Bishwa Raj Adhikari – Neta Mohan Prasad Le Dekhe Dar Lagdo Sapana

विश्वराज अधिकारी – नेता मोहन प्रसादले देखे डरलाग्दो सपना

भगवानको अप्रत्यासित आगमन बाट प्रसन्न हुँदै तर अलि डराएर नेता मोहन प्रसादले भने ‘प्रभु, मेरो घरमा बडो कृपा गरि पाल्नु भयो, म धन्य भए, हजूर यसरी आउनु होला भनी मैले कहिले चिताएको पनि थिन। नेताको कुरा सुनेर भगवानले हाँस्दै भन्नु भयो ‘नेता मोहन प्रसाद, तिमी त नास्तिक व्यक्ति, भगवान प्रति तिम्रो आस्था छैन रे, भन्दै हिँडछौ सारा संसारलाई। तिमी यति बढी आस्तिक हुँदा हुँदै पनि किन म नास्तिक हुँ भन्दै हिँडछौ त जनतालाई, हँ नेता मोहन प्रसाद?’

भगवानको कुराबाट नेता अलि लज्जित भए। नेताले आफ्नो त्यो लज्यामा हाँसो मिसाउँदै भने ‘प्रभु, म के को नास्तिक हुनु, म त एक नम्बर खाँटी आस्तिक मान्छे हो। हजूरलाई थाहा भएकै कुरा हो, भगवानमा मेरो पूरा विश्वास छ । म नास्तिक हो भनेर त केवल जनतालाई भनेको हो मैले। जनतालाई आज भोलि साँचो कुरा भने पछि पत्याउँदैनन्। जुन नेताले जति बढी झूठ बोल्यो उसलाई त्यतिकै बढी पत्याउँछन। अशल गरेर, सत्य बोलेर राजनीति गर्नेको दिन गयो अब, प्रभु। अनि, यस्तो स्थितिमा जनताको मन जित्न झूठको सहारा नलिएर के गर्नु त? आउने चुनावमा उनीहरुको मत कसरी बटुल्ने त, हजूर? कुनै अरु नै उपाए छ भने आज्ञा होस, प्रभु। झूठ न बोलेर पनि चुनाव जित्न सकिने तरिका छ त अर्को कुनै, प्रभुको नजरमा? भगवानले फेरि हाँस्दै भन्नु भयो ‘हेर नेता मोहन प्रसाद, म भन्दा बढी जान्ने सुन्ने त तिमी नै छौ। दाउपेंचमा तिमीलाई कसैले जित्न सक्छ र? हामी भगवानहरुले त थाहा पाउन सक्तैनौ तिम्रा भित्री मनका कुराहरु। तर यसरी सँधै झूठ बोल्यौ भने एक दिन पत्याउन छाडने छन, है, जनताले तिमीलाई, बुझ्यौ।’

भगवानको कुरा सुने पछि नेताले हात जोड्दै अलि लाज मानेर भने ‘प्रभु, सँधै एकै किसिमको झूठ बोले भने पो न पत्याउलान जनताले, सँधै नया नया किसिमको झूठ बोले भने हामीले झूठ बोलेको थाहा नै पाउँदैनन, यी सोझा साझा जनताले। फेरि अर्को कुरा प्रभु, झूठ पनि अलि पत्यारिलो किसिमले आत्म विश्वासका साथ भन्नु पर्छ। प्रभु, जनताको पनि अब झूठो कुरा सुन्ने बानी परिसकेको छ। कहिले काहिँ झुक्किएर हामीले साँचो कुरा गर्दा पत्याउँदैनन, झूठो कुरा सुन्दा सुन्दा। जस्तै, सधै भरि सुद्ध भनी पानी मिसाएको दुध खाएको व्यक्तिले यथार्थ मै सुद्ध दुध खाए भने पचाउन सक्तैन रे, पेट खराब हुन्छ उसको, अनि त्यस्तो दुध खाने व्यक्तिले सुद्ध दुध दिनेलाई गाली गर्दै भन्छ रे, कस्तो नराम्रो दुध दियौ तिमीले मेरो त पेट नै खराब भयो। अस्ति अस्ति तिमीले नियमित रुपले दिने दुध नै ठीक थियो, सुद्ध थियो।’

नेताले थपे ‘हजूरलाई त सबै कुरा त विदित नै छ। म ठूलो आस्तिक मान्छे हो। हजूरबाट कुनै कुरा लुक्न सक्छ, कहिँ, प्रभु? हजूरलाई त छर्लङ्ग नै मेरो बारेमा।’

नेताले फेरि थपे ‘प्रभुको कृपा सँधै भरि यसै गरि रहि रहोस म माथि। अनि नि प्रभु, अब आउने चुनावमा मैले जिते भने प्रभुको सुनको मूर्ति बनाइ स्थापना गर्ने छु, एउटा सुन्दर मन्दिर निर्माण गरेर त्यो मूर्तिलाई त्यस भित्र राख्ने छु, प्रभु। त्यसैले अहिले प्रभुको आराधना गरेरको, प्रभुलाई आह्वान गरेको, यो कुरा विन्ति गर्न।’

