Nischal Regmi – Tunwalo Tunwalo Chha

निश्चल रेग्मी – तुवाँलो तुवाँलो छ

तुवाँलो तुवाँलो छ
देख्दिनँ केही
चिप्लो उकालो छ।

रेसम सरि मुटुमा
धारिलो आघात विगतको
धमिलो धमिलो भविष्य
चम्किलो याद विगतको
पश्चाताप ज्वलित आँखामा
अज्ञानको जालो छ,
देख्दिनँ केही
चिप्लो उकालो छ।

कहाँ सुक्ला गहभित्रको आँशु?
कब नदुख्ला छाती यो?
साथ दिन्छ व्यथाहरूकै
प्रारब्ध पक्षपाती यो!
अथवा के थाहा आफ्नै
हृदय कालो छ,
देख्दिनँ केही
चिप्लो उकालो छ।

पत्थर गाउँछ आशावरी
मसान मुस्कुराउँछ
जहाँ झर्छ अश्रु तिम्रो
रूद्राक्ष पलाउँछ
चमत्कारको अर्को नाम
तिम्रो अंगालो छ,
देख्दिनँ केही
चिप्लो उकालो छ।
तिमीले दियौ चेतना मन्दिर
मैंले खण्डहर पारिदिएँ
तिमीले हुर्कायौ दया आँकुरा
किल्चेर मैंले मारिदिएँ
आऊ बचाऊ शंकर!
फेरी तिम्रै पालो छ,
देख्दिनँ केहि
चिप्लो उकालो छ।

॥ॐ नम: शिवाय॥