Krishna Dev Rimal – Antim Malami

कृष्णदेव रिमाल – अन्तिम मलामी

यतिखेर कसैले सोधेमा मैले आफू मलामी भएको परिचय दिनै पर्ने हुन्छ । मेरो अगाडि चिता दन्किरहेको छ । दागबत्ती दिनुभन्दा पहिले मूढाहरूको चाङमाथि शव सुताइएको थियो । मृतकका छोरा रमेश शोकाकूल थिए , विह्वल थिए । अनिवार्य नियतिलाई भोग्न बाध्य थिए र सो भोग्दै थिए । बत्ती लिएर तीन पटक लडखडाउँदै चितामाथिको शव घुमेपछि टक्क रोकिए रमेश । संस्कार—निर्देशकहरूको निर्देशन नसुनेर होइन, मन सुन्निएर तन नचल्नाले मात्र हो । रमेश एकोहोरो टोलाइरहे । मनको आँखाले जिउँदा बालाई पो देख्न थाले । पुरोहितको दोस्रो आज्ञा आएपछि झस्किएर उनी हल्लिए र हत्पतिए झैं गरेर बाबुको मुखमा दाग नामधारी बत्ती झोसे । कपूर,घिऊ, तुलसीको डाँठ,पराल अनि मसीनु पारेर चिरिएको समिधा हुँदै काला टुप्पा भएका पँहेला आगाका लप्काहरू यमानका मूढाहरूतिर सल्कँदै गयो । आगाको अघोर दन्काइभित्र शव अदृष्य हुँदै गयो । रमेश आँखा चिम्म पारेर आकाशतिर फर्किए । सन्नाटामय रातमा सबै मलामीहरू मसँगै रमेशका दायाँ बायाँ बसेर दृश्य दन्काउँदै थिए । रमेश आकाशतर्फ फर्किएपछि म पनि आकाश हेर्न थालेँ ।

शुक्ल द्वादशीको वृत्ताकारोन्मुख चन्द्रमा चिताको ठीक माथिको आकाशबाट आर्यघाटीय कृत्यानन्द लुटिरहेथ्यो । चन्द्रमाको छेवैमा एउटा गजवको तारा आफैंलाई सजाएर चम्किरहेको थियो । बाँकी आकाश कालो थियो । मर्नेहरू तारा बन्छन् भन्ने कथा सुनेको थिएँ । त्यो एक्ले ताराले मलाई कस्तो कस्तो बनायो । रमेशलाई तारा देखाउँ देखाउँ लागेर आयो तर यस युगमा यस्ता कुराले उनको आहत घट्ला भन्नेमा आफैँ अविश्वस्त भएँ र देखाउन सकिन ।

केही घण्टा अघि शिवपुरी लेक वर्षामय थियो । अहिले उर्लिरहेको वागमतीले सोको पुष्टि गरिरहेछ । आज वागमतीमा ढलको दुर्गन्ध छैन बरु पाँगो माटोको सुगन्ध आइरहेछ । हज्जारौँ घनमिटर माटो पानीसँग लुटपुटिएर बंगालको यात्रा तय गर्दैछ । वास्तवमा वागमती उर्लिएकै दिन त हो नि काठमाण्डु सफा हुने । हरेक सालको वर्षाले यस उपत्यकाको सभ्यतामा उर्जा थप्ने गरेको छ । सो आज पनि थपिएको भान भैरहेछ ।

