Bob Considine – Prem Ko Taha (Translated Story)

बब कन्सिडाइन – प्रेमको तह
(Translated by: किशोर पहाडी)

कथाकार परिचयः बब कन्सिडाइनको जन्म सन् १९०६ मा भएको थियो । उनको बसाई न्यूयोर्कको मानहट्टनमै भयो । ६९ वर्षको उमेरमा सन १९७५ मा निधन भएको बबले आफ्नो जीवनकालमा २५ वटा पुस्तकहरू लेखेका छन् । -अनुवादक

ईडिथ टेलरलाई आफूजस्तो सौभाग्यशाली स्त्री कोही छैन भन्ने कुरामा विश्वास थियो । कार्लसित उसको बिहे भएको तेईस वर्ष भइसकेको थियो । आफ्नो लोग्नेलाई देखेर अहिले पनि यदाकदा उसको मुटु ढुकढुक गर्न बन्द गथ्र्यो र मन्त्रमुग्ध भएर ऊ हेरिराख्थी । कार्ल पनि उसलाई ज्यादै प्रेम गथ्र्यो । अफिसको कामले कुनै अर्कै सहर जाँदा हरदिन उ ईडिथलाई चिठी लेख्थ्यो र कुनै न कुनै उपहार पनि पठाउँथ्यो ।

एकपटक कार्ललाई केही महिनाको लागि जापानको ओकिनावा जानुपर्यो । यस पटक ऊ आफ्नी श्रीमतीसँग लामो समयसम्मको लागि टाढा जाँदैथ्यो ।

ओकिनावाबाट उसलाई चिठी त आइरहृयो तर उपहार चाहिँ आएन । ईडिथले यसप्रति कुनै ध्यान दिइन् । उसलाई थाहा थियो कि कार्ल बर्षौंदेखि घर किन्ने सपना देखिरहेको हुँदा पैसा बचाइरहेको थियो ।

ईडिथलाई एक्लोपनाको त्यो महिना लामो हुँदै जानथाल्यो । अब त कार्ल आउँछ होला भन्ने आशा गर्थी, तर कार्लको चिठी आउँथ्यो कि अब केही हप्ता लाग्छ होला, अथवा कहिले अब केही महिना लाग्छ होला भन्ने आशय बोकेर ।

यसैप्रकारले एकवर्ष बित्यो । केही महिनादेखि कार्लको चिठी केही ढिलो ढिलो आउन थाल्यो । र उपहार त एउटा पनि आएन । उपहार नपठाएको त ईडिथ बुझ्दथी तर चिठी पनि नपठाएर हुलाकटिकटको पैसा बचाउनुचाहिँ उसलाई अनौठो लाग्दथ्यो ।

अनि केही हप्ताको सन्नाटापछि कार्लको चिठी आयो । उसले लेखेको थियो -‘प्रिय ईडिथ, तिमीलाई दुःखी नहुने गरी खोई कसरी भनुँ अब हामी पति पत्नी होइनौँ भनेर । …’

ईडिथ ड्याम्म सोफामा बसी र चिठीको बाँकी भाग पढ्न थाली । कार्लले मेक्सिकोको अदालतबाट पत्र व्यवहारद्वारा ईडिथसँग पारपाचुके गरेको थियो र आफ्नो उन्नाईस बीस वर्षकी जापानी नोकर्नी एइकोसित बिहे गरेको थियो । त्यतिबेला ईडिथ अठचालीस वर्षकी थिई ।

स्वभाविक थियो कि चिठी पढेपछि उसको मनमा लोग्नप्रति रिस र घीन भरिनसक्थ्यो मनमा । बदला लिनको लागि कुनै ठूलोभन्दा ठूलो पाइलो चाल्न पनि सकिन्थ्यो । यसल उसको नयाँ वैवाहिक जीवन पनि नष्ट हुन सक्थ्यो । तर ऊजस्ती स्वास्नीमान्छेका लागि त्योभन्दा बढी स्वभाविक त उसले आफ्नो लोग्नेलाई घृणा गर्न नै सकीन । वास्तवमा उसको मनमा लोग्नेप्रति घृणा पैदा नै भएन ।

अलि मनलाई शान्त पारेपछि उसले स्थितिलाई अलि बुझ्ने चेष्टा गरी । कार्ल, उसको एक्लोपना, त्यस जापानी केटीको अपनत्व भरिएको व्यवहार सबैको बारेमा सोच्न थाली । अनि उसलाई लाग्यो कि यस्तो स्थितिमा जे हुनुथियो भयो । स्वभाविक नै हो नि ! कति असल कार्ल कि पारपाचुके गरेर मात्र त्यस केटीसँग बिहे गर्यो । चाहेको भए त ऊ स्थितिको गलत फाइदा पनि त लिन सक्थ्यो । आखिर त्यो त कम उमेरकी, नोकर्नी केटी न थिई । अहँ, कार्ल खराब मान्छे होइन । ….. तर पनि कार्लले आफूसँग प्रेम गर्न बन्द गरिदियो भन्ने कुरा चाहिँ ईडिथको लागि विश्वास गर्नै गाह्रो भयो । कसरी बिर्सन सक्छ उसले ? असम्भव छ यो कुरा । … र मनमनै भनी कार्ल एक दिन अवश्य र्फकनेछ ।

यही विश्वासलाई लिएर ईडिथ आफ्नो जीवनलाई फेरि केन्द्रित गर्नतिर लागी । उसले कार्ललाई लेखी कि मलाई चिठी पठाउन नछोड र आफ्नो र आफ्नी नयाँ श्रीमतीको सन्चोविसन्चो लेख्दै रहनू । कार्लले उसलाई चिठी लेख्दै नै रहृयो । एक चिठीमा उसले लेख्यो कि एइको बच्चा पाउन लागेकी छे । अर्को चिठीमा लेख्यो कि हाम्रो छोरी भएको छ र उसको नाम मारिया राख्यौं । … दुई वर्षपछि एक अर्को छोरीको जन्म भयो, जसको नाम उनीहरूले हेलेन राखे । ईडिथले दुबै बच्चीहरुलाई उपहार पठाई । पत्र व्यवहार जारी नै रहृयो । कार्लले उसलाई लेख्दै पठाइरहृयो हेलेनको दाँत आउन थाल्यो, एइकोको अङ्ग्रेजी सुध्रदै छ, मेरो स्वास्थ्य ठीक छैन र तौल घट्दै जाँदैछ … इत्यादि ।

र अनि एउटा भयानक खबर आयो । कार्ललाई क्यान्सर भएको थियो र अवस्था खराब हुँदै गइरहेन्थ्यो । आफ्नो अन्तिम पत्रमा उसले डर प्रकट गरेको थियो – आफ्नो लागि होइन, बरु स्वास्नी एइको र दुई छोरीहरुको लागि । उसले छोरीहरुलाई अमेरिका पठाएर पढाउनको लागि पैसा जोरेको थियो तर अब त्यो पैसा त उसको उपचारमै खर्च हुँदै जाँदैथ्यो । बच्चीहरुको के हुन्छ अब ?

अब ईडिथले कार्ललाई अन्तिम उपहार भनेर एक चीज दिउँ भन्ने सोची मनको शान्ति । उसले कार्ललाई लेखी पठाई -म मारिया र हेलेनलाई आफूसँग राखेर उनीहरूको पालनपोषण गर्न तयार छु, यदि एइकोले स्वीकृति दिइन भने ।

कार्लको मृत्यु भएको धेरै महिना भइसकेपछि पनि एइको आफ्ना छोरीहरूलाई ईडिथकहाँ पठाउने साहस गर्न सकेकी थिइन । बच्चीहरू बाहेक उसको को नै थियो र ? तर फेरि उसलाई यो पनि थाहा थियो ऊसँग बसेमा बच्चीहरूले अभाव र गरिबीको जिन्दगी जिउनुपर्नेछ । आखिर मनलाई कडा पारेर उसले तिनीहरूलाई ‘प्यारी ईडिथ ठूलीआमा’ कहाँ पठाउने फैसला गरी ।

