B S Chhetri – Swabhiman

बि.एस .क्षेत्री – स्वाभिमान

तिमी मलाई जे भन…
मैले  आफु उभिएको  धरातल
र आफु माथिको आकास बिर्सेको छैन
पद र पैसा को निम्ति
आफ्नो नैतिकता  बेचेको छैन
जवानी को माद लागेर
सडक भरी छताछुल्ल बैंस पोखेको छैन
जागीर  बचाउन
कसैको गुलामी र चापलूसी गरेको छैन
कर्मचारीतंत्रको  सस्तो
कठपुतली बनेको छैन

मलाई थाहा छ
तिमी मेरो योग्येताको कदर कदापि गर्दैनौ
तिमी मलाई मेरो ईमानदारीको
तक्मा भिराउनु पर्दैन
खुला मंच मा फुल मालाले स्वागत गर्नु पर्दैन
नया दुलहीलाई जस्तो आरती उतार्नु  पर्दैन

तिमी आफै दरिद्र छौ
मलाई तिम्रो दयाको भिक चाहीदैन
मलाई जोगीको घरमा पाहुना लाग्नु छैन
मलाई स्वतंत्रताको अर्थ नसोध
म आफै मज़बूरी को दास हु
मेरो बिचारलाई कुनै  बाद र सिद्धान्तमा जोडेर नहेर
हराउने छौ  आफैमा

मेरो कुरा तिमीलाई आदर्श  लाग्ला
नैतिकताको शब्द ले ऐंजेरू झै बिझ्ला
तर म कसैको निम्ति
मेरो स्वविमान सम्झौता गर्न सक्दिन
संसार लाई झुकक्य पनि आफ्नै नजारमा  गिर्न सक्दिन

(This poem was sent to Sanjaal Corps via Email)

Shekhar Dhungel – Jhardaichhan Tara Ajhai

झर्दै छन् तारा अझै
तारा गन्नु उसको रहर होइन
विवश ऊ टुलु टुलु
अनगिन्ती झरेका तारा गन्दैछ
कति कता बिलाए पत्तो छैन
कहिले पश्चिम कहिले पूर्वको
तारा झरी नै राखेका छन्
अन्धकारमा धेरै बेर छतमा बसी
ताराहरुको भविष्य सोच्दै छ
चन्द्रको कुटिल हाँसोले
ऊ खिन्न भएको छ
कैयौं बिलिन ताराको
पर्खाइमा हुन्छ ऊ
तारासितै सती जाने कि
उसको मितेरीको लागि
ऊसँगै त्यहाँबाट
पृथ्वीको चिच्याहट कोलाहल
अभाव खिचातानीको रमिता
हेर्ने कल्पना गर्दछ ऊ
प्रदुषित वातावरण देखी
उन्मुक्त भै स्वच्छ हावा मा
ऊ! सोच्दा सोच्दै
नजिक कतै चिच्याहटले
तारा गन्ने क्रमभंगता हुन्छ
बिहान मात्रै समाचार सुनेको
धेरै ताराको क्रमभंग भएको
आज फेरि दोहोरिए जस्तो छ
ऊ स्तम्भ भयो क्रमभंगता
निरन्तराको आशंकाले
गुहार मागिदिने अवस्था छैन
अरुको निद्राभंग हुने डर छ
निस्तम्भ रमिता हेर्नुको
बिकल्प छैन निरिह छ ऊ
झिसमिसे बिहानीमै रात को
चिच्याहटतर्फ खिचियो
शान्त मुद्रामा मग्न थिए
प्रश्वासको क्रमभङता गरेर
प्रत्येकलाई थोपा थोपा
आँशु बाड्दै फर्कियो ऊ
झरेका तारा गन्दै

Basanta Mohan Adhikari – Mahashaya Sunuwai Hos

हेदैर्छु
दृष्यहरु
भोग्दैछु
जीवन अरु
फूल जस्तै
धर्म, कर्म र संस्कारमा
मन्दिरमा चढाइदिन्छन् ।
जिउँन नदिई गलाइदिन्छन् ।
रुप रङ्ग बिगारेर
भोलिपल्ट मिल्काइ दिन्छन् ।

हेर आज,
म फोहोरको थुप्रोमा
कैयौं पटक
बंगैचामा फूल्न नपाई
कोपिलामै चुँडिएर
रङ्गीन संसारको सृष्टि
पत्झर शिशिर अँगालेछु ।
भमराहरुको आगमनमा
लथालिङ्ग र भताभुङ्ग भै
म उहि थुप्रोमा खसेछु ।

अमन चयन शान्ति दिने
रंङ्गीन संसार बनाउने
प्रकृतिको धुन म
प्रेम र विश्वासमा
रंङ्गहरु छर्दैछु ।
तर बिडम्वना,
भमराहरुको जमातमा
अभिशाप भएछ मेरै लागि
मेरो लक्ष्य र चाहना
यो सुन्दर र सालिन स्वरुप ।

