Prakar Antar – Traas

प्रकार अन्तर – त्रास
(Sent to Sanjaal Corps via Email)

ब्रह्मलाई
शुन्य बाकसमा राखेर
म भुँडी मात्र लिएर
बाटोमा हिंड्छु

म स्वतन्त्रताको
सिमाभित्र छैन
म बाहिर छु
यहाँ,मान्छेहरु
अराजकतालाई नै
स्वतन्त्रताको सगरमाथा ठान्छन्

म दशगजाभित्र पनि छैन
त्यहाँ हुनू, नहुनु जस्तै हो
म एउटा सिमाभित्र अवश्य छु
यहाँ कुनै विधान छैन
वातावरणको
बन्दुकका सीमान्त आकाशबाट
छिनछिनमा
ताता ओला बर्षन्छन्
छिनमै परिवर्तन हुन्छ पर्दा
र जब,
उखरमाउलो घामले
टाउकाहरुमा टेकेर
उत्ताउलो नाँच देखाउँछ
म सबै बिर्सन्छु,
कहाँ छन् आफन्तहरु
यहाँ वरीपरी त्रास मात्र देखिन्छ ।

Prakar Antar – Kehi Bimba Ma Ratnapark

प्रकार अन्तर – केही विम्बमा रत्नपार्क
(Sent to Sanjaal Corps via Email)

एउटा मान्छे, रत्नपार्कतिर
छाता किन्छ-समय ओढ्छ ।
घडी किन्छ-समय हेर्छ ।
किताब किन्छ-समय पढ्छ ।
चस्मा किन्छ र देख्छ समय-
निलो,पहेंलो,कालो,रातो………

व्यस्त Continue reading “Prakar Antar – Kehi Bimba Ma Ratnapark”

Yogendra Raj Sharma – Shahar, Mrityu Ra Ma

योगेन्द्र राज शर्मा – शहर, मृत्‍यु र म

आज मृत्‍युलाई भेट्नु छ
यो बन्द कोठाभित्र जीवनका
दुर्गन्धित संवेगहरुसगँ
सतरंज खेलको घोडा हुन
सिक्दासिक्दै हारेको अनुभुती हुन्छ
उफ् यो मिनेटमिनेटमा कत्रो अन्त्य
पेट्रोल नहुँदो हो,
के ले पोल्दा हुन् हँ लास
शहरका मान्छेहरु ?

मलाई मध्यरात
मसानघाट हुँदै कोठामा पुग्न डर लाग्दैन
यहाँ बस्तीसँगै हुन्छन् घाटहरु
गाउँतिर त…ल खोलामा हुन्थे
यहाँ प्रत्येक मान्छे
आफुसगै मसान लिएर हिंड्छ
यता घाटहरु भुस्याहा कुकुर जस्तै भेटिन्छन्
यता मसानहरु मान्छेसँग डराउँछन्
जस्तो भुस्याहा कुकुरहरु मसँग डराउँछन्

घाटमा मृत्‍यु हुँदैन
त्यहाँ मृत्‍युको पनि मृत्‍यु हुन्छ
हस्पिटलहरुमा मृत्‍युको सुगन्ध हुन्छ
ईमर्जेन्सी वार्डहरुमा मृत्‍यु टड्कारो हुन्छ
मृत्‍यु वासिङ्टन डि. सि. भित्र हुन्छ
थाहा छैन, मृत्‍यु कहिले मेरो मित्र हुन्छ ।

सबैभन्दा पहिले
यो शहरको मृत्‍यु होस् न !
म सबैभन्दा पहिले गाउँ जान्थें
थाहा छ ?, मलाई किन गाउँ जान डर लाग्छ ।
मलाई मान्छेहरु एल्गी भन्छन् ।

Yogendra Raj Sharma – Kehi Bimba Ma Ratna Park

योगेन्द्र राज शर्मा – केही विम्बमा रत्नपार्क

एउटा मान्छे, रत्नपार्कतिर
छाता किन्छ-समय ओढ्छ ।
घडी किन्छ-समय हेर्छ ।
किताब किन्छ-समय पढ्छ ।
चस्मा किन्छ र देख्छ समय-
निलो,पहेंलो,कालो,रातो………