ईडिथलाई चवन्न वर्षको उमेरमा यसरी पाँच र तीन वर्षका ती केटीहरूको आमा बन्नु कति गाह्रो हुनेछ भन्ने थाहा थियो तर मारिया र हेलेनले उसलाई धेरै छिटो आमाको रूपमा स्वीकार गरे । छिटै नै तिनीहरूले अङ्ग्रेजी सिके । नयाँ घर मन पर्यो उनीहरूलाई । केही समयपछि नै उनीहरूको कमजोर अनुहारमा स्वास्थ्यको चमक आउन सुरू भयो । ईडिथको मनमा पनि उनीहरूप्रति मोह जागेर आएको थियो । ६ वर्षपछि अब ऊ कार्यालयबाट छिटै घर र्फकन थालेकी थिई । घरमा उसलाई खुशीको वातावरण देखा पर्न थालेको थियो ।

तर जब एइकोको चिठी आउथ्यो, ईडिथ उदास हुन्थी । एइकोले त्यो चिठीमा आफ्ना छोरीहरूको बारेमा केही सोधेकी हुन्थी नराम्रो अङ्ग्रेजी हिज्जेमा लेखिएको त्यो पत्र पढ्दा ईडिथले एइकोको एक्लोपना र दुःखलाई महसूस गर्दथी । त्यस्तो एक्लोपना र दुःखसँग ऊ आफै पनि त परिचित थिई नि ! र ऊ बिचार गर्न थाली कि कतै एइकोलाई नै यतै बोलाउने हो कि ! यसो भयो भने ऊ आफ्नै छोरीहरूसँग रहनसक्दथी । …. आखिर एक दिन ईडिथले त्यस्तै गर्ने फैसला पनि गरी ।

एइको जापानी नागरिक थिई । उसले अमेरिकामै बस्ने गरी आउन त्यति सजिलो थिएन । हरेक वर्ष एक सीमित सङ्ख्यालाई मात्र अमेरिकामा बस्न दिइन्थ्यो । र स्वीकृती पाएका जापानीहरुको लश्कर नै पनि धेरै लामो थियो । त्यसैकारण एइकोको पालो आउन धेरै वर्ष कुर्नुपथ्र्यो । तब ईडिथले यस विषयमा मलाई लेखी पठाई । मैले आफ्नो समाचारपत्रमा यो कुरा उठाएँ । त्यसपछि अरू कति पाठकहरूले पनि यसबारे आवाज उठाए । आखिर एइकोले अनुमति पाई र अमेरिकातिर प्रस्थान गरी ।

एइकोलाई विमानस्थलमा लिन जाँदा ईडिथको मनमा आफ्नो लोग्ने खोस्ने त्यो आईमाईलाई देखेर कतै घृणा त जाग्दैन भन्ने डर आयो । ….सबै यात्रीहरू हवाइजहाजबाट ओर्लेपछि एक पुड्कीपुड्की, दुब्ली, अलिअलि डराएकी झैँ एक केटी ओर्ली । त्यही एइको हो जस्तोलाग्यो ईडिथलाई । एउटी बच्ची झैँ लाग्यो उसलाई । ऊ एक कुनामा ठिङ्ग उभिई । ईडिथले त्यस केटीको अनुहारमा छाएको डर देखेपछि उसलाई आफ्नो डर त तुच्छ प्रतीत भयो । उसले एइकोको नामै लिएर बोलाई । सुन्नासाथ एइको दगुर्दै आई र उसको अङ्गालोमा हराई । दुबैआईमाईहरू एक छिन एकअर्कालाई च्याप्प अँगाल्दै टाँसिईराखे ।

त्यसरी टाँसिरहेको बेला मनमनै ईडिथले भनिरहेकी थिई -‘म कार्ल फर्केर आवोस् भनी प्रार्थना गर्दथेँ । ऊ आएछ फर्केर आफ्नो दुई छोरी र यस सुशील युवतीको रूपमा, जसलाई प्रेम गर्दथ्यो ऊ । हे भगवान ! म पनि उसलाई प्रेम गर्न सकुँ मेरो सहायता गर्नु भगवान !’

र ईडिथ साँच्चिकै ऊसित प्रेम गर्न लागी, जसरी कि उसका छोरीहरूसँग गर्दथी । समय बितदै गयो । ईडिथ, एइको र दुवै बच्चीहरू एक परिवारको रुपमा रहन थाले । धेरै वर्षहरू बिते । एकपटक ईडिथले मलाई लेखी -‘यद्यपि भगवानले त्यस व्यक्तिलाई मबाट खोसिलग्नुभो, जसलाई म औधी माया गर्दथेँ तर त्यसको बदलामा उहाँले मलाई तीन अरू प्रियजनहरू दिनुभयो । म भगवानप्रति कृतज्ञ छु ।”

शनिबार, गोरखापत्र
आश्विन ८, २०६७

J B Sherpa – Leonara Ra Man

वाउ ! आई लव दिस् पिक्चर…!

उतेजना र ख़ुशी मिश्रित स्वरमा बोल्दै कंप्युटरको डेस्कटप ब्याक ग्राउंडमा सजिएको इगल नेबुलाको मनमोहक फोटो नजिकै आई एक टक हेर्दै थिई उ !
डु यु लाइक एस्ट्रोनोमी? मुस्कुराउदै अलिक असजिलो अंग्रेजी भाकामा सोधि उसले !

अँ.. हो ! प्रत्युत्तर दिन्छु

हो र? आँखामा चमक थपियो । मलाई पनि खुबै मन पर्छ , कहिले कहीं घंटौसम्म रमाएर डुब्न सक्छु म यी चिजहरुमा !

ओ हो ! खुशी लाग्यो है, तिमीलाई पनि एस्ट्रोनोमी मन पर्ने रहेछ, अरु पनि फोटोहरु छन हेर्ने? म सोध्छु ।

भैगो अहिलेलाई , कुनै दिन फुर्सदमा आएर हेरौला ! इटलीबाट म यहाँ आएको जम्मा ३ दिन मात्र हुँदै छ तिम्रो पसल यहाँ छ भनेर सुनेको थिएँ त्यसैले हेर्न मात्र आएको, फेरी फोन गर्न वा मेल गर्न आई रहन्छु , अहिलेलाई बाई है?

ओके बाई !

कति फरासिली, सफा, निस्खोट, अनुहारमा , हंसाइमा बोलाईमा कुनै बनावटीपनको भेउ पनि पाईन्न, लाग्थ्यो कुनै दुधे बालकको मुहार नियालिरहेछु , मैले यती सोची सक्दा उ लच्किँदै बाहिर पुगी सकेकी थिई

यतिनै थियो लिओनोरा र म बिचको पहिलो भेट्को कुराकानी ! दुई दिन पछी ऊ फेरी आई उनी चिर-परिचित ले झै मुस्कुराउदै हेलो हाउ आर यु?
मेरो नाम लिओनोरा , इटलीबाट ६ महिनाको कोर्ष गर्न आएको भन्दै उसले मसंग आफ्नो शीतल र नरम हात मिलाइ, अझै कोठा लथालिंग छ किनमेल बाँकी छ सररर… भनी सिध्याइ , मैले मेरो छोटो परिचय दिई नसक्दै उसको हात मेरोबाट छुट्टीइ सकेको थियो, ऊ फोन क्याबिन भित्र पसी अनि मै तिरै फर्केर गफिन थाली ।

यस पटक ऊ निकै सुन्दर देखिन्थि, तर इटालियन भन्दा पनि स्पेनिश रूप रंग झल्किन्थ्यो उसमा ! तत्पश्चात पनि निक्कै बेर हाम्रो कुराकानी भएको थियो त्यों सांझ , अन्य ग्राहक हरुले गर्दा बेला बेलामा कुरा कानी मा ठेश लाग्थ्यो तै पनि एस्ट्रोनोमी सम्बन्धी गफ भए , आकाश को असीमितता, ब्ल्याक होल , आकाश गंगा अनि नेबुला हरु को सुन्दरता , यु एफ ओं र एलियन लाइफ सम्बन्धी कुरा गर्दै चिले को अटाकामा सम्म संसारकै विशाल टेलिस्कोप को बखान गर्दै पुगियो ।

