Ashok Rai – Thaha Napayeko Bainsh

अशोक राई – थाहा नपाएको वैंश

वैंश नचिनेर उसबेला
म त भुसुक्कै !
हाँसखेलै भएन
मन खै किन हो कसैप्रति
एकोहोरो नै भएन ।

धेरैले माग्यो मेरो वैंश
जागिरेले माग्यो
मास्टरले माग्यो
प्रोफेसरले माग्यो
नेताले माग्यो
अलाहुरेले माग्यो
देशी विदेशी लाहुरेले माग्यो
कसैलाई दिन मन लागेन
मेरो वैंश ।

मनको धनी म
धन देखाउने सित त अझ
वैंश साट्न मनै लागेन
त्यसैले
‘लाहुरेको’ सुनमा त
मेरो वैंश साट्नै मन लागेन ।

तर……..
तर अहिले लाग्छ
ऊ सित मनपनि थिएछ ।

घर मास्तिरको जूरे काफल र
देउरालीमा फूल्ने लाली गुँरासले
मलाई सम्झा’कै हो
“कान्छी !
एकबारको जूनी दिईहाल उसैलाई”
साँच्ची उस्ले मायाको कसम खाँदै गर्दा
त्यो दिन
आँगनको गुलाब धपक्क फक्रेको थियो ।

वैंश नचिनेर उसबेला
म त भुसुक्कै !
खै अहिले
वैंश फर्केर आए त
त्यो बेँसी खेतै बेची दिन्थेँ ।

Baidyanath Upadhyaya – Jeevan Ko Baali

वैद्यनाथ उपाध्याय – जीवनको बालि

यो देह को त
कुरै के गरूँ?
यो त आफ्नै यात्रा हिंडिंरहेछ ।
साथमा छ
कालो पोतिए जस्तो
असन्तोषले भरिएर
दूखीरहने मन..
अनि
अगाडि छ
एउटा अनन्त यात्रा..
जीवन के हो?
यो हिंडाई हो
या कि बाटो !
अनुभव भन्दछ-
‘जे हुनूपर्ने छ
त्यही हुन्छ
मैले चाहनु
न चाहनुले
केही फरक पर्दैन ।’
कल-पूर्जा जस्तै
जुटेको छू म
दिन-रात

उद्यमले रंग ल्याउँछ रे भन्थे

बालि सुकेर आँफैं
शर्मसार छ
जीवनको फाँटभरी !

Manoj Bogati – Kuwa Ko Swar

मनोज बोगटी – कुवाको स्वर

१.
मलाई तिम्रो कुवा मनपर्यो
तिमीले त्यहॉंबाट कराइरहेको पनि मन पर्यो।
मैले मन पराएर तिम्रो कुवा संसार हुँदैन
के गर्छौ
मैले मन पराएर तिम्रो कुवा जीवन हुँदैन।

तिम्रो स्वर पनि राम्रो छ
संगीत पनि राम्रो छ
लय पनि राम्रो छ।
सप्पै राम्रो छ
के गर्छौ
सुन्ने स्पेस फराकिलो छैन
कुवाको भित्ता छेड़्दैन।

तिमी त्यहीँ बसेर फुल्लिनू
र त्यहीँ फुट्नू।
तर याद राख तिमी फुट्दा निस्कने आवाज
कुवा बाहिर उछिटिनेछ
त्यो आवाजले सुनाउने छ सबैलाई
कुवाको मर्म र मृत्यु।

के गर्छौ
त्यतिबेला तिमी नै हुनेछैनौं।

भ्यागुतालाई भन्ने कुरा यो भन्दा ठूलो हुँदैन।

२.
कुवाभित्र पसेर नहेरेको भए
मैले यो अक्षर पाउने थिइनॅं
यो साहस पाउने थिइनॅं।

कुवाबाहिर ननिस्किएको भए
कुवा निर्माता चिन्ने थिइनॅं।
कुवा नायक चिन्ने थिइनॅं।
त्यो सर्जकलाई चिन्ने थिइनॅं
जसले लेख्यो तिम्रो निधारमा
उचाल्नै नसक्ने दुर्भाग्य।
र भोग्न पाउने थिइनॅं
जीवनको यो जटिल अर्थ।

३.
कुवा, भ्यागुता र मबीचको नाता
अब त ठम्याइसक्नु भो की?

