Krishna Sen Ichchhuk – Pratibandha

कृष्ण सेन ‘इच्छुक’ – प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ- गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।

हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि-याउँदै
तिमी भन्छौ- लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ ।

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ- हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।
ओ शासक-प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुस र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।
उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध सङ्र्घर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुट्ठीहरू
ओ, अत्याचारका पहरेदारहरू ! अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ ।

Krishna Sen Ichchhuk – Bandi Ra Chandragiri

कृष्ण सेन ‘इच्छुक’ –  बन्दी र चन्द्रागिरि

विजयको अन्तिम दिनसम्म
सबै रहौंला नरहांैला पछि हामी
र, सायद यो खुसीको हर्षित क्षण
हाम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ ।
र, म पनि रहिनँ भने
यस काव्यको अन्तिम अध्याय पनि
लेखिँदा लेखिँदै भोलि अपूर्ण रहनसक्छ ।
तर गेष्टापोको ग्याँस च्याम्बर जस्तो
यस सन्त्रासमय समयमा जस्ले
गद्दारी होइन मृत्यु रोजेका छन्
वास्तवमा यी सच्चा जीवन बाँचेका छन् ।
तिनको नश्वर शरीर कायम नरहे पनि
तिनका महान् आशा र अभिलाषाहरू
सधंै सधैं जीवित रहनेछन् ।
जीवनको अन्तिम दिनसम्म,
जो कञ्चन र इमान रहे
तिनका सहज स्मृतिहरू पनि
सधैं–सधैं जीवित रहनेछन्
किनकि ती जति बाँचे
र तिनका असल स्मृतिहरू पनि
सधैं–सधैं जीवित रहनेछन्
वास्तविक जीवनमा
को मर्नेछन् र को बाँचिरहने छन्
त्यसको अन्तिम फैसला समयले गर्नेछ,
र भन्नेछ–
जो देश र जनताको लागि बाँचे
ती मातृभूमिका सच्चा सपूत हुन्
र तिनका पवित्र स्मृतिहरू पनि
सधैं–सधैं जीवित रहनेछन् ।

००० ००० ०००

मैले मेरो राष्ट्रलाई मुटुमा राखेर
मनखुसी जिन्दावाद ! भन्न किन नपाउनू ?
मैले मेरो राष्ट्रका कुलङ्गारहरूका विरुद्ध
मुठ्ठी उठाएर मूर्दावाद ! भन्न किन नपाउनू ?
लुकेर देशको छातीमा तीर चलाउने
ए मेरै देशका शिखण्डीहरू हो
तिम्रो पाखण्डीपनको विरुद्ध
मैले तिमीलाई घृणाले धिक्कार्न किन नपाउनू ?
डम्पिङ साइटका फोहोरजस्तै
राष्ट्रका घीनलाग्दा कसिङ्गरहरूलाई
बुल्डोजर लगाएर
देशले किन आज मनखुसी बढार्न नपाउनू ?

(स्रोत : बन्दी र चन्द्रागिरि, पेज ५३–५४)

Krishna Sen Ichchhuk – Aaiti

कृष्ण सेन ‘इच्छुक’ – आइती

परेला रुझेको तिम्रा आँखामा
असीम पीडा छैन
यो पनि म भन्दिनँ
पीरले भक्कानिएको तिम्रो मुटुमा
असह्रय वेदना छैन
यो पनि म भन्दिनँ
पानी दर्किरहेजस्तै तिम्रो मन धर्किरहेछ, आइती
तिमी रोइरहेकी छौ/आँसुकाढिरहेकी छौ
आज तिम्रो सिउँदोको सिन्दूर पुछिएको छ
तिम्रो रहर खोसिएको छ/तिम्रो खुसी खोसिएको छ
मालीबिनाको फूलबारीमा मैलोजस्तै एक्ली छौ, आइती
आज तिम्रो उमेरको जोली खोसिएको छ ।

पहराको निर्जन फूलजस्तो तिम्रो जीवनमा
विपत्‌को पहिरो गएको छैन
यो पनि म भन्दिनँ
विरहले जलेको व्यथित तिम्रो ह्दयमा
सन्तापको वज्र परेको छैन
यो पनि म भन्दिनँ
आज तिमी हैन मेरो जीवनै उजाडिएजत्तिकै उदास छु म पनि
आइती, तिमी नै भन तर रोएर के हुन्छ ?
रहरहरू जलेर खाग भएझैँ बेहाल तिम्रो छातीमा
घात–प्रतिघातको हुन्डरी चलेको छैन
यो पनि म भन्दिनँ
मन भरङ्गिएको शोकसन्तप्त आलो यौवनमा
विषादको हुरी बहेको छैन
यो पनि म भन्दिनँ
आज तिमी हैन मेरो संसारै बिरानिएजत्तिकै विह्रवल छु म पनि
आइती, तिमी नै भन तर पीर गरेर के हुन्छ ?

यो वर्ष
बाँधेर आँसुले हितको मायालाई
ऊ जाने बाटो छेकेकी थियौ तिमी
साहूको पेचले रन्थनिएको खसमलाई
अँगालोको छाँदले बेरेकी थियौ तिमी
गरेर छियाछिया विदीर्ण मुटुलाई
ऊसँग दसबिन्ती हात जोडेकी थियौ, तिमी
तर, तिम्रो शिरको स्वामी
विवशताको चोट र मर्दको इखले
जाल फाँडेर मुक्ताकाशमा उडेको पन्छी झैँ
वेग हान्दै लाहुर गएको थियो
निष्ठुरीजस्तै तिम्रो हितको परानी
तिमीलाई छाडेर दूर कतै भाउन्निएको थियो।

