनू भनेको छ,’’ सालोले भन्यो।

‘‘कसले?’’ अनुहार उज्यालिहाल्यो देवेन्द्रको।

‘‘आमाले’’ सुनेर अँध्यारी पनि हाल्यो।

‘‘हैन, तिमी जाऊ। म आउँछु।’’ फेरि भन्यो देवेन्द्रले।

सालो गइसकेपछि उसले अलिक नयॉं पतलुङ र कमेज निकालेर इस्त्री लगायो। जुत्ता तानेर ब्रस र पालिस पनि तान्यो।

‘त्यो मान्छे’ बसिरहेको रहेछ।

कहिल्यै त्यसरी नहेर्ने त्यसले, त्यसको नजिक-नजिक पुगिरहेको देवेन्द्रलाई हेरिरह्यो।

त्यसको एकदम नजिक पुगेपछि देवेन्द्र, त्यसले त्यसको त्यै थाल समाएको हात अघि बढ़ाएर ‘‘दाजु’’ सुनायो। कसैलाई कर्तव्य सम्झाएको।

यत्तिका दिनहरूसम्म एकजना स्वाभिमानी पुरुषको रूपमा बुझेको त्यो मान्छेको सम्बोधनले छक्क पर्यो देवेन्द्र तर नअड़ी ऊ हिँड़िरह्यो।

अनेक सम्भावनाहरूको निष्कर्षमा, साह्रै भनेछ भने फुत्त निस्केर आउँछु —को कमजोर विचारसित पुगेको देवेन्द्रलाई पहिले सासूले नै देखी।

भएकी नै हो कि बनिएकी हो—खुशी अनुहारकी नै सासूले ‘‘ए! ज्वाइँ, आउनुहोस् न,’’ भनी।
सासू उभिरही।

‘‘अफिस?’’ बित्थाको सोधी।
‘‘आजु गइनँ,’’ बसेको उसले भन्यो।
उत्ता चुह्लातिर फर्केर सासू कराई, ‘‘राधा ज्वाइँलाई चिया बना।’’
‘‘एक छिन ज्वाइँ’’ थपेर गई उत्तै।
आमा-छोरीहरूको अस्पष्ट के-के बुझ्ने कोसिस गर्यो देवेन्द्रले। बुझेन।
निक्कैबेरपछि हातमा चियाको कप र ओठमा ब्यङ्ग्यात्मक मुस्कानसित आई साली।
‘‘म त आउनुहुन्न होला भन्दै थिएँ,’’ चिया टेबलमा राखेर भनी।
‘‘किन?’’ सोध्यो देवेन्द्रले।
‘‘तपाईँलाई दिदी अब पुरानो भएको होलाजस्तो लागेको थियो,’’ भनी।
सालीलाई हेरेर मुसुमुसु हॉंसिरह्यो ऊ।
‘‘केमा रिस उठेको थियो?’’ सोधी।
मुसुमुसु हॉंसी नै रह्यो ऊ।
‘‘बित्थामा त होइन होला नि भेना।’’
मुस्कुराइरहनु अब बल गर्नुपर्ने भयो देवेन्द्रलाई।
‘‘यस्तै हो सधैँ?’’
‘‘सोध न तिम्रै दिदीलाई,’’ मौनता तोड़्यो देवेन्द्रले।
‘‘भोलि आइतबार। आजु नजॉंदा पनि हुन्छ।’’ भेनाको टाउको टेक्न अग्रसर सालीले कुरा घुमाई।

लोग्ने-स्वास्नी त्यहॉं आइपुग्दा सॉंझ परेको थियो। मान्छेले माग्ने वृत्ति सिकाएर माग्ने शैलीचाहिँ नसिकाएको त्यो मान्छेले देवेन्द्रलाई हातको थाल बढ़ाएर निवेदनहीन लयमा भन्यो ‘‘दाजु’’।

झनक्क रिस उठेको देवेन्द्रले स्वास्नीपट्टि फर्किएर त्यो मान्छेलाई देखाएर, रिसाएरै भन्यो, ‘‘यसले गर्दा पो त।’’

नबुझेर छक्क परेकी राधाले सोधी ‘‘के?’’

‘‘घरमा भन्छु,’’ देवेन्द्रले भन्यो।

Sanjay Bista – Bartaman

सञ्जय बिष्ट – वर्तमान

बल्ल अनेक शङ्का -उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो।
सुतेको थियो एउटा शिशु ईश्वरजस्तै । ईश्वर नै।
त्यो आइतबारको घाम लागेको दिन थियो। पन्ध्रको नौ पढ़्ने छोराले दुई दिनअघि नै आफ्नो सेतो कमिज खोलेर गोलसखानमा फ्यॉंकेको थियो । टिपेर आमाचाहिँले धोएपछि आँगनको तारमा सुकाएकी थिई। कार्यालयको झन्झटदेखि मुक्त पदमबहादुर आँगनमै घाम तापिरहेथ्यो । धोएर सुकाइएको कमिजको गोजीमा खैरो दाग देख्यो उसले।
उठेर कमिजछेउ गयो ऊ। पल्टाएर हेर्यो गोजीलाई। गह्रौँ मन लिएर फर्क्यो ऊ कमिजदेखि अघि बसेकै बेतको चौकीमा। स्वास्नीलाई केही भनेन। क्रिकेट खेल्न जान्छु भनेर छोरा अघि नै घरबाट निस्किसकेको थियो, हातमा ब्याट पनि बोकेर।
पन्ध्रको आफू सम्झने कोसिस गर्यो उसले। त्यो समयको आफूलाई यो समयको उसले स्पष्ट सम्झन सकेन यद्यपि पन्ध्रको छोरासित मनमनै खुब रिसायो ऊ।
आइतबार पनि तनाउपूर्ण भइरह्यो पदमबहादुरको।
झमक्क सॉंझ परेपछि छोरो घर पस्यो।
‘‘तँ यहॉं आइज।’’ उसले बोलायो त्यसलाई।
आज पनि सधैँजस्तो छोरा घर पसेपछि गोसलखानमा मुख कुल्ला गर्दैथ्यो । अनुहार धुँदैथ्यो।
‘‘ठुलो भइस् त?’’ अघिल्तिर उभिएको छोरालाई उसले सोध्यो। स्वरमा क्रोध स्वाभाविक थियो।
नबुझेर छोरा अकमक्क पर्यो।
‘‘राम्रो कुरा सिकेछस्।’’ भन्यो बाबुले छोरालाई ।
छक्क परेको छोराले बाबुलाई हेरिरह्यो।
‘‘भात खाएर पुगेन तँलाई? के-के खानु सिक्दैछस्?’’ हकारेर सोध्यो, सोधेर हकार्यो छोरालाई उसले।
यसपल्ट परिवर्तित अनुहारको रङ्गसित छोराले बाबुदेखि दृष्टि फिरायो।
पदमबहादुरले अरू केही भनेन।
‘‘पैसा नदिनू धेर।’’ अर्को दिन उसले स्वास्नीलाई भन्यो।
‘‘हन तेरो लुगामा त सिग्रेट पो गनाउँछ त!’’ निक्कैपछि एक सॉंझ आमाले छोरालाई करॉंउदै थिइन्।

