Basanta Mohan Adhikari – Aja Pani Yo Sanjh Ma Maile Khana Khaina (Nepali Gajal)

बसन्त मोहन अधिकारी – आज पनि यो साँझमा मैले खाना खाइन

आज पनि यो साँझमा मैले खाना खाइन
चामल किन्न गाकी आमा अझै पनि आइन

चाडपर्व दशै तिहार गाउँघरमा आए
हाँसो खुसी उमंगको कहिल्यै गीत गाइन

कालीकोटको Continue reading “Basanta Mohan Adhikari – Aja Pani Yo Sanjh Ma Maile Khana Khaina (Nepali Gajal)”

Shyamal – Dilmaya

मेरो सपना खोसेर राखिएको छ
थिम्पूको अँध्यारो जेलमा
सर, म त्यसै फर्कनेछैनँ भुटान ।
म सम्झन्छु आफू रोएको बाल्यकाल
तर जति म रोएँ
मेरो सात क्लासको किताब
च्यातिएको दिन रोएँ
त्यही दिन म जति रोएँ रोइसकें
जुन दिा पसे पिाहीहरु हाम्रो घरमा
र उफ्रन थाले
मेरी आमाको शरीरमाथि
मसँग अब छैन रुनलाई आँसुको मुहान
सर, अब रुन आउँदैन
म बेस्सरी राइसकें ।
म हाँस्थें पनि कहिलेकाहीं
जब चुट्किला सुनाउँथे हाम्रा बाबा
एक दिन। कुनै एक दिन
मुसा फुत्केर भाग्यो बिरालोको पन्जाबाट
र दुलाको मुखैनेर रुँगेर बस्यो बिरालो !
म बेस्सरी हाँसेकी थिएँ ।
हँसाउन सिपालु थिए देवीलाल सर
त ती बाबा छन् न चुट्किला
न बिरालो छ न देवीलाला सर
हाँस्नुजति हाँसिसके म
अब हास्न आउदैन मलाई
सर मैले त हाँसो त साम्चीमै छाडिसकेँ
सर, यौटा केटो थियो उहीँ
लुकी—लुकी हेथ्र्यो मतिर
नहेरुँ भन्दाभन्दै आनायास
आँखा गइहाल्थे उसतिर
यसैलाई भनिन्छ भने प्रेम
प्रेम पनि छैन मसित
त्यसलाई पनि मारिसके शासकहरुले ।
कन्काईको बगरमा छु म
र सब थोक छाडेर आएकी छु यो ज्यानबाहेक
फेरि किन सोध्नुहुन्छ भुटान जनो—नजाने कुरा ?
मैले मेरो सपना फर्काउनु छ
मैले मेरो आँसु फर्काउनु छ
मैले मेरो हाँसो फर्काउनु छ
मैले मेरो प्रेम फर्काउनु छ
मैले मेरो किताब फर्काउनु छ
थुनेर राखिएको मेरो सर्वस्व फर्काउनु छ
सर, म त्यसै फर्किने छैन भुटान ।

Nawaraj Subba – Baa Ama Ko Sapana

धेरै भयो
गाउँघरका सपना
बन्धकी राखी
उत्साही युवाहरू
सिर्जनाका कलम तिखार्न
सहर पसेका,
खुशी र सुखका दिन लिएर
चाँडै फर्कने भन्दै
बाचा गरी
बाआमासित विदा भएका ।
बाआमा कुरिरहेछन्
खोला सुसाइरहेछ
गाउँ अनिदो छ
खेत बाँझै छ
अभाव र अनिकालले पिरोलिरहेछ
छाना छाउने बा बूढा भए
हिड्ने बाटो कालो झारले ढाक्यो
चिठी लेखिदिने सम्म छैनन् गाउँमा ।
कसैले भनिदिए हुन्थ्यो
कसैले फर्काईदिए हुन्थ्यो
ती छोराहरूलाई
तिम्रा बाचा पर्खने बाआमा
साहुका रिनमा डुबे भनेर
बन्धकी परेका सपना
लिलाम हुन लाग्यो भनेर ।

