रत्नशमशेर थापा – वैंश फुटी रहेछ ढुंगाको काईमा चिप्लेर
टक्टकिएर बकुल्ले बादलको
प्वाँख-प्वाँखको दूधे जराबाट
केशदेखि खुट्टाको बुढी औँलासम्म
ओढाउन सेतो बर्को हरियालीलाई
अर्घ चढाउँदै सूर्यलाई
आरती उतार्न बालिएका
मन्दिर, आँगन र चोक चोकमा
कातेका बत्तीहरू निलेर सलक्क
फुलिरहेछन् हिउँका फूलहरू झपक्क
चहुरका जाँघ भरी
नर्सरीका झ्यांग भरी
पाखा र भन्ज्यांग भरी
फुसफुसाउँदै बेसुरा राग फुकेर ।
नियालेर प्रतिविम्ब
बैँश ।
निलो पोखरीमा
फुटी रहेछ
ढुंगाको काईमा चिप्लेर ।