Rabindra Nath Thakur – Dhwani Jaal [From Geetanjali]

हे गुणवान ! तिमीले कस्तो मीठो गीत गाउँछौ :
म केवल मन्त्रमुग्ध भएर सुनिरहेछु, केवल सुनिरहेछु !

तिम्रो गायनको प्रकाश पृथ्वीका कण–कणमा व्याप्त छ :
तिम्रो ध्वनिको गंगा पाषाणखण्डलाई थिचेर जोरसित बगिरहेछ ।
मेरो इच्छा छ, म त्यस ध्वनिमा मिल्न सकूँ, तर मेरो घोक्रोको
ध्वनिले तिम्रो ध्वनिलाई समाल्न पाएको छैन !
मेरो चारैतिर ध्वनिको जाल फिँजिएको छ, तिमीले मलाई यो
अनौठो जालमा खुब बाँध्यौ !

Bhupi Sherchan – Asar

दूर लाहुरबाट
लामो याद
र छोटो बिदा बोकेर

प्रत्येक वर्ष
दशैंमा घर फर्कने लाहुरेझैं
ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर
झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर
खल्तिभरि सोल्टिनीका लागि इन्द्रेणीको हार बोकेर
गुन्टा बोक्ने भरिया बादललाई
फकाएर फुलाएर
अघि-अघि
छिटो-छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-झुम्दै
नाच्दै गाउँदै
बोटोभरि मादल बजाउँदै
बूटको आवाजले
आकाश घन्काउदै
हतार-हतार
चुहाउँदै पसिनाका धार
प्रत्येक वर्ष आउँछ असार।

Sudhir Chhetri – Hippocrit Sambedanshilata

सुधीर छेत्री – हिप्पोक्रिट संवेदनशीलता

“साहित्य, कविता, सत्यं, शिवं, सुन्दरम् -यी के हुन् ? सब अक्षरका खेलमात्र हुन्, अक्षरको एक विशेष मर्यादाक्रम हुन्। आजको भोलि नै यिनलाई बदलिन सकिन्छ, यिनलाई म अहिले नै बदलिनसक्दछु।”
-शङ्कर लामिछाने,

एब्स्ट्र्याक्ट चिन्तन प्याज
कार्निभल चल्दैछ। कार्निभल।
समुद्री ढुङ्गाजस्ता
चिप्ला भूगोलमा
हातहरू पसारिरहेको छ माग्दै केही
थकित अक्टोपस्। मलिलो गर्भाशय छ
मागिरहेछ वीर्य।
त्यसका रूबी झैं टल्कने आँखामा त्रास
एकथरिको बाक्लो।
घनीभूत आतङ्क।
देशको डायरीमा
अनुच्छेद गॉंसेर
कति फर्किपनि सके।
कति अब फर्कंदैनन्।
देशले रगत माग्यो।
कॉंडेतारबाट औंलाहरू बटुलेर
फर्कियो मेरो अङ्गुलीमाल।
मध्यान्हतिर
गाउँका सबै मान्छेहरू
लक्षणाको चोया काट्दैछ।
पोका-पोकामा शून्यता बोकेर बेचिहिँड़्ने
शङ्कराचार्य
खु इ य्य ओछ्याएर बसेको छ।

मार्शल डुश्याम्पले
पिसाब फेर्छ
आधुनिकताको टोपीमा।
वामपन्थीहरू
द्वन्द्ववादको नेपकिनले रगत पुछ्दैछन्
अनि
ट्रोजन हर्सहरू कुदेका-कुदेकै छन्
भुटानी शरणार्थीहरूका सिन्दूर टेक्दै।
कम्रेडले दॉंत कोट्याउन छोडेको छैन।
अध्यात्मको पारदर्शी कवचबाट छर्लङ्ग देखापर्दैछ
कीर्तनका करङहरू।