Deepak Jadit – Tauko

ईतिहासमा कुनैबेला
टाउको थिए तिनीहरु
भित्र खोपडीमा गिदी भरिएको
बाहिर घना केशले ढाकिएको
आँखाले हेर्न सक्ने
कानले सुन्न सक्ने
मुखले आवाज निकाल्न सक्ने
जिउंदो जाग्दो टाउको थिए
लाग्थ्यो कुनैदिन त
शरिर बन्नेछन तिनीहरु
हिंडाउनेछन समग्र युगलाई
एकै चालमा छरितोसंग
उचालेर सगरमाथा
देखाउनेछन संसारलाई
सुन्दर समुन्नत नेपाल ।
ईतिहासमा कुनैदिन
हेर्न सक्ने आँखाले
निदाएको बहाना गर्यो
सुन्न सक्ने कानले
बहिरो छु भन्यो
बोल्न सक्ने मुखले
आफ्नै गिदी चपाईदियो
छेक्न सकेनन घना केशहरुले
टाउको कुहिंदै गयो
टाउको सड्दै गयो
टाउको बचाउन तिनीहरुले
ऐँजेरुको सहारा लिए
टाउको सुक्दै गयो
ऐँजेरु झाँगिदै गयो
केशहरु झर्दै गए
टाउकोको अस्तित्व झनै
खतरामा पर्दै गयो
केश बचाउन तिनीहरुले
साबुन फेरी फेरी
टाउको धुन थाले
दुर्गन्ध हटाउन तिनीहरुले
सैम्फो दली दली
टाउको पखाल्न थाले
कालान्तरमा टाउको
खल्वाट प्राय भयो
आँखा छोप्यो ऐँजेरुले
कानहरुमा पिप भरिए ।
ईतिहासमा भर्खरै
आफैंले गिदी चपाएको
टाउकोको अस्तित्व रक्षा गर्न
पर्दा पछाडीबाट मुख बोल्यो
यो हतियार उठाउने बेला हो
बिस्थापित गरेर टाउकोलाई
झाँगिएको ऐँजेरु
हो हो गरेर हल्लियो
र गिदी चपाईएको टाउकोले
ठम्याएको समयमा
हतियार उठाउने हात
खोज्न थाले तिनीहरु
कहिल्यै पुर्ण बन्न नसकेको
आफ्नै शरिरमा ।

Prakar Antar – Reet

प्रकार अन्तर – रीत

एकजोर चरासँग
तिमीले जवानी साट्यौ
चरा भएर उड्ने बेला
बचेराहरुले केही छाडेर गए
तिम्रो काखमा ।
जब तिमी सुक्यौ
उनीहरु उड्ने बेला
तिम्रो पतझर हाँगामा
यौटा पुरानो गुँड थियो
ती तिम्रै छातीको प्वालमा बस्थे
त्यहाँ केही मसिना प्वाँखहरु थिए
ती उडे
केही न्याना यादहरु
तिमीलाई सुम्पेर ।
पानी पर्ने समय नजिकिदै थियो ।
कमिलाहरुले तिम्रो सुकेको जरा मुन्तिर
भव्य आवास तयार पार्दै थिए
तिम्रो टाउकोतिर माटो ओसार्दै थिए
एकदिन
यौटा घुमन्ते चरा त्यही आएर बस्यो
र मलाई छाडेर गयो
पानी पर्‍यो र मैले दुइ वटा पात फैलाएँ
हात झैँ आकाशतिर

अब तिमीले मेरा जरा थेग्न सक्दैनौ
त्यसैले तिमी फाटेकी छौ
तिम्रा हड्डीहरु मक्किदै गइहेछन्
र म फैलिरहेछु तिम्रा जरा-जरासम्म
तिमी माटो भइरहेछौ
अब कमिलाहरु मेरा पातहरु बुनेर
भव्य आवास बनाइरहेछन्
एकजोर ढुकुर भर्खरै आए मेरो शरणमा
मेरो घनिभूत सियाँलमा
यौटा भरियाले भर्खरै बिसायो आफ्नो भारी
एक हूल माहुरी मेरै हाँगा वरिपरि घुमिरहेछन्
रीत यही रहेछ
मैले जानेँ र तिमीलाई भूल्ने प्रयत्न गरेँ
त्यो चरा कहाँ होला ?
म सम्झिरहेछु ।

