Nischal Regmi – Yuva Ankha Haru

निश्चल रेग्मी – युवा आँखाहरू

युवा आँखाहरू आजका
दीनताका दर्पण बनेर
समुद्र पर टोलाइरहन्छन्
पुगूँ कसरी त्यो किनारा भनेर!

दीपावलीको सेल रोटीको
स्वाद भूलेर
सारङ्गी र बाँसुरीको
निनाद भूलेर
फागु पुर्णिमाको
ह्लाद भूलेर
खै कुन उत्सव मनाउन
कुन देव दुर्लभ हर्ष पाउन
समुद्र पारी
निष्प्राण प्रतिमा सरि नियालिरहन्छन्
अथाह सपना सङ्गालीरहन्छन्।

दैलोमा भाइटिकाको आमन्त्रण
जब मखमली फूलेर सुनाउने गर्छन्
यी विक्षिप्त युवाका चित्त
स्वप्निल धुनमा हराउने गर्छन्
पात बजाउँदै पवित्र पवनले
शिवरात्रीको गम्भिरता सिर् सिर् गर्छ
यी युवा मुटु तब पनि
चाहना अनलमा उम्लिने गर्छन्
कति मधुरिम सौगातहरू
दिन्छन् दिन र रातहरू
यी युवा आननमा किन्तु
देखिँदैन कबै विस्मातहरू,
असारे रिमझिमे हलचलमा
चिउरा-दही र जलमा
माघे कुहिरो कम्मलमा
रसिलो चाकुको तलतलमा
पारिलो घामको स्नान अनि
चौरको दुबोमय आँचलमा
अहो! कहीँ पनि यी युवा
मुस्कुराएको देख्दिनँ
क्षणभर पनि प्रित तराना
गुन्गुनाएको देख्दिनँ!

कदाचित् कलुषित शिक्षाले
कोइला भए युवा आँखाहरू
केवल रापिईरहन्छन् आकांक्षामा
देख्न सक्दैनन् सुक्ष्म नाताहरू
आमाका अश्रु थोपाहरू
वृद्ध पिताका
विवश ललाट रेखाहरू
केही चिन्न सक्दैनन्
पढ्न सक्दैनन् भाव भाषाहरू
फगत् असंतोषका धुँवा फ्याक्छन्
यी युवा आँखाहरू!

॥ॐ नम: शिवाय॥