समयको उपत्यका-उपत्यकामा टेकेर
वर्त्तमानको स्वयंसेवकले
खण्डित शिलालेख कोरेकारहेछन्।

मेरो अभिव्यक्ति
विखण्डनमाथि उफ्रँदै हिडेको छ-

-आचारसंहिताले हात्ती छामिबस्छ

-हिस्सीले कम्मर मर्काइरहन्छ

-अलच्छिन चिलहरू सिलहट कोर्छन्

-खेतभरि ग्रामबालाहरू कागज झैं च्यातिन्छन्

-किसानलाई ऋण साह्रै स्पष्टवक्ता लाग्छ

-फ्लाइओभरमुनि संविधानहरू गुडिरहन्छन्

-पूर्णविरामहरू प्रुफरिडरलाई गुहार-गुहार भन्छन्

-आठौं अनुसूचिबाट शब्दहरू रोएको आवाज आइबस्छ

-इन्द्रजाल पढिरहेछन् खाकी रङ्गका युनिफर्महरू

-चिट्चिट् पसीना आएको छ उद्भिदको निधारमा।

Rabindra Nath Thakur – Sansar Yatra [From Geetanjali]

जल–धारा
प्रभु तिमी अब मेरो घरमा आएका छौ, कृपा गरेर नफर्किदेऊ !
असंख्य वन–जंगलमा साउनको मेघ बर्सिरहेछन्,
अनि रातको पलक बादलको भारले निहुरिएर बन्द भएको छ,
कृपा गरेर नफर्किदेऊ ।
बिजुलीको गडाङ्गगुडुङ्गले निद्रा लोप भयो ।
अब वर्षाको जलधाराका स्वरमा स्वर मिलाएर
गीत गाउने रहर भइरहेछ ।
मेरा आँसुका कण आकाशको अन्धकारमा घुम्दै–घुम्दै
अति उत्सुकतासँग
केही अनुसन्धान गरिरहेछन् !
हे प्रभु ममाथि कृपा गर !
नफर्किदेऊ, नफर्किदेऊ !

Baidyanath Upadhyaya – Maya

वैद्यनाथ उपाध्याय – माया

पीडाले छताछुल्ल भएर
पोखिएको छ दूख
मेरो जीवनको फाँटभरि
म त्यो आकाशलाई
माया गर्छु
म यो धरतीलाई
माया गर्छु
म त्यो फूललाई
या कि त्यस्को सौन्दर्यलाई
माया गर्छु ?
यो माया
कहाँबाट उब्जन्छ
अनि कहाँ बिलाउँछ ?
अप्ठ्यारो भएर
काँडा जस्तै
कहीं बल्झिरहेछ
समय !

Abhi Subedi – Maya Ko Dhisko

धेरै बगेपछि
आँशु जस्तो पानी
सुकेर गए पनि
आकाशमा कटक्क माया लाग्ने
ढिस्को बनाएर जाँदो रहेछ ।

Nawaraj Subba – Yo Sadak Kasko ho?

नवराज सुब्बा – यो सडक कसको हो ?
(मधुपर्क बैशाख, २०६७)

अपहरित यो सडकमा
पहिलो कुरो त
गुड्नलाई पेट्रोल छैन
छैन इन्धन गाडीमा, छैन कहिले पेटमा
कहिलेसडकजाम छ, कहिले चक्काजाम
यस्तै खाल्डाखुल्टी छन् सडक र छातीमा

अरुसित कहिले आफैसित छेलिएर
अनगिन्ति खाडलहरू छिचोल्दै हिँड्नु छ यात्रामा
आइपुगियो आज यहाँ
सायद पर्खदै होलान् कसैले मलाई कतै
मुख्य कुरो भोक निभाउनु छ घरको
अनि धेरैको आँखा लागेको यो स्वतन्त्रताको यौवन
बचाइ हिँड्नुको पीडा सुनाउनु छ सबैलाई
आज अचानक म र मेरो घरबीच बाटोमा
कˆर्यूको फणा फिँजाएर निर्लज्ज बसेको
यो सडक कसको हो ?

