Rabindra Nath Thakur – Pran Ko Jholi [From Geetanjali]

प्राणको झोली
तिमीले मेरो प्राणको झोली यति भरिदएका छौ कि
अहिले नै मृत्यु भए तापनि मलाई दुःख लाग्दैन !
रात–दिन मति सुख–दुःख, कति ह्दयाकाशमा प्रतिध्वनित स्वर, मति
पोशाक र रुपमा तिमी मेरो मनमा आएर ह्दय हरण गरयौ ।
अब अहिले नै मृत्यु भए तापनि मलाई दुःख लाग्दैन !

मलाई थाहा छ मैले तिमीलाई राम्ररी स्वीकार गर्न सकिनँ,
यसकारण मैले तिम्रो पूर्णताको वरदान पाउन असमर्थ भएँ, तैपनि जो
चीनहरु मैले पाएको छु ती अहोभाग्यले पाएको हुँ !
तिमीले मलाई स्पर्श गर्यौ, आङ्खनो संकेत दियौ, ‘तिमी छौ’ : यो
अनुभूति दियौ, यही श्रद्धाको नाउँमा मेरो जीवन–यात्रा चलिरहेछ !
अब, अहिले नै मृत्यु भए तापनि मलाई दुःख लाग्दैन !

Sudha Bhattarai – Shaktihin Neta

सुधा भट्टराई – शक्तिहीन नेता
(मधुपर्क २०६६ चैत)

आजभोलि किन किन
जुन लागेको रातसँग पनि डर लाग्छ किनभने बत्ती नभएको बेलाभन्दा
बत्ती भएको बेला डरलाग्न थालेको छ ।
यी आँखाहरु अब त अँध्यारोमै
बानी परिसकेका Continue reading “Sudha Bhattarai – Shaktihin Neta”

Ratna Shamsher Thapa – Neelo Sapana Nirwastra Baila Haruko

रत्नशमशेर थापा – नीलो सपना निर्वस्त्र बैलाहरूको

माछाको आलो पित्तको धूप सुँघेर
बोसोको पत्रहरू पगाली पाठेघर भरिको
अबिर सिंदुरको रेखी भित्रको बुटी
निलेर सात गेडा सिंगो अक्षतासँगै
भोक मेट्न ऋतुदानको
जाग्राम बस्छन् बैलाहरू
निर्वस्त्र वरको रुखमुनि
नीलो किरणको प्रतीक्षामा
आँखा चिम्ली मुख बाएर ।

Laxmi Prasad Devkota – Yug Balak

पिन्चे, लुत्याहा, परेवा–छाती
छाडा,
पुट्ट, सिँगाने, भुस्याहा साथी,
काँढा !
घ्यारघ्यार बिरालोको घाँटी,
जाँडा ।
यही न हाम्रो भविष्य सुई हो !
टाढा !
देवदूतले अभिशापित भुइँ हो,
गाढा,
ईश्वरलाई दुःख दिन दुई छन्,
राँडा ।
चित्र रङ्गीन उज्याला हेर्दछु,
बाल !
स्याउ फलेका, अनार फुटेका
लाल !
कसरी आउला नवीन सुनौला
छाल ?
यस्तो यत्रो देवदूतको
हेला ?
यो लापर्वाही, यो लाचारी,
मेला ?
“आउँदैनौँ” भने ती यसतिर फेरि
जेलाँ ?
सुन्दर झर्ने कसरी असुन्दर
भेला ?

Laxmi Prasad Devkota – Huri Ko Geet

क.

प्रलङ्कर शङ्कर–शिरको धूमिल जटाको उच्छाल,
प्रलयको छ पताका मेरो उडान, पागल उत्ताल,
मुस्कन्छु झलझल भीषण निजी शोभाले प्रसन्न नारी,
सगर सागर सोहोरी सन्कें, भँवरी परेर भारी
उग्रलाई अभिसारी,

ख.

