Rajeshan Rai – Man

मन

याद मात्र ..तिम्रो
याद मात्र ..तिम्रो आउछ अचेल
किन होला थाहाछैन
सायद पुराना कुराहरु अत्तिनै गहन थिए
उचालेर फ्याक्न सकेन मनले ।
सम्झनामा अल्झिएर बाकी रहेका
केहि स-साना यादका चैटाहरु झट्टै पन्साउन सकेन मनले ।
तिम्रो झुठो माया र बाँकी सबै सम्झनाहरु
जरैसंग उखालेर फाक्न तम्सन्छु म
तर कता कता फेरी तिम्रै नाम पुकारि दिन्छ मनले

यो सब मैले जानेर गरेको हैन
यो सब मैले जानेर गरेको हैन
यो सब मनैले आफ्फै गरिदिन्छ
र तिम्रो मुहारको तस्बिर फेरी एक पटक झल्काइदिन्छ

झल्किएको तस्विर सहित याद फेरी झल्किदिन्छ
अनि हिजोको याद एकचोटि फेरी आज भैदिन्छ
अनि भनत कसरी भुल्न सँकु हाम्रा ति अतित
कसरी वयान गरु हाम्रा यी आज

तिमीले त मलाइ न-घरको न-घाटको बनायै नि लाटी
ठुलो भुल मैले गरेछु
चोखो मन तिमीसंग साटी
अहिले मेरो मनले तिम्रो मनलाइ नै खोज्दछ
मेरो अतितले तिम्रो नामलाइ नै रोज्दछ
कसरी मेल गँराउ यो हुन नसक्ने कुरा
कसरी याद गरु त्यो धारिलो छुरा
जस्ले मेरो मन जोडिनै नसक्ने गरि हजारैको सङ्ख्यामा टुक्क्राइ दियो।

Keshav Baniya – Charo Ra Mero Kaal

म अब केहि शुरु गर्न चाहन्न,
मै हिडी आएको, त्यो बाटो पनि बिर्सन
चाहन्छु,
मेरो अगाडी चारो उडिरहेको छ,
म आकाशमा उसको बाटो कोरिरहेको छु,
बस्, यहीं अडियोस,
यहि परेवाको असिमित बाटो रहोस र,
अनि, मेरो असिमित कालखण्ड,
यहि बनोस मेरो जीवनको एकमात्र,
सफलता,
सोच्न केहि नपरोस,
सोचूं त् मात्र केवल त्यहि चारो निमित्त,
दुनियाँलाई एक निमेष पनि हेर्नै नपरोस्,
दुनियाँको पैंचो सास समेत फेर्नै नपरोस्,
म सर्जक बनु,
चारो प्वाँख फडफडाओस्,
मा हेरिरहुँ,
मलाई हेरे जस्तै,
दयरिक्त, लाल आँखा नपल्टाई,
माथि बाट,
बाटो कोर्ने,
मेरो सर्जकले,
सोच्दैमा,
ड़वांग आवाज निस्कियो,
कान सुन्नै भयो,
चरो घुमिरहेछ,
अलि तिव्र,
गुरुत्वानुकुल,
फर्की हेरेको,
अर्को सर्जाम युक्त सर्जक रहेछ,
तर बाटो मेट्ने,
वर्तमान मेट्ने,
आखिर चरोले जमिन भेट्छ,
पछ्याउदै उस्को कालो प्वाँख ,
मैले वर्तमान भेटे जस्तै,
म हुन्छु चंख स्वप्न गगनबाट,
अनि पछ्याउदै मेरो काल।

Dr. Suraj Niraula – Desh ra Dusta

डा. सुरज निरौला – देश र दुष्ट

मेरो देशभित्र सलबलाएका
पाखण्डीहरुको गलामा
१०८ को लगाम कसिदेऊ ।
चम्चे टेकुवा टेकेर चढेकाहरु,
टेकिएका अाफ्नै धरातल
बारम्बार छाम्ने गर,
दलदल माथि ठडिएको तिम्रा संरचना
क्षणभर मै टुट्न सक्छ ।
अध्यारो कुवामा रुमल्लिएकाहरु,
अल्पज्ञानमै त्यसरी चिच्याउने नगर,
तिम्रा खोक्रो अावाजको भुमरीमा
कैयौ निर्दोष फस्न सक्छ।
अत्याचार र भ्रष्टाचारको कालो करतुतमा
रमाउनेहरु,
सर्पले एकदिन तिमीलाई नै डस्न सक्छ ।
यी ब्वाँसोहरुको चङ्गुलबाटै
मेरो देश लुछिन सक्छ ।
सोच्ने गर्छु,
ठाँऊ ठाँऊमा फुटेको मेरो देश
टाईटेनिक झै एकदिन डुब्न सक्छ ।

तिम्रा समाजका विकृती
अनि कुरितीका पाठ भो
मलाई अब नपढाऊ ।
तिम्रा इर्ष्याले घोचेको मेरो मन
पटक पटक अझै चस्किरहन्छ ।
मेरो पसिना पिएर जिउने तिम्रो प्रवृती
तारोमा राखेर एकपटक पट्काउन मन लाग्छ ।
नरभक्षी भई तिम्रा छाती चिथोरेर
रगत पिएरै बर्षौको प्यास बुझाउ झै लाग्छ ।
सोच्नेगर्छु,
अरिङ्गालक‍ो झुन्डबाट
चटक्क मेर‍ो देश छुटाउन मन लाग्छ ।

तिम्रा दलगत, व्यक्तिगत
स्वार्थले छियाछिया पारेको मेरो देह
अनि तिम्रो सत्ता लिप्साले
अाजित मेरा मस्तिष्क अब धेरै नचर्काऊ ।
नकुदाऊ मेरा पाइलाहरु,
नदेखाऊ अब मरुभूमीको मृगतृष्णा ।
नेपाल अामालाई दुष्टहरुको
चङ्गुलबाट छुटाई सुटुक्क बोकेर
हिमशिखरबाट बग्ने पारदर्शी
कञ्चन पानी सँगै
कलकल बग्न मन लाग्छ ।
प्रातः कालको पंक्षीहरुका संगित
मिश्रित मन्द पवनको स्पन्दन् सँगै
उनकै काखमा लुटुक्क
निदाउन मन लाग्छ ।
अनि विहान अाँखा खोल्दा
सूर्यको पहिलो लालीसँगैं
उनैलाई हेर्न पाए पुग्छ ।
सोच्नेगर्छु,
ग्वाम्लाङ्ग अङ्गालो मारेर
मेरो देश जोगाउन मन लाग्छ ।
दुष्टबाट देश बचाउन मन लाग्छ ।

Diyesh Ratna Shakya – Yo Hawa Kina Uttaulo Bandai Chha

दियेश रत्न शाक्य – यो हावा किन उत्ताउलो बन्दैछ?
                   