आउनू भन्ने चिठी आएको रहेछ छोराको स्कुलदेखि। त्यो पनि पोष्ट अफिसबाट। छक्क परेको पदमबहादुरले यस विषयमा कसैलाई केही भनेन। आफ्नो अफिस भ्याउने गरी ऊ छोराको स्कुल-अफिस दस बजी पुग्यो।
चिनेको हेडमास्टर र उसले एकाअर्कालाई झन्डै सँगसँगै नमस्कार गर्यो।
हेडमास्टरको ‘‘बस्नुहोस्,’’ सँगसँगै ऊ चौकीमा बसिसकेको थियो।
औपचारिकता पुरा भएपछि पदमबहादुरले भन्यो, ‘‘चिठ्ठी पठाउनुभएको पाएँ।’’ उसलाई समयमै अफिस पुग्नु पनि थियो।
‘‘पछिबाट कुनै प्रकारको जानकारी दिनुभएन भन्नुहोला भन्ने ठानेर,’’ हेडमास्टरले भन्यो।
‘‘भन्नुहोस्,’’ भन्यो पदमबहादुरले।
चौकीदारलाई बोलाएपछि हेडमास्टरले भन्यो, ‘‘आदित्यको बारेमा केही भन्नु थियो । सोध्नु पनि।’’
पदमबहादुर जान्दथ्यो, त्यो जेसुकै होस् राम्रो निश्चय होइन जो अब भन्नेछन् हेडमास्टरले आदित्यको बारेमा।
‘‘मैले बाबाको चिठी ल्याउनु भनेको थिएँ। ल्याएन। बिमारी भएँ भन्थ्यो हरेकपल्ट। थिएन होला पक्कै।’’
थिएन।‘‘थिएन,’’ नै भन्यो पदमबहादुरले।
चौकीदारले दुवैको अघिल्तिर टेबलमा भर्खर राखिदिएको रेजिष्टर पल्टायो हेडमास्टरले।
‘‘मईमा,’’ भन्यो। रोकियो। ‘‘एक्तिस दिनमा सरकारी छुट्टी पॉंच दिन।’’ पदमबहादुरलाई हेर्यो।
‘‘शनिबार र आइतबार आठवटा। आठ, पॉंच तेह्र। स्कुल लागेको अठार दिन।’’ रेजिष्टरबाट फेरि आँखा पदमबहादुरकै निराश अनुहारमा पुर्यायो।
‘‘यहॉं हेर्नुहोस्,’’ हेडमास्टरको दाहिने हातको चोर औँलाले आदित्यप्रकाश देवानलाई छोएको थियो रेजिष्टरमा।
आदित्यप्रकाश देवानदेखि स…र…र…र… तेर्सो सरेको हेडमास्टरको औँलासँगसँगै कुद्यो दृष्टि पदमबहादुरको।
अङ्ग्रेजीको सानो अक्षर ए,ए,ए लेखिएको रहेछ थुप्रै।
हेडमास्टरले चौकीदारलाई फेरि बोलायो। भन्यो ‘‘नाइन बी-को आदित्यप्रकाश देवानलाई बोलाऊ।’’
‘‘के गर्नुपर्ने अब हामीले!’’ बोलाइमा भनाइ र सोधाइ खुट्याउन गाह्रो थियो।
पदमबहादुर मौन रह्यो। के गर्नुपर्ने अब उनीहरूले—उसलाई थाहा थिएन पनि।
चौकीदारले अफिसमा पुन: प्रवेश गरेपछि भन्यो, ‘‘सर, आदित्यप्रकाश आज एब्सेन्ट छ।’’
पोहोर नौमा फेल भएको छोरा स्कुल जानलाई बिहान घरबाट निस्किएको थियो।
भारी मन बोकेर ऊ अफिसतिर लाग्यो।
मान्छे भएर जन्मिएका पढ़ेकाहरू कत्ति छन् तर काम नपाएर मान्छेजस्तो बॉंच्न नपाएकाहरू। पदमबहादुरले जमाना सम्झ्यो। राजनीतिक दाउपेच सम्झ्यो। अशिक्षित सोझाहरूको दुर्गति सम्झ्यो अनि सम्झेर आफ्नै छोराको सम्भावित अँध्यारो भविष्य आर्द्रता फैलियो शरीरभरि उसको।
भाषण हुँदैथ्यो। सबैले ढॉंटेको बुझिहाल्ने ढॉंट्छन् यिनीहरू— पदमबहादुरलाई अरूहरूलाई जस्तै थाहा थियो। तर सधैँजस्तो घर पुगिहाल्ने हतारको मन नभएको ऊ उभ्नेहरूको माझ उभियो।
घर आइपुगेको रहेछ आदित्य। आमाचाहिँलाई भन्दैथ्यो त्यसले, ‘‘अँ, मार्दैन मलाई लगेन भने?’’
पदमबहादुर घर आइपुगेको दुवैले थाहा पाइसकेका थिए। भनिन् छोरालाई ‘‘बाबालाई भन्। छैन मेरोमा।’’ आमाचाहिँले।
‘‘के चाहियो?’’ आएर आफूअघि उभिएको छोरालाई बाबुले सोध्यो।
‘‘पैसा,’’ उत्तरको शैली सुनेर ऊ विचलित बन्यो।
‘‘किन?’’ खस्रै सोध्यो पदमबहादुरले।
‘‘प्य्राक्टिकल खाता ल्याउनु भनेको अस्ति नै दुइटा। आजु पनि गाली गर्यो सरले। पचास रुपे लाग्छ।’’ सुनेर भॉंचिएको मन फेरि भॉंचियो बाबुको।

पछिबाट फेरि फेल भएकै रिजल्टसित अर्को स्कुल खोज्नु भन्ने सूचना पनि भएको कागज आयो। बॉंच्दैन, मर्छ। भोलि मर्छ।—भन्ने विश्वासको मान्छे मर्दाकै जस्तो आमा-बाबु दुवैलाई उस्तो दुखित बनाएन त्यसले।
पदमबहादुरले छोरालाई केही पनि भनेन।
बरू ‘‘मर्निङ स्कुल पढ़्छु,’’ आदित्यले भन्यो।
पढ़्दैन यसले—पदमबहादुरलाई थाहा थियो। पढ़ेन पनि आदित्यले।
त्यसपछि भने परिवारका सदस्यहरूदेखि क्रमश: प्रत्येक दिन आदित्य टाड़िँदै गयो। सम्झाएकोहरू नलाग्ने भइसकेको थियो त्यो तर लोकव्यवहार र समयले त्यसलाई पढ़ाउला—बाबु-आमा दुवैले आशा गरेका थिए।
तर यो तीन वर्षले आदित्यप्रकाशलाई खरानी बनाइसकेको थियो; आगो उमेरमा बल्नै नदिई। ज्वाला दन्कनै नपाई, रापिलो भुङ्रो हुनै नपाई तर अन्तिम अवस्था त्यसैको, खरानी भइसकेको थियो त्यो। चिसो खरानी। हिँड़्ने होइन बाजको वेग लिएर आकाशमा उड़्ने उमेरमा धस्रने भइसकेको थियो त्यो जमिनमा। महान् अपराधको जस्तो दण्ड भोग्दैथ्यो त्यो बॉंड़ेर पनि अझ धेर परिवारका प्रत्येक सदस्यलाई । जीवनको युवास्था भार भएको थियो त्यसलाई।
छोराको यस्तो अवस्थाले बाबु-आमा दुवैको ओठको मुस्कान खोसिसकेको थियो। यद्यपि तिनीहरू छोरालाई माया नगर्न त के नगरेको अभिनय गर्न पनि सक्तैनथे। सपनालाई आशाको त्यान्द्रो कतै थियो। पक्कै थियो।
सत्रको जन्मदिनमा छोराको रहर किनी दिएकी थिइन् आमाले।
महिना दिनपछि सोध्दा ‘‘साथीकोमा छ,’’ भन्थ्यो।
त्यही विषयमा दुई-तीनचोटि आदित्यले आमाबाट गाली खानु पर्यो।
तर साथीकोबाट त्यो फर्केन।
तरै पनि हप्ता दिनपछि अठार पुग्ने छोरालाई आमाले सोधिन्, ‘‘योपालि के किनिदिनु?’’
‘‘गिटार।’’
‘‘पर्दैन गिटार-सिटार । निकाल्न पोहोरको।’’ छोराको इच्छा सुनेर आमा कराइन्।
तर ‘‘फेरि कहॉं हिँड़्नु आँटिस्?’’ त्यसको जन्मदिनको अघिल्लो दिन त्यसलाई आमाले सोधिन्।
‘‘साथीकोमा,’’ जवाब सधैँलाई यही हुन्थ्यो।
‘‘पर्दैन। हिँड़् मसित बजार।’’ भनिन् आमाले।
त्यसैले रोजेको किनी दिइन् आमाले गिटार त्यसलाई। नयॉं खोलभित्र नयॉं गिटार बोकेर आदित्य बजारबाटै आमासित छुट्टियो।
बजाउँथ्यो तर कस्तो?—आमा-बाबु दुवैलाई थाहा थिएन। सॉंझमा दुई-तीन साथीहरू जम्मा भइहालेका थिए। गाइरहेका थिए तिनीहरू, गीत होइनजस्तो अङ्ग्रेजी गीत।

