Rajendra Shalav – Ragat, Aago Ra Sambedana

राजेन्द्र शलभ – रगत, आगो र संवेदना

अखबारका पानाहरूबाट
उछिट्टिएर रगत मनभित्र जमेछ
रगत पखाल्नलाई पानी
मनसम्म पुग्दैन
र आँसुले रगत पखालिँदैन ।

हजुरआमाले
भात पकाउँदै गरेको आगो
कसरी हो उछिट्टिएर
देशभरि सल्किएछ
एक गाग्री पानीले पनि
यो आगो निभ्दैन ।

मनको ज्वालामुखी हो यो
छिटो शान्त पनि हुँदैन
डर छ कतै
मनको ज्वालामुखी पड्कियो भने
र सँगै मन पनि डढ्यो भने
संवेदना मर्नेछ
हाँसो पनि मर्नेछ ।

र भोलिको अखबारमा
मुर्दाको देशमा
रगत हुनेछैन
आगो र आँसु पनि हुनेछैन ।

Rajendra Shalav – Ujyalo Ko Sharta

राजेन्द्र शलभ – उज्यालोको सर्त

औँसीको रात थियो
टुकी बालेर म
फर्किएको मात्र थिएँ
सेतो लुगा लगाएको
एउटा रवाफिलो मानिस
मेरा अगाडि उभियो।

उसको मुठीका कापहरूबाट
उज्यालो चियाइरहेको थियो
मैले उसलाई सोधेँ—
‘तपाईंको मुठीमा के छ ?’
उसले जवाफ दियो—
‘उज्यालो।’
मैले फेरि सोधेँ—
‘उज्यालोलाई किन मुठीमा थुनेर राख्नुभएको?’
उसले जवाफ दियो—
‘तिमीलाई दिनका लागि ।’
दङ्ग परेर मैले हात बढाएँ र मागेँ—
‘दिनोस् न ।’
उसले मुस्कुराउँदै भन्यो—
‘एउटा सर्त छ,
योउज्यालो पाउनका लागि
तिमीले आँखा चिम्लिनुपर्छ।’
छक्क पर्दै मैले उसलाई हेरेँ र सोधेँ—
‘आँखा नै चिम्लिएपछि
यो उज्यालोको के अर्थ ?’

Rajendra Shalav – Bhadrapur

राजेन्द्र शलभ – भद्रपुर

भद्रपुरमा
अलिकति कारिन्दाहरू छन्
त्यो भन्दा बढ्रता हाकिमहरू छन्
अलिकता उद्योगधन्दाहरू छन्
त्योभन्दा बढी नेताहरू छन्
केही स्कूल र कलेजहरू छन्
त्योभन्दा बढी भट्टी पसलहरू छन्
कमबेसीको कुरा बेग्लै हो
तर , मेरो भद्रपुरसँग सबै थोक छ
छैन भने – जाबो प्रगति छैन ।

मेरो भद्रपुरमा
बाह्रै महिना राजनीतिको खेती हुन्छ
मेची पुल सेलाए
हुलाकी राजमार्ग तात्छ
हुलाकी राजमार्ग सेलाए
मेची पूल तात्छ
खोयाबिर्केहरूको एउटा जमात छ
जो हरेक साँझ नेता बन्छन्
अर्काथरी
कोठे नेताहरू छन्
जो बिना काम नै
बाह्रै महिना चर्चामा हुन्छन् ।
के छैन मेरो भद्रपुरसँग
क्याम्पस छ , अस्पताल छ
जिल्लास्तरीय कार्यालयहरू छन्
यो अर्कै कुरा हो
हामी सौदादेखि चन्दासम्म लिन
धुलाबारी जान्छौँ
दुईदुईवटा दैनिक अखबार छन्
तर यो अर्कै कुरा हो
हामी पनि गोरखापत्र र कान्तिपुर मात्रै पढ्छौँ ।

भद्रपुरका छोराहरू राजधानीमा छन्
भद्रपुर उनीहरूका लागि साँगुरो छ
दशैँतिहारमा घर आँउछन्
बाआमाहरूसँग चिनजान गर्छन्
र , माया बस्न नपाउँदै राजधानी फर्किन्छन्
राजधानी आखिर राजधानी हो
उनीहरूबिना शून्य राख्नु पनि त भएन ।

जे होस् , भद्रपुरसँग
अलिकति सम्वेदनाहरू छन्
केही नाता – गोताहरू छन्
त्यसबाहेक ,
जमिन्दारी हराएको जमिन्दारजस्तै भद्रपुर
आफ्नो अस्मिता जोगाउन
पुराना सामानहरू लिलाम गर्दैछ ।

