Baidyanath Upadhyaya – Dhani Manchhe

धनी मान्छे

तिमीलाई धनको घमण्ड छ
मेरो गाडी छ
बैंंकमा अजस्र जमा छ
मेरो आलिशान महल छ
भन्ने ठान्छौ भने
तिम्रो भए भरको धनले
थोरै सुख किनेर त देखाउ।

तिम्रो धनले सुविधाको ओछयान किन्न सक्ला
तर निद्रा किन्न सक्तैन
तिम्रो धनले मीठो भोजन किन्न सक्ला
तर भोक किन्न सक्तैन
तिमी सुविधाको शीत ताप नियंत्रित कक्षमा
रात भरि निद्रा नलागि ऐया र आथा गरिरहँदा
गरीब झोपडीमा मान्छे
थाहा नपाउने गरि निँदाईरहेका हुन्छन।
तिमीलाई भोजन अपच भएर
खान मन नलागि रहेको बेला
गरीब मानछेहरू रुखा सुखा
मस्ती ले खाई रहेकै हुन्छन।

तिमी गुणी पनि छैनौ
ज्ञानी पनि छैनौ भने
तिम्रो धन तिम्रो लागि
एउटा रोग हो
आपत हो
अनि केवल धन मात्रै भएको व्यक्ति त
अति दुखी
अनि दरिद्र पनि हो।

साँचो अर्थमा
धनी व्यक्ति त त्यो हो
जो सुखी छ, संतुष्ट छ
धनले किन्न नपाउने
कति चीजहरू तिमीसँग छ।
त्यस्लाई जाँचि हेर
त्यो नै धनी हुनुको
विशेषता हो।