लोग्ने-स्वास्नी दुवैले छोरामा धेरै दिनअघिदेखि एउटा कुरो थाहा गरेका थिए—केही दिन सामान्य रहेपछि अचानक छोराको बोलीचाली र व्यवहारमा ठुलै परिवर्तन आइहाल्थ्यो। थोर बोल्थ्यो, बोल्थ्यो के झर्कन्थ्यो खालि। रुखो व्यवहारसँगसँगै विचलित देखिन्थ्यो त्यसलाई मानसिक अनि शारीरिक रूपमा पनि। फेरि केही दिनपछि केही दिनलाई पुरानै सामान्यता फर्किआउँथ्यो आदित्यमा।
त्यस बेला आदित्यको अवस्था सामान्य थिएन। कुनै महान् मानसिक समस्याले जस्तो छटपटी त्यसमा लक्षित हुन्थ्यो। धेरै दिनसम्म नसुतेको जस्ता आँखा, अस्त-व्यस्त केश, पहेंलो अनुहारमा मसिना फोकाहरू, नाकबाट एकोहोरो पानी चुहुने प्रक्रिया।
पानीले भरिएका राता आँखा उठाएर, त्यसले बाबुलाई भन्यो, ‘‘जुत्ता किन्छु।’’
‘‘मसित हिँड़्,’’ भन्यो बाबुले।
आमा-बाबु एउटा बिहामा जान तयारी भइसकेका थिए।
‘‘आफै किन्छु,’’ त्यो रुखो बोल्यो।
‘‘छैन पैसा,’’ अनुहारको रङ्ग बाबुकै पनि बद्लिसकेको थियो।
‘‘ठिक छ, खालिखुट्टै हिँड़्छु म। कति सौको प्रेजेन्ट बोकेर जाऊ बिहामा,’’ करायो आदित्यप्रकाश।
धेरै भए खुशीका यस्ता समारोहहरूमा हुनुपर्ने खुशी भएर जान नपाएको पदमबहादुर र उसकी स्वास्नीले सँगै र अलग-अलग पनि। उनीहरूसम्म आइपुग्ने खुशीका लहरहरूलाई बिचमा बॉंध बनेर उभिएको छ आदित्य। खुशीका छालहरूले पहिलेजस्तो तिनीहरूले भिज्नै पाउँदैनन्।
घरको वातावरण अचानक अँध्यारो भइहालेको थियो।
नजॉंदा अप्ठ्यारो हुन्छ सोचेर; ढिलो गरी; मन नगरी-नगरी तिनीहरू बिहेमा गए।
महिना दिनअघि किनिदिएको महँगो जुत्ता त्योसित थिएन। चप्पलमै आदित्य घरबाट निस्किसकेको थियो।
ठुलो सॉंझमा त्यो सिग्रेटको गन्धसित घर पस्यो। पहिला- पहिलाजस्तो घर पसेपछि गोसलखान पसेर मुख धुने, कुल्ला गर्ने बानी त्यसले त्यागिसकेको थियो।
भोलिपल्ट बिहानै गिटारसित घरबाट निस्कन लागेको छोरालाई बाबुले टोक्यो,‘‘कहॉं जॉंदैछस्?’’
‘‘प्य्राक्टिस गर्नु। साथीकोमा।’’ भन्यो त्यसले।
‘‘तेरो साथीहरू यहॉं आउनु सक्तैन?’’
‘‘किन? म जानु हुँदैन?’’ व्यवहार त्यसको छोराको बाबुसितको थिएन।
बाबुले केही भन्नै सकेन। त्यो गयो गिटारसँग।
=यही छोरा। हो, यही छोरा।
बल्ल अनेक शङ्का-उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो। सुतेको थियो एउटा शिशु ईश्वरजस्तै। ईश्वर नै।ळ
तर सधैँभन्दा छिटो, सॉंझ नपरी आदित्य घर पस्यो।
आमालाई हेरेर मुसुक्क हॉंस्यो त्यो।
बिहानको मानसिक छटपटी त्योसित थिएन। शारीरिक आलस्य पनि थिएन त्योसित। भिजेका आँखा, झर्को , उग्रता केही थिएन तर बिहान हातमा झुन्डिएको गिटार पनि थिएन त्योसित।
‘‘बाबा खै?’’ आमाचाहिँको छेउमा बसेर त्यसले सोध्यो। चेपेको छुर्पीले त्यसको दाहिने गाला बाहिर निस्किएको थियो।
‘‘किन?’’ सोधिन् आमाले।
‘‘त्यसै,’’ भन्यो त्यसले।
दुईवटा छुर्पी गोजीबाट निकालेर त्यसले आमालाई दियो।
फेरि दुईवटा निकालेर ‘‘बैनी खै?’’ सोध्यो।
‘‘साथीकोमा जान्छु भन्थ्यो,’’ भनिन् आमाले।
‘‘दिउँसो जानु पर्दैन? यति बेला हो जाने?’’ दाजु भयो त्यो।
आमा त्यतिमै खुशी भइन्।
‘‘बैनी कति वर्ष पुग्यो?’’ छोराको प्रश्न सुनेर आमा छक्क परिन्।
‘‘तँभन्दा डेढ़ वर्ष सानु।’’ बताइन् उसले छोरालाई।
सामान्य घटना थिएन घरमा त्यो। त्यसैले सधैँजस्तो तर अर्कै कारणले आमा राति छिटो निदाउन सकेकी थिइन। उसले सॉंझको घटना लोग्नेलाई सुनाई।
‘‘कहॉंबाट पाएछ पैसा त्यसले?’’ पदमबहादुर अझ चिन्तित बन्यो।