यो हावा किन आजकल
बढी नै उत्ताउलो  बन्दैछ हँ ?

मास्क लगाएको
मेरो नाकलाई गिजोल्न
बिहान सखारैदेखि
चोक / सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध
मकहाँ उडाएर ल्याउँछ

कार्बन उत्सर्जनले आराम लिएर
आकाश खुल्ला भएको
यो समयमा
म स्वागत गर्दै
मेरो शरीरभित्र फिजाउन चाहन्छु
-सगरमाथामा गाडेको नेपाली झन्डा
  छोएर अघि बढेको हावा
-लुम्बिनीमा बुद्ध पदचाप स्पर्श गरेर
 फर्केको हावा
-मन्दिरबाट धुपको सुगन्ध बोकेर
 उडेको हावा
-जंगलबाट लालीगुराँसको बास्ना
  टिपेर लम्केको हावा
तर अफसोच !
यो हावाले बोकेर आउँछ केवल
गर्मीले कुहिन लागेका गन्धहरु

पोखिन लागेको यो समयलाई
बाँधिराख्न
जब म ध्यान बस्न थालेको हुन्छु
यो हावा मुर्दाघरको गन्ध
मतिर उडाएर ल्याउँछ
यो हावा कहिले हुनहुनाएर आउँछ
मानौं मसंग थरिथरि मन्त्रको
ब्यापार गर्न खोज्दैछ
र सौदाबाजी नमिलेको निहुँमा
हुत्याउन खोज्दैछ

यै हावामा हुर्रिदै हरेक बिहान                                              
मेरो घरभित्र छिर्छ खबर पत्र
जसलाई पुछारसम्म पढ्न नपाउँदै
मैले तयार गर्नुपर्छ
मेरो दैनिकी
शोक पत्र वा बिरोध पत्र

म सोचिबस्छु
यो हावासंग सकिंदैन
जता पनि बहँदै यसले संसारभरका
डेमोक्रेसी कण्ठ पारेको छ
अथवा जानाजान यो असनको
अटेरी साँढे बन्न खोजेको छ

खोइ यै हावाले सिकाएरै हो कि
आजकल
फेसन /प्रशासन
राजनीति/ शिक्षा नीति
ब्यवहार/संस्कार
धर्म /कर्म
सबका सब उत्ताउलो भएको छ

मलाई शंका लागेको छ
यो हावाको अक्सिजन मात्रामा
पक्कै पनि
केही न केही तत्त्व मिसिएको छ
जुन मतिभ्रम छर्न काफी छ
निर्निमेष हेरिरहूँ
यो हावाको
अनुगमन गर्न
शुद्धीकरण  गर्न
कुन समय/कुन क्रान्तिसम्म
आफूलाई उचाल्नुपर्ने हो?

Baidyanath Upadhyaya – Ma Ta Malaami Hindi Rahechhu

वैद्यनाथ उपाध्याय – म त मलामी हिंडिरहेछु

म त
आफ्नै इच्छा-आकांक्षाहरूको
मलामी हिंडिरहेछु।

यो अपशकुन समयमा
सामर्थ्यको साँगुरो गल्लिभित्र
आत्महत्या गरिरहेका हुन्छन
अनगिन्ती अभिलाशाहरू।

जलिरहेकै छन चितासरी
विवशताको कात्रोमा लपेटिएका
मेरा चाहनाहरू।

धेरै सपना थिए
कुनै दिन
इन्द्रेणी सजाउने
आकाशभरी
जीवनको खुला फाँटभरी
नियतिको कोपदृष्टी परेको
यस घडीमा
भताभुंग मेरो गाँउ-बस्ती
छर-छिमेक सबैसंग
एक साथ
म त
आफ्नै इच्छा-आकांक्षाहरूको
मलामी हिंडिरहेछु!

Dr. Suraj Niraula – Aajkal Timi

डा. सूरज निरौला – आजकल तिमी के गर्दैछौ ?

के छ हालखबर त्यहाँ ?
हरियो वन, रमणीय धर्ती मासेर,
षडयन्त्र, ईर्ष्या र स्वार्थको खेति गर्छन् रे ।
चाप्लुसी र भष्ट्राचार गर्न नजान्ने
सधै त्यहाँ पछि पर्छन् रे ।
हिजो आज !
सब् अनुहार ढाकेरै हिड्छन् रे ।
त्रसित भएर सब् कोठै भित्र लुक्छन् रे।
आफु बाच्नलाई
मर्दा पनि कोहि उठाउदैनन् रे ।
आफ्नै परिवार मै सिमित छन् रे,
मानिस फेरि उहीँ
जङ्गली अवस्थामै फर्किए रे।
के यो सत्य हो ?
सुन्छु, कोरोना पछि लागेकी छिन रे ।
भन त, आजकल तिमी के गर्दैछौ ?

के छ हालखबर त्यहाँ ?
कोही पहिरोमा पुरिए रे,
कोही बाढी सँगैं बगे रे ।
कति भोकभोकै रहे रे,
कति अकाल मै मरे रे ।
प्रकृति पनि कति ईखालु,
कुकर्मको प्रतिशोध उनी,
आफ‌ै लिदैछिन् रे ।
सुन्छु, कोरोना पनि पछि लागेकी छिन रे
भन न, आजकल तिमी के गर्दैछौ ?

