Rabindra Mishra – Mrityu Paschat

रवीन्द्र मिश्र – मृत्यु पश्चात्

मलाई थाहा छ
तिमी
हलुकासँग मेरो अस्तु बगाएर लाने
नदी जस्तै रूने छौ
कैयौं दिनसम्म
तिमी मेरो शून्यतातर्फको यात्रामा
शोकाकुल हुनेछौ
परम्पराले तिम्रा रंगहरू धुजा, धुजा
र सौन्दर्य टुक्रा, टुक्रा पार्नेछ
तर प्रिये
यदि तिमीले
तिम्रो सदाबाहार रंग र मुस्कानका साथ
विधातालाई स्वीकारिदियौ
र एउटा गुमेको जीवनको ठाउँमा
रक्ताम्य पहाडका अंध्यारा झुपडीमा
निसाहाय बाँचिरहेको
कुनै आर्को जीवनमा खुशी भरिदियौ भने
मेरो आत्माले चिर शान्ति पाउने छ ।

– रवीन्द्र मिश्र, २८ पुस २०६२

Indira Gautam – Mrityu

इन्दिरा गौतम – मृत्यु

मलाई कोपर्न खोज्छ
लुछ्न खोज्छ
चिथोर्न खोज्छ
एउटा सिङ्गो समयले।
व्यस्तताको भीडमा
तछाड मछाड गर्दै
हतारिएको समयले,
खातामा लेखिएका
एक एक पल समाधितर्फ
लम्किरहेको छ।

भोलिको दिनमा
न म हुन्छु
न मेरो रहर
केवल अलपत्र परेको बिहानीसँग
मेरा पुराना यादहरु
ताजा हुने छन्।

एक चुट्की वायुमा अडिएको प्राण
अहिले हो या भरे?
अब त सत्य र स्वास्वत मृत्युलाई
स्विकार्न तयार छु
जीवनको अन्तिम विश्रामस्थल
समाधिमा ओच्छ्याएका फूलहरु
मेरो पर्खाइमा ताजै छन्।

ओदालगढी, असम

Komal Shrestha Mall – Mrityu Ma Lamkindai Chha

कोमल प्रसाद श्रेष्ठ मल्ल – मृत्युमा लम्किदैछ

उस्तै उस्तै
परेड ताण्डपले
रक्षाका रेखाहरु
अंग अंग बटारिदै
घाटि घाटिमा फासिका डोरि झुण्डिदैछ
स्वप्निल सपनाहरु कठै कठै ..
बिपना टेक्न नपाउदै
चिर निद Continue reading “Komal Shrestha Mall – Mrityu Ma Lamkindai Chha”

Binaya Kumar Sharma Nepal – Mrityu Bodh

विनयकुमार शर्मा नेपाल – मृत्यु बोध !

