Saroj Dhital – Janata

सरोज धिताल – जनता

“त्यसै हाँस्छ यो मोरो ”
सायद तिमीले नै भनेका थियौ
अलि अलि लजाउँदै
आफ्नो कुनै मूर्खतामाथि ।

ऊ भने
अनुशासित भएर हाँसो थाम्दै
चुपचाप
लुसुक्क
लाग्यो क्यारे एकातिर
तिम्रा कृत्यहरूबारे एक शब्द नबोली ।

“त्यसै रुन्छ यो मोरो”
आज तिमी गर्जिदैछौं हातमा लट्ठी लिएर
निकै गर्वका साथ
आफ्नो शक्तिमाथि ।

ऊ भने
सुधीर भएर आँसु थाम्दै
चुपचाप लागेको छ
मन्दिरतिर
तिम्रो मनभित्र
अहङ्कार गर्जिदै छ

त्यो गर्जनले बहिरा भएका तिमी
शायद सुन्न सकिरहेका छैनौँ ।

प्रार्थनामा लीन ऊ
ईश्वरसँग भन्दै छ
प्रभु मलाई शक्ति देऊ
म क्षमाशील रहन सकूँ ।