जीवनलाई सडक बनाएरै हिँडियो यतिन्जेल
तर गन्तव्य सर्दै गयो क्षितिजसँगै परपर
यो यात्रा, पङ्चर टाल्दै जानुपर्ने चक्का अनि
घरिघरि बन्द भइरहने इञ्जिन चलाएर
घिसार्दैछु म यता जीवन
टायरको धूँवामा निस्सासिएका आशा निल्दै
सिकारीझैं यात्री ढुकेर बसेको छ उता सडक
जो अमिलो, अपच, सन्त्रासका फाल्साहरू
बाटाभरि छताछुल्ल बमन गरेर
बेमौसम लम्पसार छ आज
जहाँ यात्रीले बिना अपराध
जरिबाना तिर्दै हिँड्नु छ
म त साँच्चै अल्मलिए
यसरी मन माड्दै हिड्ने
यो सडक कसको हो ?
मनहरू भाँड्दै हिड्ने
यो सडक कसको हो ?

Giri Shrees Magar – Prashna

गिरी श्रीस मगर – प्रश्न

लग्यो पानी विदेशीले हाम्रो धारा उजाड छ।
न जिउमा लुगालत्ता मुखमा त्यो न माड छ।।
बिजुली सपना झैं भो देश नै अन्धकार भो।
सोध्दछ आज नेपाली यो कस्को सरकार हो?

दुखेको जनवस्तीमा Continue reading “Giri Shrees Magar – Prashna”

Kedar Shrestha – Itihas Ma Sainla Dai

ए साँइला दाइ
म तिमीलाई भन्दैछु
हो तिमीलाई
यी धानका बालाहरु
बहेली खेल्दा
तिमी आलीमा बसेर
मन किन फुलाउँछौ
किन देख्छौ
भकारीका सपनाहरु
हो यो तिम्रै पसिनाको बीज हो
होइन भनेको छैन मैले
यो तिम्रै Continue reading “Kedar Shrestha – Itihas Ma Sainla Dai”

Manoj Kafle (Mansoon) – Tukriyera Feri (Nepali Gajal)

मनोज काफ्ले ‘मनसुन’ –  टुक्रिएर फेरी

टुक्रिएर फेरी आफै डोरिएका हातहरु
मुटुभरी पिडा सही घोरीएका रातहरु

छताछुल्ल पारिदिउकि जमघटमा रोइदिउ
जीवन भयो पातै पात सोरीएका खातहरु

सहिदिउला निधारमा कोरीएको Continue reading “Manoj Kafle (Mansoon) – Tukriyera Feri (Nepali Gajal)”

Rakesh Karki – Eklai Bolne Baani (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – एक्लै बोल्ने बानी (गजल)

एक्लै बोल्ने बानी हो की कोही एक्लै बोली दिन्छन्
फत्फताएर मुस्कुराउँदै मनको कुरा खोली दिन्छन्

पोखुँ सामु खै के पोखुँ आफ्नो व्यथा अरुलाई के र
त्यसैले एक्लै गन्गन् गर्दै दुःख आँशुले घोली दिन्छन्

कसैलाई मायाको तोड होला प्रेमीको विछोड होला
एक्लै बर्बराउन थाल्छन् जब पींडाले पोली दिन्छन्

आफूभित्रको पीर आफैँलाई आफैँ बोलुँ सुनुँ भन्दा
डाक्टरले किन होला मानसिक रोगको गोली दिन्छन्

– लस् एन्जेलस्

Bhim Darshan Roka – Ritu Basanta Na Aayeko Bhaye

ऋतु वसन्त नआएको भए
तिमीले गीत मेरो नगाएको भए
गुराँस यति रातो हुने थिएन
तिमी यसरी नशर्माएको भए !
धर्तीले छातीमा फूल नलाएको भए
छहरामा लहराले चुल्ठी नबाटेको भए
यो वसन्तमा म के पाउने थिएँ ?
पोहर वसन्तमा तिमीले क्यै नलुकाएको भए !
वनले बस्ती नछोएको भए
मनमा मस्ती नआएको भए
फूलको प्याला रित्तिने थिएन
तिमीले यसरी नपियाएको भए !

