Sulochana Manandhar Dhital – Raat

सुलोचना मानन्धर धिताल – रात

रात, सुनसान छ
रात अँध्यारो छ
रात अघोर निन्द्रामा छ
रातलाई बिउँझाउन
सियोको टुप्पो भएर
मेरो सानो मनले निउ खोज्दै छ ।
ऊ मलाई सुत्न दिन्न
सुनसानमा एकाधिकार जमाउँछ,
कोट्याइरहन्छ
घोचिरहन्छ
चुहिरहन्छ
चुहिरहन्छ
रात Continue reading “Sulochana Manandhar Dhital – Raat”

Chanki Shrestha – Aba Satya Lai Pani Sakshi Chahiyeko Chha

अब सत्यलाई पनि
सत्य सावित हुन साक्षी चाहिएको छ
घामलाई घाम हुन
जूनलाई जून हुन
आकाशलाई आकाश हुन साक्षी चाहिएको छ ।

यद्यपि दूर क्षितिजबाट ओर्लिएको घामको उज्यालोसँगै
जिन्दगीको शाश्वत सत्यको खोजीमा हिँडिरहेका छन् मानिसहरू
तर, सत्य र उज्यालोकै अस्तित्वमा प्रश्न पनि उठाइरहेका छन् ।

अब कविताले मात्र
कविलाई कवि सावित गर्न सक्दैन
अब कविलाई कवि हुन
गायकलाई गायक हुन
र, मान्छेलाई मान्छे हुन पनि साक्षी नै चाहिएको छ ।

यद्यपि साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको परिभाषा
साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको रङ
साक्षीकै कारण धेरैपल्ट बन्दी भएको छ सत्य
अब सत्य नै साक्षीको खल्तीको रूमाल भएको छ ।

Bikram Subba – Baishakh 1, 2062

बन्दुक पाल्नेका खतरनाक नियत जस्तै
मुलुकमा भर्खरै
चैत मसान्तको अन्तिम प्रहर ढल्यो
भद्दा बुटले चुरा-पोतेको अचार पिस्ने वर्ष ढल्यो
टुहुराका खौरिएका कपालहरूबाट चिप्लेर ढल्यो
एक उजण्ड वर्ष मानिसका रगत-मासुले अजिर्ण ढल्यो
मानिसको गिदी र आँसु मुछेर काट्टो खाँदै ढल्यो
तर ठीक यसै बखत,
एउटा नयाँ वैशाख सहस्र अग्नी पिण्डको
प्रकाण्ड अनुहार लिएर जुलुसमा सामेल भएको देख्दा
दरबारका गमलामा हाँस्दा-हाँस्दै फूलहरू पनि झसङ्ग भए‍
नयाँ वैशाखसँगै सडकको छातीमा के के चल्ने हो अब
नयाँ वर्ष नढल्दै क-कसको शासन ढल्ने हो अब ।

यसपालीको निरंकुश चैत मर्नै लाग्दा
टोल-टोल र गाउँ-गाउँबाट मानिसका खहरेहरू
जुलुसको सागरमा मिस्सिए
घम्साघम्सी हानाहान र ठोकाठोकको हुलदङ्गामा
बुट-लट्ठी र गोदाई खाँदै
सडकमा बेवस्त्र चैत महिना म-यो
यता घरघरमा रोगी आमाहरूले
ओछ्‍यानमै थप एक वर्षको चाउरी गालामा टाँगे
ठीक यसै बखत, घामको प्रतिनिधी भएर
तेजस्वी वैशाख आन्दोलनमा सामेल भएको छ
जुलुसमा हिँडदाहिँडदै अनगिन्ति युवा-युवतीहरूको
उमेरमा अग्राठ पसेर सशक्त रुपमा उत्रेकोछ
नयाँ वैशाखसँगै सडकको छातीमा के के चल्ने हो अब
नयाँ वर्ष नढल्दै क-कसको शासन ढल्ने हो अब ।