गाउँदछु, पागल वेदना हाँसी, फोहोर हावाको बेताल !
विषमको खाडी जन्मस्थल मेरो, रोएर जन्मेथें हूँ, हूँ,
ध्वंसिनी दूत्तिका विधिको बनें, दर्दको आत्मा के कहूँ,
पखेरु नागलाई कोर्रा दी हाँक्नु विकास–आकाश–पथ,
क्रोधको दिव्य सुषमा मेरो, वेगको आत्मा नै रथ ।
रोएकी सृष्टिकी रु हूँ
नाश र निर्माण चक्रका मेरा बाफका उठ्दछन् धूलि,
नागिनी झिल्का झिल्केर ठुँग्छन् निशाका उरमा, दी शूली ।
चीत्कारी उठ्छ अँध्यारो बाक्लो, प्रलय चाख्दछ एकबार,
अन्त र आदि, शून्य र सृष्टि,
लुका र मारी खेल्दछन्, क्षण–क्षण झल्केर, निभेर संसार
नृसिंह–भ्रुकी खुम्चाझैं वाष्पिल गरादार घनकी घारी ।
जसको नाच तूफान वर्षा, त्यही हो मेरो खेलको बारी ।

ग.

शिखरसिंह गर्जन्छन् तोड्न अँधेरी युगका कारा
दिनको स्वर्णिम शहीदी च्यानमा वर्षन्छन् जल भै तारा
जराको वैरी, बढार्छु बैरी सडल दलको देश ।
सङ्क्रान्ति ज्वर हूँ प्रकृतिको जो बर्बर छु किटेर दाह्रा ।
कन्दरा–नूपुर वनकाली छमछम, भूर्भुवः स्व को ताली,
भँवरी धूलि मिल्केको सारी,
बहुलाही बनी गीत गाउँछु फाँडी सृष्टिको पाकेको बाली,
लङकामा नाचें, भारतमा नाचें, समर–प्राङ्गण मेरो ।
ध्वंसका सारा श्रृगाल गाउँछन् लप्काउँदा लागाको फेरो ।
म नीलकाली, रक्तिम जिह्वा, म चिरभोकी र प्यासी,
म चिरलाञ्छित मानवताको ज्वलनको तुमुल राशि,
भीषण सुन्दरी शिवका उरमा अधीर पद छन् चञ्चल ।
विधिको बाणको वेग छ, मेरो नृत्यमा पृथिवी ढलमल !
सागर–शेष–फणालाई ठाडो पारेर गाउँछु घोर
उत्ताल उराल, प्रलय–सुरले, असि ली बिजुली–डोर !

घ.

सत्यलाई गर्छु अभिषेक भूमा, स्वर्गका झारीका जले,
म नारसिंही शक्तिको माऊ युग–निशा हाँक्दछु बलले,
चण्डीझैं जन्जीर चट्याङ्ग भाँची फुहुन्छ सिंहको वाहन,
त्यो पशुराज जो मेरो कोपले कल्पेथ्यो दण्डको साधन ।
म उग्र शिव, म भीम सत्य, भयङ्कर सुन्दरकी देही
कान्तार–सङ्गीत, समर–मन्दिर शक्तिकी अधरकी फेन,
म वायुवादी, खलबल प्राणहरुको भँवरी केही,
कालको बाली–काटनी साकार, ऋतको अन्तको देन ।

ङ.

पल्लव–शिशुको केलिको आली ढुक्कुरको प्यारको न्यानु,
तूफानी छालले मुक्ताको शिल्प, पाठालाई आमाको न्यानु ।
स्वर्गको पटको पखाल्नी केवल, कोयली–वाणीको निर्बन्ध,
धोबिनी केवल धराको, कुसुम–उरको विन्दुको सुगन्ध !
सत्यका युगमा सपनेर सुत्छु, कलिमा बिउँझेर खेली ।
सिकाउँछु केवल चित्रान प्रभात उषालाई जो मेरी चेली ।
चिथरो मेरो पछयौरामा, सन्तुलित सुधांशु–ज्योति,
विषम दारी, बन्धन फारी
निदाउँछु नीरव कन्दराभित्र,
मुस्केर स्वप्न–संसारमा छामी सुनझुल्के प्रभातको नाडी !

