Rabindra Mishra – Mrityu Paschat

रवीन्द्र मिश्र – मृत्यु पश्चात्

मलाई थाहा छ
तिमी
हलुकासँग मेरो अस्तु बगाएर लाने
नदी जस्तै रूने छौ
कैयौं दिनसम्म
तिमी मेरो शून्यतातर्फको यात्रामा
शोकाकुल हुनेछौ
परम्पराले तिम्रा रंगहरू धुजा, धुजा
र सौन्दर्य टुक्रा, टुक्रा पार्नेछ
तर प्रिये
यदि तिमीले
तिम्रो सदाबाहार रंग र मुस्कानका साथ
विधातालाई स्वीकारिदियौ
र एउटा गुमेको जीवनको ठाउँमा
रक्ताम्य पहाडका अंध्यारा झुपडीमा
निसाहाय बाँचिरहेको
कुनै आर्को जीवनमा खुशी भरिदियौ भने
मेरो आत्माले चिर शान्ति पाउने छ ।

– रवीन्द्र मिश्र, २८ पुस २०६२

Rabindra Mishra – Chhora Chhori Lai

रवीन्द्र मिश्र – छोरा-छोरीलाई

तिमीले आकाशको विशालता चुम्नु पर्दैन
नेपालको माटो चुमे पुग्छ
नेपालभित्र पनि तिमीले
सगरमाथाको शिरै चुम्नु पर्दैन
नेपालीको मन चुमे पुग्छ
चन्द्रमा छुने सपनामा
धर्ती बिर्सिएको संसारमा
तिमी यो माटोमा हिँडिदिए पुग्छ
तराइ, पहाड र हिमालसामु नुहिदिए पुग्छ
तिमीले समृद्धिको संसार बुन्नु पर्दैन
नेपालको शान बोकिदिए पुग्छ
त्यही शानभित्र तिमीले
नेपालीको मान खोजिदिए पुग्छ
खुशी खोज्ने होडमा
मानवता बिर्सेको दुनियाँमा
मुटु छोडेर उडेका मान्छेहरूको हूलमा
तिमीले यो देशलाई स्पर्श गरिदिए पुग्छ
जिन्दगीको आर्जन यहीं रोपिदिए पुग्छ !

– रवीन्द्र मिश्र, २८ मंसिर २०७१

Rabindra Mishra – Paap

रवीन्द्र मिश्र – पाप

हेर…
पाप त एक दिन लाग्छ, लाग्छ
कि आज लाग्छ
कि भोलि लाग्छ
देखेनौ तिमीले ?
उहिले देउता चोर्नेहरूलाई
अहिले श्राप लागेको छ

भन्लाऊ
पाप लाग्ने भए
ऊ त्यो दुर्गन्धित पैसाले सुन्निएको घरमा
किन चट्यांङ परेन ?
भन्लाऊ
ऊ त्यो अलकत्रा खाने गोरूको भुँडी
प्याट्ट किन फुटेन ?
के पाप कलेजको परीक्षा हो र ?
तुरुन्तै पास र फेल हुने ?
त्यो पनि हुन सक्छ, नहोला नै भन्ने त छैन
तर पाप धेरै वर्षपछि बुढेसकालमा
दिन-रात ‘एया र आत्थु’ भन्दै आउन सक्छ
गु र मुतको आहलमा लतपतिएर आउन सक्छ
छोरा-छोरी, नाति-नातिनाको लाश भएर आउन सक्छ
भन्लाऊ
तिनको के दोष छ ?

हो, एकदिन जानु नै थियो – ती त गए
तिनको स्वर्गको वास हुन्छ
तर पाप त तिमीलाई न लागेको छ
किनभने
अब यो सुन्दर धर्तीमा
नर्कको वास चाहिँ तिम्रो हुन्छ

पाप त एक दिन लाग्छ, लाग्छ

भन्लाऊ
लाख बत्ती बालेको छु
चार धाम गएको छु
मन्दिर बनाएको छु
हीरा-जुहारत चढाएको छु
गंङ्गामा नुहाएको छु
तर म तिमीलाई सोध्छु
कहिले हेरका छौ – मनको दियो कहाँ बलेको छ ?
कहिले सोधेका छौ – विवेकको यात्रा कता हराएको छ ?
मन्दिर बनायौ कि मसान बनायौ ?
हीरा चढायौ कि चेतना जलायौ ?
गङ्गामा नुहायौ कि फोहोर बनायौ ?