त्यसपछिका दुई-तीन दिन आदित्य आफ्नै समयमा घर पस्यो। चौथो दिन हुनुपर्छ त्यस घटनापछिको —त्यो रात परुन्जेल पनि घर पसेको थिएन। आमा-बाबु दुवै र बहिनी पनि मौन त्यसलाई पर्खिरहेका थिए।
पदमबहादुरले आठ बजेतिर ओछ्यानबाटै ढ्याप…ढ्याप… ढ्याप… जुत्ताको आवाज सुन्यो। आवाजले ओछ्यानमा पल्टिएर समाचार-पत्र पढ़्नै नसकिरहेको बाबुको क्रोधले अचानक चरमता प्राप्त गर्यो। धेरै वर्षपछि छोराप्रतिको तीन-चार झापटले मात्रै अब त्यो चरमताले सामान्य स्थिति प्राप्त गर्न सक्ने थियो।
बन्द दैलो ढक्ढकियो बाहिरबाट।
ढक्ढकियो।
फेरि ढक्ढकियो।
अनुहार र आँखामा उत्ताप बढ़ेको पदमबहादुर करायो, ‘‘खोल्दे।’’
आमा-छोरी चुह्लामा खाना पकाउँदै थिए। प्लेयरबाट आएको आवाजलाई जितेर आएको बाबुको खस्रो आवाज सुनेपछि छोरी उठी। प्लेयर बन्द गरिहाली र दैलौतिर गई।
‘‘ए! आउनुहोस् न काका।’’ सुनेपछि पदमबहादुर ओछ्यानबाट उठ्यो।
जान ऊ मानेन। मान्दै मानेन।
स्वास्नीको आग्रहमा ‘‘मारोस् बरू कुटेरै। मरोस्। त्यो मर्यो भने हामी बॉंचेहरू बॉंचुन्जेल सन्चोले बॉंच पाउँछौँ।’’ पदमबहादुर करायो।
‘‘नकराउ, होस् नकराउ, मान्छे हॉंस्छ।’’ स्वास्नीले व्यथित स्वरमा भनी।
‘‘हॉंसोस्, हॉंसोस्। छोरा भनाउँदोले यसरी…।’’
तर उसको स्वर यसपल्ट स्वास्नीसम्म मात्र पुगोस्; बाहिर नजाओस् घरभित्रदेखि जस्तो अभिप्रायको भइहालेको थियो।
आउने छिमेकी भाइले निक्कै बेर सम्झाएपछि छोराको बाबुले टॉंड़मुनिबाट जुत्ता तान्यो।
‘‘टर्च बोकूँ?’’ सोध्यो पदमबहादुरले।
‘‘बोक्नोस् न।’’ भन्यो छिमेकी भाइले।
‘‘नसुर्ताउनू भाउजू।’’ उसैले भन्यो।
दुवैजना आदित्यलाई छुटाएर ल्याउन थानातिर लागे। लाग्दा दुवैले चिनेका पुलिसहरू सम्झे।
आदित्य छुटेपछि तीनैजना सँगै घर आएनन्। बाबु घर आइपुग्दा छोराको अघिल्तिर बसेकी आमा छोरालाई गाली नगरेर रोइरहेकी थिइन्।
‘‘किन स्वाङ पार्छौ? पर्दैन रुनु, मचाहिँ यो मर्दा पनि रुदिनँ।’’ कराएर पदमबहादुर आफ्नो कोठामा पस्यो।
सम्भवत: पदमबहादुर आफूभन्दा छोरा नै पहिला मर्छ भन्ने कुरो सोच बाध्य भइसकेको थियो।
‘‘अब घरबाट निस्किस् भने फर्केर नआइज।’’बाबुले घोषणा गरेको थियो र यही नै आदित्यको निम्ति सजायहरूमध्ये सबैभन्दा ठुलो थियो।
आगोले पोलेको छटपटीमा त्यो दुई दिन घर बस्यो। असाधारण व्यवहार गर्थ्यो त्यो। एक क्षण झोक्रिएर बस्थ्यो। उठ्थ्यो। छटपटिन्थ्यो। कराउँथ्यो र सुँकसुँकाउँथ्यो पनि। मानसिक रूपमा असन्तुलित र शारीरिक रूपमा रोगग्रस्त थियो त्यो।
गएको आइतबार बिहानै हातमा एउटा पानी कागजको झोला झुन्ड्याएर कतै हिँड़्न लागेको छोरालाई बाबुले सोध्यो, ‘‘कहॉं जॉंदैछस्?’’
‘‘एक छिन।’’ जवान यस्तो थियो। यस्तै हुन्थ्यो त्यस्ता बेलाहरूमा प्रायै।
‘‘के हो त्यो?’’ बाबुको दाहिने हातको चोर औँला पानीकागजको झोलातिर तेर्सिएको थियो।
‘‘क्यासेट। सुन्छ अरे साथीले।’’ त्यो झर्कियो।
‘‘पर्दैन। पर्दैन लानु।’’ खोस्यो झोला पदमबहादुरले।
दसवटा क्यासेट रहेछ त्यहॉं, जम्मै बहिनीचाहिँले थुपारेकी।
अब त्यो कतै गइहालेन। झोक्राएर बस्यो। दुई-तीनचोटि बाहिर-भित्र पनि गर्यो। छोराको अवस्था हेर्नुनसक्ने बाबुलाई छोरा सुटुक्कै कतै गइहालोस् , गइरहेको देख्न नपरेर रोक्न नपरोस्।— पनि लागेको थियो। एक घण्टापछि याद गर्दा त्यो भित्र-बाहिर कतै थिएन। पदमबहादुर आमा-छोरीअघि हृदयबाटै चाहिँ रिसाएन।
दिउँसो तयारी भएर बजार जान लागेकी छोरीले ‘‘आमा, मेरो घड़ी देख्नु भो?’’ सोधी ।
सुन्नसाथ मनमा एउटा शङ्का जन्मेर , हुर्केर बलियै भइहालेको भए पनि ‘‘हेर् न राम्रो। टेबलतिर…।’’ उसले भनी।
पाइन घड़ी छोरीले।
अँह, पाइन।
राखेको ठाउँ भुलेको होस्, भुलेकै होस्—मनमा बोकेर छोरीसँग आमाले सिह्रानीमुनि, टेबलमाथि, ओछ्यानतिर हेरिन्। पाइँदैन भन्ने दुवैलाई थाहा थियो।
छोरीको घड़ी नपाएको थाहा पाएपछि पदमबहादुर अझ दु:खी बन्यो। यो दु:ख घड़ी हराएकैमा चाहिँ थिएन।।
‘‘नभन्नू कसैलाई।’’ स्वास्नी, छोरी दुवैलाई उसले भन्यो।
सॉंझ परेपछि उज्यालो अनुहारको आदित्य घर पस्यो। विषाक्त थियो घरको वातावरण।
‘‘ना,’’ भन्यो त्यसले बहिनीलाई । हातमा दुईवटा छुर्पी थियो त्यसको। नथापेर बहिनीले आँसु झार्न थाली। आमापट्टि फर्क्यो त्यो।
‘‘खॉं तँ आफै।’’ कर्कश स्वरमा आमाले भनिन्।
‘‘कतिमा, कसलाई बेचिस् घड़ी?’’ रिसाएको बाबुले तर आवाज बाहिरसम्म नपुगोस् सोचेर बिस्तारै सोध्यो।
सुनेर छक्कै परेको जस्तो भयो आदित्य।
तर त्यही अभिनय गरिरहन सकेन त्यसले त्यहॉं। त्यसको अल्पकालीन मानसिक अनि शारीरिक सामान्यताले त्यसलाई दोषी सिद्ध गराइसकेको थियो।
‘‘सोध यसलाई। कतिमा कहॉं बेच्यो घड़ी यसले। म तिरेर ल्याउँछु।’’ आफ्नो कोठाभित्र पस्दै भन्यो पदमबहादुरले।