Bhupin Byakul – Gaun Ko Saano Bhai

भूपिन ब्याकुल – गाउँको सानो भाइ

गाउँको बात मार्दै हिंडीरहंदा
बाटोमै मसँग
कापी र कलम माग्यो सानो भाइले !

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै गाउँको कवितामात्र दिनसक्छु

कापी, कलम र पुस्तक दिने दायित्व
राज्यको हो, बिचरा उसलाई थाह छैन
र राज्य
कि त झगडा गरिरहेको छ
कि त मस्त निदाइरहेको छ !

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै गाउँको गीतमात्र दिनसक्छु !

सम्भवत: थमाउला एकदिन राज्यले
उसका हातमा कापी, कलम र पुस्तकहरु
जब उसका हातहरुमा
बुढ्यौलीक कम्पनहरुमात्र बाँकी रहनेछन्

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै देशको कथामात्र दिनसक्छु !

Ishwari Karki ‘Barsha’ – Nirwasit Chara

ईश्वरी कार्की ‘वर्षा’ – निर्वासित चरा
(मधुपर्क २०६६ असोज)

मुठीभरि आकाश साँचेर
औँलाभरिको जूनमा
सपनाको गुराँस फुलाउँछु ।
धानसँग उमि्रएका साबो
गहुँसँग झुलेका कालीपोकेझैँ
संविधानसभाको सपना
कतै मृगमरिचीका त बन्दैन ?
सिताङ्ग बनाउँछ मलाई
आजकाल यस्तै आशङ्काले
मन्दिरसामु याचनाका उछ्वासहरु
म भएर पोख्छ समय अचेल
म मुठीभरिको आकाश ओढ्न रमाउँछु
औँलाभरिको जूनसँग पैँठेजोरी खेल्न चाहन्छु
तर
कहिले पहाड बनेर
कहिले मधेस बनेर
समयले निर्ममघात प्रतिघात
गरिरहेछ ।

उसै त दुई ढुङ्गाबीच
चेप्टिएको म
भएको छु आज
निर्वासित चराझैँ ।।।।

Nirmal Tamang – Kisanko Dhaandma Desh Ko Naksa

निर्मल तामाङ – किसानको ढॉंड़मा देशको नक्सा

खालि आफ्नैमात्र विकास दर बढ़ाइरहन्छ
मेरो प्यारो देश
र सुनाउँछ मलाई
उसको विकासदरको प्रतिशत।

म भने चाहिँदो प्रतिशत पनि पाउन नसकेर
सधैँ विनाश भइरहेछु।
**
वित्तवर्षको
कुनै पनि तिमाही रिपोर्टमा
उसको विकास बढ्नुको गॉंठीकुरा
कहिल्यै भन्दैन मेरो देश।

गॉंठी कुरामा
ठूल्ठूला कम्पनीको नामभित्र
मेरो पसीनाको भारीनिवेशको कुरा स्वीकार गर्नु
लाज लाग्दो हो सायद उसलाई।

जय जवान,जय किसान
सपना हो कि विपना ठान्छ
अहिले मेरो देश
र व्यर्थै टाउको झट्‌कारेर
सम्झनु खाजेझैं गर्छ।

मेरो धानबारीमा
आफ्नो कारखाना उमार्न तयार
नामी उद्योगपति भने
थाहा भएरै पनि
देशको कानमा
सपना हो सपना- भनिरहेछ।