Shyam Krishna Shrestha – Yas Pusta Ka Nawa Yuwak Prati

श्यामकृष्ण श्रेष्ठ – यस पुस्ताका नवयुवकप्रति

राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा हाम्रो भेष
राख्छौँ हामी सदा सुरक्षित हाम्रो माटो, हाम्रो देश ।

खुला सिमाना चोर, लुटेरा तस्करको निर्बाध प्रवेश
सुगम ठाउँको कुरा के र पुगिसके ती दर्ुगम गाउँ समेत
देख्दा यस्तो देशभरि नै उठ्दछ मनमा प्रश्न अनेक
प्रभुसत्ता सम्पन्न देश हो या पराइको प्रान्त विशेष ?

संकट घण्ट बज्यो, सुन्दैनौ – श्रवण शक्ति नै छैन कसो
स्वदेशप्रतिको माया ममता तिम्रो मुटुमा छैन कसो ?
मिचिसके कति खुला सीमाना नदी अनेकन शोषिसके
पछुुतो पर्ला भोलि आज नै युवकहरू हो ! हेर्छौ के ?

चार जात छत्तिस वर्णे सुन्दर यो फूलबारीमा
परचक्रीको चहलपहल यो मातृभूमिको छातीमा
युवापुत्र ! कति हेरिरहन्छौ आऊ न बाहिर आऊ छिटो
स्वाभिमानको शिर निहुर्राई बाँच्नुभन्दा मर्नु निको ।

तथाकथित यी भ्रष्ट राजनेताले देश डुबाइसके
हर्दाहर्दै मूल्यवान दशकाधिक वर्षगुजारीसके
जानाजानै र्सार्वभौम सत्ताको धज्जी उडाइसके
निरा व्यक्तिहरू स्वार्थपूर्तिमै परवशता स्वीकारिसके ।

यस्तो स्थितिमा राजनीतिको दलदलमा नफसेर तिमी
छाती फुकाई आऊ अगाडि युवकहरू ! चट्टान बनी
राष्ट्रघातीहरू जहाँ जहाँ छन् खोजी खोजी नाश गर
युवाशक्तिको सामु पराजित हुन्छ अवश्यै शत्रुगण ।

आजै अहिल्यै देशभरिका युवकहरू ! संगठित बन
राष्ट्रभक्तिको निम्ति अत्यन्तै गरिमामय दृष्टान्त बन
स्वदेशको अस्तित्व सुरक्षण गर्ने दृढ संकल्प गर
अतिक्रमित जे जति हुन् हाम्रो भू-सीमा विस्तार गर ।

राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा, हाम्रो भेष
राख्छौं हामी सदा सुरक्षित हाम्रो माटो हाम्रो देश ।

(साभार: जनमत कविता खण्ड १ २०६४)

Sandhya Regmi – Chunauti

सन्ध्या रेग्मी – चुनौती
(प्रवासी नेपालीको देशप्रेम)

हिमाल मेरो शिरको ताज उचाइ नाप्न खोज्छस् के ?
मबाटै बग्छ महासागर गहिराइ छुन खोज्छस् के ?
म हुन्छु आगो रिसले अपमान गर्न खोज्छस् के ?
मर्दिन“ कुनै शस्त्रले मलाई ढाल्न खोज्छस् के ?

भोको पेट बरु जिउ“दछु मागेर रोटी खान्न“ हे †
नाङ्गो आङ् परिपूर्ण छु अनुदान तेरो लिन्न“ हे †
दया चाहिन्न तेरो मलाई म मर्छु बरु शानले
गंगालाल म बन्दछु माफी कदापि माग्दिन“ हे †

सूर्यचन्द्र मेरै मुठ्ठीमा परिचय मेरो खोज्छस् के ?
चेतनाको मशाल म निभाउने आ“ट गर्छस् के ?
युग बदल्ने छाती म चिरा मलाई पार्छस् के ?
विराट् लोककै माथि म तागत मेरो बुΣछस् के ?