नेताको कुरा सुने पछि भगवानले अलि रिसाएको जस्तो गरेर भन्नु भयो ‘हेर नेता मोहन प्रसाद, तिमी जनतासँग त सँधै झूठ बोल्छौ नै, तर मसँग पनि झूठो न बोल। मेरो कृपाले तिमीले आउने चुनाव जिते पनि मेरो मन्दिर बनाउने छौ भन्ने कुराको कुनै ग्यारंटी छैन। तिमी सँधै झूठ बोल्ने मान्छेको के विश्वास। गएको चुनाबमा नै तिमीले भनेका थियौ, यो चुनाव जिते भने मेरो निर्वाचन क्षेत्रमा हजूरको एउटा सुन्दर मन्दिर बनाउने छु भनेर, तर खोइ बनाएको। चुनाव जितेको पनि कति वर्ष भइ सक्यो। हो कि होइन, ल भन त?’
भगवान अलि क्रुद्ध भएको हो कि भन्ने अनुमान गर्दै नेताले भगवानको हात माथि आफ्नो सिर राख्दै भने ‘के गर्नु प्रभु, हजूरको कृपाले नै चुनाव जितेको हो। हजूरको दया म माथि त थियो नै तर मेरा कार्यकर्ताहरुको हात पनि कम थिएन मलाई त्यो चुनाव जिताउनमा। उनीहरुले मलाई चुनाव जिताउन हर सम्भव प्रयास गरे। के गरेनन् मेरा कार्यकर्ताहरुले, बुथ कब्जा गरेनन् कि फर्जी मत हालेनन्? जायज नाजायज सबै काम गरे। तर चुनाव जितेर पनि के गर्नु, प्रभु? मेरो पार्टी नै यस्तो पर्यो, कहिले सरकारमा जान न सक्ने। सरकारमा जान पाएको भए, हजूरको मन्दिर बनाउनु कुनै ठूलो कुरा थिएन। सरकारमा जान नसक्ने पार्टीमा बसेर के गर्नु, त्यसैले मैले त्यो पार्टी नै छाडी दिए, र अर्को एउटा छुट्टै पार्टी खोले, प्रभु, आफू त्यो पार्टीको हाली मुहाली हुने विश्वासमा, सरकरमा जान पाइएला भन्ने आशमा ।’

नेता मोहन प्रसाद एकै छिन घोरिए। त्यसरी घोरिएको केही क्षण पछि भने ‘हुनत मैले समय समयमा उचित निर्णय लिएको छु, प्रभु। कति ओटा पार्टी फेरि सके मैल, त्यसैले जहिले पनि म शक्तिसाली छु। तर कस्तो मेरो भाग्य, ‍धेरै पार्टी फेरे पनि, नया पार्टी खोले पनि कहिले सरकारमा पुग्न सकिएन। धन्य मलाई विजयी गराउने ती जनताहरु, आफू रहेको पार्टी फुटाउँदा पनि, नयाँ पार्टी खोल्दा पनि र यी सबै कुरा केवल आफ्नो स्वार्थ र अहम् का लागि गर्दा पनि पत्याएका छन, मलाई । मैले गर्ने बिरोध सभा, आम सभामा कस्सिएर भाग लिएका छन। मेरो साथ दिएका छन। अविश्वास गरेका छैनन् जनताले। मैले उठाएको मुद्दा गलत छ भन्ने बरु मलाई लागेको हुन्छ तर जनतालाई भने पत्तै हुँदैन, त्यो कुराको। त्यति मात्र हो र, मैले केवल आफ्नो स्वार्थका लागि कुनै रानैतिक दल वा नेता माथि झूठो आरोप लगाउँदा, गाली गर्दा समेत मेरा कार्यकर्ता र जनताहरु म सँग सँगै लागेर गाली गरेका छन, ती नेता र राजनैतिक दलहरुलाई, मैले गाली गेको उचित छ भन्दै। जनताले मलाई निकै साथ दिएका छन। फलानो व्यक्ति प्रधान मंत्री हुँदा, मैले आफूलाई चर्चामा ल्याउन उनले गरेको एउटा जन हित कार्यको बिरोध गर्न मैले उनको र उनको पार्टीको बिरुद्धमा जुलुस निकाले, आमरण अनसन बसें, मेरा कार्यकर्ताहरु पनि जोसका साथ त्यो जुलुसमा सहभागी भए, म सँगै आमरण अनसनमा बसेर बिरोध गरे उनको। भारतको अन्ना हजारेका समर्थकहरु झै, ठूलो संख्यामा समर्थकहरु ओइरिएका थिए मैले गरेको त्यो आमरण अनसनमा। कति विश्वास छ म माथि उनीहरुको। तर उनीहरुको म प्रतिको त्यस्तो विश्वास देख्दा कहिले काहिँ भने ग्लानी बोध हुन्छ, मलाई। सधै जनतासँग झूठ बोलेकोमा मेरो अन्तर आत्माले मलाई धिक्कार छ मन भित्र भित्र। तर धिक्कारेर, ग्लानी गरेर के गर्नु? ग्लानी गरेर, आफूलाई आफैले धिक्कारेर चुनाव जित्न सकिँदैन, सत्तामा पुग्न सकिँदैन, प्रभु। हुन त जनताहरु पनि सबै अशल कहाँ छन र, अपराधी, स्वार्थी र लोभी पापीहरु पनि उत्तिकै छन। तर के गर्नु प्रभु, त्यस्ता खराबहरुको सहयोग नभएमा चुनाब जित्न सकिँदैन, फेरि। अशल मतदाताहरुको सहयोगले जित्न गार्यो छ, बरु उल्टो चुनाब हारिन्छ, अशल मतदाताहरुले प्रचार प्रसार गरे भने। चुनाब हारे पछि भएन त फसाद। कहिले शक्ति हातमा लिएर त कहिले सत्ताको वर पर नै बसेको धेरै समय भयो प्रभु, अब त शक्ति र सत्तामा नभए त बाँच्न नै न सकिने जस्तो भइ सक्यो। शक्ति र सत्ता त चुरोट, चियाको अम्मल जस्तो भएको छ। त्यसैले अनेक किसिमका झूठा मुद्दा मुद्दाहरु उठाएर जनतालाई ती मुद्दाहरुको पछि लगाउनु परेको छ, मैले। कहिले जनकपुरको त कहिले टनकपुरको, कहिले पानीको त कहिले खानीको अनेक किसिमका हावादारी मुद्दाहरु उठाउनु परेको छ। त्यसो न गरे जनताले बिर्सि दिन्छन, प्रभु। फिल्ममा खेल्न नपाएका, चर्चाबाट हराएका हिरो हिरोइनलाई दर्शकहरुले बिर्से जस्तो। जनताले बिर्सि दिए कसरी सक्ति साली हुन सकिन्छ, प्रभु। त्यसैले कुनै न कुनै मुद्दामा अल्झ्याउनु परेको छ जनतालाई। कहिले दमनको बिरोध भन्दै त कहिले शोषणको बिरोध भन्दै। कहिले विभेदको बिरोध भन्दै त कहिले के को ———-। र जनतालाई सडकमा उतार्ने सबै भन्दा सजिलो तरिका भनेको प्रभु , क्षेत्रवाद, राष्ट्रवादको नारा चर्काउनु हो। हामीले यो तरिका प्रयोग गर्दा जहिले पनि हजारौ मानिस आएका छन सडकमा। त्यसैले यो नारा हामीले बढी प्रयोग गर्छौ। हिन्दी फिल्ममा काम गर्ने विवाहित हिरोइनले बजारमा आफ्नो माग बढाउन पत्रकारहरुलाई बोलाएर मेरो फलानो हिरोसँग रोमान्स चलि रहेको छ भन्ने हल्ला बजारमा फैलिएको छ भन्दै आफैले अन्तरवार्ता दिए जस्तो।’