सामान्यतया केटाहरु को दाँजोमा केटीहरु धेरै परिपक्व हुन्छन् भन्ने ठान्छु म, तर पनि लिओनोरा त्यों भन्दा धेरै अनुभव बोकेकी एक सरल र सुन्दर युवती रहिछ भन्ने अनुभव गरें मैले यसपटक । छ सात पटकको आउने क्रम पछि मैले उनमा के आभाष पाउन थालें भने यस देशमा म नै उसको सब भन्दा नजिक को मान्छे हुं वा म नै उसको हितैषी हुं । उसको व्यवहार ले नै त्यों जाहेर गर्थ्यो , किनकी अब हरेक स्थानीय जानकारी वा कुनै सानो तीनो सरसल्लाह अनि सहयोग चाहिएमा सोध्नु पर्ने सजिलो मान्छे म नै हुन्थेँ उसको लागि । विस्तारै यो पनि सोच्न थालें की मेरो ऊ प्रतिको सरल र सहयोगी भावनाले नै शायद मलाई केहि झंझट बढेको भने पक्कै हो तर त्यस्तो पटक्कै भएन । सिधै एकटक आँखा मै हेरेर कुरा गर्ने उसको स्वभावले भने कहिले काहीं अप्ठ्यारो अनुभूति गराउथ्यो र विषय वस्तुमा ध्यान केन्द्रित गर्न गार्हो पर्थ्यो । अनि म अनुमान गर्थें की कुनै सुन्दर लाग्ने युवतीसंग आँखा जुधाएर कुरा गर्न एक प्रकारको ध्यान या तालिमनै आवश्यक पर्नेरहेछ ।

ऊ आउने क्रम बाक्लिन थाले पछि एकदिन मैले नसोधीकनै उसले आफ्नो घर र परिवार वारे सुनाउन थालि र एकदम घरको यादले सताउने कुरा गरि, लाग्थ्यो उसमा औपचारिकता निभाउने भन्दा पनि भावना पोख्ने हतारो थियो । बा आमा र सानो भाई मात्र मेरो सानो संसार हो अनि स्कुल कलेजका केही घनिष्ट साथिहरु छन् अनि तुरुन्तै पर्स मा राखिएको फोटो ख़ुशी हुँदै देखाइ उसले, मलाई लाग्यो उसको मन उडेर त्यहीं उसको सुन्दर लाग्ने गाउँ मै पुगिरहेछ ।उसको भनाइ अनुसार मनमनै अड्कल काटेँ की उसको कुनै प्रेमी चाहीं रहेनछ वा त्यस्तै केहि ।

एक किसिमको अन्जान संतोष र जिज्ञाशा एकै साथ पलाउँछ फेरी । स्वभावत म एकै छिनको लागि भएपनि ख़ुशी नै हुनु पर्ने हो केहि स्वार्थ र लिनु दिनु नहुँदा पनि , तर उसको सुन्दरताले त्यों लोग्ने मान्छे भित्र दबिएर रहने एक किसिमको स्वार्थि ईच्छालाई गलाई दिएको देख्छु मानौ उसलाई देख्दा म मा कुनै प्रकारको नकारात्मक भाव ले कतै स्थान नै पाउदैन । स्वीटज़रल्याण्ड को सिमाना नजिकै इटलीको सानो सुन्दर शहर तिरानोबाट आएकी बताउँदा उसको अनुहारमा त्यस्तै शांत र सुन्दर भावको छाल कुदिरहेको देखिन्थ्यो भने उसको सोचाई , व्यवहार त्यस्तै स्वच्छ र सरल लाग्थ्यो, कुनै सुन्दर पोखरी छेउ फक्रिएको फूलको थुंगा झैं । अब मेरो दिमागी संसारमा पनि कल्पनाको उसको गाउँ त्यस्तै सुन्दर तरंगमा तरंगित हुन् थाल्यो त्यहाँ म धेरै थोक भने देख्दीन , हरिया पहाड़ी काखको एक पाखामा त्यों सुन्दर गाउँ तुवांलो भित्र झैं अस्पस्ट रुपमा देख्छु । ऊ फोनमा व्यस्त हुँदा गुगल मा तिरानो शहर खोजेर हेर्दै थिएँ , कति सुन्दर, कल्पनाको विकसित नेपालको कुनै सानो शहर झैं सम्झी मनमनै एकै छिन रमाएँ पनि ।

प्राय लियोनारा दुई नंबर कै क्याबिन बाट फोन गर्ने गर्थि यो उसको मन पर्ने क्याबिन हुन सक्छ । कुराकानिमा व्यस्त रहँदा मतिरै फर्केर बिभिन्न भावमा बोल्थि ऊ , मलाई भने काउंटरबाट सोझै देखिने क्याबिनहरुमा बंद भएर कुरा गर्ने जो कोही पनि समयको बन्दि झैँ लाग्थ्यो र कसै सित बिलौना गरि रहेको भान पर्थ्यो । पसलको सानो तीनो व्यस्ततामा पनि लियोनारा र म बिच पटक पटक आँखा जुधाई भै नै रहन्छ र हरेक पटक हलुका मुस्कानमा टुंगिन्छ । तर म यसलाई एक सामान्य मानव स्वभाव कै रुपमा लिन्छु र त्यसमा क्षणिक भावनात्मक जवारभाट को सानो अंश बाहेक केही छैन भन्ने सोच्छु , तैपनि उसको सौन्दर्यताले ध्यान नतान्ने भने अवस्य हैन जसलाई म प्रकृतिकै अनौठो र सुन्दर नियम ठान्छु र त्यस नियमको आदर गर्दै सौन्दर्यपान गरिदिन्छु !

त्यों नै सौन्दर्यताको प्रशंशा गर्नुहो त्यसको सम्मान गर्नुहो माया दिनु हो, लियोनारालाई हेर्नु, आँखा जुध्नुको सम्बन्धमा पनि यही अर्थ लुकी रहेकोहुन्छ त्यसैले म कुनै अपराधबोध को अनुभव गर्दिन ।

विगत केहि दिनयता लियोनाराको म कहाँ आउने क्रम र गफिँदै घंटों सम्म बस्ने क्रम तन्किन थालेको आभास गर्छु , र अब मलाई पनि भान पर्न थालीसक्योकी यो सब भै रहेको अलिक अस्वाभाविक छ, अनि कता कता अंतस्करणमा लियोनाराले मलाई असाध्यै मनपराई रहेकी छ भन्ने शंका बालियों भै रहेको थियो । २/४ हप्ता बित्यो तर झन झन त्यों अनुमानले गहिरो जरा गाढ्न थाल्यो !

यो अनुमान पक्का हो भन्ने लागेपछि एक्कासी मनमा आंधी वेरी झैँ विचारहरु मढारिन थाल्यो , मानवीय सम्बेग का सुषुप्त प्रत्येक तन्तुहरू, कोशिकाहरू बर्सौ पछि क्रियाशील भै रहेको अनुभव हुन् थाल्यो ! आज म यस्तो आवेगमा आफैलाई पाउनुमा मेरो सहमति छैन , किन म यस्तो अनुभव गर्ने ? कुनै कारणले एउटा केटी कुनै केटा को नजिक पर्नु अनि त्यों सम्बन्ध लाई एउटा राम्रो साथी को रूपले मात्र हेर्न सकिन्न ? कति सम्म भने एक पटक लिओनोराले “” मलाई . त तिमी जस्तै रूप रंग को एशियालिहरू मन पर्छ “” भनेर भन्दा पनि मैले अलि लापरवाही पूर्वक हाँस्दै भनेथें — ” उसो भए चाइना टाऊन तीर गए हुन्छ नी त ” ! अब आज यही कुरा सुन्न र दोहोरयाउन मलाई हम्मे पर्नेछ ! किन यस्तो अनुभूति भै रहेछ मलाई ? की मलाई ऊसंग भित्र भित्रै प्रेम भै रहेछ? कुनै सुन्दरिले मन पराईदिनु मेरो लागि मेरो सोचाई माथिकै एक किसिमको बिजय हो किनकी म जस्तो खालको मान्छे जसको नत सुन्दर जिउडाल र अनुहार नत वाक पटुता नत अरु विशेष आकर्षण नै छ , त्यसैले जहिले पनि कुनै राम्री, सुंदरी केटीहरुको मनको रोजाईमा पर्दे पर्दिन भन्ने सोचाई ले स्कुल कलेज जीवन देखिने मनमा जरा गाडी सकेको थियो तर यहाँ यो भंग हुंदैछ र म कताकता एक प्रकारको ख़ुशी पनि अनुभव गरिरहेछु । कसै लाई कसैले एक तर्फी नै भएपनि मन पराउछ भने त्यों उसको मानवीय र प्रकृति प्रदत अधिकार हो त्यस्तो भावना लाई रोकन गार्हो पर्छ ,यदि पक्कै मन पराएकी नै रहिछ भने पनि मानव जगतमा यो हुनु सामान्य कुरा हो भन्ने सोचाई राखेर बस्छु यस्तै सोचाई हुनैपर्छ त्यसैले म सम्हालिन्छु । तर यदि मन पराएकि नै हो भने पनि किन खुलस्त भन्न सक्दिनन त? युरोपको खुला समाजमा हुर्केकी उसलाई तीनवटा शब्दको एक हरफ भन्न कत्रो महाभारत पर्ला र? नत्र त्यस्ता भावना पोख्ने अरु पनि माध्यमहरु हुन्छन यी सवै मेरा आवश्कता र ईच्छा भित्र पर्ने विषय थिएनन तै पनि वे-फ्वांकमा आफ्नै गिदी गलाई रहेछु । तर जे भएपनि कथंकदाचित उसले प्रेम प्रस्ताव राखीहाले भने त्यसको चित्त बुझ्दो उत्तर दिनुपर्नेछ र मैले उसको प्रेम प्रस्ताव अस्वीकार गर्नुको कारण पनि त खुलस्त पार्नु आवश्यक हुन्छ नत्र उसको सम्झनामा म जहिले पनि एउटा नराम्रो पात्र को रुपमा रहीरहनेछु । अब आजकल उ आउदा पहिलेको जस्तो खुल्ला अनुभव कम हुन थाल्यो त्यसै गरी अलिक संकोच मिश्रित भयले सताउन पनि थालिसकेको थियो । एक दिन एक्कासी उसले न्यास्रो र चिंतित अनुहारमा भनि “अब मेरो घर फर्किने समय पनि आउन लाग्यो अर्को हफ्ता मेरो भाई र बुबा आउनुहुन्छ र त्यसको १ महिना पछि म फर्किनु पर्छ ।”