हिजैदेखी
बंगैचाको सुन्दरता बिच
रङ्गीविरङ्गी फूलहरुमा
यी भमराहरु १
भु भु गरीरेर
डुल्थे
यहाँ आज उज्यालोमा
आफैलाई नियाल्दा
अनायासै मबाट
मेरो रंङ्ग उडिसकेछ ।
यो जीवन
रसपान,
भोगविलास,
कामवासना र रागको
उपहार बनेछ ।
यो रंङ्गहीन स्वरुप १
नामको नरहेर बदनामको
यसैको डरले
अन्ततः लुक्न
म यहि थुप्रोमा पसिरहेछु ।

यस वातावरणको दास
दुइ दिनको जीवन
पीडैं पींडा
मेरो जातिमा
यो क्रमीकता
कहिले सम्म हो –
मनमोहक र शालिन
प्रकृति प्रदान स्वरुप
म फूल
यो फोहोरबाट फैलीएको
दुर्गन्ध सहदै
अदृष्यमा आँशुहरु बगाई
चुपचाप पींडाहरु सहिरहेछु ।
निर्दोष मेरो पवित्र जीवन
आज बजारको खेलौना भयो ।
यो उपहार १
कहिले उसले किन्छ ।
कहिले अर्कोले किन्छ ।
पालैपालो
मलाई खेलाउनु सम्म खेलायो ।
अन्ततः थकित भएर छाडी दिन्छ ।
हेर यहाँ म, चुपचाप
हर पिडा सहिरहेछु ।
किनकी, मर्न नसकिदो रहेछ ।

नपत्याए हेर,
आज उसले मलाई
यो रेष्टुरेण्ट,
डिस्को,
डान्स,
क्याविन,
मसाज,
होटल र
घरका कोठाहरुमा
नयाँ ताजा रहे सम्म सजाएको छ
मन पर्न छाडे पछि
फोहोरमा फालीरहेछ ।

जब मेरो सुन्दरताबाट
आफ्नो प्यास मेट्छ
मलाई छाडेर
फोहोरमा फालेर
यै भमरा १
बाहिरी धरातलमा उभिदै
सभ्य र भलाद्मी देखिन
यो समाज
शहर
सभा र
वैठकहरुमा
विभिन्न संञ्चार माध्यमहरुबाट
विभिन्न उपनाम दिइरहेछ ।
मेरो बदनमा गरिरहेछ ।
जिउँदै चितामा जलाउन खोजिरहेछ ।

म त निर्दोष फूल हुँ ।
सृष्टिको रचना र
जीवनको सुख शान्ति हुँ ।
मेरो भरमा जीवनका
अझै, आशा गर्नेहरु छन् ।
महाशय
मेरो आपत्ति छ ।
मेरो पिडा,
दुःख, दर्द
र यो वेदनाको
सुनुवाई होस् ।

Pratima KC – Deshma Nyaya Haraunda (Nepali Gajal)

प्रतिमा के.सी. – देशमा न्याय हराउँदा

देशमा न्याय हराउँदा अन्यायमा परें आज
मनमा शान्ति हराउँदा अशान्तिमा परें आज

अन्याय र अशान्तिलाई लड्दै जित्छु भन्दाभन्दै
हार खाई परदेशतिर लुरु लुरु झरें आज

अध्योरो मै दुधमुखे बालबच्चा थुम थुमाइ
भक्कानिदै आशुं झार्दै विदेश उडान भरें आज

गाउँ समाज देशको माया छातीभित्र भएपनि
समय र बाध्यताले मुग्लान बसाइँ सरें आज

तोते बोल्दै वरपर खुलाउदै बुबु माम माया
सुताउने न्यानो काख र मातृत्वलाई हरें आज

लालाबाला रोए होलान मलाई नपाउँदा
उनको लागि बिछोडमा बाँचेर नि मरें आज

धन कमाउँला ऋण तिरुंला सुखसंग बसुँला
भन्ने आशको महलमा मैले आँशु छरें आज

देशमा केहि गर्नुपर्छ हामी बिदेशिनु हुँदैन
भन्ने मेरा मन्यतामा चर्नुसम्म चरें आज

बेथिति र बेनियमको लाठीचार्ज देशमा हुँदा
मनका भाव पोको पारि प्रवास स्वीकार गरें आज

बिदाईको टिका थापी गलामा माला लाएर
फर्की आउने बाचा गर्दै सात समुन्द्र तरें आज

२४ जनवरी २०१०

(Sent to Sanjaal Corps via Email)

Tanka Subba – Limbuwan

टंक सुब्बा – लिम्वुवान

नेपाली मानचित्रमा युगौ देखि
लिम्वुवान थियो
अहिले पनि उस्तै छ
कहाँ मेटिएको छ र त्यसको अस्तित्व ?
सदैव वाँची रहने छ यो धरती रहुन्जेल