Shrawan Mukarung – Ful Ko Katha

उहिल्यै–उहिल्यै…
फूलहरू कविता लेख्थे ।

फूलहरू–
आदिकवि थिए
महाकवि थिए
युगकवि थिए
जनकवि थिए
उहिल्यै–उहिल्यै…

एकदिन–
अनायास यौटा फूल हरायो
सारा फूलहरू रोए
असङ्ख्य भावुक फूलहरूको जीवन दुःखमा डुब्यो ।

अर्को दिन
अर्को फूल हरायो–
फूलको संसारभरि हाहाकार मच्चियो
सारा फूलहरू आगो भए
धर्तीको सौन्दर्य धुवाँ भएर अक्कासियो
फूलहरू–
राजा भए
नेता भए
किसान भए
मजदुर भए
अफसोच ! फूलले फूललाई नै शोषण गर्न सुरु गर्यो !

कवि फूलहरूले विद्रोह गरे
न्याय र समानताको कविता लेखे
मुक्ति र स्वतन्त्रताको कविता लेखे
शोषित फूलहरू जुरमुराए
उठाए हतियार र भिरे आआफ्ना कम्मरमा
असङ्ख्य फूलहरू फूलहरूबाटै शहीद भए
सारा फूलबारी रङ्गियो प्रभाती किरणले ।

धेरै पछि–
मान्छे फेरि त्यहाँ पुग्यो
फूलहरू–
आफ्नै हृदयको रगतले पोतिएको झन्डा फरफराइरहेका थिए–
भीर
पहरा
गमला र आँगनवरिपरि…

मान्छे चुपचाप फर्कियो र भन्यो
हे ईश्वर ! सबै फूलहरू मान्छे भइसकेछन्
मैले तपाईंलाई फूल चढाउन सकिनँ !
उहिल्यै–उहिल्यै…।

Hem Nath Ghimire – Dukhi Cheli

हेमनाथ घिमिरे – दुःखी चेली

लहरै फुले जाही र जुही बेली र चमेली ।
फुलीनौ तिमी किन हो कैल्यै भन न ए चेली ॥
आएन बैंश लागेन मात जवानी सकियो ।
मनका ईच्छा सपना सारा मनमै रोकियो ॥ १ ॥

दाउरा घाँस मेला र वन जीन्दगी यै हो कि ।
हाँसो र खुसी उमंग सबै अरुकै पो हो कि ॥
चन्द्रमा जस्तो मुहार तिम्रो चाँदनी छाएन ।
जीन्दगी भयो औंशीको रात पूर्णिमा आएन ॥ २ ॥

छोपेर आयो बूढ्यौली कैले थाहा नै भएन ।
बैंसालु मन जवानी पन आउँदै आएन ॥
पन्ध्र र सोह्र नलागी कनै पच्चीस पुगेकी ।
संसार के हो थाहा नै छैन घुम्टो मै लुकेकी ॥ ३ ॥

बिहान साँझ ढिकी र जाँतो कुवा र पँधेरो ।
पढ्नु र लेख्नु केही नि छैन जिन्दगी अँधेरो ॥
पसिना श्रम रात र दिन अरुकै बन्धकी ।
न मीठो खाना न राम्रो नाना के यस्तो जिन्दगी ॥ ४ ॥

बाहुनडाँडा लमजुङ्

Bhupi Sherchan – Mero Chowk

भूपी शेरचन – मेरो चोक

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
असङ्ख्य रोग छ,
केवल हर्ष छैन,
यहा त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ

यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता,
यी दुबैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन्
मानिस उदास छन्
किनकी तिनलाइ यहाँ
रात रातभरी उपियाँले टोक्छ
दिन दिनभरी रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाइ यहाँ
न कसैले पुज्छ न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ

Anju Subedi – Yo Mandi Ko Bajar Ma

अन्जु सुबेदी – यो मन्दिको बजारमा
(Sent to Sanjaal Corps via Email)