हेर, यस्तै गर्यौ भने
पाप त एक दिन लाग्छ, लाग्छ

जाऊ, एकचोटि विवेकको बत्ती बाल
जाउ, एकचोटि मन्दिरमा माफी माग
जाउ, एकचोटि गङ्गामा मुटु पखाल
ढिलो भएको छैन – सूर्य अस्ताएको छैन
मानव भएर आयौ, मानव भएर जाऊ
नत्र पाप त एकदिन लाग्छ, लाग्छ ।

– रवीन्द्र मिश्र, ३ कार्तिक २०७१

Rabindra Mishra – Mero Desh

रबिन्द्र मिश्र – मेरो देश

गोलीहरू हावामा उड्छन्
बाटा-बाटामा गोलाहरू गुड्छन्
मानिसहरू एकअर्कासँग मुस्कुराउँदैनन्
एउटा अनौठो मौनता छाएको छ हाम्रा पहाडहरूमा ।

तपाईं घुमाउरा बाटामा
पीडा पखाल्दै हिँड्ने एक्ला भरिया देख्नुहुन्न
भीरपाखामा चिन्तामुक्त बतासिने बैँसहरू देख्नुहुन्न
विश्वास नै आतङ्कमा परिणत हुनसक्छ
सुरक्षाका लागि शङ्का गर्नुपर्छ

रङहरू बदलिएका छन्
ती नीलाबाट राता भए
राताबाट, सब सेता भए
पीर, पीडा र रङ गुमाएका विधवाहरूबाहेक केही देखिँदैन
अनौठो मौनता छाएको छ हाम्रा पहाडहरूमा ।

अनि मेरा मित्रहरू भन्छन्
तिमी नर्फक, कुनै हालतमा नर्फक
देश युद्धमा छ ।

सायद ती बुझ्दैनन्
यदि मेरो टाउको हरेक दिन चुनावी मुद्दा बन्छ भने
यदि सीमाहरू मलाई नै बाँध्न कसिन्छन् भने
र, म सदाका लागि अ-आमन्त्रित पाहुना बन्छु भने ।

मेरा मित्र
तिमीले बुझ्नुपर्छ
तिमी, तिम्रो देशमा, सिर्फ एकपल्ट मर्छौ
तर, म पराया माटोमा हरेक दिन मरिरहेको हुन्छु ।

Rabindra Mishra – Mrityu

रवीन्द्र मिश्र – मृत्यु

मलाई थाहा छैन तिमी कहिले आउँछ्‌यौ
एकै छिनमा
एक महिनामा
या बर्षौंमा
मलाई यो पनि थाहा छैन
तिमी कसरी आउँछ्‌यौ
मध्य-आकाशमा पड्किएर
घुमाउरो बाटोमा पल्टिएर
कालो रातमा काँपेर
लामो समय थलिएर
या बिहानै मुस्काएर
तर
म संसारलाई हेर्छु
र आफैंलाई हेर्छु
तिमीले
जीवनमा मलाई यति धेरै दि’सक्यौ भने
तिमी जहिले, जसरी आए पनि
मृत्यु
म तिमीलाई मुस्काउँदै वरण गर्नेछु
अब मेरो कुनै गुनासो रहने छैन ।