देशको सबैभन्दा ठूलो भ्रष्टचारको जॉंचमा
जेपीसी गठनको माग
सरकारद्वारा अस्वीकार-भनेपछि
अहिले म
छिट्टै सूर्यसुनामी आउने
विशेष समाचार हेर्दैछु
र सूर्यसुनामी चलेर
जम्मै सञ्चारमाध्यम ठप्प भएकै दिन
यो सरकारको हत्या गर्नुपर्ला भनेर
सोंच्दैछु।

खालि आफ्नैमात्र विकास दर बढ़ाइरहन्छ
मेरो प्यारो देश
र सुनाउँछ मलाई
उसको विकासदरको प्रतिशत।

म भने चाहिँदो प्रतिशत पनि पाउन नसकेर
सधैँ विनाश भइरहेछु।

Ashesh Malla – Mukti Ko Kalpana

अशेष मल्ल – मुक्तिको कल्पना
(नेपाल साप्ताहिक, अंक १३८)

चराका पखेटा काटिदिनुस
र, भन्नुस्
जा
उड् आकाशमा ।
र, भन्नुस्
तँ स्वतन्त्र छस्
बादलसँग
बादल भएर
उड्न आकाशमा

चराका प्वाँखहरू उखेलिदिनुहोस्
र,
भन्नुस्
तेरो छातीमा
कहिल्यै
हिर्काउने छैन धनुका बाँडहरू
र,
कहिल्यै
सिकार गर्ने छैन
एकान्तमा
चराका पखेटा काटिदिनुस्
र,
कल्पना गर्नुस्
मुक्त आकाशमा
आकाशिँदै उडेका
स्वतन्त्र उडानहरू
चराका प्वाँखहरू उखेलिदिनुस्
र,
गर्नुस् कल्पना
मुक्तिको ।

Sudha Bhattarai – Shaktihin Neta

सुधा भट्टराई – शक्तिहीन नेता
(मधुपर्क २०६६ चैत)

आजभोलि किन किन
जुन लागेको रातसँग पनि डर लाग्छ किनभने बत्ती नभएको बेलाभन्दा
बत्ती भएको बेला डरलाग्न थालेको छ ।
यी आँखाहरु अब त अँध्यारोमै
बानी परिसकेका Continue reading “Sudha Bhattarai – Shaktihin Neta”

Laxmi Prasad Devkota – Huri Ko Geet

क.

प्रलङ्कर शङ्कर–शिरको धूमिल जटाको उच्छाल,
प्रलयको छ पताका मेरो उडान, पागल उत्ताल,
मुस्कन्छु झलझल भीषण निजी शोभाले प्रसन्न नारी,
सगर सागर सोहोरी सन्कें, भँवरी परेर भारी
उग्रलाई अभिसारी,

ख.

गाउँदछु, पागल वेदना हाँसी, फोहोर हावाको बेताल !
विषमको खाडी जन्मस्थल मेरो, रोएर जन्मेथें हूँ, हूँ,
ध्वंसिनी दूत्तिका विधिको बनें, दर्दको आत्मा के कहूँ,
पखेरु नागलाई कोर्रा दी हाँक्नु विकास–आकाश–पथ,
क्रोधको दिव्य सुषमा मेरो, वेगको आत्मा नै रथ ।
रोएकी सृष्टिकी रु हूँ
नाश र निर्माण चक्रका मेरा बाफका उठ्दछन् धूलि,
नागिनी झिल्का झिल्केर ठुँग्छन् निशाका उरमा, दी शूली ।
चीत्कारी उठ्छ अँध्यारो बाक्लो, प्रलय चाख्दछ एकबार,
अन्त र आदि, शून्य र सृष्टि,
लुका र मारी खेल्दछन्, क्षण–क्षण झल्केर, निभेर संसार
नृसिंह–भ्रुकी खुम्चाझैं वाष्पिल गरादार घनकी घारी ।
जसको नाच तूफान वर्षा, त्यही हो मेरो खेलको बारी ।

ग.