यो मन्दिको बजारमा
मेरा फसलहरु
काटूं की नकाटूं अन्यमनस्क।
……………………….
……………………….
मनले भन्यो
यो Continue reading “Anju Subedi – Yo Mandi Ko Bajar Ma”

Bibek Dulal Chhetri ‘Damak’ – Ma Ta Sarhai Bigren

विवेक दुलाल क्षेत्री “दमक” – म त सार्है बिग्रे

अहिलेसम्म
आफूमात्र अघाउने प्रपन्चमा छु
आजसम्म
आफैलाइ मात्र सोच्ने बिचारमा छु
ममाथि
अहमको पदार्पण भएको छ
म गजक्क परेर
अरूले गरेको नमस्कार
अरूले Continue reading “Bibek Dulal Chhetri ‘Damak’ – Ma Ta Sarhai Bigren”

Shrawan Mukarung – Majhi Gaun Ko Halla

नदीमा
ताराहरू डुबेका छन् भन्ने
गाउँभरि हल्ला चलेपछि
ऊ सबेरै
बल्छी बोकेर हिँड्यो ।

उसलाई सबभन्दा
धु्रव ताराप्रति अगाध मोह थियो
कारण
उसको जस्केलीबाट चिहाएर
धु्रव तारा
उसको ओछ्यानभरि पोखिन्थ्यो
भोकै सुतेको रात होस्
या रक्सी घोकेर सुतेको रात होस्
धु्रव तारा
उसको निधारमा टप्लक्क बस्थ्यो
र ऊ धपक्कै बल्दथ्यो ।


नदीको छातीमा एकाग्र
बल्छी थापिरहेको थियो
परबाट
एक हुल नानीहरू रमाउँदै आए–
‘माझी दाइ…माझी दाइ
हामीले ताराको गुहु भेट्यौँ ।’
पालै–पालो सुम्सुम्याएपछि
निष्कर्षमा
सबैले एकै स्वरले भने–
‘ताराको गुहु ढुङ्गाजस्तै हुँदो रहेछ ।’
बल्छी थापिरह्यो
तर कहिल्यै
तारा अल्झिन आएन
बरु, धेरै माछाहरू अल्झिए
र गाउँ भरिकालाई सितन भयो ।

अब त ऊ
धु्रव तारा झिकीछोड्ने अठोट लिएर
वार पार गर्नेहरूलाई डुङ्गाबाट तार्दा पनि
बल्छी खेल्न छोडेन
नानीहरू किनार उचाल्दै कराउन थाले–
‘माझी दाइ…माझी दाइ
हामीलाई तारा छिटो झिकिदिनुहोस् न ।’

वर्षाको याम न थियो
एक रात
ठूलो बाढी आयो
र निष्ठुरी बाढीले
धु्रव तारा झिक्न अभ्यस्त उसलाई
बगाएर कहाँ…कहाँ पुर्यायो
भोलिपल्ट बिहान
सबेरै
गाउँमा अर्को हल्ला चल्यो–
‘नदीमा
रहरलाग्दो जून पनि डुबेको छ ।’

Saroj Dhital – Janata

सरोज धिताल – जनता

“त्यसै हाँस्छ यो मोरो ”
सायद तिमीले नै भनेका थियौ
अलि अलि लजाउँदै
आफ्नो कुनै मूर्खतामाथि ।

ऊ भने
अनुशासित भएर हाँसो थाम्दै
चुपचाप
लुसुक्क
लाग्यो क्यारे एकातिर
तिम्रा कृत्यहरूबारे एक शब्द नबोली ।

“त्यसै रुन्छ यो मोरो”
आज तिमी गर्जिदैछौं हातमा लट्ठी लिएर
निकै गर्वका साथ
आफ्नो शक्तिमाथि ।

ऊ भने
सुधीर भएर आँसु थाम्दै
चुपचाप लागेको छ
मन्दिरतिर
तिम्रो मनभित्र
अहङ्कार गर्जिदै छ

त्यो गर्जनले बहिरा भएका तिमी
शायद सुन्न सकिरहेका छैनौँ ।

प्रार्थनामा लीन ऊ
ईश्वरसँग भन्दै छ
प्रभु मलाई शक्ति देऊ
म क्षमाशील रहन सकूँ ।

Thakur Belbase – Neela Paila Tekne Rata Manchheharu

नीला पाइला टेक्ने राता मान्छेहरू


ढुङ्गाको छाती खोपेर
सहिष्णुताको आवाज सुन्न
आतुर मान्छेको
मन्दिरस्थापना सोचिरहेको छु