– रवीन्द्र मिश्र, २५ पुस २०६२

Rabindra Mishra – Bhukampa Paschat

रवीन्द्र मिश्र – भूकम्प पछि

ईश्वर नै ईश्वरले घेरिएको आँगनमा
ईश्वर नै लडेपछि
म कसलाई पुकारूँ !
ईश्वर नै ईश्वरले भरिएको देशमा
ईश्वर नै ढलेपछि
म कसलाई गुहारूँ !
आज लाग्दैछ
ईश्वर पनि दुई थरीका छन् यहाँ
एउटा, मान्छेले बनाएको
आर्को, रहष्यमा लुकेको
मान्छेले बनाएका ईश्वर
मान्छेकै विम्व रहेछन्
ती टुट्छन्, फुट्छन्
ठडिन्छन्, ढल्छन्
मान्छेजस्तै कमजोर छन्
हेर न,
मछिन्द्रनाथ, काष्ठमण्डप, कालमोचन
ती कसरी असाहाय पछारिएका छन्!
रहष्यमा लुकेका ईश्वर चाहिँ
कहाँ छन्, कहाँ छन्
ती कहिले अनिकाल भएर उदाउँछन्
कहिले अनावृष्टि भएर अस्ताउँछन्
कहिले आँधी भएर छोप्दछन्
कहिले पहिरो भएर बग्दछन्
ती न मान्छेको प्रार्थना सुन्दछन्
ती न मान्छेको व्यथा बुझ्दछन्
‘हे राम, हे राम’को क्रन्दनमा पनि
ती रहष्यकै गर्भमा लुक्दछन्
आज मैले जसलाई पुकारेँ, ती आफैँ ढलेका छन्
आज मैले जसलाई गुहारेँ, ती मौन बसेका छन्
हे भक्तहरू हो,
भन्देउ न मलाई, साँच्चिकै ईश्वर कहाँ छन् !

– रवीन्द्र मिश्र, मध्यरात, १२ वैशाख २०७२

Rabindra Mishra – Nindak Haru

रवीन्द्र मिश्र – निन्दकहरू

समालोचकहरू सन्तुलित हुन्छन्
निन्दकहरु नकारात्मकै हुन्छन्
तर ती खाक्सी जस्तै हुन्
जति ती धसिंदै जान्छन्
त्यति तिमी चम्किंदै जान्छौ, साथी
चिन्तै नगर !
ती भुसका आगो हुन्
आफैंभित्र भतभत बल्छन्
छटपटाउँछन्
खरानी हुन्छन्
तिमी त अटल दियो हौ, साथी
चिन्तै नगर !
ती दुखेका मन
विषाक्त मस्तिष्क हुन्
ती टुटेका मुटु
फुटेका आशा हुन्
ती वक्र दृष्टिका नायक हुन्
आफैसँग हारेका आत्मा हुन्
आत्मग्लानिले पोलेका तावा हुन्
ती बल्दै जान्छन्
ती डढ्दै जान्छन्
तिमी त तमसो मा बलेको ज्योति हौ, साथी
चिन्तै नगर !

– रवीन्द्र मिश्र, १७ कार्तिक २०६८

Rabindra Mishra – Aama

रवीन्द्र मिश्र – आमा

तिमीले पत्कर बालेरे जगाइदिएको मेरो ज्योतिमा
म आज सुर्य खोजिरहेछु
ता कि भोलि कुनै आमालाई पत्कर सोहोर्नु नपरोस्
आमा
तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा
म आज उर्जा खोजिरहेछु
ता कि भोलि कुनै आमालाई ढुँग्रो फुक्न नपरोस्
दिनभरी बारीमा मकै रोपेर
बदाम गोडेर, साग टिपेर
गलित शरीरले विरामी हुँदा नि
एक गाँस तातो पकाएको
मैले बिर्सिएको छैन, आमा
आमा
तिमीले कयौं रात पीडा पिएर झारेको आंशुमा
म आज खुशी खोजिरहेछु
ता कि भोलि कुनै आमालाई पीडा पिउन नपरोस्
तिमीले बिर्सियौ होला, आमा
बल्ल-बल्ल ल्याएको दुई पाउ मासुको
हाड-हाड आफूलाई राखेर, मासु-मासु मलाई खुवाएकी
तिमीले बिर्सियौ होला
धोतीको फेरमा बाँधेर बचाएको दुई रूपैयाँबाट
खुसुक्क एक रूपैयाँ मलाई दिएकी
आमा
तिमीले लगाएको थोत्रो धोती र चोलोमा
आज म इज्जत खोजिरहेछु
ता कि भोलि कुनै आमालाई लुकी हिँड्न नपरोस्
आमा
हामी सबैकी आमा
आशीष देउ हामीलाई
तिमीले आफूलाई जलाएर बालेको ज्योतिमा
हामी यस्तो प्रकाश खोज्न सकौं
भोलि कुनै आमा अँध्यारोमा बाँच्न नपरोस्
नेपाल आमा कहिल्यै रून नपरोस् !

