Abir Khaling – Samaya Dans

अबिर खालिङ्ग – समय दंस

क्रुरताको मुट्ठीमा बन्द वर्तमान मस्त छ
असहिष्णुताको सारंगी रेटेर
समय वुद्दत्वको ढोङ रचिरहेछ
छलकपटको कपिलवस्तुमा ।

वैलाबेलाको थारो मौसममा
कोही गीत गाउन मस्त छ अहिले
थाहा छैन कि
गीत विनाशको पनि हुन सक्छ
गीत संहारको पनि हुन्छ
गीत अल्मलको पनि हुन्छ।

झ्याली पिट्दै हिंड्ने जमातलाई देखेर
सूर्य कुटिल हाँसो हाँसिरहेछ आकाशमा
तुहिएको उत्सर्गले मख्ख छन नार्सिसस यो मौसममा ।

पसिना चुहिनुले जिन्दगी रित्तिएको
सानो व्यथा छ अहिले ।
अल्मलको जातिय गीत बज्दैछ घर घरमा ।
वंशविनासको उद्देश्यमा खुकुरी उध्याएको छ समयले ।
रुग्न मानसिकताको आगोले जलेको अनुहार बोकेर
नयाँ वर्षको गीत गाउँदै हिंडिरहेछ नयाँ पिँढी

हुनसक्छ
भोलि केही नहोला हाम्रो स्वरमा ।
रिक्तताको भैलो खेलेको धेरै भयो ।

युद्धको ढोङ रचेर
भाई मारेको धेरै भयो ।
धेरै भयो आफ्नो आफन्तको घर जलाएको
खरानीको थुप्रोमा बाबुको वीरता खोजेको धेरै भयो ।

(Sent to Sanjaal Corps via Email)