Laxmi Prasad Devkota – Gaunthali Ra Devkota

क.
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !

ख.
यस घाटमा क्या बाघ र पाठो पानी पिउँछ !
प्रकृति बसेर, दुइटैको दिल,
एक धागोमा सिउँछ, सिउँछ !
त्यो तर्सिन्न, म शङ्किन !
मध्यरातमा एक कोठामा
दुइटै जीवको जाग्ने निहुँ छ
तलतिर लागे यस संसारमा
आगो, आगो,
मास्तिर ज्यादा लागेदेखिन्
यशको चिसो हिउँ छ, हिउँ छ !
बीच बासो,
फ्यारफ्यार मध्यम,
रसले जिउँछ, रसले जिउँछ !

ग.
बिजुलीको तार लामो, मसिनो,
तानिएको हेर ! यहाँ छ !
तरङ्ग, लहर क्यै त्यसमा जिउँछ !
त्यसमा गौंथली रातमा रुँग्छ,
कविको मन पनि त्यस्तै उँग्छ !
स्वर्गले रोई हेरिरहेको
भिजेकी पृथिवी मनले सुँघ्छ !
दिनभर, दिनभर,
दिलले, साधन त्यस्तै हिलोमा
प्यारका एउटा महल बनाउन,
ठुँग्छ, ठुँग्छ !
सूनसानमा निशिको, सुत्दा
सारा संसार, जागी, जागी,
कल्पनाको आँखा उँग्छ !

घ.
सुहृद्मधु छन्, कविता, पोथी,
सँगकी ज्योति !
यस जगत्मा खँदिलो बासो
निम्ति, उनको ‘चिउँ’ छ ! ‘पिउँ’ छ !
मधुमास बिताउन नेपाल छान्यौं,
विवाहपछाडि,
स्वस्थ र अग्लो ठाउँ जुन छ ।
गौंथली र देवकोटाको
अध्यात्म मितेरी चुपचाप रुन्छ !
सृष्टिको हाम्रो पीडा देखी,
करुणादृग झैं तारामय नभ,
करयाइँबाट झ्यालमा चिहाई,
एक तारमा गुड्छ गुड्छ !
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !

ङ.
वसन्त पछाडि लागी आयौं !
स्वपनाको फुल बिपना हुन्छ !
गौरी–शङ्कर गाना गायौं —
प्रकृति पुरुषको जुहारी परस्पर,
गाना जुन छ !
त्यो चुच्चाको, यस रसनाको,
गाउँदो रचना हाम्रो घर हो !
युगका बच्चा आँखा उघार्लान्,
हेर्दै पर हो !
दिनभर, दिनभर,
जगत्ले कुल्ची हिंड्ने हिलोमा,
हाम्रो नजर छ
त्यही हो हाम्रो घरको साधन !
यस्तो ईँट र यस्तो माटो, नेपालभर छ !
पृथिवीभर छ !
दिनभर, दिनभर, फ्यारफ्यार, भुर्भुर,
माटोको गन्ध नाकले सुँघ्छ !
स्वर्ग रोई, गीला, बनेका हिला चुचाले
उचाल्न खोजी ठुँग्छ, ठुँग्छ
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !

च.
बच्चा काढी यस गुँडमा जब
तिनको पखेटा उम्रन्छ !
वनमा लगीकन तिनलाई उडाउन,
हाम्रो मीठो मनसूब छ !
त्यसपछि प्यारा, प्यारी हामी
कविकविताको गौंथली जोडी
उड्छ, उड्छ !
सागर–किनार पुग्छौं, फ्यारफ्यार
एक बार फर्की,
आँसुले हेर्न,
मानिसहरुको जङ्गल जुन छ !
डुब्छौं, दम्पति सागरमा तब,
सुखमा हाम्रो आत्मा बुड्छ !
प्रसव–वेदनाको यो सदनको
पीडा उड्छ !
गौंथली र देवकोटाको,
एउटै गुँड छ ! एउटै गुण छ !