जस्तो कि
सानैमा टुहुरा हुने
यस देशमा असङ्ख्य नाबालक छन्/तिनलाई हेर
बैँसमा अबलाको जिन्दगी गुजार्ने
तिमीजस्तै हजार न हजार विधवा छन्/तिनलाई हेर
आर्जन खान नपाउँदै तन्नेरी छोराको
निःसन्तान भईमर्ने
पितृजस्तै वृद्ध मातापिता छन्/तिनलाई हेर
के पाए र तिनले पनि तिमीले जस्तै ती लाहुरेबाट
दसधारा आँसुको भाराबाहेक
के छ र तिनीहरूसँग पनि तिम्रो जस्तै
कष्ट, क्लेश र पीडाबाहेक
आइती, दुःखको भारी र चिन्ताबाहेक ।

यसरी, ती जो लाहुर गएर
अर्कैको मुलुकमा पसिना बगाउने गर्छन्
तिनको पसिनाले खडेरीमा
आफ्नै घरको एक बित्ता बारी भिजे कति हुन्छ
ती जो अर्कैका लागि
नाहकमै लडेर व्यर्थैमा मर्ने गर्छन्
तिनको रगतले आफ्नै देशका
बन्जर, मरु र टार रातै पारी सिँचे कति हुन्छ
आइती, अब त मुख फोरेर बोलिदेऊ
पराईको लाखमा घिनले बाँच्नुभन्दा
आमाको काखमा हाँसी–हाँसी मर्न सिके कति हुन्छ ।

Krishna Sen Ichchhuk – Hata Lagyo Shunya

कृष्ण सेन ‘इच्छुक’ – कविता : हात लाग्यो शून्य !

बूढी आमाको गन्गन् झन् बढेर गएको छ
बूढा बाबुको रोगी देह अझ जीर्णकाय भएको छ
घरका डाँडाभाटाहरु मक्केर गलेका छन्
खरको चुहुने छानो झन् तारामण्डल भएको छ
साँझ–बिहानले सधैँ आपत बोकेर आउँछन्
निरुपाय भाइ सधैँ मेरै मुख ताक्छ
यो घर शान्तिको निकुञ्ज हो या अशान्तिको थलो ?
म अघोर पीडाले झोक्रेर चुपचाप सोचिरहेछु ।

वर्षदिनपघि
आमाका धमिला आँखामा पनि सपनाको उज्यालो चहक थियो
बाबुको रुग्ण देहमा पनि ताजा रक्तसञ्चार भएथ्यो
भाइ आशाको पुरानो तान चलाएर
विश्वासको नयाँ सपना बन्थ्यो
विपना तीतो थियो
तैपनि सपना मीठो थियो
झनै मीठो कल्पनाको यान चढेर
घरले जेनतेन गुज्रान गरेकै थियो
तर आज यो के भयो ?

भोको कुकुर आकाशतिर फर्केर रुन्छ
नानीहरु चाचा र खाजा भन्छन्
उदास घरले औडाहाको सुस्केरा फाल्छ
जहानहरु बातैपिच्छे रिसको नरसिङ्घा बजाउँछन्
मर्नु पनि गाह्रो
बाँच्नु पनि अप्ठ्यारो
जीवन सुखको मालसिरी गीत हो
या दुःखको करुण चित्कार ?
म असीम बेदनामा अथाह डुबिरहेछु ।

खोइ के फेरियो र आज गाउँघरमा
गरिबीले ढाड कुप्रिएकै छ
महंगीको पहाड चुलिएकै छ
अभावको भड्खारो गहिरिँदै गएर
टुप्पी–टुप्पीसम्म मान्छे पुरिएकै छ
न मन रुन छाड्यो
न जीवन दुख्न छाड्यो
साहूले भाका नाघेको र पुरानो तमसुक फेरे पनि
असामीका गलाहरु पहिलेझैं रेटिएकै छ ।

घर हेर्छु घर रित्तै छ
देश हेर्छु देश रित्तै छ
कसरी भनूँ आमा, सधैँको गन्गन् छोड्नुस्
कसरी भनूँ बुबा, एक खुराक खाएर अलिकति तङ्ग्रनुस्
चारैतिर हेर्छु हात लाग्यो शून्य !
मेचीदेखि महाकालीसम्म जम्मै उस्तै छ
यो नूतन परिवर्तन हो या पाखण्डीपनको नर्तन ?
म छली इतिहाससित बारम्बार सोधिरहेछु ।

(जनदीप, २०५८)

Krishna Sen Ichchhuk – Haami Biswasta Chhau

कृष्ण सेन ‘इच्छुक’ – हामी विश्वस्त छौं

बदलिंदै गरेको मलीन दिनजस्तै
उदास–उदास र सन्तप्त मन भएको क्षणिक बेला
भलै तिमी जीवनलाई निस्सारमय ठान
तर संसार चिनेर बाँच्नुको अर्थ बुझ्न सकेको दिन
तिमी पनि धर्तीलाई स्वर्णिम पार्न
कम्मर कसौंला भनेर हामी विश्वस्त छौं
ग्रहले छोएका निस्तेज सूर्य र चन्दैजस्तै
उराठ–उराठ र विरक्त भएको छोटो बेला
भलै तिमी चारैतिर धमिलो र अँध्यारोमात्र देख
तर हृदयभरिका बहलाई
उन्मुक्त हाँसोमा फेर्न सकेको दिन
तिमी पनि जिन्दगीको उज्जवल पार्न
तेजिलो साल बोकौला भनेर हामी विश्वस्त छौं
त्यसैले छातीभरि उम्रेर आएको खपिनसक्नु रहरले
चारैतिर गीत सुसाइरहेको बेला
तिम्रो गीत गाउने धोकोको तलतल मेट्न
कुत्कुताइदेला भनेर हामी विश्वस्त छौं
शुभ–सन्देश बोकी आएका दूतजस्तै
यी समयका पहाडहरुमा
यो मन फुक्का र चङ्गा भइरहेको बेला
तिम्रो गीत पनि मुक्तकण्ठले
गुञ्जिरहला भनेर हामी विश्वस्त छौं

(युगबोध पाक्षिकमा प्रकाशित, २०३६ जेठ १६)

(स्रोत : साहित्य संग्रहालय )

Krishna Sen Ichchhuk – Machha Machha Bhyaguto

कृष्ण सेन ‘इच्छुक’ – माछा–माछा भ्यागुतो !