गन्तव्य मेरो टाढा छ बाटो अझै छेक्छस् के ?
विद्रोहको जुलुस म वेग मेरो रोक्छस् के ?
प्राकृतिक–सम्पदा खानी म मलाई बेच्न खोज्छस् के ?
रोपिन्छु तेरो छातीमा महाकाली म बन्छु हे †

Yuddha Prasad Mishra – Bahumat Ko Awaz

हाम्रा यी खेतबारी श्रम सलिल बगी हातले जोतिएका
केवल हामी डटेका सक्रिय कृषका प्यारले पोतिएका
हरबेलामा यसैको वरिपरि घुमने वीर हामी सिपाही
गर्छन् हाम्रा तँ जस्ता अथकित पहरा चोरको त्राही त्राही
हाम्रा हँस्या हथौडा अजर अमरमा वास्तविक तथ्य जागी
शान्ति सुस्थिर लेला त्यस बखतविषे मात्र तैंलाई लागी
के हामी जन्म पाई धरति बीच यहीं गर्न पाइन्न डेरा
हामी छैनौं सुतेका अब निमुख भई दूर जा हे लुटेरा
देखिनस् यो चलेको झुपडी झुपडीमा सन्सनीदार हावा
मर्यादा पार्न हाम्रो पतन अब वृथा गर्नु तैले त दावा
शक्तिसम्पन्न ज्यँदूा विमल चहकिलो सान्स्कृतिक अस्त्रधारी
हाम्रो धावा छ ऐले अरिगणहरूको सर्ब संहारकारी
ऐले हामी तँ देखी असह रगतले उम्दिएका घडा छौं
आफ्नो संरक्षतामा कठिनतम ठूला बज्रभन्दा कडा छौं
तेरो दुष्चारिताको विषय स्थिति सबै तोड्नलाई खडा छांै
जान्दैनस् यत्ति उक्ती पनि बहुमतका विघ्न हामी बडा छौ

Radha Baskota – Mahakavi Prati

राधा बाँस्कोटा – महाकविप्रति
(मधुपर्क २०६६ कात्तिक)

मनमा राखेँ तनमा राखेँ शिरमा सजाएँ
सुरमा तिम्रो मिलाई लय बाँसुरी बजाएँ ।
उघारेँ आँखा मिलाई भाखा पाखामा नचाएँ
मृगका पाठा मयूर बुट्टे तिमीमै सजाएँ ।।

जे लेख्छु ऐले अक्षर तिमी स्वरूप तिम्रै यो
टलक्क टल्की झलक्क झल्की मसामु उदायो ।
ममात्र होइन सबैमा देख्छु स्वरूप तिम्रै त्यो
पूजाका थाली अक्षताभित्र तिमी नै सजेको ।।

अँधेरी रात उघारी ढोका ढोकाकै छेउमा
आरती बल्यौ उजेलो पारी दिलले दिलमा ।
मानवताका गाएर गीत संसार घुमेछौ
स्वतन्त्रताका पखेटाभित्र प्रकृति चुमेछौ ।।

पातको प्रीति फुकाई फर्फर प्रेमको संसार
गाउँमा ल्यायौ, बस्तीमा ल्यायौ प्रेम भो संसार ।
ठालुसिङ काँपे आलुसिङ काँपे सामन्त काँपेछन्
निरङ्कुश बाँच्ने शासक तिम्रै सामुमा काँपे झन् ।।

चन्द्रमा छोई कसम खायौ चन्दकै सामुमा
झल्मल बत्ती चन्द्रको जस्तै बालेर धर्तीमा ।
पूजारी तिमी हे प्रजातन्त्री ! प्रजाकै तन्त्रमा
जिन्दगी सारा समर्पण गर्यौ मानव मन्त्रमा ।।

गरिब रोए हँसायौ हाँस्ने सामन्त रुवायौ
अन्यायी माथि बज्रझैँ बज्री न्यायलाई हँसायौ ।
पर्वाह केही गरेनौ आफ्नो आफूलाई रुवायौ
‘रोएर आफू हँसाउने संसार’ सन्देश सुनायौ ।।

