Bibhor Baral – Prem Patra

विभोर बराल – प्रेमपत्र

मेघनालाई देख्दा अचेल मलाई किन किन त्यो केटीको याद आउँछ । त्यो कथा । एउटा केटा र केटीको कथा।

“दुख भनेककै सम्बन्ध त हो नि । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दुखको ।”
ऊ सानै थिई तर थिई मेरी गुरुआमा । कति छिटै सुरू भयो उसको अलौकिक सफर, भिन्नै सफर, मान्छेले बनाएको नौलो ब्रह्माण्डको सफर ।

“प्रेम आफैँ बस्छ । हो आफैँ, सोचेर पनि प्रेम गरिन्छ र?”
निधारबाट तल झरेर आँखा छोप्न आइपुगेका कपाललाई पन्छाउँदै उसले भनी । म मौन रहेँ ।

“त्यो हरि भन्छ प्रेम एउटा खेल हो र उसले कुनै पनि खेलमा हार्न जानेको छैन । के प्रेम साँच्चै एउटा खेल हो त राज?”

मसँग मौनता बाहेक उसको प्रश्नको लागि अर्को उपयुक्त उत्तर नै थिएन ।

“तर म मान्दिन । म प्रमाणित गरिदिन्छु प्रेम हिसाब गरेर बस्दैन । यो खेल हैन । मलाई सहयोग गर है राज ।”

यो पल्ट मैले मुख खोलेँ – ‘हुन्छ ।’

उ भन्दै गई । मै लेख्दै गएँ प्रेमपत्र, उसैको लागि ।
म त्यति धेरै अबोध त पक्कै थिइन तर उसको मीठो प्रस्ताव नकार्ने साहस भएन । यसरी लेखियो जिन्दगीको प्रथम प्रेमपत्र । मीठो भूल गरे, सायद जानाजानी ।

त्यसको केही समय पछि मैले आफ्नै शब्दहरू गुँथेर प्रेमपत्र लेखेँ तर अरूकै लागि । म लेखनदास, तमसुक होइन प्रेमपत्र लेख्दै छु अनि काम चाहीँ हुँदैछ अरू कसैको ।

भर्खरै जस्तो लाग्छ ‍हरि र निरुको बिहेभोज खाएको । जुनदिन पछि प्रेमपत्र लेख्ने आवश्यक्ता नै रहेन । कति लामो समय बितिसकेछ । कस्तो होशै भएन ।

***

“के नचाहिँदो कुरा गरेको । दिनभरि घरमा झोक्राएर बसिरहछौ अनि आउँछन् यस्ता उट्पट्याङ विचारहरू। कति चोटी भनिसकेँ मसँग भजनमण्डीमा हिँड भनेर ।”

रिसाउँदा हरिले आँखीभौँ माथि उचाल्छ अनि यस्तो लाग्छ उसको चाउरी परेका गालाहरूको मुजा सोहोरिएर उसको निधारमा आइपुगेको होस् । ओठहरू खुल्दै बन्द हुँदा भित्रबाट चिहाउदै गरेको उजाड प्रदेशमा ठडिएको स्तम्भ झैँ लाग्ने उसको एक्लो दाँतलाई देख्दा अरू बेला त मलाई निकै हाँसउठ्थ्यो । तर अहिले मलाई अरू नै कुराले पिरिरहेको छ ।

‘होइन, मैले प्रेमपत्र लेखेकै छैन !’

“ए बुढा फुस्क्यौ कि क्या हो, नातिनिले सुनी भने के भन्ली ?”

‘होइन हरि मैले बिर्सेछु । यत्तिका वर्ष बिते, प्रेमपत्र लेख्नै बिर्सेँछु ।’

“अनि भाउजुलाई कसरी फसायौ त ?”

‘फोनबाट । पत्रको आवस्यकता नै परेन । मेरो प्रेमको प्रमाण केही छैन हरि ।’

“तिमी पनि बेला-बेला अचम्मकै कुरा गर्छौ ।”

‘हैन हरि मैले साँच्चै बिर्सेँछु ।’

अब सायद हरिलाई मैले ठट्टा गरेको हैन भन्ने थाहाभयो ।

“राज म तिम्रो कुरा बुझ्छु । तिमीलाई भाउजुको सम्झना आयो । मेरो पनि त त्यस्तै छ । के गर्नु जीवन यस्तै हो । आए पछि सबैले…”

‘भो भो हरि यो भन्दा बढी नबोल । मैले जीवनमृत्युको कुरा गरेको हैन । तिम्री भाउजु मेरो मुटुभित्र छे । मलाई दु:ख त उसलाई प्रेमपत्र लेख्न नपाएको मा छ । जिन्दगीले बडो नराम्रोसँग नचायो । अहिले यो ठाउँमा उभिएर हेर्दा यात्रा त जहाँबाट सुरू गरेँ त्यहीँ पो आइपुगेछ । एक्लै थिएँ तिम्री भाउजु अगाडि, एक्लै नै छु ऊ गएपछि पनि । सोचेको थिएँ उसलाई प्रेमपत्र लेख्छु र पोस्ट गर्छु उसलाई पत्तै नदिई । तर हरी …’

***

“हजुरबुवा कविता लेखिदिनु भयो ।”

‘मेरी प्यारी नातिनीले भनेपछि लेख्दिन त !’

“अब त म फेरि प्रतियोगितामा फस्ट हुने भएँ ।”

मेघना कविता लिएर ढोकातिर गई । ढोका छेउमा पुगेर केही छिन अडिई र फर्केर म छेउ आई ।

“हजुरबुवा एउटा कुरा भन्छु नरिसाउनुस् है !”
उसले आँखा चिम्लिएकी थिई । उसको कपाल निधारबाट तल झरेर आँखासम्म आइपुगेको थियो ।

“हजुरबुवा मलाई एउटा चिठी लेखिदिनुस् न !”

‘कस्तो चिठी नानु ?’

उ केही भन्न खोज्छे तर आवाज निस्कँदैन ।

‘प्रेमपत्र हो ?’

उ छक्क पर्छे, थोरै लजाउँछे, अनि बिस्तारै टाउको हल्लाएर हो भन्ने इसारा गर्छे ।
म खुसी हुन्छु । उसको टाउको प्रेमपूर्वक मुसार्छु ।

‘आऊ यहीँ नजिकै बस । भन को हो त्यो भाग्यमानी जसलाई मेरी राजकुमारीले प्रेमपत्र लेख्न खोज्दै छे ?’

