Nobal Niraula – Abhagi Majhghare

छेत्रीगाउँ भएर होला दिनहुँ चर्चा हुन्थ्यो खसीको। धार्नीको ८ सय पुगिसकेकाले किनेर खान असम्भव नै थियो गाउँलेहरुलाई। कि त आँफैंले पाल्नु पर्‍यो हैन भने थुक निल्दै बस्नु सिवाय अरु उपाय नै थिएन। त्यही भएर बडेमानको घोर्ले खसी फिर्ता पाएकोमा दङ्ग थिए माझघरेका सन्तान। सबजना भनिरहेका थिए – “माझघरे तिमीहरुलाई बधाई छ खसी फिर्ता पाएकोमा”।

“सानु दु:ख गर्नु परेन खोसेर ल्याउन। सापटी लिएको रकममा मिलाउँला भन्दै दशैंमा खाउँला भनेर जोगाएको खसी आफ्नै पुर्खौली सम्पत्ति झै गरेर टाट्नु खाली पार्दै लगेको थियो बजिया महाजन भनाउँदोले। धन्न सवै गएर पाखुरा सुर्केपछि तर्सियो र फिर्ता दियो” – माझघरे र उनका सन्तान मुसुमुसु हाँस्दै जवाफ फर्काउँथे। छन पनि मूलघरमा राखेको त्यो लाम्काने खसी एकदमै गजबको थियो ।

चार धुर छन् माझघरेहरुका – ३ लक्का जवान छोराका घर, अनि बूढावुढी बस्ने मूलघर। जेठा छोराका २ छोराछोरी छन् । माईला र कान्छा विवाहित भएपनि छोराछोरी भने भै सकेका छैनन् ।

समय बित्दै दशैं लागेको थियो। माझघरेका सन्तानलाई यो दशैं निकै उत्साहजनक लागिरहेको थियो किनकी साथमा घोर्लै खसी थियो। सप्तमीको दिन नै खसीकाट्ने निर्णय गरे माझघरेहरुले। माझघरे बूढा दाउरा ठोस्दै पुरानो तामाको खट्कुलोमा पानी उमाल्दै थिए। एक्कासी आँगनको होहल्ला सुनेर बूढा वाहिर निस्कीए। हात हालाहालको स्थितिमा पुगिसकेछन् छोराहरु। खसी काट्न उद्याएर तैयार पारेको खुकुरी लिएर घम्साघम्सी पो गर्न खोज्दै रहेछन् ।

बूढाले कुरा बुझ्दै गए । ‘कसले कति धार्नी’ भन्ने कुरा नमिले पछि सुरु भएको रहेछ झगडा। जेठो छोरो भन्दै थियो- “हिसाब साधारण छ भाइ हो । खसी काटौं । जति मान्छे उति भाग लगाऔं । अनि जसका घरमा जति छन् उति भाग लिने, हिड्ने। कस्तो कुरा नबुझेका तिमीहरुले” । माईला र कान्छाले असहमति जाहेर गर्दै थिए। उनीहरु भन्दै थिए- “कस्तो वाठो तिमी । ७ बर्षकी तिम्री छोरी र ५ वर्षको तिम्रो छोरो पनि हामी बराबरका भए हैन त ? क्या गजबको कुरा । उनीहरुलाई भाग लगाउनु हु्न्न। तिनीहरु त तिम्रा भागखाने मान्छे हुन् न कि तिनीहरु छुट्टै भाग लिने हैसियत राख्ने मान्छेहरु । भाग त के एक चोक्टा पनि तिनीहरुको लागि छुट्याउनु हुन्न। खसिलाई चार बराबर भाग लाउने हो, र हरेक घरले एकएक भाग लिने हिड्ने हो। यो त अति साधारण हिसाब हो”। कान्छा र माइलाको कुरालाई उनीहरुका वुहारीहरुले पनि जोडदार रुपमा समर्थन गरेका देखिन्थे।
झगडा धेरै वेरको चल्यो । बूढाले साफ गाली गरे छोराहरुलाई। केहीवेर पछि झगडा मथ्थर त भयो तर भागबन्डाको कुरो मिलेन। बूढाले आगो निभाए। “भोलि काटौला खसी, अष्टमी पनि हो”- बूढाले जिम्लिएको पानी जुठेल्नामा पोख्दै भने। चि-चि लिन गएका माझघरेका नाति-नातिना निरास हुँदै घर फर्के।

“आज अष्टमीको दिन जसरी पनि काट्नु पर्छ खसी, तिमीहरु जसरी पनि कुरो मिलाओ। भोलिवाट मारहान्न मिल्दैन”- भोलिपल्ट जम्मा भएका छोराहरुमाझ माझघरे बूढा भन्दै थिए। कुरा मिल्ला झै भैरहेको थियो। यसैवीच माझघरेकी जेठी वुहारी गाउँ थर्काउने गरी कराई – “ए हर्केका वाउ, हर्केका वाउ, घर आऊन एकछिन, धामीबूढा आका छन्”। जेठो छोरो विचैमा हिड्यो धामी बूढा भेट्न।

करिब एक घन्टामा फर्कियो जेठो। छलफल फेरी सुरु भयो। जेठोले अड्डि कस्यो- “मेरा छोराछोरी छन् । त्यसैले अरु भाइहरुले भन्दा मैंले बढी पाउँनै पर्छ। खसी समानुपातिक हिसाबले वाँढिनुपर्छ”। धामिबूढाले जेठोलाई उक्काएकी के हो, अघि मिल्न लागेको कुरो मिल्दै मिलेन। बराबर भाग लगाए यो दशैंमा खसी नै नखाने र काट्न नदिने सुरमा कस्सियो उ। माहिलो र कान्छो चार बराबर भाग लगाउनु पर्छ भन्ने कुरा मै अडिग रहे।
माझघरे बूढाले मध्यमार्गी वाटो अपनाउने विचार गरे र वुढीलाई एक नजरको ईसारा दिए । वुढीले सुरु गरिन-”हेर, भाग लगाउने कुरा छोड। सवै मासु मूलघरमा राखौं। म पकाउँछु सवैको लागि । अनि मासु नसकिउन्जेल यही खाँउला सवै जना अनि दशैं मनाउँला”। माईलो कस्सियो – “जेठो छोरो वाउको, कान्छो छोरो आमाको । माईलो न वाउको न आमाको । म मान्दिन यो कुरा”। कान्छोले पनि यो प्रस्तावलाई त्यति रुचाएन । कुरा फेरि मिलेन ।

अष्टमीको दिन पनि कुरा नमिलेको देखेर छोराहरुलाई माझघरेले भने: “दशैंमा मासुखानै पर्छ भन्ने के छ र? छोरीपनि आउँछे तिहारमा। तिमीहरु पनि कुरा मिलाओ त्यो बेलासम्म” । यसरी बूढाले तिहारसम्मका लागि खसी नकाट्ने निर्णय सुनाए।
घरमा घोर्ले खसी भएपनि दशैंमा माझघरेका सन्तानले घुटुघुटु थुकनिल्दै विताए। “तिहारमा बहिनी आएपछि मात्रै काट्ने सल्लाह भयो” – गाउँलेहरुलाई घरझगडा लुकाउँदै माझघरेका सन्तान भन्ने गर्थे।

कोजाग्रत पूर्णिमाको रात माझघरेका सन्तानले गाउँ थर्काए। पूर्णिमाको रात भएपनि आकाश भरी डम्म कालो बादल लागेको हुनाले रात अन्धकारमय नै थियो। गाउँलेहरु होहल्ला गर्दै राँको लिएर माझघरेका बस्ती तर्फलागे जहाँ माझघरेका सन्तानहरु पुर्पुरोमा हात राख्दै बाघले सिध्याएको घोर्ले खसी सम्झिँदै विलाप गर्दै थिए। भागबन्डाको कुरा नमिल्दा नकाटिएको घोर्लेखसी गुमाउँदा पनि माझघरेका सन्तान आ-आफ्ना गल्ती स्वीकार गर्न तैयार थिएनन् बरु अझैपनि एक अर्कामाथि आरोप थोपरिरहेका देखिन्थे। गाउँलेहरु अभागी नसुध्रिएका माझघरे देखेर वाक्क दिक्क भए झै देखिन्थे। उता धामी बूढा भने माझघरेका कुलदेउता बिग्रेको कुरा बर्वराउँदै थिए।

Ismali – Agni Yuddha

इस्माली – अग्नियुद्ध
(Source: मधुपर्क साउन, २०६७)

‘राजालाई नजिस्क्याउनू, आगोलाई नखेलाउनू ।’ बाले भन्नुभएको यो कुरो ऊ अहिले पनि झलझली सम्झन्छ । हिउँदको घुर ताप्दा उनीहरू घुरको आगो चलाउँथे, कहिले घुर फुक्थे, कहिले घुर खोस्रन्थे, कहिले घुर सल्काउँथे त कहिले घुर छोप्थे । उनीहरूका त्यस्ता क्रियाकलापलाई बा गौड गरेर हेरिरहुनहुन्थ्यो र काममा अलिकति तलबितल पर्‍यो कि उहाँ भन्नुहुन्थ्यो, ”आगोसँग होस् गर्नु । होस् पुगेन भने आगोले खान्छ । आगोसँग खेल्ने त मोहन हो मोहन ! पटक्कै नडराउने, न राजासँग, न आगोसँग ।”

