Rupesh Rai – Romantic Fact

रुपेश राई – रोम्यान्टिक फ्याक्ट

जवानीको कामुक्ता,
गाँजाले फुक्दै गरेको धुवा
सचेत समाजको कुनामा,
रुमलिरहेको साधु धारा।

कलकल आवाज आइरहेथ्यो।

छ्याप्छ्याप्ती नसाका
ठुटाहरू, मिउनिसिप्यालटीका कटेरा,
अनि Continue reading “Rupesh Rai – Romantic Fact”

Prollas Sindhuliya – Shabdakosh Ra Desh

प्रोल्लास सिन्धुलीय – शब्दकोष र देश

मेरा केही शब्दहरू
अचेल
शब्दकोषमै थोत्रा भएका छन् ।

वर्षौं खिया नलाग्ने
अन्तर्राष्ट्रिय स्तरको ठानिएको
वीर गोर्खाली शब्दमा खिया लागेको छ
स्वाभिमान शब्द
मैलिनुसम्म मैलिएको छ
धुवाँ, धुलो र प्रदूषणका अघिल्तिर
टिक्न सकेको छैन पुर्खाको गौरव ।

मेरो राष्ट्रवाद यतिबेला
सरकारी ढड्डाको धूलो खाँदै छ
व्यक्तिस्वार्थको टापमुनि
किचिमिची छ न्याय
बेइमानीको बजारमा
दुई कौडीमा बिक्न सकेको छैन इमान
शिर ठाडो पारेर हिँड्न चाहनेहरू
निसन्देह बेवकुफ ठानिन्छन्
मूर्खताको परिभाषा बदलिएको छ
हुनुसम्म जोकरफाल्तु भएको छ इतिहास ।

मेरा केही शब्दहरू अचेल
शब्दकोषमै
उल्टोपाल्टो, पाल्टोउल्टो भएका छन् ।

माग्नेले बोक्ने कुच्चिएको सिल्बरे थाल र
मानवअधिकारको अर्थ एउटै छ
विकासको बजेटमा पहिला धमिरा लाग्छ
अनि गाउँ पठाइन्छ
खसीको टाउको झुन्ड्याएर
कुकुरको मासु बेच्ने धन्दा
दिन दुगुना, रात चौगुना चम्किरहेको छ
गर्वका विषयहरू फेरिएका छन्
जो चोर उसकै ठूलो स्वर भन्न डराउनुपर्ने भएको छ ।

मेरा केही शब्दहरू अचेल
शब्दकोषमै क्षतविक्षत भएका छन् ।

मेरो आँखाअगाडि
विदेशी शब्दको दादागिरी छ
मेरै आँगनमा मेरा बच्चाहरू
मातृभाषामा बोल्न प्रतिबन्धित छन्
म न्यायको आशमा
अन्यायीकै दैलोमा झोलीथाप्ने पथिकजस्तो भएको छु
मैले क्रान्तिको पाठशालाका
क्रान्तिकारी शब्दहरू अनादर गरिरहेको छु
म पुख्र्यौली वीर हुँ,
म स्वाभिमानी हुँ,
म नेपाली हुँ भने
मैले मेरो शब्दकोष बदल्नै पर्छ
मैले मेरा शब्दहरूको सुरक्षा गर्नै पर्छ
मैले मेरो आफ्नोपनमाथिको
आक्रमणउपर प्रत्याक्रमण गर्नै पर्छ ।

मेरा कमजोर शब्दहरूलाई विद्रोही बनाउन
मैले मेरो सहनशीलताको सीमा भत्काउनुपर्छ
मेरो सगरमाथामा कुल्चने खुट्टाहरू भाँच्नुपर्छ
मेरो लुम्बिनीमा ढुक्ने गिद्धेआँखाहरू कुच्याउनुपर्छ
मेरो देशको शान्त तलाउमा खुट्टा घुमाउने
बकुल्ला भगतलाई दपेट्नुपर्छ
मलाई थाहा छ,
चार नाका थुनेर
लुम्तडी स्यालहरूलाई सिंहदरबार छिर्न नरोकुन्जेल
मैले मेरो शब्दकोष बदल्न पाउनेछैन ।

