Bhojraj Baral – Swambhu Ko Bandar Le Pani Ghar Basaunthyo Ki

भोजराज बराल – स्वयम्भुको बादरले पनि घर बसाउथ्योकी

जोतेरनै लालपुर्जा पाइने भए
डाँडा पाखा नै किन रत्न पार्क नै जोत्थे होलान्
पोतेरनै दैलो आफ्नो हुने भए
मुखियाको किन नारायणहिटी नै पोत्थे होलान्

जोतेर, पोतेर वा गोदेर, चिथोरेर
चोरेर वा कुनियो फोरेर मात्रै आफ्नो बनाउनेहरुहो
अनी
लुटेर, भुटेर वा कुटेर
छेकेर वा टाउकामा टेकेर मात्रै अधिन चलाऊनेहरुहो
त्यो डकैतिलाई पसिना र पाखुरामा
अनी
त्यो पागलपनलाई बिबेकको टाकुरामा
एकपल्ट पुर्याइ हेरत
यो माटोको त के कुरा
तिमीले टेकेको चट्टान पनि रसाउथ्योकी
स्वयम्भुको बादरले पनि घर बसाउथ्योकी

– London

Mani Raj Singh – Satee Le Sarapeko Desh

मणिराज सिंह – सतीले सरापेको देश

टेक्दै मसानका ढिस्काहरू
खेल्दै रगतका फाल्साहरू सित
झण्डा उचालेर वीरताको
फर्कदै थिए जब भीम मल्ल
आफ्नै आमाको काखमा
साँगुरो सुरुङ्गभित्र
कोलाहलका विक्षिप्ततामा रन्थनिएका
प्रताप मल्लहरू
पिचासझैँ भौँतारिएर
घृणाका काँडाहरू उमारेर आँखामा
टाउको छप्काएर आफ्नै भाइको
विद्रुप हाँसो हाँसिरहँदा
सतीले सरापेको
शोकमग्न बस्तीझैँ
अभिशप्त जीवन बाँचिरहेको छ यो देश
टिलपिल टिलपिल चम्किरहेका
ताराहरूका असह्य पीडाबीच
रणबहादुरको बौलेहट्टीपनको
कुरूपतामा रगताम्य
बहादुर शाहको बलिदानको
गर्जनमा उन्मत्त
कङ्कालमय यो देश ।

हुरी बतासको चर्को सुसेलीमा हल्लिएर
भूँइचालोको सम्भावित खतरामा आतङ्कित
अपमानको पीडा सहन नसकेर
भीमसेनझैँ आत्महत्याको प्रयास गर्दै
गोसाइकुण्डतिर भौतारिन्छ
दुर्घटना, अन्र्तघात
र आतङ्कको छायाँमा
लोडसेडिङ्गले गतिहीन र निरर्थक
चौबाटोमा हाहाकार गर्दै
चकमन्नताको मैलो च्यादर ओढेर
दिउँसै आँखा तिर्मिराउने उज्यालोमा पनि
लाटोकोसेरोझैँ झुण्डिएको छ
घरको मूलढोकामा
समयको झापड खाँदाखाँदै
थिलथिलो भएको
सतीले सरापेको देश ।

Chakendra Rai Kaidi – Ma Eklo Chhu

चकेद्र राई “कैदी” – म एक्लो छु


माटो भएर ढुङ्गा सँगै
टाँसिन जानिन ……।
किनार भएर नदी सँगै
गाँसिन जानिन……।
अन्यायको जातोमा मकै सरी
पिसिन जानिन……।
आकाश भएर क्षितिज सँग
मिसिन जानिन……।
त्यसैले….
म एक्लो छु , नितान्त एक्लो !
न बुढो राजनीतिक
इतिहासको खोल ओढेर
यथास्थितिमा लम्पसार परी
काग्रेस बन्न सकेँ…………।।
न म
दोबाटोमा दोधार दोमन लिएर
ठिङग उभी रहने दुई जिब्रे
ए.माले बन्न सके ……।
न त
मिठा मिठा सपना बाँड्दै
आशै आशाको स्वर्ग दिलाउँदै
धमासको खेती गर्ने
ए.माओवादी बन्न सकेँ ……।
त्यसैले…
म एक्लो छु , नितान्त एक्लो !!

मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले…
म एक्लो छु , नितान्त एक्लो !!!

मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!!

आज सोच्छु
भाग्य पनि कस्तो कस्तो ?
कोही दरबार बाट एकान्त कुना तिर बसाइ सरे
कोहि कल्पनाको आकश बाट यथार्थको धरतिमा झरे
नहुने जति नेपालमा नै हुदो रहेछ हरेकाहरुले नै चैन गरे
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!!!

Narayan Tiwari – Kaso Khera Gaiyena

नारायण तिवारी – कसो खेर गइएन

ठूलो हुरी बोकेको थिए
कसो शहीद भइएन
ठीकै भएछ–
कसो खेर गइएन …. ।

कहा“ भइरहेछ इमानको पूजा
खोइ फेरिएको छ
संस्कार ।
अहिले पनि उस्तै–उस्तै
उत्पातहरू छन्
उस्तै–उस्तै
आघातहरू छन्
मोटाउने मोटाएकै छन्
कसलाई छ चासो
दुब्लाउने दुब्लाएकै छन्
तिनका निम्ति त
दुर्लभ नै भो हा“सो
ठूलो झण्डा बोकेको थिए“
कसो शहीद भइएन
ठीकै भएछ–
कसो खेर गइएन… ।

जुलुस बोक्ने नेताहरू
कुर्सीकै होडबाजीमा मस्त छन्
शहीदका इच्छा, आकांक्षाहरू
सबै अपदस्त छन्
‘धन’ नामका लुट है
सक्ने जति लुट झन्
त“ पनि खा– मैले देखिन
मैले खाएको पनि
त“ नभन्
अहिले पनि उही–उही
उस्तै–उस्तै कुर्सीमा छन् व्यवहारहरू
नाम मात्र फरक,
लाग्छ उस्तै अनुहारहरू
ठूलो उन्माद बोकेको थिए“
कसो शहीद भइएन
ठीकै भएछ
कसो खेर गइएन…

Gopal Prasad Rimal – Gopal Prasad Rimal Le Boliraheko Khas Kura

हाम्रो छाती कत्रो ? हिमालजत्रो
हाम्रो बारीको नाउँ के ? नेपाल
हाम्रो गाउँको नाउँ के ? नयाँ नेपाल
त्यसको सेरोफेरो कति ? ब्रह्मपुत्रवारि, इन्दसवारि, गङ्गावारि
हाम्रो देशको नाउँ के ? खसमीर, खुशी, खसियाशैल ।
हाम्रो उचाइ कत्ति ? नोर्के थुम्कोजति ।
हाम्रो आदर्श के ? गोरखा—
तर गाई र ब्रह्माले जस्तै ढाँट नबोलेर
बलभद्रले जस्तै साँचो बोलेर ।
हाम्रो जुक्ति के ? सकेसम्म छलफल
अनि छल
दामोदरको, भीमसेनको, जङ्गबहादुर खसको जस्तो ।
हाम्रो धर्म के ? लडाइँ—
पृथ्वीनारायण शाहको जस्तो
बहादुर शाहको जस्तो
रणबहादुर शाहको जस्तो ।
हाम्रो कला कस्तो ? अर्निकोको जस्तो
हाम्रो कैदी कस्तो ? भगवान् अरविन्दजस्तो
हाम्रो मुक्ति कस्तो ? त्रिभुवनजस्तो ।

Bhupin Byakul – Nadi Haru Manchhe Jasta Hundainan

भूपिन ब्याकुल – नदीहरु मान्छे जस्ता हुँदैनन्

नदीहरु
मान्छेलेझैं राजनीति गर्दैनन
नदीहरु
मान्छेले झैं कुटनीति जान्दैनन
निर्जिब सञ्चेतनाक पर्खालहरु भत्काएर
कुरूप हातहरु उचाल्दै नदीहरु
हिलो छ्यापाछ्याप गर्दैनन
पानी बाराबार गर्दैनन