वागमती नदी मानवको पर्याय झैँ पो लाग्छ त आजकल । साँच्चै दुबै उस्तै छन् । कुशासनको ढल मानव जीवन माथि छङ्छङी खसालिएका बखत ढलाम्य वागमती भन्दा मानव जीवन कति पो टाढा बोध हुन्छ र । अहो, आज वागमतीमा ढलको दुर्गन्ध छैन ! केवल धमिलो पानी बग्दैछ । वागमती ठूलो छ आज, त्यसैले ढलहले छोप्न सक्या छैन बरु अदृश्य भएका छन् तिनिहरूनै । मैले मनमनै भनें– चार दिनको चाँदनी फेरि अँधेरी रात नभैदिउन् वागमती त्यसैगरी, जसरी जनआन्दोलनका भेलहरूले भत्काएका अव्यवस्थाका पर्खालहरू मुटुको शूल बनेर नठडियून् जनजिन्दगीहरूमा ।

म ढलनगरस्थित कल्पनाकोठीमा घुिमरहँदा पुरोहितले म नजिकै बसेका रमेशलाई बोलाए । म झसङ्ग भएँ । रमेश चिता नजिकै पुगे । अलिकति चामल,जौ,तिल कुश अनि एउटा टिलो बाबुको चिता नजिकैको भुईँमा चढाए । अलिकता जल पनि चढाए । फर्केर मनेरै आएर बसे रमेश ।

पाटीको टुँडालमा एउटा बाँदर सुतिरहेको थियो । चिताको तातोमा ऊ आह्लादित झैँ लाग्थ्यो ।ऊ एक्कासी थाम हुँदै सुलुत्त तल झ¥यो । चिता नजिकै गएर टप्पाटपी चामल टिपेर खान थाल्यो । ऊ असाध्यै खुसी देखिन्थ्यो ।उसले मानिसलाई उपकारी प्राणी सम्झेझैँ लाग्थ्यो ।अनुग्रह मिश्रित आँखाले पुलुक्क मलामीको लामतिर हे¥यो । मलामीको मौनताले उसलाई अझै हौस्यायो अनि ढुक्कसँग पेटभरी चामल खायो । सिनित्तै पारेर चामल ननिखारेसम्म ऊ चनाखो भएर खाईरह्यो ।सकिएपछि फेरी टुँडालमै गएर मजाले सुत्यो ।यसरी लाशको आशमा टुँडाल कुर्ने अनि चिताको रापमा अलमस्त सुत्ने यस्ता बाँदरहरु यस देशमा कति होलान् भन्ने चिन्ताले म खग्रास भएँ ।

वाग्मतीपारी एउटा भजनटोली शिव आरतिमा तन्मय देखिन्छ ।शंकराचार्यकृत शिवस्तोत्र, रावणकृत शिवस्तोत्र र अन्य शिव भजनहरु संगीत सहित गुञ्जीरहेका थिए ।साँच्चै भजन शान्तीकारक अभिव्यक्ति रहेछ । साङ्गीतिक सघनताले पाशुपत क्षेत्रको आकाश घनिभूत भए झैँ अनुभव भइरहेथ्यो । आफन्त वियोगको पीडामय क्षणमा समेत संगीतले राहत पस्कँदो रहेछ । नत्र त रमेश बेला बेला चिताबाट ध्यान झिकेर पारी संगीत टोलमा नपु¥याउँदा हुन् नि । आफन्त वियोग र संगीत सामिप्यताको बिच सायद कुनै अन्योन्याश्रीत संबन्ध पो छ कि ।

अलिपरको एउटा अर्को चिताबाट बियोगपिडा विभुभर मडारियो ।नारी चित्कारहरु हाम्रा कानैसम्म आइपुग्यो । अरण्य रोदनको आवाजले अनायास म थाहै नपाइ उतै खिंचिएछु । चारवटी महिला मुख जोडेर अँगालामा बाँधिएर रुँदै थिए । रोदन मिश्रित आवाजहरु उति बुझिएनन् । अभिब्यक्त विरह नेपाल भाषामा भएकोले पनि कम बुझिएको हुन सक्छ । “ए माँ जित त्वता छाय् वना, जी गथे याना म्वाना च्वने ।” यस्तै थिए पिडाका स्वरहरु ।