”को मोहन, बा ?” सोधेथ्यो उसले । ”तिमी चिन्दैनौँ, भैगो । तिमी आफ्नो काम गर । स्कुलको पाठ गरिसक्यौ ?” के सोचेर हो, बाले टार्नु भएको थियो । ऊ किशोरवयी थियो तिनताक । स्कुलमा एकजना शिक्षक हुनुहुन्थ्यो- मोहन सर । उसलाई लाग्यो, बाले तिनैको कुरा गर्नुभएको होला तर उहाँ त राजालाई विष्णुको अवतार मान्नुहुन्थ्यो र आगोदेखि अचाक्ली डराउनुहुन्थ्यो । आगोले पोलेर उहाँको अनुहारै विरूप भएको थियो । सामाजिक शिक्षा पढाउनुहुन्थ्यो । एक दिन पढाउनु भयोः पहिले-पहिलेका मानिसहरू जङ्गलमा बस्थे, शिकार गर्थे, काँचै मासु खान्थे, काँचा जङ्गली फलफूल खान्थे । आगो पार्न जानेपछि मान्छेको जीवनशैलीमा ठूलो परिवर्तन आयो । खानेकुरा पोलेर, पकाएर खान थाले, आगो तापेर न्यानो भएर बस्न थाले । आगो बालेर सुरक्षित भएर बस्न थाल्यो । आगोले मान्छेलाई नयाँ र सुरक्षित जीवन दियो । तर होस् पुर्‍याएन भने, हेर मेरो गति । ‘त्यसैले अग्निदेवो भव ः ।’

घरमा होम लाउँदा पण्डितबाजेले भन्नुभएको थियो- महषिर् अङ्गीरसले आगो पार्ने विद्या आफ्ना शिष्यहरूलाई सिकाएका थिए । पछि उसले थाहा पायो-पहिलेको युनानमा प्रमिथस भन्ने वीरले स्वर्गबाट आगो चोरेर ल्याएर धरतीका दुःखी मान्छेहरूलाई दिएका थिए र धरतीका दुःखी मान्छेहरू खुसी भएका थिए । आगोले त प्राणीलाई जीवन दिँदोरहेछ-सुखी जीवन, स्वर्ग दिँदोरहेछ । त्यसैले त प्रमिथसले स्वर्गबाट आगो चोरेर लुकाएर ल्याएका रहेछन् । उसलाई लाग्यो-मोहन यहाँका प्रमिथस हुन्, मोहन आजका अङ्गीरस हुन् । कहाँ छन् त ती मोहन ? मोहनको कुरा गर्ने बा बितेको धेरै भइसकेको थियो । आगाकै चितामा उसले बालाई सेलाएको थियो, भष्मीभूत पारेको थियो र अस्तु घातमै पानीमुनि बालुवामा पुरिदिएको थियो,’भष्मीभूतस्य देहस्य पूनरागमनम् कुतः ?’ चार्बाकी उक्ति स्मरण गर्दै । बाको अवसानपछि काँधमा बोक्नु परेको बाको जिम्मेवारीका क्रममा जीवन र परिवेश उसलाई रौरव नर्कझैँ लाग्न थालेथ्यो । त्यसैले ऊ झलझली मोहनलाई सम्झन थालेथ्यो । प्रमिथस मोहन, अङ्गीरस मोहन, मोहन-मोहन । ती मोहनलाई एकपटक मात्रै भएनि भेट्ने अभिलाषा उसमा तीव्रतर हुँदै गयो । भेट्न नपाए नि नजिकैबाट एक नजर हेर्न मात्रै पाए नि हुन्थ्यो जस्तो लाग्न थाल्यो उसलाई । ती कहाँ छन् भन्ने कुरो कसलाई थाहा होला ? मोहन सरलाई त केही न केही थाहा होला भन्ठानेर ऊ मोहन गुरुकहाँ गयो र आफ्नो जिज्ञासा बिसायो । सुन्नासाथ पहिले त गुरुले उसलाई तलदेखि माथिसम्म हेरे- दुई/तीन चोटि । उसलाई आफ्नो जिज्ञासामा अटल देखेपछि आफ्नो तुकबन्दी शैलीमा भने, ”बाबु कमल, तिमी हिलोपानीमा खाइखेली गर्नेलाई आगोसँग रमाउनेको सङ्गति नजँच्ला । त्यसै पनि आगो र पानीको बैर त उहिल्यैदेखि हो नि ।”

”आगो र पानीको मित्रता पनि त हुन सक्छ नि, गुरु । आगो र पानीलाई सार्थक ढङ्गले प्रयोग गरियो भने त यही धरतीलाई स्वर्ग बनाउन सकिहालिन्छ नि । आगो र पानीलाई ठीक ढङ्गले प्रयोग गरेरै हामी जङ्गली जीवनको कोकुनबाट निस्केर यहाँसम्म आइपुगेका होइनौँ र । त्यसैले मलाई ती मोहनका बारेमा केही बताइदिनुस् न ।” कमलले आग्रह गर्‍यो, ”तिनलाई एक खेप नभेटी भा’छैन ।”

अनेक किसिमले टारटुर गर्दा पनि कमलको हठ कायमै रहेपछि मोहन गुरुले यताउति पल्याकपुलुक हेर्दै उसलाई आगो नबलेको एकान्तको अगेनोको छेउमा बसाए । आफू पनि बसे अनि निभेको ठुटो अगुल्टोले अगेनो खोसि्रदै साउतीको स्वरमा भने, ”ती त भर्भराउँदा आगा हुन् । तिनको थाप्लोमा करोडको थैली थोपरेको छ राज्यले । जिउँदो ल्याए एक करोड । मूर्दा ल्याए दुई करोड, टाउको ल्याए डेढ करोड ।” ”के बिराम गरे र तिनले, गुरु ?” कञ्चट कन्याउँदै कमलले मलुवा स्वरमा सोध्यो ।

”विराम त के गरे भन्नु नि । आगो बाँड्दै हिँडे, आगो ! कमारालाई मालिकको दासताबाट मुक्ति, कमकरलाई राज्यको शासनमा उकाल्ने, श्रमजीवी वर्गको हातमा सत्ता नआएसम्म धरतीको फोहोरमैला सफा हुन सक्दैन, रौरव नर्क नै रहन्छ, अधिकारविहीनहरूलाई अधिकारको मालिक बनाउनुपर्छ आदि यस्तैयस्तै कुरा गर्छन् । त्यहीँदेखि तिनको खेदो गर्‍या गर्‍यै छ राज्यले । ती सुनौलो सपना बाँड्दै हिँडेछन् । राज्य त्यो सपना खोस्दै हिँड्छ । यस्तै लुकामारी छ तिनको । भुँड्काभरि आगो बोकेर हिँड्याछन्, कहिले आगो छर्छन्, कहिले आगो लुकाउँछन् ।” अगेनो खोस्रँदै भने गुरुले ।

”कहिलेदेखि बाँडेका हुन् आगो ?”

”मैले थाहा पाएदेखि ती आगो बाँड्याबाँड्यै छन् । न त ती आगो बाँडेेर थाक्छन्, न त आगो कहिल्यै सकिन्छ ।”

”त्यो आगोको स्रोत के हो त ?”

”प्रकृति, विभेदकारी समाज अनि यी दुईसँग चिनारी गराउने पुस्तक ।”

”के उमेरका होलान् ती, गुरु ?”

”उमेर ? हेर बाबू, आइमाईको र योद्धाको उमेर कहिल्यै नसोध्नु । युवती जहिले नि तरुनी हुन्छे र योद्धा जहिले नि जवान रहन्छ ।”

”ती बस्छन् कहाँ ?”

”ती यहाँ बस्छन् भन्ने भा भए शक्तिको मालिक बनेको राज्यले तिनको थाप्लोमा थैली थोपर्ने नै थिएन । ती त यात्री हुन् यात्री अग्निपथका …..चरैवति चरैवति

……हिँडिरहन्छन्, आज यहाँ भोलि वहाँ । चल जोगी फटकार छाला जहाँ पुग्ला त्यहीँ बस्ला भनेझैँ । तिनको आफ्नो भन्ने कोही छैनन् जनताबाहेक, सम्पत्ति भन्नु केही छैन, त्यही आगोबाहेक ।”

”यो सब कष्टकहर किन काट्दैछन् त गुरु ?” कमल झन् कौतूकमय बन्दो थियो ।

”सबै कुरो आजै जानिहाल्ने ? धेरै भोकाए जस्ता छौं । भन त……युवराज गौतमलाई के कुराको कमी थियो कपिलवस्तु

दरबारमा ? तर उनी सबै दरबारी सुखसयल, मायामोह त्याग गरेर निस्के समाजको दुःखको कारण खोज्न, सत्य खोज्न । सुकरातले सत्यकै लागि हाँसीखुसी विषमान गरे । गङ्गालाल किन चढे फाँसीमा ? टङ्कप्रसाद किन राजी भए चारपाटा