“रोहित ।”

प्रिय रोहित,
मेरा दिनहरू आजकल गुलाफझैँ फुल्न थालेका छन् ।
तिम्रो मीठो सम्झना शीतल पवन बनेर पत्र-पत्र छुँदै …

***

“भजनमण्डलीकी कुनै बुढी फसाएनौ ? प्रेमपत्र लेख्नु छ भने भन है !”
मेरो कुरा सुनेर हरि अवाक हुन्छ । उसको मुख खुलेको छ । उसको सान धानिरहेको एक्लो स्तम्भ पनि ढलेछ। म खित्का छोडेर हाँस्न पुग्छु ।

Krishna Kusum – Upahar

कृष्ण कुसुम – उपहार
(मधुपर्क २०६६ असार)

अहँ मैले आफूलाईभन्दा बढी माया गर्ने मान्छेले मागेको उपहार दिन सकिनँ उसको जन्मदिनमा !

खै ! कहिलेबाट लुकाएछु आफ्नो हृदयमा सौरभलाई आफैँलाई पनि पत्तो नहुने गरी ।

त्यो नर्सिङ क्याम्पसको होस्टेलको वातावरण बिल्कुलै फरक थियो । १८-२० उमेरका ५०-६० जना केटी साथीहरूको समूहमा बस्न पाउँदाको मजा नै बेग्लै हुन्थ्यो । स्वभाव भिन्नभिन्न भएका त्यतिका साथीहरू एउटै परिवार झैं बस्दा त्यस्तै फरक अनुभव पनि त हुँदोरहेछ नि । ती साथीहरूको सानिध्यमा पनि म आफूलाई चाहिँ अलि भिन्न बनाउने स्वभावको थिएँ । प्रायः साथीहरू इमेलका, च्याटका आ-आफ्ना ब्वाइफ्रैण्डका फिल्मी कुराहरू गर्दै व्यस्त रहन्थे पढाइ र ड्युटीबाट फुर्सद भएको समयमा । म ठान्थेंँ यी प्रेमस्रेम सब वाइयात हुन् । हुन पनि त्यस्तै छ भन्या आजकालका केटाकेटीहरूको पारा देखाउनको लागि भने पनि ब्वाइफ्रैण्ड र गलफ्रैण्ड बनाउनै पर्ने रे । केटीहरू आफ्नो ब्वाइफ्रैण्ड छैन भन्नुपर्दा आफूलाई दुःखी बनाउँछन् र लाज मान्छन् मानांै कि ऊ नराम्री छे त्यसैले उसको ब्वाइफ्रैण्ड छैन । त्यसैले आफूलाई राम्री र पर्फ]{ट युवती देखाउनको लागि पनि उसले ब्वाइफ्रैण्डको चाहना गर्छे । केटाहरूको त के कुरा झन् मोबाइल, बाइक र गलफ्रैण्ड नहुनेलाई त कसैले गन्दैनन् रे । यी सबका कारण पनि मलाई प्रेम शब्दसँग नै वितृष्णा थियो । साथीहरू सधंैँंजसो आफ्ना ब्वाइफ्रैण्डहरूसँगका एसएमएसहरू देखाउँथे र आफ्ना प्रेम काहानी सुनाउँदै भन्थे- ”तँ त पार्वतीको जुगमा छेस् यार कुनै सुन्दर पतिको कामना गर्दै बस्ने मात्र, त्यस्तो सोझो भएर चल्दैन अब, यो त २१ औँ शताब्दी हो त्यसमा नि कलियुगको । त्यसैले केटी समयअनुसार चल्न सिक ।”

मलाई यी सबै अर्ति-उपदेशको कुनै परवाह नै हुँदैन थियो । म लगभग एक्ली नै हुन्थेँ यो मामिलामा र हिँडिदिन्थेँ अन्त कतै त्यहाँ बसेर बाझाबाझ गर्नु साटो ।

सौरभसँग भेट भएको दुई वर्ष पनि भएको छैन । म आफ्नो नर्सिङ कोर्षको अन्तिमतिर अध्ययनरत थिएँ उसलाई भेट्दा । उसँगको भेट अलि फरक थियो- एक नर्स र बिरामी कुरुवाको रूपमा । अध्ययनकै सिलसिलामा हामीले अस्पतालको सबै प्रकारका ड्युटीहरू गर्नुपर्थ्यो नाइट, इभिनिङ र मर्निङ सिफ्ट हुन्थे ड्युटीका । त्यसदिन मेरो नाइट ड्युटी थियो । रातभर जागा बसेर बिरामीको स्याहार गर्नुपथ्यो । कहिलेकाहीँ बिरामी कम भएको बेला त यसो सिनियर दिदीहरूको आँखा छलेर एक/दुई घण्टा आँखाको विष मार्न पाइन्थ्यो त कहिले पूरै रात अनिदो नै बित्थ्यो । त्यो दिन पनि बिरामीहरूको सङ्ख्या बढी नै भएकोले म रातैभरि जाग्राम रहनुपर्ने भयो । बिरामी कुरुवाहरू पालैसँग क्रमशः भुसुभुसु निदाउन थाले । त्यो वार्डको कुनामा रहेको बिरामीको कुरुवाको रूपमा आएको सौरभ भने बिरामीको छेउमा रहेको टेबुलमा बसेर कुनै पुस्तक अध्ययन गरिरहेको थियो । सायद त्यतिबेला लगभग रातको १२ बजेको हुँदो हो म बिरामीलाई औषधि दिन राउण्डमा गएको थिएँ । त्यतिबेला नै पहिलोपटक बोलेकी थिएँ उसँग । ऊ आफ्नी आमालाई उपचार गराउन आएको थियो मैले काम गर्ने टिचिङ अस्पतालमा ।