जाने गैगए यसरि नरोए हुने नि । मेरो मनले अघिनै देखि भनेको कुरा यतिखेर प्वाक्क मुखबाटै निस्केछ । सुनेपछि एकजना मित्र मलामीले प्रतिक्रिया जनाइहाले । हम दो हमारे दो भन्ने कुरा बुझेका मान्छे यसरी रुँदैनन् ।

यो त भारतिय परिवार नियोजनको नारा जस्तो पो छ । नेपालीमा पनि यस्तै नारा छ — हामी दुई हाम्रा दुई । मैले प्रतिक्रिया जनाएँ ।

मित्र मलामी—त्यो त प्रष्टै छ नि ।

म —अनि अप्रष्ट चैँ के छ त ?

मित्र मलामी —यसको लाक्षणिक अर्थ छ ।

म —???

मित्र मलामी —’हम दो भनेको आत्मा र परमात्मा, हमारे दो’ भनेको शरीर र संसार । परमात्माको एक अणु आत्मा हो । हरेक आत्माहरु परम् आत्माबाट स्खलीत बुँदहरु हुन् जो पुनः परम् आत्मामा एकाकार हुन्छन् । आत्माको स्खलन आधार शरीर हो । शरीर सांसारीक भौतिक बस्तुहरुबाट निर्मित छ । यस अर्थमा संसारबाट स्खलित शुक्ष्म इकाइ शरीरहरु हुन् , जो पुनः परम् संसारमा एकाकार हुन्छ । आमा जीबको छातिमा बच्चाजीब खेलेजस्तै संसारको छातिमा शरीर रङमङीन्छ र समय भएपछि त्यही संसारमा मिल्न जान्छ ।

चिता पखाल्ने बेला भो । मृत शरीर खरानी बनेर वाग्मतीमा बग्यो । त्यही चितामा भर्खर सुताईएको भर्भराउँदो अनुहार भएको शव अब छैन । चीता उजाड छ । सबै मलामी फर्के म पनि फर्केँ । बाटाभरी अनेक तर्कनाहरु ज्वार झैँ उर्लिएको मन बोकेर हिडिरहेँ । स्वास्थ बजेटहरुको मलाम जान पाए हुन्थ्यो । किन यसरि उपचार नपाएका असामयिक मृत्युहरुको मलाम जान परिरहेछ । जीवनजलको कमिशन खानेहरुका मलाम जान पाए हुन्थ्यो । किन यसरि झाडापखालाको कारण मर्नेहरुको मलाम जान परिरहेछ । कुशाशनको मलाम जान पाए हुन्थ्यो । किन यसरि सभ्यताहरुको मलाम जान परिरहेछ ।

म घर आइपुगेको छु । मलामीको परिचय सकिनु पर्ने हो मबाट तर मलामीबोध अझै हटेन । रातभरी मलामी गैरहेछु जस्तो लाग्छ । कैले शुशाशनको मलामी जाँदैछु झैँ लाग्छ कैले सभ्यता मुर्दा भैmँ बाँधिएर मेरो अघि अघि चितातिर गैरहेछ जस्तो लाग्छ । हे मेरा मित्र मलामीहरु मलाइ अझै मलामी जान मन छ । एक पटक फेरि सबै मलामी जाउँ । एकैचोटी थुप्रै लाशहरु बोकेर मलामी जाउँ । अशिक्षाको हत्या गरौं र त्यसकै मलामी जाउँ । अविकाशको हत्या गरौँ र त्यसको मलामी जाउँ । अन्धकारको हत्या गरौँ र त्यसको मलामी जाउँ । समग्र कुशाशनको हत्या गरौँ अनि विजयोत्सव मनाउँदै त्यसकै मलामी जाउँ । आउनोस मित्रहरु म अघि लाग्न किञ्चित र किमार्थ हिच्किचाउँदिन । अव हामी अन्तिम मलामी जाउँ । हो अन्तिम मलामी जाउँ ।