के छ हालखबर त्यहाँ ?
जन्मिएर मर्दा सम्मको न हो जीवन,
त्यो पनि मरेरै जिउछन् रे ।
पैसा कै पछि मात्र दौडन्छन् रे ।
आफ्नै स्वार्थमा पौडन्छन् रे ।
आँशु अरुक‍ो देखेर हाँस्छन् रे।
आफु बाच्न अरुलाई मार्छन् रे ।
कन्चन पवित्र जल बग्ने खोलामा
प्रदुषित भावनाहरु बगाउछन् रे।
सब यन्त्र मानव भई जिउछन् रे ।
मानवता त हराई सकेको धेरै भो रे,
के यो सत्य हो ?
सुन्छु, कोरोना पनि पछि लागेकी छिन रे
भन त, आजकल तिमी के गर्दैछौ ?
धन्यवाद ।

(वी.पी.को.स्वा.वि.प्र., धरान )

Philos Sharma Paudel – Sandwich

फिलोस शर्मा पौडेल (स्पन्दन)  – स्यान्ड्विच

अपरिपक्व अक्षरमा उसले
लेखेको पत्र
मैले आफ्नो कोटको
दाहिने गोजीमा राखेकी छु
पत्र लेख्दा उसले भर्खरै
स्यान्ड्विच बनाएको हुनपर्छ
कागज थोत्रो हुनलाग्दा समेत
स्यान्ड्विचको त्यो सुगन्ध उस्तै छ
उसको याद आउँदा
कोटको गोजीबाट
पत्र झिक्छु
पत्रमार्फत उसको हात सुँघ्छु
उसलाई पाउँछु
अनि मन भर्छु
मलाई
उसले बनाएको स्यान्ड्विच
निकै
स्वादिलो लाग्छ
त्यो सुगन्ध
नितान्त आफ्नो लाग्छ

Krishna Sen Ichchhuk – Aaiti

कृष्ण सेन ‘इच्छुक’ – आइती

परेला रुझेको तिम्रा आँखामा
असीम पीडा छैन
यो पनि म भन्दिनँ
पीरले भक्कानिएको तिम्रो मुटुमा
असह्रय वेदना छैन
यो पनि म भन्दिनँ
पानी दर्किरहेजस्तै तिम्रो मन धर्किरहेछ, आइती
तिमी रोइरहेकी छौ/आँसुकाढिरहेकी छौ
आज तिम्रो सिउँदोको सिन्दूर पुछिएको छ
तिम्रो रहर खोसिएको छ/तिम्रो खुसी खोसिएको छ
मालीबिनाको फूलबारीमा मैलोजस्तै एक्ली छौ, आइती
आज तिम्रो उमेरको जोली खोसिएको छ ।

पहराको निर्जन फूलजस्तो तिम्रो जीवनमा
विपत्‌को पहिरो गएको छैन
यो पनि म भन्दिनँ
विरहले जलेको व्यथित तिम्रो ह्दयमा
सन्तापको वज्र परेको छैन
यो पनि म भन्दिनँ
आज तिमी हैन मेरो जीवनै उजाडिएजत्तिकै उदास छु म पनि
आइती, तिमी नै भन तर रोएर के हुन्छ ?
रहरहरू जलेर खाग भएझैँ बेहाल तिम्रो छातीमा
घात–प्रतिघातको हुन्डरी चलेको छैन
यो पनि म भन्दिनँ
मन भरङ्गिएको शोकसन्तप्त आलो यौवनमा
विषादको हुरी बहेको छैन
यो पनि म भन्दिनँ
आज तिमी हैन मेरो संसारै बिरानिएजत्तिकै विह्रवल छु म पनि
आइती, तिमी नै भन तर पीर गरेर के हुन्छ ?

यो वर्ष
बाँधेर आँसुले हितको मायालाई
ऊ जाने बाटो छेकेकी थियौ तिमी
साहूको पेचले रन्थनिएको खसमलाई
अँगालोको छाँदले बेरेकी थियौ तिमी
गरेर छियाछिया विदीर्ण मुटुलाई
ऊसँग दसबिन्ती हात जोडेकी थियौ, तिमी
तर, तिम्रो शिरको स्वामी
विवशताको चोट र मर्दको इखले
जाल फाँडेर मुक्ताकाशमा उडेको पन्छी झैँ
वेग हान्दै लाहुर गएको थियो
निष्ठुरीजस्तै तिम्रो हितको परानी
तिमीलाई छाडेर दूर कतै भाउन्निएको थियो।

जस्तो कि
सानैमा टुहुरा हुने
यस देशमा असङ्ख्य नाबालक छन्/तिनलाई हेर
बैँसमा अबलाको जिन्दगी गुजार्ने
तिमीजस्तै हजार न हजार विधवा छन्/तिनलाई हेर
आर्जन खान नपाउँदै तन्नेरी छोराको
निःसन्तान भईमर्ने
पितृजस्तै वृद्ध मातापिता छन्/तिनलाई हेर
के पाए र तिनले पनि तिमीले जस्तै ती लाहुरेबाट
दसधारा आँसुको भाराबाहेक
के छ र तिनीहरूसँग पनि तिम्रो जस्तै
कष्ट, क्लेश र पीडाबाहेक
आइती, दुःखको भारी र चिन्ताबाहेक ।

यसरी, ती जो लाहुर गएर
अर्कैको मुलुकमा पसिना बगाउने गर्छन्
तिनको पसिनाले खडेरीमा
आफ्नै घरको एक बित्ता बारी भिजे कति हुन्छ
ती जो अर्कैका लागि
नाहकमै लडेर व्यर्थैमा मर्ने गर्छन्
तिनको रगतले आफ्नै देशका
बन्जर, मरु र टार रातै पारी सिँचे कति हुन्छ
आइती, अब त मुख फोरेर बोलिदेऊ
पराईको लाखमा घिनले बाँच्नुभन्दा
आमाको काखमा हाँसी–हाँसी मर्न सिके कति हुन्छ ।

Bhairab Aryal – Mero Kukur Swarge Bho

भैरव अर्याल – मेरो कुकुर स्वर्गे भयो !

घुक्ने काम उसको अखवारले खोसे
ढुक्ने काममा शिक्षित बेकार कसिए
झै-झगडाको दायित्व साहित्यकारले टिपे
पुच्छर हल्लाउनेमा प्रशासक खटिए
अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो
मेरो कुकुर स्वर्गे भयो !