Dr. Bhola Rijal – Chulesi Le Rete Hunchha

डा. भोला रिजाल – चुलेसीले रेटे हुन्छ

चुलेसीले रेटे हुन्छ खुकुरीले काटे हुन्छ
म त भएँ अचानो जेले जेले हाने हुन्छ

मैले मात्रै रुनु पर्ने कर्मै हो कि यस्तो
किन भयो जिन्दगानी आज बगर जस्तो
सक्छौ भने भाग्य पनि त्यतै ताने हुन्छ
म त भएँ अचानो जेले जेले हाने हुन्छ

माया पनि बदनाम हुने जाली काम गर्यौ
झुक्याएर मनको खेतमा तिम्ले आगो छर्यौ
मुखले किन ठिक्क पार्ने पराई ठाने हुन्छ
म त भएँ अचानो जेले जेले हाने हुन्छ

शब्द – डा भोला रिजाल
स्वर – रामकृष्ण ढकाल
संगीत – उदय सोताङ
एल्बम – आगमन

Rabindra Nath Thakur – Naya Taar [From Geetanjali]

सितारका पुराना तारहरु सबै एउटा–एउटा गर्दै खोल, त्यसमा नयाँ
तार जोड ।
दिउँसोको मेला अब शेष भयो, रातको आसन शुरु भयो,
पुरानो स्वरलाई राख्ने कोशिश नगर, त्यसको दिन अब बितिसक्यो !
अब सितारमा नयाँ तार लगाउ !
आकाशको विशाल तिमिर पस्न दिन आङ्खना ढोका खोलिराख !
सात लोकका निस्तब्धता उसँग आङ्खनो घरमा आउन देऊ !
आजसम्म तिमीले जुन गीत गाएका थियौ आज त्यसको अवशेष
भयो,
यमि वाद्य तिम्रा वाद्य हुन्, यो कुरो भुलिदेऊ ।
आङ्खनो सितारमा नयाँ तार लगाऊ !

Ananda Prasad Sharma – Kisan

आनन्दप्रसाद शर्मा – किसान

किसान आफू पसिना बगाई ।
कमाउँछु जीवन धान्नलाई ॥
जमाऊनु छैन केही कमाई ।
रमाउंछु तापनि रम्नचांही ॥
रविसगै पुग्दछु खेतमाहा ।
शशीसगै फिर्दछु गेहमाहा ॥
जाडो र गर्मी यी झरी बतास ।
सन्ताप मन्मा रती हुन्न खास ॥
मेरो अरु छैन केही कमाई ।
आफ्नै पसिना श्रम यो बगाई ॥
यी खेतबारी हरिया बनाई ।
उब्जाउछु एक मानु मलाई ॥
चाहन्न ऐश्वर्य सुखभोग गर्न ।
पाए खुशी छु मुखहात जोड्न ॥
ईश्वर तिम्रो करुणा पलावस् ।
सुख्खा नलागोस् असिना नआओस् ॥
म किमकर्तब्यबिमूढ हुन्न ।
अल्छ्याईको चिन्ह ममा हुदैन ॥
बासी ढुसी भोजन हुन्न मेरो ।
छ मुख फुस्रो भरिलो कलेजो ॥

Manoj Kafle (Mansoon) – Subhakamana

(कुवैत बाट प्रकाशित हुनलागेको पहिलो नेपाली पत्रिका मरुभूमिको कोशेलीलाइ सुभकामना !!)