Rajendra Shalav – Kisan

राजेन्द्र शलभ – किसान

चारआलीतिरबाट
दुई जना गाडीवानहरू
सूर्य अस्ताउनुअघि नै
रित्ता बयलगाडाहरू लिएर फर्के

रित्ता पेटहरूजस्तै
रित्ता गाडीहरूमा
हरेक साँझ यसरी नै
यिनीहरू
जीवनको भारी बोकेर
खेतबाट फर्किन्छन्
बिहान सूर्यसँगै ब्युँझेर
लहलह धान फलाउँछन्
र रित्तो बयलगाडी लिएर
साँझ सूर्यसँगै घर फर्किन्छन्।

Rajendra Shalav – Kahile Kunai Din

राजेन्द्र शलभ – कहिले, कुनै दिन

धेरै दिन लगाएर
आफुसँग बटुलेका
साना—साना खुशीहरू
आफन्तलाई
बाँड्न बसेकै बेला
एउटा ठूलो दुःख
फेरि टुप्लुक्क आइपुग्छ ।

मैले बटुलेका खुशीहरू
मैल बाँड्नै नपाई हराउँछन्
र, सदाझैँ म
त्यो दुःखबाट पार पाउन
त्यससँग जुध्न थाल्छु ।

मलाई दुखाउन नसकेपछि
दुःख आफै दुखी भएर
दुःख मनाउ गर्दै भाग्छ
र म, एकछिन् सुस्ताएर
फेरि खुशीहरू बटुल्न थाल्छु ।

बटुल्न थाल्छु खुशीहरू
कुनै पटक त
खुशीहरू बटुलिसकेको बेला
दुःख आउन बिर्सेला
या, दुःख आउनुअघि नै
म खुशी बाँडि सकुँला ।

Rajendra Shalav – Kalam Ra Banduk

राजेन्द्र शलभ – कलम र बन्दुक

मेरो हातको कलम थुतेर
तिमीले मेरो हातमा बन्दुक राखिदियौ
बन्दुकको मोहले हो
वा तिम्रो डरले
मैले त्यो बन्दुक जोडले अँठ्याईरहेँ ।

तिम्रो बोलीले मलाई मोहनी लायो
तिमी मलाई भगवान जस्तै लाग्न थाल्यौ
आमाले सुनाउनु भएको
ठ्याक्कै महाभारतको कृष्णजस्तै
तिमीले भन्दै गयौ
र मैले मान्छे मार्दै गएँ
आफ्नै दाजु–भाई
अझ दिदी र आमाहरुलाई पनि मारेँ
यसरी मैले म भित्रको ‘म’ लाई पनि मारेँ ।

अहिले धेरै बर्षपछि
म भन्दा धेरै पर
राजधानिको कुनै मञ्चमा उभिएर तिमीले
शिक्षा र समानताको भाषण गरिरहेको
टेलिभिजनमा हेर्दैछु र सोच्दैछु —
मैले पनि पढेको भए
र मेरो नामको अगाडी पनि
डा. भै दिएको भए
के म पनि
अरुको हातबाट कलम थुतेर
बन्दुक राख्न लाउँथेँ होला ?

Rajendra Shalav – Aanshu


राजेन्द्र शलभ – आँशु

जब अचानक तिमी
मेरो अंगालोमा कस्सिएर रुन थाल्यौं
मैले केही सोच्नै सकिनँ ।
मैले केही गर्नै सकिनँ

कुनै पुरानो घाऊ बल्झियो कि
अतीतको कुनै पल याद आयो कि
मेरै कुनै कुराले दुख्यो कि
बुझ्नै सकिनँ मैले ।

तिम्रो आँशुले छाती भिजीरह्यो
भित्रभित्रै धेरै थोक भत्किरह्यो
न म तिमीसँगै रुन सकें
न तिमीलाई चुप लगाउन सकें

अवाक तिमीलाई हेरिमात्र रहें
रोएर तिमी हलुका भयौं
र जब पानी खाँदै
मुस्कुराएर म तिर हे¥यौं