Homnath Pathak – Kachhuwa (Nepali Baal Kabita)

होमनाथ पाठक – कछुवा

सोझो थियो कछुवा छट्टु थियो खरायो
दौडको होड राख्यो घमण्डी खरायो

आफै जस्तै कछुवालाई फाने गर्यो कछुवाले
उस्तै उस्तै कछुवाहरू प्रत्यके ठाउँ मा बसे

गटे सेट गो भन्दै दौड सुरु भयो
हावाको वेगमा खरायो दौडेर गयो

जुन स्टेसनमा पुग्दा पनि कछुवालाई देख्दा
घमण्डी खरायोको राम्रै मर्यो मेख्ता

Deepak Raj Pandey – Andhyaro

दीपकराज पाण्डे – अँध्यारो

अँध्यारोले चपाइरहेछ
गाउँ, शहर, पहाड, तर्राई र सिंगै देश
अनि निलेको छ जून घाम पनि सुलुत्त !
यसरी चारैतिर अन्धमुष्टि अँध्यारोले
साम्राज्य फैलाएको बेला
कतै तिमी वनमै निभ्न लाग्यौ कि ?
कतै तिमी मनमै निभ्न लाग्यौ कि ?
निभ्ने होइन बल्नुपर्छ तिमी
झिल्को होइन बल्नुपर्छ तिमी
झिल्को होइन मुस्लो भएर
र चिर्नुपर्छ अँध्यारोलाई
उज्यालोका धारिला आराहरूले
र ल्याउनुपर्छ उज्यालो
पुस्तौं पुस्ताका लागि
ता कि यहाँ अँध्यारो ढिम्किनै नपाओस् ।

Rajab – Ghara Gayepachhi

अरूलाई विश्वास छैन
तर ऊ आफैँलाई विश्वास छ
ऊ बाँच्छ
अस्पतालको सघन शैयामा बाँच्छु भन्ने
विश्वास नछोडेर
ऊ अर्धबेहोस छ
र कुरिरहेछ अस्पतालबाट घर हिँड्ने समय
तर डाक्टरहरू भन्छन्
केही दिनपछि
ऊ मृत घोषित हुनेछ
त्यस कारण उसका निकटस्थहरू
ऊ नहुंदाको पीडा खप्ने अभ्यासमा
लागिसके
तर ऊ अर्धचेतनमा सोचिरहेछ
अस्पतालबाट घर जानेछु
र जीवनलाई
ठीक मानिस भएर सपार्नेछु
ऊ सोचिरहेछ
बेलाबेला
सम्बन्ध बिग्रिएका
सबैसँगको कटुता
मधुर गर्नेछु
र मायाका धेरै दृष्टिहरू
जम्मा गर्नेछु
घरको बूढो कुकुरलाई
आफ्नै हातले स्याहार्छु र
अर्को नयाँ छाउरो पाल्न थाल्नेछु
र मानिसको जीवनसँग जोडिने
पशुहरूको प्रेम बुझ्ने
सविस्तार कोसिस गर्नेछु
ऊ सोचिरहेछ
घरमा पस्नेबित्तिकै
सबभन्दा पहिले
सब किताबहरूको
धूलो झार्छु
र तिनलाई
सफा कपडाले पुछ्दै
¥याकमा राख्दै गर्छु
विशेष गरी कथाका, निबन्धका
कविताका, स्मृतिका पुस्तकहरू
चाहनासाथ देखिने, पाइनेतिर राख्छु
र नयाँ किताबहरू
छानीछानी किनेर
थप्छु
र सकभर सब किताबहरूलाई
आफूबाट ओझेल पर्न दिन्नँ
ऊ सोचिरहेछ
यो शैयाबाट घर गएपछि
साँझका
बिहानका
एकएक प्रकृतिको
स्वाद लिन्छु
र सखारका कोपिलाहरू
र सन्ध्याका वयस्क फूलहरू छुन्छु
हिउँ भएका
नदी जमेका
झर्ना बोकेका पहाडहरूको यात्रा गर्छु र
लेकसँग
बेसीसँग
शिखरसँग भेट्छु
ऊ सोचिरहेछ
घर गएपछि
राम्रा साज र शब्दका
ह्दयले बुनेका र गाएका
सबै धुनहरू र गीतहरू सुनिरहन्छु
र बाँच्नुको स्वाद बराबर लिन्छु
तर घर गएपछि