मुडिन ? यज्ञबहादुर थापा र भीमबहादुर श्रेष्ठ किन राजी भए छातीमा तातो गोली

थाप्न ? कवि कृष्णसेन इच्छुक किन राजी भए मृत्युवरण गर्न ? एउटा अभीष्टका लागि, एउटा सत्यको प्राप्तिका लागि । मोहन पनि त्यहीँ अभीष्टका लागि लागिपरेका छन् । यिनीहरू मान्छेको कोटीभन्दा धेरैमाथि उठेका मान्छे हुन् । यिनीहरू समाजका अगुवा हुन्, सम्मान र श्रद्धाका पात्र हुन् । म त आगोले पोलेको मान्छे बिजुली देख्दा नि तर्सन्छु तर मोहनबाबु भनेपछि चाहिँ शिर सम्मानमा नुहुन्छ । तिमीहरू त लक्का जवान छौ, खोज, भेट, आफ्नो जिज्ञासा बिसाऊ, छलफल गर, बादेवादे जायते तत्वबोध । ती त अग्निपथका यात्रु हुन् । जहाँ आगो छ त्यहाँ ती हुन्छन् नै तिनलाई चिन्न सक्ने विवेक चाहिन्छ । लौ त कमलबाबु, अहिले बेर भो मलाई, स्कुल जानुपर्छ ।”

”हवस् त…..” भन्दै कमल पनि बिदा भएर घर आयो ।

देखभेटै नभइकन आगो बाँड्ने मोहन झन्झन् उसको मनमस्तिष्कभित्र पस्दै गए, तिलस्मी तालले । सपनाजपना उसको मथिङ्गलमा मोहन नै नाच्न थाले, आगो बोक्ने मोहन, आगो बाँड्ने मोहन । कसैले भने, ”मोहन गरिबबस्तीमा छन् ।” ऊ त्यहीँ पुग्थ्यो तर मोहन त्यहाँबाट सुकुम्बासी बस्तीतिर हिँडिसकेका हुन्थे । गरिब र सुकुम्बासीका पीडाव्यथा देखेर ऊ भावुक बन्थ्यो र मोहनलाई खोज्दै ऊ पिछडिएका वर्गकहाँ पुग्थ्यो । त्यहाँबाट मजदुरकाँ अनि किसानकाँ, बुद्धिजीवीकाँ । यसरी मरिचिकामा मृग भौँतारिएझैँ ऊ, मोहनको खोजीमा भौँतारिइरहन्थ्यो । एकदिन त उसकी श्रीमती कौशिकीले भनिन् पनि, ”रातोदिन मोहनजीलाई खोज्दाखोज्दा अब त हजुर नै मोहन भइसक्नु भयो जस्तो लाग्छ ।”

तर उसको खोजाइ व्यर्थ भएन, भेट्यो नै उसले मोहनलाई, मजदुरबस्तीमा । पहिले त यसलाई पत्यारै भएन, सबै उस्तै थिए तर उसले अनुमान गरेका ती व्यक्ति मोहन नै रहेछन् । फुकीढल प्राणी, शिशुपाल तर अनुहारमा कान्ति, आँखामा तेज, बोलीमा चास्नी घोलिएझैँ मिठास । एकछिनसम्म त ऊ हेर्‍याहेर्‍यै भयो मोहनलाई अनि सम्हालिँदै नमस्कार गर्‍यो ।

”नमस्कार होइन, मन पो मिलाउनुपर्छ, विचार मिलाउनुपर्छ ।” भन्दै उनले पहिले हात मिलाए अनि अङ्कमाल गरे ।

कस्तो तातो हात ! शरीर पनि धपक्क बलिरहेको जस्तो तातो र रापिलो । अँध्यारोमा झलल्ल उज्यालो छर्ने हँसौटे बुद्धको मूर्तिजस्तो, अधरमा हाँसो खेलिरहने हरघडी ।

”मित्र, यो भ्रष्ट सत्ताले तपाइर्ंको मनमस्तिष्कलाई थङ्थिलो पारेको रहेछ, बरा…..।” उनले उसलाई कुममा सुमसुमाउँदै भने, ”यो सत्ताको चरित्रै यस्तै हो यसले त आहत र व्याकुल जनतालाई मरिचिका बाँड्छ । त्यहीँ मरिचिकाको भ्रममा पुस्तौँपुस्ता हामी भ्रमित भइरहेका छौं र यो सत्ता चिरञ्जीवी बनिरहेको छ तर अब यो लम्बिन पाउँदैन । यसको ध्वंश निश्चित प्रायः छ ।” आक्रोशित थिए उनी, आँखा अहिले नै बलिहाल्छन् कि जस्तो लाग्थ्यो । भुँड्काबाट आगोका फिलिङ्गाका झिल्काहरू निस्केर यताउति उडिरहन्थ्यो । देख्दादेख्दै पारिपट्टकिो कपडा कारखानाको गोदामको कपासको गाँठमा सल्केछ, हृवार्हृवारती बलिगयो । दौडादौड गर्दै उनीहरू त्यहाँ पुगे र आगो निभाउन थाले तर अनेक प्रयत्न गर्दा पनि आगो नियन्त्रणमा आएन । मोहन पनि आए । उनले बलिरहेको आगो गौड गरेर हेरे । त्यसपछि भुँडकाहरूको आगो हेरे नियालेर अनि एउटा भुँडकाबाट दुई चार फिलिङ्गाहरू झिकेर बलिरहेको आगोमा हुर्याए । के अचम्म ! हृवारहृवार्ती दन्किरहेको आगो त सट्याकसुटुक समेटिएर त्यही भुँडकामा पो प्रवेश गर्‍यो । पत्याउँनै नसकिने दृश्य ! धार्मिक फिलिम र टेलिशृङ्खलामा शक्तिशाली दैवी पात्रहरूले गर्ने जस्तो दृश्य पो देखियो । ‘विज्ञानको अत्याधुनिक विकासले धेरै असंभवलाई संभव बनाइदिएको छ ।’ भन्दै अनाहक नोक्सान भएकोमा थकथक माने मोहनले । सँगैका साथी आक्रोशित थिए ।

”हामीलाई बदनाम गराउने षड्यन्त्र हो यो । अग्निमा घुसपैठ भएको हुनुपर्छ ।” उनीसँगैको उनीजस्तै देखिनेले गम्भीर मुद्रामा भन्यो । ”षड्यन्त्रकारी हामीभित्रै हुनुपर्छ ।”

”साथी, होस् पुर्‍याइएन भने त यो आगोले यै अनमोल ज्यानलाई खाने र’छ । यस्तो धपक्क बलेको छ ज्यान ।” कमलले गम्दारी पारामा चिन्ता जाहेर गर्दै भन्यो ।

मोहनलाई यस्तो सुझाव रुचिकर लागेनछ क्यारे ! उनले उसलाई आँखा तरेजस्तोगरी हेरे । उनका साथमा रहेकाहरूले पनि उसलाई नरुचाएजस्तो गरी हेरे । कमलले उनीहरूको भङ्गीमा तुरून्तै बुझिहाल्यो । उसलाई लाग्यो-‘प्रशस्तीमात्र सुन्ने आत्मक्षयी बानीले यिनीहरू पनि ग्रसित रहेछन् । यसको समुचित निदान गर्नैपर्छ, नत्रभने यो आगोले स्वर्गको हैन नर्कको बाटो डोर्‍याउँछ ।’ त्यसैले आफूलाई सम्हाल्दै प्रकटमा भन्यो, ”बडो यत्नसाथ बडो होस पुर्‍याएर ठूलो जोखिम मोलेर हामी जनताको हितका लागि जगत्को हितका लागि अनेक कष्टकहर खपेर कष्टमय यस अग्निपथको यात्रामा हजुरहरू यहाँसम्म आइपुग्नु भएको छ । यो हाम्रा लागि कम्ता गौरवको कुरो होइन । अब यस यात्रालाई परिणाममुखी बनाउन हजुरहरूको सजगता, सक्रियता र जिम्मेवारीयुक्त भूमिकाको खाँचो छ । जनतालाई उज्यालोतिर डोर्‍याउने यो काम हजुरहरू बाहेक अरूले गरोइनन् । जनताले हजुरहरूबाट ठूलो आशा/अपेक्षा राखेका छन् ।”

”हो, यो आगोको जोहोको बडो कष्टप्रद कथा छ । कहिले यसलाई लुकाएर जोगाइयो त कहिले सल्काएर बढाइयो र यात्रामा यहाँसम्म आइपुगियो । अहिले यसलाई सक्दो बाँड्ने र खर्च गर्ने बेला छ, जनजनका मनमनमा पुर्‍याउने बेला छ । जनताले अपार माया, प्रेम र स्नेह दिएर जोगाएको, बढाएको आगो हो र यो अहिले जनताकै पोल्टामा लडिबुडी गर्दै गन्तव्यतिर लम्किरहेछ ।” मोहनले गर्वोन्मत्त मुद्रामा भने ।

”तर यसको रूपगुण नबुझेकाहरूको पोल्टामा पर्‍यो भने यसले आफूलाई मात्रै होइन जगतै ध्वस्त पार्छ नि ! कति पीडादायी हुन्छ आगोले निम्त्याएको विनाशलीला !” कमल अझ पनि चिन्तातुर देखियो । ”त्यस्तो किमार्थ हुनेछैन, मित्र । अब हामी लक्ष्यको निकटस्थ हुँदैछौँ ।” मोहनको स्वरलहरीमा अदम्य विश्वास भरिएको थियो ।

”सार्थ, अग्नियुद्धपछिको धरती त झलल्ल उज्यालो होला हगि । अनि त आगो बाँड्ने काम पनि रहँदैन, आगो बाँड्ने मान्छे पनि होबोइनन् होला ।” कमलले आगतको परिकल्पनामय जिज्ञासा बिसायो ।