नसके पनि उचाइँ चुम्न उडान तिम्रो त्यो
मनको मैलो पखाल्न हेर्छु उडान तिम्रो त्यो ।
असल तिम्रो सम्झेर मात्र रमाउँछ दिल यो
त्यो दिलभित्र यो दिल राखी अग्लन्छ माथि यो ।।

मनमा राखेँ तनमा राखेँ शिरमा सजाएँ
सुरमा तिम्रो मिलाई लय बाँसुरी बजाएँ ।
सबमा राखेँ सर्वाङ्ग तिम्रो दिलमा टसाएँ
उघाँर आँखा मिलाई भाखा गीतमा नचाएँ ।।

Mina Bantawa ‘Mridu’ – Kati Nishthur Chha Samaya Ko Pawandi

“कति निष्ठुर छ समयको पावन्दी”

कति निष्ठुर समयको पावन्दी
कति निर्मोही समयको पावन्दी
उफ! कति स्वार्थी समयको पावन्दी
कुनै दिन यहीं समयले इच्छाको बगैंचा भरी
ढक्कमक फूल्ने फूल झैं उल्लाशहरु फूलाउने गर्थ्यो
उमंगको खुसी उर्लीssउर्ली छाई दिने गर्थ्यो
कुनै दिन आँखा भरि सप्तरंगी रंगहरु बनेर
इन्द्रेणी झैं यी आँखाहरुमा अनेकौं रंगिन
मिठा-मिठा भविष्यका सपनाहरु बुन्ने गर्थे
जहाँ सुन्दर भविस्यको चित्रण कोरिएर
मलाई ठिंग उभिएर हेरीरहेको हुन्थ्यो
तर आज त्यो समय छैन
समयले मलाई छोडी सकेको छ
उफ! समय म देखि निस्ठुरी भै सकेको छ
आज पनि तेहीं दिन छ त्यसरी नै रात पर्छ
त्यसरी नै हरेक रातहरुमा चन्द्रको उदय हुन्छ
त्यसरी नै शुक्ल पक्ष्य त्यसरी नै
कृष्ण पक्ष्यको आगमन हुन्छ
उनीहरु मलाई अवलोकन गर्दै फर्कन्छन
त्यसरी नै बिहानी पख रातहरु भाग्न खोज्छन्
बिहानीको लाली पवन संगै पुर्व क्षितिजबाट
मुसुssमुसुssमुसु हाँस्दै देखा पर्छ
आज पनि तेसरी नै सुर्य छिप्पिंनदै चन्द्र अस्ताय हुन्छ
फेरी उ पल्लो क्षितिज डाँडा पाssरी
चन्द्र राssतो लाली छोड्दै डुब्दै गरेको देखिन्छ
उसले मलाई भोली भेट्ने बाचा गर्दै हात हल्लाउँछ
तर म उसलाई बिदाई गरि हाल्नु सक्दिन
किनकी! उ म संग दिन भरि साथ भएको कारण
म चटक्कै उसलाई बिर्सेर हात हल्लाउन सक्दिन
बिदाई दिई हाल्न सक्दिन
त्यसै उ नडूबुन्जेल सम्म म उसलाई उभिएर हेर्छु
कुनै भिन्चीले कोरेको मोनालिसा झै
हात बाँधेर म ठिंड०ग उभिएर म हेरीssरहन्छु
उसलाई म टुलुssटुलुssटुलु
एकोहोरिएर हेरीssरहन्छु म
एकोहोरिएर हेरीssरहन्छु!!