Rakesh Karki – Prakriti

इन्जिनियर राकेश कार्की – प्रकृति

प्रकृतिको नियम हुन्छ
जीवन जन्मन्छ अनि मर्छ
समयमै जन्माउछ प्रकृति
समयमा नै मार्छ

प्रकृतिका भक्षकहरु
महत्वांकाक्षी त हुन्छन्
जतिखेर पनि मार्नसक्छन्
जन्माउन सक्दैनन

बदलिदिन्छन् प्रकृतिका नियम
बन्दुकको नालले
मारीदिन्छन् समय अघि नै
निरीहलाइ कालले

जन्माउनलाइ बा आमा
मार्नलाइ जो कोही पात्र
बचाउनलाइ कति कठिन
मार्नलाइ एक्कैछिन मात्र

हांस्नेहरु हांस्या हास्यै छन्
अरुलाइ हांस्न दिंदैनन्
थोरैले मात्र हांस्छन्
धेरै धेरैलाई रुवाउछन्

प्रकृतिमा प्रभुत्व जमाउनेहरु
प्रभुत्व जमाउन खोज्नेहरु
प्रकृतिको नियम त बदल्छन्
तर आफूपनि त्यहीं परिधिभित्र छन्

Rabindra Nath Thakur – Jeevan Pokhari [From Geetanjali]

जब जीवनको पोखरी सूखा हुन्छ, ह्दय कमलका पखेटाहरु
खुम्चिन्छन्, त्यस वेल तिमी करुणाका बादलहरुसँग उड्दै–घुम्दै
आउनू !
जब जीवनको सम्पूर्ण मिठास भएको कटुताको सुक्खा मरुस्थलमा
बदलियोस्, त्यस वेला तिमी गीतहरुको सरस गंगा बनेर आकाशबाट
झर्नु !
जब सांसारिक कामको कोलाहल दश दिशाहरुबाट उठेर गर्जिरहेको
होला अनि मलाई आङ्खनो सीमामा ने बन्दी बनाउला, त्यसैले हे
प्रशान्त
नाथ ! मेरोमा शान्ति र विश्राम–दूत बनेर आउनू !

जब मेरो दीन–हीन ह्दय आफैँ समातेर कुनामा बसिरहेको हुँला,
त्यस वेला हे उदार नाथ ! मेरो ढोका खोलेर राजसी–उत्सवसँग,
मेरो घरमा प्रवेश गर्नु !

जब प्रलोभनहरु आङ्खना उग्र धूलि तथा चम्किला वंचनाहरुले
विवेकलाई अन्धो पारिदिन्छन्, त्यसवेला तिमी हे नाथ ! आङ्खनो
तेज र आजस्वी ज्याति लिएर आउनू !
भाग्यहीन
उ मेरो छेउमा आएर बस्या, तथापि म बिउँझिनँ
भाग्यहीन ! तिमीलाई यस्तो निद्रा कसरी आयो ?
उ आउँदा प्रशान्त रातको वेला थियो, उसको हातमा वीणा थियो,
मेरो स्वप्न उसको झङ्कारको स्वरमा रुमयिल्लएको थियो !
जागा भएपछि मैले देखेँ, दक्षिण दिशाका हावा चारैतिर अन्धकारमा
आङ्खना गन्ध प्रसारित गर्दै चलिरहेका थिए ।
मेरो सम्पूर्ण रात यसरी नै बित्यो ?
किन हो, उसको सासको स्पर्श त भयो तर दर्शनचाहिँ भएन ?
भाग्यहीन ! उसको कण्ठ–मालाले छाति स्पर्श गर्यो तर अङ्कमाल हुन
सकेन !

Komal Shrestha Malla – Sawari Chalaunchhan

कोमल श्रेष्ठ मल्ल – सवारी चलाउँछन

जून भुलेर
रात रमाउने
घाम छेकेर
दिन जन्माउने
मनुवा यज्ञमा
ढुङ्गा, मुढा, टायरका चरुहरु
सडक सहन्छ

लासका बिस्कुनहरू
सडक बोक्छ
अनि रगतको अभिषेकमा
मात्र मृत्यु उमार्दै उमार्दै
सडक आधुनिक ताण्डप गीत नृत्य भोगेर
खरानि,तिलक उत्सवमा
विजय महशुस गर्छ ???
उफ !
माउतेहरु
तहस नहस सडक चढेर
बिदुर,बिधवा,बालक
बृद्द ….. मा कोर्रा ठोक्दै
नोट खान्छन
मान्छे चपाउँछन
महल सजाउँछन

रक्त रंगीन सडक,
चहार्छन ?
लतार्छन ?
र डकार्छन ??
नपुगेर
सडक उचाल्छन
सडक उमाल्छन
सडक गाल्छन
र बिनासका चक्रब्यूह बुनेर
स्वनासका
सवारी चलाउँछन ???