नेताको कुरा भगवानले गंभिरतापूर्वक सुनेरको देखेर उत्साहित हुँदै उनले भने ‘प्रभु, सँधै भरि हामीलाई पनि खुराफाति काम गर्न कहाँ मन लाग्छ र? के गर्नु राम्रो काम गर्न दिँदैन जनताले। कहिले यो गरि दे, कहिले त्यो गरि दे भन्दै आइ पुग्छन समर्थकहरु, कार्यकर्ताहरु। दबाब दिन्छन, जायज ना जायज काम गर्न। एक चोटी मलाई यति रिस उठ्यो, प्रभु, के भन्नु। एक पटक एउटा मेरो अति नै समर्पित कार्यकर्ता आयो र उसले भन्यो ‘मैले हजूरलाई जिताउन केही गर्न बाँकी राखिन, नेता जी। ज्यान कै बाजी समेत लगाएको थिएँ, बुथ कब्जा गर्न तपाँईको चुनावमा। अहिले हजूरको पालो आएको छ मेरो लागि केही गरि दिने। मैले यस यल सी दिएको छु तर मेरो जाँच बिग्रेको छ, दुइ वटा विषयमा पक्कै फेल हुन्छ। कसलाई हुन्छ भनेर हजूरले मलाई ती विषयहरुमा पास गराइ दिनु पर्यो। त्यो कार्यकर्ताको त्यस्तो कुरा सुनेर त बैठक कोठाबाट त्यसलाई घाँटीमा हात हालेर निकाली दिउँ जस्तो लागेको थियो मलाई, तर के गर्नु, गएको चुनावमा उसले गरेको सहयोग र आउने चुनावमा उसले गर्न सक्ने मदद झल झली सम्झे मैले। आफ्नो पि ए लाई बोलाएर उसको समस्या लेख्न लगाएँ। उसलाई जसरी पनि यस यल सी पास गराई दिने झूठो विश्वास दिलाएँ। अनि……… यस्तो स्थितिमा झूठ न बोलेर के गर्ने त प्रभु? पढ्ने बेलामा अल्लारिएर हिँड्ने, अनि फेल भए पछि पास गराई दिन भन्ने, के त्यस्ताहरु सँग साँचो बोलेर काम चल्छ त? तर प्रभु, त्यस्ताको काम गर्न मेरो नैतिकताले दिएन। हामीले जनताको काम गर्ने हो भन्दैमा जस्तो सुकै घटिया काम लिएर आइ पुग्छन मान्छेहरु, के भन्नु त्यस्तालाई। म आफूले कम मेहनत गरेर पढेको हुँ, यस यल सि को परीक्षामा दिनको ८ घण्टा पढेको छु। यस यल सि पास गर्न सकिएन त्यो बेग्लै कुरा हो। के गर्ने प्रभु, यसलाई यसो भनि देउ, उसलाई त्यसो भनि देउ भन्नेहरुको कथा बयान गरेर साद्दे नै छैन। एक चोटी एउटा केटो यसरी नै मेरो घरमा आयो। त्यति खेर म एउटा पार्टीमा प्रवेश भएको थिएँ, पहिलेदेखि जुन पार्टीमा थिएँ, म प्रति त्यो पार्टीले अन्याय गर्यो भन्दै, त्यो पुरानो पार्टी छाडेर। नया पार्टीमा प्रवेश गरे पछि म मन्त्री हुने हल्ला चलेको थियो, काठमाडौमा मात्र होइन, बाहिर पनि। त्यो केटाले के भन्यो, प्रभुले सुनेर पनि अचम्म मान्नु हुनेछ। त्यो केटोले भन्यो एउटा यैलानी जग्गा उसको नाममा दर्ता गराइ दिनु पर्यो। त्यस्तो गराई दिने हो भने उसले त्यो जग्गाबाट आएको पैसा मध्ये आधा मलाई दिने रे। त्यो सुनेर म यति रिसाएँ कि उसले चुनाबमा मलाइ गर्न सक्ने सहयोग पनि बिर्से अनि बेस्सरी गालि गरे त्यसलाई। रातो मुख लगाएर त्यो केटो हिँड्यो, त्यस पछि त्यो कहिले देखा परेन मेरो घरको वरिपरि। अलि अलि तल माथि गर्नु भनेको अर्को कुरा हो, तर त्यस्तो घटिया काम कसरी गर्नु? त्यस्तो घटिया काम गर्नु त आफ्नो नैतिकता नै बेच्नु हो। त्यो पनि त्यति थोरै पैसा का लागि, त्यस्तो घटिया कामको लागि। मान्छेहरुले हामी माथि आरोप लगाउँ छन, हामीले विकासको काम गरेनौ भनेर। यस्ताहरुले फुर्सत दिए पो विकासको काम गर्नु, राष्ट्र निर्माणको काम गर्नु, होइन त प्रभु?’