अब मूसाहरुले चारकोसे झाडीमा डढेलो लाउन्
या बिरालाले त्यसकमा सिंहदरबार सेकाउन्
मेरो कुकुरले घ्यार्र घुर्नेसम्म छैन
अब बुद्धको आँखा उडाएर गिद्धहरुले समुद्र तारुन्
या सयौं बाज मिलेर एउटा परेवा मारुन्
मेरो कुकुरले चियो गर्ने छैन
ऊ त ठाडै भीमसेन थापाको सती गयो
मेरो कुकुर स्वर्गे भयो !

आऊ अब शोक सभा गरौं
शोक प्रस्ताव यहाँ रेडिमेड छ
दिवंगत कुकुरको स्मारक बनाउन
एक लाख डलरको इस्टमेट छ
मामा भानिज हो ! लौ अब एउटा टेण्डर देओ
स्मारक कालिमाटीको भए पनि हुन्छ
तर माटो किन्न हङकङ जानै पर्छ
यो निर्माण कार्यमा सम्बन्धितहरुले
अलि-अलि पर्साद खानै पर्छ
जाने त गयो गै गयो
मेरो कुकुर स्वर्गे भयो !

कि ए वीर नेपाली हो आओ अब
यो मृत कुकुरको जुँघा उखेलौं
हामी सबका बिरामहरु लुकाउन
यो मूर्दाको टाउको फोरौं
साँच्चै भनेको मैंले, नपत्याए सी.आइ.डी. ज्यूलाई सोध्नोस्
बडा हाकिमले घूस ज्यूनार हुँदा
यसले रिकावी टोकेको थियो
उपहाकिमले जङ्गबहादुरको घोडा मोलाउँदा
यसले रित्तो बोतल बोकेको थियो
त्यति मात्र कहाँ हो र ?
भलाद्मीले भद्रतापूर्वक चोर्न लागेको बेला
यो असभ्य गँवारले ख्वाङ् ख्वाङ् खोकेको थियो
अझ भनूँ भने पाण्डवहरु बैकुण्ठ जाँदा
यही कुकुरको जिजु बाजेले द्रौपदीको पिछा गरेको थियो
रुसले रकेट उडाएको बेला
यसको मामाले अन्तरिक्षको भित्तो फोरेको थियो
भन्नोस् अब जे भने पनि ऊ नसुन्ने भयो
मेरो कुकुर स्वर्गे भयो !

भीमसेन स्तम्भ मुनि गुँडुल्किएर
स्वामीभक्तिको साधना गर्ने यो कुत्तो
भीम मल्लको चिहान खोस्रर
बफादारीको विगुत लगाउने यो खिच्चो
साँच्चै मूर्ख थियो महामूर्ख
त्यसैले त पुण्यात्माहरुको शिकार भयो
उद्धार समितिको कारले किचेर
मेरो कुकुर स्वर्गे भयो !

Kedar Sunuwar Sangket – Arko Manav Ra Tyo Samaya

अर्को मानव र त्यो समय

म एउटा नक्सा बनाउन चाहन्छु
चौथो संसारको अन्तिम दिनमा

बेक्कार लाग्छन्
– सेटालाइट्का अप्रेटरहरु
– यो आकाश मेरो भनेर कुर्लनेहरु
– ती तिम्रा इच्छाहरू
– मेरोमात्र भन्ने ती औजारहरू
– यूद्धपोतका बन्दोबस्ती सामानहरु

यस्तो होस कि
नक्सा बालुवाको होस
जो हावाले मेटी दिन सकोस
यो जगत मान्छेकै हो
मान्छ्े जगतको भै सकेपछि
समुन्द्र त पानी हो
र त्यो पनि हाम्रै हो
सानै किनार किन नहाृेस
त्यो समान बाँडिनु पर्छ
जो सवै देशका सिमाना र्र्छोएर बग्नु पर्छ
सबैले नुनिलो पानी पिउनु पाउनु पर्छ ।

क्रोधका फूलहरु वशन्तमा फुल्न सक्दैनन
दानवहरू जन्मिएकाबेला
मानवहरु हेरेर बस्न पनि हुँदैन
तर यहाँ एउटा बृहत जालो छ
त्यो जालोको माकुरे खेलाडीहरु
हामी भन्दा अर्कै छन्
शत्तिमान छन्
तिनीहरु सकृय हुनुहुन्न
निस्कृय हुनुपर्द छ

परमाणु क्रोधको उल्का हो
बैज्ञानीकहरु तिमीलेनै यस्को रोकथाम आफैंल गर्नु पर्छ
अलिक दिन पछी माछाको नक्सा
केवल नक्सामा देखिने छ

अब पँन्छीहरुको गुञ्जन स्वर
गुगल्ले मात्र सुनाउने छ

हामी अव शोकको प्रतिक्षामा छौँ
रबरका तरुणीहरुको सम्भोग शिखरमा
अनित
मानिसको आयु
डाएपर जस्तो हुने छ

रगतका रंगहरु बदलीनेछन
आज मान्छे रातोमा बदल्दै छ
मानिस साँच्चै रातो हुने छ

विज्ञानले हामीलाई उडायो
अव खस्ने छौँ अन्त अन्त कतै

अनयासै सुँङ्छु
मेरो आफ्नो शरीरको गन्ध आफैले
मेरो जिउको बासना आमाको जस्तो मगमगाउछ
त्यो नो महिनाको वात्सल्यपलको उपज हो

म बुबाको मृत्यु पछीको अर्को एक रूप हुँँ
अर्थात मैले मूर्तरुपको निरन्तरता दिदैछु
मेरो अर्काे गन्ध
जहाँ बाबाको बिर्य गन्हाउन सक्छ ।

मेरा पुर्खा
म रगत भएर
अर्थात
म रगत सरेर बाँचिरहेछु

यो समय आंतङ्कित जस्तो लाग्छ हैन
यसको व्याख्याता हामीनै हौँ

सेतेले काले देख्ने वित्तिकै
भित्र–भित्रै
मेरो बाजेको दास हुन सम्झन्छ

कालेले सेतेलाई देख्ने वित्तिकै
मेरा बाजेलाइ दास बनाउने सम्झन्छ

हिउँ पग्लने छ
दूधको रँग कालो हुनेछ
मासुको स्वाद तितो र
पानी बाक्लो हुनेछ
किनकी हामीलाई विज्ञानले
तातो, कालो र रातो हुन सिकायो ।