शिखरसिंह गर्जन्छन् तोड्न अँधेरी युगका कारा
दिनको स्वर्णिम शहीदी च्यानमा वर्षन्छन् जल भै तारा
जराको वैरी, बढार्छु बैरी सडल दलको देश ।
सङ्क्रान्ति ज्वर हूँ प्रकृतिको जो बर्बर छु किटेर दाह्रा ।
कन्दरा–नूपुर वनकाली छमछम, भूर्भुवः स्व को ताली,
भँवरी धूलि मिल्केको सारी,
बहुलाही बनी गीत गाउँछु फाँडी सृष्टिको पाकेको बाली,
लङकामा नाचें, भारतमा नाचें, समर–प्राङ्गण मेरो ।
ध्वंसका सारा श्रृगाल गाउँछन् लप्काउँदा लागाको फेरो ।
म नीलकाली, रक्तिम जिह्वा, म चिरभोकी र प्यासी,
म चिरलाञ्छित मानवताको ज्वलनको तुमुल राशि,
भीषण सुन्दरी शिवका उरमा अधीर पद छन् चञ्चल ।
विधिको बाणको वेग छ, मेरो नृत्यमा पृथिवी ढलमल !
सागर–शेष–फणालाई ठाडो पारेर गाउँछु घोर
उत्ताल उराल, प्रलय–सुरले, असि ली बिजुली–डोर !

घ.

सत्यलाई गर्छु अभिषेक भूमा, स्वर्गका झारीका जले,
म नारसिंही शक्तिको माऊ युग–निशा हाँक्दछु बलले,
चण्डीझैं जन्जीर चट्याङ्ग भाँची फुहुन्छ सिंहको वाहन,
त्यो पशुराज जो मेरो कोपले कल्पेथ्यो दण्डको साधन ।
म उग्र शिव, म भीम सत्य, भयङ्कर सुन्दरकी देही
कान्तार–सङ्गीत, समर–मन्दिर शक्तिकी अधरकी फेन,
म वायुवादी, खलबल प्राणहरुको भँवरी केही,
कालको बाली–काटनी साकार, ऋतको अन्तको देन ।

ङ.

पल्लव–शिशुको केलिको आली ढुक्कुरको प्यारको न्यानु,
तूफानी छालले मुक्ताको शिल्प, पाठालाई आमाको न्यानु ।
स्वर्गको पटको पखाल्नी केवल, कोयली–वाणीको निर्बन्ध,
धोबिनी केवल धराको, कुसुम–उरको विन्दुको सुगन्ध !
सत्यका युगमा सपनेर सुत्छु, कलिमा बिउँझेर खेली ।
सिकाउँछु केवल चित्रान प्रभात उषालाई जो मेरी चेली ।
चिथरो मेरो पछयौरामा, सन्तुलित सुधांशु–ज्योति,
विषम दारी, बन्धन फारी
निदाउँछु नीरव कन्दराभित्र,
मुस्केर स्वप्न–संसारमा छामी सुनझुल्के प्रभातको नाडी !

Shyam Krishna Shrestha – Yas Pusta Ka Nawa Yuwak Prati

श्यामकृष्ण श्रेष्ठ – यस पुस्ताका नवयुवकप्रति

राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा हाम्रो भेष
राख्छौँ हामी सदा सुरक्षित हाम्रो माटो, हाम्रो देश ।

खुला सिमाना चोर, लुटेरा तस्करको निर्बाध प्रवेश
सुगम ठाउँको कुरा के र पुगिसके ती दर्ुगम गाउँ समेत
देख्दा यस्तो देशभरि नै उठ्दछ मनमा प्रश्न अनेक
प्रभुसत्ता सम्पन्न देश हो या पराइको प्रान्त विशेष ?

संकट घण्ट बज्यो, सुन्दैनौ – श्रवण शक्ति नै छैन कसो
स्वदेशप्रतिको माया ममता तिम्रो मुटुमा छैन कसो ?
मिचिसके कति खुला सीमाना नदी अनेकन शोषिसके
पछुुतो पर्ला भोलि आज नै युवकहरू हो ! हेर्छौ के ?