नेताको लामो कुरा सुने पछि भगवान दिक्दार मुद्रामा देखिनु भयो। भगवानले अलि खिन्नता भाव मुहारमा ल्याउँदै भन्नु भयो ‘नेता मोहन प्रसाद, मैले छिटै स्वर्गमा जानु छ। आज धेरै देवगणहरुको उपस्थिति छ, एउटा गंभिर विषयमा छलफल गर्न, स्वर्गमा। मलाई सबै देवगणहरुले अनुरोध गर्ने भएका छन एउटा इमानदार नेताको अवतार लिएर यो पृथ्वीमा आउन का लागि। पृथ्वीमा नेता, उनीहरुको विचार र राजनीति सबै अति दुषित भयो रे। राजा रामको पालामा जस्तो राजनीति जन मूखि रहेन अहिले यो पृथ्वीमा। राजनीति नेता मूखि हुन पुग्यो। नेपाल खण्डमा त झन अति नै। नेताहरुलाई सद् बुद्धि प्रदान गर्न र राजनीतिलाई पवित्र तुल्याउन मैले नेताको रुप धारण गरेर यो मृत्यु लोकमा आउनै परेको छ रे, देवगणहरुको बिचारमा। त्यसैले म अब जान्छु। तिम्रो लामो गफ कति सुन्नु।’

भगवानको कुरा सुने पछि नेताले मुहारमा प्रसन्नता ल्याउँदै भने ‘प्रभु, हजूर युवकको रुपमा आउनु भए हुन्थ्यो, यो धरतिमा। वालकको रुपमा आए भने त म हिँडि सकेको हुन्छु, माथि तिर। अनि अर्को चुनावमा मलाई प्रभुको आशिर्वाद प्राप्त होला भन्नेमा म पूर्ण विश्वस्त छु।’

नेताको कुरा सुने पछि भगवान अलि क्रुद्ध हुनु भयो। भगवानले भन्नु भयो ‘नेता मोहन प्रसाद, म तिमीलाई कुनै किसिमको सहयोग गर्दिन। तिमी जस्तो जहिले पनि झूठ बोल्नेलाई किन सहयोग गर्ने। मैले त तिमीले जनताको भलाई गरेको होलाउ, ठूलो त्यागका साथ उनीहरुको सेवामा समर्पित भएको होलाउ भनी अहिलेसम्म तिमीलाई सहयोग गरेको थिएँ। तर तिमीले त केवल आफूलाई र आफ्नो परिवारलाई सहयोग गरेको रहे छौ। जनताको पैसाले महल बनाएका छौ। झोपडिमा बस्ने मान्छे तिमी ……….. । तिम्रो सबै चर्तिकाला मैले धर्तिमा आए पछि मात्र देखे। तिमीले अहिलेसम्म झूठो बोलेर ढाटेको रहेछौ मलाई। अँ हँ अब म तिमीलाई सहयोग गर्दिन।’

नेताले डराउँदै भने ‘हजूर, हजूरको दया दृष्टि नभए पछि त म बरवाद नै हुन्छु। म जस्तो मान्छे, सधै गफ गरेर जिवन विताएँ, अब राजनीति भन्दा बाहिर गएर मैले के काम नै गर्न सक्छु र, प्रभु। दाउपेँच गरेर नै जिवन बित्यो, अब के काम गर्न सक्छु होला त मैले?। म माथि दया गर्नु पर्यो प्रभुले। आउने चुनावमा मलाई जिताउनु पर्यो। नत्र म वरवाद हुन्छु, घरको न घाट को हुन्छु। प्रभु दया होस प्रभु दया होस, म माथि।’

बोली प्रष्ट हुन नसकेको आबाज मुखबाट निकाल्दै, पलङ्गमा काम्दै गरेको देखेर नेता मोहन प्रसादकी पत्नी कमलाले दिक्क मान्दै भनिन ‘होइन, दिउँसो नै डर लाग्दो सपना देख्नु भए जस्तो छ, नेता ज्यू। उठ्नुस, के के भइसक्यो के के, थाहा छैन। तपाँई चाँई सुत्नमा नै मस्त…….। अलि पहिले नै पार्टी कार्यालयतिर गएर कुरा मिलाएको भए हुन्थ्यो नि। बरवाद भयो नि!’

पत्नीको कुरा सुने पछि अर्ध निद्रामा रहेका नेताले डराउँदै भने ‘के भयो र त्यस्तो, हँ?’

‘पार्टीको नीति विपरित काम गरेको, पार्टी फुटाउने उद्योगमा लागेको भनी तपाँईलाई पार्टीबाट निस्कासन गरे, पार्टीमा बलियो पकड भएका तपाँईका बिरोधीहरुले, संस्थापन पक्षले रे। अहिले भरखरै समाचारले भन्यो। त्यो समाचार आउनु भन्दा पहिले बैठकमा थुप्रै कार्यकर्ताहरु तपाँईलाई भेट्न बाटो कुरि रहेका थिएँ, त्यस्तो समाचार सुने पछि ती सबै उठेर हिँडे, तपाँईलाई भेट्दै न भेटि। मैले तपाँईलाई भनेको त थिएँ नि, त्यो पार्टीमा नजानुस भनेर, मान्नु भएन। मन्त्री बन्ने सुरमा त्यो पार्टीमा जानु भयो, हान्निएर, दायाँ बायाँ बिचार नगरेर। देख्नु भयो त …………… अब …..। खानु भयो नि धोका’ पत्नीले सुनाएको यो कुराबाट आश्चर्य चकित हुँदै नेताले भने ‘हँsssssssss।’

Kumud Adhikari – Birkhe Dai

कुमुद अधिकारी – बिर्खे दाइ

यसपालि म काठमाडौँबाट घर आउँदा निकै अस्थिर थिएँ। इलाम आक्रमण भएको पाँच दिन मात्र भएको थियो। सदरमुकाम आक्रमणपछि गाउँघरतिर हालखबर के छ भनेर बुझ्न मन लाग्यो र दौडिएँ घरतिर। दैनिक कामको व्यस्तता र देशको वर्तमान असहज स्थितिले हुनसक्छ, म विचलित पनि छु। यात्रा गर्दा वा केही गर्दा कहिले के हुने हो भन्ने कुराको निधो हुँदैन। कता बम पड्किने हो कि, कहाँ गोली चल्ने हो कसैले भन्न सक्तैन।