वरु लिम्वुवानलाई सत्तासीनहरुले
अनेकौ जाल विछ्याएर
नामोनिशान बनाउन खोजे
सीमा रेखाहरु भत्काए एउटै नेपाल भने
र कहिल्यै नउठ्ने गरी टाउकोमा कुल्चन खोजे
तर कहाँ तिनीहरुले सोचे जस्तै
लिम्वुवान कुल्चिईयो र ?
वरु भित्रभित्रै जीउँदो भएर
आजभोलि जागेको छ

यसरी लिम्वुवान कहिल्यै हारेन
शत्रुहरुवाट
वरु हारे लिम्वुवानसँग निहुँ खोज्नेहरु
लिम्वुहरुको पराक्रम देखेर
सम्वन्धको हातहरु बढाउनु पर्यो
राजा महाराजाहरुले
र सम्झौता गर्नु पर्यो
लिम्वुवान सदासदाको लागि स्वतन्त्र छ भनेर

लिम्वुवान छ र त
लिम्वुहरु छन्
लिम्वुवानवासीहरु छन्
अव किन तर्सिने होला
लिम्वुवान स्वायत घोषणा गर्नको लागि
वरु सोध्नुहोस लिम्वुहरुलाई
र लिम्वुवानवासीहरुलाई
कहाँ देखि कहाँ सम्म
लिम्वुवान थियो भनेर
अनि सम्झौता गर्नुहोस् लिम्वुहरुसँग
र लिम्वुवानवासीहरुसँग
लिम्वुवान कहाँ देखि कहाँ सम्म
हुनु पर्छ भनेर

लिम्वुवान लिम्वुवानवासीहरुको
आस्था वनिसकेको छ
र लिम्वुवानमा
वहुल भाषा,संस्कृति र धर्मको
स्वतन्त्रत प्वाँखहरु फैलिसकेको छन्
अव कसैले अपमान गर्न नखोज
अव कसैले वेर्इमान गर्न नखोज
लिम्वुवानको लागि लिम्वुवानवासीहरु
भोलि हतियार भएर उठ्न सक्छन्
त्यसैले लिम्वुवानलाई
आरक्षणको प्रलोभन नदेखाए हुन्छ
सहानुभूतिको माला नपैर्याए हुन्छ
किनभने लिम्वुवानले
चाकरीको भाषा वोल्दैन
चाप्लुसीको भाषा वुझदैन
मात्र लिम्वुवानवासीहरुको लागि
लिम्वुवान भएर बाच्न चाहन्छ

Khusi Mainali – Ma Je Chhu Thikai Chhu

खुसी मैनाली – म जे छु

ओइलाई सकेको फूललाई भमराको के नै अर्थ र
सुगन्ध केवल फक्रन लागेको कोपिलामा मात्र हुन्छ
मखमली फूलको महत्व बुझ्दैनन् यहाँ कसैले अब
जुन युगौं युगसम्म सदाबहार रहिरहेको हुन्छ ।
त्यसैले ,
भो पर्दैन अब नयाँ माली मलाई
चाहिँदैन उजाडिएको सिन्दुर भर्न
डोलीमा सजिएर जानु छैन मलाई
सुन्दर बगैँचाको हरियालीमा आगो छर्न

पिंजडाको जन्जीरले कसीएको छु
हिँड्ने बाटाहरुमा बिछ्याइएका छन् काँडा
खर्चनु पर्दैन ब्यर्थ समय मेरो लागि
चाहिँदैन तिमीले सजाएर राखेको सयपत्रीको माला

जे छु ठिकै छु ,
प्यारो छ मलाई आप्नै एक्लो संसार
जस्तो छु बाँचिरहेकै छु ,
चाहिदैन कसैको आधार
छोडीदेऊ यदि कल्पनामा हराएका छौ भने
बिर्सीदेऊ यदि सपनामा सजाएका छौ भने

अथाह हिम्मतको पहाड छ ममा
संसारसँग लड्ने क्षमता बनाएको छु
स्वार्थि र पापीहरुप्रति घृणा छ ममा
उनीहरुसँग युद्ध लड्न फेरी जन्मेको छु ।

धरान १६, जनपथ टोल, हाल: इजरायल

Saroj Dhital – Ekaa Desh Ma

सरोज धिताल – एकादेशमा

एकादेशमा
थिए रे मानिसहरू †

लुकाएर आफ्नो बलिष्ठ शरीर
धर्धरी रुन्थे ती
गुहार्दै विधातालाई

गाडेर समृद्धिको सारा स्रोत
पार्थे रे चीसो ढुसी
कुहाउ“दै आत्मालाई

बिकाउन खोज्थे रे सिन्की गन्ध
अकर्मण्यताको भु“ड्कोमा
खा“देर आफै“लाई बेसरी

थन्क्याएर आफ्नो उर्वरा गर्भाशय
रुन्थे ती छाती पिट्दै
पराईका ढोकामा
पुत्रदानको भिक्षाटन गर्दै–