अस्तिसम्म सॉंझ परेपछि तर सामान्य रूपमै घर पस्ने आदित्यमा हिजोदेखि फेरि छटपटी बड़्दै गएको पदमबहादुरले याद गर्यो।
आज बिहान पदमबहादुर अफिस जान लाग्दा आदित्य बिहानको मधुरो घाममा झोक्राएर आँगनको डिलमा टुक्रुक्क बसेको रहेछ, शिर पनि निहुराएर।
उभिएर उसले छोरालाई केही क्षण हेरिरह्यो। छोराछेउ गयो ऊ।
‘‘भित्र हिँड़्।’’ उसले छोराको हात समायो।
निहुरिएको शीर उठेर; पहेंलो अनुहारको; भित्र भासिएका आँसुले भरिएका दुई राता आँखाले उसलाई हेर्यो र बिस्तारै उसको हातको सहारा लिएर एउटा मानव आकृति उभियो।
बाबुले समाएको छोराको सानो शक्तिहीन पहेंलो नाड़ी र रक्तहीन हातका रक्तहीन औँलाहरू हेर्यो।
शरीरभरि फैलिएको आर्द्रता र छोरा लिएर ऊ घरभित्र पस्यो।
‘‘बस्।’’ बस्न लगाएर छोरालाई पलङमा छोरासितै टॉंसिएर बस्यो ऊ पलङमै । हात समातिरहेकै थियो छोराको। समाएर बसिरहूँ यसलाई यत्तिकै —उसलाई लागिरह्यो।
‘‘के गर्छस् अब?’’ ठिठलाग्दो स्वर बज्यो बाबुको।
जवाब थिएन त्यसको। आएन पनि।
‘‘मरेको जस्तो कति दिन बॉंच्छस्?’’ बाबुको स्वर कॉंपेको थियो।
अँह, जवाब त्यसको पनि थिएन। हराएको युवा-अवस्था खोजेजस्तो आफ्नै पहेंला खुट्टाको वरिपरि नामको विपरीत आदित्यप्रकाश शिर झुकाएर केही खोजिरहेजस्तो थियो।
‘‘नखाई सक्तैनस्?’’ सोध्न विवश थियो बाबु।
छोरा मौन रह्यो।
‘‘घरमै अलि-अलि बरू रम खा, बेलुका-बेलुका। म ल्याइदिन्छु तर…’’ भनेर एउटा लाचार बाबुको अवस्थामा पदमबहादुर आफै छक्क पर्यो।
दुईवटा पहेंला हातहरू उठेर आँखासम्म पुगे। अनिच्छापूर्वक उठ्यो पदमबहादुर हात छाड़ेर छोराको र अफिस जानलाई घरबाट निस्क्यो।

धेरैअघि एकपल्ट पशुपति पुगेर जानेको पदमबहादुरले आज पनि मरेर पनि बॉंचेका घर फर्कन नपाएकाहरूलाई सम्झ्यो। सम्झ्यो—सुनेका मुर्दाहरू श्मसानबाट बौरेर फर्केकाहरू।
कसैले नदेखोस् भन्ने उद्देश्यले अनावश्यक उसले ठुलो ज्याकेट लगाएको छ। ज्याकेटको देब्रेपट्टि ठुलो भित्री गोजीभित्र भर्खर किनेको एक क्वाटर रमको शिशी हालेको छ पदमबहादुरले। समाएको पनि छ उसले छात्तीमा टॉंसिएको त्यसलाई बाहिरबाट दाहिने हातले। एउटा पराजित बाबु तर अझ विजयको आशा र अस्वस्थ छोराको निम्ति औषधि बोकेर यो सॉंझमा अफिसबाट घर फर्किरहेछ।

Sanjay Bista – Dosro Sanskaran Ko Tayari Ma

सञ्जय बिष्ट – दोस्रो संस्करणको तयारीमा

बिहाचाहिँ गरेको तर गुरु ट्रेनिङ र मेट्रिकचाहिँ नगरेको सुकुटे, निक्कै सुकुटे; साह्रै होइन तर काले नै; हेर्दै चुर्से-चुर्से अठारको नारायण शर्माले पैँसठी सालको मई महिनामा बिनाअन्तर्वार्ता गाउँकै प्राथमिक पाठशालामा शिक्षकको निम्ति हातैमा नियुक्ति-पत्र पाएका हुन्।

पैँसठ सालमा नियुक्ति पाएका नारायण सरले पहिलो महिना अस्सी रुपियॉं तलब पाएका थिए। थापेर आठ-दस रुपियॉं आफूसँग राखेर अरू सबै स्वास्नीलाई दिएका थिए उनले। अर्को महिनाको तलब थापेर ल्याउँदा स्वास्नीले पहिलेकै बाट पनि केही बचाएर राखेकी थिई। त्यसपछि क्रमश: नारायण सरको तलब बढ़्दै आएकै हो। शुरुमा अस्सी रुपियॉं थाो उनले कुनै दिन अस्सी सय रुपियॉं थापिइन्छ तलब भन्ने कल्पना पनि गरेका थिएनन् तर अस्सी सय नाघेर तलब केही माथि पुग्दा पनि नारायण सरले आफ्नो परिवारका सदस्यहरूको जीवन-स्तर अलिकति पनि माथि उठाउन सकेनन्।
जेठी छोरी। नारायण सरकी जेठी छोरी। नौमा फेल भई। सरलाई नमिठो छोरी फेल भएकोमा भन्दा पनि सरकी छोरी फेल भएकोमा लागेको थियो।

त्यो नमिठोपनले आफूबाट निख्रन नपाई बम बस्तीदेखि मान्छेहरू आए केटालाई पनि साथै लिएर। सरकारी नोकरी गर्ने, ब्लकमा—बुझेर अरू धेर बुझ्न नचाही ‘‘हुन्छ,’’ भनिदिए सरले।

तेह्र वर्षअघिको कुरो हो यो।

माइली छोरी पढ़्दै थिई। राम्रैसित पढ़्दै थिई। दसमा थिई एघार वर्षअघि। एक दिन सॉंझ परिसक्दा पनि छोरी घर आइपुगिन। अर्को दिन सॉंझ परिसक्दा पनि छोरी घर आइपुगिन। तेस्रो दिन सॉंझ नपरी दुई बुढ़ाहरूसित दुई अधबैँसे नारायण सरको घर सोध्दै आइपुगे।

यो गोपाल, नारायण सरको तेस्रो र अन्तिम पनि सन्तान जो कल बन्द गरेर अहिले अर्कोपल्ट उस्तै आवाज सुन्नलाई पर्खिरहेछ—त्यो समय , त्यो समय भन्नाले सरकी सुधी मानिएकी माइली छोरीले त्यसरी सबलाई छक्क पारेकी समय दिदीचाहिँभन्दा एक क्लास तल नौमा पढ़्दै थियो।

‘‘सरलाई के छ र? दुवै छोरीहरूको बिहे गरी दिइहाल्नु भो। गोपाललाई पछिबाट तपाईँकै काम दिँदा भइहाल्यो नि।’’ हेड सरले नारायण सरलाई भनेको त्यही समयतिर हुनुपर्छ।

नारायण सरले हेड सरको कुरा सुनेका थिए। प्रतिक्रियामा केही भनेका थिएनन्। आफ्नो काम छोरालाई दिने कुरो उनले सोचेका थिएनन् त्यो दिनसम्म त्यसैले नदिने कुरो पनि सोचेका थिएनन्।

