Ritu Ashik – Madhesh

रितु आसिक – मधेस

मुटुभरी छलकपट सँगालेर
तराई मधेश बन्न सक्दैन
तराईको पीडा
दाईजोमा आएको मधेशले बुझ्न सक्दैन ।
राष्ट्रियताप्रतिको अगाध स्नेह
रुपान्तरित राष्ट्रियता
ईतिहासको पौठेजोरीमा
उछीत्तो भएको देखेका छौ |
हामी माथिको अपमान
एक शताब्दी पछि पनि
पुनाराबृत्त भइरह्यो |
तिमीले झिनो स्वरमा
उफ !
समेत भनेनौ |
यो कुनैबेला
जङला मुलुक थियो
दिउसै रात पर्ने,
घाम नछिर्ने
झाडीका झाडी झुन्डहरु
बन्यजन्तुको आतातायी हमलाबाट
जीवन भोग्दै बाचेर आएकाहरु
रोग भोक ब्याधीबाट बाच्दै ,
मुलुक जगेर्नाको खेती गर्दै
पुस्ता पछिको पुस्ता आगमन संगै
हामी
आफ्नो भूमिमा
पराई हुँदै गैइरहेका छौ
पुर्खाको
भूमिमा
अस्तित्वको लडाईं
लडिरहेका छौ |
पुर्खाको नासो
थाती राख्नकै लागि लडिरहेका छौ |
हाम्रो संस्कृतिका बिरुद्द
हामी आँफैलाई उभ्याइ रहेका छौ
राष्ट्रियता पहिचान लत्याएर
राष्ट्रियता अस्मिता माथिको धावामा
गर्ब गरिरहेका छौ
मधेश आन्दोलनको नाममा
तराई माथि तनाव थोपरिरहेका छौ ।
मधेशको जयगानमा
आफूलाई सुपुर्दगी गरिरहेका छौ
आफूलाई रुपान्तरित मधेशीमा
गर्ब गरिरहेका छौ
पञ्चायती हुँदै बहुदलको यात्रामा
मधेशका मठाधीशहरु
गजेन्द्रका चकचकी र उपद्र्वहरु
मुलुकवासीका लागि
शिर निहुराउने हुने गर्थ्यो
राष्ट्र र राष्ट्रियताको लुछाचुडिमा
भन्डार खनेर आगन पुरिरहेका छन
त्यसबेला जस्तै यसबेला फेरी
नयाँ पुस्ताका रुपान्तरित
गजेन्द्रका बर्गेलतीहरु
पार्टी पार्टीमा आसन जमाएका छन्
भन्डार खनेर आगन पुरिरहेका छन् ।

मोरङ, हाल: अमेरिका