नदीहरु रंग-बिभाजन गर्दैनन
नदीहरु
जात-बिभाजन गर्दैनन
नदीहरुको संबिधानमा
सानो मुललाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छा
सानो खोलालाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छा
बिनाकुनै प्रतिबन्ध
पहाड चढ्न सक्छन नदीहरु
पहाड फाँड्न सक्छन नदीहरु

नदीहरु
मनलागे सुक्न जान्दछन
मनलागे फुक्न जान्दछन
तर कदाचित नदीहरु
मान्छेजस्तै झुक्न जान्दैनन
मान्छेजस्तै दुख्न जान्दैनन

नदीहरु मान्छेले झैं
अहंममा चोट लाग्ने भयले
सृस्टिले ठगेका गरिब र पुड्का खोलाहरु देखेर
टाढैबाट तर्किएर हिंडदैनन
नदीहरु मान्छेले झैं
रंग नमिल्ने भयले
छुट्टै बाटो ताकेर हिंडदैनन
नदीको कालो पानी
नदीको सेतो पानी संग मिल्न सक्छ
नदीहरु जन्मजात निग्रा हुँदैनन
नदीहरु जन्मजात गोरा हुँदैनन
नदीहरु आर्य-मंगोलियन हुँदैनन
हिन्दी-मुस्लिम हुँदैनन
बुद्धिस्ट-क्रिस्चियन हुँदैनन नदीहरु

नदीहरु
नदीहरुजस्तै हुन्छन
मान्छेजस्ता हुँदैनन

Abhas – Shahar Ma Raat

कुकुरको एकनासे भुकाइ
प्वाल पारिरहेछ मथिँगल
किथ्राको किर्किर्
झमझमाइरहेछ रक्सीको नशा झैँ
विजुलीको तारमा बसेर
खुर्पे जून चपाइरहेछ लाटोकोसेरो
म अँध्यारोले
लथपथ भिजेको छु
मेरा सबै छिमेकी
निथ्रुक्क छन् अँध्यारोले ।

Padam Bhandari – Phool Khojne Pari Rojne Ko (Nepali Gajal)

पदम भण्डारी – फूल खोज्ने परी रोज्नेको (नेपाली गजल)

फूल खोज्ने परी रोज्नेको, कुरा मजाले काटें मैले
आँफू अर्कै ध्रुवको झैं, आदर्श मजाले छाटें मैले

दुबो जस्तै मौलाएको, सलसलाउँदो हाम्रो साईनो
होइन भन्ने पार्न झूठको, डोरी मजाले बाटें मैले

लुकिछिपी किन नहोस, नियालेर हिउँका थुप्रा
बैरागीको बाँझो मन र, थकान मजाले साटें मैले

फूलको रस चुसिरहेको, देखी डाहा गर्नेहरु
नचाहने सारथीहरुको, दिमाग मजाले चाटें मैले

मनलाई चिथोरेर, बलजफ्ती निचोरेर
साङ्लो चुडाल्न चाहनेहरुको, सत्य मजाले ढाटें मैले
★★★

Yuddha Prasad Mishra – Nyaya Uthyo

युद्धप्रसाद मिश्र – न्याय उठ्यो

न्याय ढलेको ठाडो पार्न
उभियो बबण्डर चर्को
पतनशील अनुहार प्रष्ट भो
प्रतिगामीका धर्को

आजादीका सही दिशातिर
खुले सबैका आँखा
आक्रोशित भै बोल्न पुगे अब
ज्वालामुखीका भाखा

भाग्नु कहाँ अब बढ्दै आयो
जनजागृतिको भीषण ज्वार
उठिसक्यो शिरमाथि कसको
विजयमुखी न्यायिक तरवार

धरतीमाथि उभिनसम्म
यहाँ रगतको लाग्छ जमात
तर छन् त्यसका माथि उठेको
दरा बलिया ब्यापक हात

०४६ भदौ १६
(नौलो कोसेली)