त्यो रात सामान्य चिनाजानी मात्र भयो । उसकी आमालाई एक महिनाका लागि त्यही अस्पतालमा राख्नुपर्ने भयो । अब भने ड्युटी गर्ने क्रममा उसँग मेरो भेट नियमित नै हुन थाल्यो । सुरुका दुई/चार दिन त ‘हाइ हेलो मा सीमित भएँ, जब हामी अलि बढी नै परिचित भयौँ, खाली समयमा सँगै बसेर कुरा गर्न थाल्यौँ । त्यत्तिबेला उसले जीवनप्रति गरेका तर्कहरूले त म पूरै प्रभावित भएकी थिएँ उसँग । उसका हरेक कुराहरूमा म आफ्नो सोच र भावनाको मेल पाउँथे । ऊ बाहिर देख्नमा जति सरल थियो, त्यत्ति नै वैचारिक चतुर र परिपक्व थियो, उसले समाजका हरेक कुरीतिलाई बुझेको अनि जीवन बुझ्ने बेग्लै दृष्टिकोण बनाएको थियो । हरेक कुरामा समान चासो र जानकारी राख्नुुपर्छ भन्ने मान्यताको ऊ कुनै पनि विद्यामा अनभिज्ञ थिएन, सङ्गीत र साहित्यको त झन् पारखी नै रहेछ । त्यो त उसको भावुक र कोमल व्यवहारले पनि प्रष्ट्याउँथ्यो । उसको वक्तृत्वकलाको त म नजानिँदो पाराले डाहा नै गर्दथेँ । उसले बहस गर्न थालेपछि लाग्थ्यो कि ऊ कुनै राजनीतिक दलको शीर्षस्थ नेता नै हो । जीवन के हो ? बाँचुञ्जेलको मोज त हो नि भन्दै बाबुको सम्पतीमा मोज गरेर बाँच्ने जेनेरेसनको भए पनि गीता, रामायण, महाभारतजस्ता धार्मिक एवं सबै प्रकारका राजनीतिक र ऐतिहासिकलगायतका पुस्तकको अध्ययनबाट खारिएको सौरभलाई जो कसैले पनि अलिअलि चिन्नासाथै तारिफ गर्दथे ।

उसलाई मेरा अरू साथीहरूले पनि चिन्दथे तर सामान्यरूपमा उनीहरूलाई सौरभलाई बुझ्ने फुर्सद नै थिएन किनकि ती सबै दिन हाम्रा लागि हुन्, उमेरमा मोज गर्नुपर्छ भन्ने सोचका हुन्थे र फुर्सद हुनासाथ कि त सपिङमा ब्यस्त वा फिल्म हेर्न वा इमेल गर्नमा नै व्यस्त हुन्थे । मेरी एकदमै मिल्ने साथी जो मेरी रुम पार्टनर पनि थिई स्नेहा, उसलाई भने मैले बताएकी थिएँ । सौरभको बारेमा । त्यसैले केही हदसम्म बुझेकी थिई । म सौरभसँगको सङ्गतमा एकदमै नजिक हुन थालेछु मानौँ कि ऊ मेरो धैरै पुरानो साथी हो । ऊ पनि मसँग त्यति नै खुल्दथ्यो, जति म चाहन्थेँ । मेरी साथी स्नेहा पनि नजिकिँदै थिई सौरभसँग तर मभन्दा कम । कहिलेकाहीँ होस्टेलमा कुनै केटाको प्रशंसा गर्नुपर्दा म उसैको नाम लिन्थेँ । त्यतिबेला भने मेरा साथीहरू जिस्काइहाल्थे । ”लौ है हाम्री मैयालाई मोहनी लगाउने तन्नेरी भेटियो, देख्यौ त मैया माया भन्ने कस्तो हुँदो रै छ ?”

एक महिनाको बसाइको क्रममा हामीले आ-आफ्ना रोजाइका कुराहरू आदान-प्रदान गर्‍यौँ । म उसको खुबीको खुलेरै प्रशंसा गर्दथेँ । ऊ हामीले गरेको सेवाको गुनगान गाउँथ्यो । मलाई त त्यो बीचमा ‘आधुनिक नाइटिङ्गेल’ भन्ने उपनाम नै दिएको थियो र बोलाउन पर्दार् नाइटिङ्गेल नै भनेर बोलाउँथ्यो । जब एक महिनाको उपचार सकेर उसकी आमालाई अस्पतालले डिस्चार्ज दियो तब ऊ हाम्रा बीच रहने कुरै भएन । ऊ जाने बेलामा मेरा सबै साथीहरूसँग भेट गरेर एक महिनासम्म उसलाई गरेको सहयोगको प्रशंसा गदैं धन्यवाद दिँदै बेलाबेलामा भेट्न आउने वाचा गर्‍यो र अन्तिममा- ”म तपाईंको सहयोगको ऋणी छु, मलाई यो एक महिनामा मानसिक रूपमा नि सपोर्ट गरेर ठूलो गुन लाउनुभयो, कुनै दिन मैले सकेको सहयोग गर्न पाएँ भने धन्य हुने थिएँ ।” भन्दै आफ्नो मोबाइल नम्बर दियो र मेरो पनि लिएर गयो । मलाई भने अब अस्पताल नै शून्य लाग्न थाल्यो, उसकी आमालाई सुताएको बेड नजिकै जान्थेँ सौरभ छ कि कतै कुनै किताब पढ्दै गरेकोझैँ लाग्थ्यो तर खाली खाली पाउँदा निराशा जाग्थ्यो मनभित्र अनि पो बल्ल चाल पाएँ मैले आफ्नो हृदयमा बास दिइसकेकी रहेँछु उसलाई आफैँले थाहा नपाउने गरी !

त्यसपछिका दिनहरूमा सौरभको उपस्थितिको महìव बढ्न थाल्यो । नियमितजसो फोन र एसएमएसहरू चल्न थाले । समयसमयमा कि त ऊ आफैँ भेट्न आउँथ्यो कि त हामी -म र स्नेहा) उसलाई भेट्न जान्थ्यौँ । हामी यति नजिक भएपछि मलाई औपचारिकतामै सीमित हुन मन लागेन र भनेँ- ”कति औपचारिक बन्नु सौरभ मलाई त कस्तो असहज लाग्छ यो औपचारिकतामा !”