उसले बताए अनुसारनै अर्को हफ्ता उनिहरु आइपुगे , स्टेशनबाट सिधै मै कहाँ ल्याएर चिनापर्ची गराइ उसले, बाउ र भाई एक टक मलाई हेर्दै आँखैले कृतज्ञता व्यक्त गरे झै गर्छन । मलाई लाग्यो लिओनाराले मेरो बारेमा निकै बखान गरीरहेछे । २,३ दिन पछि उनिहरु फर्के , लिओनारा अब अझ सुर्तालु र मलिन देखिन्थी, म भित्र पहिले जस्तै सान्त्वना दिने शक्ति पनि हराए झै अनुभव गरें यो पटक ।

हेरन होल्यांडको फूलमेला हेर्ने एक्दमै ईच्छा छ अर्को हफ्ताको सप्ताहन्तमा जाने योजना बनाएकिछु तिमी म संग जाऊं न है । तिमी गयौ भने मलाई साथी पनि हुन्थ्यो अनि धेरै सजिलो र रमाइलो हुन्थ्यो मलाई । म एक छीन अवाक भएँ , यस्तो आग्रह्को बनि बनाऊ जवाफ थिएन मसंग , जाने चाहना हुंदा हुँदै पनि फुर्सदनै नमिल्ने जस्तो बहाना गर्नु पर्ने भयो र जसो तसो भोली जवाफ दिन्छु भनीदिएँ । एक मनले लाग्यो हेर मलाई माफ़ गरिदेउ, मैले तिमीलाई म बिवाहित हुँ भनेर भन्ने मौका नै पाएको थिईन , म एक विवाहित मान्छे यसरी तिमीसंग घूमफिर गर्न उचित हुन्न भनेर भनि दिन्छु तर यो भन्न पनि निकै ढिलो भैसकेको थियो । तर वास्तविकता भन्नु पर्दा म उसलाई दुखी बनाउन पनि चाहन्नथें र घुमेर साथदिन पनि सक्दिन थिएँ । भनौ अब म असहज स्थितिमा अल्झिएको थिएँ र त्यसको निश्छल, सुन्दर निकास खोजीरहेको थिएँ ।

हेर लियोनारा म तिमीसंग जान सक्दिन तर तिमी चाहन्छौ भने मेरो साथिलाई तिमी संग पठाई दिन्छु । मलाई माफ़ गर है? त्यसपछि न केही बोलि न केही सोधि उसले । चिसो कोला जूस या अरु कही पिउने की भनी सोधें मैले तर उसले अनिच्छापूर्बक मुन्टो हल्लाई , केही मिनेट पछि बाई भन्दै बाहिरीई ऊ ।

मैले दुःखका साथ अनुमान गरेंकी, उ मसँगै घुम्न चाहन्छे र यसको अर्थ त्यहि हो जसमा फस्नु अगावै म बिना कसूर भाग्न चाहिरहेथें । त्यों हप्ता बित्यो तर बित्न पनि युगौं बीते जस्तो लग्यो । मैले हल्यांडको सो फूलमेलाको बारे प्रसंग झिक्न पनि सकिनँ नत उसले नै त्यास बारेमा केही गरि । त्यसपछिका दिनहरुमा ऊ र म बिच केवल जिज्ञासा, प्रश्न, उत्तर, प्रत्युत्तरहरु सबै अमुक वार्तालाप्मै टुंगिए सामान्य भला कुसारी बाहेक अरु केहि भएन । पसल नजिकै बस्ने छिमेकी तम्बाबुदु जो गाम्बियाबाट आएको थियो उसले हामी बिच हुने गरेका कुराकानी र बार्तालाप देखेर तिमीहरु एक अर्कालाई प्रेम गर्छौ कि भनेर सोधेको थियो । अर्को अप्रत्यासित झटारोले म झसंग भएँ , अक्क न बक्क परें । उता लियोनारा भने चुपनै थिइ तर उसको आँखामा भने त्यो प्रश्न र म बाट आउने जवाफको पर्खाइको प्रभाव अलग्गै देखिन्थ्यो शायद ।

हैन हैन, हो त एक आपसमा राम्रो साथि मात्र हौँ ।उनि यहाँ इटाली बाट पढ्न आएकिहुन ! त्यहि मौका देखेर तम्बाबुदुले लियोनारलाई भन्न भ्याई हाल्यो
यु आर वेरी ब्युटिफुल । डु यु हाव बोय फ्रेन्ड?

लियोनारा को अनुहारमै लोभिएको नजरले हेर्दै तम्बाबुदु सोधीरहेको थियो ।

यस ! भन्दै एक निमेष मलाइ हेरिरही ।

तम्बाबुदुको हेर्दैमा डर लाग्दो जिउडाल र गिद्दे हेराइ ले तिनी अलिक डराए झैं लाग्थ्यो । तम्बाबुदुको चरित्रसंग म धेरथोर परिचित थिएँ । विशेष गरि केटीहरु प्रतिको उसको व्यवहार प्रति । बेला बखत पसल अगाडी चुरोट तान्दै कलेज आउने जाने युवतीहरुलाई घुरेरै हेरिरहेको हुन्थ्यो र भन्थ्यो यहाँका खैरे केटीहरु लाई त सिधै भनिहाल्नु पर्छ ओ… युआर वेरी ब्युटिफुल , आइ लभ यु.. इत्यादि ।

नरम , न्यानो बिछ्यौनमा पनि असजिलो , केके नमिलेको झै लागिरहेछ आज पनि, तिन चार पटकको कोल्टे फेराईमा पनि निंद्रा लाग्न नसकेपछि फेरी त्यही कुराहरुमा ध्यान केन्द्रित हुन्छ ! शायद लियोनारा मसंग छुटिनु पर्ने पिडाले जति चिंतित हुन्थि होली त्यतिकै बेगको चिंता मलाई पनि पर्न थाल्यो तर चिन्ताको विषय भने एकै खाले थिएन, किनकी मैले सुरुबाटै आफ्नो पारिवारिक गोप्यता भंग गरेको थिइन । आफ्नो पुरा परिचय लुकाउनुमा यौटा सहज व्यापारिक कूटनीति र स्वार्थ मात्र लुकेको थियो त्यों भन्दा अरु कारण केही पनि थिएन । तर आज त्यहिनै मेरो गल्ती हो र त्यसको मानसिक सजाय यदि भोग्नु परयो भने त्यों उसले मात्रै भोग्नु पर्ने हुन्छ । अनि ओछ्यानमा अर्को पटक कोल्टे फेर्दै निर्णय गर्छु की भोलीनै उनलाई मेरो वैवाहिक स्थिति बारे भनिदिन्छु र राम्रोसंग संझाउछु , जे पर्ला पर्ला !

