Rabindra Mishra – Mrityu Paschat

रवीन्द्र मिश्र – मृत्यु पश्चात्

मलाई थाहा छ
तिमी
हलुकासँग मेरो अस्तु बगाएर लाने
नदी जस्तै रूने छौ
कैयौं दिनसम्म
तिमी मेरो शून्यतातर्फको यात्रामा
शोकाकुल हुनेछौ
परम्पराले तिम्रा रंगहरू धुजा, धुजा
र सौन्दर्य टुक्रा, टुक्रा पार्नेछ
तर प्रिये
यदि तिमीले
तिम्रो सदाबाहार रंग र मुस्कानका साथ
विधातालाई स्वीकारिदियौ
र एउटा गुमेको जीवनको ठाउँमा
रक्ताम्य पहाडका अंध्यारा झुपडीमा
निसाहाय बाँचिरहेको
कुनै आर्को जीवनमा खुशी भरिदियौ भने
मेरो आत्माले चिर शान्ति पाउने छ ।

– रवीन्द्र मिश्र, २८ पुस २०६२

Rabindra Mishra – Chhora Chhori Lai

रवीन्द्र मिश्र – छोरा-छोरीलाई

तिमीले आकाशको विशालता चुम्नु पर्दैन
नेपालको माटो चुमे पुग्छ
नेपालभित्र पनि तिमीले
सगरमाथाको शिरै चुम्नु पर्दैन
नेपालीको मन चुमे पुग्छ
चन्द्रमा छुने सपनामा
धर्ती बिर्सिएको संसारमा
तिमी यो माटोमा हिँडिदिए पुग्छ
तराइ, पहाड र हिमालसामु नुहिदिए पुग्छ
तिमीले समृद्धिको संसार बुन्नु पर्दैन
नेपालको शान बोकिदिए पुग्छ
त्यही शानभित्र तिमीले
नेपालीको मान खोजिदिए पुग्छ
खुशी खोज्ने होडमा
मानवता बिर्सेको दुनियाँमा
मुटु छोडेर उडेका मान्छेहरूको हूलमा
तिमीले यो देशलाई स्पर्श गरिदिए पुग्छ
जिन्दगीको आर्जन यहीं रोपिदिए पुग्छ !

– रवीन्द्र मिश्र, २८ मंसिर २०७१

Rabindra Mishra – Mrityu

रवीन्द्र मिश्र – मृत्यु

मलाई थाहा छैन तिमी कहिले आउँछ्‌यौ
एकै छिनमा
एक महिनामा
या बर्षौंमा
मलाई यो पनि थाहा छैन
तिमी कसरी आउँछ्‌यौ
मध्य-आकाशमा पड्किएर
घुमाउरो बाटोमा पल्टिएर
कालो रातमा काँपेर
लामो समय थलिएर
या बिहानै मुस्काएर
तर
म संसारलाई हेर्छु
र आफैंलाई हेर्छु
तिमीले
जीवनमा मलाई यति धेरै दि’सक्यौ भने
तिमी जहिले, जसरी आए पनि
मृत्यु
म तिमीलाई मुस्काउँदै वरण गर्नेछु
अब मेरो कुनै गुनासो रहने छैन ।

– रवीन्द्र मिश्र, २५ पुस २०६२

Rabindra Mishra – Bhukampa Paschat

रवीन्द्र मिश्र – भूकम्प पछि

ईश्वर नै ईश्वरले घेरिएको आँगनमा
ईश्वर नै लडेपछि
म कसलाई पुकारूँ !
ईश्वर नै ईश्वरले भरिएको देशमा
ईश्वर नै ढलेपछि
म कसलाई गुहारूँ !
आज लाग्दैछ
ईश्वर पनि दुई थरीका छन् यहाँ
एउटा, मान्छेले बनाएको
आर्को, रहष्यमा लुकेको
मान्छेले बनाएका ईश्वर
मान्छेकै विम्व रहेछन्
ती टुट्छन्, फुट्छन्
ठडिन्छन्, ढल्छन्
मान्छेजस्तै कमजोर छन्
हेर न,
मछिन्द्रनाथ, काष्ठमण्डप, कालमोचन
ती कसरी असाहाय पछारिएका छन्!
रहष्यमा लुकेका ईश्वर चाहिँ
कहाँ छन्, कहाँ छन्
ती कहिले अनिकाल भएर उदाउँछन्
कहिले अनावृष्टि भएर अस्ताउँछन्
कहिले आँधी भएर छोप्दछन्
कहिले पहिरो भएर बग्दछन्
ती न मान्छेको प्रार्थना सुन्दछन्
ती न मान्छेको व्यथा बुझ्दछन्
‘हे राम, हे राम’को क्रन्दनमा पनि
ती रहष्यकै गर्भमा लुक्दछन्
आज मैले जसलाई पुकारेँ, ती आफैँ ढलेका छन्
आज मैले जसलाई गुहारेँ, ती मौन बसेका छन्
हे भक्तहरू हो,
भन्देउ न मलाई, साँच्चिकै ईश्वर कहाँ छन् !

– रवीन्द्र मिश्र, मध्यरात, १२ वैशाख २०७२