ठीकै छ अनौपचारिक नै बनुँला तर के गर्नुपर्छ अनौपचारिक हुन ? ऊ अलि जिस्काउने पाराले प्रश्न गर्दथ्यो मसँग । यति नजिक भएर पनि किन तपाईं भनेको ? तिमी भनेर सम्बोधन गर न ! मलाई त तपाइँ भन्दा कस्तो टाढाको जस्तो अनुभूति हुन्छ ।

हुन्छ तिम्रै मर्जी तिमीले भनेको के कुरा काट्न सक्छु र म ? ऊ मेरा हर कुराहरूलाई सहजरूपमा स्वीकार्थ्यो । म दङ्ग पर्दथंँे, मलाई मीठो अनुभूति हुन थाल्यो प्रेमको । हरेक दिन हरेक पल उसँग नै बिताउन मन लाग्थ्यो तर असम्भव ! दिनमा सँगै बस्न नपाए पनि राति सपनीमा भने सधैँ सँगै पाउन थालेँ यसो हँुदा ममा अर्कै स्फूर्ति देखिन्थ्यो । जसले गर्दा मेरा साथीहरू छक्क पर्थें ममा आएको परिवर्तन देखेर । एक्लै हुँदा पनि उसैले बोलाएको भान हुन्थ्यो अनि यताउता हेर्दा अरू कोही नपाएपछि खिन्न हुन्थेँ म । कहिले त सौरभसँग रिस उठ्थ्यो । मलाई ग्वाम्लाङ्ग अङ्गालोमा कसेर मायाप्रीतिका कुरा गरोस् जस्तो लाग्थ्यो ।

सौरभको बारेमा कुरा आदानप्रदान गर्ने साथी त्यही स्नेहा हो मेरी, ऊ पनि मख्ख परेर सुन्थी मैले सौरभको बारेमा गरेका प्रशंसाहरू । सौरभ, म र स्नेहा हामी तीनै जना सँगै भएको बेला उनीहरू आपसमा लजाएको भान हुन्थ्यो मलाई । आखिर अप्ठ्यारो त लागिहाल्छ नि स्नेहालाई उसलाई थाहा छ म सौरभलाई प्रेम गर्छु भन्ने । अर्काको युगल जोडीमा मिसिएर हलुवामा बालुवा हुँदा अनि आफ्नी प्रेमीकासँग मात्र मायाप्रीति साट्नु साटो अर्की साथी पनि साथ भएकोले लजाएको हुनुपर्छ सौरभ । म भए पनि त त्यस्तो हुँदो हो नि मलाई ! यस्तै हुन्थे मेरा सोचाइहरू ।

सौरभको जन्मदिन आउनै लागेको थियो । उसको जन्मदिनको दुई दिन अघिको रातमा देखेको सपनाले मेरो मनमा हलचल पैदा गर्‍यो । सपनीमा मेरा बाबा मलाई सम्झाउँदै हुनुहुँदोरहेछ- ”छोरी तिमीलाई हामीले गर्नसक्ने आधारभूत कुराहरू गरिदियौँ, अब तिमी एक सक्षम नर्स भइसक्यौ यहाँभन्दा बढी अरू गर्न सकिएला जस्तो छैन अब तिम्रो विवाह गर्नुपर्छ एक राम्रो घरबाट कुरा आएको छ तिम्रो सहमति चाहिएको छ विचार गर ।”

म झल्यास्स ब्यूझेँ । ब्यूझँदा निथुक््रक पसिनाले भिजेकी पाएँ आफूलाई । मनमा साह्रै डर बढ्यो । एकपटक सौरभलाई सम्झेँ- ‘साँच्चै यस्तै भयो भने ? अब मौन बसेर हँुदैन समयमै सौरभलाई आफ्ना प्रेमका बारेमा बताउनुपर्छ र विवाहबारे पनि सम्झाउनु पर्ला भन्ने सोचेँ त्यसका लागि उपयुक्त दिन उसको जन्मदिन कुरिबसेँ ।’

सौरभको जन्मदिनमा बिहानै उठेँ र जन्मदिनको शुभकामनासँगै आफ्ना त्यही कुरा गर्न फोन गरेँ- ”सौरभ जन्मदिनको शुभकामना तिमीलाई । म आज संसारभरको खुसी तिम्रो पोल्टामा राखिदिन चाहन्छु तिम्रो जन्मदिनको उपलक्ष्यमा, यही दिनको पर्खाइमा थिएँ म आफ्ना तर्फबाट तिमीलाई खुसी दिन, भन के चाहन्छौ मबाट त्यस्तो उपहार आज तिमी ?”

ऊ उताबाट बोल्दै थियो- ”म पनि त्यसको बारे तिमीसँग कुरा गर्ने अवसरको खोजीमा थिएँ, साँच्चै मैले मागेको खुसी दिन सक्छ्यौ भने विनिता ! मलाई तिम्री साथी स्नेहाको साथ मिलाइदेऊ !

फोनको रिसिभर त कानैमा थियो तर त्यसपछि उसले बोलेका कुनै पनि शब्द मैले सुनिनँ ।

-नुवाकोट

Kusum Gyawali – Karyakarta (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – कार्यकर्ता ( लघु कथा)

चारैतिर मध्यरातको अन्धकार व्याप्त थियो। अन्धकारमा अलमलिएको मान्छेको ठूलै झुण्ड पहाडको फेदमा बिचलित मनस्थितिमा देखिन्थे। केही युवाहरुले हतासमा आत्महत्या गर्ने असफल प्रयास पनि गरे अन्धकारमा। मार्गहिन र दिशाहीन मान्छे गन्तव्यको बोध नभए पछि यो हतासा स्वाभाविक पनि लाग्थ्यो। जंगलै जंगलको उकालो एकापट्टी थियो भने अर्कोतर्फ भयानक आवाज निकाल्दै खोलो बगेको थियो। कता गयो भने उज्यालोमा पुगिन्छ कसैसँग पनि प्रष्ट दिशावोध थिएन। मान्छेहरु आत्तिएर रुन र चिच्याउन पनि थालेका थिए। आवाज पछ्याएर हिंस्रक जंगली जनावरले धावा वोल्दा भन्ने अर्को ठुलो डर थियो।