गल्ती मेरो हुँदैहैन ! उसले मलाई पनि पहिलै सोध्न पनि सक्थि नी मेरो गर्ल फ्रेंड छ की छैन? बिहे भा छ की छैन भनेर , पसलमा आउने जति सवै केटीहरुलाई मैले बिहे गरि सकें भनेर भनिराख्न पनि जरुरि छैन नी !

अनि मैले चाहेर उनीसंग नजिक भएको पनि त होइन र त्यस्तो नहुनुपर्ने गल्तीपनि के नै भएको छ र म बाट? तर त्यस्ता धेरै भोली आए गए त्यसरी भन्न सकिन , नभनीनै छिटै त्यों समस्याको समाधान हुने आशा पनि थियो ।

नारीहरुमा हुने प्राकृतिक गुण वा भनौं नारिशुलभ गुण ” माया र समर्पणको भावना ” को अति कमजोर र घातक पक्ष भनेको यही हो कि? त्यसैको फाइदा पुरुषहरुले लिए र संसार पुरुषप्रधान समाज कहलियो अनि त्यसबाट पिल्सिइ रहे , लुटीइरहे तिनै नारिहरु । तर म त्यसो सोच्न , स्वीकार्न र समर्थन गर्न सक्दिन , नारी भावना र चाहनाहरु कुल्चिनु र कोमल फुलहरू कुल्चिनु एकै सम्झंछु । अनि त्यसरी ठगिने, लुटीइने नारीहरुको लाखौ , करोडौंको भिडमा लियोनारा नपर्ली भन्ने के ठोकुवा छ यत्रो विशाल अधर्मी समाजमा ?

आँखामा त्यो काल्पनिक , असंभावित दुर्भाग्यको दृश्य मधुरो मधुरो र नरमाइलो लाग्छ , यस अर्थमा अब मलाई उसको झनै माया लाग्छ ।
फेरी चिंतित हुँदै मथिंगल घुम्न थाल्छ उसको अप्राप्ति प्रति, पाउनु अगावै को गुमाइ प्रति । लियोनारा फर्किन अब हप्ता दिन मात्र बाँकी थियो टिकट बुक भै सकेको थियो , कोर्स सकिएकोले अन्य साथिहरुसंग घुम्न हिंडेको पनि देखिन्थ्यो । एक दिन तिनीहरु सवै पसलमै आए फोटोहरु खिचे मलाई सहित सहभागी गराए त्यहि बखत लियोनारा र मेरो पनि एउटा फोटो खिच्ने भनियो सम्झनाको निमित्त , लहैलहैमा खिचियो पछिबाट अप्ठ्यारो अनुभव भयो । तुरुन्तै कपी गरेर केहि फोटोहरु राखें मैले पनि । अब उ छिटै फर्कदै छे भन्ने एक प्रकारको निरर्थक चिन्ताले थप सताई रहेथ्यो । उ फर्कनु एक दिन अगावै आई, दुई चार मानवीय भावनाका, सान्त्वनाका कुराहरु भए ! म, तिम्रो सहयोग र यो ठाउजीवनमा विर्सिन सक्दिन भंदैथिई मसंग लियोनारा । अब भोलि जाँदैछु तर भोलि आएर म तिमीलाई गुडबाई भन्न सक्दिन होला शायद , त्यसैले आज नै गुडबाई भन्दैछु है? त्यसो गर्दा त्यति नरमाइलो लाग्दैन ! थ्यांक यु सोमच फर एभ्रीथिंग… अलिक गह्रुङ्गो स्वरमा बोलि रहेकी थिइन् उनी

चिनो स्वरूप केहि दिनु पर्ला भनेर सानो सजाउने प्लेट किनेको थिएँ त्यहि दिंदै भनेँ -” हामी एउटा राम्रो साथि हौँ , यो सम्बन्ध यस्तै रही रहोस अनि तिम्रो जीवनको प्रत्येक पाइलामा सफलताको कामना” एक पटक हात मिलायौं ।
त्यस पछि उ बाहिरिई र फटाफट हिंडी ! फेरी एक पटक मनमनै वाई लियोनारा भनेँ ।

लियोनारा त्यों गल्लि को मुखबाट ओझेल भैसक्दा पनि म टोलाईनै रहेको रहेँ ।

Harihar Dahal – Kshatipurti (Nepali Laghu Katha)

हरिहर दाहाल – क्षतिपूर्ति (लघु कथा )

उजेली भक्कानो छोडेर रोई। मुटु पिटीपिटी रोई। सपनाहरू गर्ल्याम्गुर्लुम ढलेर आँफैलाई किचेझैं लाग्यो उसलाई। विवाह भएको तीन महिना बित्न नपाउदै कमाउन गएका श्रीमानको मृत्युको खबर कति हृदय बिदारक भयो होला, त्यो उजेलीलाई मात्र थाहा छ। श्रीमानलाई गर्भवती भएको खबर पनि सुनाउन नपाउदै मृत्युको समाचार पठाउने निर्दयी दैबलाई धारे हात लाएर सरापी। आँसु नसकुन्जेल रोई ऊ| आफन्त, छरछिमेक र गाँउले पनि रोए।

जीवनलाई सरल र सहज बनाउने अभिलाषा बोकेर बिदेस भासिएको अन्तरे बाक्सा भित्र लास बनेर फर्कनुको पीडालाई पत्र पत्रिकाले मुख्य समाचार बनाए। पत्रिकाको सम्पादकले सम्पादकीयमा अन्तरेको ब्यथा र बाध्यताका बारेमा कलम चलाए। पत्र पत्रिका पढ्ने पाठकहरू रोए र सिङ्गो देश रोयो।

राजनीतिक अस्थिरताका कारण देश भित्र अबसरका संभाबनाहरू नहुनु, भौतिक संरचनाहरू भत्काउनु र पुन निर्माण नगर्नु ,नेताहरू जनताप्रति उत्तरदायी नहुँनु, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका आँफै भ्रष्ट हुँनु, दण्डहीनताले पराकस्टा नाँघ्नु जस्ता अराजक परिस्थितिनै आम नेपालीहरूको पलायनको मुख्य कारण हो भनी सम्पादकले ठोकुवा गरे। सम्पादकको ससक्त कलमले देस भरी एउटा ज्वारभाटा नै सृजना गर्यो।।अन्तरेको मृत्यु राष्ट्रिय मुद्दा बन्यो।

मृतकको परिवारलाई उचित क्षतिपूर्तिका साथै मृतकलाई राष्ट्रिय शहिद घोषणा गरिनु पर्ने माग सहित उत्रिएको जनमहासागरको नेतृत्व गर्ने प्रमुख सज्जनसँग सरकारले घुँडा टेक्यो र बार्ता गर्न एउटा आयोग गठन गर्यो। आयोगले निर्धारित समयमा नै जिम्मेबारी पुरा गर्यो।

सरकारको निर्णय अनुसार मृतकको परिवारलाई क्षतिपूर्ति स्वरुप रु. ५० हज्जार तुरुन्त उपलब्ध गराईनुका साथै हेपिएका र दबिएका जनताका आवाजलाई सरकार समक्ष पुर्याउन महत्वपूर्ण योगदान पुर्याए बापत जनबिद्रोहको नेतृत्व गर्ने सज्जनलाई पुरस्कार स्वरुप रु १० लाख दिने घोषणा गर्यो। सरकारको यो निर्णयलाई सबैले मुक्तकण्ठले प्रसंसा गरे। र, यस ऐतिहाँसिक निर्णयपछि जनबिद्रोह पनि शान्त भो।

हरिहर दाहाल,क्यालिफोर्निया

Ramesh Bikal – Bhid Sangai Hindi Raheko Euta Manchhe

रमेश विकल – भीडसँगै हिंडिरहेको एउटा मान्छे
(रचना द्वैमासिक)

भीड लगातार अगाडि बढिरहेको थियो । ऊ पनि भीडसँगसँगै हिंडिरहेको थियो । सँगै हिंडिरहेको एउटा साथीले सोध्यो – “होइन, तँ हामी (भीड) सँग छस् कि छैनस् – ”