Laxmi Prasad Devkota – Sankalpa Hamro Falos

लक्ष्मी प्रसाद देवकोटा – संकल्प हाम्रो फलोस

संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ,
लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ,
आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्,
भावै मात्र फिंजे तथापि ‘सबको सङ्कल्प हाम्रो फलोस्’ ।

Indra Narthunge – Simmako Naam Ma Naya Chiththi

इन्द्र नारथुङे – सिम्माको नाममा नयाँ चिठ्ठी

तुँवालोको खास्टो ओढेर
सँधै गजधम्म बस्ने निनाम्मा
एक्कासी आधा उधारिएको देखेर
म अलिकति परिवर्तन भएको छु सिम्मा
सायद,
उज्यालोको क्यानभासमा
प्रतिविम्ब उतार्न थालेको छु
तिम्रो र मेरो ।

चौबन्दीको तुनामा तिमीले भिर्ने त्यो बिनायो
म पनि बजाउन चाहन्छु आज
सिम्मा,
भाका तिम्रै भए पनि
शब्द मेरो हुने छ त्यहाँ
आमाले सुनाउने मूलखाँबोको कथा
नक्छुङले फलाक्ने मुन्धुमहरु
थिविया चरीले बोहोरीको रुखमा बसेर कराउने
विरही स्वर
मेरो शब्दभित्र पक्कै हुने छैनन्
विश्वास गर सिम्मा
मेरो गीत तुवाँलो हटेको निनाम्मा जस्तै
सागर पोतिएको हुनेछ,
निराकार, निरामय, निरावृत,
निरालस्य, निरापद्, निराकुल…..
जहाँ हामी,
घाम सँगसँगै उदाउने छौं
घाम सँगसँगै अस्ताउने छौं ।

सिम्मा,
हामीले धेरै पुज्यौं दायलुङलाई
र,
थकाई मेट्न वालाखा पुग्यौं ।
साकेलामा नाच्यौं अनगिन्ती सिलीहरु
हुनसक्छ,
खर्कभरि बुकी फुल्दा
रहरहरु फुले होलान् तिम्रो र मेरो
तर एकदिन
गोठालाको खस्रो हातले निमोठियौं र,
दर्शनढुङ्गामा चकमकको ठ्याक्कसँगै बल्यौं झुलो बनेर ।

हो,
निनाम्मा उघ्रिएको बेला
मन उघार्नु पर्छ अब ।

के छैन हामीसँग
सबथोक छ
पूर्खाको विरासत
तोयामाखियामाको तान
र, घु¥यानमा सिस्नोको झाडी लुटिएको छैन अझै
यति हो,।
अरुको सुरक्षार्थ बुट बजार्दाबजार्दा दिमाग भुत्तिएको छ
सेहें मनहरुको मान राख्दाराख्दै सपना लुटिएको छ
त्यसैले त सिम्मा,
साकेला गीतको भाकाहरुमा
म नयाँ शब्दहरु थप्दै छु,
“सेल्मे र ट्याम्के हाराहार
अधिकार सबैको बराबर
सैसैला हो हुर्रा हाहा” ।