मेच उही हो पर्दा फेरिएको छ
नाटक उही हो दृश्य फेरिएको छ
नायक उही हो अभिनय फेरिएको छ
गीत उही हो भाका फेरिएको छ
‘डमडम’ बाचाहरुको विषालु धुनमा
ताण्डव नृत्यको एकछिन ताल फेरियो भन्दैमा
तिमी ठान्छौ पुरानो नौटङ्की पटाक्षेप भयो ।

रङ्गमञ्चमा थुप्रै कलाकारहरु छन्
महान् र प्रतापी नायक छ
सुन्दर परिधानमा सम्भ्रान्त नायिका छे
र, प्रतिनायकको भूमिकामा तनभिखारी जनता पनि छन्
नाटक बडो सुन्दर छ
र अझ बडो सुन्दर अभिनय गर्दै
नेपथ्यबाट आइरहेको आर्तनादहरुको कोरस् गीतमा
नरमुण्डहरुको मादल ठोकेर
नाचिरहेछ नायक र खुसीले गाइरहेछ
माछा–माछा भ्यागुतो !
माछा–माछा भ्यागुतो ! !
नाटक बडो रोचक छ
तिमी ठान्छौ यो कुनै कल्पनाशील
महाकाव्यको मौलिक प्रस्तुति हो ।

मदिरा उही हो प्याला फेरिएको छ
व्यक्ति उही हो दोसल्ला फेरिएको छ
पल्टन उही हो कवाज फेरिएको छ
धार उही हो तरबार फेरिएको छ
जल्लादहरुको उदार कृपाले
घाँटीमा टाँगेको फाँसीको पुरानो डोरी फेरियो भन्दैमा
तिमी ठान्छौ फेरि अप्राप्य जीवन
सदालाई सुरक्षित भयो ।

सम्मानित दर्शकहरु
कलाका प्रिय प्रशासकहरु
जतिसुकै प्रभावकारी होस् वा उत्कृष्ट अभिनयले पूर्ण
नाटक पुरानै र बासी छ
र, त्यो महान् प्रतापी नायक
यथार्थ जीवनमा सम्झ
तिम्रै टाउकोमाथि गिर खेल्ने
क्रूर खलनायक हुन्छ भने
र, इतिहासको प्रत्येक माछो देखाएर
सधैं भ्यागुताले जिल्याउँछ भने
त्यो तीतो सत्यबोध पनि
के त्यत्तिकै काव्यात्मक हुन्छ ?

Krishna Sen Ichchhuk – Jail

कृष्ण सेन ईच्छुक – जेल

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पर्‍यो र?
मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी
जहाँ काटनु परे पनि त्यो जेल हुन्छ।

जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ
जहाँ मुक्त आकाङ्क्षाहरू बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ
बन्दुकको पहरा होस्
अथवा त्यो कानुनको घेरा होस्
के फरक पर्‍यो र?
मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ।

जहाँ बेला–कुबेला रमन घुमिरहन्छ
जहाँ कारण–अकारण साइरन बजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्को आवाज गरी मार्च–पास चलिरहन्छ
अनि जहाँ मौसम बेमौसम बारुदहरू गर्जेर
सधैँ रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्‍यो र?
मित्र, सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ।

उही दिन सधैँ, उही रात सधैँ
उही बिहान र साँझ साथ छ
उही स्वप्नभङ्ग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पर्‍यो र?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ।

Krishna Sen Ichchhuk – Kanchhi, Bhatti Ra Desh

कृष्ण सेन ‘इच्छुक’ – कान्छी, भट्टी र देश

अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मीठो हाँसो
र अलिकति गरिब माइतीको पुरानो दाइजोले
मानौं प्रकृतिको सुन्दर पसल हो, नेपाल सजाएर
चियाको किटलीजस्तै भक्भकी उम्लिरहेको दुःखी मन अनि
रक्सीका बोतलहरुसित रित्तिरहेको बैंसालु यौवनलाई
विवशताका भोका थाली र कचौराहरुमा पस्केर
सन्तप्त मुस्कानहरुले उदासी बाँडिरहिछ
कान्छी भट्टी थापिरहिछ ।

यात्रीहरु आइरहेछन् / गइरहेछन्
परदेशीहरु गइरहेछन् / आइरहेछन्
कोही उसको रुपको नशा पिइरहेछन्
कोही उसको जीवनको दुर्दशा पिइरहेछन्
विदीर्ण मन अनि जीर्ण तनलाई
जोरेर छट्पटीको तातो भुङ्ग्रोभित्र
खिन्न सुस्केराहरुमा पीडाका धुँवाहरु फाल्दै
दिनरात क्लेश काटिरहिछ
कान्छी भट्टी थापिरहिछ ।

भट्टीमा भात पाकिरहेछ
भात सँगसँगै कान्छीको लाज पाकिरहेछ
भट्टीमा मासु पाकिरहेछ
मासु सँगसँगै कान्छीको आँसु पाकिरहेछ
भट्टीमा रक्सी बिकिरहेछ
रक्सी सँगसँगै कान्छीको श्री बिकिरहेछ
नेपाली छोरी ऊ
हिमालकी गोरी ऊ
विदेशका कोठीमा बेचिएकी अबोध चेलीझैं
गहबाट बहका नदीहरु झारिरहिछ
कान्छी भट्टी थापिरहिछ ।

उसका आँसुहरु
मानौं खुसी खोसिएका कोशीका अशान्त छालहरु हुन्
उसका रहरहरु
मानौं बन्धकी परेका गण्डकीका बेचैन लहरहरु हुन्
र ऊ, मानौं गरिब घरकी सुन्दर कन्याजस्तै
घरिघरि ठालुका कामुक आँखाले डामिएकी कर्णाली हो
जो आफूदेखि धेरै टाढा
सुदूर छाउनी र पराइका मोर्चाहरुमा बेखबर
प्रिय पति र मायालु बन्धुहरुलाई सम्झेर
स्नेहपूर्ण भाकामा डाकिरहिछ
कान्छी भट्टी थापिरहिछ ।

Krishna Sen Ichchhuk – Priya Sakha

कृष्णसेन “इच्छुक” – प्रिय सखा !