“तिमीहरूसँग नभएर कहाँ छु त म – … तिमीहरूसँगै त हिंडिरहेको छु म ।” – उसले जवाफ दियो तर साथीलाई चित्त बुझेन । उसले भन्यो – “तर म तँ लाई त हिंडिरहेको देख्तिन । तेरा गोडा मात्र हिंडिरहेको देख्छु म, तेरो मन कहाँ हिंडिरहेको छ र हामीसँग”

“हिंड्ने त गोडैले हो नि ! तिमीहरू पनि गोडैले त हिंडिरहेका छौ नि, होइन र <” उसले हाँसेर जवाफ दियो । तर सँगै हिंडिरहेको अर्को साथीले भन्यो – “होइन, कहिलेकाहीं गोडा र मन छुटाछुट्टै हिंड्छन् । मन त स्वतन्त्र हुन्छ । गोडाले हिड्दैमा ऊ पनि सँगै हिंड्छ भन्ने छैन ।”

“तर मन नहिंडी गोडामात्र त हिंड्नै सक्तैन । शरीरका सबै इन्द्रियलाई हिंडाउने त ‘मन’ नै होइन र <” – उसले गम्भीर भएर, तर हाँसेकै छन्दमा भन्यो । भीड हिडिरहेको थियो । ऊ पनि सँगै हिंडिरहेको थियो । भीडको माझबाट एउटा प्रश्न उठेर आकाशभरि फैलियो – “तर हामी कहाँ जाँदै छौं <”

“तत्काललाई त हामी खुला मञ्चमा जाँदैछौं । त्यहाँ हाम्रा नेताहरूले हामीलाई ‘नेतृत्व’ (मार्गदर्शन) दिंदैछन् । त्यहाँ आज पचासौं लाख जनता जम्मा हुन्छन् ।” – भीड बाटै अर्को आवाज उठ्यो । तर कुनै अर्कोले कुरा काट्यो – “होइन खुलामञ्चमा त्यत्रो – पचासौं लाख मानिस अटाउने ठाउँ कहाँ छ र <”

“आजलाई अटाउँछ; अटाउनै पर्छ । आजको यत्रो अभूतपूर्व ऐतिहासिक दिन ।” – पहिलोले जोडदार स्वरमा भन्यो । त्यत्तिकैमा भीडका अगिल्लो खण्ड खुला मञ्चमा पुगेर फैलियो । यो मञ्च मुलुकभरिका प्रमुख प्रमुख सहरहरूमा थियो । मञ्चमा ठूलाठूला नेताहरूको भाषण चलिरहेको थियो । भीडको वैरिने क्रम जारी थियो । कहाँबाट मात्र वैरिएका होलान् त यी मान्छेहरू सलहका बथान सरह ।

भव्य सजिएको मञ्चमा नेताहरूको बेग्लै भीड थियो । वक्ता नेता कुर्लिई कुर्लिई भाषण गरिरहेका थिए । त्यसलाई लक्ष्य गर्दै भीडबाट एउटा तीखो प्रश्न फैलियो । “नेताज्यू तपाईंहरू हामीलाई कता लाँदैहुनुहुन्छ – गन्तव्य के हो तपाईंहरूको <“बोलिरहेको नेता अलि अकमकियो । उसले आफू नजिकको अर्को नेतासँग कानेखुशी गर्‍यो । अनि भीडको प्रश्नतिर प्रतिप्रश्न हुर्र्‍यायो -“तपाईंहरू कहाँ जान चाहनुहुन्छ < किन भने तपाईंहरू सार्वभौमसत्ता सम्पन्न जनता ! जनताको इच्छा नै सर्वोपरि हुन्छ । जनता समूह हो – विश्वरूप हो भगवानको । समूहको (विश्वरूपको) इच्छा सामू व्यक्ति -नेता दल, पार्टीको इच्छाको केही मूल्य हुँदैन । भन्नोस् तपाईंहरू कहाँ जान चाहनुहुन्छ <”

“हामी प्रजातन्त्र पुनर्वहालीमा जान चाहन्छौं । हामी त्यहीं जान भनेर यत्रो लाठी मुङ्ग्री गोली खाएर आएका हुँ । – भीडमाझबाट एकजना बलिष्ठ युवक उठेर रोबदार आवाजमा भन्यो -मानौ ऊ नै यो सम्पूर्ण भीडको एक मात्र प्रतिनिधि हो । बोल्ने नेताले पनि आकाशतिर भालाजस्तो चोरी औंलो ठडयाएर भन्यो – “हो मैले तपाईहरूलाई त्यहीं लान ल्याएको । हामी लगभग त्यहाँ पुग्दैछौं । त्यसको पूवार्ध भेटिसकेका छौं । त्यसको पूर्व स्वरूप पुनर्जीवित भएर उभिइसकेको छ ! प्रतिगमनको शक्तिले हात खुट्टा छोडिसकेको छ ।” अब यसको उत्तर्रार्ध पूर्ण स्वरूपको भएर आउनु मात्र बाँकी छ । ”

यो नेता अगाडि अरू कोही बोल्न खोज्दै थियो, तर अर्को माइक्रो फोन अगाडि उभिएको नेताले उसलाई बोल्ने अवसर नदिएर भन्यो – “तर हामीले तपाईंहरूलाई लोकतन्त्रमा लान भनेर पो ल्याएका । हामी त्यहीं लान्छौं ‘राजा’ शब्दसँग अन्योन्याश्रति (राजाप्रजा) रहेको ‘प्रजातन्त्र’ धनी वर्गको विलासको साधन हो । हामीलाई धनको प्रभुत्वमा चल्ने प्रजातन्त्र होइन जनताको लोकतन्त्रमा जानु छ । ”

“तर लोकतन्त्र त हाम्रो एजेण्डामै छैन ।” – मञ्चको एउटा कुनामा खुम्चिएको अर्को नेताको स्वर उठ्न खोज्यो – “संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र (पुरानो संसद) को पुनर्जीवन ।” यहीं पुग्न त हिंडेका हौं हामी । अहिले फेरि कुरा फेर्नु त भएन नि ।”

“कुरा फेर्ने नफेर्ने मूल मुद्दा होइन । नेपाली जनता ‘राजा’ सँग अन्योन्याश्रित भएर टाँस्सिएको ‘प्रजा’ (राजा-प्रजा) तन्त्रमा जान होइन शुद्ध जनता (लोक)को सम्पत्ति ‘लोक तन्त्र’मा जान भनेर हिंडेको हो । त्यसैले दलहरूको एजेण्डामा छैन भने राख्नु पर्‍यो । कुनै एजेण्डाले बनाएको होइन लोक ! लोक (जनता)ले बनाएको हो एजेण्डा । ” – अपार भीडबाट तुमुल ध्वनि निस्कियो अनि मञ्चमा कुर्लिइ रहेका नेतागण पनि जोस्सिए । एउटा नेताले माइकबाटै चर्को आवाजमा नारा लगायो – “लोक तन्त्र !” “जिन्दावाद ! जिन्दावाद !!” – आँखाले भेटुञ्जेलसम्म मञ्च अगाडि अपार भीडको आकाश भेदी प्रत्युत्तरले दिगन्त थर्कायो । तर मञ्चमा बसेका नेताहरूको भीडबाट एउटा नेताको चर्को स्वर जनसमूहको स्वरलाई उछिनेर माइकमा गुञ्जियो – “लोक तन्त्र मात्र होइन गणतन्त्रोन्मुख लोक तन्त्र ! हाम्रो अभियान त्यसै निम्ति हो ! त्यसैले हाम्रो अहिलेको नारा हो ! – गणतन्त्रोन्मुख लोकतन्त्र !