Manoj Kafle (Mansoon) – Santras Ko Nisima Royen

मनोज काफ्ले ‘मनसुन’ –  सन्त्रासको निसिमा रोएँ

सन्त्रासको निसिमा रोएँ चोटै चोट लुकाएर
बिलौना मा बिहानी भो नयनहरु सुकाएर

जीवन यो नसा भयो अँध्यारा छन् गंतब्य
आफ्ना ले भुली गए बाचा बन्धन फुकाएर

बेअर्थको संघर्ष यो उन्मुक्त यी भाग्य रेखा
हजार आए ठगी गए खोक्रो आधार झुकाएर

बल्झिरहे घाउहरु बेदनाका लाम लागे
दैब तेरो सापो नापो जाउँकि बरु चुकाएर

Namrata Guragain – Aama

प्रिय आमा
म कसरी फुकाउ मेरा खुशीहरु
म कता मात्र लुकाउ मेरा खुशीहरु
जताबाट हेरे पनि पुर्णता पाउँछु
सधै हासिरँहनु
स्बस्थ जीबनको सधैं गुणगान गाउछु।

मुर्तीकारले आफनो शीप खर्चेर बनाएको मुर्तीझैं
मेरा Continue reading “Namrata Guragain – Aama”

Kshetra Pratap Adhikari – Mero Maya Timro Maya

क्षेत्रप्रताप अधिकारी – मेरो माया/ तिम्रो माया

मेरो माया त्रिशूलीको पानी
गैरो भएछ
तिम्रो माया कृष्णभीरको माटो
पैरो गएछ ।

त्यो पानीमा डुबिरहेछु
त्यो माटोले पुरिरहेछु
त्यतै कतै मलेखुमा
तिम्रो बाटो कुरिरहेछु ।

तिम्रो माया नागबेली बाटो
गारो रहेछ
तिम्रो माया चप्लेटी ढुङ्गा
सारो रहेछ ।

त्यही बाटो गुडिरहेछु
त्यही ढुङ्गा चुमिरहेछु
त्यतै कतै त्रिशूलीको
भुमरीमा घुमिरहेछु ।

तिम्रो माया दामनको चिसो
हिउँ परेछ
तिम्रो माया सिमभञ्ज्याङ काटेर
कतै झरेछ ।

Komal Shrestha Malla – Ma Ke Lekhun

कोमल श्रेष्ठ मल्ल – म के लेखु ?

पहाड भत्कदैछ
पहिरै पहिरो छिचोलेर
उक्ळनै मुस्किल
तराई बिथोलीयर सल्कदैछ
हिड्नै मुस्किल
हिमालको रुप बदलीदैछ
कुरुप नाङ्गो अनुहार के गरि व्योहर्नू ?
धन्य प्रकृृती ! Continue reading “Komal Shrestha Malla – Ma Ke Lekhun”

Rama Timalsina Adhikari – Khai Ke Pariwartan Bhayo Ra Yahan

रमा तिमल्सिना अधिकारी – खै के परिवर्तन भयो र यहाँ ?

हिमाल उस्तै छ,
पहाड उस्तै छ,
तराई पनि त उस्तै छ,
खै के परिवर्तन भयो र यहाँ ?

म मान्छु चादिँको हिमाल सँगै
अब फोहोर पनि बस्छ रे,
हरिया पहाडका फरिया लुटिए,
पशुपंक्षीहरु तिउन बनाई भुटिए
चारकोषे झाडिहरु फाडिए
वनका धनी गाउँहरु नागिँए ।

हिजो जस्तै अन्याय छ आज पनि
हिजो जस्तै अत्याचार छ आज पनि
हिजो जस्तै सन्त्रास छ आज पनि
हिजो जस्तै पिल्सिएका मन छन् आज पनि
खै के परिवर्तन भयो र यहाँ ?

म मान्छु हिजो न्याय माग्नेहरु
आज अन्याय गर्न सफल भएका छन,
हिजोका रक्षकहरु आज भक्षक भएका छन्,
हिजो पानी पिलाउनेहरु आज विष पिलाउदैछन्,
हिजो निर्माण गर्न तम्सनेहरु आज भत्काउदैछन्,
हिजोको समाजसेवीहरु आज जनता चुस्दैछन्,
खै के परिवर्तन भयो र यहाँ ?

हिजोजस्तै साघँुरा बाटा छन्,
हिजो जस्तै निरस र विवस आखाँ छन्,
हिजो जस्तै लादिएको शासन छ,
हिजो जस्तै भाचिँएको आशन छ,
हिजो जस्तै कुर्शिको खेल छ,
हिजो जस्तै जनतामा पिडाको भेल छ ,
खै के परिवर्तन भयो र यहाँ ?