चार जात छत्तिस वर्णे सुन्दर यो फूलबारीमा
परचक्रीको चहलपहल यो मातृभूमिको छातीमा
युवापुत्र ! कति हेरिरहन्छौ आऊ न बाहिर आऊ छिटो
स्वाभिमानको शिर निहुर्राई बाँच्नुभन्दा मर्नु निको ।

तथाकथित यी भ्रष्ट राजनेताले देश डुबाइसके
हर्दाहर्दै मूल्यवान दशकाधिक वर्षगुजारीसके
जानाजानै र्सार्वभौम सत्ताको धज्जी उडाइसके
निरा व्यक्तिहरू स्वार्थपूर्तिमै परवशता स्वीकारिसके ।

यस्तो स्थितिमा राजनीतिको दलदलमा नफसेर तिमी
छाती फुकाई आऊ अगाडि युवकहरू ! चट्टान बनी
राष्ट्रघातीहरू जहाँ जहाँ छन् खोजी खोजी नाश गर
युवाशक्तिको सामु पराजित हुन्छ अवश्यै शत्रुगण ।

आजै अहिल्यै देशभरिका युवकहरू ! संगठित बन
राष्ट्रभक्तिको निम्ति अत्यन्तै गरिमामय दृष्टान्त बन
स्वदेशको अस्तित्व सुरक्षण गर्ने दृढ संकल्प गर
अतिक्रमित जे जति हुन् हाम्रो भू-सीमा विस्तार गर ।

राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा, हाम्रो भेष
राख्छौं हामी सदा सुरक्षित हाम्रो माटो हाम्रो देश ।

(साभार: जनमत कविता खण्ड १ २०६४)

Radha Baskota – Mahakavi Prati

राधा बाँस्कोटा – महाकविप्रति
(मधुपर्क २०६६ कात्तिक)

मनमा राखेँ तनमा राखेँ शिरमा सजाएँ
सुरमा तिम्रो मिलाई लय बाँसुरी बजाएँ ।
उघारेँ आँखा मिलाई भाखा पाखामा नचाएँ
मृगका पाठा मयूर बुट्टे तिमीमै सजाएँ ।।

जे लेख्छु ऐले अक्षर तिमी स्वरूप तिम्रै यो
टलक्क टल्की झलक्क झल्की मसामु उदायो ।
ममात्र होइन सबैमा देख्छु स्वरूप तिम्रै त्यो
पूजाका थाली अक्षताभित्र तिमी नै सजेको ।।

अँधेरी रात उघारी ढोका ढोकाकै छेउमा
आरती बल्यौ उजेलो पारी दिलले दिलमा ।
मानवताका गाएर गीत संसार घुमेछौ
स्वतन्त्रताका पखेटाभित्र प्रकृति चुमेछौ ।।

पातको प्रीति फुकाई फर्फर प्रेमको संसार
गाउँमा ल्यायौ, बस्तीमा ल्यायौ प्रेम भो संसार ।
ठालुसिङ काँपे आलुसिङ काँपे सामन्त काँपेछन्
निरङ्कुश बाँच्ने शासक तिम्रै सामुमा काँपे झन् ।।

चन्द्रमा छोई कसम खायौ चन्दकै सामुमा
झल्मल बत्ती चन्द्रको जस्तै बालेर धर्तीमा ।
पूजारी तिमी हे प्रजातन्त्री ! प्रजाकै तन्त्रमा
जिन्दगी सारा समर्पण गर्यौ मानव मन्त्रमा ।।

गरिब रोए हँसायौ हाँस्ने सामन्त रुवायौ
अन्यायी माथि बज्रझैँ बज्री न्यायलाई हँसायौ ।
पर्वाह केही गरेनौ आफ्नो आफूलाई रुवायौ
‘रोएर आफू हँसाउने संसार’ सन्देश सुनायौ ।।

नसके पनि उचाइँ चुम्न उडान तिम्रो त्यो
मनको मैलो पखाल्न हेर्छु उडान तिम्रो त्यो ।
असल तिम्रो सम्झेर मात्र रमाउँछ दिल यो
त्यो दिलभित्र यो दिल राखी अग्लन्छ माथि यो ।।