”यो जगत् झलल्ल उज्यालो पार्नका लागि नै अग्नियुद्ध गर्नुपरेको हो । यस युद्धमा नराम्रा कुरा नष्ट हुनेछन् र राम्रा कुरा देखिनेछन् तर आजको भोलि नै त्यस्तो भइहाल्दैन मित्र । त्यसले समय लिन्छ । फुलबाट चल्ला कोरल्न पनि त पोथीले खास समय र अवस्थाबाट गुज्रनु पर्दछ । बस, त्यस्तै हो यो परिवर्तन पनि । अनि अग्नियुद्धपछि प्राप्त हुने झलमल्ल उज्यालोको रक्षाका लागि पनि अग्नियुद्ध जारी राख्नुपर्छ । त्यसैले यो अग्नियुद्ध पनि सतत् युद्ध हो, अन्त्यहीन युद्ध ।

त्यसैले आउनुस्, यो महान् र पवित्र अभियानमा सहभागी बन्नुस् ।” अधरमा स्निग्ध मुस्कान खेलाउँदै मोहनले भने ।

”सार्थ, मानिस त मरणशील प्राणी हो । उसको अन्त्य निश्चित छ भने सार्थको निवृत्तनपछि आगो बाँड्ने काम अनि अग्नियुद्धलाई निरन्तरता दिने काम त….।” कमलको जिज्ञासा अझ निख्रेको थिएन ।

”होइन…..होइन…..त्यसो होइन । मोहन त अमर-अजर छन् । म मरुँला, ऊ मर्ला तर पनि मोहन मर्दैनन् । जनताले अर्को मोहन खडा गरिछाड्छन् । तिनै मोहनले आगोको यो भुँडको बोक्नेछन् र उत्तराधिकारी ग्रहण गर्नेछन् । धरतीमा, प्रकृतिमा विवेकशील मान्छे रहेसम्म यसको अन्त्य हुँदेन नै ।” भर्भराउँदो आगोको भट्टीमा खारिएको आत्मविश्वासपूर्ण स्वरमा मोहन बोलेथे ।

”अर्थात् सतत् अग्नियुद्ध !” भन्दै अतिरेक खुसीमा धपक्क बजेजस्ता मोहनसँग कमल आलिङ्गनबद्ध भयो ।

– पुष्पनगर, बानेश्वर, काठमाडौँ ।

Maya Thakuri – Boksi

माया ठकुरी – बोक्सी

उसलाई थाहा छ उसका छरछिमेकीहरुले उसलाई ‘बोक्सी’ भन्छन् भनेर । उसलाई यो पनि थाहा छ उसको छिमेकीहरुले उसलाई हृदयदेखि नै घृणा गर्दछन् ।

यी सब कुरा थाहा पाउँदा पाउँदै पनि आफूमाथि लगाइएको अभियोगको प्रतिकार गर्न सक्दिन ऊ ।

साह्रै नै कठिन जीवन जिउन बाध्य भएकी छ ऊ ।

जुन छरछिमेकीहरुसँग ऊ वर्क्षैदेखि एउटै गाउँमा बसेर जीवनको कैयौँ वसन्त पार गरिसकेकी थिई तिनै छिमेकीहरु र गाउँलेहरुद्वारा पल-प्रतिपल प्रताडित भएर उनीहरुको अवहेलना र उपेक्षाको पात्र हुनुपरेको छ उसलाई ।

वृद्धावस्थाको पट्यारलाग्दो लाममा बस्दाबस्दा थकित भइसकेको रुग्ण शरीरभित्रको उसको दुर्बल मुटु हरघडी कुनै अज्ञात भयले गर्दा छट्पटिरहन्छ ।

ऊ एउटी वृद्धा निस्सहाय स्त्री हो जसको यस संसारमा आफन्त भन्ने कोही पनि छैनन् ।

धेरै वर्षअघि जब ऊ मात्र चौध वर्षकी थिई त्यसबेला यो गाउँको एउटा युवकको पत्नी भएर उसले यस गाउँमा यस घरमा पाइला टेकेकी थिई । त्यसबेला यो घरमा उसकी विधवी सासु जेठाजु जेठानी र उनीहरुका छोराछोरीहरु थिए । विवाहपछि पनि ऊ एकदमै खुसी थिई कारण उसको पतिले उसलाई औधी माया गर्दथ्यो । उसकी सासूचाहिँ अलि कचकचे स्वभावकी थिई । तर पनि सासू भनेको त्यस्तै हो भन्ने सोचेर उसले आफ्नो मन बुझाएकी थिई ।

जेहोस् जत्ति नै कच्कचे स्वभावकी स्त्री भए तापनि उसकी सासूले खानपिनमा चाहिँ उसलाई छुट्याएकी थिइनन् ।

उसको लोग्ने अलि रिसाहा स्वभावको थियो । ऊ स्वयं पनि कम मुखाले थिइन । कहिलेकाहीं सानोतिनो कुरामा पनि उसको र उसको पतिको माझमा निकै भनाभन पर्दथ्यो र उसको पतिले उसलाई एकदुई थप्पड पिन लगाउने गर्दथ्यो तर जुन दिन उसले पतिबाट थप्पड खान्थी त्यसदिन उसलाई उसको पतिले अरु दिनभन्दा बढ्ता माया पनि गर्दथ्यो ।

बिगतमा घटेका ती सब कुराहरु सम्झिंदा अहिले पनि आनन्द लाग्दछ उसलाई ।

विवाह भएको पाँच वर्ष बितिसक्दा पनि उसको कोख खुलेको थिएन । त्यसकारण उसको पतिबाहेक अरु व्यक्तिहरुबाट निकै घोचपेचका कुरा सुन्नुपरेको थियो उसले ।

उसको बिहे भएको छैठौँ वर्ष लाग्दा उसको गर्भ तुहेको हुनाले उसकी सासू रिसले आगो भएकी थिइन् । उसकी सासूले उसको छोरोको दोस्रो बिहे गरिदिनको निम्ति एउटी केटी पनि बन्दोबस्त गरिसकेकी थिइन् तर उसको लोग्नेले आफ्नी पत्नीमा के त्यस्तो आकर्षण देख्यो कुन्नि उसले आमाको प्रस्तावलाई ठाडै अस्वीकार गरिदियो ।

अन्त्यमा हार खाएर उसकी सासूले छोरोको दोस्रो विवाह गर्ने कुरोलाई तिलाञ्जलि दिन बाध्य भएकी थिइन् ।

बैंसमा असाध्ये जाँगरिली थिई ऊ । दुईतीन जनाले गर्ने काम ऊ एक्लैले गर्न सक्दथी । केही वर्षपछि उसकी सासू वर्षदिनसम्म रोगाएर ओच्छ्यान परेर मरिन् ।

सासू मरेको दुई वर्ष पनि नबित्दै उसको लोग्ने जो एउटा निर्माणाधीन भवनमा चारतलामाथि ज्यामी काम गर्दै थियो ऊ त्यहाँबाट खसेर तत्कालै मृत्युको ग्रास बन्न पुग्यो ।

उसकी सासू बिरामी परेर ओच्छ्यान परेकोबेला नै उसको जेठाजुले आफ्नो अंशमा पर्ने घरखेत जे जति थियो त्यो सबै बेचबिखन गरेर आफ्नी पत्नीको माइततिर बसाइँ सरिसकेका थिए ।

पतिको अकाल मृत्यु हुँदा ऊ मात्र छ्यालीस वर्षकी अधबैंसे स्त्री थिई ।

उसको लोग्ने मरेपछि उसका छरछिमेकीहरुले उसलाई बोक्सीको आरोप लगाएका थिए ।

ऊ बोक्सी भएको कारणले गर्दा नै उसले आफ्नो गर्भको शिशु सासू र लोग्नेलाई मारेर खाएको आरोप लगाएका थिए उसका छिमेकका महिलाहरुले उसलाई ।

यो कुरो उसले गाउँकै एकजना महिलाको मुखबाट सुनेकी थिई ।

आफूलाई बोक्सीको आरोप लगाएको कुरो सुनेपछि निकै आघात लागेको थियो उसलाई । बन्द कोठाभित्र थुनिएर निकै समयसम्म रोएकी थिई ऊ ।

उसको लोग्ने मरेको बेला उसको जेठाजु उसको घरमा आएको बेला उसले आफ्नो दुखेसो उनको अघि पोख्दै भनेकी थिई ।

‘म पनि यो घरबारी बेचेर हजुरहरुसँगै बस्न जान्छु । आखिर हजुरहरुबाहेक आफ्नो भन्नु अरु को छ र यस संसारमा मेरो । एउटा दाइ छन् । तिनी पनि भाउजूको खटनमा बसेकाछन् त्यै पनि त्यति टाढा । बरु म हजुरहरुको घरखेतमा काम सगाउँला ।’

के सम्झेर हो कुन्नि उसका जेठाजुले उसलाई आफूसँग लान स्वीकार गरेनन् । उनले भने झुपडी घर भए तापनि बास बस्ने ठाउँ छँदै छ । यहीं करेसाबारीमा तरकारी उत्पादन गरेर बेच्ने गद्वयौ भने पनि एउटाको जीउ ता सजिलैसँग धान्न सकिन्छ । छरछिमेकीहरु पनि असल छन् । बरु म बेला बेलामा आउँदै गरौंला ।’