मैले मेरो देशको शब्दकोष बदल्ने तयारी गर्नै पर्छ ।

Manu Abhash – Lekhak

मनु आभास – लेखक
मधुरो छायाँमा बसेर
शब्दहरुको सुर्य मार्फत
चेतनाका किरण,कुना कुना पु¥याउने
एउटा कलम,
कलम समाउने औँलाहरु,
औँला चलाउने मस्तिष्क
र,मस्तिष्कले चलाएको एउटा युग
हिजो साँझ
अनायास Continue reading “Manu Abhash – Lekhak”

Kapil Adhikari – Sunami

कपिल अधिकारी – सुनामी

बसन्तमा फुल फक्रन लाग्छन
उजेलोको रेखा क्षितिजमा देखापर्छन
अिन
आशा खुशि र उमड्रंगलाइ चिर्थोदै
पीडाका छालबोकेर देखा पर्छ सुनामी ।

बेदनाका तरडंग हुर्याउँदै
पीडाका छाल फैलाउँदै
पहाड तराइ हिमाल सात समुन्द्र नाघेर
पस्छ मन मन भित्र
कम्पन गर्दै तरडंगीत सुनामी ।

भबिष्यको हत्या गर्दै
बर्तमानमा
पटक पटक
केवल
अनगिन्त आँशु र बेदना छाड्रदै
अनायसै पैदा हुन्छ सुनामी ।

पटक पटक जन्मिरहेछ
परपीडक सुनामी
आज
सुनामीको इपिसेन्टर
भएको छ मेरो देश ।

जनवरि १ २००५

Sulochana Manandhar Dhital – Raat

सुलोचना मानन्धर धिताल – रात

रात, सुनसान छ
रात अँध्यारो छ
रात अघोर निन्द्रामा छ
रातलाई बिउँझाउन
सियोको टुप्पो भएर
मेरो सानो मनले निउ खोज्दै छ ।
ऊ मलाई सुत्न दिन्न
सुनसानमा एकाधिकार जमाउँछ,
कोट्याइरहन्छ
घोचिरहन्छ
चुहिरहन्छ
चुहिरहन्छ
रात Continue reading “Sulochana Manandhar Dhital – Raat”

Krishna Upadhyaya – Dhanyabad Valentine

कृष्ण उपाध्याय – धन्यवाद भ्यालेन्टाइन

आज त अझ हरियाली माथि हिमालै आएछ
लेकसाइड्को ताल पनि हिलेभग झरेछ
हुँदाहुँदा माछापुछ्रे पनि स्टाभाङार सरेछ
अहिले त हिमाल हिलेभग अगाडि ठिङ्ग उभिएछ।

हिमालका तालबेताल सुरमा
तिमी भ्यालेन्टाइन नाचिरहदा
हिलेभग हिजो पाटनका पटाङ्गिनीमा नाचेको अभिनय गर्छ
तिमी सङ्ग्सङ्गै प्रेम नाचेको अभिनय गर्छ
मेरा आँखा हरुमा
रक्तिम रक्तकण हरुमा
मेरो मनमा!

कान्तिपुरका कलिला रात ओछ्याएर
मन र मस्तिस्कका मन्चहरुमा
तिमी र म
प्रेम प्रणयमा प्रेमिल बाटा पछ्याउदै
उन्मुक्तिका गीत गाएको अभिनय गर्छ
नाचेको अभिनय गर्छ।
त्यसैले त भ्यालेन्टाइन
तिम्रा हिमालजस्तै हिस्सिपरेका अबयबका
धुक्धुकी सुनिने तिम्रा अबयबका
आलिङ्गन र अङ्गालोमा
मृदुस्पर्षहरुमा
उन्मुक्त उन्मुक्तिका गीत गाई रहन्छु
नाचि रहन्छु
तिमी सङ्ग सङ्गै!

तिम्रा असिम प्रेमका परिक्रममा
हरेक दिन प्रेमिल हुन्छन
दिनहरु प्रेम दिन हुन्छन!
होइन भने
सिन्धुको सान्धहालेर
निल नदिको रेखी हालेर
म मरुभुमिमा पग्लिरहदा
हिमाल हृदयमा हालेर
शितल शितल प्रेम पठाउदिनथ्यौ
कलिला कलिला रातहरुमा
चुलोको चम्को माथी दियो बालेर
प्रेम प्रज्वलित गर्दिनथ्यौ।

पर पर पग्लिने प्रेम सङ्गको
तिम्रो प्रेमलाइ
तिम्रा प्रेमिल गीतहरुलाइ
हिलेभगको हिमाल ले पनि सलाम भन्यो
तिमिले गाउने उन्मुक्तिका उन्मुक्त गीतमा हासिरह्यो।

टेम्सका तटहरुमा
समुन्द्रका साँधहरुमा
बालुवाको ओछ्यान लगाएर
भ्यालेन्टाइन
बस्त्रको कलेबरमा तिमी निर्बस्त्र लडिरहदा
तिम्रा अवयवका अलङ्कार
अलङ्कार लाग्छन हिमालका अवयव जस्तै!
यात्रीका पदमार्ग जस्तै!
पन्चेन्द्रीय का अनुभूति जस्तै!