अव नयाँ ग्रहहरुको चमकले चकित हुनु छ
जस्तै ग्रहन लागे झैँ
सूर्यको प्रकाश महिनौ कुर्नु पर्ने छ
सदाको झैँ अब
चन्द्रमा मुस्कुराउन्दैन प्रिय मित्र

कृत्रिम ज्योतिको शहरहरूमा
हामी हल्लिने छौँ

चट्टानहरू राता देख्नु हुनेछ
मैदानहरू तातिने छन्
आखिरी तपाईंलाई विनाशले शुभकामना दिनेछ

हामी कहिल्यै पूर्ण भएनौं
बरु पृथ्वी पूर्ण थियो र छ आज सम्म
जहाँ त्यहाँ सुरुवात थियो
र, अन्त्य पनि थियो

यो त,
यो जगत बन्नु भन्दा पहिले पनि
– यस्तै थियो
– प्रलय भयो
– फेरी बन्यो
– फेरी प्रलय हुन्छ
– फेरी बन्ने छ यस्तै जगत
– यस्तै जीवन
– क्रमशः प्रलय यस्तै जीवन
तेस्रो विश्व यूद्ध
हो तेस्रो विश्व यूद्ध
अर्थात रिमोटको यूद्ध
समाप्त
सङ्केत
हाल काबुल

Puskar Bista – Sukranu Ko Saundarya Shastra

पुष्कर बिष्ट सुक्राणुको सोैन्दर्यशास्त्र

च्यातिएपछि आकासको छाति
कहाँ बग्ला गुलाफको रगत
कुन पहाड भएर चढ्ला समागमको प्रेम गीत
भर्खर त उठेको हुन् यो धर्तिको आँखामा इन्द्रेणी  जस्ता सपनाहरु
शुन्यताको भिमकाय स्वरुप
यो आकाशको टाउकोमा
किन बज्रारिरहन्छोै उन्मुक्तीको घन
फेरि सुम्सुम्याइरहन्छोै र
लगाइ रहन्छोैं  सान्त्वनाको   मलहम
च्यातेर आफ्नै प्रतिछायाँको ग्राफ
लेखिरहन्छोै आबेगको वर्णमाला
सुन्यताको मध्यबिन्दुमा
उठाएपछि तिमीले पाउ
सुक्रकिटकै सोैन्दर्यमा हाँस्नेछ एउटा सृष्टि
अो मनरुपा नहेर न त्यसरी क्षोभले ढुङ्गाको अनुहारमा 
नलेखिदेउ न घृणाको महाकाब्य ।

अस्तित्वको पर्दामा लागेको लेउ
खस्दै खस्दै गइरहेछ
उठाएपछि आफ्नो टाउको
चालेपछि खुट्टाहरु के देखिन्छ अगाडी ?
देखिदैनन्  सूर्यको आर्दतामा  हाँसीरहेका दुधे ताराहरु
देखिदैन र पश्चिमको पहेलो घाम
कुन उन्नयनको परिकथा लेखिरहेछोैं आक्रोषका दलिलहरु घोलेर ?
सुक्राणुको सोैन्दर्यशास्त्र लेखियोस् अो कोमलीका तिम्रो चोैबन्दीको फेरमा नै  ।
उन्मुक्तीको रटानमा कतै प्रकृती खुद  बिरुपाक्ष नभैजावस् ।

पुष्कर बिष्ट 
सल्यान नेपाल 

Diyesh Ratna Shakya – Singha Durbar, Maile Ke Sajaya Paunchhu

दियेश रत्न शाक्य – सिंहदरबार, मैले के सजाँय पाउँछु बुझी पाउँ?
                                  

म यो निवेदन दिएरै भन्छु
यो लकडाउनको राजभरि मैले विगो गरें
यति मैंले जानीबुझी ‘लक’ गरिनँ
र खुल्न दिएँ ,चल्न दिएँ

हरेक दिन बिहानैदेखि
मैले आँखालाई खुल्न दिएकै हो
र झ्यालबाट हेर्न दिएकै हो
मात्र यति पीरले कि
कतै मैले आँखा बन्दको बन्दै राखें भने
मेरा नजिकका
आफन्त ,छिमेकी र गाउँलेलाई पनि
चिन्न छोडुँला भनेर

कहींकतै कोरोनाको गन्ध
आफ्नो गाउँठाउँसम्म आइपुग्यो कि भनेर
मैले नाकलाई सुँघ्न अह्राएकै हो
र कोरोना कतातिर बास सर्दैछ भनेर बुझ्न
कानलाई
भएभरका मिडिया सुन्न लगाएकै हो

यो  मैले स्वीकारेरै भन्छु
यो मुख चाहीँ अर्ध ‘लक ‘छ
विगत केही महिनादेखि मैले
सिंहदरबार सरकारविरुद्ध
सडकमा नारा लगाउन पाएको छैन
बिचरा मेरोलागि बोलिदिने
अाखिर यही जिब्रो त छ
त्यसैले स्वादमा रमाऊन् भनेर
केही खान दिएर
लकको क्रमभङ्गता गरेकै हो

यो छातीलाई देशको सिमाना दुख्दा
मलम लिएर उभिनुपर्छ भनेर
फुल्न दिएको पक्कै हो
सधैं ज्यावलमा रमाउने यो हात
त्यसै बसेको देखेर
कमसेकम यो निवेदन लेख्न
कलम समाउन दिएको पक्कै हो
न भोलि भोकभोकै परेर लुरे ज्यान 
हुन्छ कि भनेर
पेटलाई बढी कोच्न दिएको पक्कै हो

अब खुट्टाको कुरो मात्र किन लुकाउने ?
बन्दा-बन्दीमा थच्चिरहँदा
कतै खुट्टा नचलेर म कुजिएँ
वा पक्षघातले थलिएँ भने
अस्पताल बासको भार थपिएला
र घरको भोक-बजेटमा धक्का पुग्ला भनेर
मेरा पाइतालालाई कमसेकम
घरैमा भर्याङको सिंढी गन्न
र पुलिसको आँखा छलाएर
मर्निङवाकमा डुल्न  पठाएकै हो