Rabindra Nath Thakur – Sanchit Dhan [From Geetanjali]

संचित धन
दिन बितेपछि मृत्यु जब तिम्रो ढोकामा आउला,
उसलाई तिमीले के
उपहार दिने ?
मेरो प्राणको सागर रत्नले खचाखच छ,
यी सबै रत्न उसको
अगाडि राखिदिन्छु ।
जुन दिन मृत्युको दूत मेरो ढोकामा आउला
त्यस दिन उसलाई खाली
हात पठाउनेछैन ।

शरद्, वसन्त, संध्या, प्रभात, दिवस, रजनीरुपी वाटिकाका पुष्पद्वारा
संचित रसहरुको भण्डार मेरो जीवन–पात्र छ,
सुख–दुःख, छाया–प्रकाशका विविध पत्र–पुष्पहरुले मेरो अन्तःकरण
सजाइएको छ,
जति संचित धन सजाएर आङ्खनो जीवन–पथको आखिरी दिन,
जब मृत्यु मेरो ढोकामा आउँछ, म उसको अगाडि राख्छु ।

Baidyanath Upadhyaya – Samaya Ka Dob Haru

वैद्यनाथ उपाध्याय – समयका डोबहरू

अनुहारभरि कुँदिएका छन
समयका डोबहरू-
पीडाका भूगोलहरूमा
पहाडको दुर्गम उँचाई लम्कँदैंछ
मेरो समय
इच्छाहरूको पहिरो लागेर
थिचिएकाछन मेरा खुसीहरू
नदी नाला र खहरेहरूमा
विराग अलापदै
बगिरहेका छन
धेरै चाहनाहरू
अतृप्त, असंगत
भावनाहरूको भूमरी चलेको
यो अपांग क्षणमा
तिम्रो अनुहारभरि
दौडिएका उदासीका धर्साहरूमा
विचलित छन एकाएक
मेरा कयौं चाहनाहरू !
कालको बैशाखी उभिएर
नियालिरहेछु निस्पृह, निर्लिप्त
दोबाटोमा उभ्याइएको
निर्जीव सालिग सरह..

Pramod Snehi – Salla Jhain Susaundai

प्रमोद स्नेही – सल्लाझैँ सुसाउँदै
(मधुपर्क पुस, २०६७)

जीवनको लय सधैँ
एउटै गतिमा नबग्दो रहेछ ।
मृगतृष्णा बोकेर आँखामा
वर्षौ भयो ।
यो वृद्धआश्रमको आँगनमा
पहार ताप्दै
आफैलाई झूठो आश्वासन दिएर
पर्खिरहेछु
कोही Continue reading “Pramod Snehi – Salla Jhain Susaundai”

Krishna Bahadur Chhetri – Drishya Pariwartan Ko Chahana Ma

देखें त्यहां एउटा लामो धर्को
बर्को ओढ्नेहरुको लर्को
मलाई लाग्यो उनीलाई नदेख्दा झर्को
मैले हेर्न चाहें दृश्य अर्को

माघको महिना मध्यतिर
तुषारोको छ चीसो ज्यास्ती
कंमाउंदै छ मुटु लग्लग् बिहानको जाडो
पर्खिरहेछु म उनीलाई मानेर यही मस्ती

बाटुलो मुख जूनको रुप
मुस्कान अदभूत लिई आएको देखिन
दिन-रात सधै मनले पुज्ने
ती बाहेक अर्की संसारमै भेटिन

Prem Binod Nandan – Baschhu Ma Ta Himalko Chhayama

प्रेम विनोद नन्दन – बस्छु म त हिमालको छायाँमा

बस्छु म त हिमालको छायाँमा
गाउँछु गीत नेपालको मायामा

कहीं छैन यो हसिलो हिमालझैं हाम्रो
कहीं छैन यो रसिलो नेपालझैं राम्रो
जहा जाऊँ अति लाग्छ यो नेपाली Continue reading “Prem Binod Nandan – Baschhu Ma Ta Himalko Chhayama”