हामीले देख्यौ हिजो हामीलाई अप्ठ्यारोमा डो¥याउनेहरु
आज भिरबाट घचेट्न पनि सफल छन्
हिजो स्वतन्त्रताको नारा लगाउनेहरु
आज निरंकुश शासन गर्दैछन्,
हिजोका हाम्रा जननेताहरु
आज कुर्शिका नेता बनेका छन्,
हिजो हाम्रो पिडामा सान्त्वना दिनेहरु
आज हाम्रा घाउमा नुनचुक छर्दैछन्,
खै के परिवर्तन भयो र यहाँ ?

हिजो हामी जे खोजीरहेका थियौं
आजको खोजी त्यो भन्दा फरक छैन,
हिजो हामीले जे रोजेका थियौ,
आजको रोजाई पनि त फरक छैन,
मात्र यति परिवर्तन भयो
हिजो हामी सगँै केही खोज्नेहरुसँग
आज हामी केही माग्दैछौं
हिजो पाएका अधिकारहरुसमेत आजको शासनले लुटेर
हामी त झन टाढा टाढा भाग्दैछौं ।

नत हिजो भन्दा आज पृथ्वी फरक छ,
नत हिजो भन्दा आज चन्द्र फरह छ ,
नत हिजो भन्दा आज सुर्य फरक छ,
नत हिजो भन्दा आज शासन फरक छ,
नत हिजो भन्दा आज जनताको माग फरक छ,
मात्र शासम फेरिएका छन्,
खै के परिवर्तन भयो र यहाँ ?
खै के परिवर्तन भयो र यहाँ ?

हालः बोस्टन, अमेरिका

Rabindra Nath Thakur – Ananda Yagya [From Geetanjali]

संसारको आनन्द–उत्सवमा भाग लिनाको लागि मलाई निमन्त्रणा
आएको छ । यसले गर्दा मेरो मानव जीवन कृतज्ञ भएको छ ।
मेरो नयनले अब रुप–सुधा पान गर्दछन्, अनि मेरो कानले दिव्य स्वर
सुन्दछन् ।

यो समारोहमा मलाई बाँसुरी बजाउने काम तिमीले दिएको हो,
अब मेरो जीवनमा सबै हाँसो–रुदन गीतको स्वरमा झन्किरहेछन् ।

अब, अन्तिम त्यो वेला आइपुग्योः
तिम्रो उत्सवमा गएर तिम्रो जयध्वनि सुनूँ अनि तिम्रो चरणमा
मौन वन्दना चढाउँ !
संसारको आनन्द–उत्सवमा भाग लिनाको लागि मलाई तिम्रो
निमन्त्रणा आएको छ ।

Bikash Bajagain – Artha

विकाश बजगाईं – अर्थ

कोलाहलयुक्त अनुत्पादक दिनहरुबाट,
चकमन्न मेरा चेतना किन व्यूउँझिदैनन् ?
निशब्द रातको निश्लोट प्रहरहरुबाट,
हृदयको मधुर संगीत किन निदाउँदैनन् ?

आखिर,
मानव नै हुँ म पनि,
धिक्कार्न सक्दिन यो जन्मलाई ।
स्वाभिमानी हुँ भन्छु आफूलाई,
स्वीकार्न सक्दिन सह अस्तित्वलाई ।।
के हार अनि के जीत नै हुनु छ र
यो कालान्तरीत लडाईमा ।
पाउनु गुमाउनुको केही रहेन अब
नितान्त एक्लो यो जीवनमा ।।

स्वरचित कल्पनाले मात्र,
हृदयलाई शितलता दिने भए,
अर्धचेतन स्वप्नले मात्र
स्वर्गानुभूत गराउने भए,

वास्तवमै,
मांश प्राचिर तिम्रो त्यो सुन्दर स्तम्भको
प्रेमक्रिडाका ति आनन्द तिरेक क्षणहरुको
हजारौ कामात्मालाई परास्त पार्ने तिम्रो वाक्पटुताको
परिहास युक्त यो जिवलाई के नै अर्थ हुने भो र ?