प्रिय
अब म एकदम ठीक छु
झरेको फूलभन्दा पनि हलुका भएको छु
रुवाको त्यान्द्रोभन्दा पनि हलुका भएको छु
तिमी किन त्यसरी रोयौ ?
धत्
मन कति दुखेको होला
चोट कति गढेको होला
तिमीले देखेनौ र ?
हावाको त्यो झोँका
जुन तिम्रो बिलौनाले टुक्रा टुक्रा हुँदै थिए
जुन तिम्रो प्रलापले
कण कण बन्दै थिए
म त कण कण देख्छु
कण कणमा पस्छु ।
प्रिय अब त मौनरहु
मलाई माया गर्ने हे मनहरू
अब त चुप लाग
तिमी आफ्नो रुवाइलाई बुध्दत्वमा बदल
तिमी आफ्नो शक्तिलाई बौध्दिकतामा बदल
तिमी आफ्नो ऊर्जालाई कवित्वमा बदल
म अहिले एकदम ठीक छु
म अहिले विलकुल निष्फिक्री छु
यत्ति बेला एउटा शान्त पुनर्निर्माणको ध्यानमा छु
र यस बेला मलाई कुनै कुरोले घोच्दैन
कुनै सीयोले चुभ्दैन
शत्रु जम्जमाएर जुनसुकै हतियार बोकेर आए पनि
शत्रु फडफडाएर जुनसुकै कुरोको तीखो बाण लिएर आए पनि
उसको घमण्ड
उसको अहङ्कार
धुवाँजस्तै उड्ने छन्
किनकि अब म त्यस्तो छैन
अब म लौकिक छैन
आकासजस्तै पारदर्शी बनिसकेको छु
पानीजस्तै पातलिइसकेको छु
प्रिय यदि मेरो हात हावाको हुन्थ्यो भने
प्रिय यदि मेरो हात वायुजस्तो हुन्थ्यो भने
तिम्रो आँसु अवश्य पुछ्थे
तिम्रो आँखामा चुम्मा खाएर
आँखाको छेद अवश्य बन्द गर्थे
प्रिय तर म धुलो भैसकेँ
हावाको झोँकाभन्दा पातलो भैसकेँ
ऐनाले समेत मेरो रूप समात्न सक्दैन
समुद्रले मात्र आकाश देखाइदिन्छ
मेरो रूप देखाउन सक्दैन ।
प्रिय तिमीले मलाई मृत ठान्यौ ?
प्रिय तिमीले मलाई जड ठान्यौ ?
वास्तवमै मरे तुल्य
तिम्रो लागि बेकारको लागेँ
कुनै घटना घटेन
कुनै दुर्घटना भएन
मात्र परिवर्तनको सानो अनुभव भए
अग्निपरीक्षा पार गरेजस्तो ।
हो, अब मलाई कुनै पीडा छैन
हो, अब मलाई कुनै दर्द छैन
अब मेरो मन पनि त दुख्दैन
मुटु राख्ने ठाउँ पनि त छैन
सबै उदाङ्ग, सबै निर्वाङ्ग
मेरा इन्द्रिय आजकल
जहाँ पुग्छ त्यहीँ रम्दछ
पात देख्दा म पातै बन्दछु
र पातकै सुस्केरामा डुब्दछु
फूलको समीप पुग्दा सुवास नै बनिदिन्छु
पानीमा पुग्दा पानी र आगोमा पुग्दा आगै बनिदिन्छु
अनेकौँ रङमा रङ्गिदा रङ्गिदै
मेरो यो हाल भो !
एउटा कणभन्दा मिहिन
एउटा वाफभन्दा हलुको
एउटा किरणभन्दा गतिमान
एउटा पानीको बूँदभन्दा पारदर्शी ।
हो,
हो, एक विन्दु जलको पनि आफ्नै अस्तित्व हुन्छ
सागरमा पुग्दा म सागरै बनेँ
आकाशमा पुग्दा म आकाशै बनेँ ।
प्रिय अब म ठीक भएँ
अब म स्वस्थ भएँ
ऊ हेर त
तिम्रो यताउता बसेर रोएकाहरू
मेरो अरू थुप्रै वन्धु वान्धव पनि छन्
ओहो ! ती किन त्यसरी रोइरहेका ?
तिनको ममाथि के त्यत्रो प्रेम थियो ?
यो मलाई थाहा थिएन
तर जसले त्यति रुनु पर्थ्यो
ती रोएनन् ।
मेरी प्रिया
अब म एकदम ठीक छु
कुनै रोग छैन
कुनै भोक छैन
कुनै चिन्ता

कसैको तिरस्कार छैन ।

Rabindra Mishra – Mrityu

रवीन्द्र मिश्र – मृत्यु

मलाई थाहा छैन तिमी कहिले आउँछ्‌यौ
एकै छिनमा
एक महिनामा
या बर्षौंमा
मलाई यो पनि थाहा छैन
तिमी कसरी आउँछ्‌यौ
मध्य-आकाशमा पड्किएर
घुमाउरो बाटोमा पल्टिएर
कालो रातमा काँपेर
लामो समय थलिएर
या बिहानै मुस्काएर
तर
म संसारलाई हेर्छु
र आफैंलाई हेर्छु
तिमीले
जीवनमा मलाई यति धेरै दि’सक्यौ भने
तिमी जहिले, जसरी आए पनि
मृत्यु
म तिमीलाई मुस्काउँदै वरण गर्नेछु
अब मेरो कुनै गुनासो रहने छैन ।

– रवीन्द्र मिश्र, २५ पुस २०६२