एकादेशमा
थिए रे
यस्ता पनि मानिसहरू
दुःस्वप्न जस्तो दलदलमा
जो भासि“दै थिए
छट्पटि“दै थिए

आफै“ले रचेको दुःखको दहमा
जो पौडि“दै थिए
मर्दै थिए ती
ज्यू“दै †

एकरात
जब अन्धकार आकाशको कालो गहिराइमा
तन्द्राङतुन्द्रुङ झुन्डिएका
नपुंसक ग्रहहरू
पाखण्डी ताराहरू
टाढा बसेर टिलपिल टिलपिल गर्दै
धरतीलाई
प्रकाशले भिजाइदिने खोजेको
निरर्थक बहाना गर्दै थिए ।

कथाको देवदूत
सुस्तरी झरे झै“ आकाशबाट
आयो एउटा र मुस्कुरायो
करुणाको शीतल सागर झै“

‘गुहार † गुहार ††’ को आवाज
कर्णप्रिय सङ्गीत थियो जसका लागि
रोगाएको अल्छी मन
उब्जाउ जमिन थियो जसका लागि
कुशल प्रेमी झै“
हाँस्यो ऊ मुसुक्क
अनि
पक्रियो उसले
गुनासोको संसारमा रमाउने तिनीहरूको हात

र सुम्सुम्याउ“दै तिनीहरूका फोहोर गाला
चुमे झै“ गरी
गाड्यो दाह्रा
ती सबका शरीरमा ।

एकादेशमा
थिए रे मानिसहरू
जो यसरी नै टोकिए, सकिए
अनि
जसको आफ्नै पलायो घिनलाग्दो दाह्रा
र विचरण गर्न थाले अन्धकारमा
‘गुहार–गुहार’ को आवाज पछ्याउ“दै ।

एकादेशमा
थिए रे यस्ता प्राणीहरू
जो फेरि कहिल्यै मान्छे हुन सकेनन् ।

ईश्वर
उदास आ“खाले
यो सब हेरिरह्यो
हेरिरह्यो…।

Yuddha Prasad Mishra – Parda Chhittai Kholideu

हे संकीर्ण विचारले हृदयमा जालो बुनेका जन
सक्तैनौ अब यो विशाल दुनियाँ देखी त्यसै उम्कन
रोएको जनजीवनीतिर नभै अन्यत्र धस्छौ घँडा
छिः साहित्यिक बन्न आँट गरने तिम्रो कमलका ठुंडा
सम्झिन्छौ कि दवाइदिन्छु मनले हाम्रा बगेका रगत
सक्थ्यो के अब छेक्न भै व्यथित यो ब्युँझिसकेको जगत
छौ गर्दै तिमी तैपनी धरतिमा साह्रै ठूलो दुष्मनि
जागेको जन–श्रोतले भन, अनि छाड्थ्यो त्यसै के भनी
बासेका कुखुरा सुनी उदयका संकेत आई सके
कोदाला नभमा किसानहरूले देख्यौ उठाई सके
चुल्दैनौ किन हो अझै पनि गमी बाटो उज्यालो तरफ
ज्युँदो माग छ दशे को तिमीहरू लेख्छौ मरको हरफ
आइद्यौ उठ देशको हित हुने साहित्य उद्यानमा
थुक्ने नत्र छ वंशले तिमीपछि तिम्रो गई च्यानमा
बुद्धीको पहरो रसाउन सके साँचो कुरा बोलिद्यौ
आफ्ना ती अभिशाप रुप मनका पर्दा छिटै खोलिद्यौ

Bhim Darshan Roka – Man Bhari Budhiya

बौद्ध मन्दिरको विशेषता
सन्तुलित, खँदिलो, बेजोड सीप कलाको
मन्दिरभित्र मन्दिरैमन्दिर
पत्रैपत्र चट्टान
टन्न बजिरहेको धातु
टम्म बसेको इँटहरुको बनोट
सधैँ अडिरहने अठोट ।
देखेँ–आँखाभरि लिएर
मनभरि बसालेर
हातैहातमा Continue reading “Bhim Darshan Roka – Man Bhari Budhiya”

Suwas Khanal – Sambodhan

सुवास खनाल – सम्बोधन

यो सम्बोधन
तिम्रै निम्ति हो
ए मान्छेहरू
जो बोल्नै निम्ति
ओठ खोलेर ठीक परिरहेका छन्
यो सम्बोधन
तिम्रै निम्ति हो
ए रहरहरू
जो हावाको मसिनो झोक्काजस्तो
मनको कुनाहरूमा बयेली खेल्छ
यो सम्बोधन हिसाबकिताब नभएका
अथाह सपनाहरूलाई पनि
जुन क्षितिजमा उदाउँछ
एउटा हैसियतवाल सूर्य