Rajab – Draupadi

द्रौपदी
खेलिरहेछन् सहस्र पाण्डव औँलाहरू
तिम्रो नङ्ग्याइमा
तिम्रो न·नताको चाह नगर्ने
कुनै देवता छैनन्
प्रत्येक ईश्वर खोजिरहेछन् तिम्रो यौवन
तिम्रो नङ्ग्याइको होडयुद्ध छ
प्रथम पाण्डवहरूदेखि नै
तिम्रो वस्त्र पुरुषहरूले ओढेका छन्
छाला पनि छोडाएर
तिमीलाई हेर्ने चाह व्याप्त छ
द्रौपदी
अब तिम्रो लागि युद्ध लड्ने
कुनै पाण्डव छैनन्

Biplav Pratik – Aparajit

बिप्लव प्रतिक – अपराजित

हारपछि हात बाँधिनु मात्रै हुँदैन
उदास रहेर अडेस लाग्नु मात्रै हुँदैन
प्रत्येक हार नै जितको अर्को नाम हो
पराजित नै आखिरमा अपराजित हुन्छ ।

सूर्योदय हुनु छ र अँध्यारो मेटिनु Continue reading “Biplav Pratik – Aparajit”

Binod Aryal – Byarek Ko Dubo

विनोद अर्याल – ब्यारेकको दूबो
(मधुपर्क साउन, २०६७)

म ब्यारेकको दूबो
कहिले जङ्गी बुटहरूले
कहिले बन्दुकका नाल र कुन्दाले
कहिले रातो तातो गोलीले
सत्ताका खेलाडीहरू
मेरो टाउकोमा खेलिरहेछन् ।
म तल Continue reading “Binod Aryal – Byarek Ko Dubo”

Biwash Bipra – Ho ! Sanchhai Ma Harayeko Chhu !

बिवश बिप्र – हो ! साँच्चै म हराएको छु !

यि हरित-लतीका बिचैबिच
रङ्गको बासना मगमग छर्दै,
कोमल परागहरु
माटोका कण-कणमा सेचन गरेर
कल-कल गरी सुसेली हाल्दै,
यात्राको माधुर्यता नाप्दै,
आफ्नै गतिमा
उनि बहिरहेछिन !
अनि बहिरहेछिन !

गुप्तेस्वर भित्र
एक्लो म…
उनको गुन्जन कानका भित्ता भित्तामा ठोकिएर

छङ ! छङ !छङ !छङ !छङ !छङ ! छङ ! छङ ………..

कहाँ हो कहाँ …………???
म भन्दा धेरै तल
पातल भन्दा धेरै मुनी

म पुग्न सकिन….
कहिल्यै पुग्न सकिन….

माटोकै भित्ता त होलान नी ??
मैले देखेका जस्तै ढुंगा त होलान नी ??
ओहो !ति ढुंगाहरु त सार्है भाग्यमानी पो होलान ….
न डर….
न चिन्ता ..
न पिर …
न बेदना…

उनि बस्ने स्थान भरि
यता….
उता….
जता…
ततै….
कति स्वतन्त्र होलान …. ??
तिनिहरु ….

वा,
त्यो छङ ! छङ ! गर्ने आवाज
ति ढुङ्गा र माटोको गुन्जन पो हो कि ?
अथवा उमङ्गको मन्चन पो हो कि ?

यसरी,
मनको एक्लो दर्शक बनेको म
आज हाँसेको छु !
साँच्चै म हराएको छु !
हो साँच्चै म हराएको छु !

कहाँ कहाँ……………..?????