रगतले मुख धुन इच्छा राख्ने
ईश्वरप्रति
मेरो खेद छ

ताराहरूका छाती कुल्चिएर
आप्mनो अधिपत्यको
उचाइगर्व खोज्ने
ईश्वरमा
जीवनका शुभकामनाहरू छरिन सक्दैनन्

आक्रोशका रगतले
नसाहरू भरेर
खडेरीको मौसम सिर्जना गर्ने
ईश्वरमा
मेरो समवेदना रहन सक्दैन

भोको पेटले
पानी उमार्न
माटोसँग भगीरथयुद्ध छेड्ने
मान्छेअगाडि
नतमस्तक क्षितिज आफै ओर्लन्छ

सम्भ्रान्त बस्तीतिर बहकिने
ईश्वर

शरीर ओछ्याएर बाँधमा
एउटा नदी नै पटाएर
मरूभूमिको बस्तीतिर
पारिजात फुलाउने मान्छे
के मान्छे अर्को ईश्वर जन्मन सक्दैन
हरेक प्रभातमा यही
कल्पना गर्ने गर्छु

एउटा यस्तो मान्छे
बारुदबाट समयलाई
सधैँ बचाओस्
एउटा नीलो आकाश उघारोस्
अनि
रक्तहीन समयलाई निर्भय फैलन दैओस्
त्यो मेरो भगवान् मान्छे

म निरन्तर आराधना गरिरहेको छु
नीला पाइला टेक्ने
राता मान्छेहरू

Gayatri Bista – Indrenimaya Aakash

गायत्री विष्ट – इन्द्रेनीमय आकाश
(Source: मधुपर्क पुस, २०६७)

बादल फाटेको आकाश
इन्द्रेनीले सजिएको
आँखा भरि भरि
सजाउँछु म
झिलीली ताराहरु
पोल्टाका पोल्टा
आँगनीमा पोखेर
एकाधिकार जनाउँदिन
दुईंवटै तारको धुन
अहाँ ! कर्णपि्रय
पैतालाको पदचाप
उकालो उकालो
हिमशिखर चुम्न
एक्लो यात्रा
सांङ्ग हुन सक्दैन
दुई गोडाको पदचाप
दुई हातको हातेमालो
इन्द्रेनीमय आकाश
वस! इन्द्रेनीमय आकाश ।

Rakesh Karki – Kalle Bhanchha Bideshma

इन्जिनियर राकेश कार्की – कल्ले भन्छ विदेशमा

कल्ले भन्छ विदेशमा संस्कृति छुट्छ
कामै मात्रले सांसारिक मायामोह भुल्छ
यहाँ त हरेक मृत्युमा बरखी बारेका छन्
शिरदेखि पैतालासम्म सेतै हिऊँ ओढेका छन्

कल्ले भन्छ विदेशमा भाषा विर्सन्छ
अमेरिकन पनले नेपालीपन छोपिन्छ
यहाँ त आतंकले अन्योल नेपाल बोल्छ
दाजुभाइको वियोगले अमेरिकै पोल्छ

कल्ले भन्छ विदेशमा जो कोही हराउँछ
आफ्नो आफन्त भुली एक्लै रमाउँछ
यहाँ त बेरोजगारी हातगोडा चलेका छन्
र पनि घाइते गाउँबेशी दु:खेका छन्

नेपाली वंश जगेर्ना गर्न कोही
टेष्टट्युब वेवी जन्माएका छन्
विचरी सताईएकी विधवा चेली
वेहुली बनाई अन्माएका छन्

यस्ता रमाइला खुशी सुन्दा
विदेश मै पनि लालीगुराँस फुल्छ
घडीको सुइ सँगै घुम्दा घुम्दा
एकैछिन मनले थकाई भुल्छ

कल्ले भन्छ विदेशमा नेपाली जन्मिदैन
पुर्खाको रगत नशा नशामा बग्दैन
यहाँ त पितृको आशिक शिरमा थाप्ने छन्
नेपाली सन्तानले डाँडाकाडाँ ढाक्ने छन् ।।