– रवीन्द्र मिश्र | १३ फागुन २०७१, काठमाण्डू

Rabindra Mishra – Timi Bhayenau Bhane

रवीन्द्र मिश्र – तिमी भएनौ भने

तिमी भएनौ भने
बिहानै मेरो झ्यालबाट
मुसुक्क मुस्काउने घामको के अर्थ ?
तिमी भएनौ भने
मेरो ओछ्यानमै
सुटुक्क झुल्कने जुनको के अर्थ ?
तिमी छौ र पो म‘म’ छु
नत्र यो सुन्दर नाङ्गो आकाशको
रसास्वादन गरिरहेका पंक्षीको
क्षितिजमा खुलेको हिमाल
र ममा चढेको लालीको
त्यो गहिरो सास, अनि आऽशको
मेरो यात्रा अनि विश्रामको
के अर्थ, मेरो जिन्दगीको ?
तिमी छौ र पो म‘म’ छु
मलाई डर छ
तिमी भएनौ भने
को बन्दिन्छ मेरो बैसाखी म जर्जर भएपछि ?
तिमी भएनौ भने
को बन्दिन्छ मेरो सृष्टि मैले दृष्टि गुमाएपछि ?
सूर्य डुब्नै लागेको बेला
आँधिबेरी आयो भने
म एक्लै भएको बेला
कालो बादल छायो भने
वैशाखको धूपमा मेरो शरीर काँप्यो भने
माघको ठण्डीमा मेरो आत्मा जल्यो भने
कहाँ पोखूँ म आँशु तिमी नै भएनौ भने ?
कहाँ पोखूँ म खुशी तिमी नै रहेनौ भने ?
मलाई डर छ
कतै ‘पुनर्जन्मका सोच’ सत्य पो हुन् कि ?
मलाई डर छ
कतै पूर्वजन्ममा मैले पाप पो गरें कि ?
हुन त, तिमी मन्दिर हौ
त्यसैले म स्वीकार्छु :
यो जन्ममा‘मात्र’ एउटा पाप गरेको छु
तिमीलाई बेहोसीमा ढाँटेको छु
त्यही पाप लाग्यो भने भिन्दै कुरा
नत्र, तिमीभन्दा पहिले म नै जानेछु
थाहा छ ईश्वरलाई मेरो ब्यथा
तिमी भएनौ कि त म मरिहाल्छु !

– रवीन्द्र मिश्र, ४ कार्तिक २०७१

Rabindra Mishra – Tihar

रवीन्द्र मिश्र – तिहार

सुन्दा अचम्म लाग्ला
हरेक तिहारमा दिदी-बहिनी भन्दा पनि
म मेरी हजुरआमालाई सम्झिन्छु
उनीसँग घरमा दियो बाल्ने पैसा थिएन
तर उनको मनको दियोले रात रङ्गीन हुने गर्दथ्यो
उनी हरेक साँझ-बिहान
पकाउनै लागेको कसौंडीबाट
एक मुठ्ठी चामल झिकेर भन्दथिन्,
“आफैंले मात्र खाएर मन फक्रिंदैन !”
मलाई उनको मन नै मन्दिर झैं लाग्दथ्यो
तर ममा आफू ‘बुझ्ने’ भएको भ्रम परेपछि
मैले अरूको घरका बत्ती हेर्न थालें
हजुरआमाको मनको दियो देख्न छाडें
र, बाटो आर्कै रोजें
मनको बत्ती निभाएर
घरमा बत्ती बाल्न थालें
के, के गरें, के, के गरें
यति बत्ती बालें कि
आफ्नै घर देख्न छाडें
कपाल फुल्न थालेपछि आभास हुँदैछ
अन्धकारको अन्धकारभन्दा
उज्यालोको अन्धकार त्रासदीपूर्ण हुने रहेछ
बादलमाथि कतैबाट हजुरआमा भन्दै होलिन्,
“नाति, ढिलै किन नहोस्, बुद्धि फिरेछ
घर उज्यालो पार्न, पहिले मनको दियो बाल्नुपर्छ !”

– रवीन्द्र मिश्र, ८ कार्तिक २०७१ (भाइटिका)