सम्बोधनै सम्बोधन
यो मौनजस्तो समयलाई
जसमाथि उफ्रिरहेछ
एउटा लठैत वर्तमान

पैह्रो खसिरहेको पहाड
बहिरहेको आँधिको एक लप्को
फक्रिँदै गरेको फूलको सुगन्ध
पँखेटा फडफडाउँदै उडिरहेको पुतलीको लयमग्न नृत्य
हजार गुणा सम्बोधन
साराका सारा प्रकृतिवत चञ्चलतालाई

यो मान्छेहरूको सहरमा
म दोभासे कविता पढ्न आएको होइन

म मल्हमजस्तो
घाउहरूमा लेपिन चाहन्छु
म सुख वा दुखजस्तो
मान्छेहरूसँगै डुल्न चाहन्छु
बोली नहुनेहरूलाई
मौनताको अन्तिम अर्थहरू बुझाउन चाहन्छु
दृष्टि नहुनेहरूलाई
मनको दियालो बालिरहन भन्छु
मेरो सम्बोधन
युगयुग हिँडिरहनेहरूलाई पनि हो
मेरो सम्बोधन
युगयुग कुरिरहनेहरूलाई पनि हो
मेरो सम्बोधन
काँडाहरूलाई पनि हो
मेरो सम्बोधन
फूलहरूलाई पनि हो
मेरो सम्बोधन
जीवन गीतका गाउन बाँकी
हजारौँ हजार लय र धुनहरूलाई नै हो
मेरो सम्बोधन
सम्बोधित हुन योग्य
साराका सारा सम्बोधनहरूलाई नै हो

हे सम्बोधित सम्बोधनहरू
लेखिदिऊँ न एउटा समयको शाश्वत कथा
जसको बाटैबाटो
हिँडिरहोस् अनन्तसम्म यो युग
र यो युगका सारथीहरू ।

Komal Shrestha Malla – Rastraghaati Mafia

कोमल श्रेष्ठ मल्ल – राष्ट्रघाती माफिया

पार्टि पार्टिबाट
एउटा नवीन बिधानमा
भाषा भाषीको
जात जातीको
बर्ग बर्गको जुलुस
गाउ गाउ लम्कदैछ
देश भित्र देश खोजेर…..

अफशोच !
देश सल्कदैछ
यो कस्तो धन्दाको जुलुस ??
यो कस्तो फन्दाको जुलुस ??
पार्टि वजारमा बाल्टी भीत्र लोटाको ??
देश मेटाउने ?
पेरीस डाडामा हल्लीएको वजार
बल्खु र सानेपा दरवारमा सर्दैछ
समथरका जुँघा
ताउ र दाउमा
ढुङ्गा फोड्न हिउमा चढन
चक्रब्यूहका कवाज खेल्दैछ .??
हरेक दिन
हरेक रात
आकार र संरचना बदलीमा
राष्ट्रघाती माफिया सारेर

Bikram Subba – Astra

विक्रम सुब्बा – अस्त्र

बाल्यकालको अस्त्र रुनु रहेछ
जवानीको अस्त्र मुस्कान रहेछ
युवतीको अस्त्र लजाउँनु रहेछ
युवकको अस्त्र साहाश रहेछ
माइतीको अस्त्र माया रहेछ
आमाको अस्त्र ममता रहेछ
बाबुको अस्त्र स्नेह रहेछ
छिमेकीको अस्त्र सहयोग रहेछ
साथीको अस्त्र सहकार्य रहेछ
विद्वानको अस्त्र अनुसन्धान रहेछ
पुरेतको अस्त्र कथा वाचन रहेछ
मानिसको अस्त्र दान गर्नु रहेछ
सामन्तवादको अस्त्र किसानको शोषण रहेछ
पुँजीवादको अस्त्र मजदुरको शोषण रहेछ
खुला बजारको अस्त्र नाफा रहेछ
विस्तावादको अस्त्र घुसपैठ र ध्वस्त रहेछ
साम्राज्यवादको अस्त्र
युद्ध जित्नु कब्जा गर्नु
र आफ्नै कठपुतली सरकार स्थापना रहेछ
समाजवादको अस्त्र समता रहेछ
साम्यवादको अस्त्र वर्गबिहिनता रहेछ
अब, तिमी आफै रोज
जिन्दगीमा कुन कुन बेला
कुन कुन अस्त्र चलाएर
गुजारा गर्न चाहान्छौ?