Krishna Sen Ichchhuk – Jail

कृष्ण सेन ईच्छुक – जेल

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पर्‍यो र?
मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी
जहाँ काटनु परे पनि त्यो जेल हुन्छ।

जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ
जहाँ मुक्त आकाङ्क्षाहरू बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ
बन्दुकको पहरा होस्
अथवा त्यो कानुनको घेरा होस्
के फरक पर्‍यो र?
मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ।

जहाँ बेला–कुबेला रमन घुमिरहन्छ
जहाँ कारण–अकारण साइरन बजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्को आवाज गरी मार्च–पास चलिरहन्छ
अनि जहाँ मौसम बेमौसम बारुदहरू गर्जेर
सधैँ रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्‍यो र?
मित्र, सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ।

उही दिन सधैँ, उही रात सधैँ
उही बिहान र साँझ साथ छ
उही स्वप्नभङ्ग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पर्‍यो र?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ।

Manu Manjil – Lamp Post

मनु मन्जिल – ल्याम्पपोस्ट
(मधुपर्क बैशाख, २०६७)

निभेर दिनभर उभिन्छु अचेल सडक- किनारामा
बाँच्नै नहुने धेरैजसो दिनहरू बाँचेर
मात्र आयु नाघ्न नसकेर उभिए जसरी ।
यति खराब जिन्दगी पनि अभिनय होइन
यो Continue reading “Manu Manjil – Lamp Post”

Bhira Khadka – Mero Jeewan Ra Hitler Ko Gas Chamber

भीरा खड्का – मेरो जीवन र हिटलरको ग्यास च्याम्बर

मनस्थितिका
हरेक
बिचाररुपी मेरा
येहुदी सिपाही हरु
ग्यास -च्याम्बरमा खादिएका छन,
हिटलर बनेको
मेरो नश्वर काया
मानसिक अन्तर्द्वन्द बीच बन्धित
मेरो अस्तित्व
स्व-आत्माको लाचारिमा
अट्टहास हासो सहित
ताण्डव नृत्य गर्दै छ /
आफैलाई कैद राख्न
म बाध्य छु
घुटघुटी लिएर जीवन मर्न
म विवस छु,
तेसैले
आफ्ना बध्यताहरुलाई
विवशता हरुलाई
निस्शासिएर
अन्त्य गराउन
मन्जुर छ मेरो मानसपटल
च्याम्बरमा
हिटलरको ग्यास च्याम्बरमा

Sarubhakta – Akalpaniya Desh Ko Yatra

‘के इतिहास
चक्रीय सिद्धान्तनिष्ठ छ ?’
पुनरावृत्तिमा लिगलिगकोटे युगहरु
प्रतिश्पर्धा दौडमा छन्
छुमन्तर ! गोर्खाली जिनका रसायनिक भाषाहरु
खोई हुस्सुले छेकेको घाम
कहाँ ‘ब्रेनड्रेन’ भई हिडेको छ ?
युग वदलियोः हामी एक अकल्पनीय
देशको यात्रमा छौं
कायरहरु धेरैपल्ट मर्छन् हामी बहादुरहरु
एक एकपल्ट मर्दैछौं – ‘ भटटटटटट ….’
को मूर्ख ? वर पाउने भष्मासुर कि
वरदिने महादेव ?
गुहेकीरालाई गुहेकीरा के भन्नु
ती स्वर्गीय नर्कका वासिन्दा हुन्
युगीन आवश्यकताः आजभोलि घाँटीमा क्रश
टाँगिन्छन्, क्रशमा यशूहरु टाँगिदैनन्
नाथुरामहरु कहिल्यै गान्धी बन्दैनन्
गान्धीहरु भकाभक नाथुराम बन्दैछन्
ए ! देशमा सवै बहुलाएको वेला
त्यो मान्छे किन सद्दे कुरा गरिहिड्छ
वेफ्वाँकमा ?
हिउँदेयाम
आउ मौकाको घाम तापौं
अनि कत्लापरेका फोहोरहरु सुकाऔं !