यस्ता असहज परिस्तिथिका सर्जक को हुन् र यसको समाधान कहिले होला भन्ने मनमा तर्कना मात्र रहन्छ। समाधानका लागि कोही पनि सिरियस भएको पाइँदैन। मान्छे स्वार्थ र आत्मपरकताले यति धेरै ओतप्रोत छन् कि, कोही मर्यो भने मानिसलाई केही हुँदैन। मानवीय संवेदना मृतप्राय छ। आफ्नू टाउकामा बम नपड्किऊन्जेल वा आफूलाई गोली नलागुन्जेल मान्छेले अर्को मान्छेको पीडा बुझ्नै सक्तैन। फेरि सुरक्षा फौज हुन् या विद्रोही हतियारको उन्माद यति धेरै छ कि सर्वसाधारणको एउटा शब्दले मात्र पनि उसको ज्यान लिन सक्छ। यस्तो उन्माद र संवेदनहीनता बोकेर यस देशका मानिसहरूले देशलाई कहाँ पुर्याउने हुन् केही पत्तो छैन।
घर आएर झोला बिसाइ यसो पल्टिन मात्र के लागेको थिएँ, तल्ला घरमा रुवाबासी भैरहेको सुनेँ। तल्लो घर अर्थात् मेरा छिमेकी बिर्खबहादुर सुन्दासको घर। हतारहतार लागेँ त्यतैतिर। मलाई देख्ने बित्तिकै कान्छी भाउजू छाती पिटीपिटी रुन थालिन्। कान्छी भाउजू, बिर्खे दाइकी जहान। हेर्छु मानिसहरूको भीड लागेको छ। उनीहरूका आफन्तहरू पनि छन्। आँखाभरि आँसु पारेर बसेका। बिर्खे दाइकी एउटी छोरी र दुईवटा छोराहरू पनि शोकमग्न छन्। ठूलै दुर्घटनाको आशङ्काले अर्का छिमेकी इन्द्रलाई सोध्छु- “के भयो ? किन यसरी शोक मनाइरहेका ?”
“बिर्खे दाइ 21 गतेको हवाई आक्रमणमा मारिएछन्। अहिले भर्खर खबर आइपुगेको।”
“अरे ! कसरी ?” म छक्क परेँ। बिर्खे दाइ त बिद्रोही हैनन्। फेरि कसरी यो हवाई कार्बाही ? फेरि हवाई कार्बाही त अस्ति फागुन 21 गते इलाम सदरमुकाममा भएको हो। समालबुङबाट बिर्खे दाइ कसरी इलाम पुगे र हवाई कार्बाहीमा मारिए ? बिर्खे दाइका छोराहरू केही बदमासजस्ता त देखिन्थे पहिले पनि तर पनि उनीहरूको सम्बन्ध बिद्रोहीसँग भएको त मलाई थाहा थिएन। मनमा चिसो पस्यो कतै यिनै केटाहरूले गर्दा त हैन बाबु भुमरीमा परेका। तर यत्रो फटाईँ गर्लान् भन्ने त लागेको थिएन। नहुन पनि सक्छ। जे होस् यो समय तर्कना गर्ने थिएन।
म कान्छी भाउजू त्यसरी रोएको हेर्न सक्तिनँ। यस्तो दुःखको समयमा कसरी सम्हालिऊन् पनि। कान्छी भाउजू दमिनी या बिर्खे दाइ दमाइँ नै भए पनि मेरा लागि केही फरक पर्दैन। त्यसो त पहिले पनि परेको थिएन। उनीहरूका जिउज्यानमा पनि मेरोजस्तै रातै रगत बग्छ, उनीहरूको कपाल मेरैजस्तो कालो छ। बिर्खे दाइ हा…हा…हा…हा.. गरेर हाँस्दा मेरै बुबाले हाँसेजस्तो सुनिन्छ। म उनका छेउमा जान्छु। देख्छु वरिपरिका आँखाहरूले मलाई अनौठो पाराले हेरिरहेका छन्। कान्छी भाउजूका हातहरू समाउँछु। यस्ता दुःखका बेलामा मलाई शब्दले सान्त्वना दिन आउँदैन, खै किन हो जान्दिनँ। मनका भावनाहरूलाई शोकको घडीमा शब्दमा उतार्न पटक्कै आएन मलाई। चाहे जो होस् शोकमा परेका व्यक्तिको हात समाउँछु म। मलाई लाग्छ दुईचार फोस्रा र बनिबनाउ शब्दहरूले भन्दा हातको न्यानो स्पर्शले धेरै गुणा बढी समवेदना प्रकट गर्छ। मैले कान्छी भाउजूको हात समाएर मौनताको भाषामा उनका दुःखहरू घटाइरहेको छु। मैले निकै बेर हात सुमसुम्याएपछि भाउजूको विलौना केही कम हुन्छ।
विस्तारै सोध्छु भाउजूलाई – “कान्छी भाउजू कसरी यस्तो भयो, कसैले दुष्ट्याइँ गरेको त हैन ?”
भाउजू रूँदै भन्छिन्-“हैन नानी ! हैन ! तपाईँ त छ महिना यता घर आउनुभएको छैन। जे भयो यही छ महिना भित्रै भयो। म त डुबेँ नानी ! म त डुबेँ !” भाउजूले यसभन्दा बढी केही भन्न सकिनन्। धिक्कारेँ आफूलाई किन यस्तो बेलामा मलाई पनि बेलिबिस्तार चाहिएको होला। भाउजूको रुवाइ बढ्न थाल्यो। म फेरि भाउजूको हात समातेर उनको दुःखको पहाडलाई केही होच्याउने प्रयत्न गर्नतिर लागेँ।