लस् एन्जेलस्

Bodh Raj Pant – Desh Euta Profile

बोध राज पन्त ‘अनागत’ – देश एउटा प्रोफाइल

मैले यो धर्तीमा सोंचें फूलफूल पलाउँछ
फुलले खटीरा पीला भित्रभित्र गलाउँछ
कोशी कर्णालीको माया छातीमा सल्बलाउँछ
भाग्य नेपालीको बास बस्न यै ठाँउ आउँछ
ढल्छन् दूर्गहरु छिट्टै स्वार्थका ब्यभिचारका
झूपडी झूपडी पुग्छन् चेतना अधिकारका
न क्वै अन्यायमा रुन्छ धातमा प्रतिघातमा
मेरो देश म हेर्ने छु अन्नका खातखातमा
मेची शिर उठाएर महाकाली चियाउला
गण्डकी किस्तीमा फूल लिएर भेट्न आउला
नेपाली भित्र नेपाल हर्षले खित्खिताउला
बैनी भेट्न भनि रारा फेवा आगन धाउला
हेर्थें आकाशका तारा हर्षले टिल्पिलाउँथे
जुनको गोधुलीभित्र देखिन्थे र बिलाउँथे
हिमाल छाती खोलेर उभिन्थ्यो शूरवीर झैं
पहाड मुक्तिका निम्ति देखिन्थ्यो तीक्ष्ण तीरझैं
कति आशा लिई छाती गोली खान तयार थे
सधवा विधवा बन्न खुसीले तम्तयार थे
काँधमा लाश छोराको बोकेर लडखडाउदै
हिडथे बाबुहरु बाटो पताका फर्फराउदै
अब नेपालमा यौटा विहानी झिल्मिलाउँछ
सदियौं देखिको कालो मैलो आफै हराउँछ
मैले सोंचे तिमी सोंच्यौ ,सबैको साेच यै थियो
थाहा थिएन त्यो हाम्रो साेचमा खोट कैं थियो
अ‍ैले यो धर्तीमा देख्छु काँढा काँढा जताततै
पाकेका खटीरा पीला गीला गीला जताततै
पैताला मनि कुल्चेर आफ्नो मस्तकको गति
श्रीमति बेच्न हिड्दैछन हिन्दू आदर्शका पति
किन कर्णालीको माया आज छिन्नबिच्छिन्न छ
उही छाती उही मुख आवाज भिन्नभिन्न छ
हिजोका बाँसुरी आज खैंजडीझैं कराउंछन्
आदर्श शीतबिन्दुझैं यत्ति छिट्टै हराउछन् ?

हिजो जंगलमा देख्दा दुर्गा वाहनझैं थिए
सदाचारी थिए बोल्दा मोती टप्टप खस्दथे
भोका नाङ्गा दरीद्रीका मुक्तियोद्धा महारथी
न्याय आवाजका शंख फुक्ने अर्जुन सारथी
आज हिंशक हिंसामा दत्तचित्त म देख्दछु
रक्तको कुण्डमा मुण्ड गाडेको पनि देख्दछु
जस्को कांध चढी हिड्छन् उसैको शरच्छेदन
जस्को विश्वासमा बाँचे उसैको गति भेदन
हिजोको पर्णकुटी जो उन्को आश्रयको थलो
आज छैन त्यहां भीमकाय बिल्डिङ पो फल्यो
थाहा थिएन विश्वास आस्था बेचेर बिक्दछ
खिया विवेकमा लाग्छ आत्मा बेचेर बिक्दछ
नारा भाषणमा देश मानो सुन्दरी हो अझै
तिमी भन्छौ, म देख्दैछु देशलार्ई बूढी बज्यै
टेक्ने छैन कुनै लौरो हात खुट्टा बिदीर्ण छन्
हड्डीमा धमिरा लागे आकांक्षा जीर्ण जीर्ण छन्
छोराको घरमा जान्छिन् चौकिदार धपाउँछ
छोरीको घरमा जान्छिन्् भोटे कुकुर आउँछ
सोध्छु नेपालकी आमा तिम्रो भाग कति पर्यो
भन्छिन् विश्वासको अश्व भीरबाट खसि मर्यो
बाठोको पुत्र हो लाटो, लाटो भाषण गर्दछ
लङ्गडो माइती नातो दौडमा अघि पर्दछ
अन्धोले देशको भाग्यचित्रमा रंग भर्दछ
योग्यता बन्दकोठामा छट्पटिएर मर्दछ
यस्तो कीन? प्रजातन्त्र यसैलाई भनिन्छ र
भक्तिको शक्तिमा मात्रै यस्को बाटो खनिन्छ र
देशको अंशबण्डामा प्रजातन्त्र जुटेपछि
स्वार्थका निम्ति योद्धाका मनोभाव फूटेपछि
बाँकी के हुन्छ ए मान्छे के खान्छौ भोलीको दिन
मैले सक्तिन मान्छे हूँ आफ्नो औकात बिर्सिन
म यौटा कवि मात्रै हूँ देखेको बोल्न खोज्दछु
आत्मघात जता देख्छु उतै बिद्रोह बोल्दछु
नारा भाषणमा मात्रै देशभक्ति हुनेभए
मेरो जिब्रो म थुतेर गण्डकीमा बहाउँछु
स्वार्थ सन्त्रास अन्याय प्रजातन्त्र हुने भए
मेरो आस्था म थुतेर कोशीमा ठिठुर्याँउछु