व्यस्त फुटपाथको
एउटा कुनामा,
अक्टोपस-ज्योतिषले हात हेर्यो,
अनिश्चित जीवनको
र बताइदियो-
भीरमा अझै रातो फरिया
अल्झिरहेको छ;
अझै धेरै बर्ष, त्यहीं अल्झनेछ;
घाम-पानीले नफाटुन्जेल,
पहिरोमा भिर नखसुन्जेल ।

बदाम-पानी बेच्ने
एउटी केटीलाई दिनभर
चपाइरहन्छन् केही आँखाहरुले ।
उ मेरी बहिनी हो ।
बाँच्नुको अनैतीक परिभाषामा,
उनिहरुले सोचेजस्तो,
आफ्नै मासु बेचेर
बाँचेकी छैन उ;
खहरे जीवन !

अल्ली पर
ओभर-हेड ब्रिजमा,
व्यापारी चिच्याइरहेछ-
अल -आएटम-पाँच, अल आएटम-पाँच ………
एकोहोरो
मिल कराए झैं ।

२०६७-०४-०१, रत्नपार्क, काठमाडौं

Prakar Antar – Reet

प्रकार अन्तर – रीत

एकजोर चरासँग
तिमीले जवानी साट्यौ
चरा भएर उड्ने बेला
बचेराहरुले केही छाडेर गए
तिम्रो काखमा ।
जब तिमी सुक्यौ
उनीहरु उड्ने बेला
तिम्रो पतझर हाँगामा
यौटा पुरानो गुँड थियो
ती तिम्रै छातीको प्वालमा बस्थे
त्यहाँ केही मसिना प्वाँखहरु थिए
ती उडे
केही न्याना यादहरु
तिमीलाई सुम्पेर ।
पानी पर्ने समय नजिकिदै थियो ।
कमिलाहरुले तिम्रो सुकेको जरा मुन्तिर
भव्य आवास तयार पार्दै थिए
तिम्रो टाउकोतिर माटो ओसार्दै थिए
एकदिन
यौटा घुमन्ते चरा त्यही आएर बस्यो
र मलाई छाडेर गयो
पानी पर्‍यो र मैले दुइ वटा पात फैलाएँ
हात झैँ आकाशतिर

अब तिमीले मेरा जरा थेग्न सक्दैनौ
त्यसैले तिमी फाटेकी छौ
तिम्रा हड्डीहरु मक्किदै गइहेछन्
र म फैलिरहेछु तिम्रा जरा-जरासम्म
तिमी माटो भइरहेछौ
अब कमिलाहरु मेरा पातहरु बुनेर
भव्य आवास बनाइरहेछन्
एकजोर ढुकुर भर्खरै आए मेरो शरणमा
मेरो घनिभूत सियाँलमा
यौटा भरियाले भर्खरै बिसायो आफ्नो भारी
एक हूल माहुरी मेरै हाँगा वरिपरि घुमिरहेछन्
रीत यही रहेछ
मैले जानेँ र तिमीलाई भूल्ने प्रयत्न गरेँ
त्यो चरा कहाँ होला ?
म सम्झिरहेछु ।

Yogendra Raj Sharma – Gothalo Drishti

योगेन्द्र राज शर्मा – गोठालो दृष्टि

यो समय
आहाल बसिरहेको भैँसीमाथि
बसिरहेछन् भ्यागुताहरु
र कुरिरहेछन् भैँसीको भव्य प्रस्थान ।

केही समयअघि
यही घोलमा
कुरिरहेका थिए आन्द्रो सुकेका जुकाहरु
भैँसीको Continue reading “Yogendra Raj Sharma – Gothalo Drishti”

Prakar Antar – Bisangat

प्रकार अन्तर – विसंगत
(Sent to Sanjaal Corps via Email)

विसंगत सपनाहरुको संभोग
म के संगत !
बोझिल पहाडको छाती
चरक्क चिरेर
निस्कन्छन् खोलाहरु
खोलाहरु सँगै
केही पिसाचहरु
केही रहस्यहरु
चुपचाप !
चुपचाप Continue reading “Prakar Antar – Bisangat”