ए, मेरो प्रिय सखा !
जीवनसङ्ग्रामको यस दौरानमा
एकै यात्राका सहयात्री हामी
अहिले हाम्रो साथ तिमी नरहे पनि
मुक्तिका लागि विश्वभर लडिरहेका
योद्धाहरूको वीरतापूर्ण कथाहरूमा
एउटा कथा तिम्रो पनि थपिनेछ
न्यायका लागि संसारभर लडिरहेका
जनताको गौरवशाली कथाहरूमा
एउटा कथा तिम्रो पनि थपिनेछ
धरतीभरका जुझारू पुस्ताहरूको
अजेय सङ्घर्ष र विजयका गाथाहरूमा
एउटा भव्य अमरगाथा तिम्रो पनि थपिनेछ
देशभित्र
कतै कुनै कुनाबाट
एउटा आवाज उठे
इन्क्लाबको
त्यो गर्बिलो आवाज तिम्रै आवाज हुनेछ
देशभित्र
कतै कुनै ठाउँबाट
एउटा हात उठे सङ्घषएको
त्यो जोशिलो हात तिम्रै हात हुनेछ
देशभित्र
कतै कुनै दिशाबाट
एउटा हुँकार छुटे विद्रोहको
त्यो प्रचन्ड हुँकार तिम्रै हुँकार हुनेछ
मुक्तियुद्धमा
फलामे किल्ला तोड्ने वीर योद्धाहरूकै अग्रिम पङ्क्तिमा
ए मेरो प्रिय सखा ¤
तिम्रो पनि एउटा अग्रासन हुनेछ
तिम्रो पनि एउटा उच्चासन हुनेछ
जहाँ पनि र जहिले पनि
शान्तिका लागि अशान्तिका विरूद्ध
हलचल हुने ठाउँहरूमा
सबभन्दा पहिले
शीर उठाएर लड्ने
न्यायप्रेमीहरूका अग्रणी तिमी नै हुनेछौँ
हरेक जुलुशमा कसिएका दरा मुट्ठीहरू
तिम्रै मुट्ठीहरू हुनेछन्
हरेक युगमा गोली थाप्ने ढालजस्तै चौडा छातीहरू
तिम्रै छातीहरू हुनेछन्
जहाँ पनि र जहिले पनि
अज्ञान, अन्यौल र अन्धकारका बीच
अलमल्ल हुने मनहरूमा
झलमल्ल ज्योति बन्ने प्रकाशपुञ्ज
तिमी नै हुनेछौँ
एक दिन
यस्तै अन्यौलको सघन कुहिरोलाई चिरेर
जब देशले आफ्नो
लामो निद्राको मौन अन्तराललाई च्यातिरहेको थियो
तिनै सुषुप्त जागरणका घडीहरूमा
मैले दीनदुःखीका आर्तपीडाहरूमा पोख्न सिकेँ
त्यसबेला तिमीले भनेथ्यौँ— “लेख्नुछ, सधै देशका कविताहरू लेख
लेख्नुछ सधै जनताका कविताहरू लेख”
तर, ए मेरो प्रिय सखा ¤
यो कस्तो क्रूर विडम्बना हो ¤
आज मैले त्यसको सट्टा
शोकमा डुबेर
तिम्रै शोकगाथा लेखिरहेछु ¤
युगको आँधीले
जडताको कालो अन्धकारलाई सोहोरेर
जब देशलाई नै बढारिरहेको थियो
यस्तै हलचलका उत्सुक बेलाहरूमा
मैले गीत गाउन सिकेँ
मेरा ती गीतहरूमा
मैले जनताका भावी जीतहरू सुनाउन सिकेँ
त्यसबेला तिमीले रमाइ भनेथ्यौ
“गाउनुछ, सधै मुक्तिका गीतहरू गाऊ”
तर ए मेरो प्रिय सखा ¤
यो कस्तो विसङ्गतिको करूण दुर्घटना हो ¤
आज मैले त्यसको सट्टा
शोकमा डुबेर
तिम्रै शोकगीत गाइरहेछु
अग्घोर पीडा र खिन्न मनको क्षणिक निराशाको यस घडी
म आफैलाई आफ्ना सान्त्वनाका शब्दहरूले
सानो नानीलाई प्यारी आमाले जस्तो सुम्सुम्याइरहेछु
धमिलो भल पसेर सङ्लेको
मूलको निर्मल पानीजस्तै
मैलिएको चित्तलाई
सजल आँशुले धुन खोजेर
म अहिले आफैलाई थुम्थुम्याइरहेछु
तिमीले भनेजस्तै
मेरा ती कविताभन्दा पनि सुन्दर कविता भएर
तिमी अब सर्वोत्तम भावहरूमा हृदयहरूबीच कुदिँनेछौ
यो सुन्दर कविता पढिदिने देश हुनेछ
तिमीले चाहेजस्तै
मेरा ती गीतभन्दा पनि मिठो गीत भएर
तिमी अब मधुरतम लयहरूमा ओठहरू
बीच सुसेलिनेछौ
त्यो मिठो गीत सुनिदिने जनता हुनेछ
गुराँसको थुँगाभन्दा पनि रातो थुँगा भएर
तिमी अब रक्तिम लालीहरूमा सर्वत्र पोतिनेछौ
ती राता थुँगाहरू सिउरिने संसार हुनेछ