“हो हो हामी लोक तन्त्रमा मात्र अड्दैनौं । हाम्रो गन्तव्य गणतन्त्र हो ! हामी गणतन्त्रमा जान्छौं !” भीडबाट केही सशक्त आवाजहरू उठे । त्यस आवाजको संक्रामक लहर वायुमण्डलमा लहराउँदै मञ्चतिर बढ्दै मञ्चमा विराजमान सप्तदली नेता उपनेता गणहरूमा मतैक्य खलबलियो बोली चर्को स्वरमा साट्टियो । त्यो चर्को स्वरले पनि बढ्दै हल्लाको रूप लियो ! हल्ला खल्लाले विकसित हुँदै झगडाकै रूप लियो ।

“संवैधानिक राजतन्त्र हो हाम्रो परंपरा ।”

“संवैधानिक राजतन्त्र मात्र होइन संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र- हाम्रो माटो सुहाउँदो तन्त्र संविधानले निर्दिष्ट गरेको तन्त्र ।”

“त्यो संविधान काम लाग्दैन अब ।”

“तर खारेज भएको छैन अझै सबै काम यसै अन्तरगत भैरहेका छन् ।”

“खारेज भैसकेको छ – जनताको मतले । नभएको भए गर्नुपर्छ । जनचाहना यही छ । संविधान सभा त्यसै कारणले ।”

“तर हाम्रो संविधान विश्वमा उत्कृष्ट संविधान ! सबैले भनेका । हामीले पनि मुक्त कण्ठले प्रशंशा गर्दै आएका । ”

“एउटै कुरा सधैं उत्कृष्ट रहिरहन्न; सधैं निकृष्ट पनि रहँदैन । सबै कुरा समय सापेक्ष हुन्छ । आजको हाम्रो माग अर्को संविधान ! संविधानसभा !”

“संविधानसभा अनि गणतन्त्र !”

“होइन, गणतन्त्रमा जाने बेला भएको छैन । हाम्रो देशले थाम्न सक्तैन त्यो । हाम्रा लागि लोक तन्त्र नै ठीक हुन्छ । ।”

“यो सोच प्रतिगामी सोच हो, देश र समाजको गति अवरुद्ध गर्ने । गणतन्त्रोन्मुख लोकतन्त्र नभै समाज देशले एक पाइला पनि अगि बढाउन सक्तैन । त्यसैले …. ”

“त्यसैले सीधा गणतन्त्र ।” – एउटा रोवीलो नेताले पहिलोको हातबाट माइक्रोफोन खोस्तै उच्च स्वरमा घोषणा गर्‍यो । “एकै फट्कोमा पुगिने ठाउँमा बीच बीच बेकारका अल्झोमा अल्झिएर ढिलाइ गर्नु प्रतिगमनको लक्षण हो । … प्रति क्रान्तिलाई मौका दिनु हो ।”

“होइन, यो व्यावहारिकता हो, सतर्कता हो, पोल्दा पोल्दैको भात नफुकी मुखमा हाल्दा जिब्रो डामिन्छ । यो मुखले मात्र गर्छ । मूर्खता प्रतिगमनको कारक हुन्छ ।”

“कसलाई भन्नुभो तपाईंले मूर्ख – ” – एउटा उपनेता जुरुक्क उठेर उग्र स्वरमा करायो । पहिले बोल्नेले पनि त्यस्तै ठाडो स्वरमा जवाफ दियो – “तपाईं आफैंलाई सम्झनु हुन्छ भने तपाईंलाई नै । मेरो विचारमा यस्तो प्रतिगामी प्रतिकृयावादी सोच राख्ने जति सबै मूर्ख – इतिहास नबुझने, समयको दिशासङ्केत नबुझने, राजनीति नै नबुझने स्वाँठ हो । हाम्रो लक्ष सीधा गणतन्त्र हो । ”

“होइन, त्यो हाम्रो माटोमा जन्मिएको होइन । …. हाम्रो आफ्नो त प्रजातन्त्र हो । हाम्रो परिचित ।”

“प्रजातन्त्र मात्र भन्नु धोका हो । लोकतन्त्रनै समाजका लागि उपयोगी हो ।”

मंचको हल्ला तीब्र हुन्छ । माइक खोसाखोसले मेच भाँचाभाँच । गाली गरागरको रूप लिन्छ । यो रोग संक्रामक हुँदै मञ्चमुनिको अपार भीडमा फैलियो । त्यहाँ पनि प्रत्येक मानिस प्रत्येक समूह, प्रत्येक गूट आफ्नो आफ्नो वर्चस्व कायम गर्न धक्कामुक्की गर्दै, एक अर्काको काँधमा चढ्दै अर्काको भन्दा आफ्नो स्वरलाई उग्र चर्को तुल्याउँदै, आफ्नो रुचि, आफ्नो अभीष्ट अनुरूप दिगन्त थर्काउँदै आकाशको छाती चिर्ने गरी नारा लगाउनथाले; लाखौं अन्धा मुक्काहरूले आकाशको छातीमा प्रहार गर्न थाले – “ईन्कलाब – जिन्दावाद !”

“प्रजातन्त्र – जिन्दावाद, जिन्दावाद !”

“लोक तन्त्र – जिन्दावाद, जिन्दावाद !”

“गणतन्त्रोन्मुख लोकतन्त्र – जिन्दावाद, जिन्दावाद !”

“जन-गणतन्त्र- लोकतन्त्र – जिन्दावाद, जिन्दावाद !”

त्यसै बेला त्यहाँ एउटा भीडबाट विचित्र नौलो दृश्य देखियो ! नौलो स्वर नौलो आवाज गुँजियो । एउटा मान्छे बीर अस्पतालको माथिल्लो वरण्डामा उक्लिएर घनगर्जन स्वरमा घोषणा गर्दैथियो :–

“मान्छे – मूर्दावाद ! मूर्दावाद !!”

“मानवतन्त्र – मूर्दावाद ! मूर्दावाद !!”

त्यो त्यही शुरुदेखि भीड सँगसँगै एक्लो हिडिरहेको मान्छे थियो ।

२०६३ जेठ १६

Krishna Dev Rimal – Antim Malami

कृष्णदेव रिमाल – अन्तिम मलामी

यतिखेर कसैले सोधेमा मैले आफू मलामी भएको परिचय दिनै पर्ने हुन्छ । मेरो अगाडि चिता दन्किरहेको छ । दागबत्ती दिनुभन्दा पहिले मूढाहरूको चाङमाथि शव सुताइएको थियो । मृतकका छोरा रमेश शोकाकूल थिए , विह्वल थिए । अनिवार्य नियतिलाई भोग्न बाध्य थिए र सो भोग्दै थिए । बत्ती लिएर तीन पटक लडखडाउँदै चितामाथिको शव घुमेपछि टक्क रोकिए रमेश । संस्कार—निर्देशकहरूको निर्देशन नसुनेर होइन, मन सुन्निएर तन नचल्नाले मात्र हो । रमेश एकोहोरो टोलाइरहे । मनको आँखाले जिउँदा बालाई पो देख्न थाले । पुरोहितको दोस्रो आज्ञा आएपछि झस्किएर उनी हल्लिए र हत्पतिए झैं गरेर बाबुको मुखमा दाग नामधारी बत्ती झोसे । कपूर,घिऊ, तुलसीको डाँठ,पराल अनि मसीनु पारेर चिरिएको समिधा हुँदै काला टुप्पा भएका पँहेला आगाका लप्काहरू यमानका मूढाहरूतिर सल्कँदै गयो । आगाको अघोर दन्काइभित्र शव अदृष्य हुँदै गयो । रमेश आँखा चिम्म पारेर आकाशतिर फर्किए । सन्नाटामय रातमा सबै मलामीहरू मसँगै रमेशका दायाँ बायाँ बसेर दृश्य दन्काउँदै थिए । रमेश आकाशतर्फ फर्किएपछि म पनि आकाश हेर्न थालेँ ।

शुक्ल द्वादशीको वृत्ताकारोन्मुख चन्द्रमा चिताको ठीक माथिको आकाशबाट आर्यघाटीय कृत्यानन्द लुटिरहेथ्यो । चन्द्रमाको छेवैमा एउटा गजवको तारा आफैंलाई सजाएर चम्किरहेको थियो । बाँकी आकाश कालो थियो । मर्नेहरू तारा बन्छन् भन्ने कथा सुनेको थिएँ । त्यो एक्ले ताराले मलाई कस्तो कस्तो बनायो । रमेशलाई तारा देखाउँ देखाउँ लागेर आयो तर यस युगमा यस्ता कुराले उनको आहत घट्ला भन्नेमा आफैँ अविश्वस्त भएँ र देखाउन सकिन ।

केही घण्टा अघि शिवपुरी लेक वर्षामय थियो । अहिले उर्लिरहेको वागमतीले सोको पुष्टि गरिरहेछ । आज वागमतीमा ढलको दुर्गन्ध छैन बरु पाँगो माटोको सुगन्ध आइरहेछ । हज्जारौँ घनमिटर माटो पानीसँग लुटपुटिएर बंगालको यात्रा तय गर्दैछ । वास्तवमा वागमती उर्लिएकै दिन त हो नि काठमाण्डु सफा हुने । हरेक सालको वर्षाले यस उपत्यकाको सभ्यतामा उर्जा थप्ने गरेको छ । सो आज पनि थपिएको भान भैरहेछ ।