त्यसपछि उसले गाउँकै साहू महाजनकहाँ गएर उनीहरुको ढिकी जाँतो गर्ने अन्नपात केलाउने जस्ता काम गरेर जीवन निर्वाह गर्न थालेकी थिई ।

एउटा कुरो चाहिँ उसले उसको लोग्ने मरेको केही समयपछिबाट नै लक्षँय गर्न लागेकी थिई त्यो के भने उसका छरछिमेकका आइमाईहरुले उप्रति उपेक्षा देखाउन थालेका थिए । यहाँसम्म कि उनीहरु आफ्ना छोराछोरीहरुलाई सकेसम्म उसको अघि पर्न नदिने प्रयत्न गर्न थालेका उसले प्रष्टसँग बुझ्न थालेकी थिई ।

एकदिन उसले एउटी सानी केटीलाई भुटेको मकै दिन खोज्दा त्यो सानी केटीले उबाट पर हुँदै भनी ‘नाइँ म खान्नँ तपाईंले दिएको । हाम्री आमाले भन्नुभएको तपाईं बोक्सी हो अरे । तपाईंले दिएको खाने कुरो खाएपिछ मरिन्छ अरे ।’

त्यसदिन प्रथमपटक त्यस केटीको मुखबाट त्यस्तो कुरो सुनेपछि उसको टाउकोमा सिंगो आकास खसेकोझैं भएको थियो ।

उसलाई अचम्म मात्र होइन निकै ठूलो आघात लागेको थियो उसको छिमेकी महिलाले आफूप्रति लगाएको आरोप थाहा पाएर । आइमाई भएर आइमाईको विषयमा निरर्थक तथा भ्रमक कुरो सिर्जना गर्दै हिँड्ने ती आइमाईहरुप्रति उसलाई वितृष्णा जागेको थियो ।

गाउँमा एक्ली गरीब निस्सहाय स्त्री भएर जीवन बिताउनु फलामको चिउरा चपाए जस्तो भएको थियो
उसलाई ।

उसलाई आफ्नै गाउँलेहरुले र छरछिमेकीहरुले बोक्सी ठानेर एक प्रकारले सामाजिक बहिष्कार गरेको जस्तो भएको थियो । न त उसलाई कसैको घरमा भएको शुभकार्यमा निम्त्याइन्थ्यो न त कुनै दुःखको घडीमा सूचित गरिन्थ्यो ।

त्यतिका छरछिमेकी र गाउँलेहरुको माझमा बसेर पनि ऊ आफूलाई नितान्त एक्ली अनुभव गर्न थालेकी थिई ।

त्यति मात्र होइन गाउँका कतिपय पुरुषहरुको लोलुप दृष्टिले उसलाई सधैंभरि पच्छ्याइरहेको कुरो पनि उसले अनुभव गर्न थालेकी थिई ।

रात्रिको एकान्तमा मौका छोपेर उसको झुपडीको ढोका ढक्ढकाउन आउने ती नीच प्रकृतिका पुरुषहरुबाट पिन
जोगिनुपरेको थियो उसले ।

दिनको उज्यालोमा चरित्रवान् बनेर आफ्नो स्वास्नीको अघि पत्नीभक्त भई टोपल्ने लम्पट पुरुषहरुले पत्नीको आँखा छलेर उसको अघि घृणित प्रस्ताव पनि राख्दथे । त्यस्ता दोगला स्वभाव भएका नीच पुरुषहरुको नीचतापूर्ण क्रियाकलाप देखेर उसको काचट तातिन्थ्यो । भुस्याहा कुकुरलाई दुत्कारेकोझैं दुत्कार्ने गर्दथी ऊ त्यस्ता पुरुषहरुलाई ।

कतिका त घरैमा गएर उनीहरुको स्वास्नीको अघि उनीहरुको कुकृत्यको पोल खोल्ने गरेकी थिई उसले तर ती आइमाईहरुले उल्टो उसैलाई अरुको लोग्नेलाई फसाउन खोज्ने वेश्या भनेर गाली गरेर पठाउँथे ।

जुन गाउँमा एउटी बुहारी भएर वक्षैँसम्म दुःख-सुख गरेर उसले जीवन यापन गर्दैथिई त्यसै गाउँमा सबैबाट अपमानित र अवहेलित भएर दिन बिताउन बाध्य भएकी थिई ऊ ।

पछिपछि त गाउँघरमा कोही बिरामी पद्वयो भने पनि सबैले उसैलाई दोष लगाउन थालेका थिए ।

त्यस्तै प्रकारले घोर मानसिक तनाव सहेर बित्दै थिए उसका दिनहरु ।

वर्षहरु एकपछि अर्को गर्दै धकेलिंदै गए । अब त उसले पनि अठसठ्ठी वसन्त पार गरिसकी ।

पहिले पहिले जुन जुन आइमाईहरुले उसको ढाडपछाडि उसलाई ‘बोक्सी’ भनेर आरोप लगाउने गर्दथे तिनै आइमाईहरुले हिजोआज उसैको मुखाजेली उसलाई ‘बोक्सी’ भनेर गाली गर्न र सराप्न थालेका थिए ।

उसको बुढो हाड र दुर्बल शरीरमा आफूप्रति लगाएको झुटो लाच्छनाको प्रतिकार गर्ने क्षमता नै थिएन । आफ्नो विवशता र एक्लोपन साथमा लिएर एकमुठी प्राण धान्नको निम्ति सकीनसकी परिश्रम गरेर जीवन निर्वाह गर्दै छ ऊ ।

आफ्नै देशभित्रका कुनै कुनै ठाउँ ऊ जस्तै गरीब र निस्सहाय आइमाईहरुलाई बोक्सीको आरोप लगाएर गाउँलेहरु मिलेर उसलाई मरणासन्न हुनेगरी कुटेर आफ्नै मलमूत्र खान बाध्य तुल्याएको कुरो उसको कानमा पनि परेको छ ।

ती सब घटनाहरु सुन्दा उसको दुर्बल मुटु हिउँसरह चिसो हुन्छ । ऊ भित्रभित्रै भय र त्रासले मरेतुल्य हुन्छे ।

उसले पनि बोक्सीको विषयमा धेरै कुरो सुनेकी थिई तर ऊ आफूलाई अरुले किन बोक्सी भनेको हो त्यो कुरो उसलाई थाहा थिएन ।

हिजोआज ऊ दिउँसै पनि प्रायःजसो दैलो थुनेर कोठाभित्र बस्ने गर्दथे । ऊ एक्लै आफैसँग के-के बरबराईरहेकी हुन्थी ।

राति पनि सितिमिति निक्ष पर्दैन उसलाई ।

रातिको निस्तब्धतालाई भंगगर्दै कतै कुनै कुकुर भुक्यो भने भयले थरथर काम्न लाग्दछ उसको सारा शरीर । हरेक क्षण कान ठाडा पारेर बस्दछे ऊ ।

बारम्बार सकी नसकी ओच्छ्यानबाट उठेर अन्धकारमा छामछाम छुम्छुम गर्दै ढोकामा लाएको चुकुल छाम्न पुग्दछे ऊ ।

बाहिर कतै कुनै पक्षी फरफरायो भने पनि तस्रन्छे ऊ ।

ऊ दिन रात जति बेला पनि कुनै अज्ञात भयले त्रसित छे ।

उसलाई लाग्दछ हातमा लामा-लामा लाठी लिएका दैत्यजस्ता मानिसहरुको आक्रोशित भीड उसमाथि पाशविक आक्रमण गर्नको लागि अघि बढ्दैछन् ।

ऊ प्रायजसो आफ्नो सिन्का जस्तो पातला हातगोडा खुम्चाएर दुवै हात घुँडाभित्र लुकाएर रुँदै कहालिंदै भुईंमा लडिबुडी गर्दै कङ्कलामस्वरमा बिलाप गर्दै भन्ने गर्दछे- ‘मलाई नमार ! मलाई छोडिदेऊ ! नाईं म खान्न !! खान्न !! म बोक्सी होइन । ममाथि दया गर ! मलाई नमार ! म बोक्सी होइन ।’

Kumar Simkhada – Siko

कुमार सिंखडा – सिको

“ममी? मेरो ममीलाई के भयो?” यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर फालेर मलिनो आवाज निकाली – “अहँ”। कष्टपूर्वक फेरि आँखा खोली र कौतुहलपूर्वक आँखाका नानीहरु ठुला बनाएर टाउको घुमाउँदै वरपर हेरी। ऊ वरिपरि अग्ला अग्ला दिवारहरुको बिचमा फैलिएको एउटा लाम्चो परेको कोठाको कुनामा ढेपिएको शैय्यामा थिई – एक बिरामी जस्ती लाग्दथी। शैय्यासँग जोडिएको भित्ताको माथिल्लो भागमा घुमिरहेको भेन्टिलेटरको एक तमासको आवाज र बाहिर कोरिडरमा समय-समयमा मान्छेहरु गुन् गुन् बोलेको मधुर स्वरको बिचमा एउटा अपूर्व शान्ति थियो। त्यो शान्ति भङ्ग गर्दै बालिका र एउटा सेतो कोट लगाएको चालीस-पचास देखिने मानिस कुरा गर्दै थिए।

