Harihar Dahal – Kshatipurti (Nepali Laghu Katha)

हरिहर दाहाल – क्षतिपूर्ति (लघु कथा )

उजेली भक्कानो छोडेर रोई। मुटु पिटीपिटी रोई। सपनाहरू गर्ल्याम्गुर्लुम ढलेर आँफैलाई किचेझैं लाग्यो उसलाई। विवाह भएको तीन महिना बित्न नपाउदै कमाउन गएका श्रीमानको मृत्युको खबर कति हृदय बिदारक भयो होला, त्यो उजेलीलाई मात्र थाहा छ। श्रीमानलाई गर्भवती भएको खबर पनि सुनाउन नपाउदै मृत्युको समाचार पठाउने निर्दयी दैबलाई धारे हात लाएर सरापी। आँसु नसकुन्जेल रोई ऊ| आफन्त, छरछिमेक र गाँउले पनि रोए।

जीवनलाई सरल र सहज बनाउने अभिलाषा बोकेर बिदेस भासिएको अन्तरे बाक्सा भित्र लास बनेर फर्कनुको पीडालाई पत्र पत्रिकाले मुख्य समाचार बनाए। पत्रिकाको सम्पादकले सम्पादकीयमा अन्तरेको ब्यथा र बाध्यताका बारेमा कलम चलाए। पत्र पत्रिका पढ्ने पाठकहरू रोए र सिङ्गो देश रोयो।

राजनीतिक अस्थिरताका कारण देश भित्र अबसरका संभाबनाहरू नहुनु, भौतिक संरचनाहरू भत्काउनु र पुन निर्माण नगर्नु ,नेताहरू जनताप्रति उत्तरदायी नहुँनु, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका आँफै भ्रष्ट हुँनु, दण्डहीनताले पराकस्टा नाँघ्नु जस्ता अराजक परिस्थितिनै आम नेपालीहरूको पलायनको मुख्य कारण हो भनी सम्पादकले ठोकुवा गरे। सम्पादकको ससक्त कलमले देस भरी एउटा ज्वारभाटा नै सृजना गर्यो।।अन्तरेको मृत्यु राष्ट्रिय मुद्दा बन्यो।

मृतकको परिवारलाई उचित क्षतिपूर्तिका साथै मृतकलाई राष्ट्रिय शहिद घोषणा गरिनु पर्ने माग सहित उत्रिएको जनमहासागरको नेतृत्व गर्ने प्रमुख सज्जनसँग सरकारले घुँडा टेक्यो र बार्ता गर्न एउटा आयोग गठन गर्यो। आयोगले निर्धारित समयमा नै जिम्मेबारी पुरा गर्यो।

सरकारको निर्णय अनुसार मृतकको परिवारलाई क्षतिपूर्ति स्वरुप रु. ५० हज्जार तुरुन्त उपलब्ध गराईनुका साथै हेपिएका र दबिएका जनताका आवाजलाई सरकार समक्ष पुर्याउन महत्वपूर्ण योगदान पुर्याए बापत जनबिद्रोहको नेतृत्व गर्ने सज्जनलाई पुरस्कार स्वरुप रु १० लाख दिने घोषणा गर्यो। सरकारको यो निर्णयलाई सबैले मुक्तकण्ठले प्रसंसा गरे। र, यस ऐतिहाँसिक निर्णयपछि जनबिद्रोह पनि शान्त भो।

हरिहर दाहाल,क्यालिफोर्निया

Harihar Dahal – Asahamati (Nepali Laghu Katha)

हरीहर दाहाल- असहमती (लघु कथा)

बैठक ठीक १० बजे शुरु भयो।प्राबासी समाजका प्रतिष्ठित भद्र पुरुष तथा महिलाहरुको सहभागीता रहेको त्यस सम्मानित उपस्थितीले प्रबासमा रहेका नेपालीहरुलाई सँगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए।

यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो।तुरुन्त संस्थाको नाम जुराइयो। तयारी समिती बनाउने निर्णय भयो।मुख्य तयारी समिती,सदस्यता बिस्तार समिति,भाषा, धर्म,जाति,परम्परा,संस्कृति,सभ्यता,भेसभुषा र साहित्य संबर्धन समिति,कोश परिचालन समिति,आकस्मिक सहयोग समिति,खेलकुद समिति,सल्लाहाकार समिति,जनचेतना अभियान समिति,जनसंपर्क समिति,निर्माण समिति,साजसज्जा समिती र आबस्यक भए अझै उपसमितिहरु बिस्तार गर्न सक्ने गरी बिभिन्न कार्य समितिहरु बने। प्रस्तावित नाम र निर्णयहरुलाई सतप्रतिशत उपस्थितिले अनुमोदन गर्‍यो।

सहमती र समर्थनका नाममा बजेको तालिले सभाकक्ष गुन्जयमान भयो।

कार्यक्रम संचालकले बैठकमा उपस्थित भएका संपुर्ण देसप्रेमी समाजसेवीहरुलाई आफ्नो देश र समाज प्रति प्रतिबद्ध भएर आफ्नो जाती र देशका नाममा एकजुट हुन सकेकोमा धन्यवाद दिदै कार्यक्रमको अन्त्यमा आयोजित रात्री भोजमा सरीक हुन आग्रह पस्कदै बैठक अन्त्य भएको घोषणा गरे ।