बल्ल मैले बुझें–तिम्रा आँशु
मेरा आँखा पनि रसाए
र म तिम्रो अंगालोमा कस्सिएँ ।

Rajendra Shalav – Malai Samau Ra Rang Bhara

राजेन्द्र शलभ – मलाई समाउ र रंग भर

थाहा छैन
तिम्रा आँखाको सम्मोहनले
सम्मोहित छु म
या ओठको मुस्कानले ।

पहिले – पहिले त
तिमीलाई देख्दा मात्र
म सम्मोहित हुन्थेँ
आकर्षित हुन्थेँ
तर , अचेल त
तिमी नहुँदा पनि
तिम्रो सम्मोहनले
सम्मोहित बनाउँछ
तिम्रो आकर्षणले
आकर्षित बनाउँछ ।
मलाई त ,
यो पनि थाहा छैन
यो सम्मोहन
यो आकर्षण
माया हो वा स्नेह हो
मलाई त यत्ति मात्र थाहा छ
तिम्रा हातमा कुची
र छेउमा रंगहरू मलाई मन पर्छन्
तिमीले बनाएका
पेन्टिंगहरू मलाई मन पर्छन् ।

अनुहारभरि निराशा ओडेर
जब तिमी भन्छौ –
अब के पेन्टिग गर्नु र ?
त्यो चाहिँ मलाई पटक्कै मन पर्दैन
तिम्रो मनभरि
अहिले उदासी छ भने
तिमी त्यही निराशा र उदासीको
चित्र बनाऊ !

मेरो आग्रहमा कुनै स्वार्थ छैन
मेरो चाहना कतैबाट पनि विषाक्त छैन
कसैले लेखेको
कसैलाई मन पर्नसक्छ
कसैले बोलेको
कसैलाई मन पर्नसक्छ
त्यस्तै , तिम्रा हातहरूले
ब्रस चलाएका हेर्न
मलाई मन पर्छ ।

उमेरसँगै
धेरै जिम्मेवारी बढे होलान्
म तिमीलाई
ती जिम्मेवारीहरूबाट भाग
भनिरहेको छैन
समयसँगै
धेरै घाउहरू लागे
र खाटा परे होलान्
म तिनीहरूलाई
उप्काउन पनि भनिरहेको छैन
एकान्तमा आउने
अतीत र वर्तमानका
अनेकौँ सम्झनाहरू होलान्
बस् ! ती सम्झनाहरूलाई
केवल ती आनन्दी –पीडाहरूलाई
कुचीले क्यानभासमा कोर्ने गर
आफ्ना जिम्मेवारीहरूबाट
अलिकति समय उबारेर
भावनालाई रंगभर्ने गर ।

धेरै पछि ,
जब तिमी बूढो भइसक्ने छौ
तिम्रा हातहरूले राम्ररी
ब्रस पनि समाउन सक्ने छैनन्
त्यतिबेला
हो , त्यति बेला
तिमीलाई मेरा यी शब्दहरू
याद आउने छन् ।

Rajendra Shalav – Ustai Dukhchha Desh Yaha Pani

राजेन्द्र शलभ – उस्तै दुख्छ देश यहा पनि

कसैले सोध्नु अघि म आफ़ै भन्छु,
दिक्क लागेर नै बिदेशिएको हो म
खानै नपाएर होइन
तिमीले गरिखान नदिएर
देश छोडेको हुं मैले ।
कसलाई मन हुन्छ र
पराई देश्मा पसिना बगाउन
को चाहन्छ र आफन्तहरूबाट टाढा बस्न
तर, तिमीले बस्नै दिएनौ
र म देश छोडेर हिंडे ।

परदेशमा नि कहां देश बिर्सिन सकिन्छ र?
देशमा अझै अंध्यारोको शासन छ
सुरछा भन्दा बढी डर छ
सुबिधाको साटो आश्वासन छ
सम्रिध्दिलाई स्वार्थले छोपेर
अझै सांढेहरू जुधी नै रहेका छन
अझै लठीको हैकम चलिरहेको छ
यस्तो कुशासनका बेला
गणतन्त्रका नाममा मणतन्त्र भएका बेला
मैले केही दिन अझै किन पर्खिन
भन्ने पनि लाग्न छोडेको छ ।
तिमीले सोध्नु अघि म आफै भन्छु
अझ बढी सताउंछ भूगोलले
झन पिरोल्छ सम्झनाले
यहां पनि घरि घरि
अनिश्चितताका पर्खालहरू ठडिन्छ्न
अन्यौलका बाटाहरू पसारिन्छ्न
तर तिमीले जस्तो खुट्टा तान्दैनन यिनीहरूले
अझ वास्तै गर्दैनन यिनले त
र घरिघरि आभाश हुन्छ- देशमा नभएको
देश बांउडिएर आंउछ मनभरि
म यहां परदेशमा छु
तर उस्तै दुख्छ देश यहां पनि ।

-July 21, 2011
मेरीलेण्ड, अमेरिका