म कबुल गर्छु
मैले गरेको कसुरको फेहरिस्त  यत्ति नै हो
म बिन्ति जोड्छु
मलाई अहिल्यै ,तुरन्तै अहिले नै
मेरो गाउँको सिंहदरबारको न्यायालयमा
मलाई सजायँ हुन्छ या हुन्नको निर्क्योल गरिदिए
यो भूकम्प मन 
लकडाउनलाई पुरै सुहाउने गरी
शान्त रहने थियो

Bhimnidhi Tiwari – Janina Deha Paile Yo Prem Ma Dubayen

भीमनिधि तिवारी – जानिन देह पैले यो प्रेममा डुबाएँ

जानिन देह पैले यो प्रेममा डुबाएँ
लागेन हाथ मोती गोता हजार खाएं

फक्रे गुलाफ थुंगा देखि भई म मोहित
आशा र लालशाले पाऊ उतै बढ़ाएं

औला जसै लगियो टीपू टपक्क भन्दा
कांढा बिझे पचासौ तातो रगत चुहाएं

मौका गयो दुबैको धोको रह्यो दुबैको
पाईन टीपन फेरी बर्षौ कल्पी बिताएं

यो प्रेमको नतीजा दुखै रहेछ साथी
आफन्त जो गुमएं शत्रु सयों कमायें

शब्द – भीमनिधि तिवारी
संगीत – शिव शंकर
स्वर – भक्तराज आचार्य

Prajwal Prasain – Apriharya Chha Hai Upakari Kisan

प्रज्वल प्रसाई – अपरिहार्य छ है उपकारी किसान

खान हैन खुवाउन, बाच्न हैन बचाउन
निस्वार्थ भावलिई सधैभ खटिरहन्छ किसान
भोक प्यास नभनी दिनभर खट्दछ घाममा
अनि आफ्नो भोको पेट टार्दछ रातको एक छाकमा
दिन होस् या रात, उ खटिरहन्छ
चाहदैन उसको सरिरले एकैछिन विश्राम
आफ्नो भर नभएनी जनताको पेट भर्न
सधैभ तत्पर रहन्छ र त्यो मात्र हो किसान ।।

उपकारी छ, झुकिरहन्छ निरन्तर
त्यसैले नै हैन हामी उसलाई नै गर्छौ तिरस्कार
किसान सुन्दा खेती, पाती, हिलो, मैलो सम्झन्छ हाम्रो मनले
केही धन कमाउँदा नै गरिब ठान्छाै उसलाई हामिले
तर दयामाया हैन छिछीदुरदुर गर्छ हाम्रो तनले
हाम्रै निम्ति श्रममानै आफ्नो जीवन व्यतित गर्ने
श्रमिकको श्रम नदेख्ने हाम्रो यो मन
घेरिएको छ मिहेनत बिना कमाएको त्यस पापी धनले ।।

के सुख के दुख, के हासो के रोदन
त्यही खेतको हिलो र माटाेसँगै रमाउछ किसान
मन हुनेले दिईहाल्छन् नि भनी आफूपनि मौन बस्छ
यो समाजमा त चलन् नै छ हैन र
चुप लाग्ने तिर त सरोकारवालाको पनि ध्यान किन जाने र
पुगि सरि भएसम्म यो अधर्मी समाजमा यहीँ नै चलिरहन्छ
कुविचार नहटेसम्म सबैको घरमा पापको दियो नै बलिरहन्छ ।।

धनको हैन मनको कमिले
अहंकार भरी फुलिएका सबैलाई
एकदिन बेस्सरी निचोर्ने छ भोकमारिले
भोकभोकै मर्नुपर्दा, पापी धन पनि काम नआउँदा
अनि मात्र तुलना गर्नेछन् किसानको महत्व सबैले
बेलैमा सोचौ है
नत्र छाड्नुु पर्ला पछिल्ला पुस्ताकालागि
यहीँ सन्देश र निसान्
तसर्थ अपरिहार्य छ है उपकारी किसान ।।

नाम-प्रज्वल प्रसाई
कछ्या-११
रतुवामाइ-मोरङ्ग

Tanka Subba – Gorebahadur Haru

टंक सुब्बा – गोरेवहादुरहरु

हिजो तागाधारीको विरुद्धमा कलम समाउनेहरु
जनजाति हु भनेर उत्ता हिन्दुधर्म मान्नेहरु
दशै हाम्रो चाड हुदै होईन भनेर
खुसुक्क दशै मनाउनेहरु
विजया दशामीको दिन निर्धक्क
पुरेतहरु Continue reading “Tanka Subba – Gorebahadur Haru”

Baidyanath Upadhyaya – Dhani Manchhe

धनी मान्छे

तिमीलाई धनको घमण्ड छ
मेरो गाडी छ
बैंंकमा अजस्र जमा छ
मेरो आलिशान महल छ
भन्ने ठान्छौ भने
तिम्रो भए भरको धनले
थोरै सुख किनेर त देखाउ।

तिम्रो धनले सुविधाको ओछयान किन्न सक्ला
तर निद्रा किन्न सक्तैन
तिम्रो धनले मीठो भोजन किन्न सक्ला
तर भोक किन्न सक्तैन
तिमी सुविधाको शीत ताप नियंत्रित कक्षमा
रात भरि निद्रा नलागि ऐया र आथा गरिरहँदा
गरीब झोपडीमा मान्छे
थाहा नपाउने गरि निँदाईरहेका हुन्छन।
तिमीलाई भोजन अपच भएर
खान मन नलागि रहेको बेला
गरीब मानछेहरू रुखा सुखा
मस्ती ले खाई रहेकै हुन्छन।

तिमी गुणी पनि छैनौ
ज्ञानी पनि छैनौ भने
तिम्रो धन तिम्रो लागि
एउटा रोग हो
आपत हो
अनि केवल धन मात्रै भएको व्यक्ति त
अति दुखी
अनि दरिद्र पनि हो।