Santosh Lamichhane – Sakshi

सन्तोष लामिछाने – साक्षी

भावनाको घोप्टेभीर
मनको जोगिमारामा घुम्ती बदल्छ
अनि आकांक्षाका खोरियामा
कुकुर जोघाइ सुरु हुन्छ
रित्तोपन लुकाउँदै
शासकहरु हात बाँधेर
मुकुण्डो कसाउँछन्
अनि एउटा नौटंकी
जिन्दगी सुरु गर्छ

पहिराहरु आतुर छन्
धरातल उल्ट्याउन
भूकम्पहरु खुटटा उचाल्छन्
धर्ती हल्लाउन
बाढीहरु सल्बल छन्
सिर्जना बगाउन

ध्वजा पताका फिजारिन्छ
रंगमञ्ज सजिन्छ
गीत रचिन्छ
संगीत पस्किइन्छ
विस्तारै चिहान उठ्न थाल्छ
सपना विपना जस्तै लाग्न थाल्छ
दर्शक भुलिन्छन्
सिठठी बजाइन्छ
ताली पडकाइन्छ
विश्वविद्यालयहरु निरर्थक हुन्छन्
प्राध्यापकहरू घुँडा टेकेर
ज्ञानको भीख माग्न थाल्छन्
ढुंगाका मुर्तीहरु
पैतालाका डोबहरुले भरिन्छन्
बुद्धिजीवीहरु भंडखारामा पुरिन्छन्
तक्मा भिर्ने मै हुँ भन्नेहरु
बन्दीगृहका कैदीमा चुनिन्छन्

कोलाहल ठप्प छ
मस्तिष्क थाङनामा सुत्दछ
निडर निरुत्साहित
एउटा साक्षी
सिर्फ हेरिरहन्छ
सुनिरहन्छ
आँखा खोलेर अनि आँखा बन्द गरेर
सधैं व्यूँझिरहन्छ अनि ब्युँझ्याइरहन्छ
अनवरत
एउटा साक्षी व्यूँझिरहन्छ
ब्युँझ्याइरहन्छ ।

Amar Nembang Limbu – Hamro Desh (Euta Rashtriya Geet)

अमर नेम्बाङ लिम्बू – हाम्रो देश (एउटा राष्ट्रिय गीत)

मेची र महाकाली हिमाल र तराइभित्रको यो देश
यो देश हाम्रो देश हो,
सधैँ जय होस् हाम्रो देशको।
युगौँदेखि अंगालो मारेर उभिएका शानदार हिमालहरू,
समीरको स्पर्शले गुञ्जिरहने सदाबहार जंगलहरू,
मनोहर द्द्रिश्यले झकिझकाउ भएका पाखापखेराहरू,
तराईभरि मनैभरि झुलिरहने धानका बालाहरू ।
यो देश हाम्रो देश हो
सधैँ जय होस् हाम्रो देशको।
प्रकृतिको अनन्य वरदान हो यो,
सप्तरंगी इन्द्रेणीभित्र झरनाको आवाज हो यो
विभिन्न धर्मसंस्क्रितिको मूलुक हो यो
सम्पूर्ण नेपालीहरूको मुटुको धड्कन् हो यो ।
यो देश हाम्रो देश हो
सधैँ जय होस् हाम्रो देशको।
आज लोकतन्त्रको यो नौलो नयाँ बिहानीमा,
स्वतन्त्रताको अमरदीप जलिरहेछ प्रत्येक घर-आंगनीमा,
सहिदहरूको सपना साकार पारी यो देशमा
नेपालको नाम सधैँ उच्च राखौँ यो विश्वमा
यो देश हाम्रो देश हो
सधैँ जय होस् हाम्रो देशको।

न्यूयोर्क

Pushpa Baruwal – Kohi Malai Kina Kehi Bhanos

हुस्सुका बाक्ला खातहरु हटाएर
राफिलो घाम ताप्नुछैन मलाई
न त बादलका बाक्ला च्यादर ओढेर
न्यानो बन्नुनै छ
म, पखेरोको एउटा अस्तित्व
घाममा वा ओझेलमा
खुशीहरु अनुभुत गर्नसक्छु जसैतसै
कोदालीले पखेरो सम्याएर
अन्न Continue reading “Pushpa Baruwal – Kohi Malai Kina Kehi Bhanos”