यता नुन नपाएर हूम्ली क्वै भोकले मर्यो
उता सून चपाएर क्वै स्वार्थ शोकले मर्यो
झूठ्ठा आरोपमा मान्छे छिडीमा कुहियो मर्यो
पुर्वाग्रह भरिएछ प्रजातन्त्र कता पर्यो ?
भेटी माग्दछ हाकीम देश कैं मालमा दुख्यो
योजना तुहिए देश शकुनी चालमा दुख्यो
मिचिए दश्गजा देश आफ्नो आकारमा दुख्यो
तस्करी फैलियो देश भ्रष्ट आचारमा दुख्यो
कविले कविता बेच्यो देश मेरै दुखिरह्यो
कसैले सरिता बेच्यो देश मेरै दुखिरह्यो
पिताले पूत्री बेच्यो रे देश मेरै दुखिरह्यो
सीता साबित्रीको देश धेरैधेरै दुखिरह्यो
शिष्टता मासियो देश कैले संसदमा दुख्यो
पजेरो भित्र टोलायो कैले सांसदमा दुख्यो
तानातान छ खुट्टाको कुर्सीमा पदमा दुख्यो
कति हो सहने? देश सहने हदमा दुख्यो
आफ्नो विश्वासको मान्छे खसीबोका भएपछि
जता चिल्लो सुघाइन्छ उता उता गएपछि
चिल्लोमा लर्किइ देश रगताम्य भएपछि
कति सहन्छ मान्छेले देश नै नरहे पछि
यस्ता बिकृतिका मूल च्याति फाल्न सकिन्न र ?
स्वार्थका दुर्ग आगोमा राखी गाल्न सकिन्न र ?
सकिन्छ, हामीमा यौटा संकल्प फूट्नू पर्दछ
सबै नेपालीमा यौटा आकांक्षा जुट्नू पर्दछ
यत्नले छाइए छानो बर्षामा चुहिदैन रे
आफ्नो बस्ती डढाएर आगो ताप्नु हुँदैन रे
आउ विश्वासको फुल फुलाउन जुटौं अब
जुटेमा हामी भत्कन्छन् फुट्नेका आत्मगौरव