हतासले मान्छेहरु आत्महत्या गर्लान भन्ने डर बढिरहेकै बेला एकजना अधवैंसेले भाषण गर्दै भन्यो- तपाईहरुले चिन्तै लिन पर्दैन उज्यालो पुग्ने बाटोको जानकारी मसँग छ। यसको निर्धक्कसँग बोलेको अभिव्यक्तिमा सबैलाई आशा जाग्यो। सबैले उसलाई साथ दिएर अगाडी बढ्ने कुरामा सहमति जनाए मान्छेहरुले उसलाई नेता माने। उसले सबैलाई पछि लगाएर उकालो लाग्यो। बिचरा नेतासँग पनि उकालो लागेपछि साच्चै कुन ठाउँमा पुगिन्छ भन्ने जानकारी थिएन। तैपनि सबै मान्छेमा हौसला बढेको र आशावादी भएको देखेर ऊ आफै आफै पनि उत्साहित भयो।

उकालिदैं जाँदा घण्टौ वितेपनि कुनै बाटो भेटिएको थिएन नेता आफैं त्रस्त भएको थियो। नेताले एउटा धमिलो छायाँ देख्यो। ऊ छायाँतर्फ बढ्दा थाहा पायो त्यो छायाँ मान्छेको रहेछ। त्यो मान्छेले नेतालाई म पथप्रदर्शनमा सहयोग गर्छु भन्यो। मलाई बाटो थाहा छ भनेर डोहोर्‍याउँदै लग्यो पनि। लैजाँदा लैजाँदा क्रमश अध्यारो कम हुँदै गयो। अलिअलि उज्यालो हुन लागेपछि नेताले देख्यो डोहोर्‍याउने मान्छे त अन्धो रहेछ।

अन्धोले नेतालाई डाहोर्‍याएको रहेछ भन्ने थाहा पाएपछि नेता बनेको व्यक्तिको यथार्थ पक्ष उजागर हुने डरले नेता स्वयमले पनि आफ्नो आँखा बन्द गरेर अन्धो बनेको नक्कल गर्न थाल्यो। पछि लागेका मान्छेहरुले आँखा बन्द किन गर्ने भनेर प्रश्न गरे नेताले उज्यालोतर्फ जान त्यसै गर्नु पर्छ भनेर तर्क गर्‍यो। उसका पछि लागेर उज्यालो नजिक आईपुगेका सन्दर्भमा मान्छेहरुले नेताको विश्वास पनि गरे, अनि आफ्ना सद्दे आँखा बन्द गरेर नेताको हात समातेर डोर्‍याईदै पछि पछि लागिरहे।

Rameshwari Panta – Phool Jastai Chhe Meri U

रामेश्वरी पन्त – फूलजस्तै छे मेरी ऊ
(मधुपर्क २०६६ चैत)

बाहिरबाट हेर्दा यो घर खण्डहर जस्तो लाग्छ, मानौँ वर्षौँदेखि यो खालीखाली छ । चारैतिर अत्यासलाग्दो झाडी र झुम्म परेका रूखहरूको बीचमा ठडिएको यो घरलाई सडकमा ओहोरदोहोर गर्ने जो कोहीले पनि एकपटक पुलुक्क हेरेर जान्छन् । सायद उनीहरूको मनमा पनि यस्तैयस्तै जिज्ञासाहरू उठ्दा हुन् ।

यतिबेला म यो घरको माथिल्लो तलामा पश्चिमपट्टकिो सानो बरण्डामा उभिएर त्यही झाडी नियालिरहेको छु । म प्रायः यसरी नै यहाँ उभिएर यो झाडीको भित्रभित्र आँखा दौडाउँछु, मानौँ यसभित्र मेरो केही अमूल्य चीज हराएको छ ।

झाडीभित्र लुकेको घरको कुरा गरिहालेँ । घर र झाडी दुवैको परिचय पनि गराइहालुँ । झाडी खै केके उमि्रएर झ्याङ्गएिको छ

कुन्नि अनेक थरी रूप र रङ्गका बोटबिरुवाहरू छन् त्यहाँ । ऊ त्यो दक्षिण-पश्चिमको कुनामा यौटा अजङ्गको काफलको रूख झ्याङ्गएिको छ । अलि वर यौटा नास्पातीको बोट लटरम्मै फलेको छ । बोटले धान्न नसकेर कैयौँ हाँगाहरू जमिनतर्फ झुकेका छन् । एक दुई हाँगा त भाँचिएर जमिनमा लडिरहेछन् । कति फल्न सकेको होला आफ्नो क्षमताको पनि विचार गर्नु नि यसो हुन त यसले पनि मेरी आमाले जस्तै सोच्दो हो- ‘भगवान्ले दिएका जति हात थाप्नै पर्‍यो’ । धन्न मेरी आमा भगवान्ले दिएका जति सबै हात थापेर करिब एक दर्जन सन्तानकी आमा बनेर पनि असी वर्षको उमेेरसम्म ठमठम हिँड्दै हुनुहुन्छ ।

नास्पाती पाक्नै लागेका छन् । थुप्रै चराहरू आएर तिनलाई ठुँगिरहेछन् र रमाउँदै पेट भरेर भुर्रभुर्र उडिरहेछन् । यिनीहरूमध्येकै यौटा ‘बलिष्ट चरो’ काग आएर नास्पाती ठुँग्छ । यति जोडले ठुँग्छ कि, ठुँगाइलाई सहन नसकेर नास्पाती फुत्त भुइँमा र्झछ । एकैछिनमा त्यो झरेको नास्पातीमा कमिलाको हुल जम्मा हुन्छ र रमाइरमाई उनीहरू पेटपूजा गर्न थाल्छन् ।

नास्पातीका रहरलाग्दा दाना देख्दा मलाई पनि खान मन नलागेको कहाँ हो र ? मैले आˆनो इच्छालाई अप्रत्यक्षरूपमा साथीसँग जाहेर गरेँ- ‘तिमीहरू नास्पाती खाँदैनौ कि कसो ? पाकेर सबै चराले खाइसके ‘

‘कसरी खानु ? पहिलो कुरा त त्यो झाडी छिचोलेर नास्पातीको बोटसम्म पुग्नै मुश्किल छ, कसैगरी पुगियो भने पनि घरबेटीले थाहा पाए मारिहाल्छ । कस्तो कञ्जुस बूढो छ भने न आफू खान्छ, न अरूलाई खान दिन्छ ।’