वागमती नदी मानवको पर्याय झैँ पो लाग्छ त आजकल । साँच्चै दुबै उस्तै छन् । कुशासनको ढल मानव जीवन माथि छङ्छङी खसालिएका बखत ढलाम्य वागमती भन्दा मानव जीवन कति पो टाढा बोध हुन्छ र । अहो, आज वागमतीमा ढलको दुर्गन्ध छैन ! केवल धमिलो पानी बग्दैछ । वागमती ठूलो छ आज, त्यसैले ढलहले छोप्न सक्या छैन बरु अदृश्य भएका छन् तिनिहरूनै । मैले मनमनै भनें– चार दिनको चाँदनी फेरि अँधेरी रात नभैदिउन् वागमती त्यसैगरी, जसरी जनआन्दोलनका भेलहरूले भत्काएका अव्यवस्थाका पर्खालहरू मुटुको शूल बनेर नठडियून् जनजिन्दगीहरूमा ।

म ढलनगरस्थित कल्पनाकोठीमा घुिमरहँदा पुरोहितले म नजिकै बसेका रमेशलाई बोलाए । म झसङ्ग भएँ । रमेश चिता नजिकै पुगे । अलिकति चामल,जौ,तिल कुश अनि एउटा टिलो बाबुको चिता नजिकैको भुईँमा चढाए । अलिकता जल पनि चढाए । फर्केर मनेरै आएर बसे रमेश ।

पाटीको टुँडालमा एउटा बाँदर सुतिरहेको थियो । चिताको तातोमा ऊ आह्लादित झैँ लाग्थ्यो ।ऊ एक्कासी थाम हुँदै सुलुत्त तल झ¥यो । चिता नजिकै गएर टप्पाटपी चामल टिपेर खान थाल्यो । ऊ असाध्यै खुसी देखिन्थ्यो ।उसले मानिसलाई उपकारी प्राणी सम्झेझैँ लाग्थ्यो ।अनुग्रह मिश्रित आँखाले पुलुक्क मलामीको लामतिर हे¥यो । मलामीको मौनताले उसलाई अझै हौस्यायो अनि ढुक्कसँग पेटभरी चामल खायो । सिनित्तै पारेर चामल ननिखारेसम्म ऊ चनाखो भएर खाईरह्यो ।सकिएपछि फेरी टुँडालमै गएर मजाले सुत्यो ।यसरी लाशको आशमा टुँडाल कुर्ने अनि चिताको रापमा अलमस्त सुत्ने यस्ता बाँदरहरु यस देशमा कति होलान् भन्ने चिन्ताले म खग्रास भएँ ।

वाग्मतीपारी एउटा भजनटोली शिव आरतिमा तन्मय देखिन्छ ।शंकराचार्यकृत शिवस्तोत्र, रावणकृत शिवस्तोत्र र अन्य शिव भजनहरु संगीत सहित गुञ्जीरहेका थिए ।साँच्चै भजन शान्तीकारक अभिव्यक्ति रहेछ । साङ्गीतिक सघनताले पाशुपत क्षेत्रको आकाश घनिभूत भए झैँ अनुभव भइरहेथ्यो । आफन्त वियोगको पीडामय क्षणमा समेत संगीतले राहत पस्कँदो रहेछ । नत्र त रमेश बेला बेला चिताबाट ध्यान झिकेर पारी संगीत टोलमा नपु¥याउँदा हुन् नि । आफन्त वियोग र संगीत सामिप्यताको बिच सायद कुनै अन्योन्याश्रीत संबन्ध पो छ कि ।

अलिपरको एउटा अर्को चिताबाट बियोगपिडा विभुभर मडारियो ।नारी चित्कारहरु हाम्रा कानैसम्म आइपुग्यो । अरण्य रोदनको आवाजले अनायास म थाहै नपाइ उतै खिंचिएछु । चारवटी महिला मुख जोडेर अँगालामा बाँधिएर रुँदै थिए । रोदन मिश्रित आवाजहरु उति बुझिएनन् । अभिब्यक्त विरह नेपाल भाषामा भएकोले पनि कम बुझिएको हुन सक्छ । “ए माँ जित त्वता छाय् वना, जी गथे याना म्वाना च्वने ।” यस्तै थिए पिडाका स्वरहरु ।

जाने गैगए यसरि नरोए हुने नि । मेरो मनले अघिनै देखि भनेको कुरा यतिखेर प्वाक्क मुखबाटै निस्केछ । सुनेपछि एकजना मित्र मलामीले प्रतिक्रिया जनाइहाले । हम दो हमारे दो भन्ने कुरा बुझेका मान्छे यसरी रुँदैनन् ।

यो त भारतिय परिवार नियोजनको नारा जस्तो पो छ । नेपालीमा पनि यस्तै नारा छ — हामी दुई हाम्रा दुई । मैले प्रतिक्रिया जनाएँ ।

मित्र मलामी—त्यो त प्रष्टै छ नि ।

म —अनि अप्रष्ट चैँ के छ त ?

मित्र मलामी —यसको लाक्षणिक अर्थ छ ।

म —???

मित्र मलामी —’हम दो भनेको आत्मा र परमात्मा, हमारे दो’ भनेको शरीर र संसार । परमात्माको एक अणु आत्मा हो । हरेक आत्माहरु परम् आत्माबाट स्खलीत बुँदहरु हुन् जो पुनः परम् आत्मामा एकाकार हुन्छन् । आत्माको स्खलन आधार शरीर हो । शरीर सांसारीक भौतिक बस्तुहरुबाट निर्मित छ । यस अर्थमा संसारबाट स्खलित शुक्ष्म इकाइ शरीरहरु हुन् , जो पुनः परम् संसारमा एकाकार हुन्छ । आमा जीबको छातिमा बच्चाजीब खेलेजस्तै संसारको छातिमा शरीर रङमङीन्छ र समय भएपछि त्यही संसारमा मिल्न जान्छ ।

चिता पखाल्ने बेला भो । मृत शरीर खरानी बनेर वाग्मतीमा बग्यो । त्यही चितामा भर्खर सुताईएको भर्भराउँदो अनुहार भएको शव अब छैन । चीता उजाड छ । सबै मलामी फर्के म पनि फर्केँ । बाटाभरी अनेक तर्कनाहरु ज्वार झैँ उर्लिएको मन बोकेर हिडिरहेँ । स्वास्थ बजेटहरुको मलाम जान पाए हुन्थ्यो । किन यसरि उपचार नपाएका असामयिक मृत्युहरुको मलाम जान परिरहेछ । जीवनजलको कमिशन खानेहरुका मलाम जान पाए हुन्थ्यो । किन यसरि झाडापखालाको कारण मर्नेहरुको मलाम जान परिरहेछ । कुशाशनको मलाम जान पाए हुन्थ्यो । किन यसरि सभ्यताहरुको मलाम जान परिरहेछ ।

म घर आइपुगेको छु । मलामीको परिचय सकिनु पर्ने हो मबाट तर मलामीबोध अझै हटेन । रातभरी मलामी गैरहेछु जस्तो लाग्छ । कैले शुशाशनको मलामी जाँदैछु झैँ लाग्छ कैले सभ्यता मुर्दा भैmँ बाँधिएर मेरो अघि अघि चितातिर गैरहेछ जस्तो लाग्छ । हे मेरा मित्र मलामीहरु मलाइ अझै मलामी जान मन छ । एक पटक फेरि सबै मलामी जाउँ । एकैचोटी थुप्रै लाशहरु बोकेर मलामी जाउँ । अशिक्षाको हत्या गरौं र त्यसकै मलामी जाउँ । अविकाशको हत्या गरौँ र त्यसको मलामी जाउँ । अन्धकारको हत्या गरौँ र त्यसको मलामी जाउँ । समग्र कुशाशनको हत्या गरौँ अनि विजयोत्सव मनाउँदै त्यसकै मलामी जाउँ । आउनोस मित्रहरु म अघि लाग्न किञ्चित र किमार्थ हिच्किचाउँदिन । अव हामी अन्तिम मलामी जाउँ । हो अन्तिम मलामी जाउँ ।