कसरी बिर्सु!
तिमिले गाएका तिम्रा अवयवका गीत हरु
अवयवका अलङ्कारका गीत हरु
अहङ्कार लाग्ने गीत हरु
भ्यालेन्टाइन तिमिले गाई रह्यौ:
“यी सुन्दर अवयव मेरा हुन
कसैले यस्मा हुकुम नचलाउ!”
तिम्रा तिनै उन्मुक्त उन्मुक्तिका भाकाहरुमा
म तिमी सङ्सङै नाच्दा
म तिम्रा अवयव हरु भित्र बाधियेर
प्रणय दिवस मनाइ रहे।

तिम्रा अनन्त अबिरल प्रेममा
म आफै पनि प्रेमाभिभुत छु।
मरुभुमिमा पहिचानहिन पग्लिरहदा
तिमी प्रशान्त को तुफान रोयौ
कान्तिपुरको क्रन्दन पोख्यौ
लोन्डोनियमको आक्रोश ओकल्यौ
तिम्रा छरियेका केश्हरु मेरा अनुहार स्पर्श गरि रहे
पहिचानहिन पग्लिदा म तिम्रो प्रेम पग्लिरहे!

त्यसैले त भ्यालेन्टाइन
उत्तरिसागरको प्रेमिल स्पर्समा
यारेनको स्वच्छन्द स्वतन्त्रताको आकाशमुनी
म उन्मुक्त बाच्छु
प्रेम बाच्छु
स्वतन्त्रता बाच्छु!

स्टाभाङ्गार

Dr. Bhola Rijal – Chulesi Le Rete Hunchha

डा. भोला रिजाल – चुलेसीले रेटे हुन्छ

चुलेसीले रेटे हुन्छ खुकुरीले काटे हुन्छ
म त भएँ अचानो जेले जेले हाने हुन्छ

मैले मात्रै रुनु पर्ने कर्मै हो कि यस्तो
किन भयो जिन्दगानी आज बगर जस्तो
सक्छौ भने भाग्य पनि त्यतै ताने हुन्छ
म त भएँ अचानो जेले जेले हाने हुन्छ

माया पनि बदनाम हुने जाली काम गर्यौ
झुक्याएर मनको खेतमा तिम्ले आगो छर्यौ
मुखले किन ठिक्क पार्ने पराई ठाने हुन्छ
म त भएँ अचानो जेले जेले हाने हुन्छ

शब्द – डा भोला रिजाल
स्वर – रामकृष्ण ढकाल
संगीत – उदय सोताङ
एल्बम – आगमन

Suren Upreti – Sapana

सुरेन उप्रेती – सपना

विहान तीन बजे देखि नजिकैको
मस्जीदबाट छाना नै उचालौंला झैं गरेर
विरक्तलाग्ने धुन आउन शुरु गर्छ ।
म कोल्टे फेरेर निदाउन खोज्छु ।
अहँ निन्द्रा पर्दैन ।
झन लामो स्वरमा आवाज चर्किन्छ ।

दिंउसो गर्मिमा आफुले गर्नु पर्ने काम सम्झन्छु ।
५० डिग्रीको तातोमा
सेफ्टीबुट पन्जा र हेलमेट लगाएर
बिस तला माथि चढेर
फलामका रड जोडेर फर्मा कस्नु पर्छ ।
रेड सीबाट आएको तातो हावाले हान्दा
शरिरको रगत नै सुकेजस्तो हुन्छ ।
शरिर वैलाएको साग जस्तो बन्छ ।
उफ्
तातोले गर्दा जीउ नै लल्याक लुलुक हुन्छ ।
केहीकथम उँगियो मात्र भने ।
इहलिला समाप्त हुन्छ ।
अस्तिको वंगाली केटाको जस्तै