साथीको कुरा सुनेपछि मलाई उसको घरबेटीको बारेमा पनि जान्न मन लाग्यो । घर कम्पाउण्डको मूल गेटैनिर झ्वाम्म परेको असारे फूलको बोट, जसलाई लहरै लहराहरूले छोपिदिएको छ र त्यही बोटलाई आधार बनाएर अर्को यौटा लहरे फूल घरको भित्ताभरि फैलिएर छतसम्मै ढपक्कै ढाकेको छ । मुश्किलले अलिकति भाग मात्र सडकबाट देखिने यस घरको माथिल्लो तलामा मेरो साथी बस्छ । तल भुइँ तल्लामा दुई बूढाबूढी मात्र छन् । बूढो सरकारी सेवाको उच्च पदबाट सेवानिवृत्त भएर पनि उही धाकरवाफमा आफूलाई राख्न खोज्ने पुरानै सोचको मान्छे । छोरो इन्जिनियर र बुहारी डाक्टर अरे । राजधानीभित्रै यहीँ नजिकै जागिर भएर पनि किन वृद्ध बाबुआमालाई एक्लै छोडेर डेरामा बसेका होलान् त ? बूढोको कञ्जुस र कचकचे बानी भएर हो ? अथवा पुस्तान्तरण र आधुनिक जीवनशैलीमा रमाउने चाहनामा बूढाबूढीहरू बाधक अथवा बोझ भएर हो ?

जेसुकै होस्, यो उनीहरूको निजी मामला हो तर यसो भनेर मेरो मन कहाँ मान्छ र ? मेरा पनि त ती बूढाबूढीका जस्तै एक छोरो र एक छोरी छन् । छोराछोरीलाई डाक्टर, इञ्जिनियर बनाउने चाहानाले मैले पनि त राजधानीको यो अत्यासलाग्दो वातावरणलाई आत्मसात् गर्दैछु।

छोरोलाई जन्माएर, हुर्काएर, पढाएर, इञ्जिनियर बनाउँदासम्म उनीहरूले कतिधेरै शारीरिक, मानसिक र भौतिक लगानी गरे होलान् । कति सपना सजाए होलान् त्यो अवधिमा । ‘बूढेसकालको सहारा यही त हो नि’ भन्दै आˆनो जीवनका सारा खुसीहरू उसैमाथि न्यौछावर गरेर भविष्यका सुन्दर सपनाहरू साँचे होलान् । तर खै, ती सपनाहरू कहाँ उडे आज ?

सन्तान भनेको वंश परम्परा धान्नकै लागि मात्र हो भनेर शास्त्रमा भनिएकै छ । यदि वंश धान्नकै लागि मात्र सन्तान चाहिने भए किन मान्छेले यति धेरै आशा गर्छ सन्तानबाट ? र अन्तमा फेरि किन निराश बन्न पुग्छ उनीहरूबाट ? आखिर मेरो हालत पनि त यस्तै होला नि यी बूढाबूढीको जस्तै- बूढोको सहारा बूढी, बूढीको सहारा बूढो ।

मेरो साथीसँग कहिले कहाँं बूढोले आफ्नो पीडा हल्का पार्छ रे भन्छ रे-‘छोरोलाई भएभरको पैसा लगानी गरेर इञ्जिनियर गराएँ, बुहारीलाई मैले नै पैसा खर्च गरेर डाक्टर बनाएँ । आज उनीहरूलाई यो घर चाहिएन र बाहिर बस्छन् भने म बूढोलाई मात्र के चाहियो र मैले यो सब झ्याङ्झाडी सफा गर्नु ।’ मानौँ, बूढोले आˆना छोराबुहारीप्रतिको सम्पूर्ण आक्रोश यही झाडीमाथि खन्याएको रहेछ ।

मैले पनि त आˆना छोराछोरीलाई डाक्टर-इञ्जिनियर बनाउने सपना देखिरहेकी छु । आˆनो जीवनको सम्पूर्ण कमाई खर्च गर्नुपर्ने छ मैले उनीहरूमाथि तर भोलि ? उनीहरू डाक्टर-इञ्जिनियर भएपछि त्यही स्तरकासँग बिहे गर्नेछन् । अनि उनीहरूको जीवनशैली फेरिने छ र हामी पुरानो पुस्ताका ठहरिने छौँ । अनि त उही-‘बूढोको बूढी, बूढीको बूढा’ । महिना मरेपछि पेन्सन थाप्यो, दिनभर ओछ्यानमा बसेर थोत्रो टिभी हेर्दै अखबारमा आँखा तन्काएर दिन बितायो,

बस् तर सबै छोराछोरी उस्तै त कहाँ होलान् र ? आशा त गर्नै पर्‍यो नि ।

म अझै पनि सानो बरण्डामा बसेर तल त्यो झाडीलाई हेरिरहेको छु । काफलको बोटनेर झुम्म परेको झाडी छ । त्यो अत्यासलाग्दो झाडीको बीचमा सुन्दर गुलाबका फूलहरू फुलेका छन् । कस्तो अचम्म ! झाडीभित्र गुलाबको बोट देख्न मुश्किल छ र पनि झाडीमाथि फुत्त निस्केर फूलहरू फुलिरहेछन् । फूलको धर्म फुल्नु हो । त्यसैले त अनेक व्यवधानको बीचमा पनि यो फुलिदिन्छ र मुसुक्क मुस्काइदिन्छ यी गुलाबहरूजस्तै ।

साँच्चि ! गुलाबको सौन्दर्य कसलाई मन नपर्ला र ? ऊ त्यो फक्रनै आँटेको कोपिला कस्तरी लजाइरहेछ ! अनि त्यो भर्खर फक्रेको फूल ! आ हा ! त्यसको मादकता !! यहाँसम्म आएर मलाई लठ्याइरहेछ । मेरो नजर घरि कोपिलातिर पुग्छ , घरि फूलतिर । छेवैमा दुईचारवटा फूल ओइलिनै आँटेका छन्, सायद हिजोअस्ति नै फक्रिएका होलान् । केही फूलहरू आधा झरिसकेका देखिन्छन् भने केही त पूर्णरूपले झरेर अस्तित्वविहीन बन्दै भेट्नामा मात्र सीमित छन् ।

ओ हो ! खै कहाँ छ फूलको अस्तित्व ? फुल्नुमा ? फक्रिनुमा ? अथवा कसैलाई लठ्याउनुमा ? फूल आफँैमा केही हैन ? के सधैँ अरूकै लागि मात्र फुलिदिनुपर्छ उसले हरेक व्यवधान पार गर्दै ? मेरो मगजमा प्रश्नहरूका ओइरो लागिरहेछन् यतिबेला ।

हेर्दाहेर्दै यौटा मस्त भँवरो भुनभुनाउँदै आएर ती फूलहरूमाथि परिक्रमा गर्छ अनि विस्तारै अर्ध-प्रष्फुटित कोपिलातिर बढ्छ र फकाउन थाल्छ । यस्तो लाग्छ, ऊ भनिरहेछ -‘तिमी अत्यन्त सुन्दर छ्यौ’ । अनि कानैनेर पुगेर सुटुक्क भनेझैँ लाग्छ-‘के तिमी मलाई तिम्रो सौन्दर्यको रसपान गर्ने अनुमति दिन्छ्यौ ?’