(आजभन्दा २७ वर्ष अगाडि २०४२ वैशाख १८ गतेका दिन पंचायती मन्डले र कांग्रेसी गुन्डाहरुको आकर्मणमा परि सहादत प्राप्त गर्नुभएका शहीद मित्रमणि आचार्यको सम्झनामा उहाँका सहपाठी रहनुभएका कवि इच्छुकले लेख्नुभएको यो कविता हामीले शोकाञ्जली खन्डकाव्यबाट लिएका हौं । )

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २६ – May 2, 2012 – २०६९ बैशाख २० गते, बुधबार)

Krisna Sen Ichhuk – Shokanjali

कृष्ण सेन “इच्छुक” –  शोकाञ्जली

स्पात जस्तै तिम्रो दरिलो हातलाई मुठ्ठीमा कसेर
अब म गरम जोशमा साथ
फेरि तिम्रो अभिवादन गर्न सक्ने छैन
भेट हुँदाको प्रिय घडीमा गहिरो आत्मीयताले डोरिएर
पहिले जस्तै फेरि तिमीलाई
अब म बलियो अंगालोमा कस्न सक्ने छैन
तिमीलाई भेट्ने मनको रहर रहर नै रहनेछ
तिमीलाई देख्ने तलतल
तलतल नै रहने छ
तिम्रा स्निग्ध आँखामा आँखाहरु जोडेर
अब म फेरि कहिल्यै
तिम्रो साहचर्यको न्यानो पाउन सक्ने छैन।

०००

कोठामा हुन्छु कोठा सुनो–सुनो झैं लाग्छ
आँगनमा हुन्छु आँगन सुनो–सुनो झैं लाग्छ
दिनमा हुन्छु दिन सुनो–सुनो झैं लाग्छ
रातमा हुन्छु रात सुनो–सुनो झैं लाग्छ
केवल तिमी नै छैनौं यही अनुभूतिले पिरोल्छ
केबल तिमी छैनौं यही स्मृतिले चिथोर्छ
तिम्रो साथमा केहीपल खुशीमा व्यत्तित गरेर अब म फेरि कहिल्यै
तिम्रो स्पर्शको रमाइलो पाउन सक्ने छैन।

०००

यो कस्तो खबर बोकेर ल्याइस ए बादल।
विश्वासै लाग्दैन र घामसित सोधँू
के सोधँू? क्षितिज रोइरहेको छ
यो कस्तो तीतो सन्देश सुनाएर गइस् र हावा।
मनै मान्दैन र जूनसित सोधूँ
के सोधूँ? तारा रोइरहेको छ
त किन मौन र चुुपचापछस् ए पहाड।
पत्यारै पर्दैन र बिहानसित सोधुँ
के सोधूँ? शीत रोइरहेको छ
उजेलोमा हेर्छु रात रोइरहेको छ
अँध्यारोमा हेर्छु रात रोइरहेको छ
फूल रोइरहेको छ/कली रोइरहेको छ
कोसित मैले के सोधूँ र खोई? यस घडी
जता हेर्छु सारा प्रकृति रोइरहेको छ।

०००

बिर्सु भने पनि
कसरी बिर्सु यो गम यो उदासी
तिमीलाई नै बिर्सनु झैं हुनेछ
भुलुँ भने पनि
कसरी भुलुँ यो बह यो रुवाबासी।
तिमीलाई नै भुल्नु झैं हुनेछ
जीवनको लामो यात्रामा जो बिते थुप्रै संगीहरु
तिनीसँगै तिम्रो याद पनि
अझैं चर्को भएर मुटुमा अमिट रहनेछ
हर सुखद घडीमा पनि तिम्रै झल्को लाग्नेछ
ओ, मेरो प्रियसखा।
तिम्रो निश्चल मुस्कानसँगै मुस्कानहरु साटेर
अब म फेरि कहिल्यै
तिम्रो हृदयको चोखो आत्मीयता पाउन सक्नेछैन।

०००

मेरो कविताका प्रिय पाठक तिमी
अब ती कविताहरु पढिदिने तिमी नै हुने छैनौं
मेरो गीतका प्रथम गायक तिमी
अब ती गीतहरु गाइदिने तिमी नै हुने छैनौं
मेरो जीवनको अमिट प्रेरणा तिमी अब म भित्र उत्साहहरु भरिदिने तिमी नै हुने छैनौं
तिमी हिंड्ने प्यूठानका यी बाटाहरु
चेर्नेटाका यी उकाली ओरालीहरु
तिमीलाई नै पर्खिरहनेछन्
तिमी घुम्ने तिग्रा र सिक्रेका लेकहरु
या बेसी र यी हरियालीहरु
तिमीलाई नै संझरहने छन्
तिमी डुल्ने मजुवा वन अनि रम्दी र धुवाड्डका पाखाहरु
यी पार्थुड्डा र गँदारीका फाँट अनि
दोक्रे, तिग्रो र ढाँड खोलाहरु तिमीलाई नै खोजिरहनेछन्
हरमेला,पर्व र उत्सवमा पनि यिनलाई
तिम्र्रै कमी रहिरहने छ
हरपल अब उदास–उदास गुज्रनेछ
पहिले जस्तै यी सबैसंग
हाँसी–हाँसी मितेरी गाँस्ने तिमी नै हुने छैनौं।