रातिपनि सुत्न ढिला भयो
एउटै कोठामा ६जनाको बसाईछ
सबैका आफन्तको फोन आउँछ
झन यो चाडपर्वका बेलामा त
कुना कुनामा रुवावासी चल्छ ।
छोरीले आउने हैन बाबा भन्छे

छोरो कहिले आउने बाबा ! भन्छ
बा पनि ,अब आइज, अब आइज भन्छन्
आमा ठूले जसो परे पनि एतै आइज भन्छिन्
उनको वोली पूरा हुँन पाउँदैन
घकानिएको आवाज र सुँक्क सुक्क मात्र सुनिन्छ ।
दिदी र बहिनी पनि आएका रहेछन्
यो बर्ष दिनको चाडमा पनि आउन नमिल्ने
कस्तो जागिर हो तेरो !
भो आइज भाइ हामी पनि तँलाई भेट्न
भने पछी गला अबरुद्ध भएर वोल्न सक्दैनन् ।
श्रीमतिको पालो आउँदा रातको
एक बज्नै लागिसकेछ ।
आउँने भन्दा भन्दा दसैंमा पनि मिलेन
तिहारमा त मिल्छ होला भन्नु हुन्थ्यो
सबै दिदीबहिनीहरु आएकाछन् ।
मेरो पनि भाइ टिकालाउन आएकोछ ।
उनको वोली अड्कियो ।
फोन काटियो ।
गाउँका अतितहरु सम्झनामा हराउँन थाले
घर सिंगारेको देखि रोटेपिङ र
लिंगेपिङ लगाएको ।
क्लब बनाएर देउसी भैलो खेलेको
पाटी डाँडाका छेउमा पिंङ र डाइस
खेल्नहरुको रमाइलो ।
दिदी बहिनीले दियो
कलश र तेलले छेकेको
दीर्घायूको कामना गर्दै ओखर फोरेको
सप्त रंगी टिका सयपत्री
र मखमलीको माला लगाइ दिएको !
थालभरी फलफूल सेलरोटी मिठाइ राखेर
रंगिन रुमालले ढाकेर दिएको ।
उपहारहरु दिंदै दिदीबहिनीका
गोडा ढोगेका क्षणहरु
तँछाड मछाड गर्दै आए ।
तर म त यो खाडीमा
हाँडीमा भुट्दै गरेको मकै झैं
मेरो कार्यक्षेत्रको योकुना र
त्यो कुना हुँदै छट्पटाउँदै छु ।
मेरो एउटै सपना छ ।
अर्को सालसम्ममा
सग्लो शरिरमा
आफैं हिंडेर स्वदेश जान सकौं
बन्दबाकसमा कैदी बनेर फर्कनु नपरोस्
फेरी पहिलाका झैं
डम्फु र मादल बजाउँदै
देउसी र भैलो खेल्दै हिंड्न पाउँ ।

Ananda Prasad Sharma – Kisan

आनन्दप्रसाद शर्मा – किसान

किसान आफू पसिना बगाई ।
कमाउँछु जीवन धान्नलाई ॥
जमाऊनु छैन केही कमाई ।
रमाउंछु तापनि रम्नचांही ॥
रविसगै पुग्दछु खेतमाहा ।
शशीसगै फिर्दछु गेहमाहा ॥
जाडो र गर्मी यी झरी बतास ।
सन्ताप मन्मा रती हुन्न खास ॥
मेरो अरु छैन केही कमाई ।
आफ्नै पसिना श्रम यो बगाई ॥
यी खेतबारी हरिया बनाई ।
उब्जाउछु एक मानु मलाई ॥
चाहन्न ऐश्वर्य सुखभोग गर्न ।
पाए खुशी छु मुखहात जोड्न ॥
ईश्वर तिम्रो करुणा पलावस् ।
सुख्खा नलागोस् असिना नआओस् ॥
म किमकर्तब्यबिमूढ हुन्न ।
अल्छ्याईको चिन्ह ममा हुदैन ॥
बासी ढुसी भोजन हुन्न मेरो ।
छ मुख फुस्रो भरिलो कलेजो ॥