Yogendra Raj Sharma – Agena Ko Chheu Bata

योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’ – अगेनाको छेउबाट

एउटा भेटमा
जब हामीले आगो फुक्यौं
ताप्यौं र निभायौं,
मैले उसलाई
संतोषको स्वरमा भने-
यो सुख मलाई
उद्विकासले दिएको होस्
वा प्रकृतिले
वा,भगवानले
तर धन्यवाद त म
तिमीलाई दिन चाहन्छु हृदयदेखी
सबैभन्दा ठुलो कुरा
तिमीले मलाई साथ दियौ ।
त्यसपछी दिनदिनैजसो हामीले
त्यही ठाउँमा आगो फुकिरहेछौं
र तापिरहेछौं ।

Prakar Antar – Bishwas

प्रकार अन्तर – विश्वास
(Sent to Sanjaal Corps via Email)

१.
मलाई
आस्थाका बिम्बहरु मन पर्छ
फूलका पत्र-पत्रहरु,
त्यहाँ अडिएका शितका थोपाहरु,
बिहान उदाउने घाम
र त्यही शितको ऐनामा
त्यसको प्रतिबिम्ब !

मलाई प्रतिबिम्बहरुमा विश्वास छ
केही बिम्बहरु भयानक हुन्छन्
के भयानक हुँदैमा
अबिश्वास गर्नू ?
मैले देख्छु-ती छन्
र अझै हुनेछन्
गोधुलिको रक्तमुछेल आकाश
प्रभातको रक्तमुछेल आकाश
एउटा घाम डुब्दैछ
एउटा घाम उठ्दैछ
म देख्छु-ती छन्
मनमा सजाउनू र नसजाउनू
अर्को कुरा
मलाई विश्वास छ तिनमा
र तिनका प्रतिच्छायाहरुमा

२.
यो ढुकढुकमा सत्य !,
म बाँच्दिन पाप बोकेर
यो रामयुगमा सत्य !
बोल्दिन घुस खाएर
मलाई यो समयको सख्त प्रतीक्षा छ
लौ लैजाउ घाटतिर,
मान्छे मरेको छ
र उसको लासबाट
साँझमा यौटा अजिगंर निस्कियो ।
कस्ले लैजान्छ र ! घाटमा,
मान्छे मरेको छ।

Yogendra Raj Sharma- Ghamdekhi Daraena Satya

योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’ – घामदेखी डराएन सत्य

चौतारीमा साईकल अड्याउँछ
र एकैछिन सियाँलले जिउ भिजाउँछ ।
जुवाडेहरुको छेउ बसेर
आखाँ तन्काई तन्काई सत्यले हेर्दैन;
खेल्नु त परै जाओस् ।
‘कुन रङ बोल्ने ?’
वास्तवमै सत्यले तासको रङ चिन्दैन,
सत्य बेकम्मा भएर बस्दैन ।
यत्ति थाहा छ;
परिश्रमको रङ रातो हुन्छ ।
पसिना रगत बग्छ ।
सत्य बोलिदिन्छ: कालो !
तासको खालमा हाँसो उठ्छ ।