(Sent to Sanjaal Corps via Email)

Santosh Lamichhane – Khot

सन्तोष लामिछाने – खोट

मैले क्षणहरु बगाउंदै गर्दा
तिमी मष्तिष्कको चोटाबाट
चिन्तनका चिउरा चपाउँदै
ममाथि चोर औंला ठडयाउँने गर्छौ

तिमीभित्रै च्याप्पिएर
उकुस मुकुस भएका सपनामा चोबलेर
तिमी भलाई पश्चाताप पस्कने गर्छौ

मरुमुमिमा निरन्तर हिंडिरहेको
एउटा उँटको थकाइमार्ने धोको जस्तो गरी
कुण्ठा अनि पुर्वाग्रहहरुको पोको खोतलेर
तिमी मलाई खोटको चश्माले हेर्ने गर्छौ

तर हे आफुले आफैलाई निर्णयक सोच्ने तिमी
एकपटक स्वच्छ मन लिएर सोच
तटस्थ भएर निष्कर्ष निकालेर हेर
नियोजित होइन निरपेक्ष भएर फैसला गर

अनि तिम्रा जन्मान्ध ईन्द्रियहरुले क्षणहरु बग्दै गर्दा
सृष्टिका हजारौं रँगहरु देख्नेछन्

निस्लोट तिम्रा संवेदनाहरू
मानवताका दृष्टान्त भएर जाग्नेछन्

तिमीले निर्जीव देखेर इन्कार गरेका सृष्टिका झुप्राहरु
सिर्जनाका उत्पात ठूला इमारत भएर उठनेछन

समयका नालीबेलीहरु
तिम्रो पटयारका पटक्कै सिकार हुने छैनन्

सँगसँगै
क्षणकै छहारीमा तिमी आँफै पनि
उत्तरोत्तर उन्मुक्त हुँदै जानेछौ
अनि उन्माद र उत्साहका उदयले
खोटको उत्पक्ति हुनै छाड्ने छ
खोटको उत्पक्ति हुनै छाड्ने छ ।

Kshetra Pratap Adhikari – Bhariya Jyami Ityadi

क्षेत्रप्रताप अधिकारी – भरिया, ज्यामी, इत्यादि

डोकोमा गाउँ बोकेर
उकालो लागेको धनमान
ठाँटी पाटीमा कतै
एक बर्को शान्ति ओढेर
निर्धक्क
थकाइ निदाउँछु भन्छ
भरियाले चाहेको त्यत्ति हो ।

डल्ला फर्काइफर्काई घाममा
अधियाँ जोतिरहेको हर्षबहादुर
सुस्केरा रोपेर टारीमा
जीविका फलाउँछु भन्छ
ढिँडो खाने बेलामा अलिकति
शान्तिको सितन चाहियो
हलीको इच्छा त्यत्ति हो ।

खसीको आँखामा
खुसी हुर्काएर
दसैँ पर्खिरहेका केटाकेटी
पारि पाखातिर
चितुवा कराएपछि
हारगुहार मागिरहेछन्
गोठालाको अनुनय त्यत्ति हो ।

औँला रोपेर असारमा
सहकाल कोरलिरहेका
रोपाहारहरू भन्छन्-
असिना आएन भने
पसिना फल्छ
सुरक्षाको छाता चाहियो
खेतालाको विनय त्यत्ति हो ।

दिनभरि
ढुङ्गा फुटाएर गिट्टीमा
जीवन खोजिरहेकी
द्वन्द्वपीडित विधवालाई
टुहुरा छोप्न रातभरि
एक मजेत्रो शान्ति देऊ
ज्यामीले मागेको त्यत्ति हो ।

नेपाल साप्ताहिक १३६

Yogendra Raj Sharma – Gothalo Drishti

योगेन्द्र राज शर्मा – गोठालो दृष्टि

यो समय
आहाल बसिरहेको भैँसीमाथि
बसिरहेछन् भ्यागुताहरु
र कुरिरहेछन् भैँसीको भव्य प्रस्थान ।

केही समयअघि
यही घोलमा
कुरिरहेका थिए आन्द्रो सुकेका जुकाहरु
भैँसीको Continue reading “Yogendra Raj Sharma – Gothalo Drishti”

Rabindra Nath Thakur – Biraha Alok [From Geetanjali]

प्रकाश : प्रकाश कहाँ छ र ?
विरहको आलोकले प्रदीप प्रदीप्त गर !
जलिसकेको प्रदीप राख, विरहको नयाँ आलोकले त्यसलाई बाल !

‘यस्तो नै भाग्मा लेखिएको छ,’ यसो भन्नु भन्दा मर्नु असल हो :
विरहको अग्निले आङ्खनो प्रदीप बाल !