Ishwar Ballav – Swapna Haru

ईश्वर बल्लभ – स्वप्नहरू

त्यसो त एउटा स्वप्नजस्तो
रङ्गी-विरङ्गी
अनेकौं विम्बहरू
कति परीहरू उड्छन्,

पुतली र चराहरू
माथि, कहिले आकाशको नीलोमा
र गहिरोमा समावेश हुन्छन्
फेरि विस्तारै-विस्तारै फूल बन्दै
विस्तारै-विस्तारै झिनो पर्दा बन्दै,
पारदर्शी समायोजनको उत्सव
ओर्लिन्छन्,
उक्लिन्छन् ।
पर कतै पर्वतको फेदीमा,
जवाकुसुमको वासना
अरून्धतीको दुःख र पीडाको
उत्सव,
दुःखको वासना कि
पीडाको वासना,
र्स्पर्शको मोहसित विस्तारै, अल्झिन्छन्
त्यसो त
स्वप्नमा
बिहान हुन्छ,
साँझ पर्छ
रात पर्छ
क्षितिज र आकाशका गुम्बजले
वास बस्छन्
ती बिहान र साँझसित स्वप्नमा
ती दिन र रातसित स्वप्नमा
सूर्य उदाउँछ,
सूर्य थाक्छ र
फेरि अस्ताउँछ पनि,
यात्रा सतत् र चिन्ता भइरहन्छ
उसले उदाउने र उसले अस्ताउने
उदयाचल छुने,
अस्ताचल छुने क्रम निरन्तर
भइरहन्छ
पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम,
आफूलाई ऐनामा हेर्ने र
माया गर्ने क्रम,
सधैँ भइरहन्छ
तलसम्म लत्रेर झरेको,
भुइँ नै छुन खोजेको,
उज्यालोको मजेत्रो हो कि,
अथवा अहिल्याको दुःख, अँध्यारो
प्रस्तर नै हुन परेको
अवसादले ढुङ्गा बनेको,
श्रापको मिथक र कथाले
निस्तार खोजिरहेको
त्यसो त,
एउटा असत्य जस्तो भ्रान्ति र
भ्रमहरू
अझै कति कठिन र क्रूर स्वप्नहरू ।

Bimal Giri – Finjayou Jaal

बिमल गिरी – फिंजायौ जाल

फिजायौ जाल चारैतिर उत्रदै र बग्दै झर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा

चालिरहे पाइला एक्लै पीडा बोकी मौन रुँदै
जीवनभरि तनाब दियौ गाठो पर्छ मन सधैं
सहे कैयौं बाणहरू झुक्किएर विश्वास गर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलीले गर्दा

दोषी सम्झी आँशु दियौ पोलिर’ने बिष हो कि
बाचिरहेछु अपमानको कालो बादल भित्र रोकी
टुसाएन खुशीहरु आफन्तको भरमा पर्दा
बाटो छुट्यो नाता टुट्यो त्यही बोलीले गर्दा

चारपाने झापा
१०-०३-२०१०

Rajendra Shalav – Kisan

राजेन्द्र शलभ – किसान

चारआलीतिरबाट
दुई जना गाडीवानहरू
सूर्य अस्ताउनुअघि नै
रित्ता बयलगाडाहरू लिएर फर्के

रित्ता पेटहरूजस्तै
रित्ता गाडीहरूमा
हरेक साँझ यसरी नै
यिनीहरू
जीवनको भारी बोकेर
खेतबाट फर्किन्छन्
बिहान सूर्यसँगै ब्युँझेर
लहलह धान फलाउँछन्
र रित्तो बयलगाडी लिएर
साँझ सूर्यसँगै घर फर्किन्छन्।

Rajendra Shalav – Kalam Ra Banduk

राजेन्द्र शलभ – कलम र बन्दुक

मेरो हातको कलम थुतेर
तिमीले मेरो हातमा बन्दुक राखिदियौ
बन्दुकको मोहले हो
वा तिम्रो डरले
मैले त्यो बन्दुक जोडले अँठ्याईरहेँ ।

तिम्रो बोलीले मलाई मोहनी लायो
तिमी मलाई भगवान जस्तै लाग्न थाल्यौ
आमाले सुनाउनु भएको
ठ्याक्कै महाभारतको कृष्णजस्तै
तिमीले भन्दै गयौ
र मैले मान्छे मार्दै गएँ
आफ्नै दाजु–भाई
अझ दिदी र आमाहरुलाई पनि मारेँ
यसरी मैले म भित्रको ‘म’ लाई पनि मारेँ ।

अहिले धेरै बर्षपछि
म भन्दा धेरै पर
राजधानिको कुनै मञ्चमा उभिएर तिमीले
शिक्षा र समानताको भाषण गरिरहेको
टेलिभिजनमा हेर्दैछु र सोच्दैछु —
मैले पनि पढेको भए
र मेरो नामको अगाडी पनि
डा. भै दिएको भए
के म पनि
अरुको हातबाट कलम थुतेर
बन्दुक राख्न लाउँथेँ होला ?