०००

तिमीले माया गर्ने गाउँका झुप्राहरुमा गएर अब मैले भन्नु पर्नेछ,
हामीलाई उज्यालो जीवनका साहसिला कथाहरु सुनाउने
हाम्रा ती प्यारा साथी छैनन्,
तिमीले माया गर्ने शहरका कारखानाहरुमा गएर
अब मैले भन्नु पर्नेछ,
हामीलाई मुक्ति–संग्रामका जुक्तिहरु सिकाउने
हाम्रा ती प्यारा संगाती छैनन्
हामीलाई चिन्ने सडकका पेटी र फूटपाथहरुमा गएर
अब मैले भन्नु पर्नेछ,
हामीसंगै मुठ्ठीहरु कसेर इन्क्लावका नाराहरु घन्काउने
हाम्रा ती जोशिला मित्र छैनन्
मर्मान्तक पीडामा शोकमग्न उभिएर
अश्रुपूर्ण गह्रौं नयनहरु चिम्लदै
अघोर बेदनामा डुबेर शब्दहरु टिपेर
अब तिमीलाई श्रद्धाञ्जली दिंदै भन्नुपर्नेछ,
बिहानी घामको रातो झुल्काले जस्तै चेतनाका दिव्य किरणहरु छरेर
हाम्रा बन्द आँखा उघार्ने
जनमुक्ति पथका ती लालयोद्धा छैनन्।

(स्वर्गीय कवि कृष्ण सेन “इच्छुक” प्रगतिशील तथा जनवादी आन्दोलनमा शहिद मित्रमणि आचार्यका सहयात्री हुनुहुन्थ्यो। प्रस्तुत कविता मित्रमणि आचार्यको सम्झनामा कवि इच्छुकले लेख्नुभएको शोकाञ्जली खन्डकाव्यबाट लिइएको हो।)

Krishna Sen Ichhuk – Timro Ra Hamro Sansar

कृष्ण सेन ‘इच्छुक’ –  तिम्रो र हाम्रो संसार

बिल्कुल फरक छ
तिम्रो र हाम्रो संसार
जसरी बिहान र साँझमा फरक छ
जसरी दिन र रातमा फरक छ
जसरी उज्यालो र अँध्यारोमा फरक छ
सुखले भरिएको तिम्रो सम्रिद्धीको संसार
र दु:खले भरिएको हाम्रो गरीबीको संसार
धेरै-धेरै फरक छ
तिमी जन्मँदै
फूलको शैय्यामा जन्म्यौ
हामी काँडामा
तिम्रो भागमा जन्मँदै
मखमलको डसना पर्‍यो
हाम्रो भागमा फाटेको थाङ्ना
तिम्रो भागमा सुनको थाली पर्‍यो
हाम्रो भागमा रित्तो हात खाली
बिल्कुल फरक छ
तिम्रो वैभव र हाम्रो विपन्नताको संसार
धेरै-धेरै फरक छ
कुन त्यस्तो ठाउँ छ
कुन त्यस्तो गाउँ छ
कुन त्यस्तो देश
र, कुन त्यस्तो महादेश
जहाँ तिम्रो र हाम्रो संसार छुट्टीएको छैन
तिम्रो र हाम्रो बीचमा
जहाँ विभेद र विभाजनको रेखा कोरिएको छैन
तिम्रो र हाम्रो वर्ग छुट्टीएको छैन ?
व्यवहार छुट्टीएको छैन ?
जीवन/दर्शन र विचार छुट्टीएको छैन ?
बिल्कुल फरक छ
तिम्रो र हाम्रो वर्गिय संसारमा
धेरै-धेरै फरक छ
हाम्रै भागमा छ
भोक र अकालको प्रकोप
हाम्रै भागमा छ
शोक र अभावको प्रकोप
वर्षाबाढीरोग र महामारीको प्रकोप
हाम्रै भागमा छ
तिम्रो संसारमा बिहान सुरु हुँदा
हाम्रो संसारमा साँझ पर्छ
तिम्रो संसारमा दिन सुरु हुँदा
हाम्रो संसारमा रात पर्छ
तिम्रो संसार जति जति उज्यालो हुन्छ
हाम्रो संसारमा त्यती त्यती अँध्यारो बन्छ
तिमी पश्चिम हामी पूर्व
तिमी दक्षिण हामी उत्तर
ठीक विपरित छौं हामी
तिम्रो र हाम्रो संसार कसरी एकजुट हुन्छ ?
तिमी सुन / हामी फलाम
तिमी हिरा / हामी पत्थर
तिमी राजा / हामी रंक
तिमी सडक / हामी गल्ली
तिमी महल / हामी छाप्रो
तिम्रो भागमा लुटको स्वर्ग
हाम्रो भागमा श्रमको नर्क
बिल्कुल फरक छ
तिम्रो र हाम्रो संसार
र, हाम्रो विचार पनि धेरै धेरै फरक छ
हामी सबथोक फेर्न चाहन्छौ
हाम्रो दु:ख / हाम्रो दुर्भाग्य / हाम्रो दुर्दिन
तिमी सबथोक जोगाउन चाहन्छौ
तिम्रो सुख / तिम्रो सम्रिद्धी / हाम्रो दुर्दिन
र, त बिल्कुल फरक छ
तिम्रो र हाम्रो सोच
तिम्रो र हाम्रो स्वार्थ
तिम्रो र हाम्रो सिङगो संसारमा
धेरै-धेरै फरक छ
आकाश र पातालमा जस्तै
र, असम्भव छ हाम्रो मेल हुन
सिर्फ संघर्ष सिवाय
जो तिमीलाई जत्तिकै हामीलाई पनि सहज स्विकार्य छ
र, एक दिन अपरिहार्य पनि ।