Ashank Upadhyaya – Urath (Nepali Gajal)

आशांक उपाध्याय – ग़ज़ल – “उराठ”

चरी आयो उडी गयो पन्जा छाप मात्र यहाँ ||
हुरी आयो छाडी गयो चिसो धाप मात्र यहाँ ||

वन पनि शुन्य हुन्छ कोइलीको धुन बिना,
मृग आयो गाडी गयो खुर नाप मात्र यहाँ ||

कस्तुरीको सुगन्धमा मग मग बास्ना थियो,
शिकारीले तीर छाड्यो बोक्यो पाप मात्र यहाँ ||

उल्लु रोयो मन छोयो सुँगा, मैना डराएका,
दाउरेले हाँगा काट्यो रह्यो खाप मात्र यहाँ ||

बन्चरेले रुख ढाल्यो जंगल नै थर्काएर,
गोठालोले आगो बाल्यो आयो राप मात्र यहाँ ||

Ramkumar Shrestha – Prabhu Ashirbad

रामकुमार श्रेष्ठ – प्रभू आशिर्बाद

प्रिय,
मैले त भनेकै थिएँ नि
कुनै दिन औंसी र पूर्णिमा एकै दिन हुन सक्छ भनेर
तर तिमीले कहिल्यै पत्याइनौ
ल तिमी आँफै हेर त
कसरी आज औंसी र पूर्णिमा संगसंगै भैरहेछ
तिमी भन्छौ कस्तो निस्पस्ट अन्धकार रात
रातो पिरो दौरा सुरुवाल गुरु भन्दैछ –
टहटह जुन लागेको कस्तो रमाइलो रात
उस्को कुराले तिमी भने “मूर्ख” भन्दै अट्टहास छाड्छौ
ऊ भने झसंग झस्केर आत्मग्लानी पूर्वक
देखाउनकै लागि भने पनि सकी नसकी मुसुक्क हाँस्छ
होइन के हो यस्तो यो ?

प्रिय,
तिमीले बुझिनौ
रात र दिनको यो दिग्भ्रम कहाँबाट कसरी आयो ?
यस कारणले कि प्रभूको अपरंपार लीला बिचित्रैले छायो ,
परेवादेखि चतुर्दशीसम्मको चौध दिन नै गायब
तीन चित खाइरहेको रातो पिरो दौरा सुरुवाल गुरुको लागि
चिताउँदै नचिताएको कुरा पनि कति पायक ?,
प्रभूको आशिर्बाद पाए औंसीको रात पनि पूर्णिमा बन्ने
स्वाभिमानीको लागि औंसीको रात नै धन्य धन्य ।

देख्यौ त प्रिय,
मैले जे जे हुन्छ भनेको थिएँ त्यही त्यही भयो कि भएन
मैले साँढे ब्याउँछ भनेको थिएँ आखिर ब्याएरै छाड्यो,
गंगा उल्टो बग्छ भनेको थिएँ आखिर बगेरै छाड्यो,
यहाँ के हुन्न प्रिय
यहाँ त सबै थोक हुन्छ
संसारमा कहीं संभब नहुने कुरो यहाँ संभब हुन्छ –
रात दिन हुन सक्छ अनि दिन रात
औंसी पुर्णिमा हुन सक्छ अनि पुर्णिमा औंसी
केबल प्रभूको आशिर्बाद चाहिन्छ प्रिय
सबैको कल्याण गर्ने पशुपति र तेत्तिस कोटी देबी देबताहरुले
अल्छि गरेर के हुन्छ र
अहो रात्र दौड धूप गर्ने प्रभू भएपछि
जाबो गाइजात्राको लागि बर्ष दिन कुर्नु पर्छ र प्रिय
जुन बेला जस्तो आवश्यक पर्छ त्यस्तै गाइजात्रा मन्चन भै हाल्छ
पुन्पुरो बलियो नहुनेहरुले उजुरी हाले हाल्छ ।

लोक लाजको पनि कुनै अर्थ हुन्छ र प्रिय
यहाँ लाज त लोकलाई पो हुने भयो त
लोकको तोक शोकमा किन पर्दैन त प्रिय
चौबिसै घण्टा ब्यस्त प्रभूसंग
नारी खौंचेर लिन खोजेपछि टक्कर
आइपर्छ नि त नसोचेको अक्कर
प्रभूको आशिर्बाद पायौ भने त प्रिय
तिमी लाटो, लंगडो, खोरण्डो, कानो, बहिरो, लठेब्रो
जे भए पनि केही फरक पर्दैन नि प्रिय
जब लोकतन्त्र प्रभूतन्त्रमा परिणत हुन्छ भने
लोकतन्त्र प्रभूतन्त्रमा
औंसीको रातमा
टहटह जुन लाग्न थाल्छ प्रिय
टहटह जुन
त्यसैले प्रभू आशिर्बादको मर्म बुझ प्रिय
प्रभू आशिर्बादको मर्म ।