मनमा राखेँ तनमा राखेँ शिरमा सजाएँ
सुरमा तिम्रो मिलाई लय बाँसुरी बजाएँ ।
सबमा राखेँ सर्वाङ्ग तिम्रो दिलमा टसाएँ
उघाँर आँखा मिलाई भाखा गीतमा नचाएँ ।।

Namrata Guragain – Aama

प्रिय आमा
म कसरी फुकाउ मेरा खुशीहरु
म कता मात्र लुकाउ मेरा खुशीहरु
जताबाट हेरे पनि पुर्णता पाउँछु
सधै हासिरँहनु
स्बस्थ जीबनको सधैं गुणगान गाउछु।

मुर्तीकारले आफनो शीप खर्चेर बनाएको मुर्तीझैं
मेरा Continue reading “Namrata Guragain – Aama”

Kshetra Pratap Adhikari – Mero Maya Timro Maya

क्षेत्रप्रताप अधिकारी – मेरो माया/ तिम्रो माया

मेरो माया त्रिशूलीको पानी
गैरो भएछ
तिम्रो माया कृष्णभीरको माटो
पैरो गएछ ।

त्यो पानीमा डुबिरहेछु
त्यो माटोले पुरिरहेछु
त्यतै कतै मलेखुमा
तिम्रो बाटो कुरिरहेछु ।

तिम्रो माया नागबेली बाटो
गारो रहेछ
तिम्रो माया चप्लेटी ढुङ्गा
सारो रहेछ ।

त्यही बाटो गुडिरहेछु
त्यही ढुङ्गा चुमिरहेछु
त्यतै कतै त्रिशूलीको
भुमरीमा घुमिरहेछु ।

तिम्रो माया दामनको चिसो
हिउँ परेछ
तिम्रो माया सिमभञ्ज्याङ काटेर
कतै झरेछ ।

Komal Shrestha Malla – Ma Ke Lekhun

कोमल श्रेष्ठ मल्ल – म के लेखु ?

पहाड भत्कदैछ
पहिरै पहिरो छिचोलेर
उक्ळनै मुस्किल
तराई बिथोलीयर सल्कदैछ
हिड्नै मुस्किल
हिमालको रुप बदलीदैछ
कुरुप नाङ्गो अनुहार के गरि व्योहर्नू ?
धन्य प्रकृृती ! Continue reading “Komal Shrestha Malla – Ma Ke Lekhun”

Rama Timalsina Adhikari – Khai Ke Pariwartan Bhayo Ra Yahan

रमा तिमल्सिना अधिकारी – खै के परिवर्तन भयो र यहाँ ?

हिमाल उस्तै छ,
पहाड उस्तै छ,
तराई पनि त उस्तै छ,
खै के परिवर्तन भयो र यहाँ ?

म मान्छु चादिँको हिमाल सँगै
अब फोहोर पनि बस्छ रे,
हरिया पहाडका फरिया लुटिए,
पशुपंक्षीहरु तिउन बनाई भुटिए
चारकोषे झाडिहरु फाडिए
वनका धनी गाउँहरु नागिँए ।

हिजो जस्तै अन्याय छ आज पनि
हिजो जस्तै अत्याचार छ आज पनि
हिजो जस्तै सन्त्रास छ आज पनि
हिजो जस्तै पिल्सिएका मन छन् आज पनि
खै के परिवर्तन भयो र यहाँ ?

म मान्छु हिजो न्याय माग्नेहरु
आज अन्याय गर्न सफल भएका छन,
हिजोका रक्षकहरु आज भक्षक भएका छन्,
हिजो पानी पिलाउनेहरु आज विष पिलाउदैछन्,
हिजो निर्माण गर्न तम्सनेहरु आज भत्काउदैछन्,
हिजोको समाजसेवीहरु आज जनता चुस्दैछन्,
खै के परिवर्तन भयो र यहाँ ?