दिनु पर्दैन।—त्यो दिनको त्यही क्षण उनले सोचे।

‘‘कति छ सरको अब?’’ सोधे हेड सरले।

‘‘छ अझै। बाह्र-तेह्र साल छ।’’ भनेका थिए शर्मा सरले।

‘‘ए’’ भनेका थिए हेड सरले। त्यति।
‘‘साथीहरूसितै बस्छु।’’ गोपालले बाबुलाई भनेको थियो।

‘‘पर्दैन हरि काकाकोमा बस्।’’ बाबुले कड़ा स्वरमा भने।

गोपालले केही भनेन भन्नु नसकेर।

‘‘अस्ति भेटेर भनिराखेको छु हरिलाई।’’ पनि भने बाबुले।

परीक्षा शुरू हुनुभन्दा दुई दिनअघि शर्मा सर आफैले छोरालाई पर्ने भाइ शहरको हरि शर्माको घर पुर्याए।

‘‘इक्जाम राम्रो गर्नू। नघुम्नू धेर।’’ हिँड्ने बेलामा छोरालाई भने।

समय पाइए अरू दुईवटा काम गर्ने विचारसित निस्केका थिए शर्मा सर बिहान घरबाट। पहिलो काम ननपाएको निक्कै दिन भएको हुनाले सुगर नपाउने र दोस्रो काम डेढ़ महिनाअघि थाहा गरेको तर हाल दुखाइको मात्रा निक्कै बढ़ेको आफ्नो दाहिने खुट्टा किन दुख्छ डाक्टरलाई देखाएर जान्ने।

बजारदेखि थाकेर आइपगेका सरले झोला राखेर आफूलाई चौकीमा बिसाए।

केही क्षणपछि मुन्टो मात्रै चुह्लातिर घुमाएर उनले भने, ‘‘नुनकै बनाऊ है।’’

फेरि केही क्षणपछि मुन्टो नघुमाइ भने, ‘‘सुन्यौ?’’

चियासित स्वास्नी आई।

‘‘सौदा निकाल,’’ सरले भने।

साना-ठुला केही पोकाहरूपछि एउटा किताब पक्रेर निस्क्यो हात झोलाभित्रदेखि। चारसम्म पढ़ेकी गुरुमाले ‘समयाङ्कन’ पढ़ी अनि चौकीकै सरलाई दिई।

हप्ता दिन जत्तिपछि शर्मा सर चौथो श्रेणीका विद्यार्थीहरूसित थिए।

‘‘सन्चबार, आइतबार के गर्छौ तिमीहरू?’’ विद्यार्थीहरूलाई सोधे सरले।

उत्तर कस्सैलाई आएन। हेराहेर गरे तिनीहरूले एकाअर्कालाई।

‘‘काम गर्दैनौ घरमा?’’ सजिलो बनाए प्रश्न सरले।
‘‘गर्छौँ सर?’’ प्रायैले भने।
‘‘के गर्छौ?’’ प्रश्न अप्ठ्यारो भइहाल्यो फेरि।

प्रश्न दोहोर्याए सरले।
‘‘दाउरा खोज्न जान्छु सर।’’ एउटाले भन्यो।
‘‘म पनि जान्छु सर।’’ अर्काले भन्यो।
‘‘सर म पनि जान्छु।’’
‘‘म पनि…।’’

नजाने एक-दुई मात्र रहे।
‘‘जङ्गलमा’’ सरले भन्न शुरू गरे, ‘‘ढुङ्गामास्तिर, भिरतिर, भुइँमै पनि,’’ दुवै हात अघिल्तिर ल्याए ‘‘एत्रो-एत्रो डल्लो पाउँछ।’’
‘‘पॉंउछ?’’ सोधे।

जबाब आएन।
‘‘पाउँछ।’’ आफैले भने अनि बताए। ‘‘तमर्के भन्छ त्यसलाई।’’
‘‘देखेको छु सर।’’ तमर्के चिन्ने एउटा उठ्यो।
‘‘अरूले?’’ सबैलाई हेरे सरले।

तमर्के देख्ने, चिन्ने आठ-दस हातहरू उठे।
‘‘खोजेर ल्याई दिनू घरमा।’’ भनेर केही क्षण रोकिए र भने ‘‘किताब खोल।’’
चामल बॉंड़्नेे दिन थियो त्यो, त्यो महिनाको। थाहा पाएर विद्यार्थीहरू सबै आएका थिए। त्यो महिना मने पनि होइन, क्विनटले पनि होइन, बिचको मझौला बोरामा चारदेखि घटेर तीन बोरा मात्रै आएको थियो चामल। दोस्रो बोरामा चामल अझ अलिकति बॉंकी रहँदै पङ्क्तिको अन्तिम विद्यार्थीले
चामल थापिसकेथ्यो। खोल्नै नपरेको तेस्रोमाथि थोरै रहेको दोस्रोलाई पनि खप्टाएर राखेपछि चारको एउटा केटालाई हेड सरले भने,‘‘ताला लगा।’’

बाह्र-पन्ध्र मिनटको बाटो बिस्तारो हिँड़ेर घर पुगेपछि चौकीमा बसेका शर्मा सरले याद गरे—हिजोको भन्दा थाहा पाउने धेर दुख्दैछ घुँड़ा।

‘‘राम्रो गरेँ,’’ भन्यो घर आएर गोपालले।

केही भनेेनन् सरले। सुने खालि।

पढ़्नुमा राम्रो छोरामाथि भरोसा थियो सरलाई। फेल होला कि भन्ने सोचेकै थिएनन् सरले। बरू , अब कता पढ़ाउनुपर्ने सोच्दैथे। अब पढ़ाउनुलाई सरलाई शहरै पठाउनुथ्यो छोरालाई। कहॉं राख्नु?—उनी सोच्दैथे।

‘‘साइन्स पढ़्छु।’’ गोपालले दुई-तीनचोटि भनिसकेथ्यो।

एक दिन सर शहर गएर हरिकोमा पनि निस्किएर, डाइवेटिक र दुख्ने खुट्टालाई पनि दवाई लिएर आए। त्यसको दस-एघार दिनपछि गोपालको परीक्षा फल आयो।
‘‘सेकेन्ड भएछु।’’ खुशी न खुशी अनुहारको त्यसले बाबुलाई भन्यो।
‘‘अलिक कोसिस गरेको भा फस्ट हुन्थेछस्।’’ खुशी नै अनुहारको शर्मा सरले भने।

दुई-तीन दिनपछि शर्मा सरले छोरालाई केही रुपियॉं दिएर फारम भर्न पठाए उँभो पढ़्नुलाई।

साथीहरूसित गयो त्यो, त्यो दिन फारम भर्न।

काकाकोमा बस्नु मानेन गोपाल।
‘‘बस्दिनँ त्यॉं,’’ आमाचाहिँलाई भन्यो त्यसले।

आमाले बाबुलाई सुनाइहाली।
‘‘किन?’’ बोलाएर सोधे छोरालाई शर्मा सरले। निरुत्तर उभिरह्यो गोपाल।
‘‘किन बस्दैनस् काकाकोमा?’’ सोधे फेरि।
‘‘साथीहरूसित बस्छु।’’ भन्यो त्यसले।
‘‘नपढ़्नुलाई?’’ हकारे बाबुले। तर कुनि किन त्यहीँ बस् भनेर कर गरेनन् उनले छोरालाई।

कलेज पढ़्नलाई साथीहरूसित एउटा कोठा भाड़ामा लिएर बस्दा दसैँ-तिहार र ठन्डा महिनाको छुट्टीमा बाहेक रुपियॉं सकिँदा-सकिँदा मात्रै घर आयो गोपाल ती दुई वर्षमा।