बैशाखको उत्पात धूपमा
सत्य बरफ बेच्दै थियो र
हातदेखि मुखसम्म
पुल बनिरहेको थियो ।
‘ओए देशी!
ओए धोती! रोक्!!’
यस्तो बोलावट धेरै सुनिन्छ,
सुनिन्छ मात्रै;
उ नसुने झैं गर्छ ।
सत्यले कहिल्यै
घामबाट जोगिन खोजेन ।
उ का…लो हुँदै गयो;
केहिल्यै नमाझेर पनि
उसका दाँतहरु सेता हुँदै थिए ।
पान खाने आदत डाल्यो
र दाँत पहेला बनायो ।
इत्रिएका केटिहरु जिस्क्याउँछन्:
‘फेयर एन्ड ह्याण्डसम लगाउ’
उ मुसुक्क हाँस्छ र साईकल तान्छ ।
(कहिलेकाहीं उकालो/ओरालोमा
साईकलले उसलाई तान्न खोज्छ ।)
‘टुटे फुटे फलामके डन्डे
खाली सिसा, प्लाष्टिक,
बियरका बोत्तल
कापी, किताब,
ठण्डे बरफ,
खस्ताक्राडी मामफुली’
घरको यादमा
तिर्खा लागेको सम्झदैन ।
हरेक घरको पिंढीमा उ
आफ्नी बिबी देख्छ ;
हरेक बाटोमा माटो खेलाईरहेका
आफ्नै बालबच्चा देख्छ ।
अन्तिम प्रहर
यौटा चोकमा केटाकेटीहरु सगँ जिस्किन्छ
बिग्रेका बरफका टुक्राहरु बाँड्छ
र तिनका ओठहरुका कोमल फूलहरु हेर्छ
र पेटमा ताण्डव गरिरहेको भोकसगँ सम्झौता गर्छ ।
सत्यले केटाकेटी बिगार्यो रे
सत्यले केटाकेटी ठग्यो रे
सत्यले मोहनी लगायो रे
‘ओए धोती!,अबदेखी
यो गाउँमा आइस् भने गोदाई खान्छस्’
सत्यले सोच्छ-अब नून बेच्छु ।
रेडियोमा
आयोडिनको विज्ञापन सुनिन्छ ।
उजस्तै सत्यहरु
दिनभर रिक्सा चलाउँछन्;
दिनभर हलो जोत्छन् ।
अँध्यारोमा लुक्छन् असत्यहरु
साँच्चै,
सत्यहरु घामदेखि कहिल्यै डराएनन् ।

Yogendra Raj Sharma – Sarkar Chor

योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’ – सरकार चोर

मान्छे मान्छेसँग
र मान्छे बाटोसँग लाज मान्छ
र झ्यालमा पर्दा लगाउँछ ।
मान्छे मान्छेसँग
र मान्छे बाटोसँग डराउँछ
र ढोकामा चुक्कल लगाउँछ ।
हरेक मध्यमवर्गीय Continue reading “Yogendra Raj Sharma – Sarkar Chor”

Prakar Antar – Bhram

प्रकार अन्तर – भ्रम
(Sent to Sanjaal Corps via Email)

तिमी र म मिल्यौं भने
एउटा भ्रम अवश्य हुन्छ
तर त्यो,
आकाश र धरती मिलेजस्तो
अनन्त र अमर अवश्य हुँदैन
हामी क्षणिक छौं
जवानी मैं हो यस्तो भ्रम Continue reading “Prakar Antar – Bhram”

Yogendra Raj Sharma – Dui Tukra

योगेन्द्र राज शर्मा – दुई टुक्रा

दिनभर
रातभर
एकनास
… घुमिरहन्छ
लाग्छ,
आफ्नै पुच्छर टोक्ने
ध्याउन्नाले घुमिरहेको
कुकुर हो रिङरोड ।

एउटा चढ्छ
उत्रन्छ
अर्को चढ्छ
उत्रन्छ
फेरी अर्को चढ्छ
….
लाग्छ,
बाली Continue reading “Yogendra Raj Sharma – Dui Tukra”

Yogendra Raj Sharma – Nachineki Keti Ke Garne Hola (Nepali Gazal)

योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’ – गजल

नचिनेकी केटी के गर्ने होला ?
गर्छे मरिमेटी के गर्ने होला ?

देख्दा काली तर हिस्सी परेकी
आफुभन्दा जेठी के गर्ने होला ?

खोजेर बसें म एकान्त ठाउँ
आएर घचेटी के गर्ने होला ?

मायासगँ क्या! कुरा जम्दै थियो
देखेर लखेटी के गर्ने होला ?

म नै हुँ झैं उस्को यौटै सारंगी
जथाभावी रेटी के गर्ने होला ?

Yagyesh Dhwoj Karki – Ishwar Bhetiyema Awashya Sodhnechhu

यज्ञेशध्वज कार्की – ईश्वर भेटिएमा अवश्य सोध्नेछु

ईन्द्रको स्वर्णगद्दीमा सायद ईन्द्र आफै छन्
या ज्यूस छन् या जूपिटर?
मृत्यु पश्चातको यात्रामा,
वैतर्नि तर्नुपर्ने हो कि
सेन्ट पिटरसँग इन्टरभ्युमा जानु पर्ने हो?
स्वर्ग पुग्न के-के गर्नु पर्ने हो?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु।

भयाटिकन, मक्कामदिना, चारधाम
जेरुसुलम, लुम्बिनी, अमृतसर
मलाई कोही बताइदेऊ पृथ्वीमा ईश्वरको घर,
ईश्वर तिमी नै कहीं बोलाऊ
जहाँ म साक्षात तिम्रो दर्शन पाउँ,
अन्योलमा,
जाउँ पनि त म तीर्थ कहाँ जाउँ?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु!