भोजमा सबैले दिल खोलेर मिस्टान परिकारहरु जिब्रो पट्काउदै खाए र बिकासे मदिरा पिए।आयोजकलाई सबैले हृदय देखिनै आभार ब्यक्त गर्दै प्रसंसा गरे।

भोली पल्ट बिहानै स्थानिय बित्धुतिय संचार माध्यमबाट बैठकमा उपस्थित भए मध्धेका ५० प्रतिशत समाजसेवीहरुले अघिल्लो दिन भएका कुनै पनि निर्णयमा आफ्नो सहमती नरहेको भन्दै बक्तब्य निकाले जहाँ भनिएको थियो-

“हामीहरु कुनै पनि समितिमा नपरेकोमा गुनासो नरहेको,देश र समाज प्रती सधैं बफादार र जिम्मेबार रहेको र आफ्नो जाती प्रती बिनासर्त सहयोग गर्न सधैं तयार रहेको तर हिजो भएको बैठकको निर्णयमा चाँही हाम्रो पक्षको सहमती नरहेको हुँदा अर्को उपयुक्त संस्था गठन प्रकृयामा सामेल हुन आग्रह गर्दछौं।”

Harihar Dahal – Samaj Sewa [Nepali Laghu Katha]

हरिहर दाहाल – समाजसेवा – लघु कथा

ऊ नम्रतामा विश्वाश गर्छ। सबैलाई झुकेर नमस्कार गर्नु उसको बानी हो। समयले भ्याएसम्म र क्षमताले पुगेसम्म मानबिय आपद-बिपदका अबसरमा चन्दा दिन्छ। सकेजति सबैलाई सहयोगको हात बढाउछ। कसैलाई हुन्न र गर्दिन नभन्नु उसको कमजोरी हो। भ्याए र सकेजति गर्छ पनि। मेलमिलाप र सद्भाबमा विश्वाश गर्छ। आफुले सहेर अरुलाई हँसाउनुमा ऊ रमाउँछ। आँफै अघि सरेर सामाजिक उत्सब,पर्ब र अबसरहरूमा सहभागिता जनाउँछ र सकेजतिको जिम्बेबारी पनि लिन्छ। प्राय सबैखाले सामाजिक कार्यक्रम र मरौपरौमा उपस्थित हुन्छ। हुन नसक्दा दु:ख मान्छ। आफ्नो घर परिवारलाई भन्दा पनि बढी समाजलाई महत्व दिन्छ।यसरी समाजसेवा जस्तो पवित्र काममा थोरै भए पनि संलग्न हुन पाएको र गर्न सकेकोमा आफुलाई भाग्यमानी ठाँन्छ।

समय बित्दै जाँदा उस्का बारेमा बिभिन्न खाले प्रतिकृयाहरू बजारमा आउन थाल्छन। मान्छेहरू भन्छन, त्यो फटाहा हो। सबैलाई नमस्कार टक्र्याउछ किनकि ऊ सबैको अगाडि प्रिय हुन चाँहन्छ। जताततै चन्दा दिन्छ किनकि ऊ नाम कमाउन चाँहन्छ । जहाँतही उपस्थित हुन्छ किनकि सबैलाई धन्यबादी बनाउन चाँहन्छ । सबै संघ-सस्थामा हात हाल्छ किनकि ऊ नामको भोको छ। हरेक उत्सबहरूमा सहभागी हुन प्रोत्साहित गर्छ र टिकट बेच्छ किनकि यसबाट प्राप्त हुने मुनाफाबाट उस्लाई घर परिबारको गुजारा चलाऊन सजिलो हुन्छ ।

यस्ता आरोप, प्रत्यारोप र बिरोधका शब्दहरू सुनेर ऊ मर्माहात हुन्छ। उस्को अन्तर मनले भन्छ- तँ समाज सेवा गर्न बन्द गर । घर परिवारको गाँस काटेर गरेको समाजसेवाको परीणाम तिरस्कार हुन सक्दैन। केबल परिवारको वरीपरी घुमेर बस। मोज मस्ती गर। के तैले समाज सुधार र बिकासको ठेक्का लिएको छस र ? अर्काको नाममा पैसा र समय खर्च नगर।सकेजती सम्पत्ति कमा,बचा र आफु संपन्न हो।भौतिक सुबिधा संपन्न जिबन भोग। अर्को मन ले भन्छ- खराब नियतले सहयोगी हुन खोजेको नाटक गरेको होस् भने तँ दोषी छस नत्र अर्काले बिरोध गर्दैमा तेरो के नोक्सान भएको छ र ? जो केही गर्दैन ऊ केबल बिरोध मात्र गरिरहन्छ। त्यस्ता कृतघ्नहरू समाजका बाधक हुन। तिनिहरू समाजका धमिरा हुँन। उस्ले आफ्नो शरीरका सबै अँगहरू छाँम्छ,सबै अँगहरू यथास्थितिमा पाँउछ । टाउकोमा भएका केशराशीहरू छाँम्छ, एउटै केश पनि झरेको हुँदैन। उस्ले निर्णय गर्छ-कसैले बिरोध गर्दैमा मानवसेवा जस्तो पवित्र काम रोक्नु भनेको निकम्माहरूको आत्माबल बढाउनु हो।