बिर्खे दाइको काजक्रिया पनि सकियो। उनको दाहसंस्कार पनि गर्न सकिएन। हवाई आक्रमणमा परेका मानिसहरूको सनाखत नै हुन सकेन। लासहरू यति धेरै क्षतविक्षत भएका थिए कि कसको हो चिन्ने कुरै थिएन। कति मारिए भन्ने कुराको त यकिन छैन। सरकारी तथ्याङ्कले एउटा कुरो भन्छ भने विद्रोहीहरूको बक्तव्यले अर्कै। सर्वसाधारण त जहिले पनि मारमा। सही सूचनाको अधिकार समेत जनतालाई छैन।
म घरबाहिर सिकुवामा बसेर बिहानीको दोस्रो चिया खाइरहेको थिएँ। भित्र आमाले दूध तताउँदै हुनुहुन्थ्यो। एकछिन पछि आमाले भन्नुभयो- “ए साने ! कुराउनी कोर्ने हैन। कराई सुकिसक्यो।”
“हुन्छ आमा !”भन्दै हतार हतार भान्सामा गएँ र किटको ठूलो कराइमा लागेको कुराउनी कोर्न लागेँ। मेरो सानैदेखिको स्वभाव वा बानी हो यो। दूध तताएपछि कुराउनी कोर्ने र कुराउनीको डल्लो क्वाप्लाक्क मुखमा हालेर हिँड्ने। आमाले मेरो बानी मन पराएरै होला जहिले पनि म घरमा आउँदा, मलाई नै कुराउनी कोर्न लगाउनु हुन्थ्यो। हो उमेर चालीस कटिसक्यो तर पनि बालापनको बानी गएको छैन। कुराउनी कोरिसकेर कराई किलामा झुण्ड्याउँदा अचानक मलाई ठूली दमेनाको सम्झना आयो।

ठूली दमेना ! नाम के हो थाहा छैन। नाम त मलाई बिर्खे दाइकी पत्नी कान्छी भाउजू कै पनि थाहा छैन। साइनो लागेर बोलाउने गाउँले परिवेशमा धेरै आफन्तहरूका नाम मलाई थाहा छैन। साइनोको सम्बोधन यति प्यारो र आफ्नोपनले भरिएको हुन्छ कि वास्तविक नाम या कागजमा भएका नामको कुनै अर्थै रहँदैन। कानुनी प्रक्रिया अथवा लेखापढी गर्दामात्र नामको प्रयोजन हुन्छ। जे होस् कुरो हुँदै थियो ठूली दमेनाको। ठूली दमेना बिर्खे दाइकी आमा थिइन्। म र बिर्खे दाइ लगभग दौँतरी हौँ। उनी मभन्दा दुई वर्षमात्र ठूला हुन्। तर उनीहरूको पारिवारिक कारणले उनको छिटै बिहे भयो र छोराछोरी पनि छिटै भए। त्यसैले मेरा छोराछोरीहरू र उनका छोराछोरीहरूमा उमेरको निकै अन्तर छ। ठूली दमेना र कराईसित मेरो अविस्मरणीय घटना गाँसिएको छ।
एकदिन म बिर्खे दाइसँगै उनकै आँगनमा खेलिरहेको थिएँ। मलाई बिर्खे दाइको घरभित्र आउनुजानुमा केही रोकटोक थिएन। खाजा खाने बेला भएको थियो। ठूली दमेनाले बिर्खे दाइलाई खाजा खान भित्र बोलाइन्। म पनि सँगसँगै भित्र पसेँ। किटको ठूलो कराईमा मकैको चामलको पुवा पकाएको रहेछ। ठूली दमेनाले मलाई – “साना ! पुवा खाने ?” भनेर सोधिन्। मलाई पनि खेल्दा भोक लागिरहेको थियो र भनेँ-“ल खाने दमेना।” त्यसपछि बिर्खे दाइ र मैले घिउमा भुटेर पकाएको मकैको पुवा र साँदेको गुन्द्रुकको अचार खायौँ। साँझ घर गएर मैले ठूलो पुरुषार्थ गरेझैँ आमालाई सुनाएँ- “आमा ! आमा ! मैले त ठूली दमेनाकहाँ मकैको पुवा खाएर आएँ।” आमाले बेस्सरी झपार्नुभयो, दमाइँको घरमा किन खाएको भनेर। मलाई त्यसबेला दमाइँ को हो, किन उनीहरूले छोएको खान नहुने आदि कुराको जानकारी थिएन। मैले मतलब पनि राखिनँ। बिर्खे दाइ मेरा साथी थिए, एकदम मिल्ने साथी त्यसैले होला। अँ दुईटा कुरा अलिक भिन्नै चाहिँ थिए। उनीहरूको घर मुन्तिर कान्लामा सुँगुरको खोर थियो जुन हाम्रामा थिएन र उनीहरूले लुगा सिउँथे। तर लुगा त हाम्रा बाले पनि सिउनुहुन्थ्यो र उनीहरूको भन्दा राम्रो कल थियो हाम्रामा।
अरे ! मेरा त आँखामा आँसु आइसकेछन्। कठैबरा बिर्खे दाइ ! मेरा बालसखा ! छ महिना पहिले म घर आउँदा कति हँसिलोँ पाराले ठट्यौली गरेर छुट्टिएका थियौँ। अब त केवल सम्झना मात्र रह्यो। थाहा छैन यो असहज परिस्थितिले केके खोस्ने हो ! मेरा प्यारा बिर्खे दाइलाई त खोसिसक्यो।