साँचो अर्थमा
धनी व्यक्ति त त्यो हो
जो सुखी छ, संतुष्ट छ
धनले किन्न नपाउने
कति चीजहरू तिमीसँग छ।
त्यस्लाई जाँचि हेर
त्यो नै धनी हुनुको
विशेषता हो।

Krishna Sen Ichchhuk – Haami Biswasta Chhau

कृष्ण सेन ‘इच्छुक’ – हामी विश्वस्त छौं

बदलिंदै गरेको मलीन दिनजस्तै
उदास–उदास र सन्तप्त मन भएको क्षणिक बेला
भलै तिमी जीवनलाई निस्सारमय ठान
तर संसार चिनेर बाँच्नुको अर्थ बुझ्न सकेको दिन
तिमी पनि धर्तीलाई स्वर्णिम पार्न
कम्मर कसौंला भनेर हामी विश्वस्त छौं
ग्रहले छोएका निस्तेज सूर्य र चन्दैजस्तै
उराठ–उराठ र विरक्त भएको छोटो बेला
भलै तिमी चारैतिर धमिलो र अँध्यारोमात्र देख
तर हृदयभरिका बहलाई
उन्मुक्त हाँसोमा फेर्न सकेको दिन
तिमी पनि जिन्दगीको उज्जवल पार्न
तेजिलो साल बोकौला भनेर हामी विश्वस्त छौं
त्यसैले छातीभरि उम्रेर आएको खपिनसक्नु रहरले
चारैतिर गीत सुसाइरहेको बेला
तिम्रो गीत गाउने धोकोको तलतल मेट्न
कुत्कुताइदेला भनेर हामी विश्वस्त छौं
शुभ–सन्देश बोकी आएका दूतजस्तै
यी समयका पहाडहरुमा
यो मन फुक्का र चङ्गा भइरहेको बेला
तिम्रो गीत पनि मुक्तकण्ठले
गुञ्जिरहला भनेर हामी विश्वस्त छौं

(युगबोध पाक्षिकमा प्रकाशित, २०३६ जेठ १६)

(स्रोत : साहित्य संग्रहालय )

Krishna Sen Ichchhuk – Machha Machha Bhyaguto

कृष्ण सेन ‘इच्छुक’ – माछा–माछा भ्यागुतो !

मेच उही हो पर्दा फेरिएको छ
नाटक उही हो दृश्य फेरिएको छ
नायक उही हो अभिनय फेरिएको छ
गीत उही हो भाका फेरिएको छ
‘डमडम’ बाचाहरुको विषालु धुनमा
ताण्डव नृत्यको एकछिन ताल फेरियो भन्दैमा
तिमी ठान्छौ पुरानो नौटङ्की पटाक्षेप भयो ।

रङ्गमञ्चमा थुप्रै कलाकारहरु छन्
महान् र प्रतापी नायक छ
सुन्दर परिधानमा सम्भ्रान्त नायिका छे
र, प्रतिनायकको भूमिकामा तनभिखारी जनता पनि छन्
नाटक बडो सुन्दर छ
र अझ बडो सुन्दर अभिनय गर्दै
नेपथ्यबाट आइरहेको आर्तनादहरुको कोरस् गीतमा
नरमुण्डहरुको मादल ठोकेर
नाचिरहेछ नायक र खुसीले गाइरहेछ
माछा–माछा भ्यागुतो !
माछा–माछा भ्यागुतो ! !
नाटक बडो रोचक छ
तिमी ठान्छौ यो कुनै कल्पनाशील
महाकाव्यको मौलिक प्रस्तुति हो ।

मदिरा उही हो प्याला फेरिएको छ
व्यक्ति उही हो दोसल्ला फेरिएको छ
पल्टन उही हो कवाज फेरिएको छ
धार उही हो तरबार फेरिएको छ
जल्लादहरुको उदार कृपाले
घाँटीमा टाँगेको फाँसीको पुरानो डोरी फेरियो भन्दैमा
तिमी ठान्छौ फेरि अप्राप्य जीवन
सदालाई सुरक्षित भयो ।

सम्मानित दर्शकहरु
कलाका प्रिय प्रशासकहरु
जतिसुकै प्रभावकारी होस् वा उत्कृष्ट अभिनयले पूर्ण
नाटक पुरानै र बासी छ
र, त्यो महान् प्रतापी नायक
यथार्थ जीवनमा सम्झ
तिम्रै टाउकोमाथि गिर खेल्ने
क्रूर खलनायक हुन्छ भने
र, इतिहासको प्रत्येक माछो देखाएर
सधैं भ्यागुताले जिल्याउँछ भने
त्यो तीतो सत्यबोध पनि
के त्यत्तिकै काव्यात्मक हुन्छ ?

Biplav Dhakal – Bed Number Metiyeka Bed Haru

विप्लव ढकाल – बेड नम्बर मेटिएका बेडहरू

मध्ययुगीन अन्धकारको एउटा विराट शून्यतालाई चिरेर
यति अमूर्त लयमा— को रुादै छ बाहिर ?

‘हुँ हुँ हाँ ! … हुँ हुँ हाँ !!’
‘हुँ … हुँ … हाँ ! … हुँ … हुँ … हाँ !!’

कि कुनै शास्त्रीय सङ्गीतको द्रुतविलम्बित लय हो यो ?
कि असङ्ख्य जङ्गली पशुहरुको अशुभ कोरस हो यो ?

को रुादै छ बाहिर ?

सायद बाहिर मान्छेहरु, कुक्कुरहरु र
जङ्गली स्यालहरु
एउटै लयमा रोइरहेका छन् !

र भित्र तिमी यतिखेर
आर्यघाटको कुनै चिसो चितामा
कि कुनै सरकारी अस्पतालको
बेड नम्बर मेटिएको बेडमा सुतेका छौ—
देशबहादुर परियार !

‘हुँ हुँ हाँ ! … हुँ … हुँ … हाँ !!’
तिम्रो आवाज पनि बाहिर रोइरहेका
मानिस र पशुहरुको जस्तै अनौठो छ !