हिजोजस्तै साघँुरा बाटा छन्,
हिजो जस्तै निरस र विवस आखाँ छन्,
हिजो जस्तै लादिएको शासन छ,
हिजो जस्तै भाचिँएको आशन छ,
हिजो जस्तै कुर्शिको खेल छ,
हिजो जस्तै जनतामा पिडाको भेल छ ,
खै के परिवर्तन भयो र यहाँ ?

हामीले देख्यौ हिजो हामीलाई अप्ठ्यारोमा डो¥याउनेहरु
आज भिरबाट घचेट्न पनि सफल छन्
हिजो स्वतन्त्रताको नारा लगाउनेहरु
आज निरंकुश शासन गर्दैछन्,
हिजोका हाम्रा जननेताहरु
आज कुर्शिका नेता बनेका छन्,
हिजो हाम्रो पिडामा सान्त्वना दिनेहरु
आज हाम्रा घाउमा नुनचुक छर्दैछन्,
खै के परिवर्तन भयो र यहाँ ?

हिजो हामी जे खोजीरहेका थियौं
आजको खोजी त्यो भन्दा फरक छैन,
हिजो हामीले जे रोजेका थियौ,
आजको रोजाई पनि त फरक छैन,
मात्र यति परिवर्तन भयो
हिजो हामी सगँै केही खोज्नेहरुसँग
आज हामी केही माग्दैछौं
हिजो पाएका अधिकारहरुसमेत आजको शासनले लुटेर
हामी त झन टाढा टाढा भाग्दैछौं ।

नत हिजो भन्दा आज पृथ्वी फरक छ,
नत हिजो भन्दा आज चन्द्र फरह छ ,
नत हिजो भन्दा आज सुर्य फरक छ,
नत हिजो भन्दा आज शासन फरक छ,
नत हिजो भन्दा आज जनताको माग फरक छ,
मात्र शासम फेरिएका छन्,
खै के परिवर्तन भयो र यहाँ ?
खै के परिवर्तन भयो र यहाँ ?

हालः बोस्टन, अमेरिका

Rabindra Nath Thakur – Ananda Yagya [From Geetanjali]

संसारको आनन्द–उत्सवमा भाग लिनाको लागि मलाई निमन्त्रणा
आएको छ । यसले गर्दा मेरो मानव जीवन कृतज्ञ भएको छ ।
मेरो नयनले अब रुप–सुधा पान गर्दछन्, अनि मेरो कानले दिव्य स्वर
सुन्दछन् ।

यो समारोहमा मलाई बाँसुरी बजाउने काम तिमीले दिएको हो,
अब मेरो जीवनमा सबै हाँसो–रुदन गीतको स्वरमा झन्किरहेछन् ।

अब, अन्तिम त्यो वेला आइपुग्योः
तिम्रो उत्सवमा गएर तिम्रो जयध्वनि सुनूँ अनि तिम्रो चरणमा
मौन वन्दना चढाउँ !
संसारको आनन्द–उत्सवमा भाग लिनाको लागि मलाई तिम्रो
निमन्त्रणा आएको छ ।

Shreeshisha Rai – Pani Rapantaran

श्रीशीशा राई – पानी रूपान्तरण

बगिरहेछ
पानी बगिरहेछ

तर यो अब पानी मात्र रहनेछैन
यो दूध बन्छ अब

बुँद बन्छ अमृतको
त्यसो त यो चाहेमा

जाँड – तरल बनिदिन सक्छ
भाङ – रहलपहल बनिदिन सक्छ
नसा – Continue reading “Shreeshisha Rai – Pani Rapantaran”

Dinkar Nepal – Ma Feri Haaren

दिनकर नेपाल – म फेरी हारें

म फेरी हारें ।
पहिले ढुङ्गा-मूढा
अनि धनुषबाँण
बन्दुक बारुद तोप टैंक
र अणुबम
इतिहासदेखि इतिहाससम्म
एकपछि अर्को
विजय ध्वनि गाउँदै रहे।

प्रत्येक पटक
म हारी रहें।
मासुका Continue reading “Dinkar Nepal – Ma Feri Haaren”