Sarubhakta – Asthi Pahad Ra Gilo Brihaspati

गुर्खा न्यूरोनः साइवर स्वस्थानी जात्राहरु
पञ्चवलिका वाजाहरु बजेका छन्
रिकुटेजात्रा – खोइ कहाँ हराए खलङ्गाका
श्वाभिमानहरु ?
मुखुण्डोहरुको जुलुस
अस्थि–पहाडमाथि उभिएर
चेसवोर्डका गोटीहरु चलेका छन्
ए, Continue reading “Sarubhakta – Asthi Pahad Ra Gilo Brihaspati”

Laxmi Prasad Devkota – Bhoot Lai Jhataro

प्रकृतिले जब व्यङ्ग्य रेखिन्
चेहरा तिनका बने
नेपालीको भान लेखिन्
बान् भो हाम्रो भने ।

सब गधाले खुशले ऐंके
भ्यागुताले गाए कें कें
भो भुजङ्गजाति प्रसन्न
मातृभूका पुष्प रोए
धन्य तिनको जन्म धन्य

(हुन त केवल शुक्र-कीरा!)
ज्योतिषीले नाम राख्यो
कोहेनूर! वाह! विश्वहीरा!
नामजस्तो व्यङ्ग्य के छ ?
मणिधर भन्छन् सर्प जो छ
नेपाली रे देश-धमिरा
अङ्ग नै मानिन्छ राम राम
सब खटिरा

व्याकरण मिल्दैन सड्छ
माफ गर्नोस् !
हँस्सी मात्रै लेखिरैछु
आँसु झार्नोस् !
पातालपुरीको गद्य भो
अङ्ग्रेजीको उल्था जस्तो !
हिन्दी वा नेपाली यो !
तैपनि के दालरोटी-
निम्ति कलम नरेटूँ यो ?

गधाका बच्चा हुन्छन् पाजी
भ्यागुताका के हुन् काजी ?
खूब पढाउँथे ती गुरु !
(गुणशील गुरुका पुच्छर थिए
लौरो सीङ?) भो है कथाको
होस् न छिटै पो शुरु !

“ए गधा हो! ‘फ्रग’को माने भ्यागुतो ।
“फ्रगको माने भ्यागुतो ।
फ्रगको माने भ्यागुतो ।”
“के रे? के रे? के रे? के रे?”
“भ्यागुतो
भ्या! भ्या-गु-तो।”

एकादशीको दिन थियो
पशुपति ल्याएछ कालले
एक दिन निज धर्म्ममा
मरन्च्याँसे अक्षता-आशे!
मालिक सम्शेर कोही सम्झे
वेकुण्ठ सुख-टर्ममा
चाकरीका निम्ति आए-
शिवको अनि शेरको औ खीरको

धर्म्मराही धर्मराई
भस्मेश्वरका पासमा
चिता सुँघेछन् आफ्नो है
ढल्को तनको भासमा ।
“हे ठिटा हो!” बोल्न थाले
“भातृभाषा मर्दछिन्
नेपाली बाँच्दैन कहिल्यै
हिन्दीले राज गर्दछिन्।”

मानिस मर्ला भन्ने डर पो
आत्मा भरी छारो चल्यो
वेद तत्पर डग्मगाए
गीता जल्यो गीता जल्यो ।

बोल्न एउटा लाज हो जब
मानिस भैकन साँप स्याँक! स्याँक!
भ्यागुतो क्याँक! क्याँक!
लगुड हाम्रो भै सजीव
बोल्छ हातमा-
‘टाउको टयाक! टयाक!’
(माफ गर्नोस् तीतो लागे!)
सग्लै छन् ती मन्त्र बोलूँ
‘फर्सी फ्याक! फ्याक!’

बाँसमाथि राख नरिवल
काक झुत्रो एक बनाऊ
तीतेपातीले सजाऊ
स्मारक एउटा महापुरुषको
मलको ढिस्कोमा बनाऊ!