दुइ आत्माको प्रित बनोस मरुभूमिको कोशेली
मरुभूमिमा शीत बनोस मरुभूमिको कोशेली

अविरल भरी रहुन साहित्यका पन्ना तिम्रा
परदेशीको गीत बनोस मरुभूमिको कोशेली

छर्न सकोस खुसी यहाँ हाँस्न सकुन रुनेहरू
संकटमा जीत बनोस मरुभूमिको कोशेली

वर्षौदेखि गुम्सिएका पिंडाहरु परदेशीका
मनमुटुको मीत बनोस मरुभूमिको कोशेली

परदेशीका हालहरु बेदनाका छालहरू
पन्छाएर जीत बनोस मरुभूमिको कोशेली

Manoj Kafle (Mansoon) – Ekanta Ma Eklai

एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

कर्म घर भो सेरोफेरो परदेशीका बाटाहरु
सफलताको आशैमात्र धेरै मलाइ हानि परयो

सैशबमै जीवन ढल्यो नसा पिए सरी लड्यो
येस्तै हुने थाहा थियो रुनु जानाजानी परयो

फेरी फर्की हेरेउ तिमीले ढकमक्क जोबन मेरो
नहेर भो छाती चिरी दुख्ख को यो खानि परयो

एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

मनसुन

Ishwar Ballav – Swapna Haru

ईश्वर बल्लभ – स्वप्नहरू

त्यसो त एउटा स्वप्नजस्तो
रङ्गी-विरङ्गी
अनेकौं विम्बहरू
कति परीहरू उड्छन्,

पुतली र चराहरू
माथि, कहिले आकाशको नीलोमा
र गहिरोमा समावेश हुन्छन्
फेरि विस्तारै-विस्तारै फूल बन्दै
विस्तारै-विस्तारै झिनो पर्दा बन्दै,
पारदर्शी समायोजनको उत्सव
ओर्लिन्छन्,
उक्लिन्छन् ।
पर कतै पर्वतको फेदीमा,
जवाकुसुमको वासना
अरून्धतीको दुःख र पीडाको
उत्सव,
दुःखको वासना कि
पीडाको वासना,
र्स्पर्शको मोहसित विस्तारै, अल्झिन्छन्
त्यसो त
स्वप्नमा
बिहान हुन्छ,
साँझ पर्छ
रात पर्छ
क्षितिज र आकाशका गुम्बजले
वास बस्छन्
ती बिहान र साँझसित स्वप्नमा
ती दिन र रातसित स्वप्नमा
सूर्य उदाउँछ,
सूर्य थाक्छ र
फेरि अस्ताउँछ पनि,
यात्रा सतत् र चिन्ता भइरहन्छ
उसले उदाउने र उसले अस्ताउने
उदयाचल छुने,
अस्ताचल छुने क्रम निरन्तर
भइरहन्छ
पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम,
आफूलाई ऐनामा हेर्ने र
माया गर्ने क्रम,
सधैँ भइरहन्छ
तलसम्म लत्रेर झरेको,
भुइँ नै छुन खोजेको,
उज्यालोको मजेत्रो हो कि,
अथवा अहिल्याको दुःख, अँध्यारो
प्रस्तर नै हुन परेको
अवसादले ढुङ्गा बनेको,
श्रापको मिथक र कथाले
निस्तार खोजिरहेको
त्यसो त,
एउटा असत्य जस्तो भ्रान्ति र
भ्रमहरू
अझै कति कठिन र क्रूर स्वप्नहरू ।

Bimal Giri – Finjayou Jaal

बिमल गिरी – फिंजायौ जाल

फिजायौ जाल चारैतिर उत्रदै र बग्दै झर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा

चालिरहे पाइला एक्लै पीडा बोकी मौन रुँदै
जीवनभरि तनाब दियौ गाठो पर्छ मन सधैं
सहे कैयौं बाणहरू झुक्किएर विश्वास गर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलीले गर्दा

दोषी सम्झी आँशु दियौ पोलिर’ने बिष हो कि
बाचिरहेछु अपमानको कालो बादल भित्र रोकी
टुसाएन खुशीहरु आफन्तको भरमा पर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलीले गर्दा

चारपाने झापा
१०-०३-२०१०

Rabindra Mishra – Mero Desh

रबिन्द्र मिश्र – मेरो देश

गोलीहरू हावामा उड्छन्
बाटा-बाटामा गोलाहरू गुड्छन्
मानिसहरू एकअर्कासँग मुस्कुराउँदैनन्
एउटा अनौठो मौनता छाएको छ हाम्रा पहाडहरूमा ।

तपाईं घुमाउरा बाटामा
पीडा पखाल्दै हिँड्ने एक्ला भरिया देख्नुहुन्न
भीरपाखामा चिन्तामुक्त बतासिने बैँसहरू देख्नुहुन्न
विश्वास नै आतङ्कमा परिणत हुनसक्छ
सुरक्षाका लागि शङ्का गर्नुपर्छ