Krishna Sen Ichchhuk – Palestini Mitra Haru Ka Naam Ma

कृष्ण सेन ‘इच्छुक’  – प्यालेस्टिनी मित्रहरुका नाममा

रातो–रातो आलो रगतको निस्सासिँदो दुर्गन्धले भरिएर
मध्यपूर्वीय तातो हावा
सारा ब्रह्माण्डभरि बहिरहेछ
बमको विष्फोट
तोपको गर्जन
र बारुदको धुँवाले
सारा बेरुत सहर खण्डहरजस्तै कुरुप र निर्जन हुँदै गइरहेछ
गाउँका गाउँ बस्तीका बस्ती
उजाड मसानघाटझैं भएका छन्
बाँच्नु र मर्नुको दोसाँधमा
लाखौंलाख निरीह जिन्दगीहरु
आक्रमणकारीहरुको घेराभित्र निसास्सिइरहेछन्
लासमाथि लास ढलिरहेछ
रगतमाथि रगत बगिरहेछ
तुँवालो उडेजस्तो यी रक्तरञ्जित दिनहरुमा
मेरा मित्र तिमीहरु
दिउँसोको काम
रातिको निन्द्रा
र भान्साको छाक छोडेर
कि त आत्मसम्मानले लड्न विवश छौ
कि त असंख्य लासहरुको थुप्रोमाथि
अर्को एउटा लास थपिएर मर्न विवश छौ ।

पवित्र शहिदस्थलजस्तो
सुन्दर–सुन्दर तिम्रो जन्मथलोबाट
जबर्जस्ती बर्बरहरुद्वारा
निष्काशित गरिएका मेरा मित्र तिमीहरुले
आफ्नै खोसिएको देश खोज्नु
तिम्रो कुनै अपराध थिएन
प्यारो–प्यारो तिम्रो घर–दैलो र आँगनबाट खेदिएर
बलजफ्ती लुटेराहरुद्वारा
विस्थापित पारिएका मेरा मित्र तिमीहरुले
आफ्नै गुमेको राष्ट्र खोज्नु
तिम्रो कुनै अपराध थिएन
नाङ्गेझारजस्तै बनाई
देशहीन र राष्ट्रविहीन पार्न खोजे पनि बैरीले
तिनका अघि ज्युँदो स्वाभिमानले
सिङ्गो– सिङ्गो राष्ट्र भएर बाँच्न खोज्नु
तिम्रो कुनै अपराध थिएन
बरु धुरीमाथि पाप चढेको बैरीलाई
तिमीहरुप्रति गरेको आफ्नै अपराधदेखि
रत्तिभर पनि पश्चाताप थिएन ।

विश्वजनमतको घोर उपेक्षा गरेर
ब्वाँसाको धापले निर्दोष जनहरुको नृशंस हत्या गरेर
तिमीमाथि युद्ध थोपरी आक्रमण गर्ने
बौलाएका अटेरी फ्याउराहरुसित
बमको मूस्लो र गोलीका पर्राहरुबीच
आत्मरक्षाका लागि मेरा मित्र तिमीहरु
निर्णायक युद्ध लडिरहेको बेला
शान्तिका नाममा
यहाँबाट आकाशमा परेवा उडाउनुको कुनै अर्थ छैन
पहरा दिएजस्तो चारैतिरबाट अत्याचारीहरुले घेरिएर
आत्मनिर्णयका लागि मेरा मित्र तिमीहरु
न्यायपूर्ण युद्धमा शहीद भइरहेको बेला
फूलपाती सेलाएजस्तै
सदा–सदालाई युद्धबाजहरुको अवसान र
युद्धकै विसर्जन नगरिएसम्म
शान्तिका नाममा
फेरि अर्को युद्धविरामको कुनै अर्थ छैन ।

प्यारा–प्यारा मित्रहरु
हजारौं पर्वत र लाखौं गज परबाट
तिमीहरुसँग युद्धको भूमिमा
बन्दुक बोकेर सामेल हुन नसके पनि
पापीलाई माफी दिनै नसकिने
यो भीषण नरसंहार र
जघन्य रक्तपातका विरुद्धमा
पाँचै औंलाले दह्रो मुठ्ठी कसेर
आहत तर क्षुब्ध मनले
चुनौतीभरि बैरीलाई घृणाहरु अफालेर
र म मेरो एउटा हात
तिम्रो समर्थनमा माथि–माथि उठाइरहेछु
र म मेरो अर्को हात
शान्तिका लागि
नीलो ध्वजा बाँधेर हावामा लहराइरहेछु
हामी शान्ति चाहन्छौं
त्यसैले यो अशान्तिका विरुद्ध
लड मेरा बहादुर मित्रहरु, निर्भीक भएर लड
हामी न्याय चाहन्छौं
त्यसैले यो अन्यायका विरुद्ध
लड मेरा बीर मित्रहरु, निर्भीक भएर लड
मर्नैपर्ने जिन्दगीमा मर्नु भनेको केही पनि होइन
वीरहरुको आहुतिले धर्ती शून्य हुने छैन
न त धर्ती बाँझो नै हुनेछ
र तिम्रो त्याग–आत्मबलिदानको गौरवपूर्ण गाथाले
तिम्रो लक्ष्यको पवित्रतालाई अझ चम्किलो पार्नेछ
र यो निश्चित छ
अन्तिम विजय तिम्रै हो
त्यसैले, लड मेरा सङ्ग्रामी योद्धाहरु
अन्तिम घडीसम्म निर्भीक भएर लड
यो अन्यायपूर्ण युद्धको छिनोफानो गरेर
फेरि यहाँ दानवताले लादेको
यो युद्ध नदोहोरिने
यो विध्वंश र यो संहार नदोहोरिने
शान्ति स्थापनाको ब्रत लिएर
मानवताको जीतको घोषणा गर ।

(बि.सं. २०४० मा पहिलोपल्ट प्रकाशित)

Krishna Sen Ichchhuk – Timi

कृष्ण सेन ‘इच्छुक’ – तिमी

तिमी शिखरमा आफैं पुग, नपुग
हिंड्न तिमी कहिल्यै नछाड्नु
जत्रै बाधाका पहाडहरु तेर्सिउन्
तिमीले पाइला भने आफ्ना नरोक्नु
बाटो अप्ठ्यारो छ, पहिराहरु जालान्
थकाई लाग्ला, मन धमिरिएला
तर तिमी कहिल्यै नडगमगाउनु
शुभमुहूर्तमा मंगलमय साइत सारेर
अविचल मन्जिलतिर बढीरहेका हे यात्री
पन्छाउँदै काँडा र सम्याउँदै ढिस्काहरु
तिमी यही बाटैबाटो हिँड्नु ।