– मणिग्राम,रुपन्देही

Narayan Shrestha – Eklo Pahad

नारायण श्रेष्ठ – एक्लो पहाड

गोरु गाढा र ट्रयाक्टरको आवाज पछ्याउंदै पुग्ने गाउंलाई
वालुवाको सानो ढिस्कोले छेक्छ केहीवेर
सांझको पातलो घामको छायांमा विलाउन खोज्छ
पीपलको पात र सल्लाको आवाज
ओराली परेको गोरेटो वाटोमा पाहुना हुनेछन–चाड मनाउन आएका
दोहोरी लत्तै फर्कने छन्,
लेउ लागेको चिप्लेटीमा पाईलाहरु पर्नेछैनन
वाटोभरि विछ्याउंदै, देउरालीको भीमसेन पातीले
सम्झना गर्नेछन काट्न वांकी वाटोको यादलाई
केटाकेटीहरु अतालिनेछन वाटोको लम्वाई नापेर
खोल्सा खोल्सीमा वगेको पानीको आवाज
निकै पुरानो नोष्टाल्जियामा वांच्दै गरेको उउटा आधुनिक गाउं
पुरानु दोहोरी गीतको धुन
आधुनकि टेलीभिजनले छरेको रंग
यो राजनीतिको भाकाले कोरेको नयाँ सीमारेखा
सास फेर्न पनि गाह्रो छ
उधारो छ पाखाभरि पहिरो र पसिनाको
फेर्न मिल्ने भाकाहरु छैनन
रित्तो काईंयोको पोथ्रा र वांसघारी
सुनसान चीया पसल र पानी पंधेरो
केटाकेटी र वुढावुढीको लहरे खोकी मात्रै छ गाउंमा!

मसिना शीतको थोपा आकाश चीर्छ
शरदको जून पोखिन्छ र मानिसहरु मायालु वन्छन
वाक्लो लवजमा कोही आउने छ
विद्रोह जस्तो पदचाप लिएर
अपहरण गरेर वस्नु पर्छ पानी तीर्खालाई
वालुवाको कविता लेखिएको क्षण पनि
सम्झाउन खोज्नु पर्ने छ
सुल्पा तानीरहेको वुढालाई,
तखतामा सजाईएको छोपको अचारलाई र आमालई
तर्पायं परेको ढुङ्गेलो वाटोभरी
यादले सताउने छ!

उ गयो यो अंध्यारो जस्तो वाटो चिरेर
त्यसभन्दा पर अर्को भूगोल पनि हुनु पर्छ
एउटा सम्झना लिएर
जून पोखिएको वाटो हाँदै
सलाम गाउंलाई –
लाहुरेको कथाजस्तो
कतिखेर ओईलाउने र कत्तिखेर वौराउने वावरी फूलको लहर
सुकेर, ओईलिएका थांक्राभरिका तरकारी
वजार हुने छैन
सारन तारनमा अडिउन्जेल चल्नेछ
यो सम्वन्धको डोरी
गाईगोठ जस्तो अल्मलाई
ढुङ्गा, गीटी र वालुवा भरिएको यात्रा
आफै उठेको विस्तारै
आफै झरेको विस्तारै
विपर्यास गति लिएर
न अघि न पछि
वढ्नु छ केवल प्रतयेक दिन मनिदरको घण्टीसम्म
कहांनेर भेटुं होला
यो निस्चल पानीको वहाव र प्रेमको संगमलाई

गाउंभरि कुकुर मात्रै भुक्ने छन– सांझभरि
खुकुरी वज्ने छ – छापामारको मार्चपास जस्तो
हिनहिनाएर वाटो काट्ने त्यो मात्र हुने छ
त्रास भरिएको अर्को दीनले छोप्छ फेरि
हामी समेटीन सक्दैनौं
मसिना स्वरहरुको अर्थ केही हुन्नन् –
कि हावाले उडाउंछ
कि पर्खालले छेकीदिन्छ!

भाग्नुपर्छ यहांवाट पनि भने–
नीलो खोलाको पानी हुनेछु कि नीलो तलाउ
धुपी र लहरे सल्लाको कुमारी गन्धमा हराउने छु
पाईला नै नपरेको भर्जिन पहाडहरुमा
नाउरको प्रेमालाप हेर्दै रमाउन हुनेछ
या चौंरीको खुरवाट उडेको धुलोले अनुहार छोपीदिन्छ
यो पहाडको खोचवाट हिउं झरेको छ
हिउंको थुप्रोमा छायाहरु कोरिन्नन्
ती पग्लिएर झर्ने पानीका आकारहरु हुन