मुर्दा बोल्थ्यो नेपालीमा
छक पर्यौं ।
क्या गह्नायो मुखको गन्ध ।
थुक गर्यौ।

सिलटिम्मुर बरफसाथ
ल्याऊ पहेंला चाँवल,
श्याम भाग्छन् रात भरभर
यस्ता मीठा पागल!

हीहीहह हीहीहह
बोल्यो गधा!
छेपाराले मुत्दछन् रे
यस्ता बुज्रुगका चिहानमा
सर्वदा!

खूब झरीमा एक कुकुर
स्याउँ स्याउँ कीरा
सड्थ्यो लाचार! नाम सोधेँ
रै हीरा।
झन्डै झन्डै मै मरेथें
त्यो गह्नाई
बान्ता आई!
तिम्रो बुद्धि! गिद्धलोचन!
यस्तै लाग्यो है मलाई!

Shikhar Arohan – Bhram

शिखर आरोहण – भ्रम
(Sent to Sanjaal Corps via Email)

भ्रमहरू,
हेरिरहेछन् मलाई मेरो वरिपरिबाट
म भ्रमहरू बाँचिरहेछु ।

सपनाका भ्रमहरू
जीवन भ्रमहरू
भ्रमहरूसँगै नै मेरो दैनिकी तय भइरहेछ ।
भूतकालका कथाहरूसँगै
म खोजिरहेछु,
सत्यता, यथार्थ र वर्तमान
यी वर्तमानहरू मलाई
कहिले यता कहिले उता पछार्छन्
म तीनै भ्रमहरूमा
विश्व हाँक्ने विवशता तन्काइरहेछु ।

निकोटिनले पहेँलिएका मेरा ओठहरू
आवाज दिने प्रयास गर्दछन्
प्रयासहरूमै काँप्दाकाँप्दै ओठहरू
सुख्खा भएर झर्नै आँटिसके
एक प्याला भ्रममा
मनौं संसारलाई नै तन्काउन
सोचिरहेछु – कथा र कथाका पात्रहरू
यी कथाका पात्रहरू
कहिले नाङ्गै बनिदिन्छन्
कहिले लमतन्न सडक छेउ
मदिरा दिवस मनाइदिन्छन् ।

म धेरैपटक मरेर बाँचिरहेछु
सदियौं मरिरहेनेछु,
भ्रमहरू मरेका छैनन्
कहिल्यै मर्दैनन् ।
दोबाटोहरूमा म अल्झिरहेछु
अनिर्णित भइरहेछु
भ्रमहरू सोझो बाटो देखिरहेछन्
भ्रमहरू कहिल्यै पछाडि परेनन्
भ्रमहरू भनिरहेछन् –
यस्तो भ्रममा जिइयो
साला जिन्दगी ।

२०६५/०९/०३
तीनथाना, काठमाण्डौं

Shiva Prakash – Beiman Ti Sadakharu

शिव प्रकाश – बेइमान ती सडकहरु … !

ती सडकमा
अरु नै हिड्छन्
तिमीले बनायौं,
तर ती सडक
तिम्रा लागि हैनन् ।

तिमीसँग
रामे, श्यामे र हर्केहरु थिए
पातली, सुन्तली र चमेलीहरु थिए
र, मसँग थिए-
झक्सु, बन्झडु र खेरुवाहरु
राधो, कलावती र मैयासरीहरु
ती सडक ….
तिमीले र हामीले बनायौं
तर ती सडकहरु
तिम्रा हाम्रा गाउँघरतिर जाँदैनन्
ती सडकहरु अन्ततः
महलमा गएर टुङ्गिन्छन् / हराउँछन्
बेइमान सडकहरु …. !

हरदम स्वागत गरिरहेछन्
कालो ओढेका ती काला सडकहरु
कालो मन भएका मान्छेहरुलाई
कालो रङ भएका गाडीहरुलाई
बेइमानीको विम्व / प्रतिविम्व
बेइमान ती काला सडकहरु … !