J B Khatri – Bagh Garje Pachhi

जेबी खत्री – बाघ गर्जेपछि

खोलापारी बाघ गर्जंदा
वारी गाउँ भयभित हुन्छ ।
हावाले पात हल्लँदा पनि
मन सशङ्कित हुन्छ ।
मनमा डर पसेपछि न यस्तो हुन्छ ।
देशभक्तिका कुरा गर्नेहरू
देश सङ्कटमा पर्दै गएपछि
सेलाउँदै जान्छन् ।
कहीँबाट सञ्चालित भए जस्तो
हाम्रो देशभक्तिको नारा
राष्ट्रियताको पक्षमा
उर्लिएको जनधार पनि
समुद्रको छाल जस्तो
किनारालाई छोएर
त्यसै बिलाएर जान्छ ।
जिम्मेवारी आफूमाथि
आएपछि काँध खसाउँछन् ।
पछि पर्छन् देशभक्तिका कुरा
ओझेल पर्छ राष्ट्रियता
सुस्ताउन थाल्छ स्वाधिनता
र हाबी हुँदै जान्छ
ब्यक्तिगत स्वार्थ
यस्तै हुँदै आइरहेको छ पहिलेदेखि
र अहिले पनि यस्तै भइरहेको छ ।
किनभने
बाघ गर्जेपछि
सबैको मन
थर्कन्छ नै ।

Rabindra Mishra – Mero Desh

रबिन्द्र मिश्र – मेरो देश

गोलीहरू हावामा उड्छन्
बाटा-बाटामा गोलाहरू गुड्छन्
मानिसहरू एकअर्कासँग मुस्कुराउँदैनन्
एउटा अनौठो मौनता छाएको छ हाम्रा पहाडहरूमा ।

तपाईं घुमाउरा बाटामा
पीडा पखाल्दै हिँड्ने एक्ला भरिया देख्नुहुन्न
भीरपाखामा चिन्तामुक्त बतासिने बैँसहरू देख्नुहुन्न
विश्वास नै आतङ्कमा परिणत हुनसक्छ
सुरक्षाका लागि शङ्का गर्नुपर्छ

रङहरू बदलिएका छन्
ती नीलाबाट राता भए
राताबाट, सब सेता भए
पीर, पीडा र रङ गुमाएका विधवाहरूबाहेक केही देखिँदैन
अनौठो मौनता छाएको छ हाम्रा पहाडहरूमा ।

अनि मेरा मित्रहरू भन्छन्
तिमी नर्फक, कुनै हालतमा नर्फक
देश युद्धमा छ ।

सायद ती बुझ्दैनन्
यदि मेरो टाउको हरेक दिन चुनावी मुद्दा बन्छ भने
यदि सीमाहरू मलाई नै बाँध्न कसिन्छन् भने
र, म सदाका लागि अ-आमन्त्रित पाहुना बन्छु भने ।

मेरा मित्र
तिमीले बुझ्नुपर्छ
तिमी, तिम्रो देशमा, सिर्फ एकपल्ट मर्छौ
तर, म पराया माटोमा हरेक दिन मरिरहेको हुन्छु ।

Yuddha Prasad Mishra – Baanar (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – बानर (नेपाली बाल कविता)

चोर्ने चिन्तन गर्दछ खाली
मानिसहरूका हरिया बाली
फेरि कसैको पनि फुल-बारी
देख्नै नसकी दिन्छ उजारी

अग्लो रुखमा उसको डेरा
मान्दछ मीठो अम्बा, केरा
निर्धा आए जाई लाग्छ
बलिया आए परपर भाग्छ

फलफूल ल्याई मानिसहरू तर
हनुमान भनी गर्छन् आदर
केवल पशु पो हो त्यो बानर
काला अक्षर भैंसी बराबर

बालकहरू हो, होश समाल
मनमन्दिरमा बत्ती बाल
तिमीहरू मानिस बन्नु छ जाग
बानर बुद्धितर्फ नलाग

२०४० पुष १५
(बालकोसेली वर्ष १, अंक ४)