रङहरू बदलिएका छन्
ती नीलाबाट राता भए
राताबाट, सब सेता भए
पीर, पीडा र रङ गुमाएका विधवाहरूबाहेक केही देखिँदैन
अनौठो मौनता छाएको छ हाम्रा पहाडहरूमा ।

अनि मेरा मित्रहरू भन्छन्
तिमी नर्फक, कुनै हालतमा नर्फक
देश युद्धमा छ ।

सायद ती बुझ्दैनन्
यदि मेरो टाउको हरेक दिन चुनावी मुद्दा बन्छ भने
यदि सीमाहरू मलाई नै बाँध्न कसिन्छन् भने
र, म सदाका लागि अ-आमन्त्रित पाहुना बन्छु भने ।

मेरा मित्र
तिमीले बुझ्नुपर्छ
तिमी, तिम्रो देशमा, सिर्फ एकपल्ट मर्छौ
तर, म पराया माटोमा हरेक दिन मरिरहेको हुन्छु ।

Yuddha Prasad Mishra – Baanar (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – बानर (नेपाली बाल कविता)

चोर्ने चिन्तन गर्दछ खाली
मानिसहरूका हरिया बाली
फेरि कसैको पनि फुल-बारी
देख्नै नसकी दिन्छ उजारी

अग्लो रुखमा उसको डेरा
मान्दछ मीठो अम्बा, केरा
निर्धा आए जाई लाग्छ
बलिया आए परपर भाग्छ

फलफूल ल्याई मानिसहरू तर
हनुमान भनी गर्छन् आदर
केवल पशु पो हो त्यो बानर
काला अक्षर भैंसी बराबर

बालकहरू हो, होश समाल
मनमन्दिरमा बत्ती बाल
तिमीहरू मानिस बन्नु छ जाग
बानर बुद्धितर्फ नलाग

२०४० पुष १५
(बालकोसेली वर्ष १, अंक ४)

Ram Prasad Prasain – Samayaka Lalupaate Ma Itihaaska Gabharaharu

रामप्रसाद प्रसाईं – समयका लालुपातेमा इतिहासका गभाराहरू

विगतबाट आगतसम्मका
इतिहासका स्मारकमा
न/अटेका पटाङ्गिनीका धमनीहरूबाट
सादृष्य, अदृष्य अनि नेपथ्यमा
लमक् लमक् लम्किरहेका
युगका पद-छापहरू
समयको पाउदानीमा
रोपिरहन्छन्—
बीजहरू

निरन्तरताका साँझहरू
त्रिशुलीसँगै शुली चढेपछि
बग्दा बग्दा—
ओरालीहरू
हेर्दा हेर्दै—
सुन्दर फाँटहरू
चढ्छन्, समय समाधिको टापूमा
अनि जन्मन्छ
एक अकाट्य यथार्थ
मध्यान्तरको समाप्तिसँगै
मज्जा नि बेग्लै—
उकालो बग्नुको
गौरवै बेग्लै—
ओरालो चढ्नुको

सय प्रयास बाबजूद
ईनारको डिल उक्लन नसक्ता
सम्झन्छ मान्छे
ईनार सिँगो एक ब्रह्माण्ड
अनि
बालुवामा ‘सहारा’ र ‘सवाना’हरूको चास लाउन

सिइयाहरूको ‘सोच’, ‘खोज’ र ‘थाहा’ देख्न
अनि भेट्न आशक्त र बिवश हुटिट्याउँहरू

जन्मन खोज्दा खोज्दै—
जन्मन नसकेर
जन्मनु भन्दा पहिल्यै
सदा सदाका लागि
अमरत्वका फाँटबारीमा
गैँती,कोदाला र झम्पलहरू बजारिरहेका
हुलका हुल मान्छेहरू अभ्यस्त हुनुले
छन् ब्यस्त केही मान्छेहरू
समयको कङ्कालमा नरसिँङ फुक्न

बाँच्दा बाँच्दा ‘बाँच्नु’ भन्दा ‘बहुलाउन’ निको हुनुले
‘बाँची बाँची’ बहुलाउनु भन्दा ‘बहुलाइ बहुलाइ’ जिउँदो हुनु मर्दना हुनुले
सोच्दा सोच्दा ढुँगो हुनु भन्दा, ढुँगिदा ढुँगिदा बेर्ना फस्टाउनुले
नाच्छन् मान्छेहरू, विसङ्गत भूलभूलैयाहरूको चक्रीय पथमा

