शरण आँसु – मनभित्रका मनहरु
मनभित्र अनगिन्ति मनहरू
मरिरहन्छन् ।
मनको संघारमा
फूल जस्तै
मनहरू सुस्तरी
झरिरहन्छन् ।
अनि त्यै मनको देउरालीमा
पाती चढाउँछन् –
मान्छेहरू ।
अक्टोपस मनका पाइलाहरू
आकाँक्षाहरूको
ठाडो उकालो
चढ्न सक्तैनन् ।
चढ्दा चढ्दै
तल खस्छन् ।
खस्ता खस्तै
आँखाबाट
जिन्दगी इशित्व
द्रवित हुन्छ –
मनको सरोवर ।
मनको शिविरमा
प्राप्तीका
आँखाहरू लोलाउँछन् ।
तस्वीरबाट
उठ्न सक्छन् –
सादृश्य आँखाका भाखाहरू ।
मनको कुनामा लेखिएका
गीतहरू जस्तो
स्वप्नील सुन्दर
आँखाहरूको दृष्टि हुन्न ।
स्वतन्त्र उड्ने पंक्षीहरूको
स्वच्छन्द सलिल हृदय हुन्न ।
मनभित्र
कुरूप मनहरूको
स्वतन्त्र अविभाज्य दृष्टि हुन्छ
अनि त्यै दृष्टिमा
उनीहरूको
प्राप्य प्राप्ती हुन्छ ।
प्राप्तीका आँखामा
जिन्दगी
आँसु नै आँसुको
भेल बग्छ ।
मनभित्र बाँध हुन्छ ,
मनभित्र पिंजरा हुन्छ ।
मनहरूको सीमाना
मनमै हुन्छ ,
मनहरूको बिसौनी
मनमै हुन्छ ।
खोला झैं बग्ने मनहरू
मनतालमा खस्न
उद्यत हुन्छन् ।
मनको ठेगाना
खोज्दै हिंड्दा
साँझै पर्छ – हृदयमा ।
गोठालो पानीका मनहरू
मनको पहिरोले तान्छ
अनि
गोधुली हुँदैन –
साँघुरा गल्लीहरूमा ।
मनभित्रका मनहरु
कहिले चुलिन्छन्,
कहिले भासिन्छन्
चुलिनु र भासिनुका विकल्पहरुमा
भूगोल वर्षेनी दुखिरहन्छ /
स्वाभिमान उम्रने मन हो- भूगोल
अनि
भूगोलका स्नायू रेखाहरु
सीमान्त यात्राका मनहरु हुन् /
भूगोलको छातिमा उभिएको
टेलिफोनको टावर भत्कँदा
मनहरू क्रमश:
टाढा टाढा
सम्पर्क रहित हुँदै जान्छन्-
सृष्टिकर्ता पिताको
छाया मनलाई
ओझेल पारेर ।