Nawaraj Subba – Ujyalo Ko Kheti

आजकल गाइँगुइँ सुनिन्छ
धकेल्न खोजिदैछ फेरि अन्धकारमा
खबरदार !
वत्तीमुनिको अँध्यारोमा बस्न
विलकुलै मञ्जूर छैन हामीलाई
नगर बन्द नदीको सङ्गीत
काकाकुल तीर्खा बोक्न
अब मञ्जुर छैन कसैलाई

भन, किन उँचाइ हाम्रो बढेन ?
जबकि सगरमाथाकै शीरमा
शान्तिको पहिलो किरण झर्छ
वुद्धभूमिमा जन्मेर पनि हामी
किन युद्धभूमिमा छट्पटाइरहेछौं ?
कसलाई देखाऔं ?
अप्ठेरो ठाउँमा आएको यो पिलोलाई
आफ्नै घरमा हामी घुन भइयो र पिस्नसम्म पिसियौं
साँढे बीचको बाछा पनि भइयो र मिच्नसम्म मिचियौं
आज घरघरमा शहिदका सुनौंला तस्वीरहरू
टाँगेर घर उज्यालो त बनाइयो
तर घरभित्र बस्ने सन्तानका
मुहार किन अझै अँधेरै छन् ?

उज्यालोको खोजीमा
हामीले खोज्दै नखोजेका अथवा सोच्दै नसोचेका
अनगिन्ति दागहरू पनि लगाइएछ अनुहारमा
‘अँध्यारो रोपेर फल्दैन उज्यालो’ कसरी बुझाउँ
के आफैभित्र पहिले शान्तिको दियो सल्काउन सकिदैन त !
सकिन्छ, किन सकिदैन, अवश्य सकिन्छ
अनेकताबीच एकताको सुन्दर कमल फुलाउन सकिन्छ
खोजौं दिव्यपुञ्ज आफैभित्र
आज, अहिले नै
उज्यालोको खेती सुरु गरौं
अँध्यारो विरुद्ध उज्यालोको खेती गरौं !

Prakash Thamsuhang – Saanjh Shabdachitra Ma

प्रकाश थाम्सुहाङ – साँझ शब्दचित्रमा

बैशालु युवती झैं लजाउँदै रातो घाम
जब पहाडको घुम्टो भित्र लुक्न खोज्छ
साँझ, गाउँमा बास माग्न आउँछ

दिनभर खटनपछिको सकुन र सन्तुष्टी
निश्चिन्त भई फर्किरहेछन् गोठालाहरू,
धुलो उडाउँदै मुलसटकमा
निर्धक्क चरेर जीवनको एक अध्याय
उग्राउँदै फर्किरहेछन् गाईबस्तुहरू

कुनै मायाबी लोककथाबाट अलप भएको नायक
अर्थात आनीको आँखाबाट ओझेल भएको सपना
जस्तै अचानक बिस्मृत भएका आफ्ना प्रेमीहरू सम्झेर
जोरधारामा पर्खेर पानीभर्ने पालो
सिरबन्दी जून हेरिरहेका छन् युवतीहरू

बालेर जीवनको उज्यालो साँझमा
कहाँ पुग्ने होला यी जुनकिरीहरू ?
कहाँ बास बस्ने होला यी कर्याङकुरुङहरू ?
कुन गीत गाईरहेछन् यी झ्याउँकिरीहरू ?

साँझले इन्द्रेनी रङहरू छर्दै छ कि जस्तो
चुलो बाल्न हतारमा छन् गृहिणीहरू
नेपथ्यमा सुनिदैछ ढिकी कुटेको आवाज
साँझ एउटा दिनको अन्तिम बिन्दु
एउटा दिन बितेको समय
घटाएर एकदिनको आयु, टाढा… कतै
सुनिदैछ गाएको ख्याली-जुहारी

फेरि, चढाउँदै फूलपाती देउरालीमा
सपना बेचेर फर्किरहेछन् परदेशीहरू
के कती मूल्य पाए सपनाको ?
अहो रातो देखिन्छ नदी रातै देखिन्छ मनहरू
पना डढेर होकि रातो देखिन्छ आकाश ।

-ईलाम

Bhim Darshan Roka – Barsaat

मेरो ऋतु बर्सात आयो
इन्द्रेनीमा रङ्ग सात आयो
किन नदगुरुँ पोल्टो थापी
दूर देशको सौगात आयो ।
मेरो ऋतु बर्सात आयो
इन्द्रेनीमा रङ्ग सात आयो ।
किन न जोड जोडले बोलूँ
उकुस–मुकुस यो हृदय खोलूँ
झरझर झरझरको स्वरले
सबैको स्वर सात डुबायो ।
मेरो ऋतु बर्सात आयो
इन्द्रेनीमा रङ्ग सात आयो ।
आकाशमा उडिरहेको कालो बादल
धरतीमा दगुरिरहेको छायाँ पागल
किन न छोऊँ म दुवै किनार आज
नदी उर्ली उर्ली एक साथ आयो ।
मेरो ऋतु बर्सात आयो
इन्द्रेनीमा रङ्ग सात आयो ।