तेस्रो वर्ष कलेज पढ़्नलाई त्यसले त्यसरी घरबाहिर बस्नै परेन। किनभने उच्चत्तर माध्यमिकको परिणाम-पत्रसित आइपुगेको अँध्यारो अनुहारको गोपालले बाबुलाई भन्यो, ‘‘एक सय सोह्रमा 6 पास, सिधै भिक्टिमाइज् हो यो।’’

केही भनेनन् बाबुले।
‘‘रि-एसेसमेन्ट गराउँछु,’’ पनि भन्यो त्यसले।

बाबुले केही भनेनन्।

वर्षभरि गाउँ घुमेर अर्को वर्ष परीक्षा दिनलाई मात्र गयो गोपाल।
दिएर आयो।
परीक्षा फल आयो।
फेल भएकै आयो।
भिक्टिमाइज् भनेन त्यसपटक त्यसले।
रि-एसेसमेन्ट पनि भनेन।
तेस्रोपटक त्यसले परीक्षै दिएन।

उच्चत्तर माध्यमिक अनुतीर्ण गोपाल गॉंउमै हल्लिरह्यो त्यसपछि। गॉंउमा त्यस्तो कुनै पनि वृत्ति थिएन जसमा त्यसले आफूलाई संलग्न गराओस्। अधुरो शिक्षाको त्योसित गाउँदेखि बाहिरिने साहस पनि थिएन।

‘‘पल्टन जान्छु,’’ पनि भन्यो गोपालले एक-दुईपल्ट।

बाबुले जवानीको आफूजस्तै शारीरिक गठनको जवान छोराको विचारमा नाक खुम्चाए।

पल्टनमा भर्ती हुनलाई प्रत्येक महिना कटकपाहाड़ धाइरहने साथीहरूसँग त्यस विषयमा सोध-खोज पनि गर्यो त्यसले। तर साथीहरूले शर्माहरूको भर्ती खुलिएको र खुलिने खबर कहिल्यै ल्याएन।

बिजिनेस गर्ने विचार पनि गरेको थियो गोपालले। गोपालले बुझेको बिजिनेस सानु दोकान थियो। विचार मात्रै सुनाउँदा ‘‘पर्दैन त्यस्तो डुब्ने काम’’ भनिहाले बाबुले।

‘‘दोकान नखोल्नू, खान्छ-खान्छ तिर्ने बेलामा कालो पार्छ अनुहार जो पनि। बरू अरू बेपार ठिक गर्नु सक्यो भने।’’ पनि भने बाबुले छोरालाई।
तर दोकान खोल्नुबाहेक अरू पनि बिजिनेस हुनसक्छ भन्ने गोपालले बुझेकै थिएन। एउटा कैँया आएर कुचो उठाएर टाटाको टाटा सिलगढ़ी पुर्याउँथ्यो। कति नाफा भयो होला भनी त्यो साथीहरूसित बसेर हिसाब गर्थ्यो। अर्को कैँया आएर अदुवा उठाएर उसरी नै सिलगढ़ी पुर्याउँथ्यो। थुक्क! यो पनि थिएछ त गरेको भा— गोपालहरू मनमनै भन्थे। अब केही छैन गाउँमा भन्ने लागिरहेको बेला अर्कै कैँयै आएर अर्को व्यापार शुरू गर्थ्यो।

छोरामा आफूले देखेको सम्भावना क्रमश: धुमिल बन्दै गएर हराई नै सकेको थियो। त्यसैकारण दुई वर्षअघि बसेँ भने छोराको जीवन सुरूबुरू बित्छ भन्ने सोच बाध्य भएका थिए शर्मा सर।
शर्मा सरलाई कतिचोटि पहिले पनि लागिसकेको—परिवारको प्राथमिक आवश्यकताहरूको परिपूर्ति मै महिनाको सम्पूर्ण आय सकिन्छ। प्रत्येक महिना ‘‘अर्को महिना’’ भनेर स्वास्नी, छोरा-छोरीका इच्छाहरूलाई अर्कोपल्ट फेरि मार्नुपर्छ। पहिले छोरीहरू हुँदा र नहुँदामा फरकै छैन।—फेरि लागेर आश्चर्य लाग्यो।

प्राथमिक पाठशालाको शिक्षक परिवारको टाउके हुनसक्छ। उत्तरदायित्व वहन गरेर परिवारको, परिवारको लागि बॉंचु सक्छ तर परिवारलाई बचाउनैको निम्ति मात्र—लाग्यो सरलाई।
तर घरभित्र र मनभित्र जसरी बॉंचे पनि बाहिर चिन्नेहरूले इज्जतै गर्छन्। केही नहुनुभन्दा आवश्यकताको समुद्रमा इज्जतको च्याङ्ले लाइभ ज्याकेट लगाएर आजीवन आफूजस्तै परिवारलाई पनि घॉंटीसम्म डुबाइरहनु तर बॉंचेर बचाइरहनु ठिक—पनि लाग्यो शर्मा सरलाई।
दिइनँ भने धोका हुन्छ होला पछि।—मनमनै भने।

दुई वर्ष त्याग्दा छोराको जीवन बन्छ भने दिन्छु।—निश्चयजस्तै गरे।

अब आफ्नो दोस्रो संस्करणको तयारीमा लागिहाल्ने निर्णय लिए शर्मा सरले।

पाठशाला नगएर एउटा सोमबार तिनी एक के. जी. घिउसित त्यसै सन्दर्भमा जान्नलाई सम्बन्धित कार्यालय गए।

घिउ थापेर, आफू बसेर छोरालाई काम दिन के-के गर्नुपर्छ राम्ररी सिकाएर ‘‘यताको त चिनी कि गुँड़ मिसाको हुन्छ। सरहरूको तिर प्योर मह पाइँदैन?’’ विभागीय कर्मचारीले सोधेका थिए।
बेलुका घर आएपछि शर्मा सरले बाकस खोलेर, खोदलेर आफ्नो बिमारीसित सम्बन्धित केही कागजहरू झिके। अर्को दिन बेलुकी उनले शारीरिक अशक्तताको फलस्वरूप पेशाबाट अवकाश पाऊँ र सरकारी प्रावधानमुताविक आफ्नो काम छोरालाई दिइयोस् भन्ने निवेदन-पत्रको खेस्रा बनाए।
चार-पॉंच दिनपछि पाठशालाबाट फर्किँदा शर्मा सरको हातमा एउटा महको बोतल थियो।

त्यसपछि अस्वस्थ शर्मा सर त्यस सन्दर्भमा धेरैपल्ट सम्बन्धित विभागीय कार्यालय गए। धेरैपल्ट झोला झुन्ड्याएर, थोरैपल्ट खाली हात।

झोला झुन्ड्याएर कार्यालय पुगेका शर्मा सरले अधिकारीहरूबाट जुन व्यवहार पाए, खाली हात पुगेका उनले संसार स्वार्थमय देखे। यहॉंसम्म कि अघिल्लोपल्ट झोलासितको भेटपछि जसलाई उनले साह्रै जाती मान्छे ठानेका थिए, खाली हातको भेटपछि मान्छे पनि मानेनन्।
शर्मा सरलाई त्यही सन्दर्भमा एउटी सही चाहिएको थियो एकजनाको। एउटा पोका झुन्ड्याएर बिहानै पुगे तिनी त्यस महानुभावको घरैमा।