“तिम्रो ममीको होस गुमेको छ प्रीति!” त्यस मानिस भन्दै थियो, “तर मलाई पूर्ण विश्वास छ कि तिमी र म, अनि हाम्रो समाजको वातावरणले उनीलाई फेरि पनि पहिलेकै अवस्थामा पुर्याउन सक्नेछौं।”
“तर कसरी डाक्टर पान्डे?” प्रीतिले पत्यार नलागेको आवाजशैलीमा सोधी, “मेरो ममीको त दिमागमा नै असर परेको छ भनेको होइन?”
“हो छोरी हो! तर आजको यस युगमा असम्भव केही छैन। म आफैं दिमाग विशेषज्ञ हुँ र मलाई राम्ररी थाहा छ तिम्री ममीलाई के भएको छ।” डाक्टर पान्डेले अर्को पट्टि भित्तामा राखेको मनिटरतिर लेजर पोइन्टरले देखाउँदै भन्यो, “प्रतिभालाई चोट परेको यस भाग हो। र, त्यो भाग म सजिलैसँग मानवनिर्मित रसायन हालेर फेरिदिन सक्छु। तर यहीं तिम्रो ममीको अहिलेसम्मको जीवनी किताब झैं लेखिएर बसेका छन्, र मलाई अफसोच छ कि तिम्रो ममीले पहिलेका कुरा सम्झिन सक्दिनन्। तर जीवन भनेको बिगतको स्मृतिमा बाँच्ने हैन, आउँदो सुमधुर भविष्यको लागि बाँच्ने हो। र प्रीति, मलाई विश्वास छ तिमीले नयाँ नयाँ सपना देखाएर, जीवनको रहस्य बुझाएर प्रतिभालाई यस जीवनको सार्थकता बुझाउनेछौ।”

प्रीति मुक रही, उसले यी सबै बुझ्नु सम्भव थिएन। ऊ भावरहित अनुहारले मनिटरमा दृष्यांकित दिमाग एकोहोरो हेर्दै निकै बेर टोलाइरही। डाक्टर पान्डेले केही बोल्नु उचित ठानेन, ऊ आफू अगाडिको कम्प्यटरतिर हेर्दै नोटबुकमा केही मेमो लेख्न थाल्यो।
“ममी! ममी!! तपाईंले हाम्रो प्रमिस् कुनै पनि नसम्झिने? मलाई अर्को जन्मदिनमा मिक्की माउस भएको निलो टिसर्ट किनिदिने भनेको हैन? तर मैले मिक्की माउसको निलो टिसर्ट लाउन नपाउने भएँ।”
“निलो हैन नानू! रातो। तिमीलाई रातो सुहाउँछ।” पान्डेले प्रीतिको आँखाबाट बरर झरिरहेका आँसुका ठुला ठुला थोपा पुछिदिंदै भन्यो, “तिमीलाई मिक्की भएको रातो टिसर्ट किनिदिने। त्यो पनि तिम्रै ममीले किनिदिने। म तिम्रो ममीलाई तिमीसँग मिकीको टिसर्ट किन्ने भनेर गरेको प्रमिस् दिमागमा थपिदिउँला। जिन्दगीभरीको कहानी थप्न नसके पनि त्यति त गर्न सक्छु नि। मलाई धेरै दुख लागेको छ कि मेरै मोटरले तिमीहरुलाई धक्का दिएर यस्तो हुन पुग्यो। यो घटना मेरो जिन्दगीभरिको लागि पश्चातापको कुरा हुनेछ। र प्रायश्चित गर्नको लागि म जुनसुकै काम पनि गर्न तयार छु। त्यसैले प्रीति, मैले तिम्रो ममीको जीवनको ठुलो भाग त तोडें, तर जे जति बाँकी छ त्यसको सकेसम्म फाइदा लिनुपर्छ। र, तिमी र म मिलेर प्रतिभालाई नयाँ जीवन दिनुपर्छ।”
प्रीति केही नबोली डाक्टर पान्डेको हातमा टाउको पुरै अड्याई र मुस्काउने प्रयास गरी; मिक्कीको टिसर्ट लगाउन पाउने कल्पनाले उसलाई वास्तविकताबाट अलिकति भने पनि पर तानिदिएको थियो।

“प्रतिभा! तिमी उठ्यौ?” प्रतिभाले आफूहरुतिर हेरिरहेको देखेर डाक्टर पान्डे बोल्यो, “मलाई थाहा छ तिमी हामीलाई त के आफैंलाई पनि चिन्न सकिरहेकी छैनौ। तिम्रो नाम प्रतिभा हो। यी सानी नानी तिम्री छोरी ‘प्रीति’ हुन्। अनि म यस शिक्षण अस्पतालमा काम गर्छु र पढाउँछु पनि – डाक्टर पान्डे।”
प्रतिभाको होस खुलेको देखेर प्रीति दौडँदै गएर शैय्यामा चढी र उसको औंला खेलाउँदै गुनासो गर्न थाली – “ममी! तपाईंले त अब पहिलेको कुरा केही पनि सम्झन नसक्ने रे।”
प्रतिभा कुनै प्रतिकृया नजनाई ट्वाल्ल हेरिरही। डाक्टर पान्डे अगाडि उसलाई अर्थ्याउँदै गयो “प्रतिभा, तिमी आज दुर्घटनामा पर्यौ र त्यसको कारणले तिम्रो स्मरणशक्ति गुमेको छ। त्यसको लागि म दुखित छु। तर अब तिमीले आउँदा दिनहरुमा यो संसारको रीति रिवाज, नियम कानुन, रहन सहन सबै सुन्यबाट सुरु गर्नु पर्नेछ। मलाई पुरा विश्वास छ कि तिमी यस कुरामा सफल हुनेछौ। र, तिम्रो प्रथम गुरु हुनेछिन् तिम्रै छोरी। हो, प्रीतिले आजदेखि तिमीलाई कसरी खाना खाने, कसरी हिंडडुल गर्ने भनेर सिकाउने छिन् र तिमीले उसको सिको गर्नुपर्नेछ। शारीरिक रुपमा तिमीलाई केही पनि भएको छैन, त्यसैले तिमी आज नै डिस्चार्ज हुन सक्नेछौ। तिम्रो टाउकाको पछिल्लो भागमा दुईवटा धातूका लाइनहरु जोडिएका छन्। र, तिमीले ती लाईनहरु जोडेर बजारमा निस्केका सफ्ट्वेरहरु सिधै दिमागमा डाउन्लोड गर्न सक्छ्यौ र घरमै बसी ज्ञान पाउन सक्छ्यौ। तर मलाई अफसोच छ मैले चाहेर पनि तिम्रो बिगतको सम्झना फिर्ता ल्याइदिन सक्तिन।”

अस्पतालबाट हिंड्ने बेलामा पान्डेले प्रीतिको गाला थम्थम्याउँदै भन्यो “प्रीति, तिम्रा साथीहरु स्कूलमा पढ्दै खेल्दै गर्दा तिमीलाई चाहिं ठुलो मानिसको काम गर्नु परेको छ। तर त्यसको फलस्वरुप तिमीले अन्य भुराहरुभन्दा बेग्लै रमाइलो पाउनेछौ, चौबीसै घन्टा आफ्नो आमाको अगाडि बस्न पाउनु पनि सौभाग्यको कुरा हो।”
प्रीतिले स्वीकारोक्तिको भावमा मुन्टो हल्लाई।

प्रतिभाको सिकाइको गति डाक्टर पान्डेले सोचेको भन्दा छिटो भयो। त्यस दिन घर पुग्ने बित्तिकै प्रीतिले उसको टाउको पछाडिका दुई वटा धातुका पातोहरुसँग कम्प्युटरसँग जोडेर खाना बनाउने तरिकाको सफ्ट्वेर रोजी र ईन्स्टल गराई। भोलिपल्टदेखि प्रतिभाको मस्तिष्कमा घरका काम, किनमेल, मोटर चलाउने, भाषा पढ्न लेख्न सक्ने गराउने सफ्ट्वेयरहरु थपिए। प्रीति स्कूल गएको बेलामा प्रतिभा दिनभरि या त घाम तापेर बस्थी या कुनै नयाँ खाना बनाउन तल्लीन हुन्थी । अथवा नयाँ सफ्ट्वेर खोजेर आफ्नै मस्तिष्कमा ईन्स्टल गर्थी र यस सृष्टिको एक अर्को अदभुत पाटोको बारेमा ज्ञान लिन्थी। केही हप्तापछि नै प्रतिभा बाहिरी मानिससँग सम्पर्क गर्न सक्ने भई। ऊ छोरीलाई बेला बेलामा लाड-प्यार दिने, ओहर्याइँ गर्दा गाली गर्ने, अटेरी गर्दा रिसाउने गर्नसक्ने भई। किनमेलमा जाँदा फर्किंदा छिमेकीहरुसँग पनि भालाकुसारी गर्न थाली। छिमेकका महिलाहरु, जो उसका साथीहरु थिए, उसको पीडा बुझ्थे वा बुझे जस्तो गर्थे। उनीहरु प्रतिभालाई हेर्दै ऊबेला बिरानो शहरबाट नयाँ ठाउँमा नयाँ जीवनको सुरुवात गर्न आएकी मान्छे, अहिले दुखदायी दुर्घटनामा परेर कस्तो बिजोग पर्यो भनेर साहनुभूति दर्साउँथे। कोही उसको घर माइतीलाई खबर गरिदिनुपर्यो भनेर हल्ला गर्थे। कोही उसलाई मनपर्ने ठाउँहरुमा घुमाइदिने प्रस्ताव राख्थे। तर अन्त्यमा दुर्घटना अगाडिको स्मृति नभएकोले सबै मित्थ्या सम्झन्थे। र केही परेमा सहयोग गर्ने वचन दिई छुट्टिन्थे।