Sarubhakta – Kalo Mrityu Ra Mithakiya Awasad Haru

रातका आँखाहरुः अचानोपीडा ग्रस्त छन्
सिंहहरु कहाँ निर्दयी हुन्छन् ? सिकारलाई
कति चाटीचाटी माया गरीगरी खान्छन्
राष्ट्रिय गिद्धभोजः अडियल प्रजातिका नरवानरहरु
महान क्रान्तिका तुच्छताग्रस्त छन्
शरणार्थी देशका शरणार्थीहरु
धु्रुवीय अरोराका कवितारचना गर्दैछन्
कालोमृत्युः विभीषिकाका युद्धहरु
स्वप्नचित्र वीथीहरु निर्माण गर्छन्
खोई कहाँ हराए तारापद चौधरीहरु ?
प्रत्येक दिन हामी वुद्ध जन्माउँछौ वुद्ध वलि दिन्छौं
अप्सरा आधातः मेगावक् ईश्वरहरु
हाइटेक प्रेम प्रणयग्रस्त छन्
साइवरयुगका नचिकेताहरु
प्रेतवाधा फुकाउँदैछन्
सुदूर सम्वेदनः सातौ इन्द्रिय उपासनाहरु
गोस्टापो संक्रमण व्यस्त छन्
उप्m ! सहीदका मृत्युवरणहरु
आर कि पारका संगणनहरुमा
जिवरिस् भायरस ग्रस्त छन्
ए धनकुवेर दार्शनिकहरु कता लागे
खट्खट् खट्खट् काठका घोडाहरु चढेर ?
उ ! जन्मान्ध यायावरहरु
तेजाब छर्किएका मनहरु हाँस्दैछन्
लोहोरो पाक्यो ? खाने कि पकापक्
आह ! मिथकीय अवसादहरुमा
साङलेकीराहरुको आक्रमण जारी छ
दुर्भाग्यका परिभक्षकहरुः कुन दायर
रीटका निरीहताहरु सुन्दैछन् ?
गजव विश्व, रोटीबाबाहरु मुसालाई रोटी
ख्वाउँछन् मान्छेलाई दोटी ख्वाउँदैनन्
त्रासदी समयः दादा अमिनहरुका
पुरातन प्रजातिहरु
आउ, हामी जन्मजात कमाण्डोहरु
टर्सो टाइगरमा आइस्टाइन गिदीहरु
मांशल पारौं
किलर निमोनियाः ताराहरुको भीडमा
पृथ्वी हराएकी छ
यसर्थ नारावाजी गरौं – कुकुरमन्त्री कोडाहरु
जिन्दावाद !
जिन्दावाद !
जिन्दावाद !

Shiva Prakash – Sukha Ko Paryaya

मात्तिएका यौवनहरु
पात्तिएका जीवनहरु
आधुनिकता भित्र
यौनका नवीन सँस्करण
घामजूनको पर्वाह छैन
वसन्तको उन्मादलाई जिस्क्याउँदै
छताछुल्ल पोखिन्छन्
सभ्यताको आडम्बर ओढेको
सभ्य शहरभित्र
समय
आधुनिकतको
उत्ताउलो Continue reading “Shiva Prakash – Sukha Ko Paryaya”

Rabindra Nath Thakur – Apaharan [From Geetanjali]

त्यस दिन उनी मेरो घरमा आए अनि भने,
‘हामी एक कुनामा बसिरह्यौ ।’
उनले यस्तो भने, ‘देवतालाई अर्पण गर्दा म तिम्रो सहायता गर्छु,
अनि पूजाको जो प्रसाद पाइन्छ त्यही ग्रहण गरेर सन्तुष्ट होऔँला ।’

यसरी नै ती दरिद्री, क्षीण, मलिन, वस्त्रधारी मेरो घरको कुनामा बसे,
तर, रात बितिसकेपछि तिनीहरु प्रबल भए, मेरो देवालयमा
जबरजसती पसे अनि तिमीहरुले मलिन हातको देवताको पूजाका
नैवेद्य खोसे ?

Bikram Subba – Euta Dantya Katha

विक्रम सुब्बा – एक दन्त्य कथा

सुनाउँने पालो आयो आमाको
र सुनाउँनु थाल्नु भयो दन्त्य कथा –
‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो’रे
उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो’रे
खान-पिन र स्याहार पुगेकोले
बच्चो औधी फूर्तिलो र रहरलाग्दो थियो’रे
एउटा चित्रकारले बच्चो देखेपछि बिर्सनै सकेन
तसर्थ, उसले बच्चोको दुरुस्तै चित्र बनायो’रे
र दंग परेर, राख्यो’रे शिर्षक – ‘देवता !’