देलोमै उभिएर आफू आउनुको कारण बताए उनले। पोका समातेको हात अघिल्तिर बढ़ाए।
‘‘के यो?’’ रिसाएर सोधे महानुभावले।
‘‘अलिकति … घरकै।’’ ढॉंटे सरले।
‘‘कसले सिकायो तपाईँलाई यसरी आउनु? कसले सिकायो? तपाईँको एति नाथे घिउ खाएर मोटाउँछु मो? लानुहोस्, लगिहाल्नुहोस्, यो।’’ रॉंकिए उनी।

शर्मा सरको अनुहार र कानहरू पनि तातिएर आए। तातिएको कान टि…नि…नि…नि…बजे।
‘‘व्यवस्था बिगार्ने तपाईँहरू नै हुनुहुन्छ।’’ बजेकै कानले सुने उनले।

इमान्दारी देखाउने मौका पाएछ साला।—मनमनै रिसाए सर।

सपनामा जस्तो हिँड़ेर फर्किए सर त्यहॉंदेखि।

त्यसपछि अर्को मान्छेलाई भेट्नु जानुअघि शर्मा सर निक्कै घोरिए।

एक त पहिल्यैदेखि सुकुटे नारायण शर्मा थप डाइवेटिकको रोगी—हड्डी र छाला भइसकेका थिए। जस-जसले जे-जे खाऊ भन्थे सबै खान्थे, जस-जसले जे-जे नखाऊ भन्थे सबै मान्थे। पकाएको के कॉंचो तितेकरेला कति खाए उनले हिसाब छैन।

औपचारिकता निर्वाह गर्न शुरू गरेको चार महिनापछि एउटा सरकारी चिठी आयो नारायण शर्माको नाममा। खोलेर पढ़े उनले। चौबिस तारिख मेडिकलको निम्ति मेडिकल कलेज, सिलगढ़ी जानू भन्ने सूचना रहेछ।

यत्तिका लामो अवधिसम्म गरेको पेशाको धुमधाम माया लागेर आयो उनलाई।

त्यसै क्षण उनले वर्ष दिनजति पहिले आफू बसेर छोरालाई काम दिने नजिकैको सर सम्झे। अनुभवी तिनै सरलाई मेडिकल साथी जान मनाउने विचार गरे।

पाहाड़बाट मदेश झरेका बिरामी सर सिलगढ़ीको गरमले हेर्दै पनि बिरामी देखिने भए।

बल्ल-बल्ल पालो आएको बिरामी नारायण शर्मा र उनलाई बिरामी प्रमाणित गर्ने डाक्टरकै कागजहरू हेरेर , हेर्ने डाक्टरले शर्मा सरलाई काम गन एकदमै अयोग्य मानेन।
‘‘आँखा राम्ररी देख्दिनँ।’’ भने सरले।

मसुमुसु हॉंसे डाक्टर।
‘‘कान पनि राम्रोसित सुन्दिनँ।’’ भनेर आफूलाई साह्रै दयनीय अनुभव गरे उनले।
‘‘जवाब ठिकै दिनु हुँदैछ।’’ सुनेर बित्थामा भनेछु लाग्यो सरलाई।
‘‘अर्को चौबिसमा आउनुहोस्।’’ डाक्टरले भने र लेखेर पनि दिए।

अरू केही भन्नै आएन उनलाई। केही क्षण चुपचाप बसेर तिनी उठे।
‘‘यो मेडिकल बोर्ड तल जानु पनि आन्दोलनकै उपलब्धि हो। दार्जीलिङमा भा एस्तो झन्झट नै नहुने। पहिलाकोहरूलाई खाड़ाले केई नसोधी एकै तालमा गरिदिन्थ्यो अरे।’’ सुनेको सुनाए बाटोमा साथी गइदिने सरले सरलाई।

श्रीमतीले तामा पनि पकाएकी रहिछ। तामाको स्वाद बिर्सन लागेको सरले ‘‘हाली देऊ मलाई पनि अलिकति,’’ भने।
‘‘होस् पर्दैन खानु। खुट्टा दुखेर फेरि फत्रक-फत्रक पर्नुलाई।’’ स्वास्नीले भनी।
‘‘नखॉंदा जाती छु र?’’ सर खरो बोले।

स्वास्नी अरू बोलिन।

डाक्टरहरूको त्यत्रो प्रिस्क्रिसन हेररे पनि काम गर्नु सक्छ भन्छ। सरकारी नियम छ, दिहाल्दा के जान्छ त्यसको—रातभरि सरलाई लागिरह्यो।
‘‘दवाई खान्नँ एक महिनै,’’ सङ्कल्प गरेर बिहानीपख शर्मा सर एक छिन निदाए।

भोलिपल्ट उनले दवाई खाएनन्।

बरू ‘‘कत्ति बार्नु? नखाई मर्नुभन्दा बरू खाएरै मर्छु।’’ भनेर आमा-छोरालाई अलग्गै पकाएको आलुको तरकारी थोरै खाए।

पहिले-पहिले दवाई खानु भुल्छु कि भन्ने लाग्थ्यो शर्मा सरलाई अब नखानु भुल्छु कि लाग्न थाल्यो।

आफ्नो बिमार बढ़ेर आउँदो चौबिसमा डाक्टरलाई काम गर्न अयोग्य देखिइएँ भने नमरुन्जेल ढुक्कैले बॉंचिन्छ भन्ने लागेको थियो सरलाई।

खाएनन् दवाई उनले।

जति-जति चौबिस नजिकिँदै आयो उति-उति अस्वस्थता बढ़्दै आएको थाहा गर्दै थिए उनी। बस्दा, बसिरहँदा पनि थाक्ने, फतक्कै गल्ने भइसकेका थिए। करैले गएर पाठशालाबाट सिधै घर आउँथे। आएर बसिरहन्थे कि त सुतिरहन्थे दिउँसै पनि। स्वास्नीले सोद्धा ‘‘ठिकै छु,’’ भन्थे।
प्रतीक्षारत थिए उनी आउने चौबिसको।

हिजो तेइस तारिक शर्मा सरले गोपाललाई बोलाएर भने, ‘‘अर्कालाई कति दु:ख दिनु। तैँ हिँड़् भोलि मसित। किरणलाई दुइटा सिट भन् गएर।’’

आज बिहान आमा उठेकी थाहा पाएर गोपाल पनि उठिहाल्यो।

रातो घामको अर्धवृत्त डॉंड़ाभित्र थियो। आकाशभरि बादलको एकै टुक्रा पनि थिएन। कतिचोटि सिलगढ़ी गइसकेको गोपालले त्यहॉंको गरमको स्मरण गर्यो। स्मरणले नै त्यसलाई त्यो दिन असाध्यै कष्टकर लाग्यो।

दॉंत माझ्दै त्यो कलनेर गयो। कल खोल्यो त्यसले। कलदेखि झरेर भुइँमा बज्न थाल्यो पानी। मुख खकाल्यो गोपालले। हत्केलालाई अञ्जुली बनाएर फेरि पानी थाप्दा क्षणभर शून्यता छायो त्यहॉं। त्यही शून्यतामा गोपालले घरभित्र स्वास्नीमान्छे काहालिएर रोएकी सुन्यो। अञ्जुली भरिएर पोखिएर पानीले पुन: बज थालेको थियो भुइँमा। अञ्जुली भत्कायो गोपालले अनि कल बन्द गर्यो र अहिले त्यो भयको ठुलो भारी बोकेर अर्कोपल्ट स्वास्नीमान्छेको उस्तै रुवाइ पर्खिरहेछ।