नीलो आकाश र सेतो वादल लुकामारी हुन्छ
तर यो नाङ्गो पहाडले घाम छोपीदिन्छ
पानी परेको वखत ओत लाग्न वलेसीहरु छैनन
त्यो सानो खोलाको धारो, पानी घट्ट र उकालोको घुमाउने चौतारी
उस्तै छैनन्,
फेरिएको छ वादलको रंग,
एउटा छोर्तेन आईपुग्नुपर्छ–
तर हामीहरु हिडीरहेका हुनेछौं

Abhas – Sparsha

तिम्रो हृदयबाट
मेरो हृदयसम्म आउने
एउटा पुल छ
तिमी नदि पारि
म नदि वारि
हामी बीचमा
मीठो सौरभ छर्ने
सुन्दर पूmल छ
यो कहिले
हिमाली हावा भएर आउछ
र मलाई छुन्छ
कहिले
नदिको छाल भएर जान्छ
र तिमीलाई Continue reading “Abhas – Sparsha”

Ritu Ashik – Madhesh

रितु आसिक – मधेस

मुटुभरी छलकपट सँगालेर
तराई मधेश बन्न सक्दैन
तराईको पीडा
दाईजोमा आएको मधेशले बुझ्न सक्दैन ।
राष्ट्रियताप्रतिको अगाध स्नेह
रुपान्तरित राष्ट्रियता
ईतिहासको पौठेजोरीमा
उछीत्तो भएको Continue reading “Ritu Ashik – Madhesh”

Bhupin Byakul – Premi Haru

भूपिन ब्याकुल – प्रेमीहरु

प्रेमीहरु
सिर्फ सम्मोहीत पुतलीहरु हुन्
जो प्रत्येक रात
आफ्नै सपनाहरुको मलामी जान्छन्
र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी
मृत्युको तयारी गरिरहन्छन्
बारम्बार
आगोको समुन्द्र Continue reading “Bhupin Byakul – Premi Haru”

Pawan Chamling Kiran – Samaya Ra Sapanako Hichcha

पवन चामलिङ किरण – समय र सपनाको हिच्चा

हुनसक्छ तिमीले बिर्सिसक्यो
तर पनि याद होला
एउटा सभामा हाम्रो भेट भएको;
तिमीलाई भेटेर मलाई रमाइलो लागेको थियो
मान्छेले मान्छेलाई भेट्दा रमाइलो लाग्नु
आनन्द Continue reading “Pawan Chamling Kiran – Samaya Ra Sapanako Hichcha”

Tanka Subba – Manko Ruprang Dekhindaina

टंक सुब्बा – मनको रुपरङ्ग देखिदैन

मनको रुपरङ्ग देखिदैन
केवल हृदय भित्र
सल्वलाईरहन्छ /छचल्किरहन्छ
त्यसैले मन सधै
के गरु कसो गरु भईरहन्छ
मनको कुनै प्वाख हुदैन
तर उडि रहन्छ जताततै
मनको कुनै पाईला हुदैन
तर डुलिरहन्छ सारा संसार
कहिले दुख कहिले सुख
अनुभव गरीरहन्छ
पदचाप दिईरहन्छ मुटु भित्र निरन्तर
अनि पानी झैं कहिले कहि
छयालब्याल वाटो भरि पोखिन्छ
उन्मत भएको मन
सम्झना र तिर्सनाको दोसाधमा
फूलिरहन्छ जीन्दगी संग
समयको घोडा माथी चढेर
आकाश पाताल हुइकीरहन्छ
पलपल छातीमा
धड्कन झैं धड्किरहन्छ
कहिले निभ्छ कहिले वलेर आगो झै
दन्दनी पोल्छ /जलाउछ
परिवर्तित मौषम जस्तो
मनको
कुनै अङ्ग हुदैन
कुनै रङ्ग हुदैन
त्यसैले त क्षण क्षण मै मोडिन्छ/ तोडिन्छ
कहिले तितो कहिले मीठो
भोग्छ भोगीरहन्छ
मनले
कहिले आशु कहिले हासो
टेक्छ मनले
कहिले आफ्नो कहिले पराई
देख्छ मनले
जीवनको उचाई र गहिराई
नाप्छ मनले
त्यसैले त मनको रुपरङ्ग देखिदैन
केवल हृदय भित्र
सल्वलाईरहन्छ /छचल्किरहन्छ