दुर्घटनाबाट छ महिना पुगेको दिन प्रतिभा र प्रीति पान्डेको कोठामा आए। आमाछोरीलाई ढोकामा देख्ने बित्तिकै पान्डे रोमाञ्चित हुँदै कुर्चीबाटै करायो “ओहो!!! तिमीहरु आयौ? प्रतिभा तिमी त सामान्य भइसकिछौ, तिम्रो अनुहारको चमक देखेर मैले अनुमान लगाइसकें।” प्रतिभाले मधुरो हाँसो फ्याँकी र पान्डेको अगाडिको कुर्चीमा बसी। पान्डेले प्रीतिको हात समातेर तान्यो, कपाल सुम्सुम्यायो र भन्यो “ओहो, प्रीति पनि कत्रो भइसकिछ। घरमा ममीसँग बस्न रमाइलो छ?”
प्रतिउत्तरमा प्रीतिले गाला रातो पारी, टाउको निहुर्याई र मुन्टो हल्लाई “अँ।”
“ममीले कस्तो खाना बनाउँछिन् नानु?”
“मी–ठो”
पान्डेले प्रीतिको हात छोड्दै भन्यो “ल, एकछिन तिमी पल्लो कोठामा खेल्दै गर, म तिम्रो ममीलाई चेक गर्छु है?”
प्रीति ज्ञानी हुँदै बाहिर निस्की।
“प्रतिभा! तिम्रो प्रगति देखेर मलाई धेरै खुसी लागेको छ। मैले बिकास गरेको कृतिम मस्तिष्क ट्रान्स्प्लान्ट पहिलो पटक तिमीमा परिक्षण गरिंदैछ। र तिमी छ महिना मै सामान्य जीवन यापन गर्न सक्ने भयौ। मेरो लागि योभन्दा खुसीको कुरा अर्को के हुन सक्छ?” केही बेरको सन्नाटा तोड्दै पान्डेले भन्यो।

प्रतिभा भावविभोर भई। डाक्टर पान्डेले उसलाई जीवन दिएको थियो। र त्यस एक्लो, सुन्य, अनि अज्ञानी जीवनमा बाँच्ने बाटो देखाइदिएको थियो, प्रीतिसँग चिनाइदिएको थियो। हुन त छोरीसँग कस्तो सम्बन्ध हुन्छ, मानिसलाई कसरी माया गर्न सकिन्छ आदि बारे ऊ अनभिज्ञ थिई, तर पनि अरुले छोरी भनिदिएको भरमा र प्रीतिले आफूलाई ममी भनेको भरमा उसले प्रीतिलाई छोरी स्वीकारेकी थिई। आखिर उसलाई एक अमूल्य साथी पनि त मिलेको थियो। रसाएका आँखालाई पान्डेको नजरबाट लुकाउने प्रयास गर्दै ऊ बोल्न लागी – “डाक्टर पान्डे! तपाईंप्रतिको यो ऋण कसरी तिर्न सकुँला!!”
“रिल्याक्स् रिल्याक्स्! बरु मैले तिम्रो पुरानो मस्तिष्कको भाग साँचिराखेको छु। र तिम्रो स्मरण फिर्ता गर्न सक्छु कि म प्रयास गर्छु।” प्रतिभाले आशै नगरेको कुरा पान्डेले बोल्यो र शैय्यामा सुत्न ईशारा गर्यो। प्रतिभा पनि आज्ञाकारी बिद्यार्थी झैं शैय्यामा उत्तानो परेर सुती। पान्डेले मांशपेसीजस्तो देखिने मासुको टुक्रो रहेको शिशीबाट दुईटा तार तान्यो र प्रतिभाको टाउकाको पछिल्लो भागका धातुमा जोड्यो। टेबलबाट रिमोट कन्ट्रोल हातमा लियो र कोठामा अरु कोही नभएको पक्का गरेपछि रिमोट कन्ट्रोलको स्वीच दबाउँदै मुसुक्क हाँस्यो।

प्रतिभाले आँखा खोली र उत्तेजित हुँदै एकै शासमा बोली “डाक्टर पान्डे? मलाई यहाँ कसले ल्यायो? त्यो गाडी चलाउने मान्छे को थियो? त्यस मानिसले मलाई जानी जानी गाडीले हान्यो पान्डे! मलाई थाहा छ। मैले उसको आँखामा मृत्युभाव देखेको थिएँ।”
“नआत्तेऊ प्रतिभा। तिमी ठिक छौ। यहाँ तिमीलाई कसैको डर छैन।” पान्डेले विचलित स्वरमा भन्यो।
“अनि, प्रीति खोई?”
“प्रीति ठिक छ। पल्लो कोठामा खेल्दैछिन्।”
“मलाई छिटो जान देऊ। मलाई अबेर भएको छ। प्रीतिको अर्को महिनाको जन्मदिनको लागि उपहार किनिदिनुछ।”
“प्रीतिको जन्मदिन गएको पाँच महिना भइसक्यो प्रतिभा!” पान्डेले बिचैमा कुरा काट्यो, “उसको लागि उपहार किनिसकियो। रातो मिक्की टिसर्ट।”
“उसो भए म छ महिनासम्म बेहोस थिएँ?” प्रतिभाले आफ्नै बोली विश्वास गर्न सकिन।
“त्यसो पनि हैन।” पान्डेले रिमोटको अर्को बटन दबायो र स्क्रिन अन गर्यो, “कुरा अलि जटिल छ। यो हेरेपछि आफैं बुझ्नेछौ।”
स्क्रिनको पर्दामा प्रतिभा देखिई – मस्तिष्क ट्रान्सप्लान्ट हुँदै गरेकी प्रतिभा, घरमा बसेर आफ्नै दिमागमा सफ्ट्वेर ईन्स्टल गरिरहेकी प्रतिभा, किनमेल गर्न लागेकी प्रतिभा, छोरीलाई खाना खुवाएर स्कूल पठाउन लागेकी प्रतिभा।
“नाइँ! पान्डे यो हुन सक्दैन। तिमीले कसरी यस्तो काम गर्न सक्यौ? एक मानवको जीवन लुटेर तिमीले आफ्नो मानवताको तिलाञ्जली दियौ।” स्क्रिनको आफ्नो तस्वीर हेर्न नसकी प्रतिभा चिच्याई।
“हैन प्रतिभा। मानवताको लागि नै म यो सब गर्दैछु। हेर, अहिले मानव सभ्यताको पराजय हुँदैछ। जताततै मानिस जोतिएका जोतियै छन्। जनसंख्या कम हुने क्रम जारी छ। त्यसमाथि, अहिले तीस वर्ष नाघेका पुरुषहरुमा साठी प्रतिशत अविवाहित छन्। किन? थाहा छ? अहिलेका मानिसहरु एक आपसमा भेट्ने समय नै पाउँदैनन्। त्यसमाथि पनि अधिकांश मानिसहरु पहिले आफ्नो चाहना पुरा होस् भन्ने चाहन्छन् – कुनै पनि कुरामा कसैसँग सम्झौता गर्न चाहँदैनन्। त्यसैले विवाह गर्ने चलन पनि हराउन लागिसक्यो। त्यसैले, प्रतिभा! मैले अब यस्तो प्रणालीको विकास गर्दैछु कि मस्तिष्कको स्मरणशक्ति भएको भागलाई फेरेर कुनै चाहना रहित, भावना रहित मानिसमा परिणत गर्न सकियोस् र प्रत्येक मानिसलाई सुहाउँदो जोडाहरु यही प्रयोगशालामै तयार गर्न सकियोस्। तिमी नै मेरो पहिलो प्रयोग हौ, प्रतिभा।”

प्रतिभा शब्दविहिन भई। पान्डे अगाडि भन्दै गयो “हेर प्रतिभा! अब म मेरो यो प्रणालीलाई व्यवसायिक बनाउँछु। मकहाँ लोग्ने मानिसहरु आफ्नो ईच्छा अनुसारको स्वभाव भएको महिलाको अर्डर दिन आउँनेछन्, स्वास्नी मानिसहरु आफू सुहाउँदो पुरुषको अर्डर दिन आउने छन्। अनि म क्लोन गरेका मानिसहरु, दुर्घटनामा परी मर्न लागेकाहरु र दिमागका रोगीहरुमा यो प्रणाली जडान गर्नेछु र मेरो क्लायन्टहरुको माग बमोजिमको जोडा तयार गरिदिनेछु। यसबाट मलाई पनि फाइदा त हुन्छ नै, तर मानव समाजका धेरै एक्ला मानिसहरुलाई राहत दिनसक्नेछु।”
पान्डे झन उत्तेजित भयो “तिमीले यो छ महिनामा सामान्य जीवनको बारेमा सिक्यौ र पहिलो स्टेप पास गर्यौ। दोश्रो स्टेपमा अब तिमीले पुरुषसँग प्रेम गर्न, र घर बसाउन सिक्नुपर्छ। त्यसैले भोलिदेखि तिमीकहाँ तिम्रो श्रीमानको रुपमा मेरो स्टाफलाई पठाउँदैछु। तिमीले उसले भने अनुसार उसको घरको काम हेर्न सिक्नुपर्छ, उसको चाहना अनुसार आफूलाई परिवर्तन गर्न सिक्नुपर्छ, अनि उसको सोचाइ र कामलाई सपोर्ट दिन सिक्नुपर्छ। तिमीले त्यो स्टेप पास गरेपछि म तिम्रो दिमागको स्याम्पलबाट अरु प्रतिलिपिहरु बनाउँछु र अन्य मानिसहरुमा त्यसैको आधारमा मस्तिष्क फेर्नेछु।”