रङ्गैरङ्गहरूको समायोजनमा अर्थहरू गुजुल्टिनुले
ढुन्मुनिन्छन्, ‘महाबर्णनहरू’ अनि सल्बलाउँछन् वीरगाथाहरू’
र त हाहाकार गर्छन् सभ्यताका ‘क्रेनियम’हरूमाथि
झण्डोत्तलनमा लटक् लटक् लट्केका—टुप्पीहरू

भाग्दा भाग्दै सँगतिहरूसँग, विसँगति हात लाग्नुले
मीठा मीठा सपना त हुन नि, यथार्थहरू तीता हुनुले
पर्खँदा पर्खँदा चौतारी र देउराली पाखाहरूमा, मनहरू रित्ता हुनुले
सधिन्छन्, सुध्रिन्छन् अनि तिल्मिलाउँछन्
चेतनाका वञ्चनाहरू फर्सीका जराहरूमा फुल्नुले

सभ्यता र सौम्यताका बस्तीहरूबाट उठेर
इतिहाँसका गर्भतिरको चिन्तनयुक्त यात्रा गर्दा
………………….
मान्छेका मनहरू
…………………….
स्वतन्त्र चिन्तनहरू
……………………
स्वाधीनताका दाम्लाहरू

अनि
………………………..
स्वच्छन्दताका नाम्लाहरू

बिस्तारै बिस्तारै
चक्करै चक्कर घुम्दै फिर्दै
भासिन्छन् बर्बरताका दलदलहरूमा
जहाँ ‘हार्लेम’का दमित आवाजहरू
तोड्दाछन् समयबिहीनताका तगाराहरू
‘बुर्नो’ र ‘फिसिनो’का दुखान्त पीडाका घैलाहरू भरिभरि
बाँचिरहन्छन् विद्धत् दीर्घायूका जमराहरू
अनन्त यौवनका जीवनहरू
आफल-ताफल जवानीका यौवनहरू
समय गर्तका मुहानबाट मौलाएका
चेतनाका गर्भे टुहुरा पिपिराहरू
बगिरहन्छन्
………..
निरन्तर
……………
अधीर विचारहरू झैँ

मानसरोवर र फालोटले ओढाएका
तम्बूमुनिबाट धुवाँउदा नधुवाँउदै
चुल्हाहरू चिसा हुँदा
चित्राले छाएका निर्दोष मनहरू
चिल्साले चिलेका आशिर्वादले
अभिषेक गरिइएका/गराइएका अभिशप्त सग्ला अक्षताहरू

‘सलीम विच्हन्ट’का घुम्ती अदालतमा
चुलिइरहेका नारी क्रन्दनहरू
…………………….
यी त विद्रोहका राँकाहरू
स्वाभिमानका शिरमा बाँधिइएका शव दहनका रङ्गैरङ्गका तोरणहरू
अनि युगबोध, युगीनता र ‘बर्ग-वर्ण-विन्यास’का खुल्ला सँवादमाथि सल्काइँदै गरेका
सापेक्षिक विकासका उम्दा हात
र उठ्दा मुड्कीहरू
अनि बुलन्दी फुल्दै गरेका पैँयू र लालुपातेहरू

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग; हाल: अबुधाबी

Rabindra Nath Thakur – Natamastak [From Geetanjali]