भर्खर जवानीको लाली चढ्दै गरेको त्यो कोपिला लाजले भुतुक्क भएर पसिनापसिना हुन्छे । पत्रपत्रमा उसको पसिना शीत बनेर टप्किन थाल्छ । मानौँ त्यो पसिना, त्यो शीत उसको अस्वीकृतिको सूचक हो ।

तर ऊ भँवरो न ठहर्‍यो ! जबर्जस्ती उसमाथि आफ्नो आधिपत्य कायम गर्दै टन्न अघाएर डकार्दै रोबसाथ एकपटक सारा पुलहरूमाथि फन्को मारेर बेपत्ता हुन्छ ।

हिजो पनि त ऊ त्यस्तै गरेर आएथ्यो, अनि ऊ त्यो फक्रिएको थुङ्गामाथि रजाईं गरेर गएको थियो । अस्ती ऊ त्यो…। त्यो कोपिला पनि भोलि त्यसरी नै फक्रिने छ र क्षणभरको लागि मुस्काउने छ ।

मैले पनि त कुनै दिन यस्तै कोपिला मन पराएको थिएँ । कति सुन्दर थिई

ऊ ! यो कोपिलाभन्दा पनि सुन्दर !! ऊ त्यो कोपिलाभन्दा भिन्दै थिई र मेरो मन पराईको चाल पाएपछि उसले भनेकी थिई- ”सक्छौ भने मलाई आˆनै बनाएर लैजाऊ, अनि मात्र तिमीलाई जेसुकै गर्न छूट हुनेछ-माया गर्न, चुम्बन गर्न…।”

तर म त्यो भँवरोजस्तो बन्न सकिन । मैले कोपिलामै उसलाई चुडेर छिट्टै ओइलिई झर्ने फूल बनाउन चाहिँन र भनिदिएँ- ”तिमी अझै फुल्नुपर्छ, फक्रिनुपर्छ र अझै खुल्नुपर्छ, अनिमात्र तिमीलाई आफ्नो बनाउने छु ।”

मैले उसको अगाडि आफू महान् बन्न खोजेँ । पूर्ण प्रष्फुटनपछि मात्र उसलाई आˆनो बनाउने चाहनामा अनेक सपनाहरू सजाउँदै म समयको प्रतीक्षा गर्न थालेँ तर समयले मलाई पर्खेन । मैले हेर्दाहेर्दै कसैले आएर मेरी उसलाई टपक्कै टिपेर बेपत्ता भयो ।

वषौंँसम्म मैले उसको कुनै पत्तो पाइनँ र पनि मेरो नजरबाट उसको आकृति ओझेल भएन । हृदयको कुनामा सधैँ बसिरहन्थी ऊ, अनि सपनामा आएर भन्ने गर्थी- ”म के गरुँ त ! तिमीलाई भनेकै हो…। तिमी महान् बन्न खोज्दा हामी एक-अर्काबाट टाढा भयौँ ।”

र आज समयको चक्रले एकपटक फेरि मलाई उसको नजिक ल्याइपुर्‍याएको छ । जीवनको यौटा मोडमा अपरिकल्पनीयरूपमा केही महिनाअघि उसँग भेट भयो ।

‘पूर्णरूपमा फक्रिन पाउनु फूलको अधिकार हो’ भन्दै आˆना रहरहरूलाई हतकडी लगाएर फूलको वकालत गर्ने म फूलको चोटले घाइते बन्न पुगेँ र पनि मुश्किलले घाऊ पुरिइसकेको थियो- अचानक फेरि मैले मन पराएकी उसलाई वर्षौँपछि देखेँ तर ऊ यतिञ्जेल कोपिलाबाट फूल भएर पनि ओइलिने तरखरमा थिई । हुन त म पनि कहाँ उस्तै रहेको छु र ?

हाम्रा नजर जुधे । उसले सहजरूपमा सोधी- ‘सञ्चै छौ ?’

‘ठीकै छु ।’

‘के गर्दैछौ त अचेल ?’

‘दुई सन्तान र श्रीमतीको भरणपोषणको लागि दौडधूप गर्दैछु’ उसँग आँखा जुधाएर मैले भनेँ- ”के छ त तिम्रो हालखबर ?”

‘आदर्श पत्नी र सफल आमाको भूमिका निर्वाह गर्ने कोसिस गर्दै जीवनका पल-पल धकेलिरहेकी छु ।’ उसको आवाजमा शुष्कता थियो ।

मुर्झाउने तरखरमा लागेकी ऊ आज पनि मलाई उत्तिकै सुन्दर लाग्दै थिई । धेरैबेर उसको चेहरामा नजर डुलाइरहेँ र उसले पनि । केही क्षणको त्यो हेराइमा हामीले मनमनै एक-अर्कासँग धेरै कुरा गर्‍यौँ अनि फेरि भेट्ने वाचा गरेर आ-आफ्नो गन्तव्यतिर लाग्यौँ ।

आजकल कहिलेकाहीँ हामी आˆनो समय चोरेर यसो भेट्ने गर्छौं र आपसमा सुख- दुःखका कुरा गरेर जीवनलाई सहज बनाउने कोसिस गर्छौं । उसले मसँग कुनै गुनासो गर्दिन तर म मौका पाउनासाथ पुरानो घाउ कोट्याएर उसँग गुनासो पोख्छु । जवाफमा ऊ भन्छे- ‘मैले भनेकै थिएँ, मलाई आˆनो बनाएर लैजाऊ, तर तिमीले…….।” म चुप लाग्न विवश हुन्छु ।

अचेल मलाई उसको झन् धेरै माया लाग्न थालेको छ । उसले पनि भन्ने गर्छे- म उसका सपनामा सधैँ सधैँ आउने गर्छु रे !