प्रतिभाले यी सब विश्वास गर्न सकिन। उसलाई चिच्याउन मन लाग्यो, मस्तिष्क ट्रान्सप्लान्टको बिरोध गर्ने संसारभरिका शक्तिशाली नेताहरु र धर्मगुरुहरुका अगाडि गएर पान्डेको करतुतको पर्दाफास गर्न मन लाग्यो। तर ऊ अहिले अवाक थिई, कमजोर थिई र विवश थिई। दयनीय स्वरमा ऊ बोलौना गर्न लागी “तर पान्डे! म नै किन? मैले के बिगारेको छु तिम्रो?”
पान्डेले अट्टाहसका साथ भन्यो “मेरो लागि ब्रेनट्रान्स्प्लान्टको बिरोध गर्ने समूहको अध्यक्षभन्दा उत्तम स्याम्पल् को हुन सक्छ?”
“उसो भए पान्डे! त्यो दुर्घटना नभएर—-” प्रतिभाका ओठ काँप्न थाले।
पान्डेका शब्द झन कठोर भए “हो! मैले मान्छे खटाएर दुर्घटना पारेजस्तो गराएर तिमीलाई यहाँ ल्याउन आदेश दिएको हुँ।”
“पापी! निच!! मेरो संसार बिगारिस्। म तँलाई छोड्दिन। तैंले हामी आमाछोरीलाई यत्रो अन्याय गर्ने?” प्रतिभाको धैर्यताले सीमा छाडिसकेको थियो, पान्डेतिर मुक्की बजार्न खोज्दै कुर्लिई।
पान्डेले हतपत रिमोट कन्ट्रोलको बटन दबायो र भन्यो “प्रतिभा! धैर्य गर। होसमा आऊ।” उसले फेरि कृतिम मस्तिष्कलाई काममा ल्याइसकेको थियो; वास्तविक प्रतिभा रिमोटको एक दबाइमा विलिन भइसकेकी थिई। प्रतिभाका हात एकाएक रोकिए। उसले आफ्नो अवस्था महसुस गरी, पान्डेतिर लजाउँदै हेरी र क्षमायाचना गरी।
“केही छैन। तिम्रो स्मृति फिर्ता ल्याउन नसकिने भयो, मलाई दुख लागेको छ।” पान्डेले आफ्नो स्वर गम्भीर बनायो।
“हैन डाक्टर पान्डे। म मेरो अहिलेको जीवनदेखि खुसी छु। मलाई जीवनदान दिनुभयो; त्यसैमा म धन्य छु।” प्रतिभा नम्र हुँदै उत्तर दिई।

हलबाट प्रीति दौडिंदै भित्र आई र आत्तिंदै सोधी “ममी, के भो? किन चिच्याउनु भएको?”
“केही पनि होइन प्रीति” पान्डेले मायालु स्वरले प्रीतिको गाला मुसार्दै भन्यो “तिम्री ममी एकदम ठिक छिन्। बरु, तिमीलाई खुसीको खबर छ। भोलि तिम्रो ड्याडी तिमीकहाँ फर्कँदै हुनुहुन्छ।”
पान्डे आफ्नो कुर्चीमा फर्कियो र केही सम्झेझैं गर्दै भन्न लाग्यो “प्रतिभा! तिम्रो श्रीमानको मैले पत्ता लगाएको छु। तिमीले प्रीति जन्मे लगत्तै लोग्नेसँग पारपाचुके गरेकी रहिछौ। तिम्रो दुर्घटनाको खबर सुनेर ऊ खिन्न छ। अब जिन्दगीभर तिम्रो साथ बस्न चाहन्छु भनेर तिमीकहाँ भोलि आउँदैछ। म भन्छु, तिमी उसलाई माफ गरिदेऊ। तिमीलाई पनि सजिलो हुन्छ, अनि प्रीतिलाई पनि त बाबुको माया चाहिन्छ। हैन त प्रीति?”
प्रीतिले फेरि गाला रातो पारी, टाउको निहुर्याई र मुन्टो हल्लाएर स्वीकारोक्तिभावमा बोली “अँ।”

Krishna Bajgain – Ghumne Kursi [Nepali Laghu Katha]

कुरा धेरै अगाडिको हो । कुर्सीमा बस्ने शक्तिशाली टाउकाहरुले आफूसंग असहमत बिचार राख्ने र समाजमा आतङ्क फैलाउँने टाउकाहरुलाई कसै गर्दा पनि तह लगाउँन सकेनन् । अनि ती टाउकाहरु अराजक हुन् भन्दै ढोल पिटाए । समाजको अमनचयन शान्ति-सुरक्षा आदिमा खलल् पुर्एको अभियोग लगाइयो उनीहरुलाई ।

त्यसपछि ती टाउकेहरुलाई तह लगाउँन तिनका टाउकाको मूल्य तोकियो । टाउको ल्याउनेहरुलाई टाउकोको वजन बराबरको सुनको असर्फी दिइने घोषणा भयो । यो खवर थाहा पाएर सुरुमा त ती टाउकाहरु छक्क परे । तर आफ्ना टाउकाको यत्रोबिधि मूल्य बढेको थाहा पाएर दंग पनि परे । त्यसपछि ती लाखौं मूल्य बराबरका टाउकाहरु आफूलाई सुरक्षित राख्न गोप्यरुपमा हिंडडुल गर्न थाले । उनीहरुलाई डर लाग्न थाल्यो- कतै वुनै आफ्नै आफन्तले आफूलाई नबेचिदियोस् । आफूलाई सुरक्षित राख्नाको अर्को कारण पनि थियो । कालान्तारमा महंगी सँगसँगै कतै आफ्नो टाउकाको मूल्य पनि अझ बढिहाल्छ कित भन्ने ।
निकै समय बितिसक्दा पनि टाउको बापत्को मूल्य कसैले हात पारेनन् । शक्तिशाली टाउकेहरुको फेरि टाउको दुख्न थाल्यो ।

निक्कै लामो छलफलपछि अर्को आकर्षक उपाय निकाले उनीहरुले । ती टाउकाहरु आफू खुशी आएमा तोकिएको मूल्य उनीहरु स्वयंलाई दिने घोषणा गरे । यस्तो निर्णयले ती टाउकाहरुका बीचमा खैलाबैला मच्चियो । टाउकाको वजन अनुसारको मूल्य किटान भएकोले ठूल्ठूला टाउके सरह फाइदा नहुने भएतापनि केही स-साना टाउकाहरुले आफ्ना टाउका बापत् वजन अनुसारको सुपथ मूल्य ग्रहण पनि गरे ।

खासै धेरै टाउकाहरु त्यस कार्यक्रममा सहभागी भएनन् । अनिपछि शक्तिशाली टाउकाहरुको टाउकोदुखाइ फेरि बढ्न थाल्यो । उनीहरु चिन्तित भए अनि अर्को विकल्पको खोजीमा लागे ।

सबै टाउकाहरुलाई समेट्न अर्को पासा फ्याँकियो । ती टाउकाहरुलाई आरामदायी घुम्ने कुर्सीको व्यवस्था मिलाइने घोषणा गरियो । त्यसपछि ती टाउकाहरुले त्यो घोषणालाई पनि सहर्ष स्वीकार गरे । उनीहरुले यो नै आफ्नो मुख्य माग भएको कुरा बल्ल बताए । तर कुर्सीको संख्या सीमित थियो । कुर्सीमा बस्न हानाथाप गर्न थाले । कुर्सी नपाउँनेहरुले पहिलेकै कार्यलाई निरन्तरता दिएका कारण समाजमा आतङ्क यथावत् रहिरह्यो । कहिल्यै स्थायी शान्ति हुन सकेन । जन-धनको सुरक्षा हुन सकेन ।

भनिन्छ त्यसबेला देखि नै हल्लिने र घुम्ने कुर्सीको व्यवस्था थालिएको हो । स्थायी कुर्सीको जग हल्लन थालेपछि त्यसलाई जोगाउँन उनीहरुलाई पनि हल्लिने घुम्ने कुर्सी दिइएको थियो । घुम्ने कुर्सीको व्यवस्था सांकेतिक अर्थमा गरिएको थियो । जसरी त्यो कुर्सी अस्थिर तथा चलायमान छ त्यसरी नै त्यहाँ बस्नेको पद पनि अस्थायी प्रकृतिको हुन्छ है भन्ने अर्थमा ।
तर घुम्ने कुर्सीमा जोसुकै बसे पनि आफू बसेपछि त्यसलाई पुनः स्थायी बनाउँने प्रयासमा चलखेल सुरु गरिहाल्थे । त्यसकारण कुर्सी माथिको संकट सदा ज्यूँका त्यूँ रहिरह्यो । तर समाजमा शान्ति सुरक्षा र जन-धन उपर संकट झन्-झन् गहिरंदै आयो ।