कि अब खोल आफ्ना आाखा
र गाउामा हराएका कवि श्याम तमोटको
जागृति गीत गाउादै गाउादै— गाउा गाउाबाट फेरि उठ !
कि अब खोल पृथ्वीका आाखा
र ताराहरु हराएको आफ्नै आकाशको सिलिङमा हेर !

तिम्रो आकाशको सिलिङमा एउटी मैच्याङ जस्तै माकुरी
आवाजबिनाका गीतहरु गाउादै बुनिरहेकी छ गलौचा !
भित्तामा हेर भित्तामा !
मानबहादुर जस्तै माउसुली
लुकीलुकी चोर आाखाले— हेरिरहेको छ उसको सारी !

माकुरीको मसिनु धागोमा झुन्डिएको छ एउटा मधुरो बत्ती !
त्यही बत्तीबाट बुरबुर बुरबुर
तिम्रो भुइामा झरिरहेको छ— उज्यालोको अन्तिम धूलो !
सिरकमा हेर सिरकमा !
कलाकार किरण मानन्धरका अमूर्त तैलचित्रहरु जस्तै
कटकटिएका छन्— पीप र रगतका उत्तरआधुुनिक टाटाहरु !
तिनै टाटाहरुबाट बनेको छ
तिम्रो नयाँ देशको एउटा विखण्डित मानचित्र !

देशबहादुर परियार !
अगाडिको बेडमा हेर—
निमोनियाले थलिएको गोर्की जस्तो एउटा बालक
चिसा आाखाहरु खुलै छाडेर पर्खिरहेको छ आमालाई !

आाखामा हेर आाखामा !
ओखती किन्न गएकी आमा— बाटामा उतै हराएपछि
उसका आाखाहरुबाट पनि बुरबुर बुरबुर झरिरहेको छ
तिम्रो छोराको पानीफोटो जस्तै
ब्ल्याक एन्ड ह्वाइट सपनाको धूलो !

दायाँपट्टिको बेडमा हेर—
बाटुला आाखा र चुच्चो नाक भएको एउटा तागाधारी बाहुन
रुमालमा पहेलो रगत बान्ता गरिरहेको छ !
सायद ऊ कर्नालीको किनारैकिनार खसी बेच्न झरेको
तिम्रै मीतबाबु हरिप्रसाद पन्त हुनुपर्छ !

बायाँपट्टिको बेडमा हेर—
चिम्सा आाखा र थेप्चो नाक भएको एउटा मतुवाली युवक
हत्केलामा आफ्नै कलेजो राखेर चिरिरहेको छ !
सायद ऊ तिम्रै दु:खको कविता लेख्न हिाडेको
कुनै सुदूर किनाराको कवि— देवान किरााती हुनुपर्छ !

कालो वर्णको एउटा सिकुटे मधेसी
सलाइनका बोतलहरुमा निधार ठोकेर रुादै छ अर्को बेडमा !
नजिकै उसकी पगली औरत
ओखतीका बिलहरुले पुछिरहेकी छ
आफ्नो आासु !
नियालेर हेर उसलाई—
सायद ऊ तिम्रै बिग्रिएको रेडियो बनाउने
मिस्त्री मगनीलाल थारु हुनुपर्छ !

पर कुनाको अर्को बेडमा
तातो झिरले दुवै आाखाहरु फुटाइएकी
मदर टेरेसाजस्ती बूढी आइमाई
‘म बोक्सी होइना’ भन्दै
समयका कपालहरु लुछीलुछी रोइरहेकी छ निरन्तर !
सायद ऊ आफ्नै छोराको मलमूत्र खुवाइएकी
कल्लीकुमारी कि मरणीदेवी हुनुपर्छ !

पछाडिपट्टिको आध्यारो बेडमा हेर !
मगज बिग्रिएको आधुनिक कवि
गोपालप्रसाद रिमालजस्तो एउटा अनाम विद्रोही
घरी आफैंलाई, घरी सरकारलाई गाली गर्दै रोइरहेको छ !
सायद ऊ कुनै भूमिगत पार्टीबाट निष्कासित
कमरेड तुफान विक्रम केसी हुनुपर्छ !

‘हुँ … हुँ … हाँ ! … हुँ हुँ हाँ !!’

यो किनाराको आवाज हो कि मूलधारको आवाज हो ?
यो तिम्रो समयको सक्कली आवाज हो
कि मसानका खरानीहरु मिसिएको कृत्रिम आवाज हो ?
आवाजै आवाजहरु पोखिएर बनेको
यो जङ्गली कीराहरुको अनौठो कोरस के हो ?

देशबहादुर परियार !
समय हेर समय,
यो भूतबङ्गालाको पर्खालभित्र कि पर्खालबाहिर बसेर
यति क्लिष्ट र अमूर्त लयमा— को को रुादै छन् यसरी ?
बिरामी सुतेका बेडहरुमा मेटिएका छन् बेड नम्बरहरु !

आवाजका असली पहिचानहरु— हराएका छन् आवाजभित्रै !
मध्ययुगीन अन्धकारको यो विराट शून्यतालाई चिरेर
को को रुादै छन्— यति अस्पष्ट, जटिल र अमूर्त लयमा ?
पहिचानवादीहरु रुादै छन्
कि पहिचान विरोधीहरु रुादै छन् ?
कि दुवैथरी मिलेर— लगाइरहेछन् एउटै नारा ??

Dr Sangeeta Swechchha – Ankha Haru Ani Man

डा. संगीता स्वेच्छा – आँखाहरू अनि मन

अनिंदो रात बोकेको आँखा
अनि,
पर्खाइमा थकित मन
तर्क र वितर्क बीच
भलाकुसारी गर्छन् ।
सहमतिको बिन्दुमा पुग्न
सकेनन् सायद ।
असमञ्जसमा छन्
सम्झौताको मझधारमा
अल्झिएका छन् ।
लामो सुस्केरा सहित
चीर निन्द्रामा जाने रहरमा
यि दुबैलार्इ
उठ्ने जाँगर लाग्दैन ।
किनकि, रहरहरू आशा बन्छन्
आशाहरू सुनौलो सपना
अनि, सपनाहरू त
केवल सपना नै हुन् ।
बिउँझेपछि
मात्र पीडाहरूको
भग्नावशेष बन्छन् ।