Bhupin Byakul – Gaun Ko Saano Bhai

भूपिन ब्याकुल – गाउँको सानो भाइ

गाउँको बात मार्दै हिंडीरहंदा
बाटोमै मसँग
कापी र कलम माग्यो सानो भाइले !

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै गाउँको कवितामात्र दिनसक्छु

कापी, कलम र पुस्तक दिने दायित्व
राज्यको हो, बिचरा उसलाई थाह छैन
र राज्य
कि त झगडा गरिरहेको छ
कि त मस्त निदाइरहेको छ !

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै गाउँको गीतमात्र दिनसक्छु !

सम्भवत: थमाउला एकदिन राज्यले
उसका हातमा कापी, कलम र पुस्तकहरु
जब उसका हातहरुमा
बुढ्यौलीक कम्पनहरुमात्र बाँकी रहनेछन्

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै देशको कथामात्र दिनसक्छु !