Lakshmi Mali – Dharatal Dagmagaye Pachhi

सपना देखिरहेकोजस्तो
होस हराएकोजस्तो
भोलिको पुस्तालाई काखी च्यापेर
कुन धरातलमा उभिनुपर्ने हो ?
आस्था र विश्वास धमिलिइरहेको बेला
टुक्राटुक्रा भएका मुटुहरुको माझमा
साँचो मित्रको खोजी कसरी सफल हुने हो ?
आफ्नै वस्तु ठानेर
गर्भवती स्वास्नीलाई घरबाट निकाल्नेलाई पनि
मर्यादापालक राम भन्नसक्ने
निर्लज्ज धर्मभीरुहरुको भीडमा
विश्वासको धरातल डगमगाउँदा
आगामी पुस्तालाई
उभ्याउन सकिरहेको छैन मैले
म उभिएको धरातल
विखण्डित आस्थाहरु
बिर्सन खोजेर पनि बिर्सन नसकिएका
पराजयका पीडाहरु, समयका डोबहरु
चुँडाल्न खोजेर पनि चुँडाल्न नसकिएका
समाजका बन्धनहरु
निराश निराश भएर सम्झँदै
दुखेको मुटु लिएर बाँचिरहेको छु
धमिलो भविष्य छामिरहेको छु
अतीतलाई फर्केर हेर्दा
धेरैचोटी समयसँग संघर्ष गरेर पनि
धेरैचोटी हारिसकेकी छु
पाप्रा–पाप्रा उप्किएको मुटु यो
ढिक्का–ढिक्का खसिसकेको आँशु यो
कुनै समयलाई पनि
विश्वासघात गर्ने
दुस्साहस गर्न सकिनँ मैले
पोखिएको धैर्यलाई
थोपा–थोपा बटुलेर
छलछाम गर्ने नियतिसँग
भिड्ने साहस किन गरिंनँ मैले ?