Baidyanath Upadhyaya – Ma Ta Malaami Hindi Rahechhu

वैद्यनाथ उपाध्याय – म त मलामी हिंडिरहेछु

म त
आफ्नै इच्छा-आकांक्षाहरूको
मलामी हिंडिरहेछु।

यो अपशकुन समयमा
सामर्थ्यको साँगुरो गल्लिभित्र
आत्महत्या गरिरहेका हुन्छन
अनगिन्ती अभिलाशाहरू।

जलिरहेकै छन चितासरी
विवशताको कात्रोमा लपेटिएका
मेरा चाहनाहरू।

धेरै सपना थिए
कुनै दिन
इन्द्रेणी सजाउने
आकाशभरी
जीवनको खुला फाँटभरी
नियतिको कोपदृष्टी परेको
यस घडीमा
भताभुंग मेरो गाँउ-बस्ती
छर-छिमेक सबैसंग
एक साथ
म त
आफ्नै इच्छा-आकांक्षाहरूको
मलामी हिंडिरहेछु!