यसैबीच इन्द्रबाट थाहा पाएँ इतिबृतान्त। हाम्रो सीमान्त गाउँ समालबुङमा प्रायः विद्रोहीको चलखेल सामान्य मात्र थियो। कहिलेकाहीँ चन्दा माग्न आउँथेजान्थे। सुरक्षा फौज पनि बेलाबखत आएर जान्थे। त्यस्तो धेरै दुःख दिएको थाहा छैन। जे होस्, मेरा लागि अकल्पनीय घटना घटेको थियो। बिर्खे दाइ यसरी मर्लान् भनेर सोच्दै सोचेको थिएन। कतै मनका अन्तरकुन्तरमा पनि यस्तो घटनाको आशङ्का थिएन। म त काठमाडौँबाट हिँड्दा बिर्खे दाइसँग तासको एकदुई बाजी जमाउँला भन्दै आएको थिएँ। तर उनी त तासको महल जस्तै ढलिसकेछन्। म मर्माहत भएको छु। कान्छी भाउजूलाई कसरी जिन्दगीको बाटो देखाऊँ ? बिर्खे दाइ र कान्छी भाउजूको प्रेमबाट धेरै कुरो सिकेको थिएँ मैले। औपचारिक शिक्षाले नछोएका बिर्खे दाइ र कान्छी भाउजूको जोडी मेरा नजरमा आदर्श जोडी थियो। मैले उनीहरूको जस्तो व्यवहार र समझदारी काठमाडौँका धेरै पढेलेखेका भनाउँदाहरूमा पनि देखेको छैन।
समस्या बिर्खे दाइका छोराहरूबाटै सुरु भएको रहेछ। केटाहरू केही उच्छृङ्खल त थिए। बेलामौकामा मातेर हामीलाई हेप्ने बाहुनहरू, काठाहरू सबलाई मास्नु पर्छ भन्ने गर्थे। तर तिनीहरूको अभिव्यक्ति रक्सीको मातसँगै हराएर जान्थ्यो। होला केही अवचेतन मनमा कि हामीहरू दलित हौँ र यिनै माथिल्लो जात भनाउँदा हरूले हामीलाई माथि उठ्न दिँदैनन्। तर उनीहरू माथि नउठ्नुमा सबभन्दा धेरै दोष चाहिँ उनीहरूकै थियो। बिचरा बिर्खे दाइले लुगा सिएर र बनीबूतो गरेर उनीहरूलाई यसैपालि एस.एल.सी. पास गराएका थिए। उनी आफू अनपढ भए पनि शिक्षाले मात्र हामीलाई उकास्छ भन्ने कुरो बुझेका थिए। आफू सानो जात भनेर कुर्लिनुको साटो पढेर ठूलो जात भनाउँदाहरूसँग वैचारिक युद्ध गर्नुपर्छ भन्ने कुरामा बिर्खे दाइ विश्वस्त थिए। म पनि उनलाई सधैँ यस्तै कुराहरूमा सहयोग गरिरहन्थेँ। बिर्खे दाइका कुरा सुन्दा उनी अनपढ भनेर कसैले भन्न सक्तैनथ्यो।
एक दिन विद्रोही का केही क्रान्तिकारी युवाहरू आएर बिर्खे दाइका छोराहरूलाई ‘दलित मुक्ति मोर्चा’ का उद्देश्यहरू बताउँदै, सदस्यता लिन अनुरोध गरेछन्। केटाहरूलाई के चाहिएको थियो र बाहुन-छेत्रीको थिचोमिचो बाट मुक्त हुने उपाय त अब हात लाग्यो भनेर तुरन्त सदस्यता लिइहालेछन्। सैद्धान्तिक कुराहरू एक ठाउँमा र व्यवहार एक ठाउँमा। बिर्खे दाइले चाल पाएर विरोध पनि गरेछन् तर के गर्ने लिइसकेको सदस्यता फिर्ता नहुने। अब दलित मुक्ति मोर्चा साथै विद्रोहीका अन्य कार्यक्रमहरूमा जान निम्तो आउन थालेपछि बिर्खे दाइको पसिना छुटेछ। उनी विचराले सशस्त्र क्रान्तिले कैयौँको ज्यान लिएको देखिसकेका थिए। मानिसको ज्यान नलिइ पनि संगठित भएर युद्ध गर्न सकिन्छ भन्ने धारणा थियो बिर्खे दाइको। सायद उनले चाल पाएको भए पहिले नै सदस्यता लिनबाट रोक्थे कि। अब जे हुनु भैसकेको थियो।
त्यसको केही दिनपछि केटाहरू दलित मुक्ति मोर्चाको बैठकमा सहभागी भएर आए। उनीहरूको उत्साह हेर्न लायकको थियो रे त्यसबेला। अब यी शोषक बाहुनहरूको खैरात छैन भन्दै गाउँभरि कुर्लिहिँडेछन्। त्यो देखेर बुबा आमा निकै डराउनु पनि भएछ। तर कुरो फेरि आयोगयो भएछ।

बिचरा बिर्खे दाइ । मेरा बालसखा बिर्खे दाइ। म झल्झली सम्झन्छु बिर्खे दाइसँग मैले बिताएका दिनहरू। हाम्रो प्यारो समालबुङ गाउँ, मेची खोला, पारि इन्डियाको चियाबारी। बिर्खे दाइ र म प्रायः हरेक दिन समालबुङको ऐँसेलु घारी चाहार्थ्यौँ। जिम्बुका रूखमा चढेर जिम्बु खान्थ्यौँ। काँचा मेलहरू खान्थ्यौँ। एक दिन त हामी लहड चलेर करफोक स्कुलको कुटी जङ्गलसम्म पुगेका थियौँ, गोरूसिँगे खानलाई। बिर्खे दाइसँग म कैयौँ पटक मिरिक गएको छु। चियाका बुट्टाहरूमा लुकामारी खेलेका छौँ हामीले। मिरिक गएर सयौँ पटक चिया र सिँगडा खाएका छौँ। साधारण लेखपढ गर्न नजानेका बिर्खे दाइ त्यसबेला अरूले किताबहरू पढेको साह्रै रुचाउँथे। एक पल्ट मेरा बुबाले मलाई मिरिकबाट ‘गान्धीको जीवनी’ किनेर ल्याइदिनुभएको थियो। मैले पढेको देखेपछि बिर्खे दाइले मलाई त्यो किताब पढेर सुनाउन भनेका थिए।मैले त्यो किताब बिहान-बेलुका गरेर एक महिनाभित्रमा पढेर उनलाई सुनाएको थिएँ। उनमा त्यसपुस्तकबाट परेको प्रभाव उनको जीवन मै देखिन्थ्यो। मैले बुबासँग मिरिक जाँदा पुराना किताबहरू बेच्ने ठाउँ देखेको थिएँ र पछिल्लो पल्ट उनीसँग जाँदा मैले त्यो ठाउँ उनलाई देखाएको पनि थिएँ। त्यसपछाडि बिर्खे दाइलाई मैले म्याक्सिम गोर्कीको ‘आमा’ पनि पढेर सुनाएको थिएँ। आफ्ना जिन्दगीका जिम्मेवारीबाट केही पैसा बचाएर मिरिकको त्यही दोकानमा गएर बिर्खे दाइ आफ्ना छोराहरूका लागि पुस्तकहरू किन्थे बेलाबेलामा। ‘कुन किताब किन्नु ? लेखिदिनोस् !’ भनेर बुबासँग लेखिमाग्दा रहेछन्। अघिल्लोपल्ट म घर आउँदा मैले उनका बाकसमा थुप्रै किताबहरू देखेको थिएँ। उनी छोराहरूले राम्रा किताब पढेनन् भनेर निकै चिन्तित देखिन्थे।