नतमस्तक
ईश्वर ! जहाँ सबैभन्दा अधम, दीनभन्दा दीन मानिसहरु बस्छन्,
त्यहाँ सबैका पछाडि अनि सबैका तिरस्कृत मानिसहरुका
माझमा तिम्रो चरण छ ।
जब म तिमीलाई नमस्कार गर्दछु, त्यस वेला मेरो नरम शिर
निकै टाढा पुगिसक्छ तर तिम्रो चरण–पिठ्यूसम्म पति पुग्दैन ।
किनमि, तिम्रो चरण सबैभन्दा साधारण अनि दिनजनका माझमा छ ।
मेरो शिर निहुरिएर पनि तिम्रो चरणसम्म पुग्न सक्दैन !
जहाँ तिमी दीनजनका दरिद्र वेशमा सर्व–दलित, सर्व–तिरस्कृत, अति
दीन जनका माझमा संचार गर्छौ, त्यहाँ मेरो अहंकार पुग्दैन ।
धन–मान सम्पन्नका माझमा म तिमीलाई पाउने आशा गर्दछु, तर
तिम्रो साहचर्य उसँग छ जोसँग अरु सहचर छैन !
ती सर्वदलित, तिरस्कृत र दीनभन्दा दीन जनका छेउ मेरो ह्दय
पुग्न सक्दैन !

Pushpa Raj Khatiwada Jigyasu – Bainsh Chha Ra Po Thuli Hunchhyau Timi (Nepali Gajal)

पुष्पराज खतिवडा ‘जिज्ञाशु’ – वैंश छ र पो ठुली हुन्छ्यौ तिमी (गजल)

वैंश छ र पो ठुली हुन्छ्यौ तिमी
छुस्स छोए बिटुली हुन्छौ तिमी

सबैलाइ धान्ने यौवनको लौरी
पिट्ट भाँचिए लुली हुन्छौ तिमी

सबैले गरे आफ्नो आफ्नो सुर
अरु छैनन् र पो मूली हुन्छौ तिमी

हेरिन्छ र पो उदाउंछौ तिमी
हेर्न छाडे गोधुली हुन्छौ तिमी

किन पर्यो र वैंश रुवाउन
लगे पो त बेहुली हुन्छौ तिमी

Jayant Sharma – Aaundaichhan Hisaab Maagna

जयन्त शर्मा – आउँदैछन् हिसाब माग्न
(मधुपर्क असार २०६७ अंकमा प्रकाशित)

तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिडोसँग
विश्वासघातको अचार नमज्जाले मिसायौ है?
तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै
उही Continue reading “Jayant Sharma – Aaundaichhan Hisaab Maagna”

Bibash Bipra – Ganit Man Ani Tathya

बिबश बिप्र – गणित, मन अनि तथ्य

संघर्षको लालकिल्ला भत्किएर
छरिएका
बन्दुकका नाल र कुन्दाहरु
स्यालको भाका कुर्लिएर
अन्धकारको खेति गर्छन l
**
”मानिसका आँखाहरु बल्न सक्दैनन्”
एक स्वयंसिद्ध तथ्य

हराएको सपनाको खोजीमा
एक बिपना-
खुकुरीको दापभित्र लुकेको
उस्तै एक सपनाको स्मरण गर्छ
**
”स्मरण मिठो हुन्छ”
स्वयं एक तथ्य l

गर्नेछ-
एउटा रहरले पनि त्यस्तै परिक्षण
के थाहा ??
खराब परिक्षणको असल नतिजा पो आउछ कि !?
वा-
”भाइस भर्सा”
**
भन्नुस-
एक पूर्ण भबिष्य

प्रसङ्गबस-
असान्दर्भिक सन्दर्भहरु-
”असमय र उसैको क्रियाशीलताको हकमा”
**
जस्तो
मान्छेको शत्रु मान्छे

मान्छे मित्र मान्छेको
फेरी
कागको एक सन्तान
कि
कोइलीको एक अण्डा
अझै
माछा माछाको आहारा
वा
गोहीको रुन्चे अनुहार l

अनायासै-
जन्म यस्तै हुन्छ भन्छु म
कसैलाई प्रश्न पनि गर्दिन l
**
कारण-
सबको एक उत्तर -निर्बिकल्प-
जो-प्रकृतिको नियम …..