Ram Prasad Prasain – Samayaka Lalupaate Ma Itihaaska Gabharaharu

रामप्रसाद प्रसाईं – समयका लालुपातेमा इतिहासका गभाराहरू

विगतबाट आगतसम्मका
इतिहासका स्मारकमा
न/अटेका पटाङ्गिनीका धमनीहरूबाट
सादृष्य, अदृष्य अनि नेपथ्यमा
लमक् लमक् लम्किरहेका
युगका पद-छापहरू
समयको पाउदानीमा
रोपिरहन्छन्—
बीजहरू

निरन्तरताका साँझहरू
त्रिशुलीसँगै शुली चढेपछि
बग्दा बग्दा—
ओरालीहरू
हेर्दा हेर्दै—
सुन्दर फाँटहरू
चढ्छन्, समय समाधिको टापूमा
अनि जन्मन्छ
एक अकाट्य यथार्थ
मध्यान्तरको समाप्तिसँगै
मज्जा नि बेग्लै—
उकालो बग्नुको
गौरवै बेग्लै—
ओरालो चढ्नुको

सय प्रयास बाबजूद
ईनारको डिल उक्लन नसक्ता
सम्झन्छ मान्छे
ईनार सिँगो एक ब्रह्माण्ड
अनि
बालुवामा ‘सहारा’ र ‘सवाना’हरूको चास लाउन

सिइयाहरूको ‘सोच’, ‘खोज’ र ‘थाहा’ देख्न
अनि भेट्न आशक्त र बिवश हुटिट्याउँहरू

जन्मन खोज्दा खोज्दै—
जन्मन नसकेर
जन्मनु भन्दा पहिल्यै
सदा सदाका लागि
अमरत्वका फाँटबारीमा
गैँती,कोदाला र झम्पलहरू बजारिरहेका
हुलका हुल मान्छेहरू अभ्यस्त हुनुले
छन् ब्यस्त केही मान्छेहरू
समयको कङ्कालमा नरसिँङ फुक्न

बाँच्दा बाँच्दा ‘बाँच्नु’ भन्दा ‘बहुलाउन’ निको हुनुले
‘बाँची बाँची’ बहुलाउनु भन्दा ‘बहुलाइ बहुलाइ’ जिउँदो हुनु मर्दना हुनुले
सोच्दा सोच्दा ढुँगो हुनु भन्दा, ढुँगिदा ढुँगिदा बेर्ना फस्टाउनुले
नाच्छन् मान्छेहरू, विसङ्गत भूलभूलैयाहरूको चक्रीय पथमा

रङ्गैरङ्गहरूको समायोजनमा अर्थहरू गुजुल्टिनुले
ढुन्मुनिन्छन्, ‘महाबर्णनहरू’ अनि सल्बलाउँछन् वीरगाथाहरू’
र त हाहाकार गर्छन् सभ्यताका ‘क्रेनियम’हरूमाथि
झण्डोत्तलनमा लटक् लटक् लट्केका—टुप्पीहरू

भाग्दा भाग्दै सँगतिहरूसँग, विसँगति हात लाग्नुले
मीठा मीठा सपना त हुन नि, यथार्थहरू तीता हुनुले
पर्खँदा पर्खँदा चौतारी र देउराली पाखाहरूमा, मनहरू रित्ता हुनुले
सधिन्छन्, सुध्रिन्छन् अनि तिल्मिलाउँछन्
चेतनाका वञ्चनाहरू फर्सीका जराहरूमा फुल्नुले

सभ्यता र सौम्यताका बस्तीहरूबाट उठेर
इतिहाँसका गर्भतिरको चिन्तनयुक्त यात्रा गर्दा
………………….
मान्छेका मनहरू
…………………….
स्वतन्त्र चिन्तनहरू
……………………
स्वाधीनताका दाम्लाहरू

अनि
………………………..
स्वच्छन्दताका नाम्लाहरू

बिस्तारै बिस्तारै
चक्करै चक्कर घुम्दै फिर्दै
भासिन्छन् बर्बरताका दलदलहरूमा
जहाँ ‘हार्लेम’का दमित आवाजहरू
तोड्दाछन् समयबिहीनताका तगाराहरू
‘बुर्नो’ र ‘फिसिनो’का दुखान्त पीडाका घैलाहरू भरिभरि
बाँचिरहन्छन् विद्धत् दीर्घायूका जमराहरू
अनन्त यौवनका जीवनहरू
आफल-ताफल जवानीका यौवनहरू
समय गर्तका मुहानबाट मौलाएका
चेतनाका गर्भे टुहुरा पिपिराहरू
बगिरहन्छन्
………..
निरन्तर
……………
अधीर विचारहरू झैँ