कान्छी भाउजूसँग म आँखा जुधाउन सकिरहेको छैन। उनका आँखामा आँसु सुकेका छैनन्। म कसरी सम्झाऊँ उनलाई। “म त एक्लिएँ नानी ! म त एक्लिएँ !” भनेर बिलौना गरिरहन्छिन्। त्यसदिन विद्रोहीहरूको बीसजनाको समूह आएको थियो रे। ‘दलित-मुक्ति मोर्चा’को विशाल आमसभामा जानका लागि लिन आएको भन्दै बिर्खे दाइलाई लिएर गएछन्। कहाँ जाने भनेर सोद्धा कड्केर नेपालटार जाने भन्दै ओरालो लागेका थिए रे। कान्छी भाउजू ले त त्यसैदिनदेखि डराएर खानपिन पनि राम्ररी गर्न छाडिसकेकी रहिछन्। अब कहिले आउलान् भनेर बाटो हेर्दाहेर्दै हप्तौँ बितेछ। त्यसै बीच इलाम सदरमुकाम आक्रमण भयो 21 गते। जनमुक्ति सेनालाई सघाउने भन्दै दलितमुक्ति मोर्चाका सदस्यहरूलाई पनि इलामतिर लिएर आउँदा पुवामाई नजिकै सेनाले हेलिकप्टरले बम खसालेछ। दलित मुक्तिमोर्चाका अन्य सदस्यसहित बिर्खे दाइलाई पनि सहिद घोषणा गरेछन् विद्रोहीहरूले।
यसरी बिर्खे दाइ बिदा भए हामीबाट। अब हामी माझ सानो खुसीको कुरा हुनासाथ हा…हा…हा…हा… गरेर गाउँ नै थर्काउने गरी हास्ने बिर्खे दाइ छैनन्। मेरा अभिन्न मित्र छैनन्। खै के गर्ने ? कान्छी भाउजूलाई अब एसएलसी पास गरेका छोराहरूको चिन्ता छ। म पनि उनीहरूका लागि चिन्तित छु। हेर्छु केटाहरूको रङ फुस्रो छ। युवा अनुहारहरूमा कान्ति छैन। उनीहरूको अनुहारले क्रान्तिको भ्रान्तिमा परेको स्पष्ट देखाइरहेको छ। तर के गर्नु र बोली र गोली छुटेपछि फर्काउन सकिन्न। मानिसको जिन्दगी पनि अचम्म लाग्दो छ। कतिपय कुराहरू पश्चाताप गर्दा पनि फिर्दैनन्। अब ती केटाहरूले त्यस्ता भेलाहरू, सभाहरूमा भाग लिनैपर्छ। सदस्य छन् उनीहरू। ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भने झैँ, शोषकलाई मजा चखाउने सुरमा बाबुलाई पनि उनीहरूले गुमाउनु पर्यो।

बीस दिनपछि म काठमाडौँ फर्किएँ। साथै लिएर आएँ कान्छी भाउजूले दिएका केही पुस्तकहरू जुन उनले छोराहरूका लागि जम्मा गरेका थिए। ती पुस्तकहरूमध्येमा एउटा थियो – मेरै बुबाले संस्कृतबाट अनुवाद गर्नुभएको ग्रन्थ-‘सरल गीता।’

Kusum Gyawali – Nari Akarshan (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – नारी आकर्षण (लघुकथा)

“होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटे पछि वार्डेन सरलाइ उसको च्यावनप्रासे चाला देखेर झ्वाँक चल्नु पनि स्वाभाबिक थियो । एक चड्कन हानेर वार्डेन सर एक्लै भुतभुताए “छ कक्षा पास भाछैन के सारो बैश अाको हँ यो टिपुरे केटालाइ” । अाइन्दा “यस्तो हरकत” कायम रहे स्कुलबाट निकाल्ने धम्की पनि दिए । उसको ति नायिका प्रतिको लगाव एक इन्च पनि घटेको देखिएन, पढाइ भने दिन प्रतिदिन खस्किदो थियो ।
दश एघार बर्षको फुच्चै ब्यावसायिक फिल्मकी एउटी नायिका प्रतिको यो लगाबको खवर पत्रिकाको “निकै मनोरञ्जक समाचार” बन्यो, बजारको यस समाचारलाइ “शालीन (?)” गृहिणीहरूले टिप्पणी गरे “अचेलका बच्चा उम्रिदै तिनपात !”। समाजका जेठा बाठाहरू भने अहिलेका केटाकेटीहरूलाइ “अस्लील चलचित्रले बिगारेको” निस्कर्षमा पुगे । “केटी भने पछि केटाहरूको जातै यस्तो” क्याम्पस पढ्ने युवतिहरूले अाफ्नो थेसीस अगाडी सारे । “पाठ-यपुस्तकमा नैतिक शिक्षाको कमी भएको” ठोकुवा गरे भरखर नयाँ पार्टीमा पसेर अाफ्नै पुरानो राजावादी पार्टीलाइ सराप्दै हिड्ने “क्रान्तिकारी” नेताले ।

मनोचिकित्सकको टोलीले गम्भिर अध्ययन पछि “शिशिरकी दिबङ्गत अामाको अनुहार उक्त नायिका सङ्ग मिल्ने हुनाले नायिका प्रति यस्तो लगाव देखिएको” निस्कर्ष निकाल्यो ।