– इन्द्रपुर ७, बेलेपुर, मोरङ्ग

Pravin Khaling – Achel Sairan Bajeko Chhaina

प्रविन खालिङ – अचेल साइरन बजेको छैन

आमाहरू बोतलमा फिक्का चिया भर्दैनन्‌,
मुखको गॉंस घॉंटीमै राखेर संघर्षको तयारीमा लागेका छैनन्‌
अचेल साइरन बजेको छैन।

नागा हुने त्रास छैन, हक छुट्टीको लोभ पनि छैन
मुनाहरू त्यसै हुर्किन्दैछन्‌।
सुस्ताएरै बिहान बित्छ,सुस्ताएरै दिन
गोलाई टारमा तौलाईमा भेला हुनुपर्दैन
ठीका नपुगे दुःखी हुनुपर्दैन, अचेल घुमौरी खेल्नपर्दैन
न त राशन थाप्नुको हतार छ
अचेल भिघा पनि लागेको छैन।

उनीहरूसित त्यस्तो केही छैन र,नै धेरै छ
सास कष्ट, जुन जिन्दगीको अवधिभन्दा धेरै छ।
नानीहरू पाठशाला गइरहेकै छन्‌, धुराभरि केटाहरू रङ्गालिरहेकै छन्‌
कसैलाई केही भएको छैन
यत्ति हो अचेल साइरन बजेको छैन।

प्रत्येक पहरहरूमा हुकुम बजेको छैन।
प्रत्येक श्वास-प्रश्वासमा
शोषणको गन्ध आउँदैन
मान्छेहरू कामविहीन भएरै पनि, बॉंचिदिन खोज्दैछन्‌
मालिकबिनै पनि हॉंसिदिने सोच्दैछन्‌
गाउँमा अभाव छ
चेतनाको प्रभाव पनि छ
यत्ति मात्रै हो, अचेल काम लागेको छैन
टायम-टायममा साइरन बजेको छैन।

(बन्द चियाबारीका मेरा आफन्तहरूको नाममा समर्पित)

Monika Khatiwada – Jeewan

मोनिका खतिवडा – जीवन
(Source: मधुपर्क, चैत, २०६८)

हाँस्न थालेको छु विवशतामा
जिउन थालेको छु बाध्यतामा
जिवन जिउँदो लास भए नि
रमाउन थालेको छु आर्यघाटमा ।
सारा संसार विरानो भएछ
आफ्नै छायाँ पराइ भएछ
रुन छाडेको छु एक्लै रातमा
आँखामा आँसु नै रित्तिसकेछ ।
टुटेका सपना जोड्दिन अब
तिम्रो विछोडमा जल्दिन अब
एक्लै रमाउन थालेको छु अचेल
तिम्रो साथको कल्पना गर्दिन अब ।
झुटो कसममा विश्वास गरेँछु
तिम्रो सपनामा आफ्नो जीवन देखेँछु
फेरि अब लालसैलालसामा मर्दिन म
जीवनमा धेरै मृत्यु पहिल्यै मरिसकेकीछु ।

– मस्को कलेज, कुपण्डोल

Basu Dhakal – Maasinchha Ki Mero Desh

मासिन्छ कि देश मेरो

बन्दैछ कि धुजा धुजा
आजभोलि देश मेरो
मासिन्छ कि डर लाग्छ
त्यों नेपाली भेष मेरो

बाँड्नै परे नेपालीको
मन बाँडे हुन्थ्यो
शीप रुपी पौरखको
धन बाँडे हुन्थ्यो

मलाई पनि नटुक्र्याई
देश देऊ अलिकति
हिमाल पहाड तराइको
भेष देऊ अलिकति

आफू आफू के का लागि
कुस्ती खेल्नु घरी घरी
नेपालीले कतिन्जेल
दुख: झेल्नु सधैभरि

एउटै जात नेपालीको
हात देऊ अलिकति
नेपाली हुँ भन्न लाई
साथ् देऊ अलिकति

डेविस, क्यालिफोर्निया