जिससका बोलीमा बुद्ध

बुद्धका बोलीमा सरस्वती,
शिवका अलौकिक जटामा गंगासँग
नाइल र मिसिसिपी निर्झरी,
आखिर शरीर
दफ्नाएपनि जलाएपनि माटोमै मिल्छ,
आत्मा परमात्मामै,
तिम्रो परमात्मालाई जे नाम बोलाऊ!
सृष्टिको सुरुवात आदम थिए या मनु,
यो जीवनको सुरुवात त गर्भबाटै हुन्छ,
धर्मबाट त होइन,
नत्र धर्मैधर्मले हराबरा यस पृथ्वीमा
शान्ति को शोक किन मनाइन्छ?

पृथ्वीलाई धर्मकै रणभूमी किन बनाइन्छ?
जहाँ फादरका रोब, मौलानाका दाडी र पण्डितका धोति
प्रतिपक्षीका ध्वजा भएका छन्।

ईश्वर भेटिएमा अवश्य सोध्नेछु!

मानिसले खोजे ईश्वरलाई,
ढुंगा र पत्थरमा,
सुन र चाँदीमा,
पृथ्वीमा बस्न बनाइदिएको डेरामा;
मन्दिरमा खोजे, मस्जिदमा खोजे,
चर्चमा खोजे, गिर्जाघरमा खोजे
मानिसले सायद खोज्न बिर्सेकी आफ्नो मनमा?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु!

बाटो एक मार्गदर्शन अनेक!
इतिहास एक कहानी अनेक!
सृष्टि एक त सृष्टा कसरी अनेक?
विश्व एक त स्वर्ग कसरी अनेक?
सेन्ट होस् या ऋिषिमुनि
वेद-बाइबल लेख्ने हुन् या के के कुन्नि?
आस्था हृदयको कुनाकाप्चामा पाइन्छ
अक्षरका मन्त्र र बोलीको प्रवचनमा होइन,
त्यहि कुनामा सायद,
झूटा आश्वासनले बन्दी ईश्वर
मुक्तिको प्रतीक्षा गरिरहेछन्,

त्यसैले हे ईश्वर!

भेटभएमा म सोध्न चाहन्छु
धर्म धर्मात्मा ले बनाए कि परमात्माले?

Prakar Antar – Lek Besi Gardai Holi Meri Suwasini (Nepali Gajal)

प्रकार अन्तर – लेक-बेसी गर्दै होली, मेरी सुवासिनी (गजल)
(Sent to Sanjaal Corps via Email)

लेक-बेसी गर्दै होली, मेरी सुवासिनी
लडिन्छ कि डर्दै होली, मेरी सुवासिनी

म एक्लै परदेशमा, उ देशमा एक्लै
एक्लै जंघार तर्दै होली, मेरी सुवासिनी

रात लामो अन्धकारमा अल्झिरहँदा
आशैआशमा सर्दै होली, मेरी सुवासिनी

कोरी चित्र कल्पनाको खोला किनारमा
रंग अनेक भर्दै होली, मेरी सुवासिनी

टुटेपछी आशातार जीर्ण जिन्दगीका
निराशामा झर्दै होली, मेरी सुवासिनी

Yogendra Raj Sharma -Jeevan-mrityu

जीवन-मृत्‍यु  -योगेन्द्र राज शर्मा

जीवन
टेबुलमुनी पैसा लिन्छ
जीवन
टेबुलमाथी दस्तखत गर्छ ।

जीवन
हतार हतार बस चढ्छ
अर्को जीवन आउँछ
र घचेट्छ
बाहिर
जीवन  चिच्याइरहेको हुन्छ
कालिमाटी, कुलेश्वर, बल्खु, किर्तिपुर
बल्खु,  कुलेश्वर, त्रिपुरेश्वर, बसपार्क