सिम्मा,
निनाम्मा उघ्रिएको बेला
सँघार नाघेर आँगनमा निस्कनु पर्छ आज
पाखाभरी राताम्य फुलेका गुराँशहरुसँग
हामी लिम्चिङबुङ दाँजिनु पर्छ
भत्काएर संस्कारका पर्खालहरु
ढलाएर शासकका शालिकहरु
च्यातेर नाटकका पर्दाहरु
रोकेर निरन्तरताका गतिहरु
एउटा नयाँ बिहानको संखघोष गर्नुपर्छ
सबैले छुन सक्ने
सबैको हुन सक्ने
त्यो विहान
बादल फाटेको निनाम्मा जस्तै
सागर पोतिएको हुनेछ
नराकार, निरामय, निरावृत
निरालस्य, निरापद्, निराकुल…..
जहाँ हामी
घाम सँगसँगै उदाउने छौं
घाम सँगसँगै अस्ताउने छौं ।

*****
किरात चाम्लिङ राई भाषाका शब्द र मिथकहरुको अर्थ

सिम्मा —खुसे, कान्छी छोरी
निनाम्मा–आकाश
लिम्चिङबुङ–लेकमा फुल्ने एक प्रकारको वास्नादार फूल
वालाखा —-पानी भर्ने पँधेरो (किरात राईका बिजुवाहरुले मुन्धुम फलाक्दै
जाँदा पहिलो पल्ट बिसाउने ठाउँ)
मुन्धुम——किरातहरुको धर्म शास्त्र
तोयामाखियामा—एक किरात लोककथा भित्रका किराती दिदीबहिनी, छोरीचेली
साकेला——किरात राईहरुको बिजुवाले जमिन खोस्रेर निकाल्ने अण्डा आकारको ढुङ्गा, (जुन ढुङ्गाको रङ हेरेर शुभ अशुभ छुट्याईने गरिन्छ) ।
सिली——-साकेला नाच नाच्ने विधी
दायलुङ——चुल्हा, अगेना
नक्छुङ——किरात राई जातिको बिजुवा
मूल खाँबोको कथा—किरात राईहरुमा प्रचलित एक मिथक
थविया चरा र बोहोरीको रुख—किरात राईहरुमा प्रचलित एक मिथक
सेहें —–तलबितल परेर मृत्यु भएकाहरुको आत्मा, जसले बाँच्नेहरुलाई दुःख दिन्छ भन्ने भनाई छ ।

Sulochana Manandhar Dhital – Jajarkot

सुलोचना मानन्धर धिताल – जाजरकोट

सिङ्गो पोखरीमा
विष घोलेपछि
के ठूलो माछा
अनि के सानो माछा
सबैलाई मर्नु नै त छ !

Basu Dev Adhikari – Safa Tempo

वासुदेव अधिकारी – सफा टेम्पो
(मधुपर्क जेठ, २०६८)

कति चढ्नु
प्रदुषित टेम्पो ?
म त सफा टेम्पो चढ्ने साथी
म त सफा टेम्पो ।
कीर्तिपुर जान
उत्ति लाग्ने हो पैसा
उस्तै लाग्ने हो समय
किन चढ्ने धुँवाको Continue reading “Basu Dev Adhikari – Safa Tempo”

Nawaraj Subba – Ma Naharayeko Suchana

कसैलाई कहीँ पर्खाएर
म यहाँ यसै अल्मलिइरहेछु
वाध्यताको झरीमा रुझिरहेछु
खुट्टा थाकेका छैनन्
ईच्छा मरेका छैनन्
यात्रा टुङ्गेको छैन
कुहिरो नहटुन्जेल
आफैमा ओत लागेको छु
सम्झ झाडी पन्छाउदैछु
गोरेटो Continue reading “Nawaraj Subba – Ma Naharayeko Suchana”