कालान्तरमा त्यो नावालक ‘देवता’
छातीभरि अनेक महत्वाकांक्षाहरूसँगै छिप्पियो
जतिजति आकांक्षाहरू झाँगिँदै गए ‘देवत्व’ घटदै गएछ
र एक दिन सम्पूर्ण देवत्व त्यागेर ऊ राजा भएछ

ताहाँ उप्रान्त राजाले
कहलिएका सामन्तहरूलाई आफ्ना भारदार बनायो’रे
गाउँ-ठाउँका परपिडकहरूलाई प्रशासनमा नियुक्त ग-यो’रे
थुप्रै सेना र हातहतियार जोडेर उसले दसतिर युद्ध थाल्यो’रे
एकबारको जुनी पाएका मानिसहरू लाखौँ मारिए
रगतको खोला बग्यो
अनेक स्वतन्त्र राज्यका अनुहारहरू बगेर विलय भए
युद्धहरू जिते पछि त्यो राजा बन्यो’रे – महाराजा !

यी सबै ईतिहास हेर्दै पाको भएको उही चित्रकारले
महाराजाको रंगीन चित्र बनाउँदा क्यानभासमा
मानिसजस्तो लाग्ने एक क्रुर तस्बिर उत्रेछ
र चित्रकारले राखिदियो’रे शिर्षक – ‘दैँत्य !’

कथाको अन्तिम अध्याय पनि आमाले सुनाउँनु भयो –
परन्तुमा ‘देवता’ र ‘दैँत्य’का चित्रहरू सँगसँगै टाँगिए’रे
र प्रदर्शनीमा लाखौँले ती दुई चित्रलाई गजबले हेरे’रे
आफ्नो तस्विरको शिर्षकले महाराजलाई रातभरि निद्रै लागेनछ
‘शिर्षक-अपराध’मा चित्रकारलाई जेलमा कोचेछन्
आफुले बनाएका चित्रहरूको विचित्र शक्तिको सम्झना गर्दै
जेलमै एक दिन चित्रकार म-यो’रे
तर, ती दुई चित्रले भनेको कथा कण्ठ भएर
चित्र हेर्ने लाखौँ मानिसको मन-मस्तिस्कमा बसेछ ।

त्यसपछि –
त्यो कथा बा-आमाहरूले छोरा-छोरीहरूलाई,
र, छोरा-छोरीहरूले –
फेरि उनका छोरा-छोरीहरूलाई सुनाउँदै-सुनाउँदै ल्याउँदा
एक दिन मेरै आमाको पनि पालो आयो
आमा बितेर गइसके पछि अब मेरो पालो आएकोछ –
‘दैँत्य’हरूबाट मानिसलाई मुक्त गर्नेभए
यो कथा धेरैलाई सुनाउँनु पर्छ
जस्तो कि तपाईँलाई म यो कविता सुनाउँदैछु ।
एक पुरानो कथा/मिथमा आधारित

Laxmi Prasad Devkota – Kamjori

क.

कमजोरी हुन् दुःखकी बहिनी,
श्रमकी छोरी !
दिनभर, दिनभर मन्थन गर्दै मानव स्नायु
फींज सोहोरी,
विधिले रचे रे कमजोरी !
इन्द्रधनुषको रङ्ग क्यै जोरी !
साँवली छन्, छैनन् गोरी !
तैपनि छन् फेनील हुरी Continue reading “Laxmi Prasad Devkota – Kamjori”

Bibek Dulal Chhetri ‘Damak’ – Timi Prati

बिबेक दुलाल क्षेत्री “दमक” – तिमीप्रती

पानीको मूल जस्तै
कहिल्यै नसुक्ने भित्रैबाट
आइ रहने जल भएर
हरदम मेरो आखा अघि आइ रहेकि छौ तिमी

फूलको बास्ना जस्तै
बगैचा ,उद्दान ,आगन र करेसाबारीमा
फक्रिएका चमेली ,सयपत्री र पारीजातको
लोभलाग्दो महक लिएर
हर पल मेरो अघि धाइ रहेकी हुन्छौ तिमी

चुरे पहाड ,हिमचुलीको चिसो बतास जस्तै
भित्रै सम्म छुने
स्पर्शरूपी पवन भएर
मेरो अंग प्रत्यङ्गमा छोई रहेकि हुन्छौं तिमी

अब तिमी अबला , अलिच्छिना र अनौठी हुदै होइनौ
तिमीलाई सुन्दरता भन्दै ढोंगी सुन्दरी प्रतियोगिता गर्नै पर्दैन
तिमीलाई थाहा छ – सेतो या कालो छाला मात्र भएकै भरमा
कोहि यो धर्तीमा सर्बश्रेष्ठ हुदैन भन्ने कुरा
कतिपल्ट मुहारमा मानवताको सुन्दरता लिएर मेरो अघि उभिएकि छौ तिमी

मनको सुन्दरता मुटूमा हुन्छ
मुटुको सुन्दरता बोलीबचनमा हुन्छ
अनि त्यो बोली बचन ब्यबहारमा झल्किनु पर्छ
मेरा नबाटेका रहरहरुमा श्रमको पोयो लाउदै मेरो खुशी बाटिरहेकि छौ तिमी

अस्तु:
दमक , झापा
हाल :अबुधाबी ,यू ऐ इ