त्यो आइमाईको
पेटभित्रको जीवन
बेलुनजस्तो फुलिरहेछ ।

मृत्‍यु निस्सासिन्छ
टाउको फनफनि घुमाउँछ
शास फेर्न खोज्छ
उसको जम्मै पेट
मुख हुँदै
बाहिर निस्कन्छ ।

Prakar Antar – Sarbochha Prem

प्रकार अन्तर – सर्वोच्च प्रेम
(Sent to Sanjaal Corps via Email)

तिमी सर्वोच्च छालको
शिखरमा छौ
र यो छाल अटल !
मेरै मुटुको सागरमा उठेको छ ।
नडराउ, यहाँ हिंस्रक सामिप्य छैन
र यो दुरताबाटै मैले
तिमीलाई प्रेम गरेको छु ।
सम्झ,
यहाँ शान्त,शालिन र शुभ्र सामिप्य छ ।
तिमी दुर छौ र नै यो संभव छ
नत्र यो मनको तलाउमा
गोहिहरु चल्बलाउन थाल्थे ।

प्रेम गहिरो छ
र मैले प्रेममा
कुनै नीच उचाइ
कल्पना गरेको छैन ।
त्यहाँ लडिन्छ कि !
भन्ने डर हुन्छ ।
बाहिर र भित्र यही फरक छ
भित्र, म लड्ने संभावना शुन्य छ ।
त्यहाँ तिमी सर्वोच्च छौ ।

म तिम्रो
आधार-शिविर !
विश्वास गर,
यहिबाट हेर्नेछु तिम्रो उचाइ !
यहाँ छु भन्ने संकेत-
म दुबै हात हावामा उचाल्छु ।
सक्छौ,
केही पहिरोहरुले पुर्ने प्रयास गर ।
सक्दैनौ, थोरै हिमपातले स्पर्श गर ।
र विश्वास गर,
तिम्रो पवित्रतालाई कुल्चने, म
आरोही होइन ।

२०६७-०४-०४, कीर्तिपुर, काठमाडौं

Prakar Antar – Pasina Utsav

प्रकार अन्तर –पसिना उत्सव

यौटा पहाड: म अझै अग्लिन्छु ।
यौटा म: म अझै उक्लिन्छु ।
अब आफै पन्छाउनु पर्छ काँडाहरु
डोकोभरी पहाड बोकेर
बिसाइदिन्छु पहाड चौतारीमा
उफ ! उ पनि ठाउँ ठाउँ भत्किएछ
छाड्दिनँ उक्लन ठाडो उकालो
साँझमा पनि
झ्याउँकिरीहरु बजाइरहेछन् नगरा
मेरो मुटु बाहेक
झ्याउँकिरीहरु बाहेक
निस्सिम निस्तब्धतामा
मैले पहाडमाथि पहाड बिसाएँ ।

सगरमाथा उक्लेर
चुचुरोमा
अर्को सगरमाथा राख्छु
र फेरी उक्लिन्छु
फेरी राख्छु
फेरी उक्लिन्छु……
………..
पसिनाहरु
मारियाना ट्रेन्चमा
उत्सव मनाऊँन् ।
मस्तिष्क तन्तुहरु
धारणा परिवर्तन गर ।

[Sent to Sanjaal Corps via Email]

Yogendra Raj Sharma – Timi Ghaam Nai Hau

योगेन्द्र राज शर्मा – तिमी घाम नै हौ

लाग्छ,
धेरै ताराहरु मिलेर
तिमी बनेकी हौ
तिम्रो अनुहारमा
म रातको आकाश देख्छु

लाग्छ,
तिमी घाम हौ
तिम्रो उज्यालोमा
मेरा आँखाहरु हुनुको अनुभूती गर्छन् ।

मेरो एक पाटो उज्यालो
र एक पाटो अँधेरो छ ।
मैले बाल दिईनँ भने
यि सब अनुभूतिको
अन्त्य हुन्छ ।

तिमी घाम नै हौ
जसको वरीपरी
म घुमिरहेछु ।

कास, तिमीले पनि यस्तै अनुभूती गरेको भए !!!

(Sent to Sanjaal Corps via Email)