Yogendra Raj Sharma – Sarkar Chor

योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’ – सरकार चोर

मान्छे मान्छेसँग
र मान्छे बाटोसँग लाज मान्छ
र झ्यालमा पर्दा लगाउँछ ।
मान्छे मान्छेसँग
र मान्छे बाटोसँग डराउँछ
र ढोकामा चुक्कल लगाउँछ ।
हरेक मध्यमवर्गीय कोठाहरु
पर्दाभित्र हिनताबोध गरिरहेका हुन्छन्
केही घरहरु धनी हुन्छन्
तर धनी देखिन चाहदैनन् ।

सरकारले असमानता पालेको छ
सरकारले एउटै माटोलाई नम्बर लगाएको छ
सरकारले एउटै हावालाई विभाजन गरेको छ
सरकारले दरबारमार्ग पालेको छ
जहाँ हुनेहरुले महँगो तिर्छन्
सरकारले गरीब बस्तीहरु पनि पालेको छ
जहाँ नहुनेहरुले महँगो तिर्छन्
सरकारले एउटै देखिने बोतलहरुमा
फरक फरक नामका लेवल टाँसेर
पानी बेचेको छ ।

मान्छेलाई उज्यालो चाहिन्छ
त्यसैले झ्यालको तल्लो भागमा
वैकल्पिक पर्दा लगाउँछ,
मान्छेलाई हावा चाहिन्छ
त्यसैले झ्यालमा ग्रील लगाउँछ ।

धनी घरहरु धेरै डरपोक हुन्छन्
त्यसैले आफ्नो वरिपरि पर्खाल लगाउँछन् ।

केही शव्दहरु सिहंदरवारमा बनेका छन्
जस्तो: धनी, गरीब, चोरी, डकैती, लुटपाट,
बलात्कार, हत्या, चक्काजाम, छलछाम, असहमती…
असहमतिभित्र भगबण्डा हुन सक्छ
होईन भने सिहंदरवारभित्र साधु घुसेको छ
जसलाई हामीले सरकार चोर्न पठाएका छौं ।