(२०४५ साउन)

Krishna Sen Ichchhuk – Itihas Ko Yas Ghadi Ma

कृष्ण सेन ‘इच्छुक’ – इतिहासको यस घडीमा

यसबेला केही निस्तेज शिरहरु झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु
यसबेला केही दुर्बल मुठ्ठीहरु फुकेर
विनीत भावले जुम्लेहात जोडिरहेछन्
म तिम्रो बज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु
यसबेला केही थकित पाइलाहरु गलेर
माझ बिसौनीमै बास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरुलाई झन् अग्रसर देख्न चाहिरहेछु
यसबेला केही कर्णकटु स्वरहरु काँपेर
प्रशस्ति वाचन गरिरहेछन्
म तिम्रो प्रखर वाणीमा युगको हुंकार सुन्न चाहिरहेछु ।

व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए, मेरो युगको तरुण नायक ।

यसबेला मैले कबिता लेखूँ–नलेखूँ केही फरक पर्दैन
तर तिम्रो आँधी–बेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस संक्रमणहील घडीमा
भोको पेटमा उर्जस्वी चेतनाहरुलाई
निधारबाट रगतका बाछिटाहरु पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्रपुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेँदीमा रातै लालीगुराँस
तिमी भने यो फेँदीमै अल्मलिनु हुन्न ।

(चैत्र, २०४६)

Krishna Sen Ichchhuk – Euta Gaunle Ko Diary

कृष्ण सेन इच्छुक – एउटा गाउँलेको डायरी
(इतिहासको यस घडिमाबाट)

हिजो छिमेक पनि विरानो-विरानो लाग्थ्यो
आज संसारै आफ्नो लाग्छ
हाँस्नुपर्दो रहेछ खुसीले मन
मन हाँसे संसारै हाँस्दो रहेछ
मुटु अब पहिले जसरी दुख्दैन
छाती अब पहिले जस्तो पोल्दैन
गहभित्रै सुकेको पीडाको आँशु
पहिले जसरी अब भक्कानो फुट्दैन
लाग्नुपर्दो रहेछ मनभित्र घाम
संसारै उज्यालो देखिदो रहेछ
दुःखी र गरिबको सुखको दिन ल्याउन
गरिब र दुःखी नै एकजुट भएर लाग्दा
तिनै प्रियजनहरुको सम्झनामा
गाउँको नाम नै
शहीद गाउँ भएको छ ।
र, शहीदहरुको हार्दिक सम्मानमा
निर्माण भएका छन्
असंख्य गेट र स्मारकहरु
डाँडा, थुम्का, लेक र पहाडहरुका नाम
बस्ती, भञ्ज्याङ र चौतारीहरुका नाम
शहीदहरुका नाममा फेरिएका छन्
गाउँ फेरिएको छ
गाउँलेहरु फेरिएका छन्
र, आस्थाको शिखर मन
झन् अग्लो भएर चुलिएको छ ।
बौलाहा हात्तीझैं
धेरैचोटी बौलायो दुश्मन
र, धेरैचोटी गाउँमा आक्रमण गर्यो
कराइरहेको छ धुरीबाट
बैरीहरुको पाप बेसरी
शहीदहरुको रातो रगतले
पापीहरुको घिनलाग्दो चिहान खनेको छ
गाउँमा आउँछन् नयाँ साथीहरु
भेटघाट र कुराकानी गर्छन्
आफन्तले झै सुखदुःख बाँड्छन्
दुःखसुखमा साथ दिन्छन्
सहयोग दिन्छन्/सुरक्षा दिन्छन्
र, घर-घरमा र्सवप्रिय बनेका छन्
आधा दशक
धेरै हण्डर र ठक्कर खायो गाउँले
आधा दशक
धेरै आँधी हुरी र तुफानहरु झेल्यो गाउँले
टिन ठटाएर धपाइएको बाली मास्ने बाँदरहरु जस्तै
भागेर गएका छन्
दुश्मनहरु गाउँबाट अहिले
उठीबास लागेका गाउँलेहरु
फेरी गाउँमा फर्केका छन्
नयाँ दिनको नयाँ घाम उदाएको छ
र, नयाँ हावाको नयाँ लहर
चलिरहेको छ गाउँमा अहिले
महिलाहरु गाउँमा
चुलो चौकोमात्र गर्दैनन् अचेल
केटाकेटीहरु गाउँमा
डण्डीवियो मात्र खेल्दैनन् अचेल
बुढाबुढीहरु गाउँमा
काल पर्खेर मात्र बसिरहँदैनन् अचेल
काललाई समेत जितेर
नयाँ जीवन र नयाँ भविष्यको
सुन्दर अभ्यासमा लागिरहेका छन्
फूलिरहेको गाउँको आँखामा लालुपाते
छातीमा लालीगुराँस फक्रिएको छ
साहसको शस्त्रागारमा
फेरिएको छ संकल्प
विवेकको बारुदखाना सल्किएको छ
महान एकताको विशाल भावले
संकिर्णताको जिर्ण पर्खाल भत्किदै गएको छ
हिजो छिमेक पनि विरानो-विरानो लाग्यो
आज संसारै आफ्नो लाग्छ
हाँस्नु पर्दोरहेछ खुसीले मन
मन हाँसे संसारै हाँस्दोरहेछ
उदाउनु पर्दोरहेछ मनमा चेतनाको घाम
संसारै उज्यालो लाग्दोरहेछ

०५७ कार्तिक १८ राजविराज कारागार
इच्छुक रचनावली (इतिहासको यस घडिमा) बाट