Acharya Prabha – Sangeet Bihin Maun Juwari

ब्यर्थ बिचारको उहापोहमा
मस्तिष्क खर्चेर हामी
सदा शीतयुद्धमा लडिरहेछौँ
ता पनि…..
सकारात्मक निश्कर्षको
प्राप्ती छैन हामीलाई ,
अन्यौलमा भौँतारी रहेछौं
अकथित भावनाहरु मनभरी गुम्साएर
एकार्काका बिचारहरुसँग
असहमतिको सहिछाप गर्दै
मौन जुवारी खेलिरहेछौँ ।
कोही राजनीतिको रखवाला भएर
युद्धको धावा बोलिरहेछौँ
कोही धर्मको बिभाजनमा एकार्कालाई
बिभाजित गरिरहेछौं
कोही लिंगभेदको निहुंमा आफूलाई
अग्रणी बनाइ रहेछौं ,
कोही जातिबादमा
अन्धो बनिरहेछौँ ।
हो यो मौन जुवारीमा
न मादलको मीठो ताल छ,
न त सारंगीको स्वीकृतिको
मन छुने मीठो धुन छ
न त बाँसुरीको लय छ
फगत !यो जुवारी संगीतबिहिन छ
असमर्थन र अस्वीकृतिका शब्दहरु
ब्यर्थमा भरिएको छ
यो कण्ठबिहिन जुवारीमा
पोख्त संगीतकारको कमी छ
मीठो स्वरदिने गलाको
आवश्यकता छ
अनि सहि शब्दकारको खाँचो छ
यो मौन जुवारीमा ।

Bibek Dulal Chhetri Damak – Muktak Haru

विवेक दुलाल क्षेत्री “दमक” – मुक्तकहरू

१ .

गरीबलाई दुनियाले झन् गरीब बनायो
शान्त बिष्णु थियो, अचम्मको शिब बनायो
अब त बिद्रोह गर्छ ,आफ्नै भोक र रिससित
भाग्यलाई दोष दिने अचम्मको जीव बनायो .

२.

हिड्दै गर्दा बाटो भरी भैगो मैले तिमीलाई सम्झे
धरतीको माटोभरी भैगो मैले तिमीलाई सम्झे
शुख र दुख बेगरको कस्तो होला र जीवन …
स्मृतीको पाटोभरी भैगो मैले तिमीलाई सम्झे .

३.

फूल जस्तो मुहार तिम्रो ,त्यो सधै हशिलो छ
बदाम जस्तो ओठ तिम्रो ,त्यो सधै रसिलो छ
दुनियाले हेरे हेरोस् ,आखातरि हामी दुइलाई
नङ मासु जस्तो माया तिम्रो, त्यो सधै कसिलो छ .

४ .

भोकासित खाना माग्ने हात धेरै सस्तो
अरूलाई खुचिंग गर्ने बात धेरै सस्तो
कतै छैन मानवता फूललाई लुक्षेपछि
परचक्रीको क्रूरतामा रात धेरै सस्तो .

५ .

पिर मर्का पर्दाखेरी आशु चुहाउने कोहि छैनन्
असत्य र कुकर्मलाई कुहाउने कोहि छैनन्
जति छन् वर पर अर्कै लाग्छन् त्यसै त्यसै
स्नेहको कुवा खनी नुहाउने कोहि छैनन् .

अस्तु :
दमक , झापा
हाल :अबुधाबी ,यू ए ई .

Baidyanath Upadhyaya – Goreto Haruma Hidnu

बैद्यनाथ उपाध्याय – गोरेटोहरुमा हिंडनु

सजिलो हुँदैन
गोरेटोहरुमा हिंडिरहनु
जहाँ दुवैतिर काँडे झारहरु उम्रिएका हुन
र बेलुकीको समयले
दिनको उज्ज्यालोलाई क्रमश निल्दै गरेको होस
र त्यहीं हिंडनेलाई
आफ्नो गन्तव्यको पनि थाह नहोस…
तब यसरी हिंडदै जानु
बीहड जङ्गलमा, एकलै
कति यातनाहरु जन्माउँछ।
मेरा साथी!
म पनि यस्तै गोरेटोहरुमा
हिंडिंरहेछु साँझ-बिहान
काँडे झारहरुको चुम्बनले
हरपल रगताम्य छन पाइलाहरु
अनेक वेदनाहरुको चिच्याई
सुनेको नसुनै रहन्छ एकान्तका पलहरुमा।
बाटामा छोडिएका रक्तिम पदचिह्न
धुलाको तरपमुनि गुमनाम सुतेका छन।
थाह छैन अरु अगाडि
कति बाटो हिंडनु छ
गुज्रदैं इ गोरेटाहरुबाट
कति व्यथाहरु झेल्नु छ
म दिशाहीन र पथभ्रष्ट भएको छु
कहाँ कहाँ अरु कति ठोकर
खानु छ…
यस्तो स्थितिमा इच्छा-अनिच्छाको
के सवाल उठन सक्छ!
केवल हिंडदै जानुनै
आफ्नो नियति भएको छ
बिकल्पको कुरानै यहाँ
कहाँ?

Kusum Gyawali – Moti Ko Pyala Ra Jutho Madira

साँझ,
नीलो मोतिको प्यालाका कम्मरमा
आवद्ध हुन्छन् सुनका सिक्रीहरू
छातिमा सजिएका हुन्छन हिराका कलात्मक टुक्राहरू
भरिएको हुन्छ त्यसैमा बेजोड स्वादिलो स्थानीय मदिरा
यसरी समुस्कान स्वागतमा उभिन्छे
एउटी छल्किन तयार प्याला
हरेक प्यासीसाँझका आवेगहरूनेर !

विहान,
तिर्थयात्रीको पदचापले ब्यूँझँदा झसमिसेमा
वरिपरि असरल्ल हुन्छन्
वेवारिस जुठा मोतिका प्यालाहरू
म स्वयं उठाउन सक्तिन
जुठा मोतिका प्यालाहरूमा बाँकी
सस्तो स्थानीय मदिराको स्वादिलो थेग्रो
हठात्, छोडेर ती अनमोल प्यालाहरू नै
पावन जलको नाममा
अलिकति कालो बागमती प्यूछु
पवित्र भनिएको सस्तो काँचको प्यालामा

बोकेर कलसमा पवित्र जल
फर्कदै गर्दा घाटहरूबाट
अलमलिएर रोकिन्छु दोबाटोमा
मदिराको मादक गन्धसँगै
पछ्याएर मुस्कानको इसारा
मैले हरेक पल्ट विराउँछु
मन्दिर जाने बाटो
अनि रोज्छु मद्शालाको नीलो गोरेटो

दिउँसो,
ज्यासलमा बसेर घोटिरहदाँ सधैं झैं कसीमा
कुनै लजालु प्रेमीको पानपाते स्वर्णहार
मलाई कदाचित याद हुन्छ
साँझको एकप्याला मुस्कान
एक अंगालो थकान
स्वादिलो मदिराको थेग्रो
नीलो मोतिका बेवारिस जुठा प्यालाहरू

(भाद्र १५, २०६१)

Maniraj Singh – Tundikhel

मणिराज सिंह – टुँडिखेल

नचाहँदा नचाहँदै फुलेका
तितेपानीको पूmलझैँ
सून्य हृदय र रित्तो आकाश छामेर
गरीब बाबुको
तरुनी छोरीले
यौवनको उन्माद
थाम्न नसकेर
आकर्षण, तिरस्कार र चाहनाको शूल रोपेझैँ
चुपचाप निस्सासिरहेछ
सिंगो टुँडिखेल ।

बाक्लो अन्यौल पहिरेर
बिरुपाक्षले आर्यघाट कुरिरहेझैँ
मकैबारीमा गाडिएको मचानमा उक्लेर
धपाइरहेछ स्याल र बाँदरहरू
र दिन गनिरहेछ एक एक गर्दै
मकैका गेडाहरू छोडाउँदै
बिद्रुप हाँसो हाँसिरहेछ
एक्लो, नाङ्गो र हताश टुँडिखेल ।

अधुरा सपनाका टुक्राटुक्रीहरू
छातीको ओढारमा लुकाएर
प्रेमीकाको अत्यास लाग्दा चाहनाको
जोहो गर्दागर्दै
पत्नीको स्तन क्यान्सरको
ओखती गर्न नसकेर
किंकर्तव्य विमुढ भै
आफैँसँग तर्सिरहेछ टुँडिखेल
शायद
स्वामित्व हराएको खेतको आलीमा उभिएर
आफैँलाई नियालिरहेको कृषकझैँ
घाँटीमै अडकिएको क्रन्दनको हिक्का
अस्पष्ट सीत्कार र आँखाको डिलमा टल्किएको आँशु
निलेर मनका खोकिलाहरूमा
भक्कानिरहेछ टुँडिखेल ।

मसानका ढिस्काहरूमाथि टेकेर
रगतका फाल्साहरू फिँजाएर जताततै
साउती गरिरहेछ साँघुरा गल्लीहरूमा
अस्ताउँदो सर्यको मलामी जान तम्सेर
मृत्यु उत्सव आयोजन गर्दैछ
स्वयम्भूको तश्रो नेत्र मुन्तिर
बारुद्धको तन्ना फिँजाएर
बागमतीको दुर्घन्धित बगरमा
एकतमासले कुरिहरेछ टुँडिखेल ।

Bibek Dulal Chhetri Damak – Timro Ahankar Lai Thichera (Nepali Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – तिम्रो अहंकारलाई थिचेर (गजल)

तिम्रो अहंकारलाई थिचेर जादैछु
तिमी भित्रको बेथिती मिचेर जादैछु

जे पर्ला आओस युग सताउन मलाई
उसको दासत्व उसैमा पिचेर जादैछु

पर्दैन बर्षात् बिना मेघ गर्जन
तर म पुरै समुन्द्र किचेर जादैछु

कसैले सोधेमा भनि दिनु तिमीले
म “विवेक “आफ्नै नाम शिचेर जादैछु .

अस्तु .
दमक ,झापा
हाल ; अबुधाबी , यू ए ई .

Binod Khadka – Anshu

आँशु पानी जस्तै हो
तर आँशु पिउनु हुदैन
आँशु पानी जस्तै बग्छ
तर आँशु जमाउनु हुदैन ।

आँशु पानी जस्तै हो
तर पानी आँशु होईन
आँशु अभिव्यक्ति हो
तर अभिव्यक्ति आँशु होईन ।

दूख र रोदनमा मात्र होईन
खुसीमा पनि बहन्छ आँशु
आफ्नै पीडामा मात्र होईन
अरुको पीडामा पनि
ओर्लिनु पर्छ आँशु ।

आफ्नो दूखमा त सबै रुन्छन
अरुको पीडामा पनि रुन सक्नुपर्छ
आफ्ना आँखाहरुबाट बहने आँशु
अरुका लागी पनि साँच्न सक्नुपर्छ ।

आँशु जमाउनु हुदैन
पीडा गुम्साउँनु हुँदैन
आँशुमा नै बगाईदिनु पर्छ
शान्तिमय जीवन जीउनका लागी
पीडा पखाल्नका लागी
आँशु बगाउनै पर्छ
आँशु जमाउनु हुदैन ।

Laxmi Prasad Devkota – Pitri Bilap

(नेपालमा वायुयान–दुर्घटनामा परेका बालकहरुको)

क.
दउगका तारा ! बाबा ! बाबा !
कलिला, उज्याला सुनगाभा !
पृथिवी झरेका स्वर्गका पूmल !
हाय ! गयौ नि ! हाय ! निभ्यौ नि !
वायुयानको दुर्घटनामा, फुस्की सानो कील, चुकुल !
त्यो चुकुल हो ! विधिले ठोक्यो हाम्रा मुटुमा, हाम्रा मुटुमा !
जीवनभरको शूल, हरे ! जीवनभरको शूल !

ख.
वेदना भै, अतिशयिताले आफ्नै, मूक !
जीवन बन्दछ क्षण–क्षण सिङ्गो, क्षण–क्षण टुक !
सिङ्गो बन्दा सचेतता नै तर्सी उठ्छे निशासी !
टुक्रा बन्दा, कणी, कणी छौँ, ताता जलका,
मुटु–वासी !
दिइरहेछौँ अँजुली, पलपल !
स्वर्गमा तिम्रा कञ्चन आत्मालाई बाबा ! शान्ति मिलोस् !
नित्य, अटल !

ग.
वज्र चट्क्यो ! आगो सल्क्यो !
आशा–उपवन भयो सखाप !
भस्म ढेर भो कोमल कुड्मल—
—हरुको किरणमुखी, कलकल,
चञ्चल, सुगन्धी उछलाव !
ध्वस्त, ध्वस्त, प्रणष्ट भयो अशोकवनझैं जीवन हाय !
विस्फोटित विधु, प्रलायान्त, विखण्डित,
छरिई, खण्डहर पृथिवी जननी,
उर–दग्धाको कृष्ण सतहझैं
हरीतिमा–मृत अस्तित्व छ हाय !
कस्तो गरेछौँ अघि हा ! पाप !

घ.
विविध जुहारका धनी थियौँ जो
राजारानी रङ्क भयौँ !
तातो पानी, पङ्क भयौं !
राजसी ए ! पूmलबारीका स्निग्ध हातका मृदुल सिहार !
सुकुमार !
दृग–किरण खुशिला !
प्राण–पवनका स्पर्श–हँसिला !
शवनम–रसिला !
उच्छाल–उज्याला, मन लहरीमा !
कोमल–दार !
घुँक्का, सम्झी, बिउँझी उठ्छन्,
यी वन गिरिले देख्न नपाउने,
स्फटिक तालले राख्न नपाउने,
दिनले फेरि देख्न नपाउने,
तिम्रो अकुटिल, देव–मुहार !
झलमल, झलमल स्मृतिको किनार !
अतट छ हाम्रो ! दुःखको यो
तूफान–विघूर्णित पारावार !

ङ.
मुस्कानहरुझैं दृग–जलले
पोषिएका, कुड्मलले,
जल्नुप¥यो नि ! बाँच्छौ बोट
उल्टो विधिको हात हरे !
कम्र्मको खोट !

च.
मातृभूमिमा चुम्दा, चुम्दै, स्वर्गले झिल्की बोलायो !
क्रुर स्वर्गले ! क्रुर स्वर्गले !
पृथ्वी, लायक छैनन्, तिम्रो
निम्ति, भनेको होला यो !

छ.
ठक्कर खाँदा, तस्र्यौ होला ! बष्र्यौ होला ! ए लाचार !
हाली अँगालो रोयौ होला, आत्ती, आत्ती,
पसिना–धार
क्रन्दी, देख्दा,
धूलो, बबन्डर हाहाकार !
‘आमा’ करायौ ?
वा, ‘हे भगवन् ! विश्वाधार !’
मृत्यु, कथाझैं दूर, कुइरोझैं,
आगोको ली भीषण मुख तब
पेट्रोल–टङ्गीबाट उठेर,
गज्र्यो होला, आखिरकार !
बाबा ! बाबा ! मुटुमा फुट्छ भक्कानो नि ! सम्झी सम्झी
तिम्रो दशा, सुकुमार !
काँढाले तक नकोरिएका, बालक, कोमल, हीनाधार
काल भनेको नसुनेका, कथा गुनेका,
पृथिवी दुःखी नचिनेका !
कमिलाका फुल चाँवल खाने, कोमल करले बिनेका !
कसरी सम्झौं ? मुटु फुट्छ !
पागल चिच्यावट उठ्छ !
अविरल धारा जल छुट्छ !

ज.
बाबा ! बाबा !
हावाहरुले, हुइँहुइँ गर्दा, तर्सन्थ्यौ !
लुटुक्क काखमा निहुरन्थ्यौ !
यस छातीमा बाहिरी जग नै, आँखा चिम्ली,
बिर्सन्थ्यो !
स्वपनामा पनि रुप भयानक,
देख्दा, तिमीहरु तर्सन्थ्यौ !
तिम्रा स्वपना मीठा पार्न,
हामी निशिमा चुम्बन दी, दी,
स्नेह अगाधले निहुरन्थ्यौ !
सुते, बराबर बिउँझन्थ्यौँ
खेल बीचमा, हलुका इच्छा कुँडिँदा तिमी जब
चिर्रन्थ्यौ !
हामी, मुटुमा थर्री, थर्री,
दगुरन्थ्यौँ !
चुपचाप कस्तो म्वाइँ दिन्थ्यौ ! लिन्थ्यौ !
बाबा ! बाबा !
हामी अभागीहरुको होश र सेवा पुगेन !
नत्र तिमी किन बिर्सन्थ्यौ ?

झ.
सम्झ्यौ मुमा वा ! सम्झ्यौ बुबा वा !
डग्दा डगमग जग–जग, देही
गर्दछ आमा–बाबु याद !
लाचारीमा अन्धताले राखिरहिथी,
बाबा ! बाबा !
बाबु र आमा, दुवै अभागी !
चिम्लनलाई आँखा विधिले,
झुठा आशाको दी नाद !
हा ! लाचारी हा ! लाचारी !
सर्वस्व दिनै पनि इच्छुकहरुको भारी !
लाचारी !—
मानव–पितृको, यस पृथिवीमा, विधिका सामु
अत्याचारी !
कुन भाषाले गर्दछ जारी ? —लाचारी !
रुन्छन् यहाँ ती, चिरिँदा, धाँजा,
कलेजा, कलेजा बटारी !
कँटिली छन् यी, मटिली छन् यी, हुँडिली छन् यी पृथिवी !
फूल झरेका थोत्रा रुखहरु रुँदै खडा छन् यिनमा,
वज्रपातका दुर्दिनमा !
पर्वत–छातीमा खत छन् बाबा !
घाउ घाउ छन् भूतलभर !
केवल जलले अविरल गाना गर्दछ खोँच बनाई !
नागिनीले उरमा डस्छे आकाश पिताको हाई !
निधार ठटाई, घोप्टी हेर्दछ जगलाई !
जलका आँखा, जलका आँखा मात्र जुझ्छन्
डबकाई !
प्राण रुन्छन् यिनका, मँडरी,
बालविहतझैं, क्रन्दनमा !
हावा यिनका यहाँ ई !
ज्वालामुखीका लाभामाथि, पृथिवी, ज्वलिता अन्तरमा,
हरीतिमाले मुहार सिँगार्छिन्,
फूल उमार्छिन् ! बाबा !
मृगशावक सब बाघ बिचेत छन्
लिँदा खुशीका उफ्राइ !
भीषण बघिनी विधिले
हाय ! चबाई तिमीलाई !

ञ.
ए पेवुलका जल–बुलबुल, चाँदी–रसना चञ्चल !
बाफ भयौ !
वरदान बनीकन आएथ्यौ !
श्राप भएर गयौ !

ट.
हाय ! तिमीहरु आमा भएनौ !
हाय ! तिमीहरु बाबु भएनौ !
पितृवेदना, वियोगबीचमा,
सहने छैनौ, सहेनौ !
आँशुका घुट्का भाषाविनुका कहिल्यै पिएनौ !
पिएनौ !
आमाबाबु हुनको पीडा, स्नेहवेदना, नभको, भुको,
बुझेका थिएनौ, थिएनौ !
मुस्की नयाँमा ।
फुस्की बास्ना ।।
जिस्की हवामा ।
पृथिवीलाई सुख–उपवनझैं चहारी, विहारी तृप्त थिएनौ !
जादूजाली डाली जगमा, चिन्ता लेश लिएनौ !
इन्द्रेनीको राज्य भनीकन, कुलिश–सचेत रहेनौ !
नख चञ्चुलोहिता प्रकृति न देख्यौ, बाज न, गिद्ध न, बाघ न,
चील !
श्याल न, सर्पको विल !
प्रौढहरुको मम्र्माहत दृग जलको जहर पिएनौ !
बिपना, स्वपना सँगसँगै चाल्यौ !
तोतेली स्वर्गमा पृथ्वी ढाल्यौ !
शूल छिपाई मुस्किन लायौ हामीलाई !
सुख मान्न सिकायौ हामीलाई !
करको कोमल शीतलताले मलम लगायौ प्रौढहरुको
ब्रणलाई !
शान्ति बनायौ रणलाई !
आशावादी मरणहरुलाई !
तर हाय ! तिमी नै अन्तध्र्यान !
तारा–ज्यान !
काँप्दछ हाम्रो प्राण, काँप्दछन्
हाम्रा आशा, हाम्रा ज्ञान !
असह्य हुन्छिन् पृथिवी फेरि, अनल समान !
अनल समान !

ठ.
पाएनौँ नि प्यार यथेष्ट गर्न तिमीकन,
रत्नहरु !
विफल भए सब शुरुदेखिका, प्राणहीन छन्
प्रयत्नहरु !
तर्साउने यो घर भो ठूलो आकाश छद !
छाया सारा,
मानिस, बस्ती, वस्तुहरु !
दुई आँखा छन्, नखलिस्तान, शेष रसका याद भल !
सन्नाटा अब गर्दछ बास,
जहाँ देवदूतको मीठो खलबल !

ङ.
तस्वीरमा छौ !
एक छिनको तिम्रो जीवन झलकिन्छ !
निमेष जहाँ एक छायामाथि
उड्दा, उड्दै अडकिन्छ !
केवल गह यो डबकन्छ !
बोलन ! बोल ! मौन छिचोल !
मधुर अधर ती खोल
रोउन ! हाँसन ! चलन ! ए ! उछलन !
ढल्कन ! डोल !
पलक उचालन ! पलक ओरालन !
ताजूबीले चौडा आँखा पारन !
खोलन ! खोल !
अथवा रोउन, इच्छा कुण्ठित,
आँशु झार ए अनमोल !
तोते कुराले
कम्प अनिल अलि !
बदलन मुद्रा ! मुख खोल !
अनन्त निद्र आई छोपी
आह ! तिमीकन !
सुत्छौ निश्चल, शब्द न सुन्छौ !
सकल अबोल !

ढ.
वेद स्नेहका ! सत्यका रक्षक !
जगताधार !
कोमलताका लताका पुष्प !
बिस्र्यौ आमा, बिस्र्यौ बाबु,
बिस्र्यौ संसार !

ण.
कोही बच्चा कराइरहेछ झप्रोमा त्यो नजीकमा !
सारा बच्चाहरुमा घुसीकन बोलिरहेछौ ए बाबा ?
बाँचिरहेका बच्चाहरुको सामूहिक एक आत्मा गर्छ,
“आमा–बाबु !” पुकारा !
एक झझल्को, एक छचल्को जलको,
आँखाको यो फाँद बनाई पृथिवी ढाक्ने
अरु बाबाका, अरु आमाका,
हृदयहरुमा हृदय घुसाई, हामीलाई,
गर्छ विचित्र, दिलामा सदृश,
अन्तिम एक इशारा !

त.
आँखाका जल खोज्दैछन् अझ, ढुँढ्न तिमीहरु, झर्दै छन् !
बच्चा गुमेका आत्मा चरी दुई प्रश्नले जग भर्दै छन् !
रातका आँखा कोर्दै छन् !
पृथिवी हुन् यी कस्ती डल्ली ? के हो यो संसार ?
नाशपाती घुमाइरहेछन् ज्योतिहरुले किन यी हजार ?
कसरी आउँछ, कसरी हराउँछ,
मानव कोपिला, बास्नादार ?
आकाश बनाई ढकनी नीलो,
कसले छोप्दछ , किन संसार ?

थ.
छैनन् मरेका भनन ! ए तारा !
तिमीझैं सारा सुन्दर थिए !
ज्योतिका मीठा मन्दिर थिए !
छन्, छन्, ती छन् !
लुगा फुकाली, नाङ्गा हुन्छन् केवल !
शिशु–तारा–दल ती ! तारादल !
नन्दन घुम्छन् !
झिम्की, चम्की, साना, नाना ज्योतिका नाना लगाई,
अमर छुरछुर गर्छन् !
जलबिन्दु धराका, आपूmपछिका, आपूmतलका,
सम्झन्छन् !

द.
के ती हामी दुःखीकन सम्झी
कहिल्यै रुन्छन् ?
होइन, होइन, ती नाताभन्दा ज्यादी पर छन्,
मुस्कन्छन् !
पृथिवीको यो बाफ हो जलको वातावरणमा केही दूर !
यी पग्लन्छन् ! यी पग्लन्छन् !
तर ती त्यसका माथि उठेका
सँग्लन्छन् !
स्वर्गका देउता, तिनका आँखाबाट झरेका,
सुखका कनिका टिप्दै जिउँछन् !
हामीहरुकन भेट दिनेछन् !
दिन्छन् !
थाहा छ तिनीकन, दुई मूर्ख परेवा
—माऊ गुँडमा रुन्छन् !
चुम्बन फँकी भन्छन्, “न–रोओ !
तिम्रा पनि ता क्वै दिन छन् !
आमा–बाबु पनि त धराका
बादलपारि, आँधीपारि,
बच्चातिर, पछि उत्रन्छन् !”

ध.
यत्ति कल्पना, यत्ति भावना,
आशा हुन्छे,
बुझाउँछे मन !
शीघ्र देखियोस् लैजाने पाल, तरुणी निकट होस्,
रे प्रतिक्षण !
शेष समयको माग पु¥याउन, भार वहनमा बस्छौँ !
अनि लहरी जब सन्चो होला,
बन्दरगाहको तल खस्छौँ !
भुलभुल आउँछ, भुलभुल आउँछ,
पानी मन यो,
अज्ञानी मन !
पानी मन यो, बूँदबूँदमा
कण, कण !
ज्वलनको सीमा नाघेका ती,
अम्लान वनतिर लागेका ती,
हाम्रा छैनन्, हाम्रा थिए जो,
विश्वम्भरको डर, यो गगनको विशालतामा,
चम्कन्छन् !
हरि र रमाले आँशु पुछेका !
नङ्गा आत्मा,
कुल्चिरहेका अमरवल्लीहरुका हाँगा
पातमा,
आँशु पुछीकन भेट्छन् !
“बाबा ! बाबा !” भन्दै उडौँला हामी आखिर !
भेट्न नबिर्स बाबा !
हृदय यहाँ बा बाबा ! बाबा ! काँढा उपरमा
लेट्छन् !

Rakesh Karki – Glass Ko Ram Jham Mai Chhu (Gajal)

इन्जिनियर राकेश कार्की – गिलासको झमझम मै छु (गजल)

घेरा दिने भित्तो मलाई घरजम मै छु
भीडमा गिलासको स्वादिलो झमझम मै छु

खाली र रित्तो मन ननाचे के भो र
त्यो पाउजुको झन्कारको छमछम मै छु

वाह वाह भन्छन् फ्याँकछन् पैसा हुर्र
हीरा र मोतीको अहा चमचम मै छु

यो भित्र पीडाले नहाँसे के भो र
बाह्य त होहल्ला सहित रमझम मै छु

यस्तै भयो कल्ले र भो एक्लो भन्छ
टिक टिक समयको चालको हरदम मै छु

————————————-

बहर : सरीअ
सूत्र : मुस्तफ्इलुन्++ + मुस्तफ्इलुन् +‍ मफ्ऊलात
SSIS SSIS SSSI
————————————

Tanka Prasad Chaulagain – Nanu Nikai Para Bhayou (Nepali Gajal)

टङ्कप्रसाद चौलागाईं – नानु निकै पर भयौ (गजल)

नानु निकै पर भयौ अलि वर सरिदेऊ
मग्मगाउँदै बास्नाले सोह्र शृङ्गार गरिदेऊ ।

आँखा तर्दै, रिसाउँदै, तकियालाई अठ्याउँदै
प्रेमीको स्वागतार्थ पलङछेउ झरिदेऊ ।

थाकेको यो शरीर सम्पूर्ण सुम्पिदिन्छु
मनभित्रको प्रेमाग्नि चारैतिर छरिदेऊ ।

पन्चेबाजा, डोली चढ्दा कति राम्री देखिएकी
त्यही लुगामा सजिएर सिउँदो रातै भरिदेऊ ।

Dr. Madhu Madhurya – Maun Pratidhwani

डाँडा-पाखा र पर्वतको श्रृङखलाहरुमा
आकाससम्मै चुलिएको हिमाल हुँ म
पहिरो देखाउंदै
भूकम्प
मलाई जिस्क्याई रहन्छ
तर्साई रहन्छ

समथर आंग तन्काएर फैलिएको तराइ हुँ म
घामले पोलिरहन्छ, पानीले डुबाइ रहन्छ
पिउनु परे पनि अभिशप्त आँसु
पर्यटकको आँखामा स्वर्ग रंगिएकै छु
नयाँ नेपालको घुम्टो ओढाई
भाषा-भाषिमा
जात-जातमा
राज्य-राज्यमा
चोक्ट्याउदै छन् मलाई

यो चक्रब्युहबाट उन्मुक्ति दिन
गुहार सुनेर मलाई बचाउन
को सन्तान आयो आज?
फगत दागबत्ती दिंदै
दक्षिण बगाउन आतुर लाम मात्र देखिरहेछु
के इतिहासका दृष्टिभ्रम हुन् यी सारा
के यसैमा गर्ब गरूँ सन्तान छन् भनेर मेरा ?

Moti Ram Bhatta – Kahan Janma Payen

मोतीराम भट्ट – कहाँ जन्म पाएँ

कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ

हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ

यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी

विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई

– ‘प्रियदर्शिका’, नाटिका पृ १८

Lekhnath Paudyal – Kaal Mahima

लेखनाथ पौड्याल – काल महिमा

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।२।

आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो,
हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो ।३।

जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ती मिल्छ उती उकेल्दछ पनि केही पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो ।४।

Saroj Dhital – Dhunga

सरोज धिताल – ढुङ्गा

ढुङ्गा–
त्यो साह्रो चीज
जो सधैँ निष्ठुरताको प्रतीक भयो
– कविका निम्ति

ढुङ्गा –
त्यो निर्जीव चिज
जो सधैँ कठोरताको प्रतीक भयो
कविका निम्ति

एक दिन
काटियो
ताछियो
घोटियो
मूर्तिकारको हातबाट
र एउटा सुन्दर अनुहार देखा प¥यो ।

आँखाभरि टिल्पिल–टिल्पिल आँसु लिएर
मुहारमा किञ्चित मुस्कान पोतेर
केही लजाए झैँ गरी
कृतज्ञ स्वरले बोल्यो ऊ सुस्तरी
मूर्तिकारसँग–

“प्रिय मानव !
स्वीकार गर
मेरो मनको बगैँचामा फुलेका फूलहरू !”

Shrawan Mukarung – Pirai Pir Ko Bhari Boki

पीरैपीरको भारी बोकी कता जाने तामाङ दाइ
उँभो लागे बिगु गुम्बा
उँधो लागे नीलो गङ्गा
जहाँ पुगे’नि सुख छैन सपना देख्ने मान्छेलाई

पहाड नाघ, जङ्घार तर भेटिने त उही सूर्य
बिसोनी हो यशोधरा तिम्रा लागि तिमी बुद्ध
पीरैपीरको भारी बोकी…

यो बाटोमा पसिनाको एकपछि अर्को हिमाल
जति आँसु बहे पनि आफ्ना लागि आफैँ रुमाल
पीरैपीरको भारी बोकी…

Shekhar Dhungel – Loktantra Aayo Re

घरमा फोन गरें
सानो बच्चाले भन्यो-
“बाबा आजकल लक्की कुकुर
भुक्दै भुक्दैन ”
पछाडिबाट गृहमन्त्रीले थपिन्-
“यसलाइ पनि लोकतन्त्र लाग्या छ।”

सरकारी कार्यालयको एउटा काम ‘थ्यो
श्रीमतीलाई जिज्ञासा राखें गर्न सक्यौ ?
उनले जोसिँदै भनिन्-
“आजभोलि म पनि नडराउने,
बोल्नसक्ने भा’छु
गएर कठालो समात्छु
कसरी नगर्ला काम
नखाईकन घूस ।”

अर्को दिन फेरि फोन गरें-
के भयो बुझ्न अर्हाएको काम
पड्किदै उनले सुनाइन् कहानी
कर्मचारीलाई हप्काइ छिन्
लोकतन्त्र आ’ थाहा छैन
घूस खान डर छैन भनी तर्साइछिन ।

लोकतन्त्र तपाईंलाई मात्र आ’
हामी जुलुस किन गा’ थाहा छैन
तिमीहरुलाई माओवादीको नि डर छैन
उनीहरुलाई महिनाबारी बुझाउनु पर्ने थाहा छैन
घूस नखाई काम गरे
ढोकामा धर्ना बस्ने धम्की दिन्छन्
उल्टो कर्मचारीले उनलाई कारबाही नगरे
भोलिदेखि ताला बन्द गर्ने
ऐक्यबद्धता व्यक्त गरेछन्
उस्तैपरे चक्काजाम गर्ने धम्की दे’छन् ।

लोकतन्त्रको यो सानो गाथा सुनेर
एकछिन हाँसु कि रुनु भो
घूस नखाई कामै नगर्ने झनै
मजबुत संस्कार विकास भो।
आफू परें लोकतन्त्रको परिभाषा
यस्को मर्म लेखिटोपल्ने प्राणी
आफ्नै सानो कामको यो महाभारत भो
नेता परे लाज पचाएका
अनैतिकताका भण्डारेका नाइके
‘एक बुथ सय युथ’
खुलमखुल्ला बुथ कब्जा गर्ने कुरा
अर्कातिर बन्दुकको धम्की
सक्नेले प्रहरी प्रशासनको दुरुपयोग गर्ने निति

जनताले मतै नदे’ पनि
सांसद र मन्त्री हुनैपर्ने दुर्नियित
डर त्रास र धम्कीमा लादिएको
जनता जनार्दनको यस्तै हो
लोकतन्त्र को उपलब्धि
कर्तव्यप्रति सधैं विमुख
अधिकारको लागिमात्र उन्मुख
यस्तो विमती नीतिले
कसरी होला जनता र देशको उन्नति।

Shyamal – Swayam Kantur Bidwan Kashinath

पढ्छ अहोरात्र पलेँटी कसेर पुरानो लिउमाथि
र खोतल्छ टिपोटहरू
घोरिएर पढ्छ भोजपत्र, ताम्रपत्र र शिलापत्रका उतार
वा स्वस्थानी व्रतकथाको माइक्रो फिल्म
केही टिप्छ, केही न केही टिप्नैपर्ने भएकाले
कृषि शाखाले दिएको दस वर्ष बुढो डायरीमा
जान्छ तिलौराकोट, लुम्बिनी
या त क्राचल्लको भाषा पढ्न दुल्लू कि त सिजातिर
फर्कन्छ काठमाडौँ थोत्रो बसमा
मानिसहरू कोचाकोच गरिएको भिडियो कोचमा
सोच्छ पुरातत्व विभागको वाचनालय–
‘यी मानिसहरूझैँ कोचिएका छन् बिचरा
पुराना दामी पाण्डुलिपिहरू दराजको धुलाम्मे कुनामा’
सोच्दै थियो, झन्डै मरेको दुर्घटनामा
बाँच्छ र सोच्छ गरुडपुराणको छालाको गाता
सोच्छ आफ्नी पत्नीझैँ लाग्छ मैथुनरत
मन्दिर–टुँडालका मल्लकालीन अप्सराहरू
काष्ठकला/प्रस्तरकला र अर्को कुनै कला
हराएका अक्षर/खिइएका अङ्कहरू जोडजाड गर्छ
यो पावरलाल चस्मा पाटन पुग्छ मानिस भेटिँदैन
भक्तपुर पुग्छ र देख्छ काष्ठकला ज्यापू दाइको खर्पन देख्दैन
हेर्दैन जिउँदा मानिसहरूप्रति किमार्थ हेर्दैन
मध्यरात सपनामा भ्रमण गर्छ अजन्ता र एलोराका गुफा
बिहान हेर्छ ताजा अखबार र पढ्छ– सूर्यबहादुर प्रधानमन्त्री
संस्कृति स्तम्भमा हेरेको चस्मा गाडेर– देखियो फेरी पहिलेकै कुरा
‘चौबीस – पच्चीस सालको परेछ’ भनेर थन्क्याउँछ अखबार
पुराना अखबारको कन्तुरमा
स्वयम् यौटा विदीर्ण कन्तुर विद्वान काशीनाथ ।