वेदनारुपी दूती गाइरहेकी छ,
‘ऐ प्राण !’ तिम्रो निम्ति भगवान् जागरुक भएका छन् :
त्यो रातको अँध्यारोमा साथी–सङ्गीका निम्ति तिमीलाई पुकार
गरिरहेछन्,
तिमीलाई दुःखी देखीकन उनीहरु तिम्रो प्रेम गौरवान्वित ठान्दछन् :
तिम्रो तिम्ति भगवान् जागरुक भएका छन् !

अम्बर प्रांगण मेघले परिपूर्ण छन्,
वर्षाको पानी झर–झर–झर झरिरहेछन् :
जलिसकेको प्रदीपलाई विरहको आलोकले बाल :
यो तिमिराछन्न रात्रिमा म एक्लै कसैको प्रतीक्षामा जागृत छु ?
वर्षाको पानी झर–झर–झर झरिरहेछन् :
बिजसलीको ज्योति क्षणभर मात्रको लागि न हो, नाउ निस्पट्ट
अन्धकारले घेरेको छ :
कसले जान्दछ र कि कति टढादेखि रात्रिको गम्भीर सङ्गीतको
स्वर आइरहेछ ?
त्यो सङ्गतिले मेरो सम्पूर्ण आत्मालाई उपट्टि खिचिरहेछ !
प्रकाश कहाँ छ ? प्रकाश कहाँ छ र ?
अब विरहको अग्निले नै प्रदीप बाल, जगाऊ, प्रेमी ! जगाऊ ।

मेघ गर्जिरहेछन्, वायस मन्द मन्द बहिरहेछ :
वेला भइसकयो, अब कहीँ जानु असम्भव होला :
निस्पट्ट निशा आबनूसको कालो ढुंगा झैँ कालो छ,
यस्तो रातमा प्राणलाई प्रेमको प्रदीपले प्रकाशित गर !
आङ्खनो प्रदीपलाई विरहको अग्निले नै प्रदीप्त गर !

Bhim Darshan Roka – Nepal Dekhda Katai Dekheko Jhain

नेपाल देख्दा कतै देखेको झैँ,
बिहान कतै आँगन टेकेको झैँ,
यस्तो लाग्यो हृदयमा मेरो,
सपनामा कतै भेटेको झैँ,
नेपाल देख्दा कतै…।
टाढा टाकुराबाट गाएको झैँ,
पहराबाट गोरेटो आएको झैँ,
यस्तो लाग्यो हृदयमा Continue reading “Bhim Darshan Roka – Nepal Dekhda Katai Dekheko Jhain”

Anjan Shrestha Abhagi – Janata Bhok Bhokai Mareka (Gajal)

अन्जान श्रेष्ठ (अभागी) – जनता भोक भोकै मरेका

जनता भोक भोकै मरेका, छन हेर नेताहरु ।।
रिसले चुर चुर भएका, छन हेर नेताहरु ।।

जुन नेता आएपनि आफ्नै पेट भरछन ।।
ठिक पार्न कम्मर कसेका, छन हेर नेताहरु ।।

जतिबेला पनि चुनाव भन्छौ बनाउदैनौ ।।
सबिधान बनाउन झरेका, छन हेर नेताहरु ।।

जुन पार्टीले सरकार चलाएपनि त्यस्तै ।।
जनता आल्दोलनमा उत्रेका ,छन हेर नेताहरु ।।

एक जुट हुदैनौ किन बाबुराम प्रचन्ध ।।
हेर्दा हेर्दै वाक्क परेका, छन हेर नेताहरु ।।

कुवाकोट कान्छीबजार स्याङजा / हाल India

Khagendra Giri Kopila – Samjhana Ka Chhayan Haru (Nepali Gajal)

खगेन्द्र गिरी ‘कोपिला’ – (गजल)
(Source: मधुपर्क जेठ, २०६८)

सम्झनाका छायाँहरू सम्झिर’न पाए पुग्यो
जूनकीरीझैँ अँधेरीमा चम्किर’न पाए पुग्यो

सँगालेर पीडाहरू अँगालेर खुसीहरू
हृदयको गोरेटोमा लम्किर’न Continue reading “Khagendra Giri Kopila – Samjhana Ka Chhayan Haru (Nepali Gajal)”