उसले एकदिन मलाई भनी- ”हामी शरीरले टाढा भएर के भो त मन अझै उस्तै छ मेरो र सायद तिम्रो पनि । त्यसैले हामी सधैँभरि एक अर्कालाई मनले माया गरौँ हुन्न र ?” उसको कुराले चित्त बुझ्यो । किनकि हामी दुवै आज जुन धरातलमा उभिएका छौँ त्यो धरातलबाट एक इञ्च पनि यताउता हुन सक्दैनौँ । यो हाम्रो तपस्या हो । मलाई आज त्यो कोपिलाभन्दा ऊ त्यो फक्रिएको फूल झनै सुन्दर लागिरहेछ । म त्यसलाई धित मरुञ्जेल हेर्दैछु यो बरण्डाबाट र यति नै बेला एक हातमा थाली र अर्को हातमा लामो लठ्ठी लिएर घरबेटी बूढी झाडी पन्छ्याउँदै गुलाफ फुलेतिर लम्किन्छिन् र लठ्ठीले तानेर फक्रेका केही गुलाफहरू टिपी थालीमा राख्छिन् । सायद पूजा गर्नको लागि होला ।

फूल ! चाहे हजारौँ भँवराले चुसेर छोडेको नै किन नहोस्, ईश्वरको लागि त्यो सधैँ पवित्र नै हुन्छ, जस्तो मेरो लागि मेरी ऊ……….।

मैतीदेवी, काठमाडौँ ।

Chhakku Udasi – Dashain Ra Abodh Fuchhe

छक्कु उदासी – दशैं र अबोध फ़ुच्चे

दशैं आउँने बेलाको मौसम साँच्चीकै रमाईलो हुन्छ । भौगोलिक हिसाबले पनि नेपालमा दशैं मान्नकै लागि प्रकृतिले सबै कुरा जुराई दिएको हो कि जस्तो लाग्छ । तर…. तर…. त्यहींका धेरै जसो जनताका लागि प्रत्यक बर्ष दशैं, दशैं हैन दशा बन्ने गरेको छ ।

फुच्चे ! पोहर, परारतिर त सानै भएकोले हामी गरिब छौ भन्ने थाहा पनि थिएन र उस्लाई के दशैं, के तिहार मतलब पनि थिएन । आमाको बाबुले अटम भर्दै आएको फुच्चेले यो पालीदेखि आमालाई कल्पनै नगरेका प्रश्नहरू एक पछि अर्को गर्दै सोध्न थालेको छ । पुच्चेले अरु सबै सोधे पनि हाम्रो बाबा खोई ? भनेर नसोधे हुँदो हो भन्ने उसको आमालाई ठूलो जलतराश थियो अर्थात चिन्ता लागिरहेको थियो ।

सुख र खुसी कुन चराको नाम हो ? भन्ने थाहा नै नभएको फुच्चेकी आमाले दशैं र तिहार त झन मान्नै बिर्सेकी थिई । बिहान के खाउँ, बेलुकी के खाउँ भईरहने फुच्चेकी आमा साहुहरूको खेतबारीमा काम नजुरेको दिन त व्रत बसेर दिन काट्दै आएकी थिई । अब त छोरोलाई पनि त्यो गुन्युको भोटो सानो हुदै आएको थियो । फुच्चेलाई गतिलो कमिज र जाँघेको जोह गर्न नपाउँदै दशैं नजिकिएको मार फुच्चेकी आमालाई पर्नु परेको थियो ।

फुच्चे गर्भमा छ भन्ने थाहै नपाई बिदेश लागेका दिलको मालिक आज सम्म अत्तो पत्तो छैन । बेजातीसँग बिहे गरिस भनेर न माईतीले हेरे, न घरकाले स्वीकारे । न घरकी न घाटकी भएको बेला झन गाउँबाटै निकाला गरियो । गाउँ-गाउँतिर डुल्दै जाँदा गाई भैसीको शरणमा एउटा साहुको गोठमा ओट लागेकी थिई । एकातिर भुँडीमा पापको डल्लो हुर्कदै थियो । छोरी जन्मियोस भन्ने कामना गर्दा गदै दुर्भाग्य बस भैंसी गोठमा छोरोको जन्म भयो । न्वारन नै नभएको छोरोको नाम वरपरका सबैले ए…फुच्चे भनेर बोलाउन थाले । आफू पनि छाती माथी ढुंगा राखी आफ्नो मुटुमा फलेको छोरालाई फुच्चे भनेर बोलाउन बाध्य हुन्थी ।

अब त फुच्चेले पनि दशैंको बेला अरुको आमाले घर, आगन र चौका सिंगार पटार गरेको देख्न थाल्यो । अरुको बाबाले “भ्या….भ्या …” गर्दै खसी ल्याएको पनि सुन्यो । अनि त्यस्तै अरुको बाबा बिदेशबाट बाकस टल्काउदै चरप्पै चाचा, पापा ल्याएको बुझ्यो । उसका सबै दौंतारीहरूले नयाँ-नयाँ लुगा लगाएको र मिठा-मिठा खाएको महसुस गर्न थाल्यो । त्यसैले होला अरुको लैलैमा फुच्चे पनि अन्यासै खुसी हुँदै थियो । अवश्य फुच्चेको अबोध मानस्पातलभरि अरुको घरमा जस्तै आफ्नो घरमा पनि धुमधामका साथ दशै भित्रिने आशा गरेको थियो । तर फुच्चेको आशा निराशामा परिणत हुँदै थियो । ऊ आमालाई प्रश्नमाथि प्रश्न थुपार्दै थियो । गर्दा गर्दा उस्का अबोध धेरै जिज्ञासाहरू उस्को आमाको मौन र अमिलो अनुहार अनि बलिनधारा आँशुसँगै नाजवाफमै टुङ्गिन बाध्य भएको थियो । बिचरा ! अबोध फुच्चेको के दोष ????