मानसरोवर र फालोटले ओढाएका
तम्बूमुनिबाट धुवाँउदा नधुवाँउदै
चुल्हाहरू चिसा हुँदा
चित्राले छाएका निर्दोष मनहरू
चिल्साले चिलेका आशिर्वादले
अभिषेक गरिइएका/गराइएका अभिशप्त सग्ला अक्षताहरू

‘सलीम विच्हन्ट’का घुम्ती अदालतमा
चुलिइरहेका नारी क्रन्दनहरू
…………………….
यी त विद्रोहका राँकाहरू
स्वाभिमानका शिरमा बाँधिइएका शव दहनका रङ्गैरङ्गका तोरणहरू
अनि युगबोध, युगीनता र ‘बर्ग-वर्ण-विन्यास’का खुल्ला सँवादमाथि सल्काइँदै गरेका
सापेक्षिक विकासका उम्दा हात
र उठ्दा मुड्कीहरू
अनि बुलन्दी फुल्दै गरेका पैँयू र लालुपातेहरू

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग; हाल: अबुधाबी

Pushpa Raj Khatiwada Jigyasu – Bainsh Chha Ra Po Thuli Hunchhyau Timi (Nepali Gajal)

पुष्पराज खतिवडा ‘जिज्ञाशु’ – वैंश छ र पो ठुली हुन्छ्यौ तिमी (गजल)

वैंश छ र पो ठुली हुन्छ्यौ तिमी
छुस्स छोए बिटुली हुन्छौ तिमी

सबैलाइ धान्ने यौवनको लौरी
पिट्ट भाँचिए लुली हुन्छौ तिमी

सबैले गरे आफ्नो आफ्नो सुर
अरु छैनन् र पो मूली हुन्छौ तिमी

हेरिन्छ र पो उदाउंछौ तिमी
हेर्न छाडे गोधुली हुन्छौ तिमी

किन पर्यो र वैंश रुवाउन
लगे पो त बेहुली हुन्छौ तिमी

Jayant Sharma – Aaundaichhan Hisaab Maagna

जयन्त शर्मा – आउँदैछन् हिसाब माग्न
(मधुपर्क असार २०६७ अंकमा प्रकाशित)

तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिडोसँग
विश्वासघातको अचार नमज्जाले मिसायौ है?
तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै
उही Continue reading “Jayant Sharma – Aaundaichhan Hisaab Maagna”

Bibash Bipra – Ganit Man Ani Tathya

बिबश बिप्र – गणित, मन अनि तथ्य

संघर्षको लालकिल्ला भत्किएर
छरिएका
बन्दुकका नाल र कुन्दाहरु
स्यालको भाका कुर्लिएर
अन्धकारको खेति गर्छन l
**
”मानिसका आँखाहरु बल्न सक्दैनन्”
एक स्वयंसिद्ध तथ्य

हराएको सपनाको खोजीमा
एक बिपना-
खुकुरीको दापभित्र लुकेको
उस्तै एक सपनाको स्मरण गर्छ
**
”स्मरण मिठो हुन्छ”
स्वयं एक तथ्य l

गर्नेछ-
एउटा रहरले पनि त्यस्तै परिक्षण
के थाहा ??
खराब परिक्षणको असल नतिजा पो आउछ कि !?
वा-
”भाइस भर्सा”
**
भन्नुस-
एक पूर्ण भबिष्य

प्रसङ्गबस-
असान्दर्भिक सन्दर्भहरु-
”असमय र उसैको क्रियाशीलताको हकमा”
**
जस्तो
मान्छेको शत्रु मान्छे

मान्छे मित्र मान्छेको
फेरी
कागको एक सन्तान
कि
कोइलीको एक अण्डा
अझै
माछा माछाको आहारा
वा
गोहीको रुन्चे अनुहार l

अनायासै-
जन्म यस्तै हुन्छ भन्छु म
कसैलाई प्रश्न पनि गर्दिन l
**
कारण-
सबको एक उत्तर -निर्बिकल्प-
जो-प्रकृतिको नियम …..

– आबुधाबी