– आबुधाबी

Dipendra KC – Euta Rahar Chha

दीपेन्द्र के.सी. – एउटा रहर छ

धेरै रहर त्यागिसकियो
त्याग्न नसकेको
एउटा रहर छ ।

दशगजामा-
उताबाट यतातिर सारिएको
जँगे पिलर
सुगौली सन्धिकै पालाको
दक्षिण डोवमा
सार्ने रहर छ,
त्यति गर्दा बरु
दक्षिणबाट आएको
तातो गोली खाएर
मर्ने रहर छ ।।

धेरै रहरहरु त्यागिसकियो

सीमाका
चेलीवेटी र पोकापन्तुरामाथी लाग्ने
गिद्धे आँखाहरु निकाल्ने
साँस्कृतिक रहर छ,
जवर्जस्ती
यता फर्काइएका बाँधहरु फोडेर छ्यालव्याल
दुष्टहरुका वस्ती
बढार्ने रहर छ,
त्यति गर्दा बरु
त्यही भेलमा मिसिएर
हराउने रहर छ ।।

धेरै रहरहरु त्यागिसकियो

षडयन्त्र र कमजोरीमा
खेलिएका सन्धिहरु
खारेज गर्ने रहर छ,
२१ औं शताव्दीको नयाँ सन्धि
दिल्लीमा होइन
काठमाडौंमा वसी
गर्ने रहर छ
त्यति गर्दा बरु
मुक्ति युद्धमा
शहीद हुने रहर छ ।।

धेरै रहर त्यागिसकियो

त्याग्न नसकेको
अर्को एउटा रहर छ
पूर्व, पश्चिम, उत्तर, दक्षिण
जताततै
बराबरी हुने रहर छ .

खै किन हो
यी रहर त
जसरी पनि
पुरा गर्ने रहर छ ।

बागलुङ, हाल ः ओस्टण्डे बेल्जियम ।

Kumar Simkhada – Tan Ke Gardai Chhas Yahan

कुमार सिंखडा – तँ के गर्दैछस् यहाँ?

उशाका शीतका लहरले रातका चारै प्रहरले
आफैंलाई सोध्छन् सधैं आफ्नै हजार रहरले
तँ के गर्दैछस् यहाँ?

यो वर्षात पनि छ बढो पक्षपाती
भिजाउँछ यो ज्यान सुख्खै छोड्छ छाती
हरपल उर्लिएर आँधी दिन्छ चुनौती
उसै त टुक्रा मन खडा छ करौंती
अनकन्टार एक्लो रातिले निर्बल आफ्नै छातीले
एकै प्रश्न सोध्छन् सधैं मेरा नौला साथीले
तँ के गर्दैछस् यहाँ?

यो अपरिचित भीड़ एक्लै छिचोल्न
मन त कहाँ थियो र इच्छा आफ्नै चिथोर्न
आडम्बर बोकी हिंड्छु दोषी अरू देखाउँछु
मनमा बार बाँधेर कमजोरी छेकाउँछु
पराई रूखा भाकाले निर्जीव सुखा पाखाले
बिहानीमै सोध्छन् सधैं भीडका हजार आँखाले
तँ के गर्दैछस् यहाँ?

उकालोमाथिको एकलास चौतारी
मेरै बाटो हेरी बस्छन् मेरा शैशव दौंतरी
आँखा चिम्ली हेर्दा चरी झैं छ यो मन
आँखा खोल्दा देख्छु उही उराठ जीवन
घरखेत गोठ टौवाले गाउँका पाटी पौवाले
एकनास सम्झाइरहन्छ ठुटे काले कौवाले
तँ के गर्दैछस् त्यहाँ?

Laxmi Prasad Devkota – Ma

लक्ष्मी प्रसाद देवकोटा – म

स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन–
दाना तिलको,
यति छु मसिनो ! सक्छ को सम्झन ?
दिल झिल्को ?
अलग सचेतन सागर चेतन
कण जलको !
जति जति गिर्दछु उति उति उठ्दछु !
अन्त न बलको
विश्व बनाउँछु, विश्वधनी छु—
क्षण–झुल्को ।
सृष्टि, स्थिति र प्रलय म भोग्दछु,
प्रतिपलको ।
मेरा नीलिम गहिराइमा
मेरै अनिलको
तपन, जपन र अन्तः स्वपन छन्
ऋजु र कुटिलको ।
सब ती विसर्जन मिल्दछु जलमै,
जल–फुल्को !
जोरिन्छ जतातिर मानवतासँग,
साँध यो दिलको,
अनन्त शक्ति र ज्योति छु उत्तम
युगको अमर झिल्को !