Baidyanath Upadhyaya – Goreto Haruma Hidnu

बैद्यनाथ उपाध्याय – गोरेटोहरुमा हिंडनु

सजिलो हुँदैन
गोरेटोहरुमा हिंडिरहनु
जहाँ दुवैतिर काँडे झारहरु उम्रिएका हुन
र बेलुकीको समयले
दिनको उज्ज्यालोलाई क्रमश निल्दै गरेको होस
र त्यहीं हिंडनेलाई
आफ्नो गन्तव्यको पनि थाह नहोस…
तब यसरी हिंडदै जानु
बीहड जङ्गलमा, एकलै
कति यातनाहरु जन्माउँछ।
मेरा साथी!
म पनि यस्तै गोरेटोहरुमा
हिंडिंरहेछु साँझ-बिहान
काँडे झारहरुको चुम्बनले
हरपल रगताम्य छन पाइलाहरु
अनेक वेदनाहरुको चिच्याई
सुनेको नसुनै रहन्छ एकान्तका पलहरुमा।
बाटामा छोडिएका रक्तिम पदचिह्न
धुलाको तरपमुनि गुमनाम सुतेका छन।
थाह छैन अरु अगाडि
कति बाटो हिंडनु छ
गुज्रदैं इ गोरेटाहरुबाट
कति व्यथाहरु झेल्नु छ
म दिशाहीन र पथभ्रष्ट भएको छु
कहाँ कहाँ अरु कति ठोकर
खानु छ…
यस्तो स्थितिमा इच्छा-अनिच्छाको
के सवाल उठन सक्छ!
केवल हिंडदै जानुनै
आफ्नो नियति भएको